झन्डै वर्षदिनपछी तिमीलाई सम्झेर यो सम्बोधन लेख्दै छु। समयले एक फेरो मार्यो। अहिले फेरी त्यस्तै झरीको याम छ जुन याममा हाम्रो सम्बन्ध गाँसिएको थियो,हुर्किएको थियो र गर्लम्म ढलेको थियो। जिन्दगीका बाटहरु अलग भएको पनि यतिका दिन भईसकेछ। समय कती सजिलै बगेर गयो तर फेरी उही याममा फर्किएर आयो र तिमीलाई सम्झन बाध्य बनायो।
श्लोक, मैले तिमीलाई मायाले दिएकी नाम। तिमीसँग अनुमती नलिईकनै दिएकी हुनाले तिम्रो अनुमती बेगरै यो नामले तिमीलाई सम्बोधन गरिरहँदा पनि मलाई असहज लागेको छैन। साँझ पर्दै छ,आफ्ना पेटभरी पानीका लोलाहरु बोकेका बादलहरु पहाडसँग मितेरी लगाई आफुलाई हल्का पार्ने ध्याउँन्नमा छन्। झ्याल बाहिर देखिने फाँटमा असारमा रोपिएका धानहरु हलक्कै बढेका छन।ती हावासँग उसैको लयमा मस्किँदै गरेका झै देखिन्छन। श्लोक,यी सबै कुरा यहाँ यसर्थ लेख्दैछु कि कयौँ साँझहरु हामीले यिनैलाई नियाल्दै साथमा बिताएका थियौ एक बेलामा। समयको यो अन्तरालमा थाहा छैन तिम्रो मलाई सुन्ने/बुझ्ने क्षमता बढेको छ अथवा मेरो तिमीलाई बुझाउने क्षमतामा कती ह्रास आएको छ । तैपनी तिमी अझ समझदार भयौ होला,परिपक्व भयौ होला भन्ने विश्वास गरेकी छु। हामीले सँगै रोपेको अम्बाको बिरुवा यो एक वर्षमै अग्लिएर झ्याल सम्म आईपुगेको छ। यसपाली निकै चिचिला पनि लागेका छन्।
घर अगाडिको सडक पनि अचेल जवान बनेको छ आफुमा परेको खाल्डाखुल्डी टालेर। आजको यो साँझ मैले कल्पना गर्ने झै निकै लोभलाग्दो छ। सुस्त सुस्त चलेको हावा,यदाकता छिट्याउने पानीका ससाना थोपाहरु, हरियो फाँटको छाती चिरेर लमतन्न सुतेको सडक अनी त्यसै सडकमा हातमा हात जोडेर गोधुली नियाल्न हिँडेका प्रेमिल जोडीहरु र तिनै जोडी मध्येका एक हामी। बस् यही नै थियो मेरो रहर। तर अचेल मेरा सारा दिन एकान्तमै बित्छन। दिनको उज्यालो भन्दा रातको अँध्यारो नि:स्वार्थी लाग्छ। दिनले झै ईन्द्रेणी सपनाहरु रातले बाँड्दैन।
श्लोक, तिमीलाई याद छ कि छैन्, जुनेली रातमा खस्दै गरेको तारासँग मैले हाम्रो सम्बन्धको दीर्घता माग्दा तिमीले मेरो भावुकतालाई हाँसोमा उडाएका थियौ। यो त एक सम्झना मात्रै। यी र यस्तै अनगिन्ती पटक मेरा भावुकताले तिम्रो झर्काई र फन्काइ सहेका छ। आफ्नै मनलाई घाईते पाउँछु अनी सोच्छु कती होलन् यो दुनियाँमा म झै भित्र भित्रै दुखेको मन बोकेर पनि बाहिर फोस्रो हाँसोको लेप लगाएर हिँड्नेहरु? जीवन गतिशील त हुन्छ तर तिमीले जुन गतिशीलता रोजेका थियौ पक्कै पनि त्यो स्वभाविक थिएन। तर मनमौजी तिमी मेरा कुर किन पो सुन्थ्यौ र नि ! अनुपाको बिहेमा तिमी भागी भागी हिँड्यौ, आफ्नो रोजाईको बाटो हिँड्न मेरो बाटो छोडेर छुट्टीएका तिमीलाई किन त्यस्तो असहज लाग्यो कुन्नी मेरो सामिप्यता? हामी केटाकेटी थिएनौ,बाझाबाझ गरेका थिएनौ। सल्लाहले आ आफ्नो गन्तव्य रोजेका न थियौ तर कुन्नी तिमीमा कस्तो परिवर्तन आयो र अपरिचित बन्न खोज्यौ। तिम्रो मनोभाव बुझेकीले नजिकिन प्रयास पनि गर्न मन लागेन बरु छिट्टै फर्किदिएँ। तिमी त मबाट छुट्टीएर स्वतन्त्र हुन गएका थियौ तर खै तिमीलाई त झन झन समयको बन्धनमा जकडिएको देखेँ मैले।
पानी फेरी दर्किन थाल्यो। साँझ पनि क्रमिक रुपले रातमा रुपान्तरण हुँदै छ। आज पनि तिम्रो अनुपस्थिति यो मनमा बिझ्छ तर दु:खाई भने अब महशुस हुन्न। हरेक कुरामा भावुकता पालेकी मैले आजको साँझ तिम्रो सम्झनामा बिताईदिएँ।
बस्, यत्ती आज !!
बस्, यत्ती आज !!