माया

''अजिबको छ माया । कुनै निश्चित परिभाषा छैन मायाको, न कुनै रङ्ग न कुऐ स्वाद नै छ । अस्तित्वबिहीनता मै एक बिशाल अस्तित्व बोकेको छ मायाले । मुस्कुराउँदा मुस्कान मै छ माया रिसाउँदा क्रोधमा हुन्छ माया, अनी रुँदा आँसु बनेर बग्छ माया। यो अनन्त मायालाई कसले रोक्न सक्छ र? हेराइमा माया सोचाईमा माया कहाँ छैन माया? संसारै मायाको छ माया बिना को बाँच्न सक्छ र ? माया छ र त जीवन छ। बतास चल्दा बतास भई बहन्छ माया, घाम लाग्दा न्यानोपन भई पोखिन्छ माया, आखिर कहाँ छैन माया !

यो ब्रमाण्ड नै मायामा अडिएको छ। यस्तो सर्वब्यापी मायाको आविष्कार कसले गर्‍यो होला ? माया न त मागेर पाईन्छ न त खोसेर नै । मायाको आफ्नै गन्तव्य छ,मायाको आफ्नै हिँडाई छ अनी मायाले आफ्नो बाटो आँफै बनाउँछ । अनुसन्धान भन्दा पर छ माया अनी स्विकृती र सहमति भन्दा अलग। साँचो मायाले कुनै ब्यापार जान्दैन । वास्तवमा तुलना योग्य के नै पो छ र चोखो प्रितको सामुन्ने ! माया त उच्चताको शिखर हो । कसैसँग डराउँदैन माया । चोखो मायालाई खेल सम्झनेहरु कहिल्यै माथि उठ्न सक्दैनन, साँचो मायाले कसैलाई गिर्न दिदैन।   

माया सधैंको विजेता हो। मायामा रमाउँनेहरु भन्छन छाया हो माया, मायामा बिछोडिनेहरु भन्छन आगो हो माया मुटु मात्रै पोल्ने। जहासुकै जतासुकै माया नै माया। फूल टिप्दा फूलमै माया, काँडा बिझ्दा बिझाईमै हुन्छ माया । कविता कोर्दा अक्षर बनी पोखिन्छ माया, निदाउँदा सपनी बनी झुल्किन्छ माया, बिहानी उठ्दा बिपनीमै माया, एकान्तको बसाई अनी मीठो कल्पनामा पनि माया । शहर देखी गाउँ जादाँ गाउँमै माया, गाउँ छोडि शहर पस्दा शहरमै माया, देख छोडि बिदेश जादाँ परदेशमै पुग्छ माया । सुखी हुँदा सुखमा माया, दुख्दा दु:खअीमै हुन्छ माया, मिल्दा मिलनमा माया बिछोडिँदा बेदनमा माया अनी टाढा भए सम्झनामा माया ।  

मायालाई छोड्न चाहेर पनि छोड्न सकिन्न तर बिडम्बना यही चोखो माया गर्दा गर्दै पनि कयौँ मान्छेहरु दिनदिनै यो सुन्दर जीवनको निर्मम अन्त्य गरिरहेक छन्। जीवन लिन्छ माया जीवन दिन्छ माया। माया सबै भन्दा ठुलो शत्रु पनि हो भने यही माया भन्दा असल मित्र अरु केही छैन। जे हो त्यो माया हो । माया छ र त यो सुन्दर संसार छ हामी छौ। त्यसैले माया गरौँ र चोखो अनी सत्य मात्र गरौं। कसैलाई धोका नदिऔँ र नखाऔँ । 

मायालाई खेल ठान्नेहरु अस्तित्वहीन हुनेछन, बन्द हुनुपर्छ अब मायालु मनहरु दुख्न। अनी बन्द हुनुपर्छ मायाकै नाउँमा कसैको शरिरसँग मनलाग्दी खेल्न । ''

अन्त्यमा, यी माथिका विचार हुबहु मेरा होइनन। आज दिनभरी आफ्नै कोठामा धान्धानधुन्धुन गरेर बस्दा पुरानो पत्रीकाको कटिङ फेला पर्‍यो। सायद मेरी दिदीको काम हुनुपर्छ त्यो कटिङ, केही भिन्न र नयाँ कुरा देखे चट्ट मिलाएर त्यसको कटिङ जम्मा गर्ने अजिबको सोख उसैलाई थियो हाम्रो घरमा। तर कहिले अनी कुन पत्रीका र यसका असली लेखक को हुन मलाई थाहा छैन,पुरानो झन्डै झन्डै फाटेको, केही अक्षरहरु हराएको अवस्थामा मैले उक्त कटिङ फेला पारे पछी हराएका अक्षरका ठाउँमा सकेसम्म मिल्दो गरी आँफैले लेखिदिएँ। लेखेर सर्सर्ती पढे रमाइलो लाग्यो त्यसैले यता पनि बाँडिदिएँ । तपाईंलाई कस्तो लाग्यो कुन्नी ? :)