कथा - दीवा अनी उसको रहर


''दिदी कहाँ सम्म जाने हो खै टिकट देखौँनुहोस् त।''
माईक्रोको फुच्चे भाईले थानकोटको ओरालो छिचलेर खानी खोला नपुग्दै  दीवालाई झकझक्याउँछ।  कहाँ जान हिंडेकी हुँ अनी यो कहाँ जाने माईक्रो हो को जानकारी बिनै माईक्रोको एक्लो सिट रोजेर बसेकी दीवा अलमल्ल पर्छे सोध्छे 'यो कहाँ जाने माईक्रो हो भाई?'
 प्रश्न सुनेर वरपर सिटका केही आँखाहरुदीवा तिर फर्किन्छ भने  फुच्चे भाई फिस्स हाँस्छ।
'तपै काँ जानी यो माईक्रो चै पोखरा जानी हो' खितित्त हाँस्दै ऊ दीवालाई हेर्छ।
'म पनि पोखरा जाने म सँग टिकेट छैन भाडा कती लाग्छ लाउ कटाउ' पाँच सयको नोट ऊ तिर फर्काउछे दीवा।
वरपर सिटका मान्छेहरु मुखामुख हेर्छन र रहस्यमयी हाँसो हाँस्छन।
ती सब मान्छे अनी तिनको हाँसोलाई बेवास्था गर्दै दीवा मोबाईलमा ईयरफोन जोड्दै दुबै कान टम्म पार्दै  झ्याल तिर फर्कदै निदाउने बाहाना गर्छे।
निदाउने त एक बहाना मात्र थियो।तर दीवाको मन भने अनेकौ कल्पना र तर्कनाले भरिदैँ थियो । आजको गन्तब्य पोखरा बन्यो तर भोलीको गन्तब्य कहाँ? आफ्नै मन सँग प्रश्न  गर्छे। यसरी कती दिन भाग्ने अनी कहाँ कहाँ भाग्ने...सम्पन्न घर,माया गर्ने प्रेमी र आफन्तहरु यी सब छोडेर किन अनी के का लागि  भाग्ने? अधिकाँशको सपना हुन्छ कि सम्पन्न घर होस् माया गर्ने लोग्ने अनी आफन्त। सानो सुखी परिवार। तर म त यी सब छोडेर हिँड्दै छु। के को लागि त एक पटक ऊ आँफैलाई टकटक्याएर जवाफ खोज्छे। सुख भोग्न छोडेर हिंडेकी छेस दु:ख त पाईहाल्छेस त्यै खोज्न त हिंडेकी होलिस एक मन ऊ सँग फेरी भुतभुताउँछ।
सम्झन्छे ऊ भित्र  कहिले देखी यसरी जिन्दगी जिउने रहर पलायो होला। न त आफ्न आफन्तमा उसले रोजे जस्तो जिन्दगी भोगेको देखेकी छे न त सुनेकी नै । यो रहर ऊ भित्र  कहाँबाट कुन दिनमा कसरी उम्रन भ्याएछ कुन्नी?'तर्कना र कल्पनाको दोसाधमा ऊ छोडेको त्यो घर र मोक्षको सम्झनामा पुग्छे।
                                    ***********
'हामी बिहे कहिले गर्ने भन्या? घरमा आमाबुवाले सोधेको सोध्यै हुनुहुन्छ। तिम्रो घरबाट पनी त्यै कुरा आ'को आयै छ। तर तिमी किन कानमा तेल हालेर बस्छौ भन्या भन त।'
मोक्षको यो गनगन सुन्दा सुन्दा म हैरान भईसकेकी छु। उसलाई सधैं बिहेकै धुन छ उसको यो लगाबलाई अब त दुई परिवारको साथ पनि मिलेको छ। यी दुई परिवार बाहेक समाज र बाह्या दुनियाँका लागि भने हामी बिवाहित जोडी नै थियौ। झन्डै तीन वर्ष अघी मोक्ष र मैले आ-आफ्नो घर सल्लाह अनुसार घर छोडेर फ्ल्याटमा सरेका थियौ।
 'एई दिवा,तिमी किन केही बोल्दिनौ हुँ,  समस्या पनि त केही छैन हामीलाई। हाम्रो परिवार हाम्रो साथ छ हामी सक्षम छौ,आखिर के पुगेको छैन हामीलाई' एक साँझ मोक्ष फेरी गनगन गर्छ।
''मोक्ष,यदी म तिमीलाई छोडेर भागे भने तिमी के गर्छौ?'' उसको गनगन सकिने बितिक्कै उल्टो म उसलाई प्रश्न गर्छु।
'के रे, के भनेकी तिमी  मलाई छोडेर भाग्छ्यौ रे किन?
'किन होइन पहिले जवाफ देउ'भन के गर्छौ?'
म... म खै थाहा छैन..... के गर्छु के गर्छु... कि त मार्छु कि त पगल हुन्छु।
'धत, कस्तो कायरले जस्तो कुरा गरेको। छोरा मान्छे भएर पनि यस्तो हुतिहारा कुरा गर्छौ तिमी?'
'कायर अनी हुतिहारा हैन दिवा, एक्लै बाँच्नु भनेको दुखी भएर निरस लाग्दो जिन्दगी बाँच्नु हो, म त्यस्तो जिन्दगी जिउन चाहन्न।'
'तिमीलाई कस्ले निरस जीवन बाँच भनेको छ र अर्को बिहे गरेर खुशी साथ बस न हुन्न?'
'के भयो किन यस्तो कुरा गर्दैछ्यौ आज तिमी, के मैले फेरी तिम्रो मन दु:खाएँ र दिवा?'
'हैन मोक्ष तिमीले मेरो मन दु:खाएका छैनौँ।'
'त्यसो भए तिमीले मलाई स्वार्थी सम्झेकी ?'
'मैले त्यसो पनि त भनिन नि।'
'तिम्रो कुराको मत्लब त यै हो नि हैन?'
'जसो तिमी बुझ'।
'तिमी ले यो कसरी सोच्यौ दिवा, म तिमी बाहेक अरु सँग घरजम गरेर खुशी हुन सक्छु भनेर,बरु मलाई मर भन म तिम्रो अगाडि आँफैलाई मार्न सक्छु तर प्लिज आज देखी यस्तो कुरा नगर्नु।'
'मोक्ष,तिमी त धेरै भावुक भयौ त।'
'म भावुक भएको हैन,तिमीले बनाएकी हो'।
 'मोक्ष, जिन्दगी सबैको आ-आफ्नै हुन्छ। तिमीले मलाई जती प्रेम गर्छौ सायदै कसैले कसैलाई गर्न सक्ला, र मैले पनि तिमीलाई जती निकट अब सायदै कसैलाई बनाउँन सकुँली, तर मेरो एउटा बेग्लै रहर छ जुन रहर मैले जान्ने भए देखी मेरो मनमा हुर्केको छ।'
'त्यस्तो के रहर हो तिम्रो जुन आज सम्म मलाई पनि नभनी लुकाएकी थियौ, के हो भनन म सके सम्म चाडै पुरा गर्ने कोशीस गर्नेछु।'
'तिमीले सोचे जस्तो सजिलो छैन।'
'सजिलो असजिलो को कुरा हैन, तिमी भन मात्रै।'
'सुन्ने हिम्मत छ तिमीमा।'
'भनेर हेर।'
'मोक्ष, म तिमी सँग बिहे गर्न सक्दिन। मेरो पेटमा हुर्कदै गरेको सन्तानलाई अविवाहित रहेरै जन्म दिन चाहन्छु ।'
'के कुरा गर्दै छ्यौ तिमी ? के तिमी होस् मा त छ्यौ? यो कस्तो बहुलठ्ठी कुरा हो?के तिमी पागल त भईनौँ?
'तिमी त आवेशमा आयौ,यसमा त्यस्तो आवेशमा आउनु पर्ने के नै छ र मोक्ष, अनी म बेहोसी छैन। यही रहर हो मैले जान्ने भए देखी आफु भित्र पाल्दै आएकी।'
'मलाई किन अपराधी बनाउन खोज्दै छ्यौ दिवा तिमी?'
'मैले कसरी तिमीलाई अपराधी बनाए र ,मोक्ष? म त तिमीलाई सम्मान गर्छु अनी प्रेम पनी।'
'के यही हो तिम्रो सम्मान र प्रेम? हो भने भो मलाई यस्तो सम्मान र प्रेम नगर।'
'प्रेम गर्नु को अर्थ बिहे गर्नु मात्रै पनि त होइन नि मोक्ष।
'अनी जसलाई तिमीले आफ्नो पेटमा पाल्दै  छ्यौ उसलाई पनि एक्ल्याउछौ म बाट?यो समाज अनी दुनियाँले तिमीलाई के भन्छ?म तिमीलाई कसैले नराम्रो भनेको सहन सक्दिन। हो, तिमीले अरु कोही रोजेकी छ्यौ भने ठीक छ उसै सँग बिहे गर म तिमीलाई रोक्दिन तर यो बिहे नै नगर्ने, एक्लै सन्तानको जिम्मेवारी उठाउने कुरा म सँग नगर।'
'अरु कसैलाई प्रेम गरेर मैले  तिमी सँग बिहे गर्दिन भनेकी हैन मोक्ष, यदी बिहे गर्नु थियो त म तिमी सँगै बिहे गर्थे नि। त्यसैले तिमी जे भन तर बिहे गर्ने मेरो विचार छैन।'
'यो हुन सक्दैन, म सँग यस्तो कुरा नगर दीवा, म हुँदाहुँदै हाम्रो सन्तानलाई तिमी टुहुरो बनाउन सक्दिनौँ।'
'म हुँदा हुँदै ऊ कसरी टुहुरो हुन्छ मोक्ष,आज सम्म मैले देखेको नारी जीवन भन्दा भिन्न जिन्दगी बाँच्ने मेरो रहर छ। बिहे गरेर मात्रै नारीहरु आमा बन्छन भन्ने मान्यता म मान्दिन। म यो समाज र मेरो जिन्दगीलाई बेग्लै गरी भोग्न चाहन्छु।'
'अनी मेरो रहर?'
'तिम्रो रहर पुरा हुन मेरो रहरले रोक्दैन मोक्ष, तिमी अरु कसै सँग बिहे गरेर पुन: रमाउन सक्छ्यौ।'
'फेरी उही कुरा भो आज यस बारे कुरा नगरु, तिमी आराम गर।'
'मोक्ष, मलाई केही भएको छैन तर तिमी यस बिषयमा सोच्नु है।'
'ओहो फेरी.............'
'लौ लौ आजलाई त बन्द गरेँ, तर कुनै दिन म भागे भने मलाई नखोज्नु नि है।'
'यो असम्भव छ दीवा'' मोक्ष दीवालाई यसरी अँगाल्छ कि मानौ ऊ अहिलै भाग्न आँटेकी थीइ र मोक्ष उसलाई रोक्दै छ।
                                       *****
आज दीवा साँच्चै भागी आफ्नो मोक्षलाई छोडेर,  साविकको समयमा भरे अफिसबाट घर नपुग्दा उसको अवस्था के हुन्छ होला सोचेर दीवा आत्तिन्छे। तर आफ्ना भावी दिनको कोरा कल्पनामा पुन: हराउँछे। पोखरा या अरु कुनै शहरमा बस्दा मोक्ष खोज्दै आईपुग्ने भयले ऊ आफ्नो अबको गन्तब्य सुदुर पश्चिमका गाउँलाई बनाउने निश्चित गर्छे। र, मुग्लिनमा खाना खान रोकेको माईक्रो चड्दिन। उसलाई खोज्दै फुच्चे भाई फेरी आउँछ तर उसले आफु नजाने बताउँछे।मुग्लिन सम्मको भाडा कटाएर अघिको पाँच सयबाट अरु पैसा फिर्ता दिन खोज्दै गर्दा फुच्चे भाईलाई ''तिमी नै राख, त्यो तिमीलाई'' भन्दै हाँसिदिन्छे। फुच्चे भाई नौलो हाँसो हाँस्छ र फर्कन्छ। अघी उसलाई बोकेर ल्याएको माईक्रो उसलाई त्यहीँ छोडेर केही क्षण मै अपल हुन्छ।  दिवा पुन: सडक छेउ उभिएर अर्को बसको प्रतिक्षा गर्छे।


(नोट- जागँरले साथ दियो भने कुनै दिन भाग दुई लेख्न सक्छ। तर तिब्र प्रतिक्षा चै नगर्नु है । :D)

तीज


साउन लाग्दै गर्दा तीजले आफु आउँदै गरेको संकेत दिएको थियो। आज दर खाने दिन आईपुग्यो। शहरीया परिवेशमा करिब एकाध महिना अघी देखी पाक्दै आएको दर आज बल्ल गाउँ गाउँको हरेक माईती घरमा पाक्ने तरखरमा छ। अब भने तीज संघरैमा आईपुगेको झै लाग्दै छ। माईतीको बाटो हेर्दै गाउँ गाउँमा अझै पनि कती चेली आँशु झर्दै होलान भने कती माईती घर पुग्ने हतारोमा होलान। आज त सबैले दर खान्छन अनी भोली ब्रत बस्छन तर मेरो घरमा आज पनि दर पाक्ने लक्षण देखिदैन।चेलीहरु बोलाएर माईतीले खुवाउनु पर्ने दर आँफै पकाएर एक्लै खाने जागँर छैन मलाई। गाउँ जाने मेसो मिलेन यो शहरको तीजमा मेरो मन रमाउन मानेन।
 समयको आफ्नै गती छ। पोहोर गएको तीज फेरी आयो। दसैं र तिहार आउँने क्रममा छन। चाडवाड, रमाईलो भन्नु केटाकेटी छदाँ मात्रै रे'छ। जती जती उमेर बढ्दै जान्छ ती सब एक एक गरेर हराउँदै जादाँ रहेछन। जब बिस,बाइसको भईन्छ अनी त हाँस्नै भुलिसकिदोँ रहेँछ। जिन्दगी आफ्नै समस्याले थिल्थिलिएको बेला जुनसुकै चाडपर्व आए पनि मन रमाउन नसक्ने रे'छ। र पनि रमाए झै गर्न पछी पर्न पनि नहुँने स्थितिमा पाउँछु आँफैलाई अनी आफु झै देख्छु यो दुनियाँलाई।
बाहिर पानी एकनासले परिरहेको छ। मलमासले एक महिना पछी हुत्याएर अशोजमा आएको तीज पनि अब हिले तीज होला जस्तो छ। हुन त टन्टलापुर घाममा भगवान दर्शनका नाममा घण्टौ पशुपती या अन्त कहीँ लाईन लाग्ने आमा,भाउजु र दिदिबहिनीका लागि त यस्तै झरिलो दिन काईदाको बनिदिन्छ। वर्ष दिनको दु:ख पिर भुलेर यही तीन दिन तीज भरिकोको लागि घरधन्दा र अरु कामबाट मुक्त भई नाच्न र गाउनका लागि तीज आउने गर्छ भनेर सानै देखी आमा भाउजुले भन्नुभएको सुनेरै हुर्केकी थिएँ म तर हिजो आजको भड्किलो तीज र एक महिना अघी दर खाने प्रचलनले तीजको जुन आफ्नै महत्व थियो त्यो भने पक्कै हराएको छ।
  तीज भन्ने बितिक्कै मलाई बाल्यकालमा मेरो गाउँमा देखेको/मनाएको तीजको सम्झना आउँछ। जहाँ यसरी एक महिना अघी देखी दर खाईन्न थियो,तीजलाई लुगा र गहना देखाउने माध्यम नबनाई वर्ष दिनमा एक पटक टाढाटाढाका दिदीबहिनी भेट हुने र आपसी सुख दु:ख बाढ्ने माध्यम थियो। आमाबाबा र दाजुभाईको मिलोमतोमा चेलीका लागि दुध घ्यु र भदौरे तामाका कयौ परिकार आफ्नै चुल्होमा पाक्थ्यो न कि तारे होटेल र पार्टी प्यालेसमा। ठुलो आँगनमा घुमी घुमी आमा र भाउजुले लाएको पञ्चमीको पूजा र पूजा पनि आफ्नै भाखा र लयमा गाउने तीज गीत पक्कै पनि आजका तीज गीत भन्दा राम्रा थिए छन। तीज नितान्तै महिलाका निम्ती आउँने गर्थ्यो पहिले तर अहिले त छोरा मान्छेलाई पनि छोरीकै तुलनामा तीज लागेको देख्छु। अघी भर्खरै बाटोमा भेटिएका मित्र पनि दर खान जान लागेको भन्दै थिएँ।
मेरो गाउँले अझै पनि त्यहीँ तीज जोगाएको छ जुन तीज मैले सानै देखी मानेकी छु।त्यसैले म हरेक तीजमा गाउँ जान चाहन्छु कयौ पटक मेरो रहर पुरा हुन्छ भने कयौ पटक यसपाली झै सम्झनामै म गाउँ पुग्नुपर्ने हुन्छ ।अन्तत: यो तीज म  कालो कफीको साथमा झ्यालबाट एकनास परेको पानी नियाल्दै तीज मानिदिने निर्णय गर्छु।

दुई टुक्रा


एक
देउराली देवी भाकेकी छ्यौ रे,
मन्दिरमा पनि मागेकी छ्यौ रे।
'सुहाउन्न म त तिम्लाई' भन्थ्यौ,
त्यो मनमा अर्कै राखेकी छ्यौ रे ।।

दुई
किन होला जिन्दगी विधवाको ओठ जस्तो,
दैलो अघी उभिएको काम नलाग्ने बोट जस्तो ।
राखे पनि कामै छैन छोड्न पनि माया लाग्ने,
बिच सडकमा मिल्किएको हो कि खोटो नोट जस्तो ।।