नोस्टाल्जिक



गोधूलीमा घाम डुब्दै गर्दा
नुनिलो पानी छोएर पुर्वतिर बहने
फोटोः गुगल
तातो हावा र
चन्द्रागिरीबाट काठमाडौ ओर्लने
चिसो हावाको फरकले
हरेक साँझ 'नोस्टाल्जिक' हुन्छु म ।

पाखाभरी फूल्ने प्याऊलीमा
रमाउने यो मन
गमलामा डिजाईन गरेर फूलाईने 'डेजर्टरोज'मा
कसरी अडिन्छ र?

पानी पर्दा हरररर बसाउने माटो,
हरियो र हिलाम्य खेत,
रुझाउने झरी, 
झ्याऊकिरीको गित, कोईलीको मीठो कुहू,
कसरी खोजूँ म
यहाँको बलौटे माटो,
टायर गनाउने बाटाहरु,
बालुवा बोक्ने शुष्क हावा
र निद्रा बिथोल्ने 'बुस चोक' को रुखो आवाज भित्र ।

यहाँ छ,
अग्ला भवन, फराकिला बाटाहरू
अनि साँघुरिँदै गएको छ मान्छेको मन ।

हरेक बिहान अनुहारमा
यौटा हाँसिरहेको मुखुन्डो उनेर दिन काट्छ
सुखको खोजीमा,
अनि हरेक साँझ मदिरामा मात्तिएर
खुसी भएको नाटक गर्छ र,
अर्को दिन उही दैनिकी पछ्याऊँछ यन्त्रमानव।