ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर


ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर।
आवश्यकता त्यसै टार्न पनि हुन्न हेर।

न त राख्नु न त फाल्नुको खोटो नोट जस्तो,
जिन्दगीलाई बेवारिसे पार्न पनि हुन्न हेर ।

फूल बन्छ जीवन काडाँ माझमै फुल्छ यो,
कोपिलामै ओईलाएर झार्न पनि हुन्न हेर ।

रहर माथि कसी सुखी हुने काईदा रै'छ,
र पनि सबै रहर मार्न पनि हुन्न हेर ।

ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर।
आवश्यकता त्यसै टार्न पनि हुन्न हेर।

फ्याँकिएको डायरी

अन्तिम पानो

ऊ सँग सम्बन्धित अध्यायहरुको अन्तिम लेखनको अध्याय अब यो पछी ऊ अब मेरो डायरीमा लेखिने छैन। त्यो बिगत, त्यो जीवनको एक पाटो जसले मेरा सपनाहरु दिवास्वप्न बनायो। परिस्थिती र समयको खेला भन्दै उसले म सँगको सहयात्रा सजिलै सँग तोडेर गयो। परिस्थिती त आफुँले जस्तो चाह्यो उस्तै बनाउन सकिन्थ्यो तर उसले हिम्मत गरेन । ऊ दुखेर गयो की हलुका भएर गयो त्यो मलाई थाहा छैन र अब जान्ने रहर पनि छैन तर आफ्नो निर्णय सुनाएर नतिजा आफ्नै तिर पारेर गयो ।    
त्यो दिन धेरै दिनको छट्पटाई पछी अन्तत एक दिन उसलाई पुरानै ठाउँमा भेटेकी थिएँ। पहिलेको ऊ र अहिलेको ऊ, कतै केही नमिलेको जस्तो, केही छुटे जस्तो र केही थपिए जस्तो अन्यौलको स्थितिमा । जब उसको नजिकै पुगे मन भरी प्रश्नहरु मडारिदै थिए तर बोली भएर निस्किन मानिरहेंका थिएनन। जुन सहजताका साथ आफ्नो मन उसको सामु फुकाउथें यसपाली त्यसो हुन सकेन। यसो उसको अनुहार नियाँले मनले तुरुन्तै भन्यो यो अब तेरो रहेंन,तँ बाट बिल्कुल अलग भईसकेको छ । आफ्नै मनको कुराले झस्किए, साँच्चै किन किन त्यतिबेला ऊ मलाई कुनै अपरिचित भन्दा भिन्न लागेन। मनले स्विकार गरेन कि ऊ सँग मैले आफ्नो जिन्दगीका पाँच बर्ष बिताईसकेकी छु।
उसको छेउमा बसुँ कि हिंडु को दोधारमा एक पटक पुन: उसको अनुहार गहिरिएर नियाल्ने प्रयास गरेँ । त्यहाँ दोधार, निराशा,असन्तुष्टी अनी लाचारिका बादलहरु मडारिदै थिए, केवल बर्षन बाँकी थियो झैँ लाग्यो । एकहोरो हेरिरहेँ माया लाग्यो तर तुरुन्तै तिरस्कार को भाव मडारियो आमुक पिडा सहित 'बस न के थाहा अब फेरी यसो भन्ने दिन आउछ आउँदैन' कतै टाढा कन्दराबाट आएको जस्तो झिनो स्वरमा उसले भन्यो। यतिका दिन कहाँ थियौ ? बस्नु र आवेग अली रोक्दै प्रश्न गर्नु एकै पटक थियो सायद । 'जे को डर थियो त्यहीँ भयो, यो के भयो?' चुक घोप्ट्याए जस्तो अनुहार पारेर भन्यो। सहानुभूती त हैन रिस उठ्यो मलाई एका एक भने, म छोरी मान्छे भएर त आँट गरेकी थिए, जहाँ गएर जसरी भए पनि निर्वाह गर्न अब हामी सक्थ्यौ, पढाई सकिएकै थियो, त्यस माथि मेरो बाबा ममीले स्वीकारी सक्नु भएकै थियो, तर तिमी..... ? खै तिमीमा आँट ? अझै पनि आँट छ भने हिड अहिलै जिन्दगी जसरी पनि चलाउन सकिन्छ।
'हैन सानी अब त्यसो गर्न म सक्दिन, म मेरा बाबाआमाको ईच्छा विपरित जान सक्दिन,अब हामी अलग्गिनु नै ठीक हुन्छ। म तिमी सँग छुट्टीएर कसरी बस्छु अनी मेरो हाल के होला त्यो मलाई मात्र थाहा छ र पनि तिमीलाई आफ्नो बनाउन सकिन, साँच्ची म अब अरु कसैको हुने पक्का भयो।' आँखा भरी पारेर उसले भन्यो। अब मलाई त्यहाँ बसिरहनु ब्यर्थ लाग्यो, जुरुक्क उठे र भने तिम्रो नयाँ जिन्दगी तिमीलाई बधाई छ खुशी रहनु, अनी फटाफट घर तिर लागे ।
मुटु भक्कानिएकै थियो, जब घर पुगे आँशुका मुल फुटें। आसुँ झरुन्जेली पिडा अलिक काम भए झै लाग्यो तर रोकिए पछी फेरी उस्तै। निरन्तर बग्यो आँशु। आमाले भन्नु भयो ' नरो नानी जे हुन्छ राम्रैको लागि हुन्छ, हामीले त सबै मिलाएकै हो तर उल्ले तेती पनि हिम्मत गर्न सकेन भने तेस्तालाई सम्झेर कती रुन्छेस, सम्झी त्यो आफ्नो लायक थिएन, यदी लायक थियो त छोरो मान्छे भएर त्यती आट्न सक्नु पर्थ्यो तर ऊ त भाग्यो परिस्थिती को निहुँ र बाध्यताको खोल ओडेर। अझै केही बिग्रेको छैन, आफुँलाई सम्हाल।' आमाको कुरा ठिकै लाग्यो। मैले धोका दिएकी होइन, धोकेवाजको बोझ मैले उठाउन परेन, अब उ बिना एक्लै पनि आफु अनुकुल बाच्नु पर्छ भन्ने भाव आयो मन दरो बनाए।
मनमनै आँफै सँग प्रतिज्ञा गरेँ उसलाई भुल्दै जाने, सजिलो त थिएन तर विकल्प पनि अरु थिएन। आजको दिन देखी म उसलाई मन देखी दिन दिनै निकाल्नेछु अली अली गरेर। ऊ जहाँ जसको साथमा रहोस् खुशी रहोस्। अघी सम्म रिस र पिडा थियो ऊ प्रती तर अब कती पनि छैन। ऊ एक अपरिचित भन्नेछ आजै देखी मेरो लागि। म सबै परिचित अपरिचित सबैको खुशी चाहने र सजिव निर्जिवको भेद नराखी सबैलाई स-सम्मान माया गर्ने मान्छे। उसको लागि आजबाट त्यै माया मात्र रहनेछ यो मनमा। एक प्रकारले स्वतन्त्र र अझ निर्धक्क भए झै लाग्यो, अबको समय पुरापुर आफ्नो क्षमताले  बाबाको अफिसलाई अझ उचाईमा पुर्‍याउने एक मात्र लक्ष्य बाँकी रह्यो, आखिर म उहाँहरुकी एक्ली सन्तान पो हुँ । कसरी भुल्न सक्छु र म यो जिम्मेवारी।
जिन्दगीको एउटा मोड भनौ वा एक अध्याय यहाँ सकिन्छ र अब जिन्दगी अर्को मोड तर्फ मोडिन्छ। के थाहा कही कतै एक जिन्दगी कुनै मोडमा मलाई नै पो पर्खेर बसेको छ कि !

फुले पछी झर्नै पर्थ्यो

फुले पछी झर्नै पर्थ्यो झर्दा किन मन दुख्यो ? 
सार्नै पर्थ्यो बास मनको, सर्दा किन मन दुख्यो ?? 

सहयात्री थे'नौ हामी संयोगको भेट थियो,
छुट्टीयौँ र तर्‍यौँ साँघु, तर्दा किन मन दुख्यो ??

मेरी थि'नौ कहिलै तिमी न त म नै तिम्रो हुँ,
पराईले भर्‍यो सिउँदो, भर्दा किन मन दुख्यो ?? 

अपरिचित झैँ बने बाध्यता त्याँ त्यस्तै थियो, 
नदेखे झैँ गरेँ तिम्लाई, गर्दा किन मन दुख्यो ??

फुले पछी झर्नै पर्थ्यो झर्दा किन मन दुख्यो ? 
सार्नै पर्थ्यो बास मनको, सर्दा किन मन दुख्यो ??