विपश्यना अनुभव ( sep.14-25 2013)

दिदी: आमा नानी कता गै'छ ? त्यसको फोनै लाग्दैन नि । 
आमा: तेरी बैनी जोगीनी बन्ने भै' कुन्नी कता शिवपुरीतिर ध्यान बस्न गा'की रे, १०/१२ दिनमा आउँछु भन्थी। 
दिदी: ए, विपश्यना होला ! 
यो मेरी आमा र दिदीबीचको त्यतिबेलाको संवाद हो जतिबेला म सारा बाहिरी दुनियाँबाट टाढिएर अन्तरमुखी बन्न शिवपुरी स्थिति विपश्यना आश्रममा पुगेकी थिएँ । ३/४ साल अघि देखी ध्यान तर्फ रुचि पलाए पनि ओशो, मनोक्रान्ति, विपश्यना या अरु कुन आफ्नो लागि उपयुक्त हुन्छ छुट्याउन सकिरहेकी थिइन । पोहोर यसैयाम विपश्यना तिर लाग्ने निर्णय गरे पनि नाम टिपाउन ढिलो भएकोले जान मिलेन । त्यसपछि जाडो सुरु भो मेरो विपश्यनाको रहर जाडोसँगै कठ्याङ्ग्रिएर बस्यो । तर, यसपाली एक जना साथीले आफु गएर आएको खबर सुनाए पछि मनमा थन्किएको रहरले पुनः मुन्टो उठायो र पोहोरै उपलब्ध गराईएको अनुशासन पुस्तिका फेरी खोजेर पढे र त्यही दिएको नगर कार्यलयको नम्बरमा फोन गरेँ । भाग्यवश, अर्को हप्ताबाट शिविर सुरु हुने खबर पाएँ, सहभागी हुने भए आएर फारम भर्नुहोस् भन्नु भयो, भोलीपल्ट नै ज्योति भवन पुगेर फारम भरेर बुझाएँ । रजिश्ट्रेशनको लागि सेप्टेम्बर १४ बिहान ११-१२:३० भित्र आईपुग्न भन्नु भयो । मन फुरुक्क पर्यो वर्षौ पछिको रहर पुरा हुने जानेर । सेप्टेम्बर १४ अर्थात भदौ २९ गते शनिवार बिहानै खाना खाएर दैनिक प्रयोगको लागि आफुलाई आवश्यक पर्ने साबुन,ब्रस,टावेल,फेर्ने लुगाहरु झोलामा हालेँ । तन्ना, तकियाको खोल,पछ्यौरा र ब्ल्याङ्केट पनि प्याक गरेँ । सामान र ब्याङ्केट गरी २ वटा झोला बोकेर बस चढ्न असहज होला भनेर बाबु(दिदीको छोरा) लाई ज्योति भवनसम्म पुर्याईदे भनेकी थिएँ । १०:३० तिर आईपुगेको बाबुले ११ नबज्दै ज्योतिभवन पुराईदियो र फर्किदा पनि फोन गर्नु लिन आउँछु भनेर फर्क्यो । ११ बज्न अझै केही बेर बाँकी भए पनि विपश्यनाको कार्यालय खुलिसकेको रहेछ । म झैँ पहिलो पटक शिविरमा सहभागीको सिधैँ रजिश्ट्रेशन नहुँने रहेछ । पहिले गुरुलाई भेटाएर मात्र प्रक्रिया सुरु हुने रहेछ । एउटी दिदीको सहयोगमा गुरु भेट्ने स्थानमा त पुगे तर फाटफुट देखिएका सबै मान्छे झण्डै ४० काटेका मात्र देख्दा 'बकिल्लाको हुलमा काग हुने भएँ' भन्ने लाग्यो । भर्खर त ११ बज्दै छ कसो नआउलान् त १/२ जना मात्रै भएपनि मेरो उमेरका भनेर मन बुझाउँदै थिएँ एउटीलाई देखिहालेँ । सायद उसलाई पनि मैलाई झैँ लाग्या हुँदो हो उनी म भए तिरै आईन, मन पनि ढुक्क भयो । उनी विविए अन्तिम सेमेस्टर पढ्दै गरेकी धुम्बाराही निवासी आरती पाण्डे । हामी एकैक्षणमा घनिष्ट भयौ,शिविर अवधिभर पनि सँगै र सकिए पछि सम्मलाई । त्यहाँ पछि आउँने कतिपयले हामीलाई साथीसाथी भएर आएको पनि भने । हामीले पनि"हो हामी भर्खरै बनेको साथीसाथी भएर आएका"भनिदियौ । सुरुमै पुगेका हामीले रजिश्ट्रेशनको प्रक्रिया सक्दा सम्म स्वदेशी र विदेशीको संख्या निकै भईसकेको थियो भने थपिने क्रम जारी थियो । 
ती सबैको रजिश्ट्रेशन सकेर मात्र ओरेन्टेसन सुरु हुने भएकोले करिब १ बजे सम्मलाई हामी फ्रि थियौ । बाहिरी दुनियाँबाट टाढा जान लागेका हामी बाहिरतिर निस्कने कुरै भएन यसर्थ आरती र म एकुन्टा कुर्सी बोकेर अफिस बाहिरको शितलमा बसी हामी झैँ अन्तरमुखी हुन जानेहरुलाई हेर्दै थाल्यौ । एकैछिनमा भेटघाट र १२ दिने बिदाईको लागि आरतीको साथी आईपुगेकोले उनी बाहिर निस्किन म भने टुईटरतिर अल्मलिएँ । एकैछिनमा पाटन क्याम्पस पढ्दाका साथी किरण आईपुग्नु भयो । क्याम्पस पछि सायद पहिलो भेट थियो हाम्रो । सञ्चो बिसञ्चोको सोधाइ पछि उहाँले कता भन्दा जुन उद्देश्यका लागि तपाई यहाँ मेरो उद्देश्य पनि त्यै हो भने । (उहाँ पनि विपयश्ना जाँदै हुनुहुन्छ भन्ने संकेत सहितको अघिल्लो दिन उहाँले पोस्ट गर्नु भएको फ़ेसबुक स्ट्याटसले मलाई उहाँसँग भेट हुने जानकारी थियो ।) अलिक आश्चर्य मान्दै पत्याउनु भयो । उहाँको गुरु भेट्ने तथा रजिश्ट्रेशनको प्रक्रिया बाँकी नै रहेकोले त्यतै लाग्नु भयो तर लाईन टन्न भएकोले बाहिरै पर्खनु भयो । क्याम्पसे दिन र अघिको पढाई तथा जागिरको कुरा गर्दै बस्यौ । करिब १ बजेतिर सबैको रजिश्ट्रेशन सकिएकोले हामीलाई ओरेन्टेसन हलमा लगियो र शिविर बस्दा पालन गर्नुपर्ने अनुशासनबारे जानकारी दिइयो । रजिश्ट्रेशन अघि गुरु भेट्दा उहाँले पनि अनुशासनको कड़ाई बारे जानकारी दिनुभएको थियो त्यो भन्दा पनि अघि फ़ारम भर्दा पनि अनुशासन बारे जानकारी दिईएको थियो यसबाट सहज अनुमान के लगाएँ भने विपश्यना शिविरमा अनुशासनको ज्यादै महत्व छ र कडाईका साथ पालन गर्नुपर्छ । करिब डेढ घण्टाको ओरेन्टेसन पछि हामीलाई हाम्रो नाम लेखिएको एकुन्टा कार्ड बाढियो र माईक्रो चढ्न भनियो । लगभग ३ बजेतिर हामीलाई माइक्रोले बुढानिलकण्ठ माथि शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार छेऊको आश्रम धर्म श्रिङ्गमा पुर्यायो । आ आफ्ना झोला सहित हामीले काउन्टर पर्स ११ र मोबाईल १२ औँ दिनमा फिर्ता लिने गरी बुझायौ । त्यहाँबाटै महिला र पुरुषका लागि अलग बाटो र स्वयंसेवकको व्यवस्था भएकोले साथी किरणसँग साधनाको सफलताको कामना आदान प्रदान गरेर १२औँ दिनमा भेट्ने गरी छुट्टिएर आरती र म धर्मआमा(स्वयंसेविका आमा)को पछि लाग्यौ । ज्योति भवनमा बाँढिएको कार्डमा हाम्रो आवासको व्यवस्था गरिएको घर संकेत र हाम्रो बेड नम्बर रहेछ । त्यै हेरेर सेविका आमाले हामीलाई तन्दा ल्याएका छौ कि छैनौँ सोध्नुभयो । मैले त घरैबाट लगेकी थिएँ आरतीले भने तन्दा लिईन । त्यहाँबाट अर्का सेविका आमाले हामीलाई हाम्रो कार्ड अनुसारको बेडमा पुर्याईदिनु भयो । आरती र मेरो बेड क्रमश: २९ र ३१ भएकोले नजिकै थियो । सेविका आमाले साथीसाथी सँगै परेछौ त्यै पनि गफ नगर्नु है आर्य मौनको बेलामा भन्नु भयो । आरती र म पुराना साथी झैँ देखि सकेछौ सबैको नजरमा । मेरो कोठामा पर्नु भएका खोकनाकी ८१ वर्षिय माँ, कुलेश्वरकी दिदी र अर्की बनेपाकी दिदी पहिलै पुगिसकेका रहेछन् । उहाँहरु तिनै जना नेवारीभाषामा गफ गर्दै हुनुहुन्थ्यो, आफुले केही बुझ्या हैन त्यसैले ओछ्यान ठिक्क पारेर झोला थन्क्याएर आरती र म तल ओर्लियौ र दुवै जनाले पटक पटक पकेटमा मोबाईल खोजेको फेरी माथी बुझाएको सम्झिदैँ हाँस्दै बस्यौ । शान्त वातावरणमा नजिकै फुलेको अपरिचित (जसको नाउँ कसैले मलाई भन्न सकेनन) तर निकै बास्ना फूलको सुगन्धले साँच्चै लोभलाग्दो बनेको थियो । ठिक पाँच बजे हामीलाई गहुँको चोकर(दली) को खिर, आलुको अचारसँग खान दिइयो । दिनभरीको भोकले मीठो भा'को हो कि कहिलै खिर नखाने मैले पनि त्यो दिन गहुँको खिर खाएँ । साँझ ६ बजे पुनः ओरेन्टेसन हलमा लगियो र दिउँस कै अनुशासन र पालन विधी तथा आर्य मौनको बारेमा सुचना दिइयो र सामुहिक साधना हलको चकटीको लागी फेरी एकुन्टा कार्ड बाढियो, पुरा शिविर अवधिभर आफ्नै चकटीमा बस्नुपर्ने, सकेसम्म अरुलाई छुन नहुने र चकटीहरु कुल्चन या नाघ्न पनि नपाईने रहेछ । त्यै साँझ ८ बजेबाट (त्यो दिनलाई शून्य दिन भनिदोँ रहेछ) आर्य मौन सुरु हुने र दशौँ दिनमात्र खुल्ने जानकारी सहित डिभीडीबाट श्री सत्यनारायणजी गोयन्काको रेकर्डेड आवाजमा आनापानाको निर्देशन सुनाए पछि करिब नौ बजेतिर विश्रामको संकेत दिइयो । आर्य मौन सुरु भईसकेकोले बोल्न पाईन्न थियो यसर्थ चुपचाप गएर ओछ्यानमा पल्टेँ । भोली बिहान ४ बजे उठ्नु पर्ने कुरा सम्झेर पीर लाग्दै थियो फेरी नयाँ ठाउँ निद्रा नपर्ला कि झैँ पनि लागेको थियो तर आफ्नै तन्दा र ब्याङ्केट भएकोले घरैमा झैँ छिटै निदाएँ । 
भोलीपल्ट बिहान ४ बजे घण्टीको आवाज भन्दा पहिलै निद्रा खुल्यो, घड़ी हेरेँ साढ़े तीन भा'को रहेछ । ४ बजे उठ्नु छ सम्झेरै फेरी निद्रा लागेको हैन । चारै बजे उठ्नुपर्ने नियम चै मलाई असाध्यै गाह्रो लाग्दै थियो । चारबजेको घण्टीसँगै मेरै कोठाका दिदीहरु र माँ उठ्नु भयो । बिउँझैँ भएपनि उठ्न मन त किन हुन्थ्यो र जब कि घरमा आठ बजे मात्र उठ्ने मान्छे म । तर, नउठी सुखै थिएन एकैछिनमा स्वयंसेविकाहरु उठाउन आईपुगिहाल्थेँ त्यो भन्दा त आफै उठ्नु जाती सोचेर मन नलागी नलागी भएपनि उठेँ । निद्रा बिउझाउन मुख धोएर दाँत माझ्न थाल्दा पनि आँखा चिम्लिन खोज्दै थियो । वल्लोपल्लो कोठाका पनि प्राय: सबै उठेका थिए । नउठेकाहरुलाई सेविकाहरुले ओछ्यान झट्कारेर उठाउँदै थिए । चारै बजे करैले पनि किन नहोस् आफै उठेकीले मन मनै आफैलाई धाप मारेँ र दाँत माझ्दै ऐनामा हेरेर खिस्स हाँसे । 
४:२० मा सामूहिक साधना हलमा जम्मा हुने घण्टी लागेपछि बोल्न नपाईने भएपनि आरती र म सँगसँगै हलमा पुग्यौ । पहिले उठ्न अल्छी लागेको भएपनि साधना सुरु हुनेबेला सम्म एकखालको नयाँ जागँर पलाईकसेको थियो । घरमा ५ मिनेट एक ठाउँमा अडिएर बस्न नसक्ने म त्यसमा पनि ढाड दुख्ने समस्या आफ्नो के को पलेटी कसेर बस्न सक्नु । एकैछिनमा ढाड र घुडा दुखाई सुरु भई त हाल्यो । २० मिनेट पनि भा'को थिएन होला गोडा निदाउने काम पनि सुरु भयो, धन्न अगिल्ला साढेँ तीन दिन आफुलाई आवश्यक पर्दा गोडा साट्न पाईन्थ्यो र मात्र । आनापानाको साधनामा आउने-जाने सास नियाल्दै नाकमा उत्पन्न संवेदनालाई नियाल्न भनिने रहेछ । स्वतन्त्र डुल्न बानी लागेको मन किन बस्थ्यो र नाक कुरेर । सुरु भई त हाल्यो आकाश पाताल कुद्न । बल्ल बल्ल ६:३० मा चिया खाजा समयको घण्टी लाग्यो । अब आठ बजे सम्मलाई फुर्सद पाईन्थ्यो । चियासँगै चामलमा गाजर, सिमी, काउली मिसाएर पकाएको खाजा र राज्माको तरकारी खाएर विश्राम स्थल(ओछ्यान) फर्केर सुतेँ म त । अरु साधिकाहरु पनि केही सुतेका थिए, केही बाहिर तिरै टहल्लिदै गरे । आठ बज्न दश मिनेट बाँकी हुँदैमा फेरी घण्टी लाग्यो । घण्टीको आवाजमै उठ्नु पर्ने, खानुपर्ने, हिँड्नुपर्ने र सुत्नु पर्ने भएकाले निद्रा लखट्न पुनः पानीको साहारा लिएर हिडेँ । बोल्न पनि नपाईने,मुखामुख गरेर हाँस्न पनि नपाईने भएकोले होला सबैको अनुहार चकमन्न देखिन्थ्यो । त्यै पनि कोही केही साथी साथी भएर आएकाहरु भने यस्सो हेराहेर गरेर हाँस्न पनि भ्याउँथेँ । आठ देखि नौ बजेको सामूहिक साधना पछि हामी नयाँ साधक साधिकालाई विश्राम गृहमा गएरै ध्यान गर्न भनियो र पुरानालाई गुरुहरुले मार्गदर्शन गर्नुहुने भयो । कोठामा आएर कोही त ध्यान गर्न थाले भने म लगायतका धेरै चैँ सुत्यौ । सेविका दिदीहरु आईपुग्नु भएछ र सुतेका सबैलाई उठाउँदै ध्यान बस्न लगाउनु भयो । वहाँहरु फर्केको केही बेरमा मलाई त फेरी सुत्न पो मन लाग्यो त । अरु के गर्दै होलान् भन्ने हेर्न कै लागि बाथरुम जाने बाहनाले निस्किएँ । अलि पाको उमेरका आन्टी,बुढीआमाहरु तकियामा अडेस लागेर भएपनि आँखा चिम्लेर बस्नु भएको देखेँ । अडेस लागेर आखा चिम्लेकोले ध्यानै गर्या होला भन्ने अनुमान लगाएँ के थाहा न मजाले निदाउँनु पो भा'को थ्यो कि यसो बोलेर सोध्न पाईने भा'पो । आरती अनि अर्का दुईटी बहिनीहरु चैँ म झैँ सुत्न मन गरेका तर सुत्न नपाएका जस्ता देखिन्थेँ । फेरी फर्केर ओछ्यानमा पलेटी त कसेँ तर मन बसे पो । आँखा पनि एकछिन चिम्ल्यो हेर्ने हतार गर्छ मन त झन कहाँ हो कहाँ पत्तै छैन् । उफ्, दुई घण्टा बिताउन कम्ता गाह्रो भा'को हैन । चुपचाप बस्दा त समय पनि नहिँड्दो रहेछ । बल्ल बल्ल ११ बजे खाना खाने घण्टी लाग्यो । भोक त लागेको थिएन त्यसैले खाने भन्दा बढी ध्यानबाट अब १ बजे सम्मलाई करिब दुई घण्टा छुट्टी पाईन्थ्यो यसैको खुसी थियो । खाना खाएर १२ बजे तिर नुहाएपछि बल्ल निद्राबाट राम्ररी ब्यूझेँ झैँ भएँ । कोही न्वाईध्वाईमा विजी कोही भने शितल खोजेर पल्टेका,सबै साधिकाहरु आ आफ्नै सुरमा देखिन्थे ।
एक बजेको घन्टीसँगै पुन: साधनाहलमा सबैजना जम्मा हुनु पर्थ्यो। दिउँसको ध्यान सत्र भनिने यो बेलामा आवश्यक पर्दा(पानी खान र बाथरुम जान) पाँच मिनेट यसो बहिर निस्केर अल्मलिन सकिन्थ्यो नत्र साँझ पाँच बजे सम्म आनापानाको अभ्यास गरिरहनु पर्थ्यो। तीन बजेपछी पुराना साधकसाधिकाले चाहेमा निवास फर्केर ध्यान गर्न सक्थे भने हामी नयाँ जत्तिलाई गुरु/गुरुआमाहरुले पालैपालो भेटेर आईपरेका समस्या र हाम्रो ध्यान गराई प्रकृया बारे बताउनु भयो। गुरुमा भेट्ने आफ्नो पालो आएपछी मन कुदेको कुरा भने। उहाँले यो अती सामान्य हो तर जब कुद्यो भन्ने थाहा हुन्छ तब पुन आनापानामा मन लगाउनु भन्नु भयो। फर्केर फेरी ध्यान त बसेँ तर मनको पत्तो थिएन कुन्नी कता पुगिसकेकोथ्यो अगिनै। हाई हाई गर्दै बल्ल पाँच बजाउँदा ठुलै युद्ध जिते झै लाग्यो मलाई। अरुको नयाँ साधिकाको हाल पनि मेरै झै थियो भन्ने अनुमान सहजै लगाएँ। 
पाँच बजे पुराना साधिकालाई कागती पानी र नयाँलाई काटेका स्याउका केही टुक्रा र अलिकती मुरई(भुजिया) सँगै कालो चिया खान ब्यवस्था रहेछ। तत्काललाई त समस्या थिएन तर राती दश नबजी सुत्न नपाईइने र अब फेरी केही खान नपाईइने भएकोला निद्र चै लाग्ला कि नलाग्ला भन्ने लागेको थियो। छ बज्नु भन्दा दश मिनेट अगाडी पुन साधनाहलमा जानका लागि घन्टी लाग्यो। बल्ल एक दिन बित्न आँटेको थियो। अब भने एक घन्टा मात्र ध्यान बसे सुख पाईन्थ्यो। सात बजे सम्म ध्यान र त्यसपछी प्रवचन सुरु हुन्थ्यो। साँझको एकघन्टा दिउँसको अनुपातमा केही सहज बित्यो। प्रवचनको लागि नेपाली,नेवारी,जापनिज,चाईनिज,रसियन,अङ्रेजी भाषाका साधकसाधिकाहरुलाई छुट्टछुट्टै हलको ब्यवस्था गरिएको रहेछ। मुल भाषाको प्रवचन(हिन्दी र अङ्रेजी)बाहेक अरु भाषामा पनि अनुवाद गरिएका प्रवचनले सम्बन्धित भाषाका साधकसाधिकालाई निकै लाभ पुर्याएको अनुमान लगाएँ मैले। अन्य भाषाका साधकसाधिकाहरु सम्बन्धित हलमा गएपछी श्रीसत्यनारायण गोयन्काजीको प्रवचन डिभिडिबाट देखाईयो। हामीलाई सम्मुख राखेरै वहाँले लाईभ प्रवचन दिनु भए झै अनुभव गरेँ मैले। पछी आर्य मौन खुलेपछी सोध्दा प्राय: सबैले त्यस्तै महशुस गरेको जानकारी पाएँ। 
 आठ बजेर केही मिनेट जाँदैमा अन्य भाषामा प्रवचन सुन्न गएकाहरु फर्किसकेका थिए तर मुल हलमा हिन्दी भाषाको प्रवचन चली रहेको थियो। बल्ल साँढे आठ बजे तिर प्रवचन सकियो। त्यसपछी पुन: बाँकी रहेको समय ध्यान सहित भोलिपल्टको लागि निर्देश सुनाईयो र करिब ९;१५ तिर बिश्राम गर्ने सुचना दिईयो। साँढे नौ नै बजे निद्रा त किन लाग्थ्यो र तर पनि भोली चार बजे बिहानै उठ्नु पर्छ सम्झेर चुपचाप ओछ्यानमा पल्टे । बनेपाकी दिदी अरु कोही नबोले पनि एक्लै 'कस्तो भोक लाग्यो, कस्तो निद्र लागेको है दिदी त्याँ माथि बस्दा' भन्दै एक्लै आफु मात्र बोल्दै हुनुहुन्थ्यो। पहिलो दिन भएर होला कोई पनि बोलेनन सबै सुते। सुतेरै सम्झे बल्ल त एक दिन बित्दै छ अझै ९ दिन पुरै बिताउनु छ मैले न त फोन न फेसबुक, न टुईटर। एक मन त अत्यास पनि लाग्यो तर सोचेँ यसैगरी बिना फोन टुईटर र फेसबुक बस्न भनेरै त आकी म यहाँ त्यो पनि आफ्नै रहरले किन अत्यस मान्नु ।  साना(साने),शान्ती दिदी र घरमा भनेकै छू,अरु मलाई खोज्ने खासै को नै होला र झै लाग्यो र कोल्टे फेरेर सुते। दिनभरी केही नगरी पलेटी कसेर बस्दा झनै थकाई लाग्ने रहेछ कि क्या हो त्यसपछी मनमा कुरा खेलेको याद छैन।
हाम्रो आश्रमको घन्टी बिहान चार बजे लाग्ने भए पनि पल्लो पट्टी २० दिने साधना शिबिरको घन्टी चार बज्नु भन्दा दश मिनेट पहिले लाग्दो रहेछ। त्यसै घन्टिको आवाज सँगै ब्युझिएँ म। म झै अरु पनि उठिसकेका थिएँ। यो शिबिरमा आउनु रहर भए पनि बिहान चारै बजे उठ्नु चै मेरो रहर भित्र पर्दैनथ्यो तर नऊठी सुखै थिएन। उठेर मुख धोएर अघिल्लो दिनकै रुटिनमा साधना हलमा जाने ध्यान बस्ने, घन्टी सँगै खाजा, खाना खाने पुन: ध्यान बस्ने। एकै पटक बेलुका सात बजे पछी बल्ल प्रवचन सुन्दा भने दोस्रो दिन बित्यो भन्ने थाहा भयो। पहिलो दिन झै हामी नयाँ साधकसाधिकाले पुरानाले गुरु भेट्ने समयमा बिश्राम स्थल फर्किन पाएनौ दोस्रो दिनबाट। शायद नयाँ साधकसाधिकाले त्यो समय सुत्नै बल गरेको र ध्यानमा मन नदिएको हुन सक्छ। दोस्रो दिन हुँदै तेस्रो दिन बित्यो त्यै पनि खाली श्वासप्रश्वास प्रकृया र नाकमा उत्पन्न संबेदना मात्र नियाल्न भनिएकोले झ्याउ लाग्न थालिसकेको थियो। मन कुद्न उस्तै थियो। यी तीन दिनमा के मात्र सम्झिएन होला र? बाल्यकाल देखी अहिले सम्मका सबै साथीको नाउँ सहित् अनुहार सम्झिएन कि भबिस्यका सुन्दर सपना सजाईेन कि अरु कती के के। त्यही बेला सम्झने बितिक्कै लेख्दै गर्न दिएको भए पनि लेखी साध्य हुन्न थियो होला। मनमा विचारका तरङहरु कती छिट्छिटो जाने आउने गर्दारहेछन भनेर यसको अनुभव मात्र गर्न सकिन्छ लेख्न या भन्न सकिन्न सायद। अझै मैले कयौ घण्टा त यहाँबाट फर्केपछी  यसरी बल्ग लेख्छु उसरी लेख्छु, यो पहिले यो पछी भन्ने हिसाबले  मनैमन कयौ पल्ट ड्राफ्ट बनाउने र मेट्ने पनि गरेँ।  
भोलिको दिन महत्वपूर्ण छ त्यसैले त्यसको लागि मानसिक रुपमा तयार रहनु भनेर अघिल्लो दिन सुचना सुनाईेको थियो। चौथो दिनलाई विपश्यना दिवस भनिने रहेछ। चौथो दिन मध्यान्न सम्म आनापानाको अभ्यास पुरा गरेर विपश्यना ध्यान बिधी सिकाईने रहेछ। विपश्यना दिउँन्जेली अधिस्ठान पाली(जुन स्थानमा जुन मुद्रामा बसेको छ त्यही मुद्रामा बसिरहने)मै बसिरहनु पर्ने नियम। यतिन्जेली त बेलाबेलामा यसो आसन बदल्न पाईन्थ्यो अब त त्यो पनि नपाईने भयो। त्यै पनि नसक्नेहरुलाई बिचमा एकाध पटक छुट दे'को थियो त्यो दिन तर भोलिपल्टबाट छुट नपाईने सर्त सहित । चौथो दिन विपश्यना सिकाईयो मात्र अभ्यास भोलिपल्टबाट मात्र थालिने भएकोले अघिल्ला तीन दिन झै त्यो रात पनि प्रवचन सकेर बिश्राम गर्न पाईयो। 
विपश्यना शिबिर बसेको मान्छे बिशेषत: दोस्रो र छैठौँ दिन भाग्न खोज्छ रे भनेर पहिलाई सुनाईेको थियो। पाँचौ दिन पनि घन्टि सँगै उठ्ने,हिँड्ने,खाने र ध्यान बस्ने कृयाकलाप निरन्तरै थियो त्यसमा अब एक एक घण्टाको 'अधिस्ठान पाली'मा बसेर गर्नुपर्ने विपश्यना साधना थपिएको थियो। अन्य समयमा आसन फेर्ने सुबिधा भए पनि बिहान,दिउँस र साँझ एक एक घण्टाको अधिस्ठान पालीमा भने आसन फेर्ने त टाढाको कुरा सास पनि यती मन्द गतिमा फेर्नुपर्थ्यो कि आँफैलाई महशुस नहोस्। दिन त जसरी तसरी कट्यो तर जब सुत्न भनेर नौ बजे पछी कोठामा फर्किएँ आफ्नै गोडा सुन्निएको र दुखेको त्यही दु:खाईले आएको ज्वरो,(सँगै चिसोको एलर्जी हुने मलाई बिहान बिहान चारै बजे उठेको फलस्वरुप रुघा त पहिल्यै लागिसकेको थियो।)उफ बेकार आएछु भन्ने लाग्न थाल्यो। दिन गने अझ पाँच दिन पुरा बिताउनु थियो, भर्खर पाँच दिन बित्दै थियो। कठिनाई होला र सोचेकी थिएँ तर यसरी गोडै सुन्निएपछी भने शायद अत्यास लागेछ मलाई। जसरी पनि पाँच दिन अरु काट्नै थियो जे त होला भनेर निदाउने उपक्रम तिर लागे। घरमा १२/१ नबजी ननिदाउने म यी पाँच दिनमै १० बज्दा नबज्दै निदाउने भईसकेको थिएँ त्यो पनि रात भरी पल्लो ओछ्यानका आन्टीहरुको घुराई सहेर।  
भोलिपल्ट सधैं झै चार बजे ब्युझँदा सुन्निएका गोडाहरु बिसेक भईसकेका रहेछन। हिजोको अत्यस अब बाँकी थिएन। एक खाले नयाँ उर्जा समाहित भएको भान हुँदै थियो आँफैलाई। त्यो दिन पुरै जागँर लागाएर विपश्यनाको ध्यान अभ्यास गरे। मन बेलाबखत भाग्थ्यो नै तर सुरुवाती दिनहरुमा झै बेपत्तै सँग भाग्दैनथ्यो र भागे पनि सजिलै फर्किन राजी हुन्थ्यो । पहिले पहिले ध्यान बस्दा खुल्न हतार गर्ने आँखाहरु पनि अब चिम्लिन मै रमाए झै लाग्थ्यो भने घोडारुपी मनको लगाम पनि अब आफ्नो नियन्त्रणमा आउँदै थियो। सातौ दिनको दैनिकी सकेर सुतेकी म निदाएकी पनि होइन एकखाले तरङ या अर्धमुर्छा जस्तो अवस्थामा आँफैलाई पाउँछु। सुतेकी मैले आफ्नो शरिरमा उत्पन्न हरेक संबेदनाको महशुस टाउका देखी क्रमश: गोडा सम्म  गरेँ। त्यहाँ बसेको यतिका दिन मस्त निदाएकी म त्यो दिन अहँ पटक्कै निदाउन सकिन। भोली पल्ट खाना खाएपछीको फुर्सदको समयमा गुरुमालाई साधना हलमा जिज्ञासा समनका लागि भेट्न पाइन्थ्यो।  गएँ, र रातीको सारा कुरा भने। बिपश्यनाको अभ्यास गर्दा कसैलाई सातौ दिनमा या कसैलाई आठौ,नवौँ या दशौ दिनमा पुरा शरीरमा एक्साथ संबेदनाको महशुस हुने गर्दछ भनेर गुरुमाले भने पक्छी ढुक्क भएकी थिएँ। नवौ दिन गुरुमाले म,आरती लगायत अरु तीन जना हामी नयाँ साधिका मध्येका विध्यार्थीहरुलाई बोलाएर हामी एकदम सहि समयमा शिबिर आएको भनेर खुशी ब्यक्त गर्नु भयो र हामी के कसरी किन आयौ भनेर केही जिज्ञासा पनि राख्नुभयो !  चित्त बुझ्दो जवाफ दिन सकेकाले हामीलाई थप हौसला र अभ्यास निरन्तर गरिरहन भन्नु भयो।  
गुरुमा सँगको भेट सकेर फर्किदा हामी सबै मख्ख थियौ। हाम्रो आर्य मौन पनि तोडिएको थियो(ईलिगल्ली ) तर सेबिकाहरुले देखे बेकरमा गाली खाईने डरले त्यो दिन हामी लुकेर मात्र बोल्यौ तर ध्यान भने बोलेकोले भङ्ग भईसकेको थियो। यसरी ध्यान भङ्ग भएपछी आरती,ओजस्वी,लक्ष्मी,रविना र म सहितको भुरा टोली(यसर्थमा कि त्यहाँ हामी भन्दा साना अरु थिएनन सबै हामीलाई भुराहरु भन्नुहुन्थ्यो।)ले अर्को पल्ट शिबिरमा सहभागी हुँदा दसैं दिन आर्य मौनको पलना गर्ने निर्णय पनि गर्‍यो।
दशौँ दिनमा मैत्री दिए पछी(मैत्री ध्यान सिकाएपछी) आर्य मौन खुल्दो रहेछ। हिजो सम्म खस्याक्खुसुक अलेली बोलेको भए पनि एकै पटक सबैको सम्मुख के भनेर के बोल्ने झै सबै अलमल्ल परे। सेबिका दिदी र आमाहरुले नमस्ते भन्नु भएपछी सबैले सबैलाई नमस्ते नमस्ते भन्दै बोल्यौ। बिदेशीहरुले पनि हाम्रो सिको गर्दै सबैलाई नमस्ते गरे। दश दिन देखी सँगै खाने,हिँड्ने गरेर देखिरहने बानी परेको तर नबोलेको मान्छे सँग एक्कासी बोल्दा आत्मिय लाग्दो रहेछ तर जती नै आत्मिय लागे पनि हामीलाई कसैको नाम थाहा थिएन त्यसैले भेटे देखेको दश दिन पछी अब परिचय सुरु हुँदै थियो। धेरै दिन पछी बोली सुनेर होला आफ्नै बोली पनि चर्को र अरु पनि चिच्याई चिच्याई बोले झै लाग्दै थियो। साँच्चै गज्जबको अनुभव थियो। आर्य मौन भङ्ग भएपछी माथि काउन्टरमा राखेको पर्स लिन गएर हाम्रो भुरापाटीले चन्दा पनि लाईन लागेरै दियो र खान खान भेला भयो। अगिपछी ५।७ मिनेटमा खाएर आ आफ्नो बाटो लाग्ने बानी परेका साधिकाहरुको अवस्था यो दिन हेर्न लायक थियो। सबैको ध्यान खान भन्दा गफ गर्न पट्टी धेरै थियो। यसरी मौन खुले पनि हामीलाई अन्य(बाहिरी मान्छे र साधक पुरुष) मान्छेहरु सँग बोल्न र भेट्न भने बन्देज नै थियो तर आपसमा बोल्न पाइने र ध्यान पनि बस्नु नपर्ने भएकोले यो दिन खुब घुमघाम र रमाइलो भयो। सेबिकाआमा सँग लामो समयको साधना गर्ने शिबिर र आश्रम वरपरको एरिया(पुरुष एरिया बाहेक) घुम्यौ र गफ मै मस्त भयौ। आएको दुई दिन नपुग्दै घर जाउ भन्ने ओजस्वी र रविना पनि बोल्न र घुम्न पाईने अनी ध्यान पनि बस्नु नपर्ने भएपछी त अझै अरु दिन यस्तै गरी बस्न पाए पो भन्न थाले। जे होस् मैत्रीको दिन अविस्मरणीय रह्यो। भोलिपल्ट बिहानइ साधना सकेर शिविर समाप्ती पछी हामीलाई घर फर्काउने कार्यक्रम रहेकोले राती दश बजे भन्दा पछी पूर्ण रुपले आर्य मौन पालन गरी सुत्न भनिए तापनी सबै गफ मै मस्त थिए। एघार बजेतिर भोलिपल्ट ३;३० मा उठ्ने सल्लाह गर्दै सबै सुत्यौ। 
एघारौ दिन उठेर सबैले पहिले आआफ्नो ब्याग प्याक गर्यौ किनकी बिहानी ध्यान पछी शिबिर समापन गरेर खाजा पनि खाइसक्नुपर्ने थियो सात बजे भित्रै किनकी सात बजे माईक्रो आईपुग्ने र आउने बितिक्कै हिंड्नुपर्ने भनिएको थियो। आरती, ओजस्वी, लक्ष्मी, रविना र म हाम्रो भुराटोली घर फर्किन तयार भयो। ६:३० सम्ममा शिसिर समापनको कार्यक्रम सकेर हामीले खाजा(खिर) खायौ र सबैलाई बाइ भन्दै सेबिकाआमा र दिदिहरु सँग बिदा भएर काउन्टरमा एघार दिन अगी बुझाएको मोबाईल लियौ र एघारै दिन अघी माईक्रोले छोडेको ठाउँमा गएर माईक्रो चड्यौ। लक्ष्मीलाई दाई त्यही लिन आउने हुनुभयो यसर्थ उनलाई बाइ भनेर हाम्रो टोली माईक्रो चड्यो। महाराजगञ्ज आईपुगे पछी आरती त्यतैबाट धुम्बाराही लागिन भने ओजस्वी रबिना र म भ्रिकुटिमण्डपमा ओर्लियौ। ओजस्वी र रबिना बानेश्वर जाने रहेछन उनिहरुलाई बाइ भनेर म भने त्यही बाबुलाई कुर्न थाले। म आएकै माईक्रोमा कृतिपुर मै ईकोनोमिक्स पढ्दै गरेका एक्जना दाई पनि भेटिनु भयो वहाँको दोस्रो शिबिर रहेछ। हामी गाफ गर्दै बस्यौ,हतारोमा शिविरमा नभेटिएका साथी किरण पनि पछील्लो माईक्रोबाट त्यही ओर्लनु भयो। अनुभवहरु साटासाट गर्यौ र एकैछिन अल्मलियौ। बाबु आईपुगे पछी वहाँहरुलाई बाइ भन्दै म आफ्नो विपश्यना शिबिर पुरा गरेर घर तिर लागेँ।    
जे होस् दश दिन बहिरी दुनियाँबाट एक्लिएर आफ्नै शरीर भित्र उत्पन्न,बिलिन हुने हरेक एक एक संबेदनाको अवलोकन गर्नु साँच्चै लेखेर या भनेर वर्णन गर्न नसकिने अनुभव हो जुन आँफैले भोग्नु पर्छ। सामाजिक सञ्जाल र सेल्फफोनले जेलेको आजको हरेक मान्छेको दैनिकी भन्दा एक फरक दैनिकी। वैयक्तिक रुपले भन्नुपर्दा मैले यो शिबिरमा सहभागी भएर धेरै पाएँ भने आफ्न कयौ अवगुणहरुलाई चिन्ने र त्यसबाट छुट्कारा पाउने उपाए पनि आँफै भित्र पत्ता लगाएँ।  यो दुनियाँ परिवर्तनशील छ,यहाँका हरेक कुरा परिवर्तन हुन्छ भनेर त सबैले सहजै र सजिलै भन्छन तर अनुभव कतिले गरेका छन ? एक पटक अनुभव पनि गर्ने कि (?)कती अरुले सुनाएको सत्यको मात्र पछी लाग्ने । अर्काले सुनाएको सत्य भन्दा आफुले जानेको सत्य निकै भिन्न हुन्छ । सबैको मंगल होस् !!