आफैँ हराएको बेला

फोटो: गुगल 
अचेल म आँफै सँग अपरिचित भएकी छु। ऐनामा आफुलाई नियाँल्दा ऐनाले देखाउँने  प्रतिबिम्बमा पनि म आफुलाई भेट्टाउँदिन। भन्छन् 'ऐनाले झुठ बोल्दैन' तर जब जब आफु ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्ब नियाँल्न खोज्छु सत्य सत्य म अचेल आँफैलाई देख्दै देख्दिन । कती कोसिस गर्छु हरेक दिन कि ऐनामा नियाँल्दा म सम्पूर्ण आफु देखिऔँ तर मेरा हरेक प्रयासहरु ब्यर्थ साबित हुन्छन। मैले स्वयं आफुलाई देख्नु भन्दा पहिल्यै म अरु कसैलाई देख्छु आफुले आँफैलाई नियाँल्दै गरेको ऐनामा। हो,पहिले म सम्पूर्ण 'म' नै थिएँ यसरी घण्टौँ लाएर ऐनामा आफुलाई खोज्नु पर्दैन थियो तर अब....सबै कुरा उस्तै भएर पनि म आँफैबाट आँफै हराएँ।

यसरी मैले सम्पूर्ण आफुबाट आँफैलाई हराउँनुको जिम्मेवार न त ऊ हो न म नै । त्यो सबै एक संयोग मात्र थियो तर त्यो संयोग केवल संयोग मात्र भएर आएन मेरो जिन्दगीमा। त्यो एक संयोग भनौ या घटना अथवा दुर्घटना देखि नै हो मैले आँफैलाई स्वयं हराएको आँफैबाट।

                                                         *******

कुरा अलि पहिलेको हो तर धेरै पुरानो भने होइन ।  नयाँ सालको उमङ्ग मान्छेहरुको मनबाट निख्रिसकेको थिएन । बैशाखका सुरुवाती दिनहरु मध्येको  कुनै एउटा साँझ म पाटनका मस्ताना गल्लीहरुमा बराल्लिदैँ थिएँ उदेश्य बिहीन,लक्ष्य बिहीन तर आँफैमा रमाएर मस्त। मान्छेका भीडमा सामेल हुनु तर एक्लै आफ्नै दुनियाँमा हराएर,सम्भव भए विगतका कुनै यादमा रमाएर हिँड्नुको आनन्दको अनुभव तपाईंलाई छ कि छैन कुन्नी तर मलाई नशा लागेको छ यो अनुभवको। भविष्यबाट बेखर,निस्फ्रिक्र वर्तमान अनि विगतका मीठा नमीठा याद र आफ्नै बेवकूफी प्रती हाँस्दै दरबार परिसरका परेवाहरु सँग स्वतन्त्रता साट्नुको अनुभूती मेरो जिन्दगीको एक पाटो बनिसकेको छ।

मान्छेहरुको भीडमा भएर पनि आफुलाई भीडको हिस्सा बनाउँन असफल औसत भन्दा भिन्न छुट्टै नकोरेको कपाल,रहर अनी सपनाहरु हराए जस्ता देखिने चम्किला भइकन पनि चमक हराएका  झैँ एक जोडी आँखा र खिरिलो ज्यान जम्मामा यत्ती हो मैले उसलाई देखेकी। पुराना मन्दिर,पुराना टुँडाल,पुरानै देवीदेउता, तिनैको आडमा बसेर प्रेमलापमा मस्त रैथाने किशोरकिशोरी र हातहातमा सामान बोकेका पुरानै खुद्रा पसले केही स्थायी पसलका अलावा नयाँ भन्नु उही दिनहुँ फेरिएर आईपुग्ने फिरन्ते बिदेशी र एकाध नयाँ प्रेमिल जोडी हेर्न अभ्यस्त मेरा आँखाले उसलाई नयाँ घोषित गरे।

'होला कोई नयाँ घुमन्ते,यी पाटनका गल्ली मेरो मात्रै पेवा पनि त होइनन्, जो पनि जहाँसुकैबाट बराल्लिन अाईपुग्न सक्छ नि यहाँ ! यी गल्लीहरुको सुन्दरता नै त्यस्तै छ जो कोहिले एक पटक निँयाल्छ ऊ जिन्दगीभरी भुल्न सक्दैन यी गल्लीहरुलाई। अनौठोसँग जोडिन्छ मन यी गल्लीहरुसँग अनी बस्छ एक प्रकारको चुम्बकीय आत्मियता पनि। तर अरु घुमन्तेहरु झै चञ्चल थिएन ऊ। मैले उसको गम्भीरता एक्छिन निँयाले ठिक उसको सामुन्नेको देवलमा बसेर।  कतै कसैको यादमा हराएको झै देखिने उसका आँखाले उसलाई निँयालिरहेकी मलाई देख्यो अनी मेरा एक जोडी आँखाहरुलाई पनि। ''छि: के मान्छे नदेखे झैँ एकहोर हेरेकी चिन्नु न जान्नुको मान्छेलाई, बदमास केटी !'' आफ्नै मनको हप्काई खाएर म पुन: आफ्नै धुनमा हिँडे।    म सँगै एक हुल परेवाहरु पनि उडेर आफ्नै बाटो लागे ऊ बसेको देवलको छानाबाट।

दिनहुँ कयौँ पटक जुध्छन् आँखाहरु  तर यादमा कमै मात्र भेटिन्छन, हो  आजमा केही विशेष पक्कै छ। सधैं जुध्ने चञ्चल आँखा भन्दा भिन्न उसका उदास आँखाहरुले के यो मन विचल्लित वा प्रभावित पारेकै हो त ? यही सोच्दै  झमक्क साँझ पर्दा घर पुगेकी मैले झ्यालमूनी फुलेका एक जोडी राता गुलाफसँगै  उसका एकजोडी आँखाहरु सम्झेँ, फरक कती भने  ती गुलाफहरु मसँग आँखा जुध्दाँ  गमक्क गम्के खुशीले तर उसका आँखामा मात्र उदासी थियो।

दिनहरु बितिरहेकै थियो सधैं झै तर सधैं भन्दा भिन्न मेरो मन केही दिन यता ती एकजोर उदास आँखाहरुमा अल्झेको अल्झ्यै भयो। यताउताबाट अाईलाग्ने कामले दुई तीन दिन म पाटनका गल्लीहरुमा पुग्नै सकेकी थीइन र पनि ती एक जोर उदास आँखाहरु मैले भुल्न सकेकी थीइन।  अर्को एउटा दिन  क्याम्पसबाट चाडै फुत्किएर म सोझै हानिएँ पाटनतिर नव बिवाहिता छोरी भोली पल्ट माईती फर्केझैँ  को हतारो बोकेर । सधैं झै मस्त थियो पाटन दरबार परिसर, ती मन्दिर र परेवाहरु उस्तै देखिन्थे जस्तो केही दिन अघी छोडेर गएकी थिएँ परिवर्तित त मेरै मन थियो त्यो पनि अन्जान एक जोर उदास आँखाको खोजीमा।

सधैं प्रिय लाग्ने मन्दिरहरुलाई फन्को मार्दै पहिलो पल्ट उसलाई देखेको देवल तिर सोझिएँ र पहिले कै देवलमा बसेँ। पहिलो दिन झै ऊ सामुन्ने अगाडिको देवलमा उही मुद्रामा बसेको थियो फरक यति थियो कि दोस्रो दिन सायद ऊ केही लेख्दै थियो। उसको ध्यान लेखाईबाट फुत्किएला र म सम्म आईपुग्लाको आशामा बसे तर ऊ भने सम्मोहित भएर लेखन मै ब्यस्त थियो । मनको स्वाभाव नै चन्चले किन बस्थ्यो थुपुक्क नजिकैका एक हुल परेवातिर तानियो मेरो मन पनि। 'ठिकै छ एकछिन यिनै सँग जिस्कनु पर्ला'को मनस्थितिले चारो हाल्दै परेवा जम्मा पारेर हुरुरु उडाएँ मन पनि परेवा झै स्वतन्त्र भएर फड्फडाउँदै उड्यो र यत्रतत्र मन्दिरको छानामा पुग्यो यति मात्र होइन परेवा र मन छानामा पुग्नु र उसका उदास आँखा ममा पर्नु एक साथ भयो सायद। उसका उदास आँखामा आँखा जुधाएर हाँसिदिए जानीजानी उसको लेखनी भङ्ग गर्न आफुले गरेको उपद्रो बिर्सेंर भनुँ या अन्जान बनेर ।

एकैक्षणको हेराहेर पछि उसका उदास आँखाबाट आफ्ना आँखाहरु बचाएर ऊ बसेको देवललाई दाहिने पार्दै  नजिकै मोडमा पुगे। फर्केर हेर्न मन लाग्यो हेरिदिएँ, ऊ त अघी झै एकहोर मैलाई पो हेरिरहेको रहेछ खिस्स हाँसिदिए र हात हल्लाईदिएँ ''बाइ बाइ'' को भावमा।

''बदमास केटी अझै बच्पना गा'को छैन है।'' सधैं विवाद गर्ने दुई मन मध्ये एउटा मनले बुज्रुक भएर तुरुन्त औंला उठायो।
''हो त नि के,कत्तिन....., कान्छी छोरी पो हुँँ त सधैंकी सबैकी सानी, आमा पनि त यसै भन्नु हुन्छ।'' अर्को मन तुरुन्त प्रतिवादमा ओर्ल्यो ।
''आज खुब बोल्छु भनेर आएकी होइन किन भागेकी'' मौका पाउँने बितिक्कै मस्तिष्कले प्रश्न उठायो।
''चुप लाग तिमीहरु'' मन मस्तिष्कलाई हकार्दै  घर तिर लागे  मन्दिराका परेवाहरुलाई जिम्मा लाए झैँ स्वतन्त्र मन बोकेर।  अझ गाढा भएर बस्यो मनमा उसका उदास आँखा।

उराठ लाग्दो घाम उदाउँदै र अस्ताउँदै अरु केही दिनहरु बिते। म पनि ब्यस्त हुन थाले क्याम्पस र पढाई तिरै, र पनि यदाकता ती उदास आँखाहरु खोज्थेंँ भीडहरुमा तर अँह सब ब्यर्थ!  उसलाई मैले भेट्न सक्ने सम्भवित स्थान भनेको पाटन दरबार छेउछाउ मात्रै थियो।

सायद बैशाख अन्तिमा तिरको एक साँझ हुँदो हो। नियमित जसो पाटनका गल्लीहरुमा बरालिन अभ्यस्त भएपनी मेरो आजको प्राथमिकता ती एक जोडी उदास आँखाहरु तर्फ थियो। सोझै उसलाई अघिल्ला दुई दिन देखेको देवलमा पुगे। ऊ त्यही थियो अनन्त: शुन्य आकाशमा आफ्ना उदास आँखाहरु स्वतन्त्र चर्न छोडेर निस्फ्रिक । चिनेको मान्छे भेट्न गए झै सरासर उसको सामुन्ने गएर उभिएँ कहाँबाट त्यतिका आँट आयो सम्झदाँ अचम्म लाग्छ । जब उसको सामुन्ने खडा भए तब उसका आँखा खुल्ल आकाशमा होइन म मा सिमीत भए। वर्षौ अघी छुट्टीएको कोई आत्मिय ब्यक्ती भेटिए झै, अलिकती सुखद तर ज्यादा जसो दु:खद भाव थियो त्यो आँखामा त्यसैले त मैले उसका आँखाहरुलाई 'उदास आँखा' भनेर सम्बोधन गरेकी।
न त ऊ बोल्यो न मैले नै केही भन्न सकेँ। एकछिनको मौन हेराहेर पछी उसले आफुले जतन गरी बोकेको सेतो पृष्‍ठभूमिमा हल्का निलो र गुलाफी रङ्ग पोतिएको डायरी म तिर तेर्स्यायो। अलमल्ल परे र उसका आँखामा हेरे। मेरा आँखाको प्रश्न टड्कारै उसले पढ्यो क्यारे।

''तिम्रा सबै जिज्ञासाको समाधान यसमा छ।'' आँखा झै उदास तर मधुरो बोली सुने। दोधारे हुँदै डायरी समाते । डायरी सम्बन्धित मालिकलाई बुझाए झैँ गरी मैले डायरी समातेको मिनेट पनि नबित्दै ऊ फटाफट त्यहाँबाट हिँड्यो,ऊ गएको तिर हेर्दै म उभिएको उभियै भएँ त्यही देवल भित्रको मूर्ती झैँ अचल। अँह उसले फर्किएर हेर्दै हेरेन, कतै पुग्नु पर्ने हतारोमा हिँडेको भन्दा पनि कुदेको झैँ एकहोरो गयो ऊ र मोडबाट कतै अलप भयो ।नजिकै चारो टिपिरहेका एक हुल परेवा कसैले उडाईदियो । परेवाको फड्फडाहाटले ऊ तिर एकहोरिएको मेरो मनले यथार्थता बोध गर्‍यो र तुरुन्तै डायरीतिर मोडियो।  कसैको निजी कुरा सार्वजनिक स्थलमा किन पढुँ,सोचेँ घर गएर पढ्छु।

बाटामा सधैं हतारमा देखिने अनगिन्ती गोडाहरुलाई अल्झाउँदै अल्झाउँदै आफ्नै धुनमा रल्लेर हिँड्ने मलाई  निकै हतारोले छोपेको थियो। कुनै अज्ञात दौडमा सामेल भए झैँ लाग्ने तिनै अनगिन्ती गोडाहरुकै हुलमा मिसिएर सबैलाई पछि पार्न लागे मानौँ कि म दौड जित्ने धुनमा छु । ''घन्द्रङ्ग'' गेट खोलेको आवाजले हुनुपर्छ छेवैका राता गुलाब पहरेदार झै सतर्क भए मेरो उपस्थिती स्वीकार्न र मलाई जिस्क्याउँन अनि  आफु जिस्किन । तर म सधैं भन्दा भिन्न उनिहरुसँग नअल्मल्ली सरासर कोठामा पुगेँ । सायद गुलाफहरु मसँग रिसाउँन भन्दा पनि  एक्कासी ममा आएको परिवर्तनले छक्क पर्दै मेरो मनको अवस्था पहिल्याउन थाले होलान। आखिर गुलाफहरु नै त  हुन नि मनका विभिन्न अवस्था बुझ्न सक्ने !

गर्मी नै भए पनि कफी उमालेर कफीको स्वाद सँगै डायरीका पानाहरु पल्टाउँदै जादाँ उसले भने झैँ मेरा जिज्ञासाहरु शान्त भएनन झन झन बढ्न थाले। कुनै एउटी प्रेमिका(उसैकी होलिन)ले आफ्नो प्रेमिलाई सम्बोधन गरेर लेखेका भावनाहरु थिए। सँगै बाँच्ने रहरहरु,सँगै देखेका सपनाहरु, भविष्यप्रतिको आशा अनि सँगै अनिश्चितताको भय पनि । डायरी साधारण थियो तर उसले मलाई यो किन दियो? को जवाफ खोज्न कै लागि फर्लङ्ग फर्लङ्ग डायरीका पानाहरु पल्टाउँदै गएँ। डायरीको अन्त्य भाग पट्टी अघिल्ला झै भिन्न अक्षरहरु देखा परे। अक्षरको भिन्नता हुनुको कारण तिनै पानाहरु पढ्छु ।
                                           
                                                      ******
सौमी,
तिमीले मलाई सम्बोधन गरेर लेखेको  यो डायरीमा आज म तिमीलाई सम्बोधन गर्दै छु। तिमी त गयौ फेरी नफर्कने गरी म भने यतै छुटे तर लाग्दैछ अब धेरै छुट्नु पर्दैन। सधैं त रहरले बिर्सन्थेँ त्यो तीतो यथार्थ किनकी एकैक्षणलाई भने पनि यो मनलाई शान्त राख्न सक्थेँ तिमी हुनुको झुठो अस्तित्व बोकेरै किन नहोस्। तर आज त म बिर्सन बाध्य भए। हो मैले बिर्सिए सौमी तिम्रो अस्तित्व यो दुनियाँबाट बिलाएको ,मैले यो पनि बिर्सिए कि तिमी मस्तसँग निदाएर दाउराको डोली चढेकी, हो मैले बिर्सें तिमी धुवाँ धुवाँ भएर अनन्त आकाशमा बिलाएकी, खरानी भएर पानी र माटोमा मिलेकी । हो सौमी, आज मैले सबै बिर्सें जब सधैं कुर्तासुरुवालमा आफुलाई सजाउँने तिमी जिन्समा सजिएर मेरो सामुन्ने देखा पर्यौ । हरियो कुर्तामा खुल्ने तिमी  त्यो दिन हरियो टिसर्ट र गाढा निलो जिन्समा पनि त्यतिकै खुलेकी थियौ । सधैं सपक्क पारेर बाँध्ने आफ्ना सुनौला केश त्यो दिन तिमीले हावासँगै लहराउँन छोडेकी, अहो ! कस्तो खुलेको थियो तिमीलाई । सरासरी आयौ फेरी जसरी आएकी उसै गरी फर्क्यौ पनि। मेरी सौमी मलाई देखेर पनि किन अपरिचित झै भईन भन्ने सोच्दा पो बल्ल मैले यथार्थको बोध गरेँ। सपना हो कि सोचेर वरपर नियाँले अहँ त्यो सपना थिएन । पाटन दरबार परिसरका परेवाहरु, देवल, घुमन्तेहरु  आदि आदि सबै यथार्थ थियो अनि त्यस्तै यथार्थ थियो त्यो आकृती पनि।  

सत्य हो त्यो तिमी थीइनौँ तर कोही थियो जो हुबहु आँफैलाई तिमीमा बोकेर हिँडिरहेको। भाग्य भनौँ कि दुर्भाग्य थाहा छैन तर उसमा तिमी देखें र नियास्रो मेटुन्जेली हेरेँ। हो सौमी तिमी फेरी एक पटक छपक्क छोपिएर आयौ मेरो मन भरी । फेरी अर्को मनले भन्यो यो तेरी सौमी होइन आफुलैलाई भ्रममा नराख अनी धोका न'दे आफ्नी सौमीलाई । 

भोलीपल्ट पनि तिम्रो प्रतिबिम्ब उही पहिलो दिन झैँ मेरो सामुन्ने आयो । एक मन लाग्यो तिमी मलाई झुक्याएर मलाई छल्न कतै गएकी थियौ र अहिले फर्कियौ तर त्यो अकाट्य अतित कसरी हट्थ्यो र मन मस्तिष्कबाट । चुम्बकले फलाम ताने झै म तानिएको छु तिम्रो प्रतिबिम्बमा तर जब जब सचेत भएर सोच्छु पश्चातापले जल्छु कि मैले कतै तिम्रो प्रेमप्रती अन्याय त गरिरहेको छैन? फेरी सोच्छु तिम्रो प्रतिबिम्ब बोकेर हिँड्ने उनी को हुन मलाई थाहा छैन मेरो निम्ती त उनी मेरी  सौमी यानेकी तिमी मात्रै हौ ! बाढि आएको नदी झै भएको छ मन जता जता डोर्याउँछ उतै उतै लागिदिन्छु । अचेल। कुनै कुराको ठेगान छैन। मन मस्तिष्कै लथालिङ्ग भएपछी जिन्दगी कहाँ सम्हालिदोँ रहेछ र !

अचेल जब जब तिमीलाई सम्झन्छु तब तब पाटनका गल्लीतिर बराल्लिने त्यही आकृती नियाँल्ने उत्कट ईच्छा लाग्छ। तर पानीको फोका झै भईदिन्छ यो म र पो । एक पटक वाध्य भएर स्वीकार गरिसकेको छु कि तिमी अनन्त: आकाशमा धुँवा बनिसक्यौ, त्यहाँ पुगिसक्यौ जहाँबाट फर्कन सम्भव नै छैन। अनन्त भएकी तिमीले त यो सबै देखेकी हौली नि  होइन ? फेरी किन आफ्ना प्रतिबिम्बहरु मेरा सामु पठाउँछ्यौ तिमी ? म झेल्न सक्दिन सौमी तिम्रो अभाव न त अँगाल्नै सक्छु तिम्रो प्रतिबिम्ब। हो सौमी, म पनि चाडै आउँछु तिमीलाई भेट्न। 

                                                  ****
अन्त्यमा,
सम्बोधन तिमीलाई,
मेरी सौमी आफुमा बोकेर हिँड्ने 'अपरिचिता' तिमीलाई भेटेर तिम्रो नाम सोध्ने हिम्मत ममा छैन। मेरो लागि तिमी कि त अपरिचिता हुन सक्छ्यौ कि त मेरी सौमी। यी दुई मध्ये अहिलेको समयले तिमीलाई अपरिचिता नै रहन दिनु ठीक भन्ने ठहर्यायो। जुन दिन पाटनका परेवाहरुसँग स्वतन्त्रता र खुशी साट्दै गरेकी तिमीलाई देखेँ मलाई ईर्ष्या लाग्यो तिमीसँग किनकि मैले त निकै भएछ हाँस्न बिर्सेंको पनि । परको मोडमा पुगेर हात हल्लाईरहेकी तिमीलाई देख्दा मलाई पुन: मेरी सौमीको यादले रुवायो। कती अलग तिम्रो र मेरो संसार । तिम्रो सहज् र स्वाभाविक हाँसोले पनि मलाई गिज्याए झैँ लाग्यो। मेरी सौमीलाई बोकेर हिँड्ने अपरिचिता मेरो तिमीसँग एउटै मात्र अनुरोध यो डायरी मेरी सौमीको चिनो हो जुन  आज सम्म मैले जतन गरेर राखेको थिएँ ।मेरा अनगिती आँशुहरुको साक्षी बसेको छ मेरो मन नजिक भएर यो डायरी।  किन हो किन हिजो आज मलाई यो बैयक्तिक डायरीको सुरक्षाले चिन्तित पार्न थालेको थियो। संयोग तिमी भेटियौ मेरी सौमीको प्रतिबिम्बन भएर। मेरो लागि यो भन्दा सुखद अरु के नै होला र ? आजबाट तिमीलाई यो जिम्मा लाउँदै छु। किनकी मेरी सौमीसँग म टाढिन सक्दिन। चिन्नु न जान्नुको मान्छेको यस्तो कुराले तिमीलाई रिस उठ्न सक्ला या तिमी मलाई ''बौलाहा'' भनौली मेरो कुनै गुनासो छैन। हो म आँफै आफो नियन्त्रणमा छैन यी दिनहरुमा। यो दुनियाँले त मलाई उहिल्यै देखी ''सिल्ली''को उपमा दिसकेको छ। सोच्नेछु डायरी जसको नासो थियो उसैलाई बुझाउँन सके। पाटनका परेवाहरु सँग हरेक साँझ त्यसै गरी उन्मुक्त भएर स्वतन्त्र खुशी साट्नु है तिमी जुन दिन तिमीलाई मैले पहिलो पल्ट देखेको थिएँ । ए अपराजिता, तिमीले आफुमा सधैं त्यसैगरी मेरी सौमीलाई बोकेर रमाउँनु है। 
                                                                               बिदा !

हो अचेल हरेक साँझ पाटनका गल्लीहरु चाहर्छु म। यही आशामा कि उसलाई पर क्षितिजतिर हेरेर टोलाईरहेको फेला पार्छु कि ! तर अहँ आज सम्म म सफल हुन सकेकी छैन। अचेल जब जब पाटनका गल्लीहरुबाट घर फर्कन्छु एउटै भय उत्पन्न हुन्छ मनमा । 'कतै उसले आफ्नी सौमीलाई भेट्ने बाटो पो पहिल्याई सक्यो कि?' थाहा छैन कहाँ लुकाएर राखेको छ उसले आफ्ना एकजोडी उदास आँखाहरु। म निरन्तर खोजिमा छु ती एक जोडी उदास आँखाहरुको  र रहिरहने छु  चाहे सारा जीवन असफलता किन नभोगुँ।  

माया

''अजिबको छ माया । कुनै निश्चित परिभाषा छैन मायाको, न कुनै रङ्ग न कुऐ स्वाद नै छ । अस्तित्वबिहीनता मै एक बिशाल अस्तित्व बोकेको छ मायाले । मुस्कुराउँदा मुस्कान मै छ माया रिसाउँदा क्रोधमा हुन्छ माया, अनी रुँदा आँसु बनेर बग्छ माया। यो अनन्त मायालाई कसले रोक्न सक्छ र? हेराइमा माया सोचाईमा माया कहाँ छैन माया? संसारै मायाको छ माया बिना को बाँच्न सक्छ र ? माया छ र त जीवन छ। बतास चल्दा बतास भई बहन्छ माया, घाम लाग्दा न्यानोपन भई पोखिन्छ माया, आखिर कहाँ छैन माया !

यो ब्रमाण्ड नै मायामा अडिएको छ। यस्तो सर्वब्यापी मायाको आविष्कार कसले गर्‍यो होला ? माया न त मागेर पाईन्छ न त खोसेर नै । मायाको आफ्नै गन्तव्य छ,मायाको आफ्नै हिँडाई छ अनी मायाले आफ्नो बाटो आँफै बनाउँछ । अनुसन्धान भन्दा पर छ माया अनी स्विकृती र सहमति भन्दा अलग। साँचो मायाले कुनै ब्यापार जान्दैन । वास्तवमा तुलना योग्य के नै पो छ र चोखो प्रितको सामुन्ने ! माया त उच्चताको शिखर हो । कसैसँग डराउँदैन माया । चोखो मायालाई खेल सम्झनेहरु कहिल्यै माथि उठ्न सक्दैनन, साँचो मायाले कसैलाई गिर्न दिदैन।   

माया सधैंको विजेता हो। मायामा रमाउँनेहरु भन्छन छाया हो माया, मायामा बिछोडिनेहरु भन्छन आगो हो माया मुटु मात्रै पोल्ने। जहासुकै जतासुकै माया नै माया। फूल टिप्दा फूलमै माया, काँडा बिझ्दा बिझाईमै हुन्छ माया । कविता कोर्दा अक्षर बनी पोखिन्छ माया, निदाउँदा सपनी बनी झुल्किन्छ माया, बिहानी उठ्दा बिपनीमै माया, एकान्तको बसाई अनी मीठो कल्पनामा पनि माया । शहर देखी गाउँ जादाँ गाउँमै माया, गाउँ छोडि शहर पस्दा शहरमै माया, देख छोडि बिदेश जादाँ परदेशमै पुग्छ माया । सुखी हुँदा सुखमा माया, दुख्दा दु:खअीमै हुन्छ माया, मिल्दा मिलनमा माया बिछोडिँदा बेदनमा माया अनी टाढा भए सम्झनामा माया ।  

मायालाई छोड्न चाहेर पनि छोड्न सकिन्न तर बिडम्बना यही चोखो माया गर्दा गर्दै पनि कयौँ मान्छेहरु दिनदिनै यो सुन्दर जीवनको निर्मम अन्त्य गरिरहेक छन्। जीवन लिन्छ माया जीवन दिन्छ माया। माया सबै भन्दा ठुलो शत्रु पनि हो भने यही माया भन्दा असल मित्र अरु केही छैन। जे हो त्यो माया हो । माया छ र त यो सुन्दर संसार छ हामी छौ। त्यसैले माया गरौँ र चोखो अनी सत्य मात्र गरौं। कसैलाई धोका नदिऔँ र नखाऔँ । 

मायालाई खेल ठान्नेहरु अस्तित्वहीन हुनेछन, बन्द हुनुपर्छ अब मायालु मनहरु दुख्न। अनी बन्द हुनुपर्छ मायाकै नाउँमा कसैको शरिरसँग मनलाग्दी खेल्न । ''

अन्त्यमा, यी माथिका विचार हुबहु मेरा होइनन। आज दिनभरी आफ्नै कोठामा धान्धानधुन्धुन गरेर बस्दा पुरानो पत्रीकाको कटिङ फेला पर्‍यो। सायद मेरी दिदीको काम हुनुपर्छ त्यो कटिङ, केही भिन्न र नयाँ कुरा देखे चट्ट मिलाएर त्यसको कटिङ जम्मा गर्ने अजिबको सोख उसैलाई थियो हाम्रो घरमा। तर कहिले अनी कुन पत्रीका र यसका असली लेखक को हुन मलाई थाहा छैन,पुरानो झन्डै झन्डै फाटेको, केही अक्षरहरु हराएको अवस्थामा मैले उक्त कटिङ फेला पारे पछी हराएका अक्षरका ठाउँमा सकेसम्म मिल्दो गरी आँफैले लेखिदिएँ। लेखेर सर्सर्ती पढे रमाइलो लाग्यो त्यसैले यता पनि बाँडिदिएँ । तपाईंलाई कस्तो लाग्यो कुन्नी ? :)



'अपराजिता '

बिहान,दिउँसो र साझँको चक्रमा साधारण बितिरहेका दिनहरुमा फरक एउटा  दिन यस्तो आईदियो कि केटीले जुन जुन आफ्नो स्वभावलाई स्वाभिमान ठानेकी थीई उसको लोग्ने बनेको केटाले त्यसलाई घमण्डको नाम दियो। बस्, समस्या त्यही दिन अनी त्यहीँबाट सुरु भयो। समस्याको बीऊ रोपिन मात्र गाह्रो हो रोपिए पछी त्यो रछानको मूला झैँ हालक्क हल्केर आउँछ । केटा र केटीको बीचमा पनि त्यहीँ भयो । एउटा निहुँको बीउ  उम्रिएको ठाउँमा दिनदिन मौका मिल्दा अरु ससाना बीउ नउम्रने ग्यारेन्टी पनि त हुन्न नि !

यस्तै दिनहरु बित्दै गर्दा एउटा अर्को त्यस्तो दिन पनि आयो जुन दिन केटीले संसारका सबै लोग्नेमान्छेहरुलाई तिरस्कार गरेर घिनलाग्दो रुपले हेर्न सुरु गरी र अन्तत: त्यसको बिरोध स्वरुप अर्की आफु जस्तै  केटीसँग बिहे गर्ने शंखघोष गर्दै आफुलाई स्वतन्त्र गराई बिगतको प्रेमी यानेकी वर्तमानको लोग्नेसँग कानुनी रुपमा भने सबै 'पुरुष'हरु सँग भावनात्मक रुपमा । आफ्नो निर्णयमा समाजको प्रतिकृयाको अनुमान केटीलाई पहिल्यै थियो  यसर्थ उसले आफ्ना पछाडि काट्ने कुराहरुको बेवस्ता गरिदीई र आफ्नै स्वतन्त्रता र 'घमन्ड'को नाम पाएको स्वाभिमानमा रमाई । शारीरिक र मानसिक दुबै हेरचाहको अभावमा ओईलाएको केटीको अनुहारको गुराँसमा पुन: रङ्ग चढ्न थाल्यो त्यसको केही दिनमा ऊ ढकमक्क फुली आफुले रोजेको वातवरणमा ।

क्याम्पस जीवनका अन्तिमा खुड्किलाहरु चढ्दै गर्दा केटाले केटीलाई र केटीले केटालाई भेटेका थिए। केही भेटहरु पछि केटो केटीको राम्रै प्रशंसक बनेको थियो  रुपको मात्र नभैइ साना ठुला व्यवहार र केटीको सोचाइ अनी पढाइ र काम गराईको तालमेल सबैको । दिनदिनको संगतले केटीले केटो मन पराई केटोले केटी पहिल्यै मन पराएकै थियो । आपसमा बिहे गर्ने निधो गरे र त्यसको केही दिनमा सँगै बस्न थाले प्रेमीप्रेमिकाबाट लोग्नेस्वास्नीमा रुपान्तरित भएर । केटी चाहन्थी केटो उसको जीवनमा मालिक नभई सहयात्री बनेर आओस्।  केटो सहयात्री पनि ओहोरै असल सहयात्री बनेर देखियो सुरुवाती दिनहरुमा । तर, जसै हिजो,आज र भोलीको चक्रमा दिनहरु बित्न थाले शनै: शनै: केटोमा सहयात्रीपन ओईलाउन थाल्यो भने बदलामा जरा गाड्न थाल्यो मालिकपनले ।

''कमाउने म छँदै छु तिमी केलाई दु:ख गर्छ्यौ,छोडिदेउ जागिर। फेरी तिम्रो कार्यालय पनि टाढा छ।'' बिहेको केही महिना भित्रै केटाले केटीलाई एकसाँझ भन्यो। भएको के थियो भने, क्याम्पस पढुन्जेल र बिहेको सुरुवाती दिनहरुमा राम्रैसँग दबाएको या उपयुक्त अवसर नपाएको  केटोको 'पुरुष मानसिकता'ले बिस्तारै बिस्तारै केटीलाई भुइँ मानेर जरा गाड्न सुरु गरेको थियो।  बिहान केटी केटो भन्दा चाडै उठ्थी, कालो कफी खाँदैँ हतारिदैँ दाल,भात पकाउँथी। तात्तातै दुईचार गाँस खान्थी र कार्यालयका लागि तयार हुन्थी। जब केटी ''लौ म गएँ है,खाना चिसो नहुँदै खानु र समयमै अफिस जानु'' भनेर हतारिँदै निस्किन्थी तब केटो उठेर जिउ तान्दै हाई काढ्थ्यो र नित्यकर्म सकेर चिया या कफिको सट्टा केटीले पकाएर राखिदिएको भात खाएर अल्छे पारामा कार्यालय पुग्थ्यो। बेलुका केटो केटी भन्दा पहिल्यै घरमा दाखिल हुन्थ्यो तर बिहान आफैले खाएर छोडेका जुठा भाँडा देख्दा ऊ झ्याउ मान्दै केटीलाई पर्खन्थ्यो। ईमान्दार भएर भन्दा एक कप चिया सम्म पनि आँफै बनाएर नखाई ऊ केटीको पर्खाईमा बसिदिन्थ्यो।

केटी झमक्क साँझ परेपछी आईपुग्थी र कार्यलयीय लुगा समेत फेर्ने फुर्सद नपाई जुठा भाँडा माझ्ने र चिया पकाउने काममा जुट्थी। केटालाई चिया दिन्थी र पुन: बेलुकीको दाल भातको जोहोमा लाग्थी। केटो पुराना नयाँ पत्रीका हेर्ने बाहनामा चिया खान्थ्यो र चुपचाप बसिरहन्थ्यो तर कुनै पनि दिन केटाले केटीलाई काममा सघाउन आवश्यक ठानेन ।  सुरुवाती दिनहरुमा '' तिमी चाडै आईपुगे पछि त यसो यी बिहानका जुठा भाँडा माझ्दै गर्नु नि,आखिर पहिले एक्लै बस्दा सबै काम गरेकै हौ क्यारे, मेरै बाटो किन हेर्छौ?'' केटीले थोरै गुनासो मिसाएर प्रश्न पनि गरी तर केटोले जवाफ दिनु आवश्यक ठानेन। बरु भोलिपल्टबाट केटो केटी भन्दा पछि घरमा उपस्थित हुन थाल्यो कहिले मिटिङ त कहिले पुरानो साथी भेटेको बाहनामा। केटीले उसको बाहना राम्रैसँग बुझी त्यसैले दोहोर्‍याएर केटोलाई केही भनिन तर केटीको मनमा विचारका विविध लहरहरु आउँदै जादैँ गरिरहे।

जागिर छोड्ने कुरासँग केटी पटक्कै सहमत भईन यो कुरा सजिलै अनुमान गर्न साकिन्थ्यो । बरु केटाको व्यवहारमा पुरुषअंहमका बीउहरु फुटेर पोथ्रा भईसकेको अनुभव गरी केटीले । केटी केटोको कुरा सुने नसुने झैँ चुपचाप आफुलाई काममा व्यास्त पार्न प्रयत्नरत गर्न थाली। केटीको मौनता ''ल हुन्छ,म भोली देखी जागिर जान्न'' भन्ने स्वीकार पक्कै थिएन बरु यो त एउटा मौन बिद्रोह थियो,हाँक थियो। भोलीपल्ट सधैं झैँ घाम उदायो सधैं झै केटीले तात्तातो भात खाएर कार्यालयको बाटो समाती तर पहिले झै ''लौ म गएँ है,खाना चिसो नहुँदै खानु र समयमै अफिस जानु'' भनेर केटोलाई भन्नु आवश्यक ठानिन।

अब केटो दिनहुँ केटीलाई ''जागिर छोड''  भन्न थाल्यो। मौनता भत्काएर ''तिमी छोड बरु जागिर म किन छोड्ने मै पालुँला तिमीलाई, मेरो अफिस पायक पर्ने ठाउँ सरौँला कोठा पनि टाढा लाग्छ भने ,तिमीलाई तिम्रो अफिसले दिएको सुविधा भन्दा कता हो कता धेरै सुविधा छ मेरो जागिरमा''  भनेर भन्ने मन नभएको त कहाँ हो र केटीलाई तर यति रुखो हुन केटीको प्रेमिका मन मानेन्।

 ''तिमीलाई थाहा छ मैले यो जागिर कती दु:खले पाएकी हुँँ र  दिनरातको मेहनतले आजको स्थान प्राप्त गरेकी हुँ अनी तिमीलाई यो पनि थाहा होला कि तिमीले छोडिदेऊ भन्दैमा खुरुक्क जागिर छोडेर घरमा म कुनै हालतमा बस्दिन भनेर अनी के को दिनदिनको रटान हो''  रुखो नबोले पनि केही आवेगमा आएर केटी कराई।

 ''मेरो ईज्जतको पनि ख्याल किन गर्दिनौँ,साथीभाइ खिस्याउँछन मलाई ''यसकी त बुढी पनि जागिरे'' भन्दै  उडाउँछन।  केटोले सम्झाउँने पारामा भन्यो।

''खै त मेरा साथी त न मलाई खिस्याउँछन न उडाउँछन कस्ता साथी हुन त तिम्रा को जागिर खान्छ को खाँदैन, अनी कस्ले के गर्छ के गर्दैनको चेवा गर्दै अर्काको वैयक्तिक जीवनको चासो गर्दै हिँड्ने,के तिम्रो अफिसमा कामकाज हुन्न?'' केटीको महिनौँ देखी दबेको आवेगले निस्किने बाटो खोज्छ।

''साँच्चै भन्दा मलाई पनि मन परेको छैन तिमीले जागिर खा'को, के नपुग्दो छ र? दिनभरिको कामबाट घर आयो एक कप तातो चियाको आशले तर जुठा भाँडाले स्वागत गर्छ, पहिले को कुरा बेग्लै थ्यो तर अब तिमी घर सम्हाल्न तिर ध्यान देऊ।''  अर्को कुनै बिदाको दिन केटोले फैसला सुनायो।

''पहिलेको कुरा बेग्लै थियो रे भने पछि पहिलेको मान्छे पनि बेग्लै अहिलेको बेग्लै होला होइन, यसै पनि तिमी पहिले झै छैनौँ, र अर्को जहाँसम्म घर सम्हाल्ने कुरो छ त्यो मैले अहिले पनि सम्हालेकी छु तिम्रो पनि घर हो तिमीले पनि सम्हाल्न हुन्छ, मेरै मात्र भाग किन लाउँछौ? पछिल्लो पटक कहिले घरको काममा सघाएका थियौ याद पनि छ? तिमीलाई अफिस सम्हालेर घर आउँदा चिया खुवाउँन  मैले जागिर छोड्नुपर्‍यो होइन, मैले यतिका महिना देखी घर र अफिस एकसाथ कसरी सम्हालेकी छु कहिल्यै सोच्यौ? म भन्दा दुई घण्टा चाडै आउँने मान्छे तिमी हो क्यारे कति  काम गर्ने गरेको छौ आँफैलाई थाहा होला ।''  केटी राम्रैसँग वादविवाद गर्ने सुरले मंचमा ओर्ली।

'' ए अब त्यसो भए अब मैले भाँडा माझेर,चिया टक्र्याएर महारानीको सेवा गर्नु पर्‍यो।''  केटो बुरुक्क उफ्रेर कुर्लियो।

''गरे हुन्छ,अनी चिच्याउँन मलाई पनि आउँछ बुझ्यौ,तिम्रा बा'ले तिम्री आमालाई, भिनाजुले दिदीलाई र दाइले भाउजुलाई थर्काए झैँ तिमीले पनि  मलाई थर्काउँला भन्ने सोचेको भए त्यो सोच आज अहिल्यै निकालेर फालिदिए हुन्छ। म तिम्रो आसे होइन परिआए प्रतिस्पर्धी हुँ यति बुझे हुन्छ।  '' केटीले  फैसला सुनाई।

''घमण्डी'' केटोले भुइँमा थुक्दै केटीलाई हेरेर भन्यो ।

'' सही भनिस्, आफ्नो स्वाभिमानमा बस्न चाहने र अस्तित्वको लडाइँ गर्नेलाई यो समाज यही उपनाम दिन्छ।'' केटीले पटक्कै हार मानिन।

''म तँसँग बस्दिन यदि जागिर छोड्दिनस् भने।'' केटोले विकल्प सहितको अर्को फैसला सुनायो सायद यही सोचेर कि निर्णय आफ्नो पक्षमा पर्ला।

'' तँ मलाई के छोड्छस् मै छोड्छु तँलाई।''   त्यही निर्णय सुन्न पुर्वतयारी सहित बसे झैँ केटीले आफ्नै पक्षमा फैसला सुनाई। यदिका महिना देखी मनमा थन्किएर बसेका आवेगहरु पोखिदाँ आफ्नै मन हलुङ्गो भएको महशुस भयो केटीलाई। त्यस माथि भर्खरै आफ्नो पक्षमा आँफैले सुनाएको फैसला सम्झेर मनैमनमा मुस्काई।

केटोसँगको सम्बन्ध असफल भएपछी केटीमा पुन: विपरित लिङ्गी प्रतिको मोह लेश सम्म पनि बाँकी रहेन। अन्तत: आँफैले घोषणा गरे अनुरुप अचेल केटी अर्की  उस्तै राम्री र सक्षम केटीसँग नारिएर हिँड्छे।  हिजोआज केटी पहाडी गुराँसलाई आफ्ना  गालाहरुमा रातम्य फुलाएर बसन्तपुर दरबार परिसरतिर या  भक्तपुर दरबार परिसरमा कहिले एक्लै त कहिले अर्की सहयात्रीको साथमा निस्फिक्र घुम्छे दुनियाँलाई बिर्सेंर।  अचानक एकदिन केटीले मलाई पाटन दरबार परिसरमा बोलाई र आफ्नो कथा सुनाई साथमा यो पनि सुनाइ कि ऊ आफ्नो जीवन बँचाइसँग पूर्ण सन्तुष्ट छे र अहोरै खुशी पनि छे। अझ... मैले उसको कथा लेखिदिने थाहा पाए पछि उसको खुशी दुगुना भएको थियो।

तीतो अनुभव

जो सँग पैँचो लिएकी उसैलाई । 
'ए, बैनी भ्यालेन्टाईन आउँदै छ त तिम्रो कार्यक्रम के छ नि यस्पाली?'

मेरो गाउँठाउँकी नभए पनि उनलाई म विगत तीन चार महिना देखी 'बैनी' भन्थे । साँझतिर पाटनका गल्लीहरु र कृष्ण मन्दिर परिसरतिर बिना उदेश्य कानमा ईयरफोन उनेर रल्लिन मन पराउँने मैले उसलाई त्यतै आउँने जाने क्रममा चिनेकी हुँ। आज पनि नजिकैको परिक्षा केन्द्रबाट परिक्षा सकेर सहपाठीहरुलाई त्यतै लगनखेलतिर छलेर एक्लै लस्केकी थिएँ पाटनका गल्ली चाहर्न। एक सुरमा घाम तापिरहेकी उनलाई झसङ्ग पर्ने नियत बोकेरै मैले कानैमा कराएकी थिएँ पछाडिबाट जाँदाजाँदै ।

'' आबुई, कस्तो तर्सेकी  यो दिदी पनि.... अनी  अस्तीतिर त अलिक दिन आउँदिन भन्नु हुन्थ्यो त, हजुरको परिक्षा चल्दैछ भनेको होइन?''
मेरो प्रश्न नसुने झैँ गर्दै उसले उल्टो प्रतिप्रश्न गरी र एक हिसाबले खोसे झैँ मेरो झोला तानेर खोतल्न थाली। उसलाई यती गर्ने अधिकार म आँफैले दिएकी थिएँ निकै पहिले नै । म त्यता जाँदा  परेवालाई चारो नबोकी जान्न भन्ने विश्वास शायद उसलाई थियो ।

'आज परिक्षा दिएरै आको हौ यता, सेन्टर यतै पर्या छ त मेरो, गहुँ मकै केही बोकेकी छैन, बरु किताब कपी चै होलान त्याँ'' उसलाई झोला खोतल्नुको ब्यर्थता सम्झाउँदै पर्तिर डालोमा मकै र गहुँ बेच्न बसेकी बुढी आमैलाई हात हल्लाएर आउँने ईशारा गरेँ।

''अँ बरु आज तिम्लाई चै  स्पेशल चारो ल्या'की  छु'' उसको हातबाट ब्याग खोसेँ र केहीदिन पहिले मात्र बाहिरबाट आईपुगेको चक्लेटको केही भाग थमाईदिएँ ।

''वाउ, भेनाले भ्यालेन्टाईन स्पेशल पठा'को हो कि क्या हो ?''
' ल ल भो जे स्पेशल भए पनि खानु नि खुरुक्क छुच्ची, अनी के छ नि तिम्रो चै यस्पाली भ्यालेन्टाईन स्पेशल हुँ भन्दा पनि भन्दिनौँ त झन अघि आउँने बितिक्कै सोध्या हैन कत्तिन भन्न नहुने जस्तो खुब हाम्लाई ।

 ''के भ्यालेन्टाईन मान्नु छ र दिदी यहाँ, सँगै सुत्न राजी भए ''मायालु'' नत्र ''भालु'' (शाब्दिक तुच्छताको लागि माफी) को नाम दिन्छन यी प्रेमीहरु ।'' कतै पर पहरोको कुनाबाट आएको बोली झै मधुरो तर उदास स्वर सुनियो उसको ।

''एई फुच्ची के भनेकी यस्तो''  आमैलाई चारोको पैसा र दुई वटा चकलेट दिँदै उसको अनुहारमा हेर्छु । वर्षन लागेको असारे बादल भएकी रै'छे ऊ त  ।

सधैं केही न केही भनेर म उसलाई जिस्क्याई रहन्थेँ र आज पनि कस्तो हल्का भावमा सधैं झैँ मैले जिस्क्याएकी थिएँ। तर उसले कस्तो भारी जवाफ दीएकी। फेरी कस्तो विचित्रको भाव नाँचेको उसको अनुहारमा त्यस बेला । भर्खरको रमाईलो बातावरण ब्यर्थै आँफैले धमिल्याएँ।

''हो त दिदी अनी के भन्नु त, म त हिजो आज एउटी केटी साथी सँगै पो बस्न थालकी छु त यी हेर्नु त कपाल पनि काटेँ । समाजले मलाई अप्राकृतिक भन्ला तर तिनीहरुले मानेको प्राकृतिक सम्बन्ध सह्य भएन दिदी मलाई यिनीहरु नै त हुन नि मलाई अप्राकृतिक हुन वाध्य पार्ने कि होइनन भन्नुस त । खै कहाँबाट आयो कुन्नी ममा यती धेरै असन्तुष्टी आँफै दङ्ग परेकी छु। अनी यो बदला आँफै सँग कि यो समाज सँग त्यो पनि थाहा छैन। सम्बन्धका बन्धनहरु बोझ भए पछी शायद यस्तै  नहुनु पर्ने  हुन्छ ।  ''

मैले सधैं जिस्क्याउँने यो सानी केटी भित्र यत्रो आक्रोश होला मलाई अनुमान नै थिएन। पोखिन दिएँ ऊ भित्रका आगोहरु र ....चुपचाप हेरिरहेँ । ऊ पोख्दै गई, आफुले प्रेमका नाउँमा पाएका खप्कीहरु.... परतन्त्र.... भत्कोसहरु....आफुले रोजेको अप्राकृतिक भनिएको सम्बन्ध अनी .......अरु धेरै धेरै आक्रोश यो समाजसँग यहाँका मान्छेका स्वाभावसँग र अन्त्यमा आँफैसँग.....ऊ पोखिँदै गई, म दुख्दै गएँ यही सोचेर कि  भोलीको सपना देखेर मस्त निदाउने यो उमेरमै यो केटीले यती धेरै जीवन भोगिसकिछ, थाहा छैन विधाताले के लेखेको छ कुन्नी यसको भागमा... र अन्तत: ऊ शान्त भई र मलाई हेरेर  मलाई हेरेर खिस्स हाँसी। चारो खाईरहेका परेवाहरु हुरुरुरु उडेर कतै मन्दिरको छाना तिर बसे ।

''हिँड कफी खान जाउँ''
मेरो अप्रत्यशित प्रस्ताव र  भर्खरैको आफ्नो आक्रोस सम्झेर होला ऊ मलाई हेरेर पुन: गुलाफी भई।

'' मैले के भन्ठाने होला यही सोच्दैछ्यौ  होइन? तिम्रो उमेर पार गरेरै दिदी यहाँसम्म आईपुगेकी हो। म बुझ्छु तिम्रो अवस्था अनी म तिमीलाई अरुले झै अप्राकृतिक पनि भन्दिन, मेरो लागि जस्तो तिमी हिजो उस्तै आज।''
मेरा कुराले उ बच्चा झै फुरुक्क परि र पाठो झै चन्चल पनि।

''फुच्ची ! लौ हिँड अब।''
 बसेको ठाउँबाट उठेर नजिकैको क्याफे तिर सोझिएँ उसले मलाई पछ्याई ।

कफी सकेर ऊ सँग छुट्टीएर घर फर्केँ। बाटाभरी ऊ अनी ऊ  जस्तै अरु थुप्रै 'ऊ' हरुको अवस्था सम्झे। आफुलाई नयाँ पिँढी मानेर सबै कुरामा एक पाईलो अघि सार्न खोज्ने कती 'ऊ'हरु मेरी छुच्ची फुच्ची बैनीको जिवन बाँच्दै होलान त्यो उमेरैमा। प्रेम आँफैमा खराब भन्ने हुन्न तर मान्छेहरुले खराब पारिदिन्छन् त के गर्ने। आधा जाँच सकिएको खुशी र बीचमा १२ दिन अरु जाँचको तयारी गर्न पाएको समय सम्झेर पनि मन हलुका हुन सकेन ।

परी

निख्रदो पुषको कलिलो घाम अलमल अलमल गर्दै परीको कोठाको झ्यालसम्म आईपुग्छ र पनि ऊ उठ्ने तर्खर गर्दिन। 'परी' आमाबाले मायाले राखिदिएको नाम। नाम अनुसारकै रुप पाएकी छ्यौ भन्थे उसलाई देख्ने प्राय: सबैले । बेलुका देखी ओछ्यानकै कुनै कुनो ओगटेर रात काटेको मोबाईल सिरक भित्रैबाट छामछाम्छुम्छुम गरेर फेला पार्दा कुन्नी कताबाट एक झोक्का हावा सिरक छेडेर उसलाई सुम्सुम्याउन सफल हुन्छ । ''आछ्छु''को भावमा सिरक भित्रैबाट मोबाईल चलाऊन थाल्छे परी तर, वाईफाईको सिग्नल नदेख्दा बत्ती नभएको सहज ज्ञान प्राप्त गरी मोबाईल फेरी ओछ्यानकै कुनोतिर मिल्काएर ऊ पुन: निदाउने रहर गर्छे। यता रातभरिको शितले कठ्यङ्रिएको बिहानी भने त्यै कलिलो घाममा तन्याकतुनुक आफुलाई तन्क्याउँछ र घाम तन्नेरी हुने समय कुरेर बस्छ।

काठमाडौँको एक्लो बसाईँ, जागिरको छुट्टीको दिन भएर पनि होला आज परीलाई झटपट ओछ्यान छोडिहाल्ने  मन छैन ।  मन लाग्दा खायो मन नलाग्दा सुतिदियो। के किन जस्ता प्रश्नहरुको सामना गर्नु नपर्ने भएरै उसले यो एक्लो जीवन रोजेकी हो। ऊ बाट छुट्टीएर पुन: ओछ्यानको शरणमा परेको मोबाईलले बिद्रोह गरे झैँ तुरुन्तै घुरेर फोन आएको संकेत गर्छ। 'कुन्चैले काम पाएन यो एकाब्यानै' बिहानै त्यसरी आफुलाई सम्झेकोमा झिँजो मान्दै ऊ मोबाईलको स्क्रिन पनि नहेरी सोझै कानतिर फोन टाँसेर निद्रालु बोल्छे,

'हजुर।'

''घाम टाउकामाथी आईसक्यो तै पनि यो केटी उठेकी छैन ए।''  फोनैबाट देखे झैँ गरेर आमा परीलाई ''अल्छि'' भन्दै हकार्नुहुन्छ ।

'ह्याया, अनी तपाईंलाई थाहै छ त म बेलुका अबेर ...' परीको वाक्य पुरा हुन पाउँदैन ।

''ल ल भो, छोरीमान्छे भएर यती अबेलासम्म पनि सुत्छन ? कहिलै नसुध्रने भै' यो केटी '' क्षणिक रिससँगै आमाको दिक्दारीपूर्ण स्वर सुनिन्छ। सधैं सुन्नबानी परेका आमाका शब्दहरुले उसलाई छुँदै छुँदैनन्  ।

'अनी किन एका बिहानै ?' झिँजो मानेर ऊ आमालाई सोध्छे।

'बाउआमा छन् भ्याएँ सम्म घर पुगौँ...लौ भ्याईएन रे  हाताँ फोन छ यसो फोन गरुँ,सञ्चो बिसञ्चो के छ भन्नु छैन अझै उल्टो किन पो छ ए ।''आमाको मन अनी माया पोखिन सुरु हुन्छ साथै थोरै गुनासो र असन्तुष्टीहरु पनि ।

''अस्ती मात्र फोन गरेकी होइन र मैले, अनी के नै हुन्छ र दिनदिनै फोन गरिरहनु पर्ने त्यस्तो '' ऊ आमालाई स्पष्टिकरण दिन्छे आफुलाई वहाँहरुको वास्ता नभएको होइन भन्ने एकिन दिलाउँन।

'लौ लौ मुखले ठीक्क नपार, मामाघरबाट तेरो दाजुले फोन गरेको थियो, बैनीले के विचार गरी भनेर सोध्न, के भनिदिउँ म? तँलाई कुरा पर्नै हुन्न ऊ मलाई गनगन गर्छ कस्तो बिचाँ पारेउ ए तिमेरुले मलाई । ''

' फेरी त्यै कुरा हैन, कती भन्नु पर्छ त मैले तपाईंलाई म बिहे गर्दिन भनेर सधैं एउटै कुराले दिक्क नलऊनु त मलाई... अनी भन्न सक्नुहुन्न दाईलाई मलाई नभन बैनीसँगै  कुरा  गर भनेर । किन बिचाँ पर्नु त साक्दिन म भनेर पन्छिए भै'गोन्त।' एकै सासमा यति भनेर आमाको अरु कुरै नसुनी फोन काटेर मोबाईलाई पुन ओछ्यानकै शरणमा फालिदिन्छे । वर्तमानमा अडिग रहन्छु भन्दा भन्दै पनि बिगतका पानाहरुमा उसको मन बेपत्ता भाग्छ उसलाई त्यही छोडेर ।

हिजोआज जस्तो रुखो बोली पहिले मेरो कहाँ थियो र?  यो मनपनी यस्तो बन्जर र बेरस पहिले थिएन। सबै बिस बाईसेमा हुने उमेरका रहरहरु ममा पनि थिए। मन परेको मान्छेसँग जीवन काट्ने ,भौतिकताको अभाव आईलागे आत्मियताले क्षतिपूर्ती गर्दै सपनाहरु पछ्याउने अनी आफ्नै सानो र सुखी घर संसारको रहर यो मनको कुनाकानी ननाँचेको पनि त होइन। कस्तरी यी सबको कल्पनामा हरेक रात निदाउने म सपना पनि तिनै रहर साँचो भएको देख्थेँ र प्रत्येक बिहान सन्तुष्टीको निद्राबाट उठ्थेँ।

आमाबाकी एक्ली छोरी भनेको पुर्‍याएर राख्नु भएको थियो। परारैको कुरा त हो नि यत्री ठुली छोरीलाई एक्लै काठमाडौँ पठाउनु पर्‍यो बाटाका साथी पनि भेटिएनन भनेर आमाका आँखा भिजेका । तर के गर्नु सबैको मनले आमाबाको मनले झैँ नठानिदिँदो रहेंछ त !  दोष त कसलाई दिनु उही आफ्नै मनलाई त होला नि किनकी मेरा सङ्गिनीले झै मैले आफ्ना रहरहरु उसलाई जिम्मा दिन चाहिन या सकिन। म भित्रको 'म'ले विद्रोह गर्‍यो र भन्यो 'ए तँ किन आफ्ना रहरलाग्दा रहरहरु मार्न अग्रसर भएकी हँ?'  मैले नजवाफ हुनै पर्‍यो त्यसैले त आँफैलाई सोधेँ दोहोर्‍याई दोहोर्‍याई कि आफ्ना खुशीहरुको जिम्मा अर्कोलाई लगाएर साँच्चै म सुखी हुँला या त्यो अर्को साथ बिनानै... आफ्ना रहरहरुका साथमा सुखी रहुँला?  दुईचार दिन तनावमा बिताए त्यसपछी स्पष्ट जवाफ दिएको थियो दिमागले कि 'त्यो अर्को साथ पाएर तँ सुखी हुन सक्दिनस्।'

आमाले समाज र बासँग लुकाएको आँसु देखेकी छु। त्यस्तै काकी र ठुलीआमाको पनि । अन्तरमनमा अनन्त चोटहरु सहेरै वहाँहरुले आफ्नो सारा जीवन काट्नु भयो झुठो हाँसोमा र अझै काट्दै हुनुहुन्छ। घरको तगारो नाँघ्न  नपाउनु भएका वहाँहरुको त्यो जीवन एक हिसाबले निर्विकल्प पनि थियो होला रे तर मैले त त्यो तघारो उहिल्यै  नाँघिसकेकी छु भने म फेरी किन त्यस्तै जीवन बाँच्न मञ्जुर हुँ? आमा, काकीहरुको कुरै छोडौँ मेरै साथीहरु पनि त सबै आफ्नै लोग्नेको निर्देशनमा चलेका छन्। कुन्नी कसरी रमाएका छन्  खै उनिहरु त्यो बन्धन भित्र। भो, मलाई त सहनु छैन् त्यस्तो बँचाई।  पढाई सकेकै छु,जागीर पनि पुग्दो छ। आज म खुशी छु त्यो साथ बिनानै। म सँग मेरा सपनाहरु छन, रहरहरु छन अनी सबै भन्दा ठुलो स्वतन्त्र बँचाइ छ । अहिलेलाई यत्ती काफी छ भोली त कस्ले देखेको छ र?! यसै पनि जीवनका हरेक मोडहरुमा आईपुग्दा मान्छे अघिल्लो मोड बारे त सधैं अनबिज्ञ नै त रहन्छ नि। आSSS.. जे त होला...! भविष्यप्रति  निश्चिन्त हुन खोज्दा खोज्दै ऊ पुन: असफल हुन्छे र फेरी अल्लारिन पुग्छे विगत र भविष्य बिच... कतै ।

 एउटालाई रहरले  गरेको विश्वास यती गह्रौँ भयो कि अब मैले कुनैपनी अर्को 'ऊ'लाई विश्वास गर्न सक्दिन । सबै 'ऊ'हरुको नियत किन एकै जस्तो मात्र लाग्छ,उही 'नपाउँन्जेली कस्तो पाएपछी सस्तो' भन्या जस्तो । ऊसँग जीवन काट्छु भन्नुको अर्थ मैले मेरा सपनाहरुको त्याग गर्नु या आफुलाई सम्पूर्ण मेटाएर ऊ मा समाहित हुनुपर्ने भन्ने पनि त होइन । सहयात्री पो रोजेकी थिएँ तर ऊ कस्तरी मालिक बन्न खोजेको मेरो जीवनको । छि: घिनलाग्छ मलाई यस्ता बिशेषता पाल्नेहरुसँग, जो आफ्नो भन्दा अर्काको अस्तित्व स्वीकार गर्न सक्दैनन्। सबैले मानेको र धेरैलाई आकर्षित गर्ने विपरित लिङ्गीसँगको सामिप्यताको मोह त्यसै दिन देखी भङ्ग भयो ममा  जुन दिन मैले उसको सामुन्ने आफ्नो स्वतन्त्र अस्तित्वको घोषणा गरेकी थिएँ।

बिनासित्तिमा विगततिर मन डुलेको कत्तीपनी मन पर्दैन परीलाई। तर सोच्न नचाहँदैमा सोचाईका सिलसिलाहरु बन्द हुने पनि त होइनन् नि । सोचाई र विगतको डुलाईबाट मुक्त्ती पाउने आशा लिएर परी अल्छि गर्दै उठ्छे कफिको लागि पानी तताउन थाल्छे। यस्पाली मन उडेर आमाबा भएतिर बरालिन्न पुग्छ। छोरीको बिहे गर्ने रहर दिनरात हुर्काईरहेका आमाबाको खुब नियास्रो लाग्छ उसलाई । मनै मन पिरिन्छे ऊ, यही सोचेर कि कसरी बुझाउँ वहाँहरुलाई यी सब कि अब वहाँहरुकी छोरी 'यो' 'ऊ' मात्र होइन कुनै पनि पराई अस्तित्व आफ्नो जीवनमा स्विकार्न राजी छैन भनेर। दिनरात राम्रो कुलघरानाको खोजिमा लाग्नु भएको छ वहाँहरु...कुन रुपले लिनुहोला मेरो यो निर्णयलाई? खै म आफ्ना कुराहरु बुझाउन सकुँली या नसकुँली ? तर जे त होस्  अब मैले यो कुरा वहाँहरुलाई भन्नै पर्छ अनी झेल्नै पर्छ वहाँहरुको प्रतिकृया पनि चाहे जस्तोसुकै किन नआओस्।

परी सकेसम्म चाडै  घरजाने योजना बुन्न ब्यस्त हुन्छे मनमनै । उम्लेको पानीमा कफी हालेर झ्यालको पर्दा खोल्छे, खुलेको दिनमा तन्नेरी घाम झल्मलाई रहेको हुन्छ। आफ्नै भोलीका सुनौला र स्वतन्त्र दिनको झझल्को देख्छे ऊ  ती घामका किरणहरुमा र आँफैमा हाँस्छे एक सन्तुष्ट हाँसो ।