गजल (हाँस्न लागे मखमली सयपत्री सँगै फुल्यो।)


फुल खेल्यो सेतो कोदो फाँट भरी धान झुल्यो,
हिलो मैलो बर्षा हट्यो आकाश र धर्ती खुल्यो ।।

परदेशी फर्किए सम्झेर आफ्नै घरदेश,
हर्षोल्लास अनी भेटघाट दु:ख पीडा भुल्यो ।।

पुजिन्छ कर्मठ,लक्ष्मी अनी भैरब बाहान,
घर घरमा खबर दिन यमदुत डुल्यो ।।

टाढिएका भाईचेली हुँदैछन् है फेरी भेट,
हाँस्न लागे मखमली सयपत्री सँगै फुल्यो ।।

गजल



तिहारले छायो र त दाजुभाई सम्झी रोएँ ।
गाउँ याद आयो र त दाजुभाई सम्झी रोएँ ।।

आँगन छेउमा फुलेको मखमलीले हाँस्दै,
कैले टिप्छ्यौ सोध्यो र त दाजुभाई सम्झी रोएँ ।।

आउँलान मेरा दाजु भन्दै कती बाटो कुरुँ,
आशा मर्दै गयो र त दाजुभाई सम्झी रोएँ ।।

उनिएन मखमली न त लर्क्यो सप्तरङी,
पीडाले  मन् खायो र त दाजुभाई सम्झी रोएँ ।।

सम्बन्ध भाईचेलीको नहुँने छुट्न कहिलै,
'देउसी'ले गायो र त दाजुभाई सम्झी रोएँ ।।

म र मेरा नौ........... जम्मा दश :) म र मेरा बाल्यकालीन साथीहरु ।

     कुरा मैले स्कुल थाले देखी आज सम्मकै हो। मेरो घर नजिकै छ जालपा देवी स्कुल,त्यहीँबाट मैले मेरो पढाई सुरु गरेकी हुँ।एक कक्षाबाट दुईमा पुग्दा हामी १० जना पास भएका थियौ। चार कक्षा सम्म हामी मात्र थियौ। चार कक्षामा भने नजिकैको अर्को गाउँ देखी पाँच जना साथी थपिएर हामी १५ जना भएका थियौ। यसपाली दसैंमा घर जादाँ नौ जना (म बाहेक) कहाँ कहाँ के के गर्दै होलान भनेर खोजी गरेँ। बाँकी पाँच अर्को पल्टलाई।
               एउटा अरेन्जबल चकलेट सम्म ढुङ्गामा फुटाएर बाँडेर खादाँको स्वाद अझै भुलेकी छैन,उनिहरुले पनि पक्कै भुलेका छैनन होला। नुन कस्ले ल्याउने अघिल्लो दिन नै सल्लाह हुन्थ्यो तर कागती र निबुवा भने सधैं मेरै भागमा पर्थ्यो। घर नजिक भएकोले हाफ्ट्याममा चोर्न सजिलो। कुडाँरको कागती र निबुवा खुबै चोरे मैले आफ्ना साथीका लागि। गाली पनि खाएँ बाआमाको, तर चोरेका  कागती र निबुवा साथीसँग बाँडेर खादाँको स्वादले गाली सजिलै भुल्थे म। अर्को दिन फेरी उही प्रकृया। यीनै बाल्यकालीन सम्झनामा समेटिने मेरा साथीहरु जो आज भेटघाट नभएको बर्षौ भए पनि उतिकै आत्मिय लाग्छन। नयाँ साथीहरु बनेका छन अनी बन्दै पनि छन तर पनि ती बाल्यकालीन यादहरु कहिलै धमिला नहुने रहेँछन। हाम्रो मिल्ती देखेरै होला बिगतकेही बर्ष देखी गाउँ फर्कने जती मेरा यी साथीहरुलाई मेरी आमाले नै घरमा बोलाउनु हुन्छ। दसैंका केही दिनहरु मध्ये एक दिन म र मेरा साथीहरुलाई दिनुभएको छ मेरी आमाले। आज म मेरा यिनै साथीहरुलाई  सम्झदै छु  ।

१.शेरबहादुर तमाङ 
''सेरे'' उसलाई हामीले बोलाउने नाउँ। उ हामी सबै भन्दा उमेरका हिसाबले अलिक ठुलो। छ कक्षाको पढाई आधा जती भए पछी उसले स्कुल छोड्यो,पढाई राम्रै थियो उस्को हामीले पढ त भनेउ तर खै किन हो उसले फेरी पढ्न मानेन  त्यस्को एक दुई महिना पछी बिहे गरेको थियो। बिहे पछी उ सँग खासै भेटघाट भएन। यसपाली दसैंमा घर जादाँ उसको घर सम्म पुगेँ । छोरा छोरी हुर्किसकेका रहेँछन। उ भने खाडी तिर रहेँछ। खेतिपाती ,घर ब्यवहार उसकी बुढीले सम्हाल्दी रहिछिन। ''कहिले कै फुन गर्च अनी खर्च पनि पठाउच,मिले माक(माघ)मा नत्र आर्को दसैंमा आउच रे''  कहिले आउँछ रे अब भनेर सोध्दा यसो भनिन र आफ्नै काममा लागिन ।
२. देबकी खनाल
नातामा उ मेरी भदैनी पर्छे। दाहिने हातको माईली र माझी औंला चुस्थी त्यसैले उसलाई हामी औली भन्थ्यौ। दाई(उसको बुवा) गाउँका जान्ने सुन्ने अन्तर्गत पर्नुहुन्छ र पनि खै किन हो आठ कक्षामा पढ्दा उसको बिहे गरिदिए। बिहे अघी त खुब रोएकी थीइ बिहे पछी भने खुशी नै देखिन्थी ! बिहे पछी पनि उ पढ्न त आउथी तर नौ कक्षाको आधा आधी भएपछी भने उ स्कुल आउँन छोडि। माईत आउँदा यदाकदा भेट हुन्थ्यो । लगत्तै उसले छोरी पाई रे भन्ने सुने । यसपाली टिका लगाउन त दुई वटी छोरी अघी लगाउँदै पो आई ।

३. नानीमैयाँ घिमिरे
पछी नाम फेरेर अप्सरा राखे पनि उसलाई हामी नानीमैयाँ नै भन्थ्यौ। उ मेरी दिदी(ठुलबाकी छोरी)की छोरी हो। मावल बसेर पढेकी थीइ। तर आठ कक्षा पछी भने उ आफ्नै घर गएर पढ्न थाली। र पनि मावल आउँदा उ सँग भेट त हुन्थ्यो नै। उ मेरो गोठाल्नी साथी पनि हो । त्यसैले उ मेरी स्कुल अनी घर देखी लिएर बन सम्मकी साथी हो। परार साल बिहे गरेकी उ यसपाली मामाघर टिका लगाउन आउँदा त छोरी बोकेर पो आई। पढाई छोड्दिएँ मैले त तेरो कहाँ पुग्यो? लौ राम्ररी पढ्नु है हाम्रो त्यस्तै भैहाल्यो त भन्दै थीइ।

४.सीता घिमिरे 
१,२,३,४,५, पछी ६,७,८, भिन्दै स्कुलमा पढेर हामी फेरी ९ र १० मा भेटिएका थियौ। SLC पछी काठमान्डौ बसाईको क्रममा पनि एकाध भेट भएको थियो। उसले सशस्त्र प्रहरीमा जागिर खाएपछी पनि पाटनढोका तिर कहिलेकहीँ भेट हुन्थ्यो। पहिले राम्रो पढ्ने उसले जागीरे भएपछी पढाई भने बिगारी छे । यस्पाली दसैंमा उसलाई भेट्न खोजे तर भेट भएन ।

५.रामबावु श्रेष्ठ 
कक्षामा सायद कोही सँग मिल्दैन थियो,त्यसैले सधैं एक्लै एक्लै हुन्थ्यो र पनि माथिल्ला कक्षाकाले हामी सँग झगडा गर्न आउँदा तिनेरु हामी सम्म  नआईपुग्दै उसले कुटेर फर्काउथ्यो। यसर्थमा उ हाम्रो कक्षाको  गार्ड नै थियो। ९ कक्षा तिर फेल भएर पढाई छोडेको थियो। एकाध बर्ष पछी मलेसिया गएको थियो, यसपालीको दसैंमा पनि उतै रहेँछ। उ सँग भेट नभएको त तीन चार सालै पो भो कि त ।

६.नारायण श्रेष्ठ 
सबैले 'काले' भन्थे सानो छदाँ। अली ठुलो भएपछी भने  उसलाई नामबाटै बोलाउथ्यौ हामी। स्कुल पछी सधैं जसो भेट नभए पनि दसैं तिहार मा गाउँ फर्कदाँ भने सधैं हाम्रो भेटघाट हुन्थ्यो। स्कुलका अन्तिम दिनहरुमा बिना बिथ्थैमा हामीलाई गाली गर्ने र अरुले गरेको गल्तीको दोष समेत हामीलाई दिने पल्लो गाउँको( हाईस्कुल जादाँ बाटोमा पर्ने गाउँ) एउटा मान्छेको बारीमा लगाएको साग,काउली लगाएतला तरकारी उखेल्दिने हाम्रो चार पाँच जनाको समुहमा उ पनि पर्छ। काठमान्डौ मै भएर पनि पोहोर दसैं देखी भेट नभएकोले यसपाली घर जादाँ  सँगै जाने फोन सल्लाह अनुरुप सँगै गाउँ गईयो। खुब रमाईलो भयो यात्रा । पढाई भने छोडेको छ फेरी पढ भने 'ल' चै भन्थ्यो खै के गर्छ अर्को दसैंमा थाहा होला ।

७.नवराज श्रेष्ठ
कहिलै नरिसाउने स्वभाव कै कारण उ सबैको प्रिय थियो/छ। उसको मादल बजाउने बिशेष कलाको कारण उ निक्कै चर्चित पनि छ। सात गाउँ चिनिएको भन्दा पनि फरक नपर्ला। मैले आफ्नो घरको कुडाँरबाट चोरेका कागती र निबुवा अनी चकलेट फोरेर भाग लगाउने जिम्मा धेरै जसो उसैले पाउथ्यो। हरेक दसैंमा घरमै हाम्रो भेट हुन्थ्यो। यसपाली दसैंमा हामी तीन जना(नरायण सहित) सँगै भएकाले फेरी एक पटक हामीले तिनै कागती,निबुवा अनी साग,काउलीको कथा सम्झियौ र हाँस्दै बाटो काट्यौ। यसले पनि पढाई छोडेछ। नर्थ फेसको झोला बनाउँने ठाउँ उसको अफिस भएकाले मलाई झोला गिफ्ट दिन्छ रे अर्को दसैंमा। ;)

८. दिपक(राजकुमार) अधिकारी
उसकी दिदी र मेरी दिदी सहपाठी भएकाले दिदिहरु सधैं जसो सँगै हुने हुँदा हामी पनि सँगै पढ्ने गर्थ्यौ। कक्षाको फस्ट सधैं उही हुन्थ्यो। निमावी को पढाई सके पछी उ काठमान्डौ पढ्न भनेर आयो। तर पनि घर गएको बेलामा उ हाम्रै घरमा आईपुग्थ्यो। अलिक भिन्दै गोरो थियो त्यसैले उसलाई मेरी दिदी अनी बाआमा गोरे भन्नु हुन्थ्यो/भन्नुहुन्छ। पढाई छोडेर धन कमाउन झण्डै दुई महिना अघी मात्र दुबई गएकोले यसपालीको दसैंमा गोरे हाम्रो घर आएन।

९. दिपक श्रेष्ठ
हामी  त्यस्तो साथी थियौ जो कक्षा एक देखी १० सम्म सँगै पढेका हौ। अरु केही पछाडि छुटे केहीले पढाई छोडे भने कतिले गाउँ। बिहान बेलुकाको कोचिङ कक्षा जादाँ,खाजा खादाँ हामी सधैं सँगै हुन्थ्यौ। हाम्रो उमेर पनि समान थियो। ''कान्छा'' उसको हामीले मायाले बोलाउने नाम हो। स्कुल पढ्दा उसलाई खुबै सताउथे केटीहरुले किनकी निकै लजालु थियो। जो जो पछी लाग्थे हाम्रो ग्रुपले तिनेरुको सातै लिन्थ्यो स्कुलको माझमा जिस्क्याएर। SLCमा स्कुल टप गरेको थियो। BBSतिर पुगेपछी भने पढाई बिगारेछ अनी गाउँ फर्केर हामीले बाल्यकालमा पढेको स्कुल(जालपा देवी जुन भर्खर निमावी भएको छ)मा एक वर्ष पढाए पछी हाल साउदीमा छ। भर्खरै ५/६ महिना मात्रै भएकाले यसपाली हामी सँगै गाउँ र हाम्रो घरमा आएन ।

१०.म(सुमन मञ्जरी)
यी सबै जसरी जसरी मेरा साथी भए उसरी नै म यिनिहरु सबैकी साथी हुँ। कक्षामा कान्छी र घरकी पनि कान्छी छोरी भएकीले सबैले मलाई कान्छी नै भन्छन। बाल्यकालमा  स्कुल सँगै पढेका ती साथीहरु अहिले मेरो क्याम्पसमा कोही छैनन सबैले लगभग पढाई छोडिसके। अहिले पनि जब दसैं आउँछ,जब गाउँ गईन्छ तब त्यै स्कुल अनी निबुवा र कागती चोर्ने कुडाँरले मलाई पुन: तिनै दिनहरुमा पुर्‍याउँछ। फेरी एक पटक खाजा बाँडेर खाने,अनी निबुवा,कागती र चकलेट फोरेर खाने मन छ।

दिन,महिना र बर्ष गर्दै आज स्कुल सकेको पनि ६ बर्ष बितिसकेछ। हिजो झै लाग्छ निबुवा र कागती चोर्दा आमाको गाली खाएको। उफ्फ चाहेँर पनि रोक्न नसकिने यो समय हामीलाई पछाडि छोडेर अघी बढेको बढ्यै पो रहेँछ।