बगाईहरु


स्वच्छन्द भएर पहाडका खोल्चाखोल्ची
बनपाखा,गाउँ बेसी र
भिरालीहरुमा दगुर्ने म सोच्थेँ-
यो जिन्दगी कती मनमौजी छ।
किनारलाई साथ लिएर
पहराबाट छहरा बनेर
कहिले बेग हान्दै र
कहिले शान्त बन्दै
बन बनेली चाहर्नु
बस! यही दैनिकी
कती स्वतन्त्र।

फेरी एक दिन...
यी सबको अन्त्य हुन्छ,
मलाई भनिन्छ कि दूर-दराजमा
कोहीँ मेरो पर्खाईमा छ।

अब मेरो एक गन्तव्य छ,
मैले कहीँ दूर जानु छ
कसैलाई भेट्नु छ
जो मेरो प्रतिक्षामा वर्षौ होइन,
युगौँ युग देखी छ।

उसलाई भेट्नु आफ्नै अस्तित्त्व मेटाउनु हो,
ऊ भित्रै आफुलाई समाहित गर्नु हो,
खेल्दै आएको बन बनेली र गाउँ बेसी
अनी पहाडी कुनो बिगत बनाएर
स्‍मृतिको बहिखातामा थन्क्याउनु हो।
कहिले किनार बनेर साथ दिने,
कहिले घुम्ती बनेर आलिङ्गन गर्ने
सहयात्रीहरु सँग छुट्नु हो।

हो, मैले जानै पर्छ।
आफ्नो परिचित धर्म भुलेर
यी पहाडी खोल्चाखाल्ची,
गाउँ बस्ती डुल्दै,
कती बेर आफुलाई अल्मल्याउन सक्थेँ र?
त्यसैले, थाल्नेछु यात्रा
पहराबाट छहरा भैँ खस्दा
फुस्फुसाउने श्वेत बाछिटा
बिदाईका मुस्कान बोकेर  ।

सागर भेट्नु र
उसैमा समाहित हुनु,अबको लक्ष्य हो।
आफ्नो स्वच्छन्द बिगत
कहिलेकहीँ फुर्सदमा पल्टाउने एल्बम बन्ने छ।
उसमा समाहित भएर
मैले नयाँ परिचय बनाउनु छ,
जसको एउटा ईतिहास बित्यो।
र, बाँकी छ...
अज्ञात भविष्य !!!

बिन्ती छ है कट्टी अब तोडिदेऊ




बिन्ती छ है कट्टी अब तोडिदेऊ त प्रिया,
कोईली झैँ गला खोली बोलिदेऊ त प्रिया।

रिसाए झै गर्दै र घुर्‍क्याएर सुस्तरी आई
नराखी मनमा भाव खोलिदेऊ त प्रिया।

यो मनमा तिमी सधैंलाई हो राख्या मैले ,
कती माया गर्छौ सोध्न छोडिदेऊ त प्रिया।

सुक्री बिक्री चल्छ रे माया अचेल् बजारमा,
हाम्रो माया कुन कित्ताको मोलिदेऊ त प्रिया।

हुँदैन् रे हाम्रो मिलन् भन्नेहरु धेरै भेटेँ,
यसैपाली अमर नाता जोडीदेऊ त प्रिया।




कथा - दीवा अनी उसको रहर


''दिदी कहाँ सम्म जाने हो खै टिकट देखौँनुहोस् त।''
माईक्रोको फुच्चे भाईले थानकोटको ओरालो छिचलेर खानी खोला नपुग्दै  दीवालाई झकझक्याउँछ।  कहाँ जान हिंडेकी हुँ अनी यो कहाँ जाने माईक्रो हो को जानकारी बिनै माईक्रोको एक्लो सिट रोजेर बसेकी दीवा अलमल्ल पर्छे सोध्छे 'यो कहाँ जाने माईक्रो हो भाई?'
 प्रश्न सुनेर वरपर सिटका केही आँखाहरुदीवा तिर फर्किन्छ भने  फुच्चे भाई फिस्स हाँस्छ।
'तपै काँ जानी यो माईक्रो चै पोखरा जानी हो' खितित्त हाँस्दै ऊ दीवालाई हेर्छ।
'म पनि पोखरा जाने म सँग टिकेट छैन भाडा कती लाग्छ लाउ कटाउ' पाँच सयको नोट ऊ तिर फर्काउछे दीवा।
वरपर सिटका मान्छेहरु मुखामुख हेर्छन र रहस्यमयी हाँसो हाँस्छन।
ती सब मान्छे अनी तिनको हाँसोलाई बेवास्था गर्दै दीवा मोबाईलमा ईयरफोन जोड्दै दुबै कान टम्म पार्दै  झ्याल तिर फर्कदै निदाउने बाहाना गर्छे।
निदाउने त एक बहाना मात्र थियो।तर दीवाको मन भने अनेकौ कल्पना र तर्कनाले भरिदैँ थियो । आजको गन्तब्य पोखरा बन्यो तर भोलीको गन्तब्य कहाँ? आफ्नै मन सँग प्रश्न  गर्छे। यसरी कती दिन भाग्ने अनी कहाँ कहाँ भाग्ने...सम्पन्न घर,माया गर्ने प्रेमी र आफन्तहरु यी सब छोडेर किन अनी के का लागि  भाग्ने? अधिकाँशको सपना हुन्छ कि सम्पन्न घर होस् माया गर्ने लोग्ने अनी आफन्त। सानो सुखी परिवार। तर म त यी सब छोडेर हिँड्दै छु। के को लागि त एक पटक ऊ आँफैलाई टकटक्याएर जवाफ खोज्छे। सुख भोग्न छोडेर हिंडेकी छेस दु:ख त पाईहाल्छेस त्यै खोज्न त हिंडेकी होलिस एक मन ऊ सँग फेरी भुतभुताउँछ।
सम्झन्छे ऊ भित्र  कहिले देखी यसरी जिन्दगी जिउने रहर पलायो होला। न त आफ्न आफन्तमा उसले रोजे जस्तो जिन्दगी भोगेको देखेकी छे न त सुनेकी नै । यो रहर ऊ भित्र  कहाँबाट कुन दिनमा कसरी उम्रन भ्याएछ कुन्नी?'तर्कना र कल्पनाको दोसाधमा ऊ छोडेको त्यो घर र मोक्षको सम्झनामा पुग्छे।
                                    ***********
'हामी बिहे कहिले गर्ने भन्या? घरमा आमाबुवाले सोधेको सोध्यै हुनुहुन्छ। तिम्रो घरबाट पनी त्यै कुरा आ'को आयै छ। तर तिमी किन कानमा तेल हालेर बस्छौ भन्या भन त।'
मोक्षको यो गनगन सुन्दा सुन्दा म हैरान भईसकेकी छु। उसलाई सधैं बिहेकै धुन छ उसको यो लगाबलाई अब त दुई परिवारको साथ पनि मिलेको छ। यी दुई परिवार बाहेक समाज र बाह्या दुनियाँका लागि भने हामी बिवाहित जोडी नै थियौ। झन्डै तीन वर्ष अघी मोक्ष र मैले आ-आफ्नो घर सल्लाह अनुसार घर छोडेर फ्ल्याटमा सरेका थियौ।
 'एई दिवा,तिमी किन केही बोल्दिनौ हुँ,  समस्या पनि त केही छैन हामीलाई। हाम्रो परिवार हाम्रो साथ छ हामी सक्षम छौ,आखिर के पुगेको छैन हामीलाई' एक साँझ मोक्ष फेरी गनगन गर्छ।
''मोक्ष,यदी म तिमीलाई छोडेर भागे भने तिमी के गर्छौ?'' उसको गनगन सकिने बितिक्कै उल्टो म उसलाई प्रश्न गर्छु।
'के रे, के भनेकी तिमी  मलाई छोडेर भाग्छ्यौ रे किन?
'किन होइन पहिले जवाफ देउ'भन के गर्छौ?'
म... म खै थाहा छैन..... के गर्छु के गर्छु... कि त मार्छु कि त पगल हुन्छु।
'धत, कस्तो कायरले जस्तो कुरा गरेको। छोरा मान्छे भएर पनि यस्तो हुतिहारा कुरा गर्छौ तिमी?'
'कायर अनी हुतिहारा हैन दिवा, एक्लै बाँच्नु भनेको दुखी भएर निरस लाग्दो जिन्दगी बाँच्नु हो, म त्यस्तो जिन्दगी जिउन चाहन्न।'
'तिमीलाई कस्ले निरस जीवन बाँच भनेको छ र अर्को बिहे गरेर खुशी साथ बस न हुन्न?'
'के भयो किन यस्तो कुरा गर्दैछ्यौ आज तिमी, के मैले फेरी तिम्रो मन दु:खाएँ र दिवा?'
'हैन मोक्ष तिमीले मेरो मन दु:खाएका छैनौँ।'
'त्यसो भए तिमीले मलाई स्वार्थी सम्झेकी ?'
'मैले त्यसो पनि त भनिन नि।'
'तिम्रो कुराको मत्लब त यै हो नि हैन?'
'जसो तिमी बुझ'।
'तिमी ले यो कसरी सोच्यौ दिवा, म तिमी बाहेक अरु सँग घरजम गरेर खुशी हुन सक्छु भनेर,बरु मलाई मर भन म तिम्रो अगाडि आँफैलाई मार्न सक्छु तर प्लिज आज देखी यस्तो कुरा नगर्नु।'
'मोक्ष,तिमी त धेरै भावुक भयौ त।'
'म भावुक भएको हैन,तिमीले बनाएकी हो'।
 'मोक्ष, जिन्दगी सबैको आ-आफ्नै हुन्छ। तिमीले मलाई जती प्रेम गर्छौ सायदै कसैले कसैलाई गर्न सक्ला, र मैले पनि तिमीलाई जती निकट अब सायदै कसैलाई बनाउँन सकुँली, तर मेरो एउटा बेग्लै रहर छ जुन रहर मैले जान्ने भए देखी मेरो मनमा हुर्केको छ।'
'त्यस्तो के रहर हो तिम्रो जुन आज सम्म मलाई पनि नभनी लुकाएकी थियौ, के हो भनन म सके सम्म चाडै पुरा गर्ने कोशीस गर्नेछु।'
'तिमीले सोचे जस्तो सजिलो छैन।'
'सजिलो असजिलो को कुरा हैन, तिमी भन मात्रै।'
'सुन्ने हिम्मत छ तिमीमा।'
'भनेर हेर।'
'मोक्ष, म तिमी सँग बिहे गर्न सक्दिन। मेरो पेटमा हुर्कदै गरेको सन्तानलाई अविवाहित रहेरै जन्म दिन चाहन्छु ।'
'के कुरा गर्दै छ्यौ तिमी ? के तिमी होस् मा त छ्यौ? यो कस्तो बहुलठ्ठी कुरा हो?के तिमी पागल त भईनौँ?
'तिमी त आवेशमा आयौ,यसमा त्यस्तो आवेशमा आउनु पर्ने के नै छ र मोक्ष, अनी म बेहोसी छैन। यही रहर हो मैले जान्ने भए देखी आफु भित्र पाल्दै आएकी।'
'मलाई किन अपराधी बनाउन खोज्दै छ्यौ दिवा तिमी?'
'मैले कसरी तिमीलाई अपराधी बनाए र ,मोक्ष? म त तिमीलाई सम्मान गर्छु अनी प्रेम पनी।'
'के यही हो तिम्रो सम्मान र प्रेम? हो भने भो मलाई यस्तो सम्मान र प्रेम नगर।'
'प्रेम गर्नु को अर्थ बिहे गर्नु मात्रै पनि त होइन नि मोक्ष।
'अनी जसलाई तिमीले आफ्नो पेटमा पाल्दै  छ्यौ उसलाई पनि एक्ल्याउछौ म बाट?यो समाज अनी दुनियाँले तिमीलाई के भन्छ?म तिमीलाई कसैले नराम्रो भनेको सहन सक्दिन। हो, तिमीले अरु कोही रोजेकी छ्यौ भने ठीक छ उसै सँग बिहे गर म तिमीलाई रोक्दिन तर यो बिहे नै नगर्ने, एक्लै सन्तानको जिम्मेवारी उठाउने कुरा म सँग नगर।'
'अरु कसैलाई प्रेम गरेर मैले  तिमी सँग बिहे गर्दिन भनेकी हैन मोक्ष, यदी बिहे गर्नु थियो त म तिमी सँगै बिहे गर्थे नि। त्यसैले तिमी जे भन तर बिहे गर्ने मेरो विचार छैन।'
'यो हुन सक्दैन, म सँग यस्तो कुरा नगर दीवा, म हुँदाहुँदै हाम्रो सन्तानलाई तिमी टुहुरो बनाउन सक्दिनौँ।'
'म हुँदा हुँदै ऊ कसरी टुहुरो हुन्छ मोक्ष,आज सम्म मैले देखेको नारी जीवन भन्दा भिन्न जिन्दगी बाँच्ने मेरो रहर छ। बिहे गरेर मात्रै नारीहरु आमा बन्छन भन्ने मान्यता म मान्दिन। म यो समाज र मेरो जिन्दगीलाई बेग्लै गरी भोग्न चाहन्छु।'
'अनी मेरो रहर?'
'तिम्रो रहर पुरा हुन मेरो रहरले रोक्दैन मोक्ष, तिमी अरु कसै सँग बिहे गरेर पुन: रमाउन सक्छ्यौ।'
'फेरी उही कुरा भो आज यस बारे कुरा नगरु, तिमी आराम गर।'
'मोक्ष, मलाई केही भएको छैन तर तिमी यस बिषयमा सोच्नु है।'
'ओहो फेरी.............'
'लौ लौ आजलाई त बन्द गरेँ, तर कुनै दिन म भागे भने मलाई नखोज्नु नि है।'
'यो असम्भव छ दीवा'' मोक्ष दीवालाई यसरी अँगाल्छ कि मानौ ऊ अहिलै भाग्न आँटेकी थीइ र मोक्ष उसलाई रोक्दै छ।
                                       *****
आज दीवा साँच्चै भागी आफ्नो मोक्षलाई छोडेर,  साविकको समयमा भरे अफिसबाट घर नपुग्दा उसको अवस्था के हुन्छ होला सोचेर दीवा आत्तिन्छे। तर आफ्ना भावी दिनको कोरा कल्पनामा पुन: हराउँछे। पोखरा या अरु कुनै शहरमा बस्दा मोक्ष खोज्दै आईपुग्ने भयले ऊ आफ्नो अबको गन्तब्य सुदुर पश्चिमका गाउँलाई बनाउने निश्चित गर्छे। र, मुग्लिनमा खाना खान रोकेको माईक्रो चड्दिन। उसलाई खोज्दै फुच्चे भाई फेरी आउँछ तर उसले आफु नजाने बताउँछे।मुग्लिन सम्मको भाडा कटाएर अघिको पाँच सयबाट अरु पैसा फिर्ता दिन खोज्दै गर्दा फुच्चे भाईलाई ''तिमी नै राख, त्यो तिमीलाई'' भन्दै हाँसिदिन्छे। फुच्चे भाई नौलो हाँसो हाँस्छ र फर्कन्छ। अघी उसलाई बोकेर ल्याएको माईक्रो उसलाई त्यहीँ छोडेर केही क्षण मै अपल हुन्छ।  दिवा पुन: सडक छेउ उभिएर अर्को बसको प्रतिक्षा गर्छे।


(नोट- जागँरले साथ दियो भने कुनै दिन भाग दुई लेख्न सक्छ। तर तिब्र प्रतिक्षा चै नगर्नु है । :D)

तीज


साउन लाग्दै गर्दा तीजले आफु आउँदै गरेको संकेत दिएको थियो। आज दर खाने दिन आईपुग्यो। शहरीया परिवेशमा करिब एकाध महिना अघी देखी पाक्दै आएको दर आज बल्ल गाउँ गाउँको हरेक माईती घरमा पाक्ने तरखरमा छ। अब भने तीज संघरैमा आईपुगेको झै लाग्दै छ। माईतीको बाटो हेर्दै गाउँ गाउँमा अझै पनि कती चेली आँशु झर्दै होलान भने कती माईती घर पुग्ने हतारोमा होलान। आज त सबैले दर खान्छन अनी भोली ब्रत बस्छन तर मेरो घरमा आज पनि दर पाक्ने लक्षण देखिदैन।चेलीहरु बोलाएर माईतीले खुवाउनु पर्ने दर आँफै पकाएर एक्लै खाने जागँर छैन मलाई। गाउँ जाने मेसो मिलेन यो शहरको तीजमा मेरो मन रमाउन मानेन।
 समयको आफ्नै गती छ। पोहोर गएको तीज फेरी आयो। दसैं र तिहार आउँने क्रममा छन। चाडवाड, रमाईलो भन्नु केटाकेटी छदाँ मात्रै रे'छ। जती जती उमेर बढ्दै जान्छ ती सब एक एक गरेर हराउँदै जादाँ रहेछन। जब बिस,बाइसको भईन्छ अनी त हाँस्नै भुलिसकिदोँ रहेँछ। जिन्दगी आफ्नै समस्याले थिल्थिलिएको बेला जुनसुकै चाडपर्व आए पनि मन रमाउन नसक्ने रे'छ। र पनि रमाए झै गर्न पछी पर्न पनि नहुँने स्थितिमा पाउँछु आँफैलाई अनी आफु झै देख्छु यो दुनियाँलाई।
बाहिर पानी एकनासले परिरहेको छ। मलमासले एक महिना पछी हुत्याएर अशोजमा आएको तीज पनि अब हिले तीज होला जस्तो छ। हुन त टन्टलापुर घाममा भगवान दर्शनका नाममा घण्टौ पशुपती या अन्त कहीँ लाईन लाग्ने आमा,भाउजु र दिदिबहिनीका लागि त यस्तै झरिलो दिन काईदाको बनिदिन्छ। वर्ष दिनको दु:ख पिर भुलेर यही तीन दिन तीज भरिकोको लागि घरधन्दा र अरु कामबाट मुक्त भई नाच्न र गाउनका लागि तीज आउने गर्छ भनेर सानै देखी आमा भाउजुले भन्नुभएको सुनेरै हुर्केकी थिएँ म तर हिजो आजको भड्किलो तीज र एक महिना अघी दर खाने प्रचलनले तीजको जुन आफ्नै महत्व थियो त्यो भने पक्कै हराएको छ।
  तीज भन्ने बितिक्कै मलाई बाल्यकालमा मेरो गाउँमा देखेको/मनाएको तीजको सम्झना आउँछ। जहाँ यसरी एक महिना अघी देखी दर खाईन्न थियो,तीजलाई लुगा र गहना देखाउने माध्यम नबनाई वर्ष दिनमा एक पटक टाढाटाढाका दिदीबहिनी भेट हुने र आपसी सुख दु:ख बाढ्ने माध्यम थियो। आमाबाबा र दाजुभाईको मिलोमतोमा चेलीका लागि दुध घ्यु र भदौरे तामाका कयौ परिकार आफ्नै चुल्होमा पाक्थ्यो न कि तारे होटेल र पार्टी प्यालेसमा। ठुलो आँगनमा घुमी घुमी आमा र भाउजुले लाएको पञ्चमीको पूजा र पूजा पनि आफ्नै भाखा र लयमा गाउने तीज गीत पक्कै पनि आजका तीज गीत भन्दा राम्रा थिए छन। तीज नितान्तै महिलाका निम्ती आउँने गर्थ्यो पहिले तर अहिले त छोरा मान्छेलाई पनि छोरीकै तुलनामा तीज लागेको देख्छु। अघी भर्खरै बाटोमा भेटिएका मित्र पनि दर खान जान लागेको भन्दै थिएँ।
मेरो गाउँले अझै पनि त्यहीँ तीज जोगाएको छ जुन तीज मैले सानै देखी मानेकी छु।त्यसैले म हरेक तीजमा गाउँ जान चाहन्छु कयौ पटक मेरो रहर पुरा हुन्छ भने कयौ पटक यसपाली झै सम्झनामै म गाउँ पुग्नुपर्ने हुन्छ ।अन्तत: यो तीज म  कालो कफीको साथमा झ्यालबाट एकनास परेको पानी नियाल्दै तीज मानिदिने निर्णय गर्छु।

दुई टुक्रा


एक
देउराली देवी भाकेकी छ्यौ रे,
मन्दिरमा पनि मागेकी छ्यौ रे।
'सुहाउन्न म त तिम्लाई' भन्थ्यौ,
त्यो मनमा अर्कै राखेकी छ्यौ रे ।।

दुई
किन होला जिन्दगी विधवाको ओठ जस्तो,
दैलो अघी उभिएको काम नलाग्ने बोट जस्तो ।
राखे पनि कामै छैन छोड्न पनि माया लाग्ने,
बिच सडकमा मिल्किएको हो कि खोटो नोट जस्तो ।।

भाग्य कि दुर्भाग्य !


म बसेको घर  मुल सडक छेवैमा छ। सडक छेवैको घरको पनि माथिल्लो तलाको सडक तिरै फर्केको कोठालाई आफ्नो सानो संसार बनाएर यहाँ बस्न थालएकी पनि अब लगभग चार वर्ष हुनलाग्यो। अचेल यो कोठाको सबैभन्दा प्रिय स्थान त्यै सडक पट्टी फर्केको झ्यालले ओगटेको छ।  त्यसो त सुरुका दिनहरुमा मलाई यो झ्याल पटक्कै मन पर्दैन थियो। तर, सडकपारि देखिने फाँटले गर्दा नै मलाई अचेल यो झ्याल मन पर्न थालेको छ। फाँट सँगै सडकको चहलपहल पनि लोभलाग्दो बन्दै गईरहेंको छ। भर्खर-भर्खर बस्ती बस्न थालेको यो फाँटको छाती चिरेर लमतन्न परेको यो कालो,धुले सडक अनी हतारिदैँ आउ-जाऊ गर्ने सबैलाई म चिन्छु। कर्मचारी,स्कुले केटाकेटी,स-साना नानी डोर्‍याउँदै हिँडेका आमाहरु,साँझ बिहान दुध बेच्ने,साग बेच्नेहरु सबै। यहाँ झ्यालबाट बाहिरको चहलपहल नियाल्नु मेरो दैनिकीको अनिवार्य अङ्ग भईसकेको छ।
यो झ्यालबाट यसरी वरपर नियाल्नुमा मेरो कुनै उद्देश्य छैन। मलाई नजिकबाट चिन्नेहरु अनी कहिलेकहीँ भेट्नेहरु सबैले भन्ने गरेको एउटै कुरा त्यो हो कि म थोरै बोल्छु। यसर्थ,मेरा धेरै कुराहरु अव्यक्त्त रहन्छन। यहाँ बस्न थालेको यतिका वर्ष बितिसक्दा पनि म कसै सँग परिचित हुन सकेकी छैन।बिहान क्याम्पस जानु बाहेक मुस्किलले घर छेवैको पसल सम्म निस्कन्छु कहिलेकहीँ आवश्यक सामान किन्न नत्र कसैसँग आँखा जुधाउँनु,गफ गर्नु जिस्कनु, साथीसङ्गी जम्मा भएर गफ्फिनु या कतै घुम्न जानु यी सबैबाट धेरै टाढा छु। यी सबको साटो म कोठामै किताब च्यापेर घण्टौ हराउन मन पर्छ। म आफ्नै आदर्श बोकेर हिँड्ने गर्छु। हुन सक्छ अझ सम्म मेरो आदर्श काँचै छ,अनी यही काँचो आदर्शकै कारण होला मेरो कुनै लक्ष्य छैन,कुनै गन्तव्य छैन। कहिलेकहीँ आँफैलाई पनि आफु एकतमासको लाग्छ। साथीभाई,घुमघाम,फिल्म वा अरु यस्तै मनोरञ्जन छोडेर एक्लै कल्पनामा उड्नुमा,किताबमा हराउनुमा म त्यस्तो के भेट्छु कुन्नी? तर,अब यही एकतमासको जिन्दगीको अभिन्न अङ्ग भएर आएको छ यो झ्याल अचेल। कस्तो मनोरञ्जन भेट्छु कुन्नी,तर म चौपट्टै खुसी भेट्छु त्यहाँ आफुलाई सडक पढ्दै र भुल्दै गर्दा ।
यी साउनका अन्तिम दिनहरु हुन। भर्खरै पानी परेको आकाश उघ्रिएको  छ। बिहानी क्याम्पसको जागिर सकेर म भर्खर यही झ्याल छेउ हराउन आईपुगेकी छु। म बसेको घर नजिकै स-साना नानीहरुको नयाँ स्कुल खुलेको छ। आज पनि यो सडकको चहलपहल सुरु भईसकेको रहेँछ। कर्मचारी,हुर्केका स्कुले केटाकेटी र स-साना नानी स्कुल पुर्‍याउँन हिँडेका आमाहरुको हतारो देख्दा मलाई यी सबै प्रतिस्पर्धी झैँ लाग्छन। त्यतिकैमा देख्छु- अन्दाजी ३० ३२ जतिको देखिने पुरुष हतारिँदै एउटी राम्री सानी बच्ची  डोहोर्‍याउँदै त्यही दौडमा सहभागी भईरहेँको छ। सानी केटी हिँड्न मानिरहेँकी छैन,बरु ऊ पसल तर्फ औल्याईरहेँकी छ। सायद चकलेट किन्न भन्दै होली बाबालाई। तर उसको बाबा सुनिरहेँको छैन,तानेकै भरमा ऊ छोरीलाई हिँडाई रहेँको छ। उसलाई छोरी स्कुल पुर्‍याएर कार्यालय पुग्ने हतारो होला। मेरो झ्याल समुन्ने आईपुग्दा छोरी चैँ आफुले बोकिराखेको सानी चिटिक्क परेको झोला हुत्त्याउँदै बिद्रोह गर्छे। म चुपचाप हेरिरहन्छु तर अनायासै हाँसो फुत्कन्छ। असभ्य लाग्छु म आँफैलाई यसरी उनिहरुलाई नियालेर हाँसेकीमा, छोरीले फालेको झोला टिपेर संयोगबश हो या मेरो हाँसो त्यहाँ सम्म पुगेकोले हो ऊ मलाई झ्यालमा देख्छ। म पनि हेरिदिन्छु उसैलाई,लाज माने झैँ हाँसु कि नहाँसु गर्छ तर मन हर्ने उसको मुस्कान फुत्किहाल्छ। जुधेका आँखा छल्दै छोरी र झोला बोकेर ऊ त्यहाँबाट अलप हुन्छ।
छोरी सहित ऊ त्यो मोडबाट अलप भए पनि मेरो मन बाट ऊ अलप भईसकेको छैन। गहुँगोरो अनुहारको एक जोडी गहिरा आँखाले मलाई अझै नियाली रहेँ झै लाग्छ। आजको दिन एक बिशेष दिन,आजको हेराई एक बिशेष हेराई अनी आजको संयोग पनि त्यस्तै बिशेष। उसको मन हर्ने मुस्कान म कोशीस गर्दा पनि भुल्न सक्दिन। कता कता कुत्कुती लाग्छ,रमाईलो लाग्छ। कुन्नी कस्तो अनुभव हो यो ठम्याउन सक्दिन। नौलो लाग्छ ठम्याउने कोशीस गर्छु तर अँह पटक्कै सक्दिन। यो झ्याल झन प्रिय लाग्छ, नौलो र रमाईलो लाग्छ। यस भन्दा अघी मैले आफु भित्र यो विचित्र भाव र चञ्चलता कहिलै अनुभव गरेकी थीइन। किशोरावस्थामा नलागेको कुत्कुती अनी चञ्चलता अब किन ? जिन्दगी रित्तो भएर हो या भरिएर हो म सँग सम्झन र बिर्सनलाई केही पनि छैन।
त्यस दिन देखी यता उसलाई म सधैं देख्छु। अब म सँग कल्पना गर्नलाई एउटा छायाँ छ भने सोच्नलाई बिषय। एक हिसाबले म बिहान क्याम्पसबाट हतारिदै घर अब उसैका लागि आउने गर्छु। ऊ पनि हरेक दिन त्यही सानी छोरी डोहोर्‍याउँदै आउँछ र मेरो झ्याल सामुन्ने आईपुगेर केही न केही बाहानामा झ्यालमा हेर्छ। आँखा जुध्दा उही हाँसु कि नहाँसुको दोधारमा हुन्छ तर सधैं उसको मन हर्ने हाँसो फुत्किहाल्छ। सधैं झै आज पनि ऊ छोरी बोकेर मेरो झ्याल तिर हेर्छ तर म उसलाई नदेखेको बाहाना गरिदिन्छु। सायद ऊ मलाई पर्खन्छ एकैछिन र निराश भएर बाटो लाग्छ। अलीपर पुगेर फर्केर हेर्छ, यसपटक उसलाई म निराश पार्दिन। उसलाई हेर्दै थोरै हाँसिदिन्छु ऊ मुसुक्क हाँस्छ र उज्यालो अनुहार लाउँदै बाटो लाग्छ।
खाटमा पल्टन्छु र सोच्छु, यो के हो ? किन हुँदै छ? म अरु भन्दा भिन्दै छु,अरुको भन्दा मेरो आदर्श छुट्टै छ। १५ १६ को उमेरमा चन्ञ्चलताले छोएन,कहिलै कसैलाई प्रेम गरुँ जस्तो लागेन,गृहणी बन्ने रहर कहिलै जागेन। बिहे गर्ने सोख अहिले सम्म पलाईसकेको छैन। भन्छन जन्म, मृत्‍यु र विवाह आफुले चाहेँर हुने होइन,यो पहिले नै तय हुन्छ। जन्म मृत्‍यु झै विवाह पनि एक संयोग मात्रै हो त्यसैले बिहे अब पनि हुनसक्छ तर त्यो रहरलाग्दो भने अब हुँदैन। सम्झन्छु- चार,पाँच वर्ष पहिले आमाबाले बिहे गर्न ठुलै जोड गर्नु भएको थियो। तर, मैले वहाँहरुको कुरा पटक्कै सुनिन। उतीबेला वहाँहरुले भने अनुसार मैले बिहे गरेकी भए म सँग मेरो लोग्ने,घरबार,आफन्त सँगै छोराछोरी उसले डोर्‍याएको छोरी जत्री भईसक्थे होला।
भदौको आरम्भ छ। साउनेबाट बिस्थापित भएर अब झरी भदौरे भएको छ। भर्खरै म हतारिदै क्याम्पसबाट आईपुगेकी छु। अब उसको पनि छोरी डोर्‍याउदै आउने बेला भयो। म झ्यालमा पुग्छु, सधैं झै सडकमा चहलपहल सुरु भईसकेको हुन्छ तर पल्लो मोड सम्म पनि उसको उपस्थितिको संकेत भेट्दिन।  आश मर्दैन,'पक्कै आउँछ' सोच्छु र त्यहीँ बस्छु। सडक सुनसान लाग्छ उसको उपस्थिती बिना। किन किन उसलाई र उसकी छोरीलाई देख्न मन छट्पटिन्छ। ऊ मेरै लोग्ने र त्यो सानी बच्ची आफ्नै छोरी भए झैँ उनीहरुको अनुस्थितीमा आफु नितान्त एक्ली पाउँछु। खोज्न जाउँ कहाँ जाउँ नजाउँ त्यसै त्यसै अत्यास लाग्दैछ। कुनै बोझ एक्कासी छातीमा महशुस गर्छु र पनि उठेर हिँड्ने पटक्क मन छैन। उसै गरी चुपचाप बसिरहन्छु।
                                                    *******
'मुनु कहाँ छ्यौ तिमी, नानु र मलाई खाना रेडी गर त अबेला हुन लागिसक्यो।'
'पाकिसक्यो आऊ, नानुलाई ड्रेस लगाएर तयार पार्यौ त? अनी आफु पनि अफिस जान तयार हौ छोरी भन्दा सानो बनेर अहिले मलाई सताउने हैन।'
'छोरीलाई त मैले तयार पारेँ,अब मलाई तिमीले' भन्दै ऊ मलाई अँगाल्न भान्सामै आईपुग्छ।
ह्याँ, नजिस्क है यो पनि जिस्कने बेला हो? ढिलो हुन लागिसक्यो ल तुरुन्त खाना खान बस।
छोरी र उसलाई खाना ख्वाई, उसलाई अफिसको लागि रेडी गरेर गाडी सम्म पुर्‍याउन जान्छु। छोरीलाई पहिले लगेर सिटबेल्ट बाँधिदिन्छ र ऊ आफु पनि डाईभिङ्ग सिटमा बस्छ।
'मुनु,चावी...... ??      भन्दै ऊ फटाहा हाँसो हाँस्छ।
'कसलाई थाहा नभएको हो र माहाशय कि हजुर जानिबुझी चाबी छोड्नुहुन्छ भनेर, लौ लिनुहोस्।'
चाबी लिने बाहानामा ऊ मेरो हात समातेर तान्छ र सधैं झै निधारमा माया गर्छ।जानी,बुझीकनै ऊ गाडीको चावी छोड्छ जुन मैले उसको पछी पछी लिएर जानु पर्छ। गाडीले गेट बाहिर सडक समाते पछी गेट बन्द गर्छु र सन्तोषको लामो सास तान्छु। सानी छोरीलाई स्कुल पठाउँन भन्दा धेरै उसलाई अफिस जान फकाउँनु पर्छ,जुन आजलाई सकिएको थियो। दिउँस उनिहरुलाई खाजा के बनाईदिउँ सोच्दै आफ्नै वरपर फूलेका फूलहरु नियाल्छु। आफ्नो वरपर फूलेका फूल र मेरो जिन्दगीका फूलेका यी दुई फूलहरु मलाई उस्तै लाग्छन।
एउटा सानो चिटिक्क परेको घर, दाँया बाँया र अगाडि सानो तर विभिन्न रङ्गका फूलहरुले सजिएको बगैँचा। माया गर्ने लोग्ने,उस्तै प्यारी छोरी सहितको सम्पन्न जीवन म आफुलाई चारैतिरबाट पूर्ण ठान्छु र आँफैमा मुस्कुराउँछु। वरपरका फूलहरुले पनि मेरो खुशीमा साथ दिन्छन। धर्मकर्म,दानपुण्य ले सेख पछि अरुले भोग्ने स्वर्ग मैले अहिलै भोग्दैछु झैं लाग्छ। स्वर्ग पनि मेरो सानो घरको खुशी देखेर ईर्ष्या गर्दो हो यसकारण की उसको झै सुख मैले नमर्दै भोग गरेकी छु।
                                                      *******
एक्कासी बजेको पुलिसको साईरनले झसङ्ग हुन्छु या भनौँ मेरो कल्पना टुट्छ। उसको आउने बाटो हेरेर यो झ्यालमा बसेकी मैले कल्पनै कल्पनामा उसलाई आफ्नो लोग्ने र उसकी सानी छोरीलाई आफ्नै छोरी ठानेर एउटा सानो र सुन्दर घर संसारको परिकल्पनामा डुबेछु, के मेरो मनमा अहिले सम्म नपलाएको घरबार र गृहणी बन्ने रहर उसलाई र उसकी छोरीलाई देखे पछी पलाएकै हो त? आफ्नै मन सँग प्रश्न गर्छु र पुन: सडकतिरै नियाल्छु। सडकको चाल फेरिएको छ। आउने जाने हुनुपर्नेमा अहिले सबै जना त्यै पुलिसको गाडी गए तिरै दौडदै छन।' यो एक्कासी चालमा परिवर्तन किन हँ?' सोच्न भ्याउँदा नभ्याउँदै आफु पनी त्यै भिडलाई पछ्याईरहेकी  भेटेँ। भिडमा प्राय: सबै मैले सधैं सडकमा देख्ने गरेका परिचित अनुहार मात्रै देख्छु। ती मध्ये थोरैले मात्र मलाई यस टोलमा देखेका होलान र औलामा गन्न सकिने सँग मात्र मेरो दोहोरो कुरा भएको छ। पल्लो मोडमा पुगेर त्यो दौडिएको भिड रोकिन्छ। झुरुप्प भएर वरपर सबै बसेकाले के किन केही भेउ पाउँदिन। आफु सँगै उभिरहेँका पसले बालाई देख्छु। मेरो दोहोरो कुराहुने मध्ये वहाँ पहिलो व्यक्तिमा पर्नुहुन्छ।
'के भएको रे'छ बा? तपाईले केही थाहा पाउँनु भयो त?' राम्रै याद छ कि पसले बालाई यती सोध्दा मेरो बोली मुस्किलले निस्किएको थियो। कारण केही पनि थिएन र पनि मेरो मन आत्तिएको प्रष्टै थाहा पाएँ।    
'के हुनु नानी एउटा मोटरसाईकिल चलाऊने केटाले त्यै पल्लो टोलमा बस्ने हाकिम सापलाई हानिदिएछ। बिचरा! अस्पातल लैजान पनि भ्याएन'छन।' पसले बाले मलिन स्वरमा भन्नु भयो।
'ए! काँ'का रे'छन कुन्नी? आफ्ना आफन्त साथ थिए कि थिएनन होला?'
'खै नानी,तर सधैं यै बाटो हिँड्थे, साह्रै मिजासिला थिएँ। अब ती सानी केटीको बिजोग हुने भयो, आमा चैँ पनि छैन भन्थे।'
पसले बा'का कुरामा आएकी सानी केटी कतै त्यै सानी, राम्री उसकी छोरी त हैन जसलाई एकछिन अघी मेरो कल्पनामा आफ्नै छोरी ठानेकी थिएँ र त्यो मिजासिलो हाकिमा कतै उही हाँसु कि नहाँसुको दोधारमा आफ्नो मधुरो मुस्कान फुत्किएको थाहा नपाउँने उही त हैन? हे भगवान! यस्तो नहोस्। मन मनै ईश्वर पुकारेँ। मेरो मुटु यसरी उफ्रियो कि अहिलै फुत्त बाहिर निस्किन आँट्दै छ। आफ्ना दुबै हातले उफ्रिएको मुटु बाहिरैबाट थिचेँ र भिडको माझमा पसेर त्यो मान्छेलाई चियाएँ।
     मैले जे नहोस् भने दुर्भाग्यवश त्यै भएछ। त्यो मान्छे उही थियो। वरपरको सडक रातै देखेँ। सारा दुनियाँ एक्कासी अँध्यारो लाग्यो। जसोतसो आफुलाई त्यहाँबाट पाखा लाएर भिड मुक्त पारेँ र छेवैको ढिस्कोमा बसेँ। मन मस्तिष्क शुन्य थियो। भर्खरै सम्म उसको र उसकी सानी छोरीको पर्खाईमा बसिरहेँकी म अहिले यो सब....एक्कासी ती सानी छोरीको याद आयो। हतारिदैँ फेरी भिड छिचोल्न थालेँ। सानी छोरी त्यहिँ छेवैमा एकहोरी भएर अब उसलाई एक्ली पारेर गहिरो निद्रामा सुतेका बाबुलाई हेर्दै रहिछे।
सधैं झैँ आफ्नो बाबुको हात समाउँदै कहिले रिसाउँदै त कहिले खुशी हुँदै आज पनि ऊ आउँदै थीइ होली। म पनि त सधैं झैँ उनिहरु आउँने पर्खाईमा थिएँ अघी सम्म। तर नियती....चुपचाप सानी छोरीको छेउमा गएँ तर उसलाई होस् भए झै लागेन। ऊ मुर्तीवत खडा थीइ।  उसलाई उठाएर काँधमा अडेर लाएर बोकेँ। जब छोरी बोकेर त्यहाँ बाट हिँड्ने तर्खर गरेँ तब त्यहाँ जम्मा भएकाहरुले गुनगुन केही भने झैँ महशुस गरेँ तर मैले कसैका कुरा सुन्न पट्टी ध्यान लाईन,काँधमा मुर्तीवत बनेकी छोरी बोकेर चुपचाप भिड छिचोल्दै घर तर्फ लागेँ।

त्यो झरी र यो झरी


लगातार परेको पानीले दिन रुझेको छ। यो रुझेको दिनले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्दै छ। त्यो बिगत जसको स्‍मृतिमा म घण्टौ हराउन सक्छु अनी त्यै बिगत सम्झेर हाँस्न र टोलाउन सक्छु।
त्यतिखेर मैले उसलाई भर्खर भर्खरै चिनेकी थिएँ। दुई चार भेटमै हामी धेरै नै नजिक भईसकेका थियौ। सुरु सुरुमा उसको थोरै बोल्ने र लाज मान्ने बानी देख्दा हाम्रो सम्बन्ध यती नजिक हुन्छ भन्ने मेरो कल्पनामै आउँदैन थियो। तर, दिनप्रतिदिन मलाई उसको त्यहीँ बानीले नै आकर्षित गर्दै थियो। हाम्रो परिचय भएको सायद एक महिना पुगनपुग भएको हुँदो हो त्यो झरीमा हामी भिज्दा। त्यो भेटाई अनी भिजाई योजानाबद्ध पनि थिएन। आ-आफ्नै काममा निस्केका हामीले बानेश्वरमा एक अर्कालाई भेटेका थियौ। बसाई एकैतिर भएकाले सँगै जान उसले भन्यौ। 'पानी परेको छ भिजिन्छ भैगो म बस मै आउँछु' भनेर टार्न पनि खोजेकी थिएँ मैले, तर उसले फेरी यसरी पानी परेको बेलामा सँगै हिंड्ने साईत जुर्ला या नजुर्ला,जुरेको साईत किन बिगारछ्यौ भन्दा म उसको लागेकी थिएँ।
 शंखमुलको बाटो हुँदै मंगलबजार निस्किने तयारीमा थियौ हामी पानी त बिहानै देखी परेकै थियो तर बंगलामुखी देखी तलतिर लाग्दा बाटो त हाम्रो गाउँको खोलो झैँ पो देखियो। फर्कौ यो बाटो बरु घुमेर जाऔँ पनि भने उसलाई तर उसको मनमा के थियो कुन्नी त्यै बाटो जाने ढिपी छोडेन। त्यसो भए पर्ख म चै हिंडेर जान्छु भनेर उसलाई मोटरबाईक रोक्न लगाएँ र झरे। पानीमा झन्डै झन्डै पुरै डुबेको बाईक सँगै ऊ बिस्तारै अघि बढ्दै थियो। सायद खाल्डो हुँदो हो बाईकत्यही फस्यो, ऊ पनि लड्न ठीक्क पर्‍यो। छेउको पसलको सिढिँमा उभिएकी मैले उसलाई हात बढाउँदै माथि आऊ भने। ऊ माथि उत्रने हैन कि मलाई पो पानीमा खसालिदियो। छेउछाउका पसलेहरु हलल्ल एकै चोटि हाँसे। म न हाँस्न सके न ऊ सँग रिसाउन नै।
दुई तीन जना पसले दाईहरुले बाईक निकालेर अली पर्तिर राखीदिनुभयो। ऊ भने अरु सँगै हलल्ल हाँस्दै थियो,मलाई भने दिक्क लाग्दै थियो उसको हर्कतले तर पनि ऊ माथि रिस खन्याउन भने सकिरहेँकी थीइन। 'अघी त भिजुँजा भन्ने पिर थियो तिमीलाई अब चैँ यै पानीमा डुबिरहन्छौ कि बाहिर पनि निस्कने?' खितित्त हाँस्दै अझै मलाई नै पो जिस्क्याउँदै थियो ऊ। उसले समातेको हात झट्कार्दै फुत्काएर केही नबोली र कसैलाई नहेरी फटाफट पानी नभएको ठाउँ तिर पाखा लागेर बसे। ऊ भने अझै उतै ती पसलेहरु सँग हाँस्दै थियो। 'आउँनै हुँदैन थ्यो तँ खुबै ज्ञानी भएर आउनु परेको थियो नि भोग अब' भन्दै आँफै सँग मुर्मुरिदैँ बसेँ। ''मलाई गाली गरेको हो कि क्या हो? मलाई गरेको गाली मैले नै सुन्न नपाउने यो त अली अन्याय भएन र भन्या?'' भन्दै ऊ म भए तिर आयो। उसले यस्ता कुरा पनि जानेको रहेँछ। आज सम्म यो रुप चै कता लुकाएर राखेको रहेँछ म मन मनै सोच्न थाले। 'कफी खाउ पहिले अनी जाउला है घर अब यसै भिजेको उसै भिजेको के हतारो हैन र?' फेरी उसैगरी खितित्त हाँस्दै भयो। 'अँ यो हालतमा कफी' मेरो बोलीमा रुखोपन टड्कारै आयो।
'तिम्रो रिस हराउने कफी खुवाउँछु पर्ख तब तिमीलाई यो झरी जीवन भरी याद रहन्छ' भन्दै ऊ हिँड्यो। लुगा भिजेकोले बस्न त सक्ने अवस्थामा थीइन त्यसैले उसलाई पछ्याएँ,तर अली परको मन्दिरको छानो मुनी ओत लागेर बसेँ। दुबै हातमा कफी बोकेर ऊ छेउ आईपुग्यो र कफी म तर्फ बढाउँदै भन्यो 'लाउ, अनी एउटा कुरा भन त आजको दिनको यादमा आगामी दिनमा तिमी रिसाउछ्यौ कि हाँस्छ्यौ हुँ?'
कफी लिदैँ घुरेर उसलाई हेरेँ मात्रै केही जवाफ दीइन।
कफी सक्यौ तर पानी उतिकै परिरहेकै थियो। भिजिएला भन्ने डर अब बाँकी थिएन त्यसैले जाने हैन घर जाडो भईसक्यो' बाँकी रहेको रिस दबाउदै बोले। 'जाने हो जाने लौ हिँड' भन्दै ऊ अघी लाग्यो म फेरी उसलाई पछ्याउन थालेँ। मलाई मेरो कोठा सम्म पुर्‍याएर ऊ पनि घर गयो। एकाध घण्टा पछी तुरुन्तै मलाई ज्वरो आउन थाल्यो। सिरक ओडेँ र सुते भोली ठीक होला भन्ने आशामा। एकैछिनमा उसको फोन आयो। 'तिम्रो हर्कतको परिणाम भोग्दैछु सुतेर ज्वरो आ'को छ।' फोनमा उसलाई घुर्क्याउनु सम्म घुर्क्याएँ र फेरी सुते।
सायद निदाउन लागेकी थिएँ या एक्कासी बढेको ज्वरोको असार थियो ढोका ढक्ढक्याएको आवाजले झस्किएँ। 'यो नसकेको बेलामा फेरी कुनै चै मुन्ट्यो बिथोल्न सोच्दै ढोका खोले उही रहेँछ। 'फेरी किन के भो?' झरीले होला झमक्कै साँझ परिसकेको बेला उसलाई आफ्नो सामु देख्दा अचम्म लाग्नु स्वभाविकै थियो। 'किन आउँनु हुन्न र? जाउँ त उसो भए' भन्दै उल्टै मलाई पो घुर्की लाउँदै हिंड्न खोज्छ।'ल भयो आऊ' भन्दै बाटो छोडिदिन्छु। 'हिँड' भन्दै ऊ मलाई अघी लाउँछ र आफु पनि आउँछ।
म फेरी सुतिदिन्छु। 'के साँच्चै ज्वरो आयो तिमीलाई?' उसको सोधाईले झनक्क रिस उठ्छ र भन्छु 'हैन ख्याल ख्यालको ज्वरो हो। अनी कोल्टे फेरेर सुत्छु। 'के खायौ त?' ऊ फेरी सोध्छ।
'केही न केही' मन नलागी नलागी बोल्छु।
'म सुप बनाईदिउ? पानीमा भिजेको भएर एलर्जीको ज्वरो आको हो तातो सुप खाउ बिसेक हुन्छ फेरी म सेफ हुन लायक मान्छे कतो मिठो पकाउन जान्या छु तिमीलाई के थाहा र?' भन्दै ऊ किचन तिर लाग्छ।
 म चुपचाप सुतिरहन्छु।
'एई निदाएकी,उठ उठ मैले सुप बनाएको छु लाउ' ऊ झक्झक्याउन आईपुग्छ फेरी।
'खान्न,मन छैन आँफै खाउँ'रिस देखाउने कोशीस गर्दै बोल्छु।
'म त खाईहाल्छु नि,म पनि पो भिज्या छु त अनी म चै किन नखानु त' हाँस्दै बोल्छ र सुप दिन्छ।
भोक पनि लागेको थियो जाडो घटेको पनि थिएन त्यसैले उठेर सुप खाएँ। बाहिर रिस देखाउने कोशीस गर्दै थिए तर मन भने ऊ प्रती माया उमार्दै थियो।
'ल अब यो औषधी खाउँ भोली बिहान सम्ममा यो ज्वरो भागेन भने मलाई भन्नु' भन्दै तातो पानी र औषधी दियो। ल अब सुत।
'तिमीलाई घर जान पर्दैन? तिमी जाउँ राती भईसक्यो।'
'म गईहाल्छु नि, पैले तिमी त सुत।'
उसको जिद्धिको अघी मेरो सधै हार नै हुन्छ र पनि त्यो हार मलाई मिठो लाग्छ। उसको कुरा मानेर चुपचाप सुत्छु।
                                              ********
पानीको कुटाईले थाकेको रात बिदा माग्ने तर्खरमा हुँदा पुर्वतिर सुर्यले आफ्नो आगमनको संकेत दिँदै गरेको हुन्छ। हिजो साँझको ज्वरोले संकेत सम्म पनि आफुमा बाँकी नरहेको र एउटा सुन्दर बिहानिको आगमको संकेत सँगै बिउँझन्छु। हिजो दिउँस देखी साँझ सम्मको घटना खर्खर्ती सम्झन्छु। एक्कासी उसको याद आउँछ। कती बेला घर गयो, न ऊ पनि पो बिरामी पर्‍यो कि मन त्यसै त्यसै आत्तिन्छ। फोन गर्छु सोच्दै फोन खोज्न उठ्छु। आफ्नै आँखा प्रती विश्वास लाग्दैन, आँखा मिचेर पुन: हेर्छु भुँईको गलैचामा पछ्यौरा ओढेर हातको सिरानी लाएर मस्त निदाईरहेको छ ऊ। नछोपिएको उसको अनुहार नियाल्न थाल्छु, निष्कपट अनी मायालाग्दो देखिन्छ ऊ। हेरिरहन्छु तर धितै मर्दैन। ऊ बिउँझला भन्ने डरले छोप्छ, ओड्ने तानेर पछ्यौरा माथि ओढाईदिन्छु र नुहाउन बाथरुम पस्छु। नुहाई सकेर आउँदा पनि ऊ निदाई रहेँकै हुन्छ। किचन पसेर दुई कप कफी बनाउँछु र ब्रेड टोस्ट गरेर ठीक्क पार्छु र लिएर आउँदा पनि ऊ निदाई नै रहेको हुन्छ। निदाई रहेको उसलाई गहिरिएर नियाल्छु वर्षौ पहिले बिछोडिको आफन्त झैँ लाग्छ। किन किन उसमा आफनत्व मात्रै पाउँछु। हिजोको रिसको नामोनिशानै भेटिन आफ्नै मन देखेर छक्क परेँ। हिजोको उसको हर्कतमा पनि आत्मियताको पाउँन  थालेँ !
'एई उठ' सिरक बहिरै बाट घच्घच्याउँछु।
आँखा खोल्दै बोल्छ 'गूड मर्निङ!'
'गूड मर्निङ, अझै पुगेन निद्रा? हाँस्दै सोध्छु।
'पुग्यो नि अब, बिउझाएर अनी अझै निद्रा पुगेन रे' मायालु तर घुर्क्याएको बोली बोल्छ।
हाँस्छु मात्रै केही बोल्दिन। ऊ उठेर कफी पिउँन थालिसकेको हुन्छ। म उसलाई हेरिरहन्छु। यस्तो लाग्छ वर्षौ पछी मात्रै देख्दै छु उसलाई।
                                        *******
आज वर्षौ पछि यो झरीमा मैले उसले त्यो झरीमा सोधेको प्रश्नको जवाफ भेट्टाएकी छु। तर, अफसोच! यो झरीमा म एक्लै छु।ऊ परदेशी भएको धेरै भईसक्यो।  यो झरीमा मलाई भिज्न कर गर्ने ऊ म सँग छैन,छ त केवल ती दिनका याद अनी उसको त्यो मायालु व्यवहार। आज उसलाई भन्न मन लागेको छ कि ''त्यो झरीको सम्झनाले म भित्र रिस होईन खुशी ल्याउँछ, तिम्रो आफ्नोपन याद आउँछ र फेरी त्यसै गरी रुझ्न मन लाग्छ।'' उसको ठाउँमा झरी पर्दा उसले मलाई सम्झन्छ या सम्झदैन तर मैले भने त्यो झरी पछीका हरेक झरीहरु उसैको यादमा बिताउने गरेकी छु। ऊ फर्कनेछ अनी ऊ सँगै त्यो झरी फेरी फर्कनेछ भन्ने झिनो आशाका साथ यो झरी उसैको नाउँमा।

पहिलो भेट


एकै नजरमा आँखामा बस्ने त ऊ देखिदैन थीइ। तर, उसमा अनौठो आकर्षण भने पक्कै थियो। पहिलो नजर हेर्दा साधारण भन्दा साधारण लागेकी ऊ जति जति दोहोर्‍याएर हेर्‍यो उसको सौन्दर्य उती निखारिएको पाउँथेँ। कसैको मतलब नगरि आफ्नै धुनमा मोबाईलमा छानिछानी गीत सुनिरहेकी,खसक्क बाँधेको कपाल,मेक अप नगरिएको अनुहार,धोक्रे टि-सर्ट अनी त्यस्तै जिन्स बाटमा आमा देखिने युवतीको भन्दा भिन्न पहिरन यस्तै देखेको थिए मैले उसलाई क्रीतिपुर माईक्रोमा। विश्वविध्यालय गेट नजिकैबाट माईक्रो चड्ने बितिक्कै पछिल्लो सिटमा बसेकी उसलाई देखेको थिएँ। उसका साथमा अरु दुई चार केटीहरु पनि थिए चलेको आधुनिक पहिरनमा सजिएका तर मेरो ध्यान ऊ तर्फै मोडियो।
 जब जब उसलाई हेर्थे ऊ झन झन राम्रो लाग्थी। सुन्दरता भन्नासाथै साधारणत: बाहिरी आँखाकै भ्रममा पर्छन मान्छेहरु,तर उसको सुन्दरता बहिरी आँखाले नदेखिने छोपिएको भनौ लुकाएर/बचाएर राखिएको कुनै दिव्य ज्योति झैँ। यसले आफ्नो सुन्दरता लुकाउनै यस्तो असुहाउँदो पहिरन लाएकी हो तर मेरा आँखाबाट उसको त्यो सुन्दरता लुक्न सकेन। 'ल है कालिमाटी झर्नुहोस्' भनेर ढोकाको फुच्चे भाईले करायो। ऊ अनी उसको समुह त्यहीँ ओर्लियो। खाली भएको पछाडिको सिटमा थ्याच्छ बसेँ र आँफ्नै मनलाई सोधेँ ''के ऊ भोली पनि यती नै बेला माईक्रो चड्छे होली''? मन चुपचाप रह्यो सायद 'प्रतिक्षा गर' भन्न खोज्दै थ्यो होला तर म उसैको कल्पनामा हराईसकेको थिएँ आजलाई।

फर्किएर घरदेश आउँछु भन्छ परदेशी


फर्किएर घरदेश आउँछु भन्छ परदेशी,
रातो सारी धागो चुरा ल्याउँछु भन्छ परदेशी ।

आफ्नै गाउँ ठाउँ प्यारो पराई सधैं परदेश,
फर्की अब पाखो खेती धाउँछु भन्छ परदेशी ।

पुग्यो अब एक्लै बाँच्न आउँछु तिमीलाई लिन,
तिम्रै स्वप्न हर रात पाउँछु भन्छ परदेशी ।

तिमी साथ भयौ भने सहज बन्छ बाँकी यात्रा,
छोड्यौ भने यी हात हराउँछु भन्छ परदेशी ।

घुम्टो ओढी पर्खी बस मेटिन्छ हाम्रो दूरी,
पञ्चेबाजा सँगै डोली सजाउँछु भन्छ परदेशी।

रजनी


झरीले रुझेको रात अल्छि मान्दै हिडिँसकेको छ र कलिलो घाम झ्यालबाट छिरेर रजनीलाई ओछ्यानमै भेट्न आईपुगेको छ। शनिबार छुट्टीको दिन,अन्य दिन पाँच बज्दा नबज्दै उठेर क्याम्पस दौडने ऊ आज आठ बजिसक्दा पनि अल्छि मान्दै सुतिरहेकी छे। ओहो!सानीमाले आजै पो बोलाउनु भएको हो त है,खानै खाने गरी आईज भनेर 'भएन अब'लामो हाई काढ्दै उठेर बाथरुम छिर्छे। फ्रेस भएर काफी पिउँदै झ्यालबाट रातभरीको झरीले सिनित्त पखालेको वरपरको सडक र खेत नियाल्छे। मनसुनको बेला न हो कतिबेला घाम कतिबेला पानी के भरोसा? भर्खरै लागेको घामको अगाडि ढप्प आएर कालो बादल बसिदिन्छ र अहिलै पानी परिहाल्ला झै देखिन्छ। हरियो भएको असारे धानको फाँट तिर हेरेर खै कुन्नी कुन दुनियाँमा हराउन पुग्छे ऊ पनि। सायद हिजो साँझ देखिकै होला अलपत्र सँग ओछ्यानकै कतै कुनामा परेको उसको मोबाईल एक्कासी बज्न थाल्छ 'ये क्या हुवा तेरे मेरे प्यार कि बाते क्युँ दुनियाँकी नजोरेमेँ आगई.............' हतारिदै मोबाईल खोजेर हेर्छे सानीमाको फोन रहेँछ।
...........
'हजुर, म निस्किनै लागेँ  अब एकैछिनमा आईपुग्छु।'
.......
'हस, हस हुन्छ।'
सानीमाको घरबाट एकाध घण्टामा निस्किएर कतै नजिकैको क्याफे छिरेर आजको दिन बिताउन लक्ष्य बनाउछे। पाँच\छ दिन सम्म अफिस आउँजाउँ मै ठीक्क दाँयाबाँया हेर्ने फुर्सद सम्म हुँदैँन उसलाई। कफी सकेर किताबको र्‍याक,सानो टेबुल अनी झ्यालका सिसाको धुलो झारेर यताउता छरिएका किताब टिपेर र्‍याकमा राख्दै आफ्नो सानो कोठा चिट्ट पार्छे। हतार हतार लुगा फेरेर झ्यालबाट बाहिर नियाल्छे,पानी पर्न ठीक्क परेको देखेर एउटा ज्याकेट पनि बोकी ल्याप्पी छोड्ने त कुरै भएर त्यो त उसको सबै भन्दा नजिकको प्रिय साथी अनि उसको सर्वस्व नै हो। स्कुटर निकालेर क्षणभरमै त्यहाँबाट अलप भई।
आफन्त अनी परिवार सँग झ्याम्मिन रजनीलाई रहर छैन।आफ्नै दुनियाँमा हराउन,आफ्ना अनुभुती,कल्पना र भावुकतालाई शब्दमा बानबुन पार्नमै रमाउछे ऊ। बिहानको समय क्याम्पस र दिउसको समय आफ्नो आवश्यकता पूर्तीका लागि आवश्यक खर्च जुटाउन कुनै निजी अफिस धाउनुमै उसको आईतबार देखी शुक्रबार बित्छ। बिदाका दिन र शनिबार ऊ एकाध घण्टाकै लागि भए पनि आफुलाई मन पर्ने कुनै क्याफे वा पार्क तिर बिताउछे र मौका मिल्ना साथ खररर आफ्ना औँलाहरु घोडा झैँ किबोर्डमा दौडाएर शब्दको बिउ पनि छरिहाल्छे। उसो त आज पनि सानीमाको अग्रह टार्न नसकेर अनी टारेको खण्डमा घरबाट आमाले फोनमा सुनाउने गुनासो बाट जोगिन मात्र ऊ गएकी छे त्यहाँ।
'सानीमा अफिसमा क्लोजिङ चलिरहेँको छ,आज पनि एक बजे तिर सबैलाई बोलाएको छ,त्यसैले म अहिले जान्छु फेरी आउँछु नि है फुर्सदमा' त्यहाँबाट उम्कने दाउ खोज्दै रजनी बाहाना बनाउँछे।'लौ त लौ छोरी, उसो त तँ झुक्किएरै मात्र आउछेस् आईस भने पनि फुर्सद  तँलाई कहिलै भएन,काम नगरि पनि जीवन धान्न गाह्रो काम गर्‍यो यी यै चाल हुन्छ बिदाको दिन सम्म फुर्सद पाईन्न।लौ जा नानी फेरी आउनु है फुर्सद मिले सम्म।'  ''हस'' भन्दै आफ्नो झुठ सम्झेर मन मनै खितितित्त हाँस्छे र  हिँड्छे। एक मन उसलाई नराम्रो पनि लाग्छ तर आईपुग्न लागेको माईतिघर चोकले उसको त्यो मन तुरुन्तै फेरिदिन्छ।
रजनीका आँखा उत्साहित हुन्छन उसलाई देख्न। शनिबार भएकोले बाटोमा अरु दिन जस्तो ट्राफिक पनि हुँदैँन। फनक्क दाँया घुमेर स्कुटरलाई पार्किङमा हाली र त्यहीँको क्याफेमा छिरी। उसो त रजनीलाई यो क्याफे त्यती मन पर्दैन तर पनि उसलाई हेर्ने आफ्नो मन मार्न ऊ कहिलै सक्दिन र प्राय: जसो आउछे। बिदाको दिन भएकाले होला केही प्रेमिल जोडीहरु पनि कफी पिउने बाहानामा त्यतै अल्मलिरहेका छन। बाटो पट्टी फर्किएको कुनाको एउटा टेबुल खाली देखेर रजनी भोको बाघले सिकार झम्टे झैँ त्यहाँ पुग्छे। बसिसकेर उसलाई नियाल्न खोज्छे ऊ पहिलै देखि उसैलाई हेरिरहेँको झै लाग्छ। रजनीको अनुहार भरी लाज र चन्चलता एकै साथ पोखिन्छ। कसैले आफ्नो बद्लिएको रुप देख्यो कि भनेर चोर आँखाले दाँयाबाँया हेर्छे तर सबै आ-आफ्नै धुनमा देख्दा फेरी उसैलाई हेर्दै रहस्यमयी हाँसो हाँस्छे र कफिको अडर गर्छे। ल्याप्पी अन गरेर उन्मुक्त्त घोडाहरु झैँ आफ्ना औंलाहरुलाई किबोर्डमा दगुराउँछे।
                                                        ******
''बाहिर सिमसिम पानी पर्न थालिसकेको छ। सधैं सुन्दर लाग्ने उसको आकृती पानीले भिजेको बेला अझै मनमोहक बनिदिन्छ। ऊ को हो? भन्ने मैले चिनेकी छैन अनि चिन्ने बाटो पनि छैन। उसलाई मैले बिगत पाँच\छ महिना पहिले देखि नै यो मोडमा देख्दै आएकी हुँ। स्कुटर बनाउन दिएर माईक्रोको यात्रा गर्दा अनायासै उसको आकृतीमा मेरा आँखाहरु ठोक्किएका थिए,सायद यहीँ माईतीघर नजिकै भर्खरै खुलेको कुनै नयाँ कलेजको बिज्ञापनमा थियो ऊ। श्यामश्वेत वर्णको उसको फोटोका साथमा ब्रिटिश डिग्रीका साथै अरु खै के के लेखिएको थियो। जब जब उसलाई नियाल्छु उसका आँखा पनि मै तर्फ नियाल्दै गरे झैँ लाग्छ।जब उसलाई मैले पहिलो दिन देखेकी थिएँ कता कता देखे जस्तो,चिने जस्तो,टाढिएको आफन्त लामो समय पछी पुन: भेटे जस्तो महशुस गरेकी थिएँ। उसका एक जोडी चम्किला आँखाहरुले मलाई हुरुक्कै पार्थ्यो। जब जब म माईतीघरको यो मोडमा आईपुग्छु तब मनमा एक खाले चन्चलताको बोध हुने गर्छ। उसलाई जती नियाले पनि यी आँखाका रहर पुग्दैनन। म फेरी टोलाउन थाल्छु।
क्याफेमा कोही पसेको आभाष पाउँछु तर मलाई मुन्टो उठाएर त्यता हेर्ने रहर लाग्दैन अझ भनुँ उसको कल्पनामा डुबिसकेकी मलाई फेरी तैरने रहर हुँदैन। 'एस्क्युज मी, म यहाँ बस्न सक्छु?' सारा क्याफेमा तैले मै छेउ मात्र खाली ठाउँ देखिस्, मन मनै भुतभुताउँछु। ''हजुर'' फेरी उसैको बोली सुनेँ। हैन अझै यहीँ र'छ त यो मान्छे नबोली बसेपछी त जानु नि अन्तै कत्ती न म उसैलाई कुरेर बसेकी झैँ पो गर्छ त! भुतभुताउँछु फेरी एक पल्ट आँफै सँग र 'हुन्छ बस्नुहोस्' ऊ तर्फ नहेरी बोलिदिन्छु।
''कथा, उपन्यास केही लेख्दै हुनुहुन्छ कि जस्तो छ नि, कतै मेरो उपस्थितिले डिस्टर्ब त भएन तपाईलाई? कफी पिउँ भनेर पसेको अन्त खाली रहेनछ। मै आईपुगेँ हजुरलाई अल्झाउन।''
उसको उपस्थितिले मेरो कल्पना भताभुङ हुने स्थिती त आईसकेको छैन। हैन, त्यस्तो केही भएको छैन भनेर ल्याप्पी आफु तिर तान्छु। यो मान्छे बसेको ठाउँमा उसलाई बसिरहेँको देख्न आतुरिन्छन आँखाहरु तर यस्तो कसरी होला र?लामो सास तान्छु र कफी पिउँन थाल्छु।
                                                      ******
झरीको एक साँझ म सधैं झैँ आफ्नो प्रिय क्यापुचिनोको साथमा क्याफेको एक कुना ओगटेर बसेकी छु। सधैं झै मेरो साथमा मेरो सर्वस्व(ल्याप्पी) पनि छ।आज पनि म उसकै कल्पनामा केही शब्दहरु बानबुन पार्ने सुर कस्दै छु। त्यतिकैमा क्याफेमा कोही पसेको आवाज आउँछ। कल्पनामा नहराईसकेकी म आगन्तुक तर्फ मोडिन्छु। ओहो !! मेरो आश्चर्यको सिमा रहदैँन। सपना र बिपनाको भेद छुट्याउन आँखा मिच्छु। के को सपना हुन्थ्यो बिपनैमा रहेँछु। लौ न ऊ त झन मै तिर पो आउँदै छ त! मलाई उकुसमुकुस हुन थाल्छ। जुरुक्क उठेर त्यहाँबाट भागुँ झैँ पनि लाग्छ तर त्यसो गरिहाल्न भ्याउँदिन। क्याफे प्राय: भरिएकै देखिन्थ्यो। ''एक्स्क्युज मी, क्यान आई सिट हियर?''उही परिचित र रहस्यमयी मुस्कान छर्दै ऊ बोल्छ। म ट्वाल्ल परेर उसको मुख हेरिरहन्छु। केही जवाफ नपाए पछी ऊ पनि अलमल्लमा पर्छ।
''एई किन त्यसरी टोलाएकी हुँ?'' उसले एक्कासी मेरा कुममा हात राखेर झकझक्याए पछी पो बल्ल यथार्थमा ओर्लन्छु म।
खिस्स हाँसेर 'बस्' भने र ल्याप्पी आफु नजिक ताने।
''किन हेरेको हेर्यै गरेकी तिमीले, किन म अचम्म लाग्दो देखिएको छु र?'' उसले फेरी त्यहीँ जादुमय मुस्कानमा आफ्ना चम्किला आँखा नचाउँदै बोल्यो।
परिचितलाई झै पहिलो पटक मै उसले सम्बोधन गरेको ''तिमी''ज्यादै प्रिय लाग्छ। मन मनै दङ्ग पर्छु। बेग्लै दुनियाँमा पुगेको भान पर्छ मलाई। 'त्यस्तो केही होईन त्यतिकै, फोटोमा झैँ दुरुस्तैदेखियौ त्यसैले छक्क परेकी' थाहै नपाई बोलेछु।आफुले भनेको कुरा सम्झेर मन मनै आँफै सँग मुर्मुरिए कत्ती न फोटोमा हेर्ने गरेको कुरा सुनाईहाल्नु परेको तँलाई।
''कहाँ देख्यौ मलाई तिमीले'' उसले फेरी प्रश्नको झटारोले हिर्क्यायो मलाई।
उसका प्रश्नको जवाफ दिने क्रममा भर्खरै चाहिने भन्दा बढी भनेकी थिएँ। त्यसैले यस पटक मन बाँध्दै भने त्यहीँ 'माईतीघर चोकमा।'
जवाफमा ऊ हाँस्छ मात्रै। मलाई राम्रो लाग्छ ऊ हाँसेको त्यसैले हेरिरहन्छु।
''अनि यसरी एक्लै एक्लै क्याफेमा? कि कसैको पर्खाइमा थियौ?'' उसले आँखा जुधाउँदै फेरी म तिर प्रश्न फाल्यो।
'अँ पर्खाईनै भने पनि फरक नपर्ला अबलाई किनकी तिमी जो सामुन्ने छौ।' उसै गरी मैले पनि रहस्यमयी तर वास्तविक जवाफ दिन्छु। साँच्चै भन्ने हो भने म चाहन्थे कि कहीँ कतै म उसलाई देखुँ त्यसैले सधैं मेरा आँखाहरु एक खोजिमा लाग्थे तर फेरी निराश हुन्थे तर आज यी आँखाले खोज्नै नपरी खोजाई पूर्ण भएको थियो।
मेरो कुराले उसलाई घत परेछ ऊ मज्जैले हाँस्छ उही निश्चल हाँसो। म मन मनै दङ्ग परेर उसैलाई हेरिदिन्छु एकटकले।
'तिमी त रमाइलो कुरा गर्दीरहेँछौ,  भेटेर खुशी लाग्यो।अब नाम सोध्ने हक त दिन्छ्यौ नै होला?' उसले कफीको चुस्की लिदैँ भन्यो।
'मेरो पनि एउटा खोजाईले पूर्णता पायो। अब आफ्नो खोजाई पुरा भए पछी खुशी नहुँने त को होला र होइन? जहाँसम्म नामको कुरा छ त्यो हक त तिमीलाई उहिलै देखि दिएकी छु। उसका चम्किला आँखामा आफ्ना आँखा जुधाउँदै भने।
मेरो कुरा कती बुझ्यो के बुझ्यो त्यो भेउ उसको अनुहारबाट पाउन सकिन। हात अगाडि बढाउदै उसले भन्यो-
 ' समीर।'
' रजनी' मैले उसको हातमा हात थमाउँदै भने।
''तिमी केही लेख्दै थियौ होइन अघी, मैले बिथोलिदिएँ माफि चाहन्छु।'' उसले उठ्ने तरखर गर्दै भन्यो।
'फेरी पनि यसैगरी बिथोल्न मन भए कहिले कहीँ यतै पस्नु। मैले हाँसेर जवाफ दिएँ।
''लेट सी, भन्दै ऊ उठ्यो। 'एउटा अविस्मरणीय भेटका लागि धन्यवाद, लौ त म हिँडे,कफी पिउँन साथ दियौ त्यसको लागि फेरी एक पटक धन्य भए। बाई, ह्याभ अ नाइस टाईम।''
'तिमिलाई पनि धन्यवाद, मेरो खोज पुरा गरिदिएकोमा अनि यो भेटघाट र साथको लागि बाई।'
ऊ फटाफट निस्केर गयो। सपना र बिपनाको दोसाधमा म निकै बेर हराई रहेँ।
                                                     ******                                                  
 ''धन्यवाद''
उसको बोलिले एक्कासी झस्किएँ। आफु कल्पनामा कहाँ सम्म डुबेछु भन्ने बोध पाएर आँफै सँग लाज लाग्यो। यो आवाज सायद अघी कफि पिउँनका लागि ठाउँ खोज्ने मनिसकै थियो। ऊ त्यहाँबाट गएर काउन्टरमा बिल तिर्दै थियो। म उसैलाई नियाल्दै थिएँ यो सोच्दै कि'बिचरा! यतिन्जेल म चुपचाप बसेको र उसले आफ्ना कुराको जवाफ नपाउँदा आफुलाई अपमानित ठान्दै मलाई के भन्ठान्यो होला? बिल तिरेर उसले पुन: एक दृष्‍टि म तिर फाल्यो। ऊ त्यहीँ थियो। मैले फरक्क फर्केर पारीपट्टीको फोटो नियाले र फेरी उसलाई नियाले, हो ऊ त्यहीँ थियो र उस्तै रहस्यमयी मुस्कान र एक जोडी चम्किला आँखाले मैलाई हेर्दै थियो।म नराम्ररी झस्किएँ।
                                                    ******
वास्तवमा रजनी झस्किदाँ त्यहीँ क्याफेको कुनामा ल्याप्पीमा उसै गरी घोरिरहेँकी थीइ जसरी सुरुमा। आफ्नो कल्पनाको उडान अवतरन भएको थाहा पाएपछी उसका आँखाले एक पटक क्याफे भरी फैलिएर उसलाई खोजेँ।तर त्यहाँ ऊ थिएन।  बिल तिर्दै गरेको मान्छे बिल तिरेर रजनीतिर हेर्दै बाहिरी सकेको थियो। तर अँह त्यो मान्छे ऊ थिएन। भर्खरै आफुले कल्पनामा त्यो मान्छेलाई ऊ ठानेको सम्झेर आँफै सँग खिसिक्क हाँसी र बाटोपारी नियाँली जहाँ रहस्यमयी मुस्कान सँगै एक जोडी चम्किला आँखा उसैलाई नियाल्दै थियो सधैं झैँ।

                                                                                                                        समाप्त !

स्कुटरवाली दिदी (भाग दुई)


'कालीमाटी' दिदीले एउटा सानो बसलाई ईशारा गर्नुभयो,त्यो दिन त अँध्यारोमा केही देखिन तर भोली पल्ट उज्यालोमा देख्दा त्यस्तो सानो बसलाई ट्याक्सी भनिने रहेँछ। ट्याक्सी हामीलाई बोकेर हुईकियो,सिसाभित्रै बाट दाँयाबायाँ नियालेँ। सडक छेउछाउमा मान्छेको लस्कर धेरै देखिन्थ्यो। हाम्रो गाउँको दिवाली पूजामा भन्दा पनि धेरै। ओहो! कहाँ कहाँबाट आएका होलान यतिका मान्छे,सबैले देखिसकेका रहेँछन यो काठमाडौँ,मै मात्र रहेँछु भर्खरै देख्ने। अरुले देखिसकेको पुरानो काठमाडौँ आफुले देख्न परेकोमा मलाई दिक्क लागेको थियो एक मन, देख्न पाएकी र अबका दिनमा यही बस्ने उत्साहले फुरुङ पनि। म सँगैका कती साथीले त अझै देख्न पाएका छैनन,बिचरा कतिको त गाउँतिरै बिहे भएको थियो दश कक्षाको पढाई सकिने बितिक्कै, तिनीहरुको दाजोँमा आफुलाई भाग्यमानी ठान्दै ढिलो काठमाडौँ देख्न पाएर निराश भएको मन बुझाउँदै थिएँ।अहिले थाहा भयो कि यहाँ दैनिक म जस्ता अरुले पहिलै देखीसकेको पुरानो काठमाडौँ भित्रिने थुप्रै छन आफ्ना नयाँ नयाँ सपना बोकेर। तर साँच्चै खै कुन्नी किन हो उतिबेला मलाई खुब नरमाईलो लागेको थियो। अहिले पनि एक्लै हाँस्छु त्यो दिन सम्झेर।
उज्यालो र ठुलो बाटो छोडेर ट्याक्सी कतै भित्री बाटोमा गूड्न थाल्यो र एकै छिनमा रोकियो पनि।दिदीले मै पट्टिको ढोका खोलिदिनु भयो पहिले र आफ्नो तिरको ढोका खोलेर निस्किनु भयो र ढ्याम्म ढोका लाईदिनु भयो, मैले पनि उस्तै गरेर ढोका हुत्याएर लाईदिएँ ;)। खै कुन्नी कती पो हो पैसा लिएर  त्यो ट्याक्सी पनि त्यहाँबाट हिड्यो हामीलाई छोडेर र एकैछिनमा अलप भयो जसरी अघी गाउँबाट यो काठमाडौँ सम्म ल्याएको बस हराए'थ्यो। त्यहीँ छेवैको घरको एक तलो माथि मेरी दिदी दुई वर्ष पहिले देखी बस्दै आएको कोठा जहाँ एकातिर खाट, अर्को कुनामा निगालोको अग्लो र्‍याक भरी किताबहरु,एकापट्टी छेउमा ग्याँस चुलो। सारा घर एउटा कोठामा सिमित।कती जिन्दगी होलान है यो काठमाडौँमा मेरी दिदी झैँ सानो कोठामा आफ्नो संसार बनाउने?
.............
जिन्दगीका कयौं बर्ष बिताउन गारो भए पनि त्यसलाई बिगत भईसकेपछी फर्लाङ्फर्लाङ पल्टाउन धेरै सजिलो हुँदो रहेँछ। काठमाडौँ आईपुगेको एक हप्ता नबित्दै म भित्रको उत्साह सेलाईसकेको थियो। दिदी दिनभरी स्कुल पढाउनु हुन्थ्यो भने साँझ क्याम्पस पढ्नुहुन्थ्यो र ८ बजेतिर मात्र आईपुग्नु हुन्थ्यो। गाउँमा स्वच्छन्द उडेकी मलाई यो शहर साघुँरो लाग्न थालिसकेको थियो। गाउँघर तिर रुख,पहाड,ढुङ्गा,माटाले समेत चिन्दथें,दुख सुखमा संगै हुन्थे,तर यो शहरमा मान्छेले मान्छे समेत नचिन्दों रहेँछ। म झोक्राएको देखेर दिदीले भन्नुभयो,'नानी, यो शहर तैले सोचेको जस्तो राम्रो र सजिलो छैन, आफ्नो मन अनी शहर प्रतिको सोचाईमा फरक ल्याउनु, एक दिन मलाई जस्तै तलाई पनि यो शहर बानी पर्छ तर मन भने कहिलै पर्दैन।' के कती बुझेर हो उतीखेर खुब एकहोरो भएकी थिए तर अहिले भर्खर भर्खर बुझ्दै छु दिदीका ती भनाइका अर्थहरु।
क्याम्पस जाने आउँने गर्न थाले पछी भने केही सहज बनेको थियो मेरो अवस्था। बिहानै छेवैको क्याम्पस पढ्न जान्थेँ। एक दुई दिन त साह्रै दिक्क लाग्यो त्यहाँ पनि। एकाध दिन पछी आफु अनुकुलका साथी भेटिदै गएपछी बिस्तारै बानी पर्न थाल्यो दिदीले भन्नुभए झैँ।बिहान क्याम्पसमा बिताए पनि दिनभरी भने म एक्लै नै हुन्थे। साँझ दिदी साह्रै थाकेर फर्कनु हुन्थ्यो तर पनि कहिलै झिजो मान्नुभएन। सबै कुरा बिस्तारै सम्झाउने र बुझाउने गर्नुभयो।छिट्टै यो शहरीया चलन सिकेँ र एक महिना बित्दा नबित्दै मैले दिदीलाई साँझ तरकारीको झोला बोकेर हतारिदैँ आईपुग्नबाट छुट्टी दिलाएँ।
नचाहेरै हामी यस संसारमा आईपुग्छौँ र मन नलाग्दा नलाग्दै हामी यहाँबाट जानुपर्ने हुन्छ। मात्र कहाँ,कहिले,कसरी भन्ने मात्र अनिश्चित बाँकी त अकाट्य सत्य न हो। दिनभरी घरै बस्ने हुँदा मैले आफु बस्ने घरभेटी र वरपरका केही स-साना स्कुले केटाकेटीलाई जम्मा पारेर दिनभरीको गृहकार्य गर्नमा सहयोग गर्थे,त्यसको बदलामा मैले केही पैसा पनि पाउँथे। क्याम्पस नजिकै थियो,क्यान्टिन कहिले पनि गईन, त्यसैले मैले गर्ने खर्च भनेको त्यहीँ तरकारी किन्ने र कपी,डट्पेन किन्ने मात्र थियो। त्यतीको लागि पनि दिदीसँग पैसा माग्नु नपर्दा र वहाँलाई केही हल्का होला भनेरै मैले केटाकेटी पढाउन निरन्तरता दिईरहेँ। दिदीबहिनी रमाएरै बसेका थियौ।
भन्छन नि भगवानले नदेखेको कहीँ अनी केही छैन। मैले बाह्र कक्षा सकिसकेकी थिएँ, दिदीले पनि एम.ए सम्मको पढाई पुरा गरिसक्नु भएको थियो। दिदीले स्कुल र मैले केटाकेटी पढाउने काम अझै चलिरहेंकै थियो। दिदीले भन्नुभए झैँ मलाई काठमाडौँ बानी पर्न थालिसकेको थियो,मन भने परेको थिएन। साउनकै महिना थियो सायद त्यो,एक दिन गाउँबाट आईपुग्नु भएको दाईले घरमा आमा बिरामी पर्नु भएको र गाउँको हेल्थपोस्टको औषधीले नछोएको खबर ल्याउनु भएको रहेँछ। एक हप्ताको लागि दिदीको स्कुल पनि बिदा थियो। दिदीले आफु गएर आमालाई संगै लिएर आउने र यतै अस्पातल लैजाने कुरा गर्नुभयो। म पनि जान्छु घर, दुई,तिन दिए क्याम्पस र केटाकेटीको पढाई छुटेँ पनि छुटोस भने तर वहाँले मन्नुभएन। बर्खाको बेला तँ किन जानु म गएर तुरुन्तै आमालाई लिएर आउँछु भनेर मलाई एक्लै यो निर्दयी शहरमा छोडेर जानुभएकी मेरी दिदी फेरी कहिलै यो शहरमा फर्केर आउनुभएन। मेरी दिदीमात्र यो काठमाडौँ फेरी फर्केर नआउने अरु पनि धेरै जना हुनुभएछ। बर्खाको त्रिशुलीले खै कुन्नी कहिलेको अनी के को बादलामा मेरी दिदी लियो मैले अझै बुझ्न सकेकी छैन। उसो त मलाई उतिबेला देखी त्यो बाटो हिंड्न नपरे हुन्थ्यो झै लाग्छ र पनि कहिलेकहीँ त्यै त्रिशुलीको किनारै किनार हिड्दाँ सधैं तेर्‍स्याउँछु 'ए! त्रिशुली तैलें कहिलेको अनी के को बदलामा मेरी दिदी मबाट खोसिस?' तर अँह केही जवाफ आउँदैन चुपचाप रहन्छ सधैं ।
जिन्दगी जसरी पनि बाँच्नु नै पर्दो रहेँछ। परिस्थितीको सामु पहिलो पटक नराम्ररी पछ्छारिएकी मलाई अन्तत: फेरी उठ्न कर लाग्यो थप् जिम्मेवारी लिएर। आफु लथालिङ भएर अब मैले बाँच्नु थिएन। बाबा आमा र सानो भाईको जिम्मेवारी मेरो काधँमा आईपुगेको थियो।दिदी रहुँन्जेल सधैं बालख बनेकी मलाई अब पनि बालखै बनिरहने अवसर थिएन।
 जिन्दगीले साँच्चै मेरो परिक्षा लिन लागे जस्तो लाग्दै थियो। सास पानी पुर्‍याई पुर्‍याई फेर्नुपर्ने र पाईलै पिच्छे पैसा खोज्ने यो शहरमा त्यती केटाकेटी पढाएको भरमा बाँच्नु त हुट्टिट्याउँले आकाश थाम्नु जस्तै थियो। बि.ए पढ्दै गरेकी मलाई जागिर पनि कस्ले दिन्थ्यो र? जहाँ जहाँ अप्लाई गरे पनि ४/५ वर्षको अनुभव खोज्दा रहेँछन! अब काम बिना पहिले नै अनुभव कहाँ बाट ल्याउन सक्थे र मैले। मेरा अप्ठ्याराहरु टाल्न मेरी आमाले प्यारो मुनेहरु बेच्दै हुनुहुन्थ्यो। जब मुने बेचिन थालियो कयौ रात सपनामा समेत मुनेहरुको निर्दोष आँखाले तर्साउन थाल्यो। बिउझेंर खुब रुन्थे पनि तर रुवाईमा समाधान त पक्कै थिएन। (धेरै भावुकता र अव्यक्त भाव अटेसमटेस थिए यतिबेला ती दिदी भित्र।)
...........
हजुर,हजुर मुनेहरु मलाई ज्यादै प्रिय लाग्छन। त्यसैले म शाकाहारी भएँ र छु। आफ्नो स्वादको लागि तिनको ज्यान लिएको मलाई मन परेन त्यसैले मैले बुझ्ने भए देखी नै म शाकाहारी छु। तर,मासु खानेहरु सँग पनि मलाई केही समस्या छैन। यस्ता कुराहरु भनेको ब्यक्तिगत कुरा हुन नि हैनन?
'हो' को भावमा उसको टाउको हल्लिन्छ।
केटाकेटी पढाउने बेला देखी नै मैले पोखरेल जी लाई चिनेकी थिएँ। सायद वहाँबाट मेरो वास्तविकता लुकेको थिएन। त्यस्तैमा एक दिन वहाँले मलाई भेट्न चाहेको खबर आफ्नो सानो छोरालाई पठाउनु,भयो। जो मैले पढाउने केटाकेटी मध्यकै एक हो। ऊ सँगै वहाँको घर पुगेँ। 'हेर नानी, तिमी अहिले कुन परिस्थितीमा छौ त्यो म बुझ्छु, तिम्री दिदी पनि हिम्मत नहार्ने केटी थीइन उसैकी बहिनी भए निस्कियौ तिमीले पनि हिम्मत हारिनौ र हार्न पनि हुँदैन। सप्ठ्यारो अप्ठ्यारो भनेको सधैं आउँछ।' एकाएकै वहाँबाट दिदीको प्रसँग सुनेर मन फेरी हुरुक्क भएर आयो तर बलैले रोके आसुँ भने। 'अब जागिरको हालत तिमीले बुझिनै सक्यौ, यहाँ आफ्नो मान्छे ओहोदामा नभई जागिर पाउनु भनेको मरुभुमिमा पानी पलाउनु जत्तिकै हो। हेला गरेको वा त्यस्तै अरु केही सोच्दिनौ भने आज म तिमीलाई एउटा सल्लाह दिन्छु,तीमीलाई जे ठीक लाग्छ स्वतन्त्र निर्णय गर्न सक्छ्यौँ।' वहाँबाट यस्ता कुरा सुन्दा यो निर्दयी शहरमा मन भएका मान्छे पनि हुँदा रहेँछन भन्ने जस्तो लागेको थियो पहिलो पटक।'मैले चिनेको एक जना बिदेशी साथी छ, ऊ सानेपा बस्छ। उसले साँझ,बिहानको भाँडा माझ्ने मान्छे खोजिदिनु भनेको छ मलाई। तिमीलाई पढ्न र बस्न पुग्ने खर्च पनि दे'ला।तिमी दिउस दिउस गएर भाँडा माझ्छेउ भने म तिमीलाई भोली नै लिएर जान्छु। अनी तिमीले यहाँका मान्छेले झै भाडाँ माझ्ने भनेर दुर्व्यवहार गर्लान भन्ने नसोच्नु। उनीहरु बिदेशी संस्कार भएका मान्छेहरु हुन। गरिखानेलाई नराम्रो सोच्दैनन। भन तिम्रो मन के छ?' आफ्नो परिस्थिती सँग म अन्जान थीइन,केही काम त मैले थाल्नु जरुरी भईसकेको थियो। त्यसैले वहाँलाई 'हुन्छ' भनिदिएँ।
भोलिपल्ट १२ बजे तिरै पोखरेल जी सँगै आफ्नो भाग्य लेख्न निस्किएँ। बुढाबुढी २ जना बस्दा रहेँछन। यु,एनका कर्मचारी रहेँछन। रमाईला र मिजासिला लाग्यो। बिहान क्याम्पस जानु पर्ने र साँझ केटाकेटी पढाउनु पर्ने भएकाले आफु दिउँस मात्र आउन सक्ने बाताए। उनीहरुले हुन्छ भने। अनी पढ्दै गरेको भन्ने थाहा पाएर बिशेष रुची पनि देखाए र केही किताबहरु पनि दिएँ। जिन्दगीले लिएका परिक्षाहरुमा अब आफु पास हुने सम्भावनाले चियाउन थालेको थियो। ती बिदेशी जोडीकैमा भाडाँ माझेर मैले बि.ए को पढाई सकेकी थिए। रहर त थियो अझै पढ्ने तर भाईलाई पढाउनु पर्ने जिम्मेवारी आएको थियो। भाईलाई ल्याएर क्याम्पस भर्ना गरिदिए। तिनै बिदेशीको सहयोगले सानेपामै अर्को एक ठाउँ र भैसेपाटीको दुईवटा घरमा मैले भाडाँ माझ्ने भएँ। थोरै थोरै बचेँको पैसा र नपुगेको आफुले हालिदिएर पछी बिस्तारै तिर्ने गरी पोखरेल जी कै सहयोगमा मैले यो स्कुटी किनें,र केही महिनामै मैले वहाँको पैसा फिर्ता गर्न सकेँ। अब कालिमाटीको कोठा, सानेपा र भैंसेपाटी यही स्कुटरमा धाउन थालेँ।परिस्थिती सहज बनेपछी पढ्ने रहर पुरा गर्न 'रातिको कक्षा लिने गरी क्याम्पस भर्ना भएँ। स्कुटरमा जाउआउँ गर्नाले खासै अप्ठ्यारो पनि परेन। भाई पनि राम्रै पढ्दै थियो। बाबाआमा खुशी हुनुहुन्थ्यो। पहिला पहिला मैले भाडाँ माझ्छु भन्दा खेरी ''बरु गाउँ फर्की'' पनि भन्नुहुन्थ्यो। तर मैले यो शहर सँग हार नखाने भने पछी त्यो पनि छोड्नु भयो।
..................
हो, अब मैले भाडाँ माझ्नु पर्ने बाध्यता छैन। म अरु थुप्रै काम गर्न सक्छु र गर्छु पनि तर जुन काम गरेर म आजको 'म' बन्न सकेँ त्यो कामलाई म कसरी अब छोड्न सक्छु र? यो त 'खोलो तरे'सी लौरो बिर्सिने' भन्ने जस्तो भईहाल्यो नि। त्यसैले त मैले सुरुमै भनेकी थिएँ कि अहिले भाडाँ माझ्नु मेरो बाध्यता होइन भनेर।
..........
छक्क लाग्यो रे हजुरलाई मेरो कुरा सुनेर? लौ,किन नि त्यस्तो?
................
ए, उसो भए त ठिकै छ। फेरी सम्झाएँ है त तपाईंलाई,मा गाउँमा जन्मिहुर्केकी गाउँले मिजास छ झुटो बोल्दिन भनेर। ठुलै अफिसमा काम गर्ने र आधुनिक जस्ती देखिए पनि मेरो वास्तविकता र मैले भोगेको बिगत मैसँग छ नि हैन? बिगतलाई बिर्सिएको अभिनय मात्र गर्न सकिने रहेँछ तर चटक्कै बिर्सन भने नसकिने रहेँछ।
अँ साँच्ची अब हजुर प्रस्ट भन्नुहोस् कि तपाईले चाहनु भएको जस्तो साथी म बन्न सक्ने रहेँछु कि छैन त? एउटा सम्पन्न र बैँकको म्यानेजर जस्तो मान्छेले भाडाँ माझ्ने केटी किन रोज्नु भयो?
......................
उसले हाँसेर खुसुसु खै कुन्नी के के भन्यो तर मैले मन मनै भने दिदी तपाईले यतिन्जेल जे जे भन्नु भयो त्यहीँ त्यहीँ कारणले यो मान्छे तपाईलाई चाहन्छ।काम पाईन भनेर या बाध्यताका नाउँमा गलत बाटो रोज्न पुगेका आजका कयौँ युवाले सिक्नुपर्छ तपाईबाट।
कफीको पैसा तिरेर ल्याप्पी झोलामा राख्दै फेरी एक पटक ती दिदीलाई आँखाभरी अनी मन भरी हेरेर क्याफेबाट निस्किएँ। बाटैभरी स्कुटरवाली दिदीप्रतीको श्रद्धाले झुकिरहेँ।
                                                                                                                समाप्त !

स्कुटरवाली दिदी (भाग एक)

कहिलेकहीँ दिक्क लाग्दा भनौँ या भागदौडको दैनिकीबाट छुटकारा पाउँन नजिकैको कुनै क्याफे पसेर कफी पिउँनु मेरो पुरानै बानी हो। अझ मनसुनी झरीमा कफी पिउँन बिशेष प्रकारले आकर्षित हुन्छु, क्याफेको कुनामा चुपचाप बसेर कफी पिउँदै वरपरको बातावरण नियाल्नु प्राय: दैनिकीको नछुट्ने पाटो हो। आज पनि अलिअली पानी परेकोले कफीको नियास्रो लागेकै छ। क्लास छिट्टै सकिएकोले र बाहिर खास केही काम पनि नभएकाले घर जानु भन्दा अघी नियमित जाने गरेको नाङ्लो क्याफे तिर हानिए।साँझ पर्न आँटिसकेको र झरीको दिन भएकाले होला क्याफे प्राय: भरिएकै देखिन्थ्यो। भुँई तलामा अलिक धेरै मान्छे भए जस्तो लागेर माथिल्लो तलामा उक्लिएँ। पर्तिर कुनाको एउटा टेबुल खाली रहेछ सोझै उतै लागेँ। मान्छेहरु कोही तात्तातो म:म, कोही फ्रेन्च फ्राई र कोही कफी सँगै आ-आफ्नै गफको धुनमा मस्त थिएँ। परिचित भाईले हाँस्दै स्वागत गर्‍यो र मेनु बढायो, मेनु उसैलाई फर्काउदै ब्ल्याक कफी को ईशारा गरेँ र ब्यागबाट ल्याप्पी निकाले,फ्री वाईफाईको सुबिधाबाट किन बन्चित हुने हैन? सोच्दै र आँफै सँग हाँस्दै!  :)
टुईटर,फेसबुक,ब्लग,स्काईप लगायतका सामाजिक साईट र म्यासेन्जरहरु धमाधम खुल्न थाले ल्याप्पी सँगै। च्याटमा एक दुई साथीहरु रहेँछन तर कुरा गर्न मन लागेन र मिनिमाईज गरेर छोडें। नयाँ केही ब्लग पोस्टहरु आएका रहेँछन भरे घरमा गएर पढुला भन्दै तिनलाई पनि थन्क्याएँ। फेसबुक छोडेर टुईटरमा रमाउन थालेको धेरै भईसके पनि फेसबुकलाई माया भने मार्न सकेकी थीइन, गाउँले दाईको म्यासेज आएको रहेँछ। पारिवारिक अवस्थाले गर्दा बिदेशिनुभएको वहाँलाई गाउँको खबर,सञ्चो बिसन्चो सँगै असारे माटोको सुगन्ध मिसाएर म्यासेजको रिप्लाई दिएँ र टुईटर छिरेँ। टुईटे साथी/दाजु/दिदीहरु आ-आफ्नै पाटो र बिषयतिर अल्झेकै हुनुहुन्थ्यो खर्खर्ती हेरे। टुईटरमा भन्दा पनि आफु भन्दा ठीक अघिल्लो टेवलमा बसेकी एउटी दिदीको कुराले ध्यान खिच्दै थियो। त्यसैले टुईटर त्यतिकै छोडेर ती दिदिको कुरा सुन्न थाले आफ्नै धुनमा। उनको अघिल्लो तिर बसेको एउटा अधबैसेँ मान्छे के के सोध्दै थियो खुसुसु...। खुसुसु यसर्थ कि उसले बोलेको गुनगुन मात्र सुन्थे तर उती कुराको भेउ पाउँदिन थिएँ तर ती दिदी भने अलिक ठुलै स्वरले बोल्दै हुनुहुन्थ्यो। उनको कुरा म राम्रै सुन्न सक्थे,र सुन्न थालें।
.............
हेर्नुहोस्,मलाई बढाईचढाई गर्न फिटिक्कै आउँदैन। अनी भित्र एउटा र बाहिए अर्को कुरा गर्ने मान्छे मन पनि पर्दैन। गाउँमा हुर्किएकी हुँ,त्यसैले गाउँले मिजास छ झुटोलाई झुटो र सत्यलाई सत्य भन्न मलाई कसैसँग डर लाग्दैन। तपाईंलाई पोखरेल जी ले मेरो बारेमा के भन्नु भएको छ त्यो म जान्दिन। म जे छु तपाईंको सामुन्ने छु। तपाई पनि आफ्ना कुरा निर्धक्क मेरो सामु राख्न सक्नुहुन्छ, चित्त नबुझेको कुरा अहिलै छलफल गर्न सकिन्छ,ताकी भोली गएर यो भएन त्यो भएन को स्थिती नआओस।
............
मैले भाडाँ माझ्छु भन्दा तपाईले पत्याउनु भएन रे! हो तपाईले झैँ  धेरैले पत्याउदैनन।हुन पनि कसरी पत्याउँन त है,आधुनिक पोशाकमा सजिएर स्कुटर चडेर जो हिड्छु। आज सम्म भाडाँ माझ्ने भनेको दुईछाक टार्न पनि धौ धौ हुनेले हो भन्ने मान्यताले अझै कहाँ छोडेको छ र हाम्रो समाजलाई! त्यसैले पत्यार नगर्नुलाई म नौलो मान्दिन। तर अब पत्त्यार गर्नुहोस् कि मेरो रोजिरोटी भनेको त्यै हो। त्यै कमाईबाट मैले आफ्ना आवश्यकताहरु पुरा गरेकी छु,गाउँमा मेरा बा'आमालाई नुन तेल खर्च पुगनपुग हेरेकी छु, भाईलाई यहिं आँफै सँग राखेर पढाउँदै छु।
.............(गुनगुने स्वरमा केही भन्दै गरेको त्यो व्यक्त्ती थोरै हाँसेको पनि देखिन्छ।)
हो हो, सहि अनुमान गर्नु भयो तपाईले। स्कुटर मैले भाडाँ माझेर जम्मा गरेको रुपयाँले किनेकी हुँ। तपाई सोच्नु होला कि भाँडा माझेर कसरी तेत्रो स्कुटर किन्न सकिन्छ? एक हिसाबले तपाईको अड्कल पनि ठिकै हो। तर एउटा कुरा के स्पष्ट हुनुहोस् भनेअहिले सम्म तपाई अनी अरुले सोचे जस्तो भाडाँ माझ्नेमा म पर्दिन। यसलाई यसरी बुझ्नुहोस् कि मैले भाडाँ माझ्नुलाई बाध्यता नभई आफ्नो प्रोफेसन बनाएँ। यो मेरो रोजाई हो बाध्यता होइन।
...........
ल हुन्छ कि किन नहुँनु, म तपाईलाई कसरी म यहाँ सम्म आईपुगे सबै बेलिबिस्तार लगाउँला, धैर्य चै चाहिन्छ है सुन्नलाई हुन्छ?
....स्वीकारोक्त्ती स्वरुप हल्का हाँसो र मुन्टो हल्लाएको देखिन्छ ।
म मेरा बाआमाकी कान्छी छोरी, मेरी एउटी दिदी हुनुहुन्छ र एउटा भाई छ। थुप्रै सपनाहरु बोकेर एस.एल.सि पास भएको वर्ष आज भन्दा दश वर्ष पहिले २०५८ सालको साउन महिनाको एक दिन भुकभुके उज्यालो मै  मेरी दिदी सँग पहिलो पटक काठमान्डौ आएकी थिएँ। हिंड्ने बेलामा आमाले ''राम्रो पढ्नु नानी'' भन्दै रातो टिका लगाएर हातमा दक्षिणा र एउटा नासपाती राखिदिनु भएको थियो। गाउँ छोड्नुको नमिठोपना र शहर पस्ने उत्साह एक साथ थियो। गाउँको सिरानमा हाम्रो घर भएकाले दाँयाबाँयाका घरहरु सँग सेपिएर उधोँ झरेको बाटो हिड्दाँ गाउँका भाउजु ठुल्यामा सानीमाहरु 'ए कान्छी पनि पढ्न हिंडेकी काठमान्डौ' भन्दा म खिसिक्क हाँसेर मन मनै गमक्क पर्थे।  दिदी भने के के कुरा गरिरहनु हुन्थ्यो उहाँहरु सँग। मलाई त्यो बेला असाध्यै झिजो लागेको थियो दिदी त्यसरी कुरामा अल्मलिएर नहिडेंको देख्दा। सायद काठमान्डौ पुग्ने हतारो थियो क्यारे म भित्र उतिबेला।
     घरबाट त्यस्तै ५ घण्टा जती पैदल हिंडेँपछी बस चड्ने ठाउँमा आईपुग्यौ। त्यहाँ सम्म त पहिले पनि आएकै थिएँ यात्रा नौलो थिएन। तर जब बसको यात्रा सुरु भयो अनी सुरु भए नौला यात्राका लहरहरु। मलाई जोडले भोक लाग्दै थियो। आमाले बिहान दिनुभएको नासपाती उहिल्यै खाईसकेकी थिएँ। दिदीले मलाई भोक लागेको थाहा पाउँनु भएछ क्यारे,मान्छे उकाल्न बस रोकेको ठाउँ छेवैको पसलबाट एक प्याकेट चाउचाउ किनेर दिनुभयो। गरमगरम एक प्याकेट चाउचाउ चपाएर बिहानै दिदीले झोलामा हाल्दिनुभएको बोतलको पानी खाए पछी भने आफुलाई केही सहज महशुस गरेकी थिएँ र झ्यालबाट बहिर नियाल्न थालेँ।
९ घण्टा जतिको बस यात्रा छिचोल्दै झमक्क साँझ परेपछी केही अग्लो डाँडो जस्तोमा आएर बस रोकियो। एक हुल पुलिसहरु हुरुरु बस भित्र पसे र सबैका झोला खोतल्न थाले। अज्ञात डरले घम्लङै छोप्यो र दिदी सँग टाँसिए। हाम्रो झोला पनि खोतलखातल पारेर पछाडिको सिट तिर हान्निए तिनीहरु र एकै छिनमा फेरी अघी झै गुरुरु बहिर निस्किए,बस फेरी हिड्यो। आबुई! अली पर्तिर र अझै पर पर सम्म बत्ती नै बत्ती पो देखियो त। तिहारमा बालेको दियो जस्ता साना अनी ठुला, राता,पहेँला,निला कती कती। पहिलो पटक देख्दै थिएँ यो सबै। दिदीले भन्नुभयो 'काठमान्डौ त्यै हो, अब धेरै टाढा छैन।' ऊ भन्दा ऊ छिटो गरी कुदेका बसहरु सँगै हामी चडेको बस पनि कहिले अघी र कहिले पछी हुँदै कुदिरह्यो।तर पनि मेरो मनको गती भन्दा बसको गती ढिलो भए झैँ लागिरह्यो। केहीबेरमै 'ल कलंकी झर्नुहोस्' भन्दै खलासीले ढोका खोल्यो। दिदीले झोला बोक्ने तरखर गर्नु भयो मैले बुझें अब हामी काठमान्डौ आईपुगेछौ। आफ्नो भागको सानो झोला झुन्ड्याउँदै दिदीको पछी लागेँ। बसले हामीलाई त्यही छोडेर उतिन्खेरै अलप भयो। मनमनै आँफैलाई भने 'तँ काठमान्डौ आईपुगिस्, आजैबाट सुरु भयो तेरो यहाँको बसाई', मसक्क मुठ्ठी कसेँ र आँफैलाई दरो बनाएँ।
                                                                              क्रमश:

ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर


ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर।
आवश्यकता त्यसै टार्न पनि हुन्न हेर।

न त राख्नु न त फाल्नुको खोटो नोट जस्तो,
जिन्दगीलाई बेवारिसे पार्न पनि हुन्न हेर ।

फूल बन्छ जीवन काडाँ माझमै फुल्छ यो,
कोपिलामै ओईलाएर झार्न पनि हुन्न हेर ।

रहर माथि कसी सुखी हुने काईदा रै'छ,
र पनि सबै रहर मार्न पनि हुन्न हेर ।

ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर।
आवश्यकता त्यसै टार्न पनि हुन्न हेर।

फ्याँकिएको डायरी

अन्तिम पानो

ऊ सँग सम्बन्धित अध्यायहरुको अन्तिम लेखनको अध्याय अब यो पछी ऊ अब मेरो डायरीमा लेखिने छैन। त्यो बिगत, त्यो जीवनको एक पाटो जसले मेरा सपनाहरु दिवास्वप्न बनायो। परिस्थिती र समयको खेला भन्दै उसले म सँगको सहयात्रा सजिलै सँग तोडेर गयो। परिस्थिती त आफुँले जस्तो चाह्यो उस्तै बनाउन सकिन्थ्यो तर उसले हिम्मत गरेन । ऊ दुखेर गयो की हलुका भएर गयो त्यो मलाई थाहा छैन र अब जान्ने रहर पनि छैन तर आफ्नो निर्णय सुनाएर नतिजा आफ्नै तिर पारेर गयो ।    
त्यो दिन धेरै दिनको छट्पटाई पछी अन्तत एक दिन उसलाई पुरानै ठाउँमा भेटेकी थिएँ। पहिलेको ऊ र अहिलेको ऊ, कतै केही नमिलेको जस्तो, केही छुटे जस्तो र केही थपिए जस्तो अन्यौलको स्थितिमा । जब उसको नजिकै पुगे मन भरी प्रश्नहरु मडारिदै थिए तर बोली भएर निस्किन मानिरहेंका थिएनन। जुन सहजताका साथ आफ्नो मन उसको सामु फुकाउथें यसपाली त्यसो हुन सकेन। यसो उसको अनुहार नियाँले मनले तुरुन्तै भन्यो यो अब तेरो रहेंन,तँ बाट बिल्कुल अलग भईसकेको छ । आफ्नै मनको कुराले झस्किए, साँच्चै किन किन त्यतिबेला ऊ मलाई कुनै अपरिचित भन्दा भिन्न लागेन। मनले स्विकार गरेन कि ऊ सँग मैले आफ्नो जिन्दगीका पाँच बर्ष बिताईसकेकी छु।
उसको छेउमा बसुँ कि हिंडु को दोधारमा एक पटक पुन: उसको अनुहार गहिरिएर नियाल्ने प्रयास गरेँ । त्यहाँ दोधार, निराशा,असन्तुष्टी अनी लाचारिका बादलहरु मडारिदै थिए, केवल बर्षन बाँकी थियो झैँ लाग्यो । एकहोरो हेरिरहेँ माया लाग्यो तर तुरुन्तै तिरस्कार को भाव मडारियो आमुक पिडा सहित 'बस न के थाहा अब फेरी यसो भन्ने दिन आउछ आउँदैन' कतै टाढा कन्दराबाट आएको जस्तो झिनो स्वरमा उसले भन्यो। यतिका दिन कहाँ थियौ ? बस्नु र आवेग अली रोक्दै प्रश्न गर्नु एकै पटक थियो सायद । 'जे को डर थियो त्यहीँ भयो, यो के भयो?' चुक घोप्ट्याए जस्तो अनुहार पारेर भन्यो। सहानुभूती त हैन रिस उठ्यो मलाई एका एक भने, म छोरी मान्छे भएर त आँट गरेकी थिए, जहाँ गएर जसरी भए पनि निर्वाह गर्न अब हामी सक्थ्यौ, पढाई सकिएकै थियो, त्यस माथि मेरो बाबा ममीले स्वीकारी सक्नु भएकै थियो, तर तिमी..... ? खै तिमीमा आँट ? अझै पनि आँट छ भने हिड अहिलै जिन्दगी जसरी पनि चलाउन सकिन्छ।
'हैन सानी अब त्यसो गर्न म सक्दिन, म मेरा बाबाआमाको ईच्छा विपरित जान सक्दिन,अब हामी अलग्गिनु नै ठीक हुन्छ। म तिमी सँग छुट्टीएर कसरी बस्छु अनी मेरो हाल के होला त्यो मलाई मात्र थाहा छ र पनि तिमीलाई आफ्नो बनाउन सकिन, साँच्ची म अब अरु कसैको हुने पक्का भयो।' आँखा भरी पारेर उसले भन्यो। अब मलाई त्यहाँ बसिरहनु ब्यर्थ लाग्यो, जुरुक्क उठे र भने तिम्रो नयाँ जिन्दगी तिमीलाई बधाई छ खुशी रहनु, अनी फटाफट घर तिर लागे ।
मुटु भक्कानिएकै थियो, जब घर पुगे आँशुका मुल फुटें। आसुँ झरुन्जेली पिडा अलिक काम भए झै लाग्यो तर रोकिए पछी फेरी उस्तै। निरन्तर बग्यो आँशु। आमाले भन्नु भयो ' नरो नानी जे हुन्छ राम्रैको लागि हुन्छ, हामीले त सबै मिलाएकै हो तर उल्ले तेती पनि हिम्मत गर्न सकेन भने तेस्तालाई सम्झेर कती रुन्छेस, सम्झी त्यो आफ्नो लायक थिएन, यदी लायक थियो त छोरो मान्छे भएर त्यती आट्न सक्नु पर्थ्यो तर ऊ त भाग्यो परिस्थिती को निहुँ र बाध्यताको खोल ओडेर। अझै केही बिग्रेको छैन, आफुँलाई सम्हाल।' आमाको कुरा ठिकै लाग्यो। मैले धोका दिएकी होइन, धोकेवाजको बोझ मैले उठाउन परेन, अब उ बिना एक्लै पनि आफु अनुकुल बाच्नु पर्छ भन्ने भाव आयो मन दरो बनाए।
मनमनै आँफै सँग प्रतिज्ञा गरेँ उसलाई भुल्दै जाने, सजिलो त थिएन तर विकल्प पनि अरु थिएन। आजको दिन देखी म उसलाई मन देखी दिन दिनै निकाल्नेछु अली अली गरेर। ऊ जहाँ जसको साथमा रहोस् खुशी रहोस्। अघी सम्म रिस र पिडा थियो ऊ प्रती तर अब कती पनि छैन। ऊ एक अपरिचित भन्नेछ आजै देखी मेरो लागि। म सबै परिचित अपरिचित सबैको खुशी चाहने र सजिव निर्जिवको भेद नराखी सबैलाई स-सम्मान माया गर्ने मान्छे। उसको लागि आजबाट त्यै माया मात्र रहनेछ यो मनमा। एक प्रकारले स्वतन्त्र र अझ निर्धक्क भए झै लाग्यो, अबको समय पुरापुर आफ्नो क्षमताले  बाबाको अफिसलाई अझ उचाईमा पुर्‍याउने एक मात्र लक्ष्य बाँकी रह्यो, आखिर म उहाँहरुकी एक्ली सन्तान पो हुँ । कसरी भुल्न सक्छु र म यो जिम्मेवारी।
जिन्दगीको एउटा मोड भनौ वा एक अध्याय यहाँ सकिन्छ र अब जिन्दगी अर्को मोड तर्फ मोडिन्छ। के थाहा कही कतै एक जिन्दगी कुनै मोडमा मलाई नै पो पर्खेर बसेको छ कि !

फुले पछी झर्नै पर्थ्यो

फुले पछी झर्नै पर्थ्यो झर्दा किन मन दुख्यो ? 
सार्नै पर्थ्यो बास मनको, सर्दा किन मन दुख्यो ?? 

सहयात्री थे'नौ हामी संयोगको भेट थियो,
छुट्टीयौँ र तर्‍यौँ साँघु, तर्दा किन मन दुख्यो ??

मेरी थि'नौ कहिलै तिमी न त म नै तिम्रो हुँ,
पराईले भर्‍यो सिउँदो, भर्दा किन मन दुख्यो ?? 

अपरिचित झैँ बने बाध्यता त्याँ त्यस्तै थियो, 
नदेखे झैँ गरेँ तिम्लाई, गर्दा किन मन दुख्यो ??

फुले पछी झर्नै पर्थ्यो झर्दा किन मन दुख्यो ? 
सार्नै पर्थ्यो बास मनको, सर्दा किन मन दुख्यो ?? 

अब अरु केही, केही, केही... चाहिँदैन


अब कुनै आन्दोलन चाहिँदैन, बन्द चाहिँदैन,
अब कुनै जुलुस चाहिँदैन, धर्ना चाहिँदैन,
अब कुनै सर्वहारा चाहिँदैन, प्रजातन्त्रवादी चाहिँदैन,
अब कुनै निरङ्कुस चाहिँदैन, समाजवादी चाहिँदैन,
अब कुनै नेता चाहिँदैन, कार्यकर्ता चाहिँदैन,
अब कुनै परिवर्तन चाहिँदैन, क्रान्ति चाहिँदैन,
अब कुनै संविधान चाहिँदैन, कानुन चाहिँदैन,
अब कुनै राहत चाहिँदैन, सुविधा चाहिँदैन,
अब कुनै बिकास चाहिँदैन, योजना चाहिदैन,
अब कुनै संघियता चाहिँदैन, राज्य चाहिँदैन,
अब कुनै शासक चाहिँदैन, शोषक चाहिँदैन,
अब कुनै सेना चाहिँदैन, सुरक्षा चाहिँदैन,
अब कुनै शान्ति चाहिँदैन, बैठक चाहिँदैन,
अब कुनै सहमति चाहिदैन, निर्णय चाहिँदैन,
अब कुनै नयाँ नेपाल चाहिँदैन,
सबै सबै पुगिसक्यो,
अब अरु कुनै मुर्ख्याई चाहिँदैन,
अब अरु केही केही केही... चाहिँदैन,
तर,
हामीलाई आफ्नै बनिबुतामा बाँच्न देऊ !

झरी,शिरिष अनी ऊ


   बाहिर लगातार पानी दर्किरहेकै छ। लगातार परेको पानीले 'काकाकुल काठमान्डौ'ले केही राहतको अनुभव पक्कै गर्दै होला। झरी बिशेष दैनिकी मन अनुकुल पारेर बनाउने गर्छु। बेला बेलामा कालो कफी सँगै झ्यालमा उभिएर बाहिर पानी सँग जिस्कदै गरेको गुलाफ र अम्बाको फूल हेर्दै पुन: किताबमा फर्कनु हिजो देखिको एकनासे दैनिकी चलिरहेकै छ। पानी रोकिने छाँट छैन, एकनास परिरहेँकै छ। यस्तो लाग्छ यसपाली पानी काठमान्डौको धुलो र धुँवा मात्र नभई मेरो मन पनि सिनित्त पखाल्न खोज्दैछ।
    ढक... ढक... ढोकामा कोही आएको संकेत दिंदै छ। यस्तो पानीमा साथीभाई त पक्कै आएनन होला, वल्लो पल्लो कोठा बस्ने सँग उती घुलमिल छैन,म यहाँ आएको पनि एक वर्ष पुग्नै लाग्यो आज सम्म आमुने सामुन्ने पर्दा खिस्स हाँस्ने औपचारिकता मात्रै छ। तिनीहरु पक्कै होइनन, को हुन सक्छ यो साँझमा,त्यै पनि यस्तो झरीमा सोच्दै ढोका खोल्छु। पानीमा निथ्रुक्क भिजेको एक झुप्पो शिरिषसँगै ऊसलाई पाउँछु। तिमी, यस्तो पानीमा !!, ''अँ... म, यस्तो पानीमा.... किन छक्क परेकी? लाउ यो तिम्रो लागि'' रुझेको शिरिष मेरा हातमा थमाउँदै ऊ भित्र पस्छ। मलाई अझै ढोकामै देखेर ऊ फेरी बोल्छ ''अरु कोई आएका छैनन कस्को बाटो कुरेकी,मलाई तातो कफी दिन्नौ?'' आएँ, उसलाई आवाज दिंदै ढोका बन्द गरेर रुझेको शिरिष टेवलमा राख्दै हातको किताब उसैलाई थमाउँदै कफी बनाउन किचनतिर पस्छु।
       उसलाई थाहा छ,मलाई शिरिषका फूलले बिशेष आकर्षित गर्छ। त्यसमा पनि झरीमा रुझेको शिरिषले मलाई भुतुक्कै पार्छ। सायद, केही वर्ष पहिले ऊ सँगको भेटका प्रारम्भिक दिनहरुमा हामी घण्टौ निला फूलमा छहारीमा हराउँथ्यौ। ''हैन यी निला फूलमा तिमी के देख्छौ र यती मरिहत्ते गर्छ्यौ हँ? मान्छेले फूल मन पराउँनु त स्वाभविकै हो, यहाँ त एउटा फूलले अर्को फूल प्रती मरिहत्ते !! , यो अली अस्वभाविक भएन भन्या?''
     स्वाभाविक अस्वभाविक मलाई थाहा छैन,अनी म छुट्याउन तिर पनि लाग्दिन। मलाई यी फूलहरु देख्दा किन किन चौपट्ट खुशी लाग्छ,त्यसैले म यो सँगको सामिप्यता रुचाउँछु। अनि भन्छन नि खुसीको कारण खोज्न तिर नलाग्नु,बस रमाउँनु मात्र, यदि कारण खोज्न थालियो भने कारण पत्ता लगाउन्जेल खुसीले सात डाँडा काटिसक्छ। त्यसैले, हरेक कुराको कारण हुन्न बुझ्यौ? ''बुझेँ बाबा बुझेँ त्यसो भए म पनि तिम्रो कुरामा लागेर आफ्नो खुसी बटुल्नबाट बन्चित हुन्न है।'' के हो नि तिम्रो खुसी ? ऊ चुपचाप मेरो काखमा पल्टिदिन्छ, म जवाफ पाउँछु। त्यस दिन देखी शिरिष फुल्न थालेपछी ऊ एक झुप्पो शिरिष बेगर मेरो सम्मुख उपस्थित हुँदैन। शिरिषको याम सकिएपछी बल्ल उसको फेवरेट् 'रेड रोज'को उपस्थिती देखिन्थ्यो हाम्रो भेटघाटमा।
       हातमा दुई कप कफी लिएर आउँदै गर्दा ऊ किताब फालेर ती रुझेका निला फूलहरुलाई मिलाएर फूलदानीमा राख्दै गरेको देख्छु। यो झरी, रुझेको निलो फूल, तातो कफी अनि ऊ.....एकाएक बाहिर दर्केको पानीले मेरो मन सिनित्त पखालेर कञ्चन पारेको भान हुन्छ।

जिताउन तिमीलाई मैले सधैं हारेकी छु


दु:खहरु सधैं सधैं आफ्नो भाग पारेकी छु,
जिताउन तिमीलाई मैले सधैं हारेकी छु ।

भन्छौ किन सधैं मैले तिम्रो खुशी चाहिन,
तिम्रै हाँसो हेर्न आँफैलाई दाउ राखेकी छु।

तिमीलाई अघि सार्न तिम्रा रहर पुरा गर्ने,
आफ्ना कैयन अवसरहरु त्यसै त्यसै टारेकी छु।

छचल्किन्छन आँशुहरु सहनुको सीमा हुन्न?
तैपनी यी नखसुन भनी परेलीलाई बारेकी छु।

तिम्रै खुशी रोजिदिएँ कहिलै भने र मेरो खै ?
जती थिएँ ईच्छाहरु मैले उहिलै मारेकी छु।

कथा - एक साँझ

                    किन किन मलाई  ऊ यन्त्रमानव झैँ लाग्छ। कहिलेकहीँ अनायासै ऊ र उसको दैनिकीको बारेमा सोच्छु। त्यस्तो पनि जिन्दगी हुने रहेँछ छक्क पर्छु। मलाई ऊ सधैं रिसाएर बसेको जस्तो लाग्छ। त्यस्तो मान्छेले अफिस गएर के काम गर्ला? स्टाफहरु कसरी सम्हाल्छ होला चकित पर्छु। उसका आफन्त पक्कै होलान, तर खै(?) आउजाउ भने उती भएको थाहा छैन। साथीभाई त पक्कै छैनन (...)नै होला। न त छर्-छिमेकी सँग कहिलै बोलेको देखेकी छु। हैन यो मान्छेको मन के बाट बनेको छ हँ? आँफै सँग प्रश्न सोध्छु तर जवाफ केही पाउँदिन।
            ऊ मेरो छिमेकी हो। हामी छिमेकी भएको पनि दुई बर्ष पुगिसक्यो। उसको घर छेवैको घरको एउटा कोठा  भाडा तिरेर मैले आफ्नो बनाएकी छु। सानो चिटिक्क परेको घर र सुहाउँदो बगैचा देखिन्छ, मेरो कोठाको झ्यालबाट  उसको। एक्लै बस्दो रहेँछ, उसको आफ्नै अफिस छ भन्ने कुरा अरु छिमेकीबाट थाहा पाएँ। अनी प्राय: कसै सँग  नबोल्ने र घुलमिल हुन नचाहने किसिमको छ भनेर मलाई एकाध पटक छिमेकीले नसुनाएका पनि हैनन।यदाकदा छुट्टी पर्दा या साँझ बिहान  उसलाई घरको छत तिर टहल्दै गरेको या बगैचामा देखेकी सम्म छु।
           आज ऊ यतिबेला सम्म घर फर्किएको छैन,यसर्थ कि उसको घर अझै अँध्यारै छ। ऊ नफर्कनुको विविध  अड्को काड्छु। अफिसमा  काम पर्‍यो कि,या कतै जाम्-साम भएर अड्कियो...। र, पनि यी सबैको बाबजुत  आईपुग्नु पर्ने बेला त भयो। खाना खाएर  पढ्न बस्छु तर ध्यान पटक्क जादैँन, एक तमासको छट्पटी हुन थाल्छ। मनमा विविध तर्कना खेल्न थाल्छन्। उसको घर पट्टिको झ्याल खुल्लै राख्छु र आएर ओछ्यानमा पल्टन्छु।निद्रा अघेरै कुन्नी कता गइसकेको हुन्छ। न आज सम्म बोलेको होस् न चिनेको हो, न कोही आफन्तै होस् व्यर्थै के को बेचैनी हो खुरुक्क ननिदाएर आँफैलाई हपार्दै सम्झाउछु तर सब व्यर्थ !
         आज अरुणलाई सर्प्राईज् दिन्छु ऊ भन्दा चाडै घर पुगेर, गम्दै अफिसबाट हाफ बिदा लिएर निस्किन्छु, बजार पसेर केही तरकारी र फलफुल सहित। उफ ! यो बैशाखको घाम, यसैले होला बगैचाका फूलहरु निन्याउरा देखिन्थे। टाईम जती पनि छ पहिले यिनलाई पानी हाल्छु अनी मात्र किचन तिर पस्छु सोच्दै बगैँचा पसेँ।अनायासै मोबाईल आयो। नचिनेको नम्बर को होला सोच्दै(?) फोन उठाएँ परिचित् झैँ लाग्ने आवाज भन्दै थियो, ''हेल्लो म्याडम्,अरुण सरलाई हामीले बि.एन्ड.बि. हस्पिटल ल्याएका छौ,हजुर तुरुन्तै आउनुहोस्,।'' एक छिन अलमलिन्छु, के गरुँ/नगरुँ भै । अरुण...... हस्पिटल...... बि.. एन्ड.. बि...... आउनुहोस्....... एक पटक गम्छु र खर्खर्ती घरबाट निस्केर हस्पिटल पुग्छु। 
              बेहोसी र रगताम्य अरुण देख्दाँ म धर्मराएँ कि क्या (?) ''म्याडम् नआत्तिनुहोस् डक्टर ले भन्नु भएको त्यस्तो आत्तिनुपर्ने केही छैन रे'' सायद फोनको स्वर त्यै थियो र ऊ अझै बोल्दै थियो,'आज म चाडैँ घर जान्छु,तिमेर्की म्याडमलाई  सर्प्राईज् दिन अफिस हेर्नु है केही परे फोन गर्नु  भनेर घर फर्किदाँ बाटोमा सरको गाडी एक्सिडेन्ट भएछ, खासै ठुलो चोट छैन अली रगत बगेर मात्रै हो बेहोश हुनुभएको.......... अब एकाध घण्टामा होश आउछ...यस्तै के के ।त्यतिकैमा  म्याडम् यी पानी लिनुहोस्, कसैले हातमा चिसो पानीको ग्लास राखिदिएँ झैँ लाग्छ तर भर पाउँदिन ग्लास भुँईमा खस्छ। 
         झस्कन्छु र उठ्छु आफुलाई आफ्नै कोठामा पाउँछु। एकैछिन अघिको सारा घटना सम्झन्छु, र मात्र मेरो तर्कना रहेँछ भन्ने बोध भए पछी बल्ल ढुक्क हुन्छु। के कल्पना गरेकी होला मैले पनि, छि! हाँसो पनि उठ्छ  र संगै दिक्क लाग्छ ,फेरी  तुरुन्तै मन डराउँछ कतै ऊ...हतारिदै झ्यालमा पुग्छु। धन्न,उसको घरमा बत्ती बलेको रहेँछ , यसको मतलब ऊ आईपुग्यो। मनमनै भगवानलाई धन्यवाद दिन्छु र सुटुक्क ऊ सँग रिसाउछु पनि किन(?) यती ढिलो गरेको भनेर। पानी पिउँछु र झ्याल बन्द गरेर  पुन:ओछ्यानमा पल्टन्छु र सोच्न थाल्छु साँच्ची उसको नाउँ चै के होला ? कतै अरुणै त होइन ?


कक्षा कोठामा केही क्षण


क्लास पनि के आउँनु,स्कुल जस्तो दश बजे देखी पाँच बजे सम्म पढाउँछन, त्यै पनि ढोका थुनेर।स्कुल पनि के भन्नु बरु स्कुलमा यती प्रेसर त पर्दैन थियो,पढ्नु भनेको त सरहरुको आँखा छल्नु मात्रै न थ्यो।

ओई, आज पनि किन ठिलो आ'की? आज पनि पाउना आईलाग्या थियो कि क्या हो?

उफ्फ। कती हिरो बन्छ है त्यो। हेर न बोल्न पनि पोइसै तिर्न पर्ला झैँ,खुब जान्नेछु, यो क्लास त के टियु नै टप्छु सोच्दो हो, तेल्लाई के था कि ऊ भन्दा जान्ने अरु पनि छन् भनेर। भोली पर्सी रिजल्ट आउँदा अर्काले टपिदिन्छ अनी केटो हेर्या हेर्यै।उसको ठुला मान्छे सँग संगत छ रे भन्दैमा हामीलाई मान्छै पो देख्दैन त।

आ,दिदी मलाई त व्यर्थै यो नदुखेको कपाल डोरी ला'र दु:खाउन लागे झैँ लग्न थाल्यो,हुँदा खादाँको जागिर छोडेर पढ्न थालियो खै पार लाग्ला जस्तो छैन,अझ घरमा सासु आमाले भान्साको काम पनि गर्न दिनुहुन्न पढ्न बस भनेर, आफुलाई भने खै के भाको हो दिमागमा मरे घुस्दैन,किताब हेरेर मात्रै के गर्नु? फेरी कोर्स पनि के हो यो हुँदा न खाँदाको,थोरै तिनो भए पो, नेपालका त ल आफ्नो देशको पुरानो ग्रन्थ र उ बेलाको हाम्रो भाषा भनेर पढुँला रे त्यो तातो न छारोको पश्चिमा सभ्यता र ग्रीकको ईतिहास हामीलाई के काम।अझ त्यसैले टाउको दुखाउँछ झन।के काम हामीलाई त्यो सब जानेर पनि?

एई तेरो ब्वाई फ्रेन्ड सँगको झगडा मिल्यो? क्या यार तिमरु पनि सधैं झगडा गर्छौ।भोली पर्सी घराँ पनि झडाँ गरेर सासुले छुट्याउन पर्ला है तिमर्लाई त....
यदी तपाईंलाई अप्ठ्यारो पर्दैन भने आफ्नो नाम या मेल दिन सक्नुहुन्छ? म फेसबुकमा एड गर्छु नि हजुरलाई हुन्न?
क्याम्पस आउन थाल्या यत्रो एक बर्ष भयो र पनि अहिले सम्म एउटा ब्वाईफ्रेन बनाईनस?आफ्नो कक्षाकामा आँखा नगए यसो माथिल्लो कक्षा अनी अरु अरु डिपार्ट तिर्को हेर्नु नि, कस्तो लाटी,एम फिल मा आउने एक जाना क्या ह्यान्सी छ भन्या,मलाई क्या राम्रो लाग्छ। म तलाई देखाउँला है त तिनेरुको ह्याँ क्लास पर्‍या दिन।
ए सुनन, तिमीहरुको तिर कोठा पाईन्छ भने यसो बुझिदेउ न है। अहिले बसेको ठाउँमा पानी नै गतिलो छैन भन्या, जाडो हुँदा त ठिकै थियो धेरै पानी चहिन्न थियो अब गर्मी जो लाग्यो।
सपैले एक्जामको तयारी गर्न थालिसकेछन, म मात्रै हो बाबै अहिले सम्म कोर्स पनि राम्ररी नबुझ्ने, खै यो पाराले ले के गर्ने होला? दिक्क लाग्यो, झन राम्ररी पढ्नुपर्ला भनेर कामसाम छोडेर आईयो लास्टा फेल हुनी भएँ ।
हेर न त्यो केटी क्या राम्री लाग्छ मलाई तर के गर्नु ठिलो भैएछ यार,अर्कै सँग हिंड्न थालिसकिछ भन्या क्या ब्याड लक। अरु त आँखै जान्नन...
अई, बिहे गरेकी भएर पो हरा'की ? खै त निम्ता हाम्लाई चै? के हो कोई कोई आउँने बितिकै साथीलाई माया मरिदिएको? जे जे भए पनि पार्टी भाग चाहिन्छ है। बरु कुन दिन खाजा खुवाउने हो अघिल्लो दिनै भन्नु है म खाना नखाई आउँला...
तैले खाजा के ल्याकी छस् खै ले न ऐले नै खाउ कस्तो निद्रा लाग्यो के तै पनि भाग्थ्यो कि। बरु ब्रेकमा म खुवाउला नि तलाई पनि खाजा।
ह्या म त बाहिर जान्छु, यो सरको पिरेड पढ्नु भन्दा त नपढ्नु नै राम्रो। हेर बुझ्ने कै होइन बेक्कार दिमाग दुखाउनु मात्रै हो। बरु आईज तँ पनि । को पढोस् यस्तो बोरिङ्ग क्लास।
तिनिहरु त ग्रुपमै पढ्दै छन् रे। अस्तिनै देखी तयारी थालेका। बाहिर नदेखिने तर भित्र भित्रै खत्रा पढ्दा रहेँछन।क्लास तेती नबस्ने र बसे पनि लास्ट हल्ला गरेर बस्ने तर घरमा मरुन्जेल पढ्छन अरेनी त, हामी मात्र न क्लासमा पढ्नु न घराँ, हेर यै पारा हो भने निको चाल् छैन हाम्रो।
आफु त ऐले सम्म बा'कै फुलस्कलरसिपमा पढ्दै हो। यसपाली बजेट भाषण हुँदा अली बजेट बढाउन लाउनु पर्नी छ बरु कसरी पो हो सोच्दै छु ऐले देखी नै। तलाई पो ढुक्क छ त आफ्नै कमाई,आफ्नै रमाई।

ऊ त उच्च स्तरको छ


आँफु परे हुँदा खाने ऊ त उच्च स्तरको छ।
व्यर्थै माया लाएँ मैले उसको मुटु पत्थरको छ।

यो मनमा के छ भन्ने कुरै सुन्न चाहंदैन,
त्यसैले त हाम्रो दूरी धर्ती आकाश अन्तरको छ।

सुहाउँदैन भन्छ रे उसको र मेरो जोडी,
किनकी ऊ महलको मेरो घर त खरको छ।

आफ्ना पिता पुर्खाको सम्मान हुनै पर्छ,
तर उसलाई घमन्ड किन त्यै थरको छ।

आँफु परे हुँदा खाने ऊ त उच्च स्तरको छ।
व्यर्थै माया लाएँ मैले उसको मुटु पत्थरको छ।

अन्यौल

साथी,
म अज्ञात पथको एक पथिक,
मेरा बाटाहरु नै अघी सर्छन मेरो बाटो छेक्न ।
जती जती म गन्तब्यको नजिक हुन्छु,
मेरा पाईलाहरु समातिन्छन,तानिन्छन
अनी,
म फेरी त्यहीँ आईपुग्छु
जहाँ देखी मैले यात्रा थालेँ ।।

गन्तब्य पुर्‍याउन सहयोग गर्नु साटो
पछाडि बाट खुट्टा तान्छन,
अगाडि बाट तगारो हाल्छन,
मेरो प्रगती नचाहनेहरु ।
मेरो यात्रा बिथोल्नेहरु ।।

त्यसैले,
म बेहाल छु।
म निरिह छु,
विवश र एक्लो छु,
किनकी,
मैले कसैको खुट्टा तानित,
कसैको बाटोमा तगारो हालिन।।

त्यसैले त म भन्छु नि,
यो स्वार्थीहरुको संसार हो,
यहाँ बाटाहरु नै अघी सरेर बाटो छेक्छन,
छेकारो काट्छन,
घेरामा पार्छन,
लछार्छन् पछार्छन्
र अन्तत:
एक दिन मार्दछन पनि ।।

बल्झिने घाऊ दिएर गयौ,

बल्झिने घाऊ दिएर गयौ,
खुशी चै सारा लिएर गयौ ।।

दिएर कालकुट बदलामा,
अमृत प्याला पिएर गयौ ।।

तोडेर नाता यो मन सँग,
त्यो मुटु अन्तै सिएर गयौ ।।

अधमरो जूनी बाँच्दै छु म,
जिन्दगी आफ्नो जिएर गयौ ।।

बल्झिने घाऊ दिएर गयौ,
खुशी चै सारा लिएर गयौ ।।


तिम्रो के छ

तिम्रो के छ?मेरो त चलेकै छ जिन्दगी,
पिपल बोटमा ऐजेरुँ झैँ फलेकै छ जिन्दगी ।

सफलता यहाँ हैन पुग्नु छ शिखर मै,
चढुँ भन्दा उल्टो फेदमै गलेकै छ जिन्दगी ।

झुप्रो पाएँ महल छैन,किन भन्नु होला,
जहाँ पनि एक न एक दिन ढलेकै छ जिन्दगी ।

यो भयो त्यो छैन,तेरो मेरो ब्यर्थ किन?
मुठ्ठी फुकाई मसानघाटमा जलेकै छ जिन्दगी ।

तिम्रो के छ? मेरो त चलेकै छ जिन्दगी,
पिपल बोटमा ऐजेरुँ झैँ फलेकै छ जिन्दगी ।

कविता


आमा,
त्यो पारि डाडाँ उता के छ?
त्यहाँ भन्दा पर ठुलो शहर छ,
नानु ठूली हुन्छे धेरै पढ्छे,
अनी एक दिन त्यै डाडोँ पारिको शहर जान्छे,
सानै छदाँ आमा भन्नुहुन्थ्यो।

म दंग पर्थे, गमक्क फुल्थे र
पल्लाघरे पोक्चिलाई भन्थे,
हेर, पोक्ची त्यो डाडाँ पारि शहर छ,
म ठूली भए'सी त्यै जाने रे,
मेरी आमाले भन्नुभा'को ।
आँखीभौँ उचाल्दै आश्चर्य मान्दै पोक्ची खुशी हुन्थी
र क्षणमै उदास,
मेरा बाले पठाउन्नन बाबै,
म जान पाउन्न त्यहाँ,
उदास हुँदै पोक्ची भन्थी।

त्यो डाडोँ नाघेरा शहर पस्ने दिन,
रातो टिका संगै खुशी र एक भारी पिर
अनी चिन्ता मेरी आमाको आँखामा थियो,
छोरीले अझै पढ्ने र गाउँमा उचों शिर हुने आशामा
बाबा गर्वले फर्‍याक फुरुक्क गर्दै हुनुहुन्थ्यो।

यो शहरमा आएर छोरीले आमाबाबाको रहर पुरा गरी,
गाउँमा उहाँहरुको मान पनि बढाई,
''उस्की जस्ती छोरी भए पो'' भन्दा
बाबाको छाती चौडिएको र हाँस्दै नसुने झैँ गरेको पनि देखी।
तर..........

यो शहरमा सधैं एक्लै रहीँ,
गुम्सियो उसको सास,
भेटिन उसले गाउँले मिजास,
पाईन स्वतन्त्र उड्न,
गाउँको  आफ्नोपनाले उसलाई कहिलै छोडेन,
त्यसैले,
आज गाउँकी चरी गाउँ मै फर्की
पुगेन उसलाई यो शहरको चौघेरोले।  

पर्खाइका अन्तिम दिनहरु

 श्लोक,
दिनै गन्ने हो भने पनि तिमी म सँग टाढिएको तीन बर्ष भएछ । जुन दिन तिमी गयौ लाग्थ्यो बर्ष त परको कुरो मेरो त एक दिन पनि नबित्ने भयो तिमी बिना, तर समय किन रोकिन्थ्यो र उस्को त आफ्नै गती छ हामीले न पख भनेर पर्खिन्छ न चाडै  जा भन्दैमा जान्छ। उ आफ्नै गतिमा निरन्तर हिड्यो । दिन हुँदै तिमी तिमी टाढिएको पनि तीन बर्ष पुग्यो अब त। अब हाम्रो फेरी भेट हुने भएको छ केही दिन पछी। बिछोडका पहिला दिनहरु भन्दा पर्खाईका यी दिनहरु अझै अत्याउने हुँदा रहेछन।
जुन दिन तिमीलाई बिदाईको हात हल्लाए त्यो दिन सोच्थे कसरी बित्लान यी दिन रातहरु। एक दुई तीन मात्र कहाँ हो र बर्षौ पो छ त है भन्दै टोलाउदै दिन रात काट्थे। आज दुई  दिन भोली तीन दिन भनेर औँला भाँच्दा भाँच्दै त्यसै अत्यास लाग्थ्यो,सम्झथे अब यो जूनिलाई हाम्रो भेट त्यतिकै पो हुने हो कि ? भगवान सम्झन्थेँ कि ''हे भगवान श्लोकलाई नदेखी म नमरुँ है''। कयौ दिन रात बिताए तिमीलाई सम्झेरै अनी अब भेटे पछीका दिनहरुको कल्पनामा डुबुल्की मार्दै।
सानु,अब म आउँदै छु नि। तिमीले सुनाएको दिन म खुशीले रोएकी थिएँ। भगवानलाई लाख लाख धन्यवात दिएँ यसै जुनिमा तिमी सँग भेट गराईदिन लागेकामा। जुन दिन तिमीले मलाई आउने खबर सुनायो फेरी दिन गन्ती सुरु भैइहाल्यो मेरो । तिमीलाई थाहा छ मैले गन्ती थाल्दा ७६ दिन बाँकी थियो। मलाई लाग्थ्यो यो दिन एकै छिनमा बितोस र त्यो दिन चाडै आओस तर मैले हतर गरेर उ किन चाडै जान्थ्यो र उसको आफ्नै नियम जो छ। अब त निकै थोरै दिन बाँकी छ हामी भेट्न। कहाँ कुदुँ अनी कस्लाई सुनाउ झैँ भाको छ छ। हरेक मुस्कानयुक्त  मेरै खुशीमा साथ दिएको जस्तो लाग्छ।
यी जाडोका लामा रातहरु तिमीलाई भेट्ने खुशीमा छर्लङै हुन्छन निद्राबिना नै । तिम्रो सामिप्यतामा पाउने न्यानोपनको आभाषमा मैले यो काठमन्डौको सजिलै काट्दै छु। ''सानु,तिमिलाई भेट्ने खुशीमा अचेल निद्रा र भोकै भुलेको छु, कुनै दु:ख  अचेल,यो परदेशमा पनी जब जब एक्लो हुन्छु मुटु भित्र बसेकी तिमीलाई नियाल्छु र आफ्नोपनमा रमाउँछु। अब त छिट्टै आउँदै छु तिमीलाई भेट्न मेरो खुशीको सिमै छैन,जसरी यतिका बर्ष कुर्‍यौ अब अरु केही दिन कुर्नु हौ हिम्तम नहारी।'' तिम्रो यस्तो मेल पाउँदा थाहा छ म कती रोएँ सुख दु:ख मिसिएको रुवाई थियो त्यो शायद ।
यसै गरी बित्दै छ तिम्रो पर्खाइमा मेरा दिनहरु। तर जब जब भेटिने दिन नजिकिदै गरेको पर्खाईका यी अन्तिम दिनहरु असाध्यै लामा लाग्दा रहेँछन। अझ औँलामा गनिने दिन भएपछिको उकुसमुकुसता यी भोग्दै छु। तिमी खुशी खुशी आउनु म त्यहीँ पर्खने छु तिमीलाई जहाँ तिमीले मलाई तीन बर्ष पहिले छोडेर गएका थियौ।

कविता

ए ! जिन्दगी
तँ मात्र मलाई कती चोट दिन्छस् हँ ?
अब मेरो पालो,
तलाई रुवाउने । 

मलाई मात्र कती आँशु दिन्छस्,
कती पीडा दिन्छस्,
अब तैले पनि मैले झैँ
हरेक रात रुनुपर्छ बुझिस्
यो दुनियाँ सँग लुक्दै ।

म दिन्छु तलाई चोट,
म झर्न बाध्य पार्छु तलाई आँशु,
सुख दु:ख बराबरको नियम 
तलाई पनि लाग्छ अब ।   
अब त पनि रो मलाई सम्झेर
जसरी बिगतमा म रोएँ तलाई सम्झेर ।

सुन्निउन तेरा आँखा पनि
भाँसियोस तेसो स्वर पनि
रुझोस् तेरो तकिया पनि ताता आँशुले,
हाँसुन दुनियाँ तेरा आँशु देखेर,
अनी,
बल्ल बुझ्नेछस्/भोग्नेछस् तैले कि,
आज सम्म म कसरी बाँछेकी रहेँछु।
कसरी सहेकि रहेँछु मैले तेरा हर फैसलाहरु,
चुपचाप !
चुपचाप !!
चुपचाप!!!