झरी कफी किताब अनि ऊ

फोटः गुगल

          





मलाई झरी मन पर्छ । मलाई झरीमा कफी विषेश मन पर्छ । अनि झरी परेको बेला कफीका साथमा किताब पढ्न मलाई सबैभन्दा बढी मन पर्छ । कसैले झरी कफी किताब अनि ऊ मा कुन पहिलो रोजाई कुन दोस्रो अनि कुन तेस्रो भनी सोधे मेरो जवाफ हुनेछ सबै चारवटै मेरो पहिलो रोजाई हो । एउटा मात्र पहिलो हुनुपर्छ भन्ने पनि हुन्छ र ? पानी पर्नु र झरी पर्नु नितान्त बेग्ला बेग्लै अनुभव हुन् मेरो लागि । आज बिहानै देखी झरी परिरहेको छ । त्यसैले अफिसका सारा कामहरू थाती राखेर म झरी कफीमा अल्झी रहेकी छु । मलाई अल्झाउने किताब र उनका यादहरू बाहेक अरू के पो छ र ! यिनै त हुन् मेरा मनका तमाम प्रेमिल अनुभव र अनुभूतिहरूका स्रोत ।
 
झरी सँग कफी र किताब जोडिए जस्तै सँगै जोडिएर आउने ‘ऊ’ पछि मात्र मेरा हरेक झरीहरू पूर्ण हुन्छन् ।  झरीमा मलाई कफी र किताबका अलावा उसका यादहरूलाई झरीमा रुझाएर एक पटक पुनः ताजा गराउँन मन लाग्छ र हराइदिन मन लाग्छ पाटनका ती आवारा गल्लीहरूमा निर्धक्क र निस्फिक्र भई फेरी एकपटक उसका हातमा आफ्नो हात राखेर ।

बाहिर पानी परिरहेको छ । छेवैँमा भर्खरै पढेर सकेको नेपाली उपन्यास छ ‘चीरहरण’ । उपन्यास पढी सकेको कयौँ दिन बितिसक्दा पनि त्यसको प्रभाव कम भएको छैन् । हाम्रो समाजमा आज पनि छोरीमान्छेहरूको भोगाई कुनै न कुनै रुपमा द्रौपदी, कुन्ती, वा अम्बा अम्बालिकाहरूको भन्द फरक हुन किन सकेको छैन ? यही कुराले दिमाग पिरोलिरहेको छ । र, सँगै छ उही महाभारतसँग जोडिएकी मदनमणिकी ‘माधवी’ जसको जिवन कहानी पढ्दा बिगतमा म पटक पटक विचल्लित भएकी थिएँ । झ्यालमा राखेको कफीबाट उडेको बाफ सिसामा जमेको छ । औँलाले उनको नाम लेखिदिन्छु नाम आफै मुस्कुराउँछ मलाई हेरेर । ‘चीरहरण’बाट उम्कने प्रयासमा झरीको साथ निकै फप्ला जस्तो छ यो मन मस्तिष्कलाई ।  गमलामा भर्खरै फुलेको रातो गुलाफ झ्यालबाट तन्केर झरी हेर्ने प्रयासमा छ । झ्याल खोलेर हत्केला थाप्छु चिसो पानीले छुँदाको मादकता महशुस हुन्छ । हत्केलामा जम्मा भएका पानीका थोपाहरू गुलाफको थुँगामा हालिदिन्छु र सुस्तरी स्पर्श गर्छु । कति कोमल छन् यी फूलका पत्तीहरू ठीक मेरा मनमा उसका लागि उम्रने भावुकताहरू जस्तै । 

झरी परेपछि जब कफी र किताब भेटिन्छन् उसको अनुपस्थिती खड्कन्छ । झरी जतिकै प्रिय छ ऊ मलाई अनि यो कफी र किताब जतिकै प्रिय छ मलाई ऊ । अचेल मेरा हातमा कफीको कप रित्तिने बितिक्कै पुन भरेर थमाउने ऊ मेरो साथ छैन् । अनि पढ्दा पढ्दैको किताब खोसेर मलाई सताउने बद्मास ऊ मभन्दा धेरै टाढा छ । वर्षौ अघिको यस्तै झरीको दिन ऊ सँग मेरो भेट भएको थियो । तिनताका  झरी कफी र किताब नै मेरो दुनिँया थियो । ऊ सँगको दोस्रो भेट पाटनका गल्लीहरूमा भयो र संयोग कस्तो भने त्यो दिन पनि झरी नै परेको थियो । यसरी झरीसँग कफी र किताब पछि ऊ जोडिन आईपुगेको थियो । उसलाई मेरो झरी कफी र पुस्तक प्रेमले हैरान पार्थ्यो । पछि ऊ आफैँ मेरा प्रियहरू झरी, कफी र किताब सँगै गाँसियो अटुट बनेर। हो, अचेल हरेक झरी उसको अनुपस्थितीले खल्लो महशुस हुन्छ कफी र किताबले पनि नभरिने खालीपन भेट्छु आफैँ भित्र । यस्तो लाग्छ आजको झरी स्यमं पनि मलाई कफी र किताबको साथमा मात्र देखेर उदास छ ।  

अब त धैरे वर्ष भयो झरी परेको दिनको मेरो दैनिकीमा उनको उपस्थिती नभएको पनि । त्यसैले अचेल झरीमा कफी  किताब र उनको याद छ । हरेक झरीसँग यौटै कामना गर्छु कि आगामी झरी उनको साथमा बिताउन सकुँ । पाटनका तमाम ती आवारा गल्लीहरूमा उनका हातमा हात बाँधेर निस्फिक्र डुलौँ र ठाउँ ठाउँमा ओत लागेर सँगै कफी खाऔँ । कसो नफर्केलान त दिनहरू !