दशैँ

शारदीय लालिमा बोकेर घाम दैलोमा आइपुग्दा,
खेतका धान झुल्छन्, 
बारीमा कोदो फुल्छन् 
सुक्सुकाउँदो आँगन छेऊमा 
सयपत्री र मखमली कोपिला मुस्काउँदा पनि 
यो मनमा दशैँ किन भित्रिदैन कुन्नी? 
 
साँच्चै नढाँटी भन्नुस् त तपाइको मनमा ‘दशैँ’ नआएको कति भयो? 
देखाउन कै लागि मान्ने दशैँ 
र पात्रोमा आएर जाने दशैँको भो हिसाब नगरौँ ! 
लौ न ए हजुर, 
नढाँटी भन्नुस् त तपाइको मनमा ‘दशैँ’ नआएको कति भयो? 
यो मनमा दशैँ उदाउन छोडेको त वर्षौ पो भइसकेछ।
 
मेरो मनको दशैँ कसरी आउँथ्यो था’छ ? (सुन्न मन छ?) 
लौ सुन्नुस् है 
दशैँ त उत्साह र उमङ्ग सँगै आउन पर्थ्यो, 
वर्ष दिन व्यग्र भएर, 
औला भाँची भाँची दिन गनेर 
अझैँ भन्दा, 
दशैँले त्यो आकाशे रङको सर्ट र गाढा निलो फ्रक लिएर आउन पर्थ्यो। (याद छ नि है? ) 
 मेरो दशैँले लाहुरे घर फर्काउन पर्थो, 
बाटाघाटा र घर रङ्ग्याउन पर्थ्यो 
रातो माटे डाँडाँमा आमा भाउजुहरुको कल्याङमल्याङ सुनिन पर्थ्यो। 
खै त ? 
 
उता गाउँ सुनसान छ रे। 
आफन्तहरु नभेट्नु भन्ने खबर छ। 
छर छिमेकी टाढै बस्ने नियम छ।
 न दोबाटामा पिङ छ, 
न मनमा शरदको उमङ्ग ? 
यो कस्तो दशैँ हो हजुर ? 
यता परदेशीका टिकट क्यान्सिल, 
उता बा आमाको मन सिथिल। 
 
आकाशे रङको सर्ट र गाढा निलो फ्रक 
दोबाटाको पिङ सिनित्त बाटाघाटा, 
अब फेरी त्यो दशैँ कहिले आउँला खै? 
आउँला कि नआउला ?
घडी उल्टो घुमाएर आउने भए 
म त्यो बालापन र त्यै दशैँमा पुग्थेँ। 
जहाँ म बा लाई घुर्क्याउँथेँ 
अनि त्यै स्कुले सर्ट फ्रक लाएर मावल जानु ? 
खै नयाँ लुगा ?
 
 समय फेरियो दशैँ फेरियो 
म फेरिएँ लुगा पनि धेरै फेरियो 
तर मलाई त्यै आकाशे सर्ट र फ्रकसँगको दशैँमात्र मात्रै यादमा रहिरह्यो 
र रहिरहनेछ।

मेरो संसारको सूर्य


समयको क्रुर पन्जामा 

छट्पटिएको दुइ मन,

यौटा यहाँ 

अर्को सात समुद्र पार। 

मेरो संसारको बुढो सूर्य 

जसको न्यानोपनले  मेरो बाल्यकाल अद्वितीय बन्यो।

मेरो यौवन स्वतन्त्रत झल्मलायो,

जीवन थाक्न खोज्दा 

बिसाउने चौतारी ,

अनि जिन्दगी सँग लड्ने साहस र शीतलता दियो। 


सृष्टिको नियम हो,

बादल, वर्षा, उदाउनु  अस्ताउनु

 पनि यो मन कामना गर्छ

सृष्टिको नियम भङ्गै होस्

तर 

मेरो घामले कहिल्यै अस्ताउँन नपरोस्।