Showing posts with label पत्र साहित्य. Show all posts
Showing posts with label पत्र साहित्य. Show all posts

तिम्रो चिठीको जवाफ


प्रिय 'तिमी',

फोटोः गुगल
तिमीले लेखेको बिध्युतीय चिठ्ठी पाएँ, मन रमायो । तिम्रो त्यही बिध्युतीय ठेगानामा चिठ्ठी फिर्ता नगरी आज यहीँबाट तिमीलाई चिठ्ठी लेख्दै छु। तिमीले पक्कै पढ्ने छौ'को विश्वाश लिएर। कहिलेकहीँ मलाई नियमितता भन्दा पर भागेर जीवन बाँचिदिन मन लाग्छ, त्यसैको परिणाम स्वरुप सार्वजनिक रुपमा यहाँ यसरी तिम्रो व्यक्तिगत चिठ्ठीको जवाफ लेख्दैछु । भौगोलिक हिसाबले तिमी म भन्दा कति टाढा छौ अथवा कहाँ छौ त्यो मलाई थाहा छैन र जान्ने रहर पनि छैन । तर, तिमी जहाँ होलाउ मेरो चिठ्ठी अवश्य पढ्लाऊँ सायद मैले लेखेको एकाध घण्टामै।

 कती जान्ने रहेँछौ तिमी, कसरी मेरा मनका भावनाहरु कसरी लेख्यौ होला? कसरी तिम्रा र मेरा कुराहरु यति धेरै मिल्यो छक्क पर्दैछु। हामी न बाल्यकालका साथी हौ, न त स्कुल,क्याम्पसका। अझ म त तिमीलाई चिन्दा पनि चिन्दिन । तिमीले पो मलाई मेरा लेखाईहरू पढेर चिन्दा रहेँछौ।  मेरा लेखाईमा आफुलाई भेट्ने कोही रहेँछ यो थाहा पाएर  म कत्ती खुशी भएँ बाबै ! मलाई लाग्थ्यो मेरो जस्तो जीवन भोगाई वा जिन्दगीलाई हेर्ने मेरो जस्तै नजर कसैको पनि छैन होला। तर, आज तिमीले त मेरै दैनिकी, मेरै जीवन चोरेर मलाई नै चिठ्ठी लेखेको देख्दा सपना र बिपनाको भेद छुट्याउन मलाई हम्मे हम्मे परेको थियो । आँफैलाई चिमोटे, यथार्थता बोध भयो, तिम्रो चिठ्ठी साँचो रहेँछ ।

अपरिचित साथी, मेरा हरेक कथाको पात्रमा या मेरा हरेक लेखाईमा तिमीले कुनै न कुनै रुपले आफ्नो उपस्थिती पाएछौ । ती पात्रहरू खुशी हुँदा तिमी खुशी भएको त दुख्दा तिमी पनि दुखेको खबर पाएँ। हेरन जीवन यस्तै छ, यहाँ न त सुखै सुख मिल्छ न दु:ख मात्रै। सुख दु:ख आधाआधी भन्या त्यै भएर होला है। तिमीले त मलाई कथाकार मेरी सखी तिमीले मेरै कथा लेखीछ्यौ भने छौ भनेर सम्बोधन गरेका रहेछौ, म कहाँ कथाकार हुँ र बाबै, आफ्नै मनका अनुभव, अनुभूति, केही कल्पना, अनी केही भोगाई र देखाईले जब मनमा उथलपुथल मच्चाउँछन् त्यती बेला तिनलाई जस्ताको त्यस्तै लेखिदिन्छु बस।  कतिलाई मन पर्छ कतिलाई बेकार लाग्छ । 

तिम्रो गुनासो रहेछ कि अचेल मैले लेख्न छोडे । तिमीले भनेको ठीकै हो । अचेल धेरै भयो म एकान्तमा हराउन छोडेको । काम र माम को पछि लाग्दै ठीक्क भएको हो कि अल्छी भएकी हुँ कुन्नी ! सायद जिन्दगीको दौडमा लागेर अनि अरू भन्दा पछाडि छोडिने डरले कल्पनामा घण्टौ हराउने मनलाई कतै थन्क्याएर म सुन्दर भोली भेट्न कुदिरहेकी छु । थाहा छैन त्यो भोली कस्तो र कुन रुपमा आऊनेछ । कहिलेकहीँ लाग्छ जिन्दगीलाई व्यवस्थित गर्ने बहानामा म झन अस्तव्यस्त भईरहेकी छु । हप्ता र महिना होईन वर्ष भईसकेछ लेख्न छोडेकी । पहिले तँछाड मछाड गरेर पोखिने शब्दहरु अब रोकिई रोकिई आऊँछन् । भन्छन् नि समय ज्यादै परिवर्तनशील छ । हो त्यही परिवर्तित समयको बहावमा बहेकी छु म । थाहा छैन। किनारा कति टाढा छ ! सायद कुनैदिन किनारा भेटेर जिन्दगी स्थिर हुनेछ या नहुन पनि सक्छ । जे होस् आज तिम्रो चिठीको जवाफ लेखेरै किन नहोस् फेरी ल्याप्पीसँग नजिक हुन खोज्दैछु । शब्दहरू सँग पुनः खेल्ने रहर लागेको छ । यसको श्रेय तिमीलाई है त ।

आजलाई यति फेरी फेरी तिमीलाई आफ्ना लेखाईहरूका माध्यमबाट भेट्ने कोशिस रहनेछ ।

                                   

     



फ्याँकिएको डायरी

अन्तिम पानो

ऊ सँग सम्बन्धित अध्यायहरुको अन्तिम लेखनको अध्याय अब यो पछी ऊ अब मेरो डायरीमा लेखिने छैन। त्यो बिगत, त्यो जीवनको एक पाटो जसले मेरा सपनाहरु दिवास्वप्न बनायो। परिस्थिती र समयको खेला भन्दै उसले म सँगको सहयात्रा सजिलै सँग तोडेर गयो। परिस्थिती त आफुँले जस्तो चाह्यो उस्तै बनाउन सकिन्थ्यो तर उसले हिम्मत गरेन । ऊ दुखेर गयो की हलुका भएर गयो त्यो मलाई थाहा छैन र अब जान्ने रहर पनि छैन तर आफ्नो निर्णय सुनाएर नतिजा आफ्नै तिर पारेर गयो ।    
त्यो दिन धेरै दिनको छट्पटाई पछी अन्तत एक दिन उसलाई पुरानै ठाउँमा भेटेकी थिएँ। पहिलेको ऊ र अहिलेको ऊ, कतै केही नमिलेको जस्तो, केही छुटे जस्तो र केही थपिए जस्तो अन्यौलको स्थितिमा । जब उसको नजिकै पुगे मन भरी प्रश्नहरु मडारिदै थिए तर बोली भएर निस्किन मानिरहेंका थिएनन। जुन सहजताका साथ आफ्नो मन उसको सामु फुकाउथें यसपाली त्यसो हुन सकेन। यसो उसको अनुहार नियाँले मनले तुरुन्तै भन्यो यो अब तेरो रहेंन,तँ बाट बिल्कुल अलग भईसकेको छ । आफ्नै मनको कुराले झस्किए, साँच्चै किन किन त्यतिबेला ऊ मलाई कुनै अपरिचित भन्दा भिन्न लागेन। मनले स्विकार गरेन कि ऊ सँग मैले आफ्नो जिन्दगीका पाँच बर्ष बिताईसकेकी छु।
उसको छेउमा बसुँ कि हिंडु को दोधारमा एक पटक पुन: उसको अनुहार गहिरिएर नियाल्ने प्रयास गरेँ । त्यहाँ दोधार, निराशा,असन्तुष्टी अनी लाचारिका बादलहरु मडारिदै थिए, केवल बर्षन बाँकी थियो झैँ लाग्यो । एकहोरो हेरिरहेँ माया लाग्यो तर तुरुन्तै तिरस्कार को भाव मडारियो आमुक पिडा सहित 'बस न के थाहा अब फेरी यसो भन्ने दिन आउछ आउँदैन' कतै टाढा कन्दराबाट आएको जस्तो झिनो स्वरमा उसले भन्यो। यतिका दिन कहाँ थियौ ? बस्नु र आवेग अली रोक्दै प्रश्न गर्नु एकै पटक थियो सायद । 'जे को डर थियो त्यहीँ भयो, यो के भयो?' चुक घोप्ट्याए जस्तो अनुहार पारेर भन्यो। सहानुभूती त हैन रिस उठ्यो मलाई एका एक भने, म छोरी मान्छे भएर त आँट गरेकी थिए, जहाँ गएर जसरी भए पनि निर्वाह गर्न अब हामी सक्थ्यौ, पढाई सकिएकै थियो, त्यस माथि मेरो बाबा ममीले स्वीकारी सक्नु भएकै थियो, तर तिमी..... ? खै तिमीमा आँट ? अझै पनि आँट छ भने हिड अहिलै जिन्दगी जसरी पनि चलाउन सकिन्छ।
'हैन सानी अब त्यसो गर्न म सक्दिन, म मेरा बाबाआमाको ईच्छा विपरित जान सक्दिन,अब हामी अलग्गिनु नै ठीक हुन्छ। म तिमी सँग छुट्टीएर कसरी बस्छु अनी मेरो हाल के होला त्यो मलाई मात्र थाहा छ र पनि तिमीलाई आफ्नो बनाउन सकिन, साँच्ची म अब अरु कसैको हुने पक्का भयो।' आँखा भरी पारेर उसले भन्यो। अब मलाई त्यहाँ बसिरहनु ब्यर्थ लाग्यो, जुरुक्क उठे र भने तिम्रो नयाँ जिन्दगी तिमीलाई बधाई छ खुशी रहनु, अनी फटाफट घर तिर लागे ।
मुटु भक्कानिएकै थियो, जब घर पुगे आँशुका मुल फुटें। आसुँ झरुन्जेली पिडा अलिक काम भए झै लाग्यो तर रोकिए पछी फेरी उस्तै। निरन्तर बग्यो आँशु। आमाले भन्नु भयो ' नरो नानी जे हुन्छ राम्रैको लागि हुन्छ, हामीले त सबै मिलाएकै हो तर उल्ले तेती पनि हिम्मत गर्न सकेन भने तेस्तालाई सम्झेर कती रुन्छेस, सम्झी त्यो आफ्नो लायक थिएन, यदी लायक थियो त छोरो मान्छे भएर त्यती आट्न सक्नु पर्थ्यो तर ऊ त भाग्यो परिस्थिती को निहुँ र बाध्यताको खोल ओडेर। अझै केही बिग्रेको छैन, आफुँलाई सम्हाल।' आमाको कुरा ठिकै लाग्यो। मैले धोका दिएकी होइन, धोकेवाजको बोझ मैले उठाउन परेन, अब उ बिना एक्लै पनि आफु अनुकुल बाच्नु पर्छ भन्ने भाव आयो मन दरो बनाए।
मनमनै आँफै सँग प्रतिज्ञा गरेँ उसलाई भुल्दै जाने, सजिलो त थिएन तर विकल्प पनि अरु थिएन। आजको दिन देखी म उसलाई मन देखी दिन दिनै निकाल्नेछु अली अली गरेर। ऊ जहाँ जसको साथमा रहोस् खुशी रहोस्। अघी सम्म रिस र पिडा थियो ऊ प्रती तर अब कती पनि छैन। ऊ एक अपरिचित भन्नेछ आजै देखी मेरो लागि। म सबै परिचित अपरिचित सबैको खुशी चाहने र सजिव निर्जिवको भेद नराखी सबैलाई स-सम्मान माया गर्ने मान्छे। उसको लागि आजबाट त्यै माया मात्र रहनेछ यो मनमा। एक प्रकारले स्वतन्त्र र अझ निर्धक्क भए झै लाग्यो, अबको समय पुरापुर आफ्नो क्षमताले  बाबाको अफिसलाई अझ उचाईमा पुर्‍याउने एक मात्र लक्ष्य बाँकी रह्यो, आखिर म उहाँहरुकी एक्ली सन्तान पो हुँ । कसरी भुल्न सक्छु र म यो जिम्मेवारी।
जिन्दगीको एउटा मोड भनौ वा एक अध्याय यहाँ सकिन्छ र अब जिन्दगी अर्को मोड तर्फ मोडिन्छ। के थाहा कही कतै एक जिन्दगी कुनै मोडमा मलाई नै पो पर्खेर बसेको छ कि !

पत्रात्मक कथा 'बिन्नी'


मेरी बिन्नी, सदा झैँ माया

तिमी पक्कै आराम छ्यौ होला, हेर मलाई पनि तिम्रो मायाले बिसञ्चो हुन दिएको छैन

यहाँको चहलपहलले लाग्दै फेरी दशैँ आउँने बेला भयो तर, मलाई के दशैँ के तिहार मेरो दुनिया सिमित भएको बिन्नी अचेल संसार भनेकै यही अँध्यारो कोठा मैले यहाँ तिन दशैँहरु बिताईसकेँ, यो चौथो हुनेछ अरु मेरा कैयौँ दशैँहरु यहाँ यसरी नै बित्नेछन अनि थाहा बिन्नी, मैले  हरेक दशैँमा तिमीलाई एउटा पत्र लेख्ने गरेको छु तर अफशोच! तिमीसम्म यी पत्रहरु पुराउन कसरी सकुँला मैँले

बिन्नी, जब जब दशैँको चहलपहल सुरु हुन्छ, मलाई त्यसै बैराग्य लागेर आउँछ   त्यो अँध्यारो दिनको -झल्कोले यो मन अझै पनि चिरा चिरा हुन्छ अहिले लाग्छ त्यो दिन तिमीले भनेको नमानेर तिम्रो घर नगएको भए.... त्यस्तो हुन्थ्यो आज यो दिन आउँदैन थियो होला है हुन ''हुने हुनामी टर्दैन'' भन्ने भनाई पनि , त्यै पनि के हुन्थ्यो के हुन्थ्यो झैँ लागिरहन्छ मन भन्नु भुसमा लागेको आगो रहेछ बिन्नी,आज त्यही आगोमा दिन दिनै पोलिएको छु

बिन्नी, हामीले एक अर्कालाई गरेको अगाध माया नै हाम्रो लागि अभिशाप सिद्ध होला भन्ने हामीले कसरी सोच्थ्यौ है स्कुल देखी सुरु भएको हाम्रो सहयात्रा क्याम्पसका दिन सकिन लाग्दा मेरो पारिवारिक अवस्थाको कारण मैले पढाई पुरा नगर्दै खाडी भासिनु पर्दा मात्र छुटेको थियो तिमी आमाबाबुकी एक्ली छोरी अनि मेरी प्यारी बिन्नी भएर हामी सबैको सपना साकार गर्न पढ्दैँ थियौ आफु परदेशी बने पनि तिमी पढ्दै थियौ यसर्थ; खुसी थिए भौगोलिक रुपमा हामी टाढिए पनि हाम्रो मन टाढिएको थिएन नि है तिम्रा लामा लामा मेलहरु पढ्दा खानाखाने समय सकिएर आफु भोकै परेको सम्म भुल्दथें कती मायालु हुन्थ्यो तिम्रो लेखाई हरेक शब्द शब्दमा तिम्रो उपस्थिती प्रष्टै देखिन्थ्यो

घरमा तिम्रो बिहेको कुरा हुँदा तिमीले मेरो बारेमा बाबुआमालाई भन्दा उहाँहरुले हाम्रो बिहे हुन सक्दैन भन्नु स्वाभविकै पनि थियो सामाजिक,आर्थिक असमानताहरु अझै पनि हाम्रो समाजबाट पुरै कहाँ हट्न सकेको बिन्नी परिवारकी एक्ली छोरी तिमीले आमाबाबुको ईच्छा बिपरित बिहे नगर्ने भनेर मलाई क्याम्पसका दिनमै भनेकी थियौ यसो भन्दा तिमीमा एउटा अर्को विश्वाशसँगै थियो 'बाबुआमालाई मनाउन सक्छु' भन्ने तिमी आफ्नो विश्वाससँग त्यही दिन हार्यौ जुन दिन बाबुआमाले मलाई स्वीकार्नु भएन

कती दु:खी थियौ है त्यो दिन तिमी तपोबनको एकान्तमा तिमी खुब रोएकी थियौ रुन सकेँ तिम्रो आँशु पुछ्न नै थाहा बिन्नी जब मनमा गहिरो चोट पर्दोरहेछ नि आँशुहरु आँखामै सुक्दा रहेछन, झर्न नसकेर त्यै भएको थियो त्यो दिन मलाई हातगोडा लगलग कामेका थिए,मनमा गाँठो परेको जस्तो भएको थियो चिटचिट पसिना शरीरमा कम्पन लिएर मैले बल्लतल्ल सुनेको थिए तिमीले " बाबुआमाको चाहना अनुसार अरु कसै सँग बिहे गर्दैछु,मलाई माफ गर" है भनेकी बिन्नी तिमीले माफी किन माग्नु पर्थ्यो ? तिमी पनि दुखेकी थियौ नि होइन ? तिम्रो उदासी पनि लुकेको थिएन नि मबाट

त्यसदिन साँझ घर फर्किएर खुब रोएको थिएँ तिम्रो उदासीले मेरो उदासिनता झन् बढ्दै थियो होस हराए जस्तै भएको थिए रात कसरी कट्यो थाहै भएन बिहान तिमीले नै घरमा आएर झक्झक्याएर उठाएकी थियौ के भन्ने के नभन्ने, अनी के गर्ने के नगर्ने अलमल्ल परेको थिए या अर्थबेहोशीमा थिएँ तिमीले आफ्नो उदासी अनि आँशु कहाँ लुकाएर आएकी थियौ बिन्नी त्यो दिन?अघिल्लो दिनको उदासीको शेष सम्म थिएन तिम्रो अनुहारमा उही क्याम्पस पढ्दा खेरी कि बिन्नीलाई सामु पाएर झनै अवाक्क परे ''के सुतिराखेको, उठ फ्रेश हौ, सरप्रईज तिम्रो लागि'' तिम्रो यो वाक्यले मर्दै गरेको रहरहरु पुन: ब्युँझन खोजे मनमनै सोचेँ रातभरी रोएरै भए पनि बाबुआमालाई मनाईन् कि ?

उठेर घरबाट निस्किएँ तिमीले फटाफट स्कुटर स्टार्ट गर्दै ''बस'' भन्दा यन्त्रवत हुँदै बसेँ तिमीले स्कुटर घुमाएर सिधै आफ्नै घर तर्फको बाटो लियौ अघि ब्युँझेका आशाहरुले जरा हाल्दै गए एकातिर भने अर्कातिर मनभित्र एक तमासाको चिसो पस्यो कतै केही नराम्रो हुने पुर्वाभाष थियो सायद सुनसान थियो तिम्रो घर घरमा कोही नहुँदा तिमीले मलाई किन आफ्नो घर लग्यौ होला यती सोच्दा नसोच्दै तिमीले भन्यौ 'तिमी बस्दै गर, एकैछिनमा आउँछु '' मलाई तिम्रो कोठामा पुर्याएर तिमी त्यहाँबाट निस्कियौ भाव शुन्य अनि विचार शुन्य बनेर मुर्तिवत तिमीले जहाँ छोडेर गएकी थियौ त्यहीँ जड भएँ   खै कुन्नी कती बेरपछी भर्खरै नुहाएको कपाल सहित तिम्रो अर्थनग्न उपस्थितिले भित्र हलचल मचायो   केहिपछी मात्र आफुलाई होसमा पाएँ


''श्लोक, मेरा बाबुआमा मसँग खुसी हुनुहुन्छ,कारण मैले उहाँहरुले भनेझैँ बिहे गर्न तयार भएँ मेरा बाबुआमाको चाहना अनुसार कहाँको को हो, को हो सँग बिहे गर्दैछु तिमीलाई अनि आफैलाई धोका दिन चाहन्न हामी एक अर्कालाई चाहन्छौ यो अकाट्य सत्य हो हाम्रो बिहे हुँदैन यो अर्को त्यस्तै अकाट्य सत्य यही सत्यहरु बिचको अर्को एक सत्य हो हामी एक अर्कालाई चाहन्छौँ आज एकै दिन किन नहोस् तर तिमीमा पूर्ण समाहित हुन चाहन्छु आजसम्म सजाएका सपनाहरु साकार पार्न चाहन्छु, भन के तिमी मेरो साथ दिन्छौ? '' जहाँको त्यहीँ उभिएर निर्मिमेष तिमीलाई हेर्दै थिएँ तिमीमा एकाएक आएको परिवर्तन अनी तिम्रो फेरिएको रुप तर त्यो रुपमा कुनै उग्रता थियो रोष नै, थियो केवल सविनय अनुरोध चाहना मात्र

 बिन्नी,हाम्रो प्रेम आत्मिक थियो यसमा दुई मत छैन तर, त्यसरी बन्द कोठामा तिमीले अर्धनग्न अवस्थामा आफुलाई मप्रति समर्पण गर्यौ भित्र हुण्डरी मच्चियो सायद आफुलाई सम्हाल्न सकिन तिमीलाई सम्हाल्न   आफ्नो चाहना मेटाए तिम्रो समर्पणको खातिर तयार रहेकी तिमीलाई........मैले नजिकैको फूलदानीले टाउकामा कुन बेला कसरी  हान्न भ्याएँ...हेर बिन्नी जीवन कती नाटकीय रहेछ

यो दुनियाँ भुलेर तिम्रो दुनियाँमा रमाउँन चाहन्छु बिन्नी,मलाई नभुल्नु है अनि पर्खनु पनि है,त्यतिन्जेलसम्म जब सम्म आउँदिन

तिम्रो श्लोक