परी

निख्रदो पुषको कलिलो घाम अलमल अलमल गर्दै परीको कोठाको झ्यालसम्म आईपुग्छ र पनि ऊ उठ्ने तर्खर गर्दिन। 'परी' आमाबाले मायाले राखिदिएको नाम। नाम अनुसारकै रुप पाएकी छ्यौ भन्थे उसलाई देख्ने प्राय: सबैले । बेलुका देखी ओछ्यानकै कुनै कुनो ओगटेर रात काटेको मोबाईल सिरक भित्रैबाट छामछाम्छुम्छुम गरेर फेला पार्दा कुन्नी कताबाट एक झोक्का हावा सिरक छेडेर उसलाई सुम्सुम्याउन सफल हुन्छ । ''आछ्छु''को भावमा सिरक भित्रैबाट मोबाईल चलाऊन थाल्छे परी तर, वाईफाईको सिग्नल नदेख्दा बत्ती नभएको सहज ज्ञान प्राप्त गरी मोबाईल फेरी ओछ्यानकै कुनोतिर मिल्काएर ऊ पुन: निदाउने रहर गर्छे। यता रातभरिको शितले कठ्यङ्रिएको बिहानी भने त्यै कलिलो घाममा तन्याकतुनुक आफुलाई तन्क्याउँछ र घाम तन्नेरी हुने समय कुरेर बस्छ।

काठमाडौँको एक्लो बसाईँ, जागिरको छुट्टीको दिन भएर पनि होला आज परीलाई झटपट ओछ्यान छोडिहाल्ने  मन छैन ।  मन लाग्दा खायो मन नलाग्दा सुतिदियो। के किन जस्ता प्रश्नहरुको सामना गर्नु नपर्ने भएरै उसले यो एक्लो जीवन रोजेकी हो। ऊ बाट छुट्टीएर पुन: ओछ्यानको शरणमा परेको मोबाईलले बिद्रोह गरे झैँ तुरुन्तै घुरेर फोन आएको संकेत गर्छ। 'कुन्चैले काम पाएन यो एकाब्यानै' बिहानै त्यसरी आफुलाई सम्झेकोमा झिँजो मान्दै ऊ मोबाईलको स्क्रिन पनि नहेरी सोझै कानतिर फोन टाँसेर निद्रालु बोल्छे,

'हजुर।'

''घाम टाउकामाथी आईसक्यो तै पनि यो केटी उठेकी छैन ए।''  फोनैबाट देखे झैँ गरेर आमा परीलाई ''अल्छि'' भन्दै हकार्नुहुन्छ ।

'ह्याया, अनी तपाईंलाई थाहै छ त म बेलुका अबेर ...' परीको वाक्य पुरा हुन पाउँदैन ।

''ल ल भो, छोरीमान्छे भएर यती अबेलासम्म पनि सुत्छन ? कहिलै नसुध्रने भै' यो केटी '' क्षणिक रिससँगै आमाको दिक्दारीपूर्ण स्वर सुनिन्छ। सधैं सुन्नबानी परेका आमाका शब्दहरुले उसलाई छुँदै छुँदैनन्  ।

'अनी किन एका बिहानै ?' झिँजो मानेर ऊ आमालाई सोध्छे।

'बाउआमा छन् भ्याएँ सम्म घर पुगौँ...लौ भ्याईएन रे  हाताँ फोन छ यसो फोन गरुँ,सञ्चो बिसञ्चो के छ भन्नु छैन अझै उल्टो किन पो छ ए ।''आमाको मन अनी माया पोखिन सुरु हुन्छ साथै थोरै गुनासो र असन्तुष्टीहरु पनि ।

''अस्ती मात्र फोन गरेकी होइन र मैले, अनी के नै हुन्छ र दिनदिनै फोन गरिरहनु पर्ने त्यस्तो '' ऊ आमालाई स्पष्टिकरण दिन्छे आफुलाई वहाँहरुको वास्ता नभएको होइन भन्ने एकिन दिलाउँन।

'लौ लौ मुखले ठीक्क नपार, मामाघरबाट तेरो दाजुले फोन गरेको थियो, बैनीले के विचार गरी भनेर सोध्न, के भनिदिउँ म? तँलाई कुरा पर्नै हुन्न ऊ मलाई गनगन गर्छ कस्तो बिचाँ पारेउ ए तिमेरुले मलाई । ''

' फेरी त्यै कुरा हैन, कती भन्नु पर्छ त मैले तपाईंलाई म बिहे गर्दिन भनेर सधैं एउटै कुराले दिक्क नलऊनु त मलाई... अनी भन्न सक्नुहुन्न दाईलाई मलाई नभन बैनीसँगै  कुरा  गर भनेर । किन बिचाँ पर्नु त साक्दिन म भनेर पन्छिए भै'गोन्त।' एकै सासमा यति भनेर आमाको अरु कुरै नसुनी फोन काटेर मोबाईलाई पुन ओछ्यानकै शरणमा फालिदिन्छे । वर्तमानमा अडिग रहन्छु भन्दा भन्दै पनि बिगतका पानाहरुमा उसको मन बेपत्ता भाग्छ उसलाई त्यही छोडेर ।

हिजोआज जस्तो रुखो बोली पहिले मेरो कहाँ थियो र?  यो मनपनी यस्तो बन्जर र बेरस पहिले थिएन। सबै बिस बाईसेमा हुने उमेरका रहरहरु ममा पनि थिए। मन परेको मान्छेसँग जीवन काट्ने ,भौतिकताको अभाव आईलागे आत्मियताले क्षतिपूर्ती गर्दै सपनाहरु पछ्याउने अनी आफ्नै सानो र सुखी घर संसारको रहर यो मनको कुनाकानी ननाँचेको पनि त होइन। कस्तरी यी सबको कल्पनामा हरेक रात निदाउने म सपना पनि तिनै रहर साँचो भएको देख्थेँ र प्रत्येक बिहान सन्तुष्टीको निद्राबाट उठ्थेँ।

आमाबाकी एक्ली छोरी भनेको पुर्‍याएर राख्नु भएको थियो। परारैको कुरा त हो नि यत्री ठुली छोरीलाई एक्लै काठमाडौँ पठाउनु पर्‍यो बाटाका साथी पनि भेटिएनन भनेर आमाका आँखा भिजेका । तर के गर्नु सबैको मनले आमाबाको मनले झैँ नठानिदिँदो रहेंछ त !  दोष त कसलाई दिनु उही आफ्नै मनलाई त होला नि किनकी मेरा सङ्गिनीले झै मैले आफ्ना रहरहरु उसलाई जिम्मा दिन चाहिन या सकिन। म भित्रको 'म'ले विद्रोह गर्‍यो र भन्यो 'ए तँ किन आफ्ना रहरलाग्दा रहरहरु मार्न अग्रसर भएकी हँ?'  मैले नजवाफ हुनै पर्‍यो त्यसैले त आँफैलाई सोधेँ दोहोर्‍याई दोहोर्‍याई कि आफ्ना खुशीहरुको जिम्मा अर्कोलाई लगाएर साँच्चै म सुखी हुँला या त्यो अर्को साथ बिनानै... आफ्ना रहरहरुका साथमा सुखी रहुँला?  दुईचार दिन तनावमा बिताए त्यसपछी स्पष्ट जवाफ दिएको थियो दिमागले कि 'त्यो अर्को साथ पाएर तँ सुखी हुन सक्दिनस्।'

आमाले समाज र बासँग लुकाएको आँसु देखेकी छु। त्यस्तै काकी र ठुलीआमाको पनि । अन्तरमनमा अनन्त चोटहरु सहेरै वहाँहरुले आफ्नो सारा जीवन काट्नु भयो झुठो हाँसोमा र अझै काट्दै हुनुहुन्छ। घरको तगारो नाँघ्न  नपाउनु भएका वहाँहरुको त्यो जीवन एक हिसाबले निर्विकल्प पनि थियो होला रे तर मैले त त्यो तघारो उहिल्यै  नाँघिसकेकी छु भने म फेरी किन त्यस्तै जीवन बाँच्न मञ्जुर हुँ? आमा, काकीहरुको कुरै छोडौँ मेरै साथीहरु पनि त सबै आफ्नै लोग्नेको निर्देशनमा चलेका छन्। कुन्नी कसरी रमाएका छन्  खै उनिहरु त्यो बन्धन भित्र। भो, मलाई त सहनु छैन् त्यस्तो बँचाई।  पढाई सकेकै छु,जागीर पनि पुग्दो छ। आज म खुशी छु त्यो साथ बिनानै। म सँग मेरा सपनाहरु छन, रहरहरु छन अनी सबै भन्दा ठुलो स्वतन्त्र बँचाइ छ । अहिलेलाई यत्ती काफी छ भोली त कस्ले देखेको छ र?! यसै पनि जीवनका हरेक मोडहरुमा आईपुग्दा मान्छे अघिल्लो मोड बारे त सधैं अनबिज्ञ नै त रहन्छ नि। आSSS.. जे त होला...! भविष्यप्रति  निश्चिन्त हुन खोज्दा खोज्दै ऊ पुन: असफल हुन्छे र फेरी अल्लारिन पुग्छे विगत र भविष्य बिच... कतै ।

 एउटालाई रहरले  गरेको विश्वास यती गह्रौँ भयो कि अब मैले कुनैपनी अर्को 'ऊ'लाई विश्वास गर्न सक्दिन । सबै 'ऊ'हरुको नियत किन एकै जस्तो मात्र लाग्छ,उही 'नपाउँन्जेली कस्तो पाएपछी सस्तो' भन्या जस्तो । ऊसँग जीवन काट्छु भन्नुको अर्थ मैले मेरा सपनाहरुको त्याग गर्नु या आफुलाई सम्पूर्ण मेटाएर ऊ मा समाहित हुनुपर्ने भन्ने पनि त होइन । सहयात्री पो रोजेकी थिएँ तर ऊ कस्तरी मालिक बन्न खोजेको मेरो जीवनको । छि: घिनलाग्छ मलाई यस्ता बिशेषता पाल्नेहरुसँग, जो आफ्नो भन्दा अर्काको अस्तित्व स्वीकार गर्न सक्दैनन्। सबैले मानेको र धेरैलाई आकर्षित गर्ने विपरित लिङ्गीसँगको सामिप्यताको मोह त्यसै दिन देखी भङ्ग भयो ममा  जुन दिन मैले उसको सामुन्ने आफ्नो स्वतन्त्र अस्तित्वको घोषणा गरेकी थिएँ।

बिनासित्तिमा विगततिर मन डुलेको कत्तीपनी मन पर्दैन परीलाई। तर सोच्न नचाहँदैमा सोचाईका सिलसिलाहरु बन्द हुने पनि त होइनन् नि । सोचाई र विगतको डुलाईबाट मुक्त्ती पाउने आशा लिएर परी अल्छि गर्दै उठ्छे कफिको लागि पानी तताउन थाल्छे। यस्पाली मन उडेर आमाबा भएतिर बरालिन्न पुग्छ। छोरीको बिहे गर्ने रहर दिनरात हुर्काईरहेका आमाबाको खुब नियास्रो लाग्छ उसलाई । मनै मन पिरिन्छे ऊ, यही सोचेर कि कसरी बुझाउँ वहाँहरुलाई यी सब कि अब वहाँहरुकी छोरी 'यो' 'ऊ' मात्र होइन कुनै पनि पराई अस्तित्व आफ्नो जीवनमा स्विकार्न राजी छैन भनेर। दिनरात राम्रो कुलघरानाको खोजिमा लाग्नु भएको छ वहाँहरु...कुन रुपले लिनुहोला मेरो यो निर्णयलाई? खै म आफ्ना कुराहरु बुझाउन सकुँली या नसकुँली ? तर जे त होस्  अब मैले यो कुरा वहाँहरुलाई भन्नै पर्छ अनी झेल्नै पर्छ वहाँहरुको प्रतिकृया पनि चाहे जस्तोसुकै किन नआओस्।

परी सकेसम्म चाडै  घरजाने योजना बुन्न ब्यस्त हुन्छे मनमनै । उम्लेको पानीमा कफी हालेर झ्यालको पर्दा खोल्छे, खुलेको दिनमा तन्नेरी घाम झल्मलाई रहेको हुन्छ। आफ्नै भोलीका सुनौला र स्वतन्त्र दिनको झझल्को देख्छे ऊ  ती घामका किरणहरुमा र आँफैमा हाँस्छे एक सन्तुष्ट हाँसो ।