चाँप र उसको प्रेम


चाँपको रुखमा पुगेर मात्रै उसले आफ्नो हरेक बिहानी थालनी गर्छ। घर सँगैको सानो बगैचामा गुलाफ,लालुपाते,र मौसम अनुसारका फूलहरु चाँपका साथी बन्न आउछन,तर नियमित भेट्ने भिन्न साथी उ हो चाँपको। खाना खानु भन्दा पहिले उ चाँपको रुखमा पानी हाल्न भुल्दैन। समय समयमा उचित मलजल  र उसको नियमित गोडमेलले चाँप पनि निक्कै सप्रेको  देखिन्छ। जसले उसको घर अनी बगैचाको पनि शोभा  बढाएको छ।

उ मेरो छिमेकी हो । मैले सुने अनुसार त्यो उसैको घर हो त्यहाँ उ आफ्ना परिवार सहित बस्छ। जुन दिन म दुलही भएर यस घरमा आएँ,त्यसैको भोलिपल्ट देखी मैले उसको चाँपको रुख सँगको प्रेम देख्दै आएकी छु। घरको छतमा घाम ताप्न निस्किदा होस् या अन्य कुनै कारण बाहिरफेर निस्किदाँ त्यो चाँपको रुख नियाल्ने गर्छु । उसको त्यस रुख प्रतिको लगाव देख्दा अनगीन्ती जिज्ञासा पलाउछन म भित्र । आफ्नो लागि नयाँ ठाउँ कसैसँग सोध्ने आँट आउँदैन।घरका कोही कसैलाई सोधुँ भने पनि भर्खर भित्रिएकी बुहारी कता कता के के चासो हो भन्लान भन्ने पिर, समय मिल्दा त्यै चाँपको रुख नियाल्दै उसको यस सँगको सम्बन्ध केलाउन थाल्छु आफ्नै लयमा।

 एक दिन म साँझ पख यसो घर नजिकै टहलिन निस्किदाँ सासुआमा पनि सँगै जाने हुनु भयो। कुराकानीको सुरुवात आँफै गर्न पर्ला भन्ने सोच्दै भनेँ-

आमा हामी पनि चाँप रोपौ न,त्यो पल्लो घरमा कस्तो राम्ररी हुर्केको रहेँछ नि।

'' ए पल्लो घरको चाँपको कुरा गरेकी?''

''हजुर हजुर । '' म अझै जिज्ञासु बन्दै मुन्टो हल्लाउछु।

हामिले त्यसरी कहाँ हुर्काउन सक्छौ र चाँप, छोराछोरीलाई भन्दा बढ्ता माया गरेको छ उसले त्यसलाई । चाँपको रुखमा पुगेर मात्रै उसले आफ्नो हरेक बिहानी थालनी गर्छ।तिमीले पनि त देखेकी छ्यौ त्यो  घर सँगैको सानो बगैचामा गुलाफ,लालुपाते,र मौसम अनुसारका फूलहरु चाँपका साथी बन्न आउछन,तर नियमित भेट्ने चाँपको अभिन्न साथी उ हो । खाना खानु भन्दा पहिले उ चाँपको रुखमा पानी हाल्न कहिल्यै भुल्दैन।त्यो चाँपको रुख उनिहरुको विवाहको दिन रोपेका हुन। बिचररी! कती राम्री थीइन, शिल स्वभाव पनि उस्तै मिजासिलो नहाँसी बोल्दिनथीइन। तर दैवलाई पनि राम्रो चिज नै चाडै चाहिने रहेँछ त्यसैले त छोराछोरी र उसलाई छाडेर उनैलाई पहिले बोलाए । छोरी ४ बर्षकी र छोरा दुई महिनाको मात्रै थियो तिनी जादाँ ।
टोलै रुवाएर गैइन बरा! हामीले आज भन्दा भोली भन्दा बिर्सदै जान थालियो तर उसले त दिन दिनै अझै सम्झदै छ। ति छोराछोरीको बिजोग हुन्थ्यो समयमै गाउँ देखी बा'आमा नआईदिएका भए। दिन रात त्यै रुख अँगालो हालेर टोलाउथ्यो पहिले पहिले त। न खानको ठेगान न सुत्नको ठेगान, स्वास्नि मरेको १० दिन नपुग्दै दोश्री भित्र्याउने यो समाजले जोईटिंग्रे भनेर गिल्ला पनि गरे तर उसलाई कसैको कुराले र हाँसोले कुनै प्रभाव पारेन। अझै बिहान बेलुका को केही समय त्यै रुख वरपर नै भौतारिन्छ।  भगवानले अन्याय नै गरेका हुन तेती राम्रो मिलेको जोडी कुबेलामा छुटाएर। अकाल मै मरिन बरा! एकैछिनको बेथाले। अस्पातल पनि लागेका थिए क्यारे तर हुने हुनामी किन टर्थ्यो र?

साझँको शान्त बातावरणमा मेरी सासु आमा निक्कै भावुक देखिनु हुन्थ्यो। मेरा भने आँखा टम्मै भरीइसकेका थिए आँशुले।सोच्दै थिए माया त त्यस्तो पो हुनु, ओहो कती त्याग अनी कत्रो तपस्या। ''हिँड जाउ घर स्याँठ चल्न थाल्यो टाउको दुख्छ ऐले''आमाको यो बोली सँगै त्यो भावुक प्रेमको संसारबाट यथार्थतामा ओर्लन मलाई कर लाग्यो। घर पुगेर त्यो प्रेमको प्रतिमुर्ती चाँप फेरी नियाले एक पटक अनी कल्पना गरेँ यै चाँप सँगै हुर्कदोँ उनिहरुको प्रेम ।


पराईको कुरै छोडौं


आफ्नैले चोट दिन्छन,पराईको कुरै छोडौं,
रिक्त्तता नै सब थोक,भराईको कुरै छाडौं ।

जित्दै जानु तिमी सधैं फैलियोस यश,
चुक्छु सम्म नसोच है हराईको कुरै छोडौँ ।

पहाड तेरो हिमाल मेरो चुली कस्को भाग ?
हानाहानमा भित्रीमधेस,तराईको कुरै छोडौं ।

निसास्सो पो लाग्छ सम्झदैमा अचेल त,
बढ्ने नै हो महंगी त झराईको कुरै छोडौं ।   

''तै रानी मै रानी कल्ले भर्ने पानी'' भा'छ,
सिन्को सम्म भाँचिन्न्  काम गराईको कुरै छाडौं ।। 

पर्खाइ


जब जब पृथ्वी र आकाशको संघारमा
सुर्यले टेक्छ,
उसै बेला उ त्यो पारीको डाँडामा
पिपलको मुन्तिर,
दूर देश देखी,
तिम्रो याद बोकी ल्याउने हावा पर्खन्छु।

हरेक गोधुली आशले भरिन्छ
कतै आज त्यो हावा आउला कि?
अविदित यात्रामा निस्किएको,
गन्तब्य थाहा नलागेको
अनी,
पटक पटकको रिक्त्तताले निरास,
यात्री झैँ  नभई
हर दिन उही समयमा
यी पाईला सधैं त्यहीँ पुग्छन,
तिनै हावाको आशमा ।

बिहानी प्रहर सँगै झस्किने
हर सपनीमा तिमी हुन्छौ,
तिमी निस्फिक्री सँग
एक झोक्का हावा पैचोँ लिएर
आफ्ना ति सुगन्ध पठाईदिनु,
तिमी त्यै हावा सँगै सर्वत्र फैलनु,
ताकी यो भागदौड,
अनी ,
खिचातानीको जिन्दगीबाट
म एक्कैछिन सुस्ताउन सकुँ,
तिम्रो सुगन्ध बोकी आएको हावा सँगै ।

प्रेमको प्राचिन मिठास बोकाई पठाउनु,
ताकी, तिम्रो नि:स्वार्थ प्रेमको तरलतामा
म चुर्लुम्ब डुब्न सकुँ,
चाँदनी रात झै आउनु यादमा,
जहाँ म आफ्नो सारा जीवन नियाल्न सकुँ,
जंगली फुल झै फक्रनेछु म तिम्रो सम्झनामा,
सहेर सारा ब्यवधानहरु ।।

नियती यो नहोस् कि,
तिम्रो पर्खाईमा उठ्ने यी कदमहरु,
टक्क अढियोस क्षणिक विलम्वले,
लछारपछार भई, निरिह हुँदै,
कालान्तर देखी साँचेको सपना
एकै पटक चक्नाचुर होउन,
कसैको एकै बोलिले
दिवास्वप्नाको नाममा ।।

मसानघाटमा जल्नै पर्ने

मसानघाटमा जल्नै पर्ने,लास जिन्दगी,
बाँचुन्जेलको दुई मुठ्ठी न,सास जिन्दगी ।।

दु:ख सुख भन्नु दिन काट्ने मेलो न हुन,
नियती सँगै परिवेशको, दास जिन्दगी ।।

पाईला पाईला ठेस लाग्छ लक्ष्य दुर् हुन्छ,
रात पछी आउँला बिहान,आस जिन्दगी ।।

हिलैमा कमल फुल्छ रहस्य बुझ्नु,
यै दुनियाँ माझ रोज्नु पर्छ,खास जिन्दगी ।।

मसानघाटमा जल्नै पर्ने,लास जिन्दगी,
बाँचुन्जेलको दुई मुठ्ठी न,सास जिन्दगी ।।