Showing posts with label आफ्नै कुरा. Show all posts
Showing posts with label आफ्नै कुरा. Show all posts

तिमी

दिनदिनैको भीडभाड र भागदौडले 
फोटोः आफ्नै
खै कुन्नी कुन संसारमा हराएकी म, 
मलाई मेरो महत्व बुझाउँन, 
रुखो मन फुकाउँन 
मेरो आश र सास बनि आयौ तिमी। 

न कसैसँग केही आश थियो, 
न कोहीसँग केही गुनासो, 
जिन्दगी चल्नु थियो…चलेकै थियो। 
मेरो एक्लोपनको साथी हुन, 
बिरक्तिएको मन सजाउँन, 
आफू हुनुको अस्तित्व हराउँदै गएकी मलाई, 
मेरै अस्तित्व बोध गराउँन अनि ममत्व बुझाउँन 
मेरो बाँच्ने आँट साहस र धैर्य बनेर आयौ तिमी। 

अब फरक पर्दैन मलाई 
अब केही फरक पर्दैन मलाई 
कोही मलाई सोधोस् नसोधोस् 
कोही मलाई खोजोस् नखोजोस् 
कसैले मलाई बोलाओस् नबोलाओस्। 
म आफ्नै संसारमा भरिएकी छु 
म  साह्रै स्वार्थी भएकी छु। 
मैले मेरै खुसी खोजेँ 
संसारलाई छोडेर तिमीलाई रोजेँ। 
तिमी छौ संसार छ अरु मलाई को पो किन चाहियो र ? 

रातभरी ननिँदाए पनि अब आँखाहरू गुनासो गर्दैनन् 
दिनभरी थाकेको शरिर पनि आराम खोज्दैन् 
जब जब तिमी सामीप आउँछौ 
स-साना हातले यी अनुहार छुन्छौ 
मुस्स मुस्कुराउँछौ 
र तोते बोलीले बोलाउँछौ। 
हो म अब संसारका सबै सुखहरु भुलेर तिमीमै हराईदिन सक्छु। 
सधैँलाई सबैलाई बिर्सेर तिमीलाई अँगाल्न सक्छु। 

आमा भएर आफूमात्रै बाँचेर भो र ? 
तिमीलाई यौटा संसार दिनु छ 
भोली तिमी हिँड्ने गोरेटाहरु मिहिन पार्नुछ। 
जति उदास हुनुथ्यो भईसके 
जति एक्लिनु थियो एक्लिएँ 
तिमीसँगै नयाँ संसारको सिर्जना गर्नुछ।
तिमी र म भएर संसार जित्नु छ।

आमा

आमा, तिमी भन्दा पर मैले देखेको छैन तिमीभन्दा अरु मैले महशुस गरेको पनि छैन्। तिमी भित्रको संसार मेरो यो बाहिरी दुनियाँ पनि तिमीमै सिमीत छ।
दिनहरु लामा लामा लागेका होलान् रातले झनै तर्साएको बेला कचमचिएको निद्रा, गाडिएका आँखा उपेक्षाहरु र एक्लोपनले निलेको बेला मलाई हेर है, म तिमीसँगै थिएँ र छु। आमा, दुनियाँले तिम्रो उपस्थिति स्वीकार नगर्दा ऐनामा आफूले आफैँलाई नदेख्दा तिमीलाई तिम्रो अस्तित्व संकटले घेर्दो हो तर, मैले तिमीमा मेरो संसार देखेको छु। तिम्रो स्पर्शले र तिम्रो उपस्थितिले म ‘म’ भएको छु। तिम्रै त्यो अनुहार हो जुन मैले यो भीडमा एक मात्र चिनेको छु। तिमीलाई मेरो संसार ठानेको छु। आमा, यी दिनहरु बितेर जानेछन्, तिमी र म रातभरी निदाउँने दिनपनि आउँनेछ। तर ऐले म बेला बेलामा झस्कन्छु तर्सन्छु र रुन्छु तिमीले काखमा लिँदा सुरक्षित ठान्छु मलाई एक्लै नछोड्नु है। ऐले म तिमी र तिमी वरपर नै रहन्छु ल म सधैँ यस्तै सानो पनि रहन्न सधैँ म तिमीलाई सताउने पनि छैन।

दशैँ

शारदीय लालिमा बोकेर घाम दैलोमा आइपुग्दा,
खेतका धान झुल्छन्, 
बारीमा कोदो फुल्छन् 
सुक्सुकाउँदो आँगन छेऊमा 
सयपत्री र मखमली कोपिला मुस्काउँदा पनि 
यो मनमा दशैँ किन भित्रिदैन कुन्नी? 
 
साँच्चै नढाँटी भन्नुस् त तपाइको मनमा ‘दशैँ’ नआएको कति भयो? 
देखाउन कै लागि मान्ने दशैँ 
र पात्रोमा आएर जाने दशैँको भो हिसाब नगरौँ ! 
लौ न ए हजुर, 
नढाँटी भन्नुस् त तपाइको मनमा ‘दशैँ’ नआएको कति भयो? 
यो मनमा दशैँ उदाउन छोडेको त वर्षौ पो भइसकेछ।
 
मेरो मनको दशैँ कसरी आउँथ्यो था’छ ? (सुन्न मन छ?) 
लौ सुन्नुस् है 
दशैँ त उत्साह र उमङ्ग सँगै आउन पर्थ्यो, 
वर्ष दिन व्यग्र भएर, 
औला भाँची भाँची दिन गनेर 
अझैँ भन्दा, 
दशैँले त्यो आकाशे रङको सर्ट र गाढा निलो फ्रक लिएर आउन पर्थ्यो। (याद छ नि है? ) 
 मेरो दशैँले लाहुरे घर फर्काउन पर्थो, 
बाटाघाटा र घर रङ्ग्याउन पर्थ्यो 
रातो माटे डाँडाँमा आमा भाउजुहरुको कल्याङमल्याङ सुनिन पर्थ्यो। 
खै त ? 
 
उता गाउँ सुनसान छ रे। 
आफन्तहरु नभेट्नु भन्ने खबर छ। 
छर छिमेकी टाढै बस्ने नियम छ।
 न दोबाटामा पिङ छ, 
न मनमा शरदको उमङ्ग ? 
यो कस्तो दशैँ हो हजुर ? 
यता परदेशीका टिकट क्यान्सिल, 
उता बा आमाको मन सिथिल। 
 
आकाशे रङको सर्ट र गाढा निलो फ्रक 
दोबाटाको पिङ सिनित्त बाटाघाटा, 
अब फेरी त्यो दशैँ कहिले आउँला खै? 
आउँला कि नआउला ?
घडी उल्टो घुमाएर आउने भए 
म त्यो बालापन र त्यै दशैँमा पुग्थेँ। 
जहाँ म बा लाई घुर्क्याउँथेँ 
अनि त्यै स्कुले सर्ट फ्रक लाएर मावल जानु ? 
खै नयाँ लुगा ?
 
 समय फेरियो दशैँ फेरियो 
म फेरिएँ लुगा पनि धेरै फेरियो 
तर मलाई त्यै आकाशे सर्ट र फ्रकसँगको दशैँमात्र मात्रै यादमा रहिरह्यो 
र रहिरहनेछ।

मेरो संसारको सूर्य


समयको क्रुर पन्जामा 

छट्पटिएको दुइ मन,

यौटा यहाँ 

अर्को सात समुद्र पार। 

मेरो संसारको बुढो सूर्य 

जसको न्यानोपनले  मेरो बाल्यकाल अद्वितीय बन्यो।

मेरो यौवन स्वतन्त्रत झल्मलायो,

जीवन थाक्न खोज्दा 

बिसाउने चौतारी ,

अनि जिन्दगी सँग लड्ने साहस र शीतलता दियो। 


सृष्टिको नियम हो,

बादल, वर्षा, उदाउनु  अस्ताउनु

 पनि यो मन कामना गर्छ

सृष्टिको नियम भङ्गै होस्

तर 

मेरो घामले कहिल्यै अस्ताउँन नपरोस्। 



हेप्पी न्यू इयर पहाडी गुराँस

हरेक साँझ,
सुस्तरी चलेको बतासले
तिम्रा गालाहरूमा हल्का स्पर्श गर्दा
तिमीलाई मेरो झझल्को आउँछ कि आउँदैन्  ?

बुफ्यालो क्रिकको चिसो पानीमा 
दुबै गोडा डुबाउँदा
तिम्रा पाइतालाहरूमा लाग्ने हल्का काउकुतीले
तिमीलाई मेरो झझल्को आउँछ कि आउँदैन् 

शनिबारीय साँझ
सामुन्द्रिक किनारमा हात समातेर 
बरालिएका जोडीहरु देख्दा
तिम्रो मनमा काउकुती लाग्छ कि लाग्दैन् 

हरेक बिहान घाम उदाउनु भन्दा पैले
चराहरू ब्यूँझनु अघि 
तिम्रा यादले सताउँछन् मलाई। 
ओ पहाडी गुराँस !
तिमीलाई सञ्चै छ 
अनि तिमीले भित्र्याउने नयाँ वर्ष?

हेप्पी न्यू इयर पहाडी गुराँस। 

डार्विन र झरी



Photo: Google
उहिेले काठमाडौँमा साँच्चै धेरै झरी पर्थ्यो अहिले पनि पर्छ होला । काठमाडौँ छोडे देखि मलाई त्यो झरीको यादले नसताएको भने हुँदै होईन । डार्विन आएदेखि झरीको आनन्दबाट टाढै थिएँ । यो हप्ता नपत्याउँदो झरी पर्दैछ । शुक्रबार काम सके देखि शनिबार आईतबारको बिदामा यसपाली सोमबार पनि बोनस बिदा पर्ने पालो । तिन दिने बिदा अनि झरी, यसपालीको झरीले काठमाडौँको झरी बेस्सरी सम्झायो ।

डार्विन र झरी आपसमा विपर्य झैँ लाग्छ मलाई । पानी पर्ने छ महिना पनि हररर एकछिन पानी परेर उतिखेरै टन्टलापुर घाम फेरी एकैछिनमा हरररर पानी फेरी घाम । घामपानीको लुकामारी मै बित्ने दिनरात। अर्को छ महिना पानी भनेको धारोमा र बोटलमा मात्रै देख्न पाइने। पहिले पहिले उदेक लाग्थ्यो यो मौसम तर अचेल आफ्नै लाग्छ । स्मृतिमा पाटनका ती आवारा गल्लीहरुको छाप माथी डार्विनको सामुद्रिक बलौटे हावाको लेप पो लाग्न थालेको हो कि ? हुन पनि छुटेका यादहरू संगालेर मान्छे कति दिन पो बाँच्न सक्छ र ? जिन्दगी बाँच्दै जाँदा सिक्ने कुराहरू हुन् यी कतिले हेक्का गर्छौ कतिले बिर्सिदिन्छौँ । कसैलाई सम्झनुमा आनन्द कतिलाई भुल्दा ।

अँ म डार्विन र झरीको कुरा गर्दै थिएँ कुरा अन्तै गएछ । तिन चार दिन भयो लगातार पानी नपरे पनि र छाला डाम्ने घामबाट छुटकार पाएको । यसपाली बादल र पानीको लुकामारी देख्न पाईएको छ। यो दीर्घकालिन मौसम हुँदै होईन तर पनि मौका पाउँना साथै स्मृतिमा जम्मा भएको याद बल्झँदो रै'छ । तिन दिन बिदा भएकोले हतारो कुनै कामको थिएन । झरी पनि मेरै लागि परेको झैँ लागेको छ । कफीको साथमा झ्यालबाट पानी परेको हेर्नु जति मज्जाको कुरा अरु के नै होला र । पानीका थोपाहरु सिमीको झ्यालमा प्याजी फूलहरू सँग लडिबडी गर्दै भुइँ सम्म ओर्लेको हेरेर मलाई त्यो काठमाडौँको झरी र झरीले लुछुप्पै भिजेका निला फूलहरुको माया लागिरहेछ । 

निला रङको पारिजातको शिरिष यता देखेकी छैन । यो ठूलो महादेशकै अर्को कुनामा पारिजातका शिरिषहरू ढकमक्क फुलेको देखेकी थिएँ । डार्विन मलाई तिम्रो उष्ण हावा पनि अब मन पर्न थालेको छ । यसपालीको यो झरी त झन कति मन परेको छ म तिमीलाई कसरी भनौँ ? सक्छौ भने निला शिरिषका फुलहरू तिम्रो काखमा पनि हुर्काउ । मलाई झैँ निला फुलहरुलाई पनि तिम्रो शुष्क छातीमा बास देऊ न है ।

बालाई साहारा वकिङ स्टिक किनेपछि....


सानी हुँदा बा’ नै मेरा सबथोक थिए,
फोटोमा बा 
स्कुल सकेर घर पुग्दा बाले दिनुहुने 
भुटेका मकै  चियामा मैले संसार देख्थेँ। 
आमाबाट लुकाएर दिने रू  के तुलना 
खै  के सँग गरूँ ? 

सानै छदाँ बाले बोकेर खोला तार्नु भयो,
घाँसका मुठा बाँध्न सिकाउँनु भयो। 
बनका जामुनतिँदूभलायो  कटुसका 
स्वाद पनि चिनाउँनु भयो। 
पटुकीमा पोको पारेको अम्बा  चिउरी 
कहिल्यै सकिएनन् मेरा लागी। 

Pic: Google
चिप्लेटी ढुङ्गामा 
रातोमाटो भरेर सिन्काले 
बाले पहिलो कपुरी ‘’ चिनाउनु भयो।                           
जिवनमा नैतिकतादया  धैर्यको
महत्व सिकाउनु भयो।  

बाले कथा भन्न  बुन्न सिकाउनु भयो
ताराहरूलाई आपसमा जोडेर
मैले चित्र बनाउँन सिकेँ। 
तिनका कथा बुन्न र भन्न सिकेँ। 

मेरा हरेक अभावका अघि 
बा ठिङ्ग उभिनुहुन्थ्यो 
लर्खराएका पाइला अडिग बनाइदिने बा नै थिए,
उदासिएको मन  थलालिङ्ग भविष्य देखि आत्तिने 
हरेक साँझ बिहान 
बाले दिने हिम्मत नै  मेरा साथी थिए। 
मैले कहिल्यै केही कुराको अभाव महशुस गरिन 
किनकी मेरा बा सधैँ मेरा लागि हुनुहुन्थ्यो। 

आज बालाई मेरो साथ चाहिने बेला भएको छ। 
आफैँले सुनाएका कथाहरू मबाट सुन्ने मन गर्नुहुन्छ,
धर्मराएका पाइला अडिग साथी खोज्छन्  
आँगनको छेऊमा उभिएको बुढो रुख झैँ 
मेरा बा पनि मेरो बाटो हेर्नुहुन्छ 

बालाई साहारा दिन जानुको सट्टा
बालाई साहारा दिन
वकिङ स्टिक किन्दैछु म। 

बा तपाइँकी असल छोरी बन्न सकेँ सकिन् कुन्नी 
तर,  तपाइकी बुढेसकालकी साथी 
बन्नै सकिन्। 
तपाइको आशासपना पुरा गरेँ गरिन् ? 
तर धर्मराएका पाइलाहरूको 
 साथी बन्न सक्दै सकिन।
 त्यो वकिङ स्टिकको साथ 
त्यै आँगनको बुढो रुख 
अनि धमिलिदैँ  गएको स्मृति,
हराउँदै गएका आशहरू
 बाटो हेरिरहने आँखाहरूको भार मैले तिर्न सकिन। 
हो बा 
मैले ती तपाइँका तमाम अनिंदा रातहरू बिर्साउन सकिन्।
बाटो हेरिरहने आँखाहरूको भार मैले तिर्नै सकिन। 


भ्रम कि यथार्थ


फोटोः गुगल
आमा,
ऊ त्यो परको डाँडा  उता के छ?
त्यहाँ भन्दा पर ठुलो शहर ,
छोरी ठूली हुन्छे धेरै पढ्छे,
अनी एक दिन त्यै डाडोँ पारिको शहर जान्छे,
सानी छदाँ आमा यसै भन्नुहुन्थ्यो।

 दंग पर्थेगमक्क फुल्थे 
पल्लाघरे ठूलीकान्छीलाई भन्थे,
हेरठूल्कान्छी त्यो डाडाँ पारि शहर  रे,
 ठूली भए'सी त्यै जाने हो रे
मेरी आमाले भन्नुभा'को 
आँखीभौँ उचाल्दै आश्चर्य मान्थी ठूलीकान्छी
अनि तुरुन्तै उदास हुँदै भन्थी
मेरा बाले पठाउन्नन बाबै,
 जान पाउन्न त्यहाँ। 

त्यो डाडोँ नाघेरा शहर पस्ने दिन,
रातो टिका संगै खुशी  एक भारी पिर चिन्ता थियो,
मेरी आमाको आँखामा। 
छोरीले अझै पढ्ने  गाउँमा उचों शिर हुने आशामा
बाबा गर्वले फर्‍याक फुरुक्क गर्दै हुनुहुन्थ्यो।

त्यै डाँडापारीको शहरमा छोरीले आमाबाबाको रहर पुरा गरी,
गाउँमा उहाँहरुको मान पनि बढाई,
''उस्की जस्ती छोरी भए पो'' भन्दा
बाबाको छाती चौडिएको 
 हाँस्दै नसुने झैँ गरेको पनि देखी।
तर..........
छोरीलाई शहरले पनि पुगेन कि  !

शहर बाहिर हुँदै देश बाहिरको बाटो पछ्याई उसले
बा आमा खुशी नै हुनुभो। 
छोरीका आँखामा टल्किएका सपना देख्नु भो  
आखाँमा आफ्नो आँशु लुकाएर,
सन्तानको खुशी आफ्नै ठान्नु भो !

गाऊँ.....शहर...  देश...छुट्दै गए,
तर उसको मनबाट जन्मेको गाँऊ हराएन
बा आमा हराएनन् 
बन बनेली  पाखा पखेरी हराएनन् 
खोल्चाखोल्छी  काफल  ऐँसेलु बिर्से सकिन। 
बाह्रैमास प्याउँली  गुँरास ढकमक्क फुल्ने उसका आँखा,
अचेल 
शुष्कसपनाहीन थाके थाके जस्ता देखिन्छन्। 
कुन्नी कुन खुशी खोज्न हिंडेकी थिई,
थाहा छैन उसको खोज पुरा भयो भएन ?!
थाहा छैन उसले आफैँलाई पाइ
 या हराइ ?
समुन्द्रको नीर नुनिलो पानीमा। 

एक रात...
अनन्त फैलिएको आकाशमा 
उसले आमाको घड़ी तिनतारे खोजी,
ताराका पौराणिक कथा भन्ने
बाबाको अटल  निडर ध्रुव तारा खोजी
सप्तऋषी पनि खोजी 
अनि बाले सुनाएका लोक कथाका एक एक पात्र खोजी। 
तर खै  सबै ??
यहाँको  आकाश पनि आफू जस्तै,
एक्लो एक्लो देखी
आकाशको साथमा सधैँ ताराहरू रहने बाको कथा
झुठो  पो हो कि ? या
ताराहरू लुकाउने यो आकाशको छाती झुठो !
अचेल हरेक रात उसको मनमा यही खेल्छ। 

हरेक बिहान बा लाई फोनमा सुनाउँछे
बा यहाँको आकाशमा  ताराहरू पनि छैनन्,
आमाको घडी तिनतारे पनि छैन्। 
हाम्री आमा यहाँ भाभए के गर्दा हुन् ? 

तिमी  गयौ छोरी यो आकाश नाँघेर,
तर ताराहरू यही छन् नानी हामीसँगै।  
आमा अचेल तिनतारे भन्दा बढी घड़ी हेर्छिन्
अनि भन्छिन् ताराहरूले कान्छीका याद बोक्छन्,
उसका आँखा टिमटिमाए झैँ लाग्छ ताराको उज्यालो,
मुस्कुराएकी छोरी झैँ देख्छु जूनलाई पनि
भो  घडी नै हेर्छु ! 
बाका कुरा सुनेर उसको आखाँको गुराँस फूल्यो  कि झर्यो  खै कुन्नी ?