गजल -आफ्नो पाएँ


मुटुभित्र खोजी हेर्दा, तिमीलाई आफ्नो पाएँ,
त्यसैले त जूनी काट्ने, साँचो माया मैले लाएँ !!

दिन्छु माया हुन्न घात,बाचा गर्यौ सधैंलाई,
साँच्चै चोखो मन देखी, मैले पनि कसम् खाएँ !!

जानाजानी सताउथ्यौ, यताउती छेल्लिएर,
भेट्न सागर खोला झैँ,यत्रतत्र मैले धाएँ !!

साथ तिम्रो स्विकार्य भो,अन्त नजर् लाउदिन् भो,
सहयात्रा गर्छु भनी,आँट अब गरी आएँ !!

मुटुभित्र खोजी हेर्दा, तिमीलाई आफ्नो पाएँ,
त्यसैले त जूनी काट्ने, साँचो माया मैले लाएँ !!

गजल - जानै थ्यो त


जानै थ्यो त दैलो टेक्न, नआएको भए हुन्थ्यो !
पधेँरामा पछ्याउँदै, नधाएको भए हुन्थ्यो !!

जोड्नु अनी तोड्नु माया,खेल रै'छ तिम्रो लागि,
झुटै सहि तर माया, नलाएको भए हुन्थ्यो !!

बनाउँला आफ्नो भन्दै,मन दिएँ धोका पाएँ
सोच्छु आज बरु भेट्नै,नपाएको भए हुन्थ्यो !!

गर्यौ बाचा साथ दिने,कसम पनि खाथ्यौ त,
जानेरै झुटो कसम,नखाएको भए हुन्थ्यो !!

सँगै बाँच्ने हाँस्ने खेल्ने, रहर सबै अधुरा,
सपना झैँ यी आँखामा,नछाएको भए हुन्थ्यो !!

जानै थ्यो त दैलो टेक्न, नआएको भए हुन्थ्यो !
पधेँरामा पछ्याउँदै, नधाएको भए हुन्थ्यो !!   

गजल -गयौ तिमी


गयौ तिमी छौ झै लाग्ने आभाष बाँकी छ !
मसानघाटमा रोक्ने यो सास बाँकी छ !!

हाँस्दै खेल्दै हामी डुल्ने पखेरो र चौर,
उजाड भए अब एक्लो बास बाँकी छ !!

हराए रहरहरु लुटिएछ खुशी,
भन्छन सबै जिउँदो यो लास बाँकी छ !!

जीवन् मरण सँगै भन्थ्यौ आजै टाढियौ,
कसरी काट्नु एक्लै कयौ मास बाँकी छ !!