Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

घाटको साथीः नरोजेको एउटा पात्र

फोटोः गुगल
एउटा कथा लेख्ने हुटहुटी थियो । यो धेरै अघिको कुरो । अहिले पनि  पात्रहरू मन मस्तिष्कमा आउँछन्, कुद्छन्, घुम्छन् र अन्त्यमा मलाई नै रिङ्गाएर जान्छन् । तर अक्षरमा बाँधिन पटक्कै मान्दैनन् । बैशाख,  जेष्ठ देखि हालसम्मका अनगिन्ती भुइँचालो भोगेर थलिएको पाटनका गल्लीहरूमा कयौँ साँझ भौतारिन्थेँ । तर अहँ कोही बाँधिन आएनन् मेरो कथामा पात्र भएर । सबैलाई आफ्नै स्वतन्त्रता प्यारो थियो । दिक्क मान्थेँ आफैसँग तर भौतारिन छोड्दिन थिएँ । एक साँझ “ओई मञ्जरी ! अचेल किन घाट आउँदिनस् हँ ? तेरा किताबहरू फिर्ता दिने मानसिकतामा छु अचेल । आजभोली आईनस् र पछि किताब फिर्ता पाईनस् भने मलाई गाली गर्न पाउँदिनस् नि !” मोबाईल स्क्रिनमा उसको मेसेज देखियो ।

पाटनका गल्लीहरूमा भेटिने पात्रहरू कथामा बाँधिन नचाहेपछि मैले सुन्दरीघाटलाई प्राथमिकता दिएको केही दिन भएको थियो । ऊ सुन्दरीघाटमा भेटिएको तर मेरो कथालाई नसुहाउँदो एक पात्र । उसलाई आफ्नो कथामा बाँध्ने रहर कहिल्यै लागेन मलाई । तर ऊ भने बारम्बार सुनाईरहन्थ्यो कि - उसलाई अब पात्रको जिन्दगी बाँच्ने रहर छ, वास्तविक जिन्दगी बिरक्त लाग्दो भयो !

‘जिब्रान’ मैले उसलाई दिएको नाम । कुमार नगरकोटीका ‘म्याड फिक्सन’ दोहोर्याई दोहोर्याई पढ्नु मेरो पहिलो रोजाई । मिस्टर नगरकोटीसँग उनैका फिक्सनका माध्यमले भएको एकहोरो चिनजानको प्रभाव ममा ज्यादा थियो र अझै पनि छ कि त... ! त्यसैले मिस्टर नगरकोटीको प्रिय स्थल ‘घाट’मा भेटिएको उसलाई मैले नगरकोटी कै प्रिय पात्रको नाम जुराइदिएकी थिएँ । सुरुमा उसलाई यो नाम पटक्कै मन परेन तर जब मैले उसलाई यो नाम दिनुको कारण खुलाएँ तब मात्र उसले यो नामले बोलाउँने स्वीकृति दिएको थियो ।

“तेरो मन पर्ने लेखकको किताब म पनि पढ्छु ल्याईदे है” उसको माग बमोजिम मैले आफूसँग भएका मिस्टर नगरकोटीका ‘मोक्षान्तः काठमाडौँ फिभर’ र ‘अक्षरगञ्ज’ उसको लागि एकसाँझ त्यही घाट मै पुर्याएकी थिएँ । ‘फोसिल’ लगिदिन पाइन । त्यो किताब मेरा एक मित्र कहाँ पाहुना लाग्न गएर आईपुगेको थिएन । सोचेँ आएपछि लगिदिऊँला । ‘मोक्षान्तः काठमाडौँ फिभर’ पढिसकेको एक साँझ उसले भनेको थियो- “यार तँलाई तेरै लेखकको एउटा पात्रको नाम दिम् ?”

‘भो परेन, मलाई पात्रको जिन्दगी बाँच्ने रहर छैन तँलाई जस्तो’ मैले नाक खुम्च्याउँदै उसको प्रस्ताव नकारीदिएकी थिएँ । उसले पनि नरमाईलो मानेन । बरु हाँस्दै भन्यो ‘साँच्ची तँ आफैँ पात्र खोज्ने मान्छे पो त है ! सुना न बरु तेरो नयाँ पात्रको बारेमा, भेटिस् त ?’

‘छैन यार ।’ वाग्मती पारी आँखा अड्याउँदै जवाफ दिएकी थिएँ । 
   
पात्र खोज्ने चक्करमा आफैँ हराईस् कि के त ?”  

सायद उसले मलाई खिसिक्क हाँसेर व्यङ्ग्य गर्दैथ्यो कि... तर मैले ऊ तिर हेर्दै हेरिन । उसलाई जवाफ दिनु साटो बरु वाग्मती किनारबाट हटाएर कीर्तिपुरको फेदमा फैलिएको विश्वविद्यालयमा आँखाहरू बिसाइदिन्थेँ ।  केही महिनाघिसम्म म त्यहीँकी एक विद्यार्थी थीएँ । पढाइ सकेर सुरू हुने भिन्न भविष्यको तिब्र पर्खाइ रहन्थ्यो विद्यार्थी छदाँ । अहिले त त्यो पनि बाँकी छैन । अचेल लाग्छ विद्यार्थी हुदाँका दिनहरू ठीक थियो बरू अहिले भन्दा त ! गुमेको कुरा महत्वपूर्ण मान्ने र वर्तमानसँग गुनासो गर्ने बानी सानै देखि लागेको छ कि त हामीलाई ! कीर्तीपुरको अग्लो डाँडो र त्यसैको फेदमा फैलिएको विश्वविद्यालयबिचको सम्बन्ध मलाई कहिले आपसमा आँखा नझिम्क्याई नियाँली बस्ने प्रेमीप्रेमिका त कहिले एक अर्कोलाई बैरी मान्दै बाटो बार्ने छिमेकी जस्तो लाग्थ्यो र अझैँ पनि लाग्छ । जे होस् जिन्दगीमा अविस्मरणीय दिनहरूमा कीर्तिपुरले पनि एकाध दिन आफ्नो हिस्सामा पारेको थियो ।

ओई ! फेरी कल्पनाको पात्रसँग कतै टाढा घुम्न पुगिस् कि क्या हो हँ ?”  जिब्रान मलाई बिथोल्दिन्थ्यो । नतिजामा कीर्तिपुरलाई जहाँको त्यहीँ छोडेर म आँखा ऊ तिर घुमाइदिन्थेँ । सट्टामा ऊ ङिच्च दाँत देखाउँथ्यो । हिँड् चिया खान जाम्नजिकैको चिया पसल देखाउँदै म अघि लाग्थेँ । यो पछिल्ला दिनहरूको हाम्रो नियमित दैनिकी थियो ।

 केहीदिन भयो म त्यता पनि नगएको । अचेल कथा लेख्ने हुटहुटीले पनि बिस्तारै छोडेको छ त्यसैले होला पात्रको खोजिमा भौतारिन पनि छोडेकी छु । यी दिनहरू चुपचाप घरैमा बितिरहेका छन् । बाह्य दुनियाँसँग संम्वाद बिच्छेद भएको निकै दिन भयो । छेवैँको पसलमा दुइ तिन दिन बिराई दैनिकी चलाउँने आवश्यक खिच्रिङमिच्रिङ सामान किन्छु अत्यावश्यक शब्दहरू खर्च गरेर । पसलेले त्यति देखिनु हुन्न नि अचेल बाहिर तिर हुनुहुन्थ्यो कि ?’ भन्ने प्रश्न गर्दा खिस्स हाँसेर टारिदिन्छु । कुन्नि के बुझ्छन् उनी र थप प्रश्न गर्दैनन् । यसरी कति दिन बिताउँने हो र ? आफैँलाई सोध्छु तर जवाफ दिने मनमस्तिष्क भने सुने नसुन्यै गरेर टारिदिन्छ । 

एक मन लाग्छ आज सुन्दरीघाट पुगेर उसलाई भेटुँ । एक अर्कोसँग पुरै असम्बन्धित तर सँगै जोडिएर आउँने ताल बेतालका उसका कुराहरूले पो मेरो यो निष्क्रियता तोड्ला कि ! विचित्रको ल्याङ्फ्याङे व्यक्तित्व छ उसको । समाज, संस्कृति र हरेक व्यक्तिलाई बेवास्था गरेरै चुनौती दिन सफल । उसको त्यै विचित्रको व्यक्तित्वले नै पहिलो दिन मलाई ऊ सम्म डोर्याएको थियो । अझै पनि कहाँ भुलेकी छु र त्यो दिन ।

उसलाई भेटेको पहिलो दिन । सिमसिम पानी परिरहेको एक साँझ । पात्र खोज्ने भन्दापनि मनमा उत्पन्न भएको एकतमासको एकहोरोपनाले म सुन्दरीघाट पुगेकी थिएँ । जाँगर चल्दा  झोलुङ्गे पुलको माझमा गएर एकछिन आँखा चिम्म गरेर बस्थेँ । बाल्यकालमा आमाले हल्लाएको झोलुङ्गे याद ताजा पार्थेँ नत्र पुल तिर नलागी लस्करै उभिएका चितातिर तानिन्थे । पशुपतिमा जस्तो यता मोक्ष प्राप्ती भई दुनियाँ छोडेकाहरू धुवाँ भएको दिनहुँ देख्न त पाइन्न तर घाट आखिर घाट नै थियो । सुनसान.... वर्तिरको कल्याङमल्याङबाट मुक्त, खोला किनार हरियै थियो झार/तितेपाती अनि एकान्त उस्तै ।

सिमसिमे पानी परिरहेकै थियो । बर्खाको बेला पानी पर्नु र घाम लाग्नुको के टुङ्गो हुन्थ्यो र ! सिमेसिमे पानी टाउकोमा थाप्दै किनारै किनार उभोँ लाग्दै थिएँ । सिमसिमे पानीमा भिज्दै हिँड्नु मेरो सानै देखिको रोजाइ । आँगन, गोठ वा कुँडार तिर काममा अल्झिनु भएका मेरा बा आमा पानी छिट्याउँन थालेपछि पिँढीमा उक्लनुहुन्थ्यो भने पिँढीमा बसिरहेकी म आँगनमा फाल हान्थे । “टाउकाँ जम्रा पर्छ सिमेसिमे पानी टाउकाँ नथाप त नानी’’ आमा बा पालैपालो सम्झाउँनु हुन्थ्यो । म किन मान्थेँ र आमा आफैँ आएर नघिसारे सम्म । आखिर म बाआमाकी जिद्दी र पुलपुलिएकी कान्छी छोरी न थिएँ । जुम्रा पानीले रूझाउँदैमा पर्दैनन् भन्ने थाहा पाउन मैले आफ्ना बाल्यकालका केहि वर्षहरू खर्च गरेर ज्ञान पाइसकेकी थिएँ । त्यसमाथि अचेल म सिमसिमे पानीमा भिजेको बाआमाले थाहै पाउनुहुन्न थियो । थाहा पाउँनु भए त अचेल जुम्रा पर्छ भनेर नभने पनि रुघा लाग्छ, चिसो लाग्छ या फेरी निमोनिया हुन्छ भनेर पक्कै भन्नुहुन्थ्यो । 

लस्करै उभिएर कसैको प्रतिक्षामा गरेजस्ता देखिने चिता मध्ये माझको चितामा ऊ ध्यानमग्न थियो कुनै साधु झैँ । लहडमा ओशो तपोवन पुग्दा पाखाभरी मान्छेहरू ध्यान मुद्रामा बसेको त धेरै देखेकी थिएँ तर चितामाथी ध्यान बसेको मान्छे देखेकी थिइन । सिमसिम परेको पानीबाट बेखबर ऊ कुन्नी कुन अलौकिक दुनियाँमा पुगेको थियो । वरपर नियाँलेँ अरु मान्छेको सुइको सम्म थिएन् । निर्जन एकान्त मात्रै फैलिएको थियो परपर सम्म ।

पानी बाक्लिएर पर्न थालेपछि झोलामा भएको छाता निकाले र ओडेँ । ऊ अझैँ ध्यानमा मग्न थियो । कुन मनले डोर्याएर हो म ऊ नजिकै उसलाई छाता ओडाउन पुगेकी थिएँ । ऊ सिद्ध साधु झैँ ध्यानमा मग्न थियो मैले छाता ओडाउन सुरु गरेको थाहा पाएको थियो कि थिएन कुन्नी ?

एकाध घण्टापछि दर्के पानी थामिएर पुनः सिमसिमे पानीमा बद्लिएपछि उसले आँखा खोल्नु र मैले छाता बन्द गर्नु एउटै समय भएको थियो । एकै ठाउँमा धेरै बेर उभिएर होला मेरो गोडा फतक्क गलिसकेका थिए । निर्जन एकान्त त्यसमाथी दर्के पानी त्यै पनि आफू नभिजेको  र छेऊमा छाता बोकेर ऊभिएकी म देख्दा उसले मैले छाता ओडाएको थाहा नहुने कुरै थिएन । तर मलाई देख्दा उसको अनुहारमा कुनै भाव थिएन ।

‘छाता ओडाइदिएकीमा धन्यवाद !’ उसले म सँग बोलेको पहिलो शब्द यति थियो । पहिलो पटक नचिनेको मान्छेले ‘तिमी’ भनेर सम्बोधन गर्दै थियो । मलाई जो कसैले त्यसरी सुरू मै तिमी भनेर बोलेको पटक्कै मन पर्थेन तर उसको सम्बोधनमा कस्तो जादू थियो कुन्नी रिसाउँनुको साटो म मुस्कुराएकी थिएँ । त्यसैले अहिले मलाई ऊ तँ भन्छ त्यो पनि मलाई मन पर्छ । म पनि उसलाई तँ नै भनिदिन्छु ऊ पनि मुस्कुराउँछ ।

‘पानी परेको समेत बेपर्वाह गरेर कुन लोकमा पुगेको थियौ हँ ?’ मैले पनि उसलाई ‘तिमी’ नै सम्बोधन गरेर पुरानो साथीलाई झैँ हकारेको स्वरमा सोधेकी थिएँ ।

“घाम पानीको, उदासी र खुसीको विभेद गर्न छोडेको धेरै भयो मैले ।” उसको जवाफ दार्शनिक थियो कि जीवनका उतारचढाब प्रति निरपेक्ष मैले छुट्याउन सकेकी थिईन ।

कस्तो गोडा गलेको छ आफुलाई, कतै बसौँ भने पनि चिसो छ । मैले गुनासो ऊ सँग नै गरेकी थिएँ तर ऊ प्रति निरपेक्ष रहेर ।

“अनि चिन्नु न जान्नु को मान्छेलाई छाता ओडाएर कस्ले उभिनु भन्या थियो र ?” उसले पनि उस्तै निरपेक्ष भएर जवाफ फर्काएको थियो ।

हामी बिचको कुराकानी कोई तेस्रो व्यक्तीले सुनेको भए उसले हामीलाई आफू आफू एक्लै बोल्दै हिँडेको ठन्थ्यो होला । मूल बाटोमा आईपुगेपछि ‘चिया खान जाम् मलाई जाडो भो !’ मेरो मागको सट्टामा पुलुक्क हेर्नु बाहेक उसले केही भनेन ।

चिया खाने ठाउँका दुइवटा कुर्सीहरू आफ्नो कब्जामा पारेपछि मैले भनेँ - ‘साहु जी दुइवटा कालो चिया ’ ।
मैले चिया अर्डर गरेको सुनेपछि उसले मलाई एकटकले एक मिनेट जति हेर्यो र हेराई अन्तै मोड्यो । तर न त उसले साहुजीलाई आफु सेतो चिया खाने भनेर भन्यो न मलाई नै कसरी थाहा भयो म कालो चिया खान्छु भन्ने भनी सोध्यो ।

साहुजीले चिया दिए । हामीले एउटा एउटा कप समात्यौ... चुपचाप ।

मैले भन्दा पहिले चिया सकेर उसले साहुजीलाई चियाको पैसा दिँदै आँखा म तिर फालेर भन्यो - “उधारो राख्ने मन नभए भोली चिया ख्वाउनु” अनि फटाफट हिँड्यो । म अलमल्ल परिरहेँ । चिया पसले उसलाई र मलाई पालैपालो हेर्दै थिए । ऊ छेकिए पछि म पनि उठेर ऊ गए भन्दा ठीक उल्टो बाटो हिँडेर घर फर्केकी थिएँ ।

नाम पनि थाहा नभएका हामीले सँगै कालो चिया खाएर छुटे पछि बाटोभरी उसैको कुरा खेलाउँदै म घर पुगेकी थिएँ त्यो दिन ।

भोलीपल्ट साँझ फेरी त्यही ठाउँमा त्यसैगरी ध्यान मुद्रामा ऊ फेला पर्यो । पानी नपरेको त्यो दिन घाम भर्खरै चन्द्रागिरी पारी लुकेको थियो । सिर्सिरे बतास, गोधुलीको समय मलाई असाध्यै मन पर्ने बेला । मेरो उपस्थिती थाहा पाएर हो या उसको ध्यानको समय पुरा भएकोले हो म ऊ नजिकै उभिएको पाँच मिनेट नहुँदै उसले आँखा खोलेको थियो । सट्टामा मैले उसलाई मुस्कुराएर स्वागत गरेकी थिएँ ।

के हो जिब्रान मान्छेको ध्यान आफूमै खिच्न त तिमी माहिर रहेछौ । मैले उसलाई तिम्रो नाम के हो भन्नु पहिले नै आफूले रोजेको नाम दिएर भनेँ ।
मेरो नाम जिब्रान हैन.....।

पख पख ! मलाई तिम्रो नाम जान्नु छैन । आज देखि तिम्रो नाम जिब्रान भयो । मञ्जुर भए बोलाउँला नत्र ओई ले काम चलाउँला रोजाई तिम्रो । मैले उसलाई बीचैमा रोकिदिएँ ।

यसरी परिचय बिना नै उसले मैले नाम दिनुको कारण सोधेको थियो भने मैले बताएकी थिएँ । त्यसपछि सुरू भएको थियो जिन्दगीलाई हेर्ने हेराई, भोगाई अनि सोचाईका कुराहरू । 
दोस्रो दिन पनि उही पसलमा कालो चिया खाएपछि मैले साहुजीलाई पैसा तिर्दै र ऊ तिर हेर्दै भने – ‘तिमी त सोध्लाऊ नसोध्लाऊ तर तिमीलाई एउटा नाम आफैले दिएकीले भन्दैछु । कुनै दिन बोलाउँन मन लागेमा ‘मञ्जरी’ भन्छन् मलाई ।’ अनि फटाफट हिँडेकी थिएँ अघिल्लो दिन ऊ गए भन्दा ठीक उल्टो तिरको बाटो । फर्केर नहेरी ।

भूकम्प पछिका दिनहरूमा ऊ पहिले भन्दा झन उदास र दैनिकी प्रति अनि आफैप्रति निरपेक्ष देखिन थालेको थियो । भेट हुँदा भन्थ्यो - “ यार किन किन अचेल यहाँ मनै लाग्न छोड्यो ।  दिदीले बोलाएको बोलायै हुनुहुन्छ... उतै जान्छु कि !” मलाई एक्लै छोडेर जान्छस् भनेर भन्न मन लागेको थियो तर... मनको कुरा भन्न हतार गर्नु हुन्न है केटी भनेर दिमागले खबरदारी गर्यो र भनिन ।

अब कुन्नी कतिदिन टिक्छ ऊ यहाँ यसरी । कतिदिन पो बाँकी होला उसलाई भेट्न र उसका ताल बेतालका उट्पट्याङ कुराहरू सुन्ने दिन । हिजो आज मैले उसलाई बिर्सिराखेकी रहेछु । हुन त म आफूलाई आफै याद नरहेको बेला उसलाई कसरी पो सम्झन्थे र ! भेट नभएका यी दुइचार दिनमा कतै उसले दिदी भएतिरै जाने सुर त कसेन ? मन हतारिन्छ उसलाई भेट्न ।  ढिलो नगरी दिउँस मात्र पाहुना लागेर आईपुगेको मिस्टर नगरकोटीको “फोसिल” उसका लागि बोक्छु र निस्किन्छु ।

{यो कथा पहिलो पोस्टमा प्रकाशित छ । }

आफैँ हराएको बेला

फोटो: गुगल 
अचेल म आँफै सँग अपरिचित भएकी छु। ऐनामा आफुलाई नियाँल्दा ऐनाले देखाउँने  प्रतिबिम्बमा पनि म आफुलाई भेट्टाउँदिन। भन्छन् 'ऐनाले झुठ बोल्दैन' तर जब जब आफु ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्ब नियाँल्न खोज्छु सत्य सत्य म अचेल आँफैलाई देख्दै देख्दिन । कती कोसिस गर्छु हरेक दिन कि ऐनामा नियाँल्दा म सम्पूर्ण आफु देखिऔँ तर मेरा हरेक प्रयासहरु ब्यर्थ साबित हुन्छन। मैले स्वयं आफुलाई देख्नु भन्दा पहिल्यै म अरु कसैलाई देख्छु आफुले आँफैलाई नियाँल्दै गरेको ऐनामा। हो,पहिले म सम्पूर्ण 'म' नै थिएँ यसरी घण्टौँ लाएर ऐनामा आफुलाई खोज्नु पर्दैन थियो तर अब....सबै कुरा उस्तै भएर पनि म आँफैबाट आँफै हराएँ।

यसरी मैले सम्पूर्ण आफुबाट आँफैलाई हराउँनुको जिम्मेवार न त ऊ हो न म नै । त्यो सबै एक संयोग मात्र थियो तर त्यो संयोग केवल संयोग मात्र भएर आएन मेरो जिन्दगीमा। त्यो एक संयोग भनौ या घटना अथवा दुर्घटना देखि नै हो मैले आँफैलाई स्वयं हराएको आँफैबाट।

                                                         *******

कुरा अलि पहिलेको हो तर धेरै पुरानो भने होइन ।  नयाँ सालको उमङ्ग मान्छेहरुको मनबाट निख्रिसकेको थिएन । बैशाखका सुरुवाती दिनहरु मध्येको  कुनै एउटा साँझ म पाटनका मस्ताना गल्लीहरुमा बराल्लिदैँ थिएँ उदेश्य बिहीन,लक्ष्य बिहीन तर आँफैमा रमाएर मस्त। मान्छेका भीडमा सामेल हुनु तर एक्लै आफ्नै दुनियाँमा हराएर,सम्भव भए विगतका कुनै यादमा रमाएर हिँड्नुको आनन्दको अनुभव तपाईंलाई छ कि छैन कुन्नी तर मलाई नशा लागेको छ यो अनुभवको। भविष्यबाट बेखर,निस्फ्रिक्र वर्तमान अनि विगतका मीठा नमीठा याद र आफ्नै बेवकूफी प्रती हाँस्दै दरबार परिसरका परेवाहरु सँग स्वतन्त्रता साट्नुको अनुभूती मेरो जिन्दगीको एक पाटो बनिसकेको छ।

मान्छेहरुको भीडमा भएर पनि आफुलाई भीडको हिस्सा बनाउँन असफल औसत भन्दा भिन्न छुट्टै नकोरेको कपाल,रहर अनी सपनाहरु हराए जस्ता देखिने चम्किला भइकन पनि चमक हराएका  झैँ एक जोडी आँखा र खिरिलो ज्यान जम्मामा यत्ती हो मैले उसलाई देखेकी। पुराना मन्दिर,पुराना टुँडाल,पुरानै देवीदेउता, तिनैको आडमा बसेर प्रेमलापमा मस्त रैथाने किशोरकिशोरी र हातहातमा सामान बोकेका पुरानै खुद्रा पसले केही स्थायी पसलका अलावा नयाँ भन्नु उही दिनहुँ फेरिएर आईपुग्ने फिरन्ते बिदेशी र एकाध नयाँ प्रेमिल जोडी हेर्न अभ्यस्त मेरा आँखाले उसलाई नयाँ घोषित गरे।

'होला कोई नयाँ घुमन्ते,यी पाटनका गल्ली मेरो मात्रै पेवा पनि त होइनन्, जो पनि जहाँसुकैबाट बराल्लिन अाईपुग्न सक्छ नि यहाँ ! यी गल्लीहरुको सुन्दरता नै त्यस्तै छ जो कोहिले एक पटक निँयाल्छ ऊ जिन्दगीभरी भुल्न सक्दैन यी गल्लीहरुलाई। अनौठोसँग जोडिन्छ मन यी गल्लीहरुसँग अनी बस्छ एक प्रकारको चुम्बकीय आत्मियता पनि। तर अरु घुमन्तेहरु झै चञ्चल थिएन ऊ। मैले उसको गम्भीरता एक्छिन निँयाले ठिक उसको सामुन्नेको देवलमा बसेर।  कतै कसैको यादमा हराएको झै देखिने उसका आँखाले उसलाई निँयालिरहेकी मलाई देख्यो अनी मेरा एक जोडी आँखाहरुलाई पनि। ''छि: के मान्छे नदेखे झैँ एकहोर हेरेकी चिन्नु न जान्नुको मान्छेलाई, बदमास केटी !'' आफ्नै मनको हप्काई खाएर म पुन: आफ्नै धुनमा हिँडे।    म सँगै एक हुल परेवाहरु पनि उडेर आफ्नै बाटो लागे ऊ बसेको देवलको छानाबाट।

दिनहुँ कयौँ पटक जुध्छन् आँखाहरु  तर यादमा कमै मात्र भेटिन्छन, हो  आजमा केही विशेष पक्कै छ। सधैं जुध्ने चञ्चल आँखा भन्दा भिन्न उसका उदास आँखाहरुले के यो मन विचल्लित वा प्रभावित पारेकै हो त ? यही सोच्दै  झमक्क साँझ पर्दा घर पुगेकी मैले झ्यालमूनी फुलेका एक जोडी राता गुलाफसँगै  उसका एकजोडी आँखाहरु सम्झेँ, फरक कती भने  ती गुलाफहरु मसँग आँखा जुध्दाँ  गमक्क गम्के खुशीले तर उसका आँखामा मात्र उदासी थियो।

दिनहरु बितिरहेकै थियो सधैं झै तर सधैं भन्दा भिन्न मेरो मन केही दिन यता ती एकजोर उदास आँखाहरुमा अल्झेको अल्झ्यै भयो। यताउताबाट अाईलाग्ने कामले दुई तीन दिन म पाटनका गल्लीहरुमा पुग्नै सकेकी थीइन र पनि ती एक जोर उदास आँखाहरु मैले भुल्न सकेकी थीइन।  अर्को एउटा दिन  क्याम्पसबाट चाडै फुत्किएर म सोझै हानिएँ पाटनतिर नव बिवाहिता छोरी भोली पल्ट माईती फर्केझैँ  को हतारो बोकेर । सधैं झै मस्त थियो पाटन दरबार परिसर, ती मन्दिर र परेवाहरु उस्तै देखिन्थे जस्तो केही दिन अघी छोडेर गएकी थिएँ परिवर्तित त मेरै मन थियो त्यो पनि अन्जान एक जोर उदास आँखाको खोजीमा।

सधैं प्रिय लाग्ने मन्दिरहरुलाई फन्को मार्दै पहिलो पल्ट उसलाई देखेको देवल तिर सोझिएँ र पहिले कै देवलमा बसेँ। पहिलो दिन झै ऊ सामुन्ने अगाडिको देवलमा उही मुद्रामा बसेको थियो फरक यति थियो कि दोस्रो दिन सायद ऊ केही लेख्दै थियो। उसको ध्यान लेखाईबाट फुत्किएला र म सम्म आईपुग्लाको आशामा बसे तर ऊ भने सम्मोहित भएर लेखन मै ब्यस्त थियो । मनको स्वाभाव नै चन्चले किन बस्थ्यो थुपुक्क नजिकैका एक हुल परेवातिर तानियो मेरो मन पनि। 'ठिकै छ एकछिन यिनै सँग जिस्कनु पर्ला'को मनस्थितिले चारो हाल्दै परेवा जम्मा पारेर हुरुरु उडाएँ मन पनि परेवा झै स्वतन्त्र भएर फड्फडाउँदै उड्यो र यत्रतत्र मन्दिरको छानामा पुग्यो यति मात्र होइन परेवा र मन छानामा पुग्नु र उसका उदास आँखा ममा पर्नु एक साथ भयो सायद। उसका उदास आँखामा आँखा जुधाएर हाँसिदिए जानीजानी उसको लेखनी भङ्ग गर्न आफुले गरेको उपद्रो बिर्सेंर भनुँ या अन्जान बनेर ।

एकैक्षणको हेराहेर पछि उसका उदास आँखाबाट आफ्ना आँखाहरु बचाएर ऊ बसेको देवललाई दाहिने पार्दै  नजिकै मोडमा पुगे। फर्केर हेर्न मन लाग्यो हेरिदिएँ, ऊ त अघी झै एकहोर मैलाई पो हेरिरहेको रहेछ खिस्स हाँसिदिए र हात हल्लाईदिएँ ''बाइ बाइ'' को भावमा।

''बदमास केटी अझै बच्पना गा'को छैन है।'' सधैं विवाद गर्ने दुई मन मध्ये एउटा मनले बुज्रुक भएर तुरुन्त औंला उठायो।
''हो त नि के,कत्तिन....., कान्छी छोरी पो हुँँ त सधैंकी सबैकी सानी, आमा पनि त यसै भन्नु हुन्छ।'' अर्को मन तुरुन्त प्रतिवादमा ओर्ल्यो ।
''आज खुब बोल्छु भनेर आएकी होइन किन भागेकी'' मौका पाउँने बितिक्कै मस्तिष्कले प्रश्न उठायो।
''चुप लाग तिमीहरु'' मन मस्तिष्कलाई हकार्दै  घर तिर लागे  मन्दिराका परेवाहरुलाई जिम्मा लाए झैँ स्वतन्त्र मन बोकेर।  अझ गाढा भएर बस्यो मनमा उसका उदास आँखा।

उराठ लाग्दो घाम उदाउँदै र अस्ताउँदै अरु केही दिनहरु बिते। म पनि ब्यस्त हुन थाले क्याम्पस र पढाई तिरै, र पनि यदाकता ती उदास आँखाहरु खोज्थेंँ भीडहरुमा तर अँह सब ब्यर्थ!  उसलाई मैले भेट्न सक्ने सम्भवित स्थान भनेको पाटन दरबार छेउछाउ मात्रै थियो।

सायद बैशाख अन्तिमा तिरको एक साँझ हुँदो हो। नियमित जसो पाटनका गल्लीहरुमा बरालिन अभ्यस्त भएपनी मेरो आजको प्राथमिकता ती एक जोडी उदास आँखाहरु तर्फ थियो। सोझै उसलाई अघिल्ला दुई दिन देखेको देवलमा पुगे। ऊ त्यही थियो अनन्त: शुन्य आकाशमा आफ्ना उदास आँखाहरु स्वतन्त्र चर्न छोडेर निस्फ्रिक । चिनेको मान्छे भेट्न गए झै सरासर उसको सामुन्ने गएर उभिएँ कहाँबाट त्यतिका आँट आयो सम्झदाँ अचम्म लाग्छ । जब उसको सामुन्ने खडा भए तब उसका आँखा खुल्ल आकाशमा होइन म मा सिमीत भए। वर्षौ अघी छुट्टीएको कोई आत्मिय ब्यक्ती भेटिए झै, अलिकती सुखद तर ज्यादा जसो दु:खद भाव थियो त्यो आँखामा त्यसैले त मैले उसका आँखाहरुलाई 'उदास आँखा' भनेर सम्बोधन गरेकी।
न त ऊ बोल्यो न मैले नै केही भन्न सकेँ। एकछिनको मौन हेराहेर पछी उसले आफुले जतन गरी बोकेको सेतो पृष्‍ठभूमिमा हल्का निलो र गुलाफी रङ्ग पोतिएको डायरी म तिर तेर्स्यायो। अलमल्ल परे र उसका आँखामा हेरे। मेरा आँखाको प्रश्न टड्कारै उसले पढ्यो क्यारे।

''तिम्रा सबै जिज्ञासाको समाधान यसमा छ।'' आँखा झै उदास तर मधुरो बोली सुने। दोधारे हुँदै डायरी समाते । डायरी सम्बन्धित मालिकलाई बुझाए झैँ गरी मैले डायरी समातेको मिनेट पनि नबित्दै ऊ फटाफट त्यहाँबाट हिँड्यो,ऊ गएको तिर हेर्दै म उभिएको उभियै भएँ त्यही देवल भित्रको मूर्ती झैँ अचल। अँह उसले फर्किएर हेर्दै हेरेन, कतै पुग्नु पर्ने हतारोमा हिँडेको भन्दा पनि कुदेको झैँ एकहोरो गयो ऊ र मोडबाट कतै अलप भयो ।नजिकै चारो टिपिरहेका एक हुल परेवा कसैले उडाईदियो । परेवाको फड्फडाहाटले ऊ तिर एकहोरिएको मेरो मनले यथार्थता बोध गर्‍यो र तुरुन्तै डायरीतिर मोडियो।  कसैको निजी कुरा सार्वजनिक स्थलमा किन पढुँ,सोचेँ घर गएर पढ्छु।

बाटामा सधैं हतारमा देखिने अनगिन्ती गोडाहरुलाई अल्झाउँदै अल्झाउँदै आफ्नै धुनमा रल्लेर हिँड्ने मलाई  निकै हतारोले छोपेको थियो। कुनै अज्ञात दौडमा सामेल भए झैँ लाग्ने तिनै अनगिन्ती गोडाहरुकै हुलमा मिसिएर सबैलाई पछि पार्न लागे मानौँ कि म दौड जित्ने धुनमा छु । ''घन्द्रङ्ग'' गेट खोलेको आवाजले हुनुपर्छ छेवैका राता गुलाब पहरेदार झै सतर्क भए मेरो उपस्थिती स्वीकार्न र मलाई जिस्क्याउँन अनि  आफु जिस्किन । तर म सधैं भन्दा भिन्न उनिहरुसँग नअल्मल्ली सरासर कोठामा पुगेँ । सायद गुलाफहरु मसँग रिसाउँन भन्दा पनि  एक्कासी ममा आएको परिवर्तनले छक्क पर्दै मेरो मनको अवस्था पहिल्याउन थाले होलान। आखिर गुलाफहरु नै त  हुन नि मनका विभिन्न अवस्था बुझ्न सक्ने !

गर्मी नै भए पनि कफी उमालेर कफीको स्वाद सँगै डायरीका पानाहरु पल्टाउँदै जादाँ उसले भने झैँ मेरा जिज्ञासाहरु शान्त भएनन झन झन बढ्न थाले। कुनै एउटी प्रेमिका(उसैकी होलिन)ले आफ्नो प्रेमिलाई सम्बोधन गरेर लेखेका भावनाहरु थिए। सँगै बाँच्ने रहरहरु,सँगै देखेका सपनाहरु, भविष्यप्रतिको आशा अनि सँगै अनिश्चितताको भय पनि । डायरी साधारण थियो तर उसले मलाई यो किन दियो? को जवाफ खोज्न कै लागि फर्लङ्ग फर्लङ्ग डायरीका पानाहरु पल्टाउँदै गएँ। डायरीको अन्त्य भाग पट्टी अघिल्ला झै भिन्न अक्षरहरु देखा परे। अक्षरको भिन्नता हुनुको कारण तिनै पानाहरु पढ्छु ।
                                           
                                                      ******
सौमी,
तिमीले मलाई सम्बोधन गरेर लेखेको  यो डायरीमा आज म तिमीलाई सम्बोधन गर्दै छु। तिमी त गयौ फेरी नफर्कने गरी म भने यतै छुटे तर लाग्दैछ अब धेरै छुट्नु पर्दैन। सधैं त रहरले बिर्सन्थेँ त्यो तीतो यथार्थ किनकी एकैक्षणलाई भने पनि यो मनलाई शान्त राख्न सक्थेँ तिमी हुनुको झुठो अस्तित्व बोकेरै किन नहोस्। तर आज त म बिर्सन बाध्य भए। हो मैले बिर्सिए सौमी तिम्रो अस्तित्व यो दुनियाँबाट बिलाएको ,मैले यो पनि बिर्सिए कि तिमी मस्तसँग निदाएर दाउराको डोली चढेकी, हो मैले बिर्सें तिमी धुवाँ धुवाँ भएर अनन्त आकाशमा बिलाएकी, खरानी भएर पानी र माटोमा मिलेकी । हो सौमी, आज मैले सबै बिर्सें जब सधैं कुर्तासुरुवालमा आफुलाई सजाउँने तिमी जिन्समा सजिएर मेरो सामुन्ने देखा पर्यौ । हरियो कुर्तामा खुल्ने तिमी  त्यो दिन हरियो टिसर्ट र गाढा निलो जिन्समा पनि त्यतिकै खुलेकी थियौ । सधैं सपक्क पारेर बाँध्ने आफ्ना सुनौला केश त्यो दिन तिमीले हावासँगै लहराउँन छोडेकी, अहो ! कस्तो खुलेको थियो तिमीलाई । सरासरी आयौ फेरी जसरी आएकी उसै गरी फर्क्यौ पनि। मेरी सौमी मलाई देखेर पनि किन अपरिचित झै भईन भन्ने सोच्दा पो बल्ल मैले यथार्थको बोध गरेँ। सपना हो कि सोचेर वरपर नियाँले अहँ त्यो सपना थिएन । पाटन दरबार परिसरका परेवाहरु, देवल, घुमन्तेहरु  आदि आदि सबै यथार्थ थियो अनि त्यस्तै यथार्थ थियो त्यो आकृती पनि।  

सत्य हो त्यो तिमी थीइनौँ तर कोही थियो जो हुबहु आँफैलाई तिमीमा बोकेर हिँडिरहेको। भाग्य भनौँ कि दुर्भाग्य थाहा छैन तर उसमा तिमी देखें र नियास्रो मेटुन्जेली हेरेँ। हो सौमी तिमी फेरी एक पटक छपक्क छोपिएर आयौ मेरो मन भरी । फेरी अर्को मनले भन्यो यो तेरी सौमी होइन आफुलैलाई भ्रममा नराख अनी धोका न'दे आफ्नी सौमीलाई । 

भोलीपल्ट पनि तिम्रो प्रतिबिम्ब उही पहिलो दिन झैँ मेरो सामुन्ने आयो । एक मन लाग्यो तिमी मलाई झुक्याएर मलाई छल्न कतै गएकी थियौ र अहिले फर्कियौ तर त्यो अकाट्य अतित कसरी हट्थ्यो र मन मस्तिष्कबाट । चुम्बकले फलाम ताने झै म तानिएको छु तिम्रो प्रतिबिम्बमा तर जब जब सचेत भएर सोच्छु पश्चातापले जल्छु कि मैले कतै तिम्रो प्रेमप्रती अन्याय त गरिरहेको छैन? फेरी सोच्छु तिम्रो प्रतिबिम्ब बोकेर हिँड्ने उनी को हुन मलाई थाहा छैन मेरो निम्ती त उनी मेरी  सौमी यानेकी तिमी मात्रै हौ ! बाढि आएको नदी झै भएको छ मन जता जता डोर्याउँछ उतै उतै लागिदिन्छु । अचेल। कुनै कुराको ठेगान छैन। मन मस्तिष्कै लथालिङ्ग भएपछी जिन्दगी कहाँ सम्हालिदोँ रहेछ र !

अचेल जब जब तिमीलाई सम्झन्छु तब तब पाटनका गल्लीतिर बराल्लिने त्यही आकृती नियाँल्ने उत्कट ईच्छा लाग्छ। तर पानीको फोका झै भईदिन्छ यो म र पो । एक पटक वाध्य भएर स्वीकार गरिसकेको छु कि तिमी अनन्त: आकाशमा धुँवा बनिसक्यौ, त्यहाँ पुगिसक्यौ जहाँबाट फर्कन सम्भव नै छैन। अनन्त भएकी तिमीले त यो सबै देखेकी हौली नि  होइन ? फेरी किन आफ्ना प्रतिबिम्बहरु मेरा सामु पठाउँछ्यौ तिमी ? म झेल्न सक्दिन सौमी तिम्रो अभाव न त अँगाल्नै सक्छु तिम्रो प्रतिबिम्ब। हो सौमी, म पनि चाडै आउँछु तिमीलाई भेट्न। 

                                                  ****
अन्त्यमा,
सम्बोधन तिमीलाई,
मेरी सौमी आफुमा बोकेर हिँड्ने 'अपरिचिता' तिमीलाई भेटेर तिम्रो नाम सोध्ने हिम्मत ममा छैन। मेरो लागि तिमी कि त अपरिचिता हुन सक्छ्यौ कि त मेरी सौमी। यी दुई मध्ये अहिलेको समयले तिमीलाई अपरिचिता नै रहन दिनु ठीक भन्ने ठहर्यायो। जुन दिन पाटनका परेवाहरुसँग स्वतन्त्रता र खुशी साट्दै गरेकी तिमीलाई देखेँ मलाई ईर्ष्या लाग्यो तिमीसँग किनकि मैले त निकै भएछ हाँस्न बिर्सेंको पनि । परको मोडमा पुगेर हात हल्लाईरहेकी तिमीलाई देख्दा मलाई पुन: मेरी सौमीको यादले रुवायो। कती अलग तिम्रो र मेरो संसार । तिम्रो सहज् र स्वाभाविक हाँसोले पनि मलाई गिज्याए झैँ लाग्यो। मेरी सौमीलाई बोकेर हिँड्ने अपरिचिता मेरो तिमीसँग एउटै मात्र अनुरोध यो डायरी मेरी सौमीको चिनो हो जुन  आज सम्म मैले जतन गरेर राखेको थिएँ ।मेरा अनगिती आँशुहरुको साक्षी बसेको छ मेरो मन नजिक भएर यो डायरी।  किन हो किन हिजो आज मलाई यो बैयक्तिक डायरीको सुरक्षाले चिन्तित पार्न थालेको थियो। संयोग तिमी भेटियौ मेरी सौमीको प्रतिबिम्बन भएर। मेरो लागि यो भन्दा सुखद अरु के नै होला र ? आजबाट तिमीलाई यो जिम्मा लाउँदै छु। किनकी मेरी सौमीसँग म टाढिन सक्दिन। चिन्नु न जान्नुको मान्छेको यस्तो कुराले तिमीलाई रिस उठ्न सक्ला या तिमी मलाई ''बौलाहा'' भनौली मेरो कुनै गुनासो छैन। हो म आँफै आफो नियन्त्रणमा छैन यी दिनहरुमा। यो दुनियाँले त मलाई उहिल्यै देखी ''सिल्ली''को उपमा दिसकेको छ। सोच्नेछु डायरी जसको नासो थियो उसैलाई बुझाउँन सके। पाटनका परेवाहरु सँग हरेक साँझ त्यसै गरी उन्मुक्त भएर स्वतन्त्र खुशी साट्नु है तिमी जुन दिन तिमीलाई मैले पहिलो पल्ट देखेको थिएँ । ए अपराजिता, तिमीले आफुमा सधैं त्यसैगरी मेरी सौमीलाई बोकेर रमाउँनु है। 
                                                                               बिदा !

हो अचेल हरेक साँझ पाटनका गल्लीहरु चाहर्छु म। यही आशामा कि उसलाई पर क्षितिजतिर हेरेर टोलाईरहेको फेला पार्छु कि ! तर अहँ आज सम्म म सफल हुन सकेकी छैन। अचेल जब जब पाटनका गल्लीहरुबाट घर फर्कन्छु एउटै भय उत्पन्न हुन्छ मनमा । 'कतै उसले आफ्नी सौमीलाई भेट्ने बाटो पो पहिल्याई सक्यो कि?' थाहा छैन कहाँ लुकाएर राखेको छ उसले आफ्ना एकजोडी उदास आँखाहरु। म निरन्तर खोजिमा छु ती एक जोडी उदास आँखाहरुको  र रहिरहने छु  चाहे सारा जीवन असफलता किन नभोगुँ।  

'अपराजिता '

बिहान,दिउँसो र साझँको चक्रमा साधारण बितिरहेका दिनहरुमा फरक एउटा  दिन यस्तो आईदियो कि केटीले जुन जुन आफ्नो स्वभावलाई स्वाभिमान ठानेकी थीई उसको लोग्ने बनेको केटाले त्यसलाई घमण्डको नाम दियो। बस्, समस्या त्यही दिन अनी त्यहीँबाट सुरु भयो। समस्याको बीऊ रोपिन मात्र गाह्रो हो रोपिए पछी त्यो रछानको मूला झैँ हालक्क हल्केर आउँछ । केटा र केटीको बीचमा पनि त्यहीँ भयो । एउटा निहुँको बीउ  उम्रिएको ठाउँमा दिनदिन मौका मिल्दा अरु ससाना बीउ नउम्रने ग्यारेन्टी पनि त हुन्न नि !

यस्तै दिनहरु बित्दै गर्दा एउटा अर्को त्यस्तो दिन पनि आयो जुन दिन केटीले संसारका सबै लोग्नेमान्छेहरुलाई तिरस्कार गरेर घिनलाग्दो रुपले हेर्न सुरु गरी र अन्तत: त्यसको बिरोध स्वरुप अर्की आफु जस्तै  केटीसँग बिहे गर्ने शंखघोष गर्दै आफुलाई स्वतन्त्र गराई बिगतको प्रेमी यानेकी वर्तमानको लोग्नेसँग कानुनी रुपमा भने सबै 'पुरुष'हरु सँग भावनात्मक रुपमा । आफ्नो निर्णयमा समाजको प्रतिकृयाको अनुमान केटीलाई पहिल्यै थियो  यसर्थ उसले आफ्ना पछाडि काट्ने कुराहरुको बेवस्ता गरिदीई र आफ्नै स्वतन्त्रता र 'घमन्ड'को नाम पाएको स्वाभिमानमा रमाई । शारीरिक र मानसिक दुबै हेरचाहको अभावमा ओईलाएको केटीको अनुहारको गुराँसमा पुन: रङ्ग चढ्न थाल्यो त्यसको केही दिनमा ऊ ढकमक्क फुली आफुले रोजेको वातवरणमा ।

क्याम्पस जीवनका अन्तिमा खुड्किलाहरु चढ्दै गर्दा केटाले केटीलाई र केटीले केटालाई भेटेका थिए। केही भेटहरु पछि केटो केटीको राम्रै प्रशंसक बनेको थियो  रुपको मात्र नभैइ साना ठुला व्यवहार र केटीको सोचाइ अनी पढाइ र काम गराईको तालमेल सबैको । दिनदिनको संगतले केटीले केटो मन पराई केटोले केटी पहिल्यै मन पराएकै थियो । आपसमा बिहे गर्ने निधो गरे र त्यसको केही दिनमा सँगै बस्न थाले प्रेमीप्रेमिकाबाट लोग्नेस्वास्नीमा रुपान्तरित भएर । केटी चाहन्थी केटो उसको जीवनमा मालिक नभई सहयात्री बनेर आओस्।  केटो सहयात्री पनि ओहोरै असल सहयात्री बनेर देखियो सुरुवाती दिनहरुमा । तर, जसै हिजो,आज र भोलीको चक्रमा दिनहरु बित्न थाले शनै: शनै: केटोमा सहयात्रीपन ओईलाउन थाल्यो भने बदलामा जरा गाड्न थाल्यो मालिकपनले ।

''कमाउने म छँदै छु तिमी केलाई दु:ख गर्छ्यौ,छोडिदेउ जागिर। फेरी तिम्रो कार्यालय पनि टाढा छ।'' बिहेको केही महिना भित्रै केटाले केटीलाई एकसाँझ भन्यो। भएको के थियो भने, क्याम्पस पढुन्जेल र बिहेको सुरुवाती दिनहरुमा राम्रैसँग दबाएको या उपयुक्त अवसर नपाएको  केटोको 'पुरुष मानसिकता'ले बिस्तारै बिस्तारै केटीलाई भुइँ मानेर जरा गाड्न सुरु गरेको थियो।  बिहान केटी केटो भन्दा चाडै उठ्थी, कालो कफी खाँदैँ हतारिदैँ दाल,भात पकाउँथी। तात्तातै दुईचार गाँस खान्थी र कार्यालयका लागि तयार हुन्थी। जब केटी ''लौ म गएँ है,खाना चिसो नहुँदै खानु र समयमै अफिस जानु'' भनेर हतारिँदै निस्किन्थी तब केटो उठेर जिउ तान्दै हाई काढ्थ्यो र नित्यकर्म सकेर चिया या कफिको सट्टा केटीले पकाएर राखिदिएको भात खाएर अल्छे पारामा कार्यालय पुग्थ्यो। बेलुका केटो केटी भन्दा पहिल्यै घरमा दाखिल हुन्थ्यो तर बिहान आफैले खाएर छोडेका जुठा भाँडा देख्दा ऊ झ्याउ मान्दै केटीलाई पर्खन्थ्यो। ईमान्दार भएर भन्दा एक कप चिया सम्म पनि आँफै बनाएर नखाई ऊ केटीको पर्खाईमा बसिदिन्थ्यो।

केटी झमक्क साँझ परेपछी आईपुग्थी र कार्यलयीय लुगा समेत फेर्ने फुर्सद नपाई जुठा भाँडा माझ्ने र चिया पकाउने काममा जुट्थी। केटालाई चिया दिन्थी र पुन: बेलुकीको दाल भातको जोहोमा लाग्थी। केटो पुराना नयाँ पत्रीका हेर्ने बाहनामा चिया खान्थ्यो र चुपचाप बसिरहन्थ्यो तर कुनै पनि दिन केटाले केटीलाई काममा सघाउन आवश्यक ठानेन ।  सुरुवाती दिनहरुमा '' तिमी चाडै आईपुगे पछि त यसो यी बिहानका जुठा भाँडा माझ्दै गर्नु नि,आखिर पहिले एक्लै बस्दा सबै काम गरेकै हौ क्यारे, मेरै बाटो किन हेर्छौ?'' केटीले थोरै गुनासो मिसाएर प्रश्न पनि गरी तर केटोले जवाफ दिनु आवश्यक ठानेन। बरु भोलिपल्टबाट केटो केटी भन्दा पछि घरमा उपस्थित हुन थाल्यो कहिले मिटिङ त कहिले पुरानो साथी भेटेको बाहनामा। केटीले उसको बाहना राम्रैसँग बुझी त्यसैले दोहोर्‍याएर केटोलाई केही भनिन तर केटीको मनमा विचारका विविध लहरहरु आउँदै जादैँ गरिरहे।

जागिर छोड्ने कुरासँग केटी पटक्कै सहमत भईन यो कुरा सजिलै अनुमान गर्न साकिन्थ्यो । बरु केटाको व्यवहारमा पुरुषअंहमका बीउहरु फुटेर पोथ्रा भईसकेको अनुभव गरी केटीले । केटी केटोको कुरा सुने नसुने झैँ चुपचाप आफुलाई काममा व्यास्त पार्न प्रयत्नरत गर्न थाली। केटीको मौनता ''ल हुन्छ,म भोली देखी जागिर जान्न'' भन्ने स्वीकार पक्कै थिएन बरु यो त एउटा मौन बिद्रोह थियो,हाँक थियो। भोलीपल्ट सधैं झैँ घाम उदायो सधैं झै केटीले तात्तातो भात खाएर कार्यालयको बाटो समाती तर पहिले झै ''लौ म गएँ है,खाना चिसो नहुँदै खानु र समयमै अफिस जानु'' भनेर केटोलाई भन्नु आवश्यक ठानिन।

अब केटो दिनहुँ केटीलाई ''जागिर छोड''  भन्न थाल्यो। मौनता भत्काएर ''तिमी छोड बरु जागिर म किन छोड्ने मै पालुँला तिमीलाई, मेरो अफिस पायक पर्ने ठाउँ सरौँला कोठा पनि टाढा लाग्छ भने ,तिमीलाई तिम्रो अफिसले दिएको सुविधा भन्दा कता हो कता धेरै सुविधा छ मेरो जागिरमा''  भनेर भन्ने मन नभएको त कहाँ हो र केटीलाई तर यति रुखो हुन केटीको प्रेमिका मन मानेन्।

 ''तिमीलाई थाहा छ मैले यो जागिर कती दु:खले पाएकी हुँँ र  दिनरातको मेहनतले आजको स्थान प्राप्त गरेकी हुँ अनी तिमीलाई यो पनि थाहा होला कि तिमीले छोडिदेऊ भन्दैमा खुरुक्क जागिर छोडेर घरमा म कुनै हालतमा बस्दिन भनेर अनी के को दिनदिनको रटान हो''  रुखो नबोले पनि केही आवेगमा आएर केटी कराई।

 ''मेरो ईज्जतको पनि ख्याल किन गर्दिनौँ,साथीभाइ खिस्याउँछन मलाई ''यसकी त बुढी पनि जागिरे'' भन्दै  उडाउँछन।  केटोले सम्झाउँने पारामा भन्यो।

''खै त मेरा साथी त न मलाई खिस्याउँछन न उडाउँछन कस्ता साथी हुन त तिम्रा को जागिर खान्छ को खाँदैन, अनी कस्ले के गर्छ के गर्दैनको चेवा गर्दै अर्काको वैयक्तिक जीवनको चासो गर्दै हिँड्ने,के तिम्रो अफिसमा कामकाज हुन्न?'' केटीको महिनौँ देखी दबेको आवेगले निस्किने बाटो खोज्छ।

''साँच्चै भन्दा मलाई पनि मन परेको छैन तिमीले जागिर खा'को, के नपुग्दो छ र? दिनभरिको कामबाट घर आयो एक कप तातो चियाको आशले तर जुठा भाँडाले स्वागत गर्छ, पहिले को कुरा बेग्लै थ्यो तर अब तिमी घर सम्हाल्न तिर ध्यान देऊ।''  अर्को कुनै बिदाको दिन केटोले फैसला सुनायो।

''पहिलेको कुरा बेग्लै थियो रे भने पछि पहिलेको मान्छे पनि बेग्लै अहिलेको बेग्लै होला होइन, यसै पनि तिमी पहिले झै छैनौँ, र अर्को जहाँसम्म घर सम्हाल्ने कुरो छ त्यो मैले अहिले पनि सम्हालेकी छु तिम्रो पनि घर हो तिमीले पनि सम्हाल्न हुन्छ, मेरै मात्र भाग किन लाउँछौ? पछिल्लो पटक कहिले घरको काममा सघाएका थियौ याद पनि छ? तिमीलाई अफिस सम्हालेर घर आउँदा चिया खुवाउँन  मैले जागिर छोड्नुपर्‍यो होइन, मैले यतिका महिना देखी घर र अफिस एकसाथ कसरी सम्हालेकी छु कहिल्यै सोच्यौ? म भन्दा दुई घण्टा चाडै आउँने मान्छे तिमी हो क्यारे कति  काम गर्ने गरेको छौ आँफैलाई थाहा होला ।''  केटी राम्रैसँग वादविवाद गर्ने सुरले मंचमा ओर्ली।

'' ए अब त्यसो भए अब मैले भाँडा माझेर,चिया टक्र्याएर महारानीको सेवा गर्नु पर्‍यो।''  केटो बुरुक्क उफ्रेर कुर्लियो।

''गरे हुन्छ,अनी चिच्याउँन मलाई पनि आउँछ बुझ्यौ,तिम्रा बा'ले तिम्री आमालाई, भिनाजुले दिदीलाई र दाइले भाउजुलाई थर्काए झैँ तिमीले पनि  मलाई थर्काउँला भन्ने सोचेको भए त्यो सोच आज अहिल्यै निकालेर फालिदिए हुन्छ। म तिम्रो आसे होइन परिआए प्रतिस्पर्धी हुँ यति बुझे हुन्छ।  '' केटीले  फैसला सुनाई।

''घमण्डी'' केटोले भुइँमा थुक्दै केटीलाई हेरेर भन्यो ।

'' सही भनिस्, आफ्नो स्वाभिमानमा बस्न चाहने र अस्तित्वको लडाइँ गर्नेलाई यो समाज यही उपनाम दिन्छ।'' केटीले पटक्कै हार मानिन।

''म तँसँग बस्दिन यदि जागिर छोड्दिनस् भने।'' केटोले विकल्प सहितको अर्को फैसला सुनायो सायद यही सोचेर कि निर्णय आफ्नो पक्षमा पर्ला।

'' तँ मलाई के छोड्छस् मै छोड्छु तँलाई।''   त्यही निर्णय सुन्न पुर्वतयारी सहित बसे झैँ केटीले आफ्नै पक्षमा फैसला सुनाई। यदिका महिना देखी मनमा थन्किएर बसेका आवेगहरु पोखिदाँ आफ्नै मन हलुङ्गो भएको महशुस भयो केटीलाई। त्यस माथि भर्खरै आफ्नो पक्षमा आँफैले सुनाएको फैसला सम्झेर मनैमनमा मुस्काई।

केटोसँगको सम्बन्ध असफल भएपछी केटीमा पुन: विपरित लिङ्गी प्रतिको मोह लेश सम्म पनि बाँकी रहेन। अन्तत: आँफैले घोषणा गरे अनुरुप अचेल केटी अर्की  उस्तै राम्री र सक्षम केटीसँग नारिएर हिँड्छे।  हिजोआज केटी पहाडी गुराँसलाई आफ्ना  गालाहरुमा रातम्य फुलाएर बसन्तपुर दरबार परिसरतिर या  भक्तपुर दरबार परिसरमा कहिले एक्लै त कहिले अर्की सहयात्रीको साथमा निस्फिक्र घुम्छे दुनियाँलाई बिर्सेंर।  अचानक एकदिन केटीले मलाई पाटन दरबार परिसरमा बोलाई र आफ्नो कथा सुनाई साथमा यो पनि सुनाइ कि ऊ आफ्नो जीवन बँचाइसँग पूर्ण सन्तुष्ट छे र अहोरै खुशी पनि छे। अझ... मैले उसको कथा लेखिदिने थाहा पाए पछि उसको खुशी दुगुना भएको थियो।

परी

निख्रदो पुषको कलिलो घाम अलमल अलमल गर्दै परीको कोठाको झ्यालसम्म आईपुग्छ र पनि ऊ उठ्ने तर्खर गर्दिन। 'परी' आमाबाले मायाले राखिदिएको नाम। नाम अनुसारकै रुप पाएकी छ्यौ भन्थे उसलाई देख्ने प्राय: सबैले । बेलुका देखी ओछ्यानकै कुनै कुनो ओगटेर रात काटेको मोबाईल सिरक भित्रैबाट छामछाम्छुम्छुम गरेर फेला पार्दा कुन्नी कताबाट एक झोक्का हावा सिरक छेडेर उसलाई सुम्सुम्याउन सफल हुन्छ । ''आछ्छु''को भावमा सिरक भित्रैबाट मोबाईल चलाऊन थाल्छे परी तर, वाईफाईको सिग्नल नदेख्दा बत्ती नभएको सहज ज्ञान प्राप्त गरी मोबाईल फेरी ओछ्यानकै कुनोतिर मिल्काएर ऊ पुन: निदाउने रहर गर्छे। यता रातभरिको शितले कठ्यङ्रिएको बिहानी भने त्यै कलिलो घाममा तन्याकतुनुक आफुलाई तन्क्याउँछ र घाम तन्नेरी हुने समय कुरेर बस्छ।

काठमाडौँको एक्लो बसाईँ, जागिरको छुट्टीको दिन भएर पनि होला आज परीलाई झटपट ओछ्यान छोडिहाल्ने  मन छैन ।  मन लाग्दा खायो मन नलाग्दा सुतिदियो। के किन जस्ता प्रश्नहरुको सामना गर्नु नपर्ने भएरै उसले यो एक्लो जीवन रोजेकी हो। ऊ बाट छुट्टीएर पुन: ओछ्यानको शरणमा परेको मोबाईलले बिद्रोह गरे झैँ तुरुन्तै घुरेर फोन आएको संकेत गर्छ। 'कुन्चैले काम पाएन यो एकाब्यानै' बिहानै त्यसरी आफुलाई सम्झेकोमा झिँजो मान्दै ऊ मोबाईलको स्क्रिन पनि नहेरी सोझै कानतिर फोन टाँसेर निद्रालु बोल्छे,

'हजुर।'

''घाम टाउकामाथी आईसक्यो तै पनि यो केटी उठेकी छैन ए।''  फोनैबाट देखे झैँ गरेर आमा परीलाई ''अल्छि'' भन्दै हकार्नुहुन्छ ।

'ह्याया, अनी तपाईंलाई थाहै छ त म बेलुका अबेर ...' परीको वाक्य पुरा हुन पाउँदैन ।

''ल ल भो, छोरीमान्छे भएर यती अबेलासम्म पनि सुत्छन ? कहिलै नसुध्रने भै' यो केटी '' क्षणिक रिससँगै आमाको दिक्दारीपूर्ण स्वर सुनिन्छ। सधैं सुन्नबानी परेका आमाका शब्दहरुले उसलाई छुँदै छुँदैनन्  ।

'अनी किन एका बिहानै ?' झिँजो मानेर ऊ आमालाई सोध्छे।

'बाउआमा छन् भ्याएँ सम्म घर पुगौँ...लौ भ्याईएन रे  हाताँ फोन छ यसो फोन गरुँ,सञ्चो बिसञ्चो के छ भन्नु छैन अझै उल्टो किन पो छ ए ।''आमाको मन अनी माया पोखिन सुरु हुन्छ साथै थोरै गुनासो र असन्तुष्टीहरु पनि ।

''अस्ती मात्र फोन गरेकी होइन र मैले, अनी के नै हुन्छ र दिनदिनै फोन गरिरहनु पर्ने त्यस्तो '' ऊ आमालाई स्पष्टिकरण दिन्छे आफुलाई वहाँहरुको वास्ता नभएको होइन भन्ने एकिन दिलाउँन।

'लौ लौ मुखले ठीक्क नपार, मामाघरबाट तेरो दाजुले फोन गरेको थियो, बैनीले के विचार गरी भनेर सोध्न, के भनिदिउँ म? तँलाई कुरा पर्नै हुन्न ऊ मलाई गनगन गर्छ कस्तो बिचाँ पारेउ ए तिमेरुले मलाई । ''

' फेरी त्यै कुरा हैन, कती भन्नु पर्छ त मैले तपाईंलाई म बिहे गर्दिन भनेर सधैं एउटै कुराले दिक्क नलऊनु त मलाई... अनी भन्न सक्नुहुन्न दाईलाई मलाई नभन बैनीसँगै  कुरा  गर भनेर । किन बिचाँ पर्नु त साक्दिन म भनेर पन्छिए भै'गोन्त।' एकै सासमा यति भनेर आमाको अरु कुरै नसुनी फोन काटेर मोबाईलाई पुन ओछ्यानकै शरणमा फालिदिन्छे । वर्तमानमा अडिग रहन्छु भन्दा भन्दै पनि बिगतका पानाहरुमा उसको मन बेपत्ता भाग्छ उसलाई त्यही छोडेर ।

हिजोआज जस्तो रुखो बोली पहिले मेरो कहाँ थियो र?  यो मनपनी यस्तो बन्जर र बेरस पहिले थिएन। सबै बिस बाईसेमा हुने उमेरका रहरहरु ममा पनि थिए। मन परेको मान्छेसँग जीवन काट्ने ,भौतिकताको अभाव आईलागे आत्मियताले क्षतिपूर्ती गर्दै सपनाहरु पछ्याउने अनी आफ्नै सानो र सुखी घर संसारको रहर यो मनको कुनाकानी ननाँचेको पनि त होइन। कस्तरी यी सबको कल्पनामा हरेक रात निदाउने म सपना पनि तिनै रहर साँचो भएको देख्थेँ र प्रत्येक बिहान सन्तुष्टीको निद्राबाट उठ्थेँ।

आमाबाकी एक्ली छोरी भनेको पुर्‍याएर राख्नु भएको थियो। परारैको कुरा त हो नि यत्री ठुली छोरीलाई एक्लै काठमाडौँ पठाउनु पर्‍यो बाटाका साथी पनि भेटिएनन भनेर आमाका आँखा भिजेका । तर के गर्नु सबैको मनले आमाबाको मनले झैँ नठानिदिँदो रहेंछ त !  दोष त कसलाई दिनु उही आफ्नै मनलाई त होला नि किनकी मेरा सङ्गिनीले झै मैले आफ्ना रहरहरु उसलाई जिम्मा दिन चाहिन या सकिन। म भित्रको 'म'ले विद्रोह गर्‍यो र भन्यो 'ए तँ किन आफ्ना रहरलाग्दा रहरहरु मार्न अग्रसर भएकी हँ?'  मैले नजवाफ हुनै पर्‍यो त्यसैले त आँफैलाई सोधेँ दोहोर्‍याई दोहोर्‍याई कि आफ्ना खुशीहरुको जिम्मा अर्कोलाई लगाएर साँच्चै म सुखी हुँला या त्यो अर्को साथ बिनानै... आफ्ना रहरहरुका साथमा सुखी रहुँला?  दुईचार दिन तनावमा बिताए त्यसपछी स्पष्ट जवाफ दिएको थियो दिमागले कि 'त्यो अर्को साथ पाएर तँ सुखी हुन सक्दिनस्।'

आमाले समाज र बासँग लुकाएको आँसु देखेकी छु। त्यस्तै काकी र ठुलीआमाको पनि । अन्तरमनमा अनन्त चोटहरु सहेरै वहाँहरुले आफ्नो सारा जीवन काट्नु भयो झुठो हाँसोमा र अझै काट्दै हुनुहुन्छ। घरको तगारो नाँघ्न  नपाउनु भएका वहाँहरुको त्यो जीवन एक हिसाबले निर्विकल्प पनि थियो होला रे तर मैले त त्यो तघारो उहिल्यै  नाँघिसकेकी छु भने म फेरी किन त्यस्तै जीवन बाँच्न मञ्जुर हुँ? आमा, काकीहरुको कुरै छोडौँ मेरै साथीहरु पनि त सबै आफ्नै लोग्नेको निर्देशनमा चलेका छन्। कुन्नी कसरी रमाएका छन्  खै उनिहरु त्यो बन्धन भित्र। भो, मलाई त सहनु छैन् त्यस्तो बँचाई।  पढाई सकेकै छु,जागीर पनि पुग्दो छ। आज म खुशी छु त्यो साथ बिनानै। म सँग मेरा सपनाहरु छन, रहरहरु छन अनी सबै भन्दा ठुलो स्वतन्त्र बँचाइ छ । अहिलेलाई यत्ती काफी छ भोली त कस्ले देखेको छ र?! यसै पनि जीवनका हरेक मोडहरुमा आईपुग्दा मान्छे अघिल्लो मोड बारे त सधैं अनबिज्ञ नै त रहन्छ नि। आSSS.. जे त होला...! भविष्यप्रति  निश्चिन्त हुन खोज्दा खोज्दै ऊ पुन: असफल हुन्छे र फेरी अल्लारिन पुग्छे विगत र भविष्य बिच... कतै ।

 एउटालाई रहरले  गरेको विश्वास यती गह्रौँ भयो कि अब मैले कुनैपनी अर्को 'ऊ'लाई विश्वास गर्न सक्दिन । सबै 'ऊ'हरुको नियत किन एकै जस्तो मात्र लाग्छ,उही 'नपाउँन्जेली कस्तो पाएपछी सस्तो' भन्या जस्तो । ऊसँग जीवन काट्छु भन्नुको अर्थ मैले मेरा सपनाहरुको त्याग गर्नु या आफुलाई सम्पूर्ण मेटाएर ऊ मा समाहित हुनुपर्ने भन्ने पनि त होइन । सहयात्री पो रोजेकी थिएँ तर ऊ कस्तरी मालिक बन्न खोजेको मेरो जीवनको । छि: घिनलाग्छ मलाई यस्ता बिशेषता पाल्नेहरुसँग, जो आफ्नो भन्दा अर्काको अस्तित्व स्वीकार गर्न सक्दैनन्। सबैले मानेको र धेरैलाई आकर्षित गर्ने विपरित लिङ्गीसँगको सामिप्यताको मोह त्यसै दिन देखी भङ्ग भयो ममा  जुन दिन मैले उसको सामुन्ने आफ्नो स्वतन्त्र अस्तित्वको घोषणा गरेकी थिएँ।

बिनासित्तिमा विगततिर मन डुलेको कत्तीपनी मन पर्दैन परीलाई। तर सोच्न नचाहँदैमा सोचाईका सिलसिलाहरु बन्द हुने पनि त होइनन् नि । सोचाई र विगतको डुलाईबाट मुक्त्ती पाउने आशा लिएर परी अल्छि गर्दै उठ्छे कफिको लागि पानी तताउन थाल्छे। यस्पाली मन उडेर आमाबा भएतिर बरालिन्न पुग्छ। छोरीको बिहे गर्ने रहर दिनरात हुर्काईरहेका आमाबाको खुब नियास्रो लाग्छ उसलाई । मनै मन पिरिन्छे ऊ, यही सोचेर कि कसरी बुझाउँ वहाँहरुलाई यी सब कि अब वहाँहरुकी छोरी 'यो' 'ऊ' मात्र होइन कुनै पनि पराई अस्तित्व आफ्नो जीवनमा स्विकार्न राजी छैन भनेर। दिनरात राम्रो कुलघरानाको खोजिमा लाग्नु भएको छ वहाँहरु...कुन रुपले लिनुहोला मेरो यो निर्णयलाई? खै म आफ्ना कुराहरु बुझाउन सकुँली या नसकुँली ? तर जे त होस्  अब मैले यो कुरा वहाँहरुलाई भन्नै पर्छ अनी झेल्नै पर्छ वहाँहरुको प्रतिकृया पनि चाहे जस्तोसुकै किन नआओस्।

परी सकेसम्म चाडै  घरजाने योजना बुन्न ब्यस्त हुन्छे मनमनै । उम्लेको पानीमा कफी हालेर झ्यालको पर्दा खोल्छे, खुलेको दिनमा तन्नेरी घाम झल्मलाई रहेको हुन्छ। आफ्नै भोलीका सुनौला र स्वतन्त्र दिनको झझल्को देख्छे ऊ  ती घामका किरणहरुमा र आँफैमा हाँस्छे एक सन्तुष्ट हाँसो ।

अपरिचित आकर्षण

कक्षा छुटेर निस्किदै गर्दा एउटी (पहिली) साथी कराउँछे:
 'यार,लखरलखर एक्लै हिँड्न तँलाई कती पनि झ्याउ लाग्दैन हँ ?'

'यसलाई किन झ्याउ लाग्थ्यो नि एक्लै हिँड्न पाए बरु हामीसँगै हुँदा चै झ्याउ लाग्छ नि हैन?' बोल्दै गरेकीलाई जवाफ फर्काए झै गर्दै  अर्की (दोस्री ) मलाई सुनाउँछे ।

'भयो चुपलाग् नक्कली हो,सधैं एउटै कुरामा कती कचकच गर्न सकेका खुरुखुरु हिँडओ अहिले बस छुट्छ अनी खान्छौ ठुलो भाग ।' अर्की (तेस्री ) न्यायधिस्नी हुन्छे ।

यी तिनवटी र म, हामी एउटा फ्ल्याटमा सँगै बस्छौ । कोही पुर्व कोही पश्चिमका भए पनि हाम्रो भेट गराएको थियो विश्वविद्यालय क्याम्पस कृतिपुरले । झन्डै समान उमेरका हामी एउटै कक्षाका सहपाठी हौँ । पहिलो वर्षको आधाआधीबाट सँगसँगै बस्न थालेका हामीले थेसिस पनि सकेर मात्र आ-आफ्नो बाटो रोज्ने निर्णय गरेका छौँ। अहिले सम्म राम्रै मिल्ती छ निहुँ खोज्ने यदाकदा मैले हो सहिदिन्छन् उनीहरु मेरो यस बानीलाई !त्यसैले यतिका समय यिनीहरु सँगै छु म । ....नत्र असरल्ल छरिएको लुगाफाटो र किताब अनी कफिका जुठा कपहरुले भरिएको कोठामा एक्लै बसिदिन्थेँ होला म निस्फिक्र। आजको यो झटारो चै आजपनि म उनिहरुसँगै घर नफर्की फेरी पाटन दरबार स्क्वायर तिर रल्लिन जाँदै छु भन्ने थाहा पाएपछी फालिएको हो ।

'ओेए, आज म पनि जान्छु नि है तँ सँगै, बरु केही बोल्दिन नि अनी तँ सँगै पनि हिँड्दिन डिस्टर्ब गर्छु झै लाग्छ भने।' उही पहिली साथी मलाई फकाउने सुरले भन्छे ।

अरु दिन झै अब उनिहरु '' जाओ न आँफै आँफै... सधैं नारिएर हिँड्नु पर्छ भन्ने छ र?' भन्ने मेरो रुखो जवाफ सुन्न सबै तम्तयार भए झै देखिन्छन तर म केही बोल्दिन। ज्याकेटको दुबै खल्तिमा हात हालेर बाटोका ससाना ढुङ्गालाई लात हान्दै  तिनलाई बल बनाएर एकहोरो हिँड्छु ।

'सुनओ न आज तिनकुने तिर बाट बस नचढौँ ल, हतार के छ र नेपालबैँक हुँदै तलको गेटबाट निस्कुँ न है ।'
म तिनकुनेतिरको बाटो छोडेर अर्को बाटो लाग्छु ।

यन्त्रचालित तिनकुनेतिर सोझिएका उनिहरुको पाईला टक्क अडिन्छ मेरो कुरा सुनेर। तीनवटी नै मुखामुख गर्छन् र मलाई हेर्छन। कुन्नी किन हो उनीहरु मेरो कुरा काट्दैनन,मेरै पछी लाग्छन ।  हुन त म उनीहरुसँग खासै दोहोरो बोल्दिन उही काम परे मात्र हो । खाना पकाउने, भाँडा धुने, कुचो लगाउने जस्ता घरयासी काममा आफु आफु पालो गर्छन् तर उनीहरु मेरो बाटो हेर्दैनन,यो सबैको सट्टामा हरेक शनिवार बजार गईदिनु पर्छ मैले उनीहरु सँग। पहिली र दोस्री भन्दा शायद तेस्री सानै देखी होस्टलमा हुर्केकी म अनी मेरो स्वाभावलाई राम्ररी र सही बुझ्छे। उसैले ती दुईटी र मेरो चित्त यथास्थानमा बुझाउँछे। सधैंको लापर्वाही म अनी मेरो स्वभावबाट दिक्क नमानी ऊ मेरा छिरल्लिएका लुगाहरु तह लाउँछे, किताबमा जमेको धुलो झार्छे। किनकिन ऊ मलाई मेरी हजुरआमा झै लाग्छ।

दरवार स्क्वायर जान्छु त भनेँ तर जाऊ कि नजाऊको दोधार भएरै मैले यो लामो बाटो रोजेकी थिएँ । केही दिन अघि यसैगरी यी साथीहरुलाई छलेर पाटनतिर रल्लिदै गर्दा भेटेको थिएँ उसलाई। परेवाहरु जम्मा पारेर मैले गहुँ/मकै  ख्वाएको उसले देखेको रहेछ । मेरो एकधुनता देखेर मलाई चिढ्याउनै होला उसले जानी जानी परेवा उडाईदिएको ।

                                                        *****

'कस्तो बेसोमतिलो मान्छे रै'छ। ' मुखबाट रुखो बोली निस्की त गो ।

''आफै जस्तो सोच्या हो?'' उस्तै रुखो बोलीमा जवाफ आयो ।

'तिम्लाई म किन आँफै जस्तो सोचुँ?'

''किनकी म तिमी जस्तै छु ।''

'म कस्ती छु ?'

''तिमी म जस्तै छ्यौ ?''

'................................काम छैन तिम्रो ?'

''नभए खोजिदिन्छ्यौ ?''

'के तालको मान्छे हौ बिनासित्तिमा किन निहुँ खोज्या होला?'

''निहुँ खोज्या होइन परिचय गर्न खोज्या अर्को आफु जस्तै मान्छे देखेर।''

'चिन्नु न जान्नु घचेडी माग्नु भन्या जस्तो।' म भुत्भुताउँछु !
मलाई मज्जैले झोँक चल्छ । भर्खरै सम्म ऊ सँग जुधिरहेका आँखाहरुलाई अन्तै फर्काउँछु ।

''अरे तिमी त साँच्चै रिसायौ जस्तो छ नि, सरी ल तिम्रो परेवा धपाईदिएकोमा, खै लेऊ म बोलाईदिन्छु फेरी तिम्रो परेवा ।'

ऊ मेरो हातको गहुँ/मकै खोसेर परेवा भए तिर हुर्‍याउन थाल्छ म उठेर हिँड्ने सुर कस्छु।

''नाम त भनेर जाउ ''

'भन्दिन के' म फन्किएर हिँड्छु ।

ऊ मलाई पछ्याउँछ ।

''तिमी पत्याउ या नपत्याउ तर मैले तिमीलाई निकै पहिले देखी नियाल्दै आएको छु, कुनै दिन तिमी उदास देखिन्छ्यौ कुनै दिन खुशी तर धेरै जसो कता कता हराए झै। धेरै दिनदेखी बोल्न खोजेको हुँ......तर हिम्मत जुटाउन यतिका दिन लाग्यो र पनि जुटाएँ।''

'..................................'

''कुन्नी किन हो तिमीप्रती आकर्षित छु। हरेक दिन आउँछु यहाँ तिमीलाई देख्न पाउने आशले तर तिमी सधैं भेटिन्नौ। दुई तीन दिनको लगातार पर्खाइ पछी जुन दिन तिमी पुन: यहाँ देखिन्छ्यौ त्यो दिन मेरो खुशीको सीमै हुन्न। राम्रा लागेका जती सबै चिज आफ्नो बनाउँ लाग्ने मानवीय स्वाभावबाट म पनि अछुतो छैन तर सम्बन्ध बन्नको लागि पर्याप्त समय आवश्यक छ यो म मान्दछु। ''

' अपरिचित व्यक्तिलाई लिएर एकहोरो यती सोच्नु ठीक होइन। तपाईं के जान्नु हुन्छ मेरो बारेमा ?'

''त्यही जान्न मन लगेर त तिमीलाई अगिनै देखी डिस्टर्ब गरेको।''

दरबार स्क्वायरको परिसरबाट लगभग बहिर निस्किन आँट्दै गरेकी मलाई देखेर ऊ फेरी भन्छ :
''सधैं झै फेरी पनि तिमीलाई कुर्नेछु अनी मेरो मन भन्छ तिमी पनि फेरी आउँनेछ्यौ। ''

                                             *****

'ओेए केटी ध्यान कता छ ? अगाडिबाट आएको यत्रो बस देखिनस्? 'पाखुरामा समातेर सडक छेउ तान्दै गरेकी तेस्री साथीको आवाजले पाटन दरवारको परिसरबाट एकै पटक म कृतिपुरको परिसरमा खस्न आईपुग्छु। अनी पो छेवैँबाट छोएर गएको बसको हावाको ज्ञान हुन्छ मलाई। उसलाई हेरेर फिस्स हाँसिदिन्छु, यो मैले आफ्नो गल्ती स्विकार्ने तरिका पनि हो। टी.यू मुल गेटमा आईपुग्न लागेकोले अब मैले घर जाने या दरवार परिसर कता जाने एउटा निर्णय गर्नै पर्थ्यो। त्यो घटना घटेको दिन देखी म दरवार परिसर गएकी थीइन। त्यो दिन देखी पछी ऊ लगातार त्यहाँ आयो कि आएन होला भन्ने खुल्दुली त बेलाबखत लागेकै हो।  छोटो र रुखो भेट भए पनि उसको प्रभाव मलाई नपरेको भने थिएन। सोचेँ जे त होला ..... आज भेटेँ भने राम्ररी कुराकानीको सुरुवात गर्नेछु।  मनले पनि सहमति जनायो र भन्यो '.. यी तीनवटी बाहेक अर्को कोही भेटिएको छ जो तँलाई बुझ्छ....तँलाई सहिदिने अर्को एक जना थपियो ।'
'तिमरु पनि जाने भए हिँडओन्त आज... भरे बेलुका सँगै घर फर्किउँला ।'
 एक्कासी मेरो कुरा सुनेर सबै अलमल्ल परे। कुनै प्रतिकृया नदेखाए पछी फेरी भने:' के ट्वाल्ल परिराख्या जाने भए हिँडओ बस आईसक्यो ...'आईरहेको पहेँलो बस देखाउँदै म झर्के, र बस रोक्न हात दिएँ ।


 

कथा - दीवा अनी उसको रहर


''दिदी कहाँ सम्म जाने हो खै टिकट देखौँनुहोस् त।''
माईक्रोको फुच्चे भाईले थानकोटको ओरालो छिचलेर खानी खोला नपुग्दै  दीवालाई झकझक्याउँछ।  कहाँ जान हिंडेकी हुँ अनी यो कहाँ जाने माईक्रो हो को जानकारी बिनै माईक्रोको एक्लो सिट रोजेर बसेकी दीवा अलमल्ल पर्छे सोध्छे 'यो कहाँ जाने माईक्रो हो भाई?'
 प्रश्न सुनेर वरपर सिटका केही आँखाहरुदीवा तिर फर्किन्छ भने  फुच्चे भाई फिस्स हाँस्छ।
'तपै काँ जानी यो माईक्रो चै पोखरा जानी हो' खितित्त हाँस्दै ऊ दीवालाई हेर्छ।
'म पनि पोखरा जाने म सँग टिकेट छैन भाडा कती लाग्छ लाउ कटाउ' पाँच सयको नोट ऊ तिर फर्काउछे दीवा।
वरपर सिटका मान्छेहरु मुखामुख हेर्छन र रहस्यमयी हाँसो हाँस्छन।
ती सब मान्छे अनी तिनको हाँसोलाई बेवास्था गर्दै दीवा मोबाईलमा ईयरफोन जोड्दै दुबै कान टम्म पार्दै  झ्याल तिर फर्कदै निदाउने बाहाना गर्छे।
निदाउने त एक बहाना मात्र थियो।तर दीवाको मन भने अनेकौ कल्पना र तर्कनाले भरिदैँ थियो । आजको गन्तब्य पोखरा बन्यो तर भोलीको गन्तब्य कहाँ? आफ्नै मन सँग प्रश्न  गर्छे। यसरी कती दिन भाग्ने अनी कहाँ कहाँ भाग्ने...सम्पन्न घर,माया गर्ने प्रेमी र आफन्तहरु यी सब छोडेर किन अनी के का लागि  भाग्ने? अधिकाँशको सपना हुन्छ कि सम्पन्न घर होस् माया गर्ने लोग्ने अनी आफन्त। सानो सुखी परिवार। तर म त यी सब छोडेर हिँड्दै छु। के को लागि त एक पटक ऊ आँफैलाई टकटक्याएर जवाफ खोज्छे। सुख भोग्न छोडेर हिंडेकी छेस दु:ख त पाईहाल्छेस त्यै खोज्न त हिंडेकी होलिस एक मन ऊ सँग फेरी भुतभुताउँछ।
सम्झन्छे ऊ भित्र  कहिले देखी यसरी जिन्दगी जिउने रहर पलायो होला। न त आफ्न आफन्तमा उसले रोजे जस्तो जिन्दगी भोगेको देखेकी छे न त सुनेकी नै । यो रहर ऊ भित्र  कहाँबाट कुन दिनमा कसरी उम्रन भ्याएछ कुन्नी?'तर्कना र कल्पनाको दोसाधमा ऊ छोडेको त्यो घर र मोक्षको सम्झनामा पुग्छे।
                                    ***********
'हामी बिहे कहिले गर्ने भन्या? घरमा आमाबुवाले सोधेको सोध्यै हुनुहुन्छ। तिम्रो घरबाट पनी त्यै कुरा आ'को आयै छ। तर तिमी किन कानमा तेल हालेर बस्छौ भन्या भन त।'
मोक्षको यो गनगन सुन्दा सुन्दा म हैरान भईसकेकी छु। उसलाई सधैं बिहेकै धुन छ उसको यो लगाबलाई अब त दुई परिवारको साथ पनि मिलेको छ। यी दुई परिवार बाहेक समाज र बाह्या दुनियाँका लागि भने हामी बिवाहित जोडी नै थियौ। झन्डै तीन वर्ष अघी मोक्ष र मैले आ-आफ्नो घर सल्लाह अनुसार घर छोडेर फ्ल्याटमा सरेका थियौ।
 'एई दिवा,तिमी किन केही बोल्दिनौ हुँ,  समस्या पनि त केही छैन हामीलाई। हाम्रो परिवार हाम्रो साथ छ हामी सक्षम छौ,आखिर के पुगेको छैन हामीलाई' एक साँझ मोक्ष फेरी गनगन गर्छ।
''मोक्ष,यदी म तिमीलाई छोडेर भागे भने तिमी के गर्छौ?'' उसको गनगन सकिने बितिक्कै उल्टो म उसलाई प्रश्न गर्छु।
'के रे, के भनेकी तिमी  मलाई छोडेर भाग्छ्यौ रे किन?
'किन होइन पहिले जवाफ देउ'भन के गर्छौ?'
म... म खै थाहा छैन..... के गर्छु के गर्छु... कि त मार्छु कि त पगल हुन्छु।
'धत, कस्तो कायरले जस्तो कुरा गरेको। छोरा मान्छे भएर पनि यस्तो हुतिहारा कुरा गर्छौ तिमी?'
'कायर अनी हुतिहारा हैन दिवा, एक्लै बाँच्नु भनेको दुखी भएर निरस लाग्दो जिन्दगी बाँच्नु हो, म त्यस्तो जिन्दगी जिउन चाहन्न।'
'तिमीलाई कस्ले निरस जीवन बाँच भनेको छ र अर्को बिहे गरेर खुशी साथ बस न हुन्न?'
'के भयो किन यस्तो कुरा गर्दैछ्यौ आज तिमी, के मैले फेरी तिम्रो मन दु:खाएँ र दिवा?'
'हैन मोक्ष तिमीले मेरो मन दु:खाएका छैनौँ।'
'त्यसो भए तिमीले मलाई स्वार्थी सम्झेकी ?'
'मैले त्यसो पनि त भनिन नि।'
'तिम्रो कुराको मत्लब त यै हो नि हैन?'
'जसो तिमी बुझ'।
'तिमी ले यो कसरी सोच्यौ दिवा, म तिमी बाहेक अरु सँग घरजम गरेर खुशी हुन सक्छु भनेर,बरु मलाई मर भन म तिम्रो अगाडि आँफैलाई मार्न सक्छु तर प्लिज आज देखी यस्तो कुरा नगर्नु।'
'मोक्ष,तिमी त धेरै भावुक भयौ त।'
'म भावुक भएको हैन,तिमीले बनाएकी हो'।
 'मोक्ष, जिन्दगी सबैको आ-आफ्नै हुन्छ। तिमीले मलाई जती प्रेम गर्छौ सायदै कसैले कसैलाई गर्न सक्ला, र मैले पनि तिमीलाई जती निकट अब सायदै कसैलाई बनाउँन सकुँली, तर मेरो एउटा बेग्लै रहर छ जुन रहर मैले जान्ने भए देखी मेरो मनमा हुर्केको छ।'
'त्यस्तो के रहर हो तिम्रो जुन आज सम्म मलाई पनि नभनी लुकाएकी थियौ, के हो भनन म सके सम्म चाडै पुरा गर्ने कोशीस गर्नेछु।'
'तिमीले सोचे जस्तो सजिलो छैन।'
'सजिलो असजिलो को कुरा हैन, तिमी भन मात्रै।'
'सुन्ने हिम्मत छ तिमीमा।'
'भनेर हेर।'
'मोक्ष, म तिमी सँग बिहे गर्न सक्दिन। मेरो पेटमा हुर्कदै गरेको सन्तानलाई अविवाहित रहेरै जन्म दिन चाहन्छु ।'
'के कुरा गर्दै छ्यौ तिमी ? के तिमी होस् मा त छ्यौ? यो कस्तो बहुलठ्ठी कुरा हो?के तिमी पागल त भईनौँ?
'तिमी त आवेशमा आयौ,यसमा त्यस्तो आवेशमा आउनु पर्ने के नै छ र मोक्ष, अनी म बेहोसी छैन। यही रहर हो मैले जान्ने भए देखी आफु भित्र पाल्दै आएकी।'
'मलाई किन अपराधी बनाउन खोज्दै छ्यौ दिवा तिमी?'
'मैले कसरी तिमीलाई अपराधी बनाए र ,मोक्ष? म त तिमीलाई सम्मान गर्छु अनी प्रेम पनी।'
'के यही हो तिम्रो सम्मान र प्रेम? हो भने भो मलाई यस्तो सम्मान र प्रेम नगर।'
'प्रेम गर्नु को अर्थ बिहे गर्नु मात्रै पनि त होइन नि मोक्ष।
'अनी जसलाई तिमीले आफ्नो पेटमा पाल्दै  छ्यौ उसलाई पनि एक्ल्याउछौ म बाट?यो समाज अनी दुनियाँले तिमीलाई के भन्छ?म तिमीलाई कसैले नराम्रो भनेको सहन सक्दिन। हो, तिमीले अरु कोही रोजेकी छ्यौ भने ठीक छ उसै सँग बिहे गर म तिमीलाई रोक्दिन तर यो बिहे नै नगर्ने, एक्लै सन्तानको जिम्मेवारी उठाउने कुरा म सँग नगर।'
'अरु कसैलाई प्रेम गरेर मैले  तिमी सँग बिहे गर्दिन भनेकी हैन मोक्ष, यदी बिहे गर्नु थियो त म तिमी सँगै बिहे गर्थे नि। त्यसैले तिमी जे भन तर बिहे गर्ने मेरो विचार छैन।'
'यो हुन सक्दैन, म सँग यस्तो कुरा नगर दीवा, म हुँदाहुँदै हाम्रो सन्तानलाई तिमी टुहुरो बनाउन सक्दिनौँ।'
'म हुँदा हुँदै ऊ कसरी टुहुरो हुन्छ मोक्ष,आज सम्म मैले देखेको नारी जीवन भन्दा भिन्न जिन्दगी बाँच्ने मेरो रहर छ। बिहे गरेर मात्रै नारीहरु आमा बन्छन भन्ने मान्यता म मान्दिन। म यो समाज र मेरो जिन्दगीलाई बेग्लै गरी भोग्न चाहन्छु।'
'अनी मेरो रहर?'
'तिम्रो रहर पुरा हुन मेरो रहरले रोक्दैन मोक्ष, तिमी अरु कसै सँग बिहे गरेर पुन: रमाउन सक्छ्यौ।'
'फेरी उही कुरा भो आज यस बारे कुरा नगरु, तिमी आराम गर।'
'मोक्ष, मलाई केही भएको छैन तर तिमी यस बिषयमा सोच्नु है।'
'ओहो फेरी.............'
'लौ लौ आजलाई त बन्द गरेँ, तर कुनै दिन म भागे भने मलाई नखोज्नु नि है।'
'यो असम्भव छ दीवा'' मोक्ष दीवालाई यसरी अँगाल्छ कि मानौ ऊ अहिलै भाग्न आँटेकी थीइ र मोक्ष उसलाई रोक्दै छ।
                                       *****
आज दीवा साँच्चै भागी आफ्नो मोक्षलाई छोडेर,  साविकको समयमा भरे अफिसबाट घर नपुग्दा उसको अवस्था के हुन्छ होला सोचेर दीवा आत्तिन्छे। तर आफ्ना भावी दिनको कोरा कल्पनामा पुन: हराउँछे। पोखरा या अरु कुनै शहरमा बस्दा मोक्ष खोज्दै आईपुग्ने भयले ऊ आफ्नो अबको गन्तब्य सुदुर पश्चिमका गाउँलाई बनाउने निश्चित गर्छे। र, मुग्लिनमा खाना खान रोकेको माईक्रो चड्दिन। उसलाई खोज्दै फुच्चे भाई फेरी आउँछ तर उसले आफु नजाने बताउँछे।मुग्लिन सम्मको भाडा कटाएर अघिको पाँच सयबाट अरु पैसा फिर्ता दिन खोज्दै गर्दा फुच्चे भाईलाई ''तिमी नै राख, त्यो तिमीलाई'' भन्दै हाँसिदिन्छे। फुच्चे भाई नौलो हाँसो हाँस्छ र फर्कन्छ। अघी उसलाई बोकेर ल्याएको माईक्रो उसलाई त्यहीँ छोडेर केही क्षण मै अपल हुन्छ।  दिवा पुन: सडक छेउ उभिएर अर्को बसको प्रतिक्षा गर्छे।


(नोट- जागँरले साथ दियो भने कुनै दिन भाग दुई लेख्न सक्छ। तर तिब्र प्रतिक्षा चै नगर्नु है । :D)

भाग्य कि दुर्भाग्य !


म बसेको घर  मुल सडक छेवैमा छ। सडक छेवैको घरको पनि माथिल्लो तलाको सडक तिरै फर्केको कोठालाई आफ्नो सानो संसार बनाएर यहाँ बस्न थालएकी पनि अब लगभग चार वर्ष हुनलाग्यो। अचेल यो कोठाको सबैभन्दा प्रिय स्थान त्यै सडक पट्टी फर्केको झ्यालले ओगटेको छ।  त्यसो त सुरुका दिनहरुमा मलाई यो झ्याल पटक्कै मन पर्दैन थियो। तर, सडकपारि देखिने फाँटले गर्दा नै मलाई अचेल यो झ्याल मन पर्न थालेको छ। फाँट सँगै सडकको चहलपहल पनि लोभलाग्दो बन्दै गईरहेंको छ। भर्खर-भर्खर बस्ती बस्न थालेको यो फाँटको छाती चिरेर लमतन्न परेको यो कालो,धुले सडक अनी हतारिदैँ आउ-जाऊ गर्ने सबैलाई म चिन्छु। कर्मचारी,स्कुले केटाकेटी,स-साना नानी डोर्‍याउँदै हिँडेका आमाहरु,साँझ बिहान दुध बेच्ने,साग बेच्नेहरु सबै। यहाँ झ्यालबाट बाहिरको चहलपहल नियाल्नु मेरो दैनिकीको अनिवार्य अङ्ग भईसकेको छ।
यो झ्यालबाट यसरी वरपर नियाल्नुमा मेरो कुनै उद्देश्य छैन। मलाई नजिकबाट चिन्नेहरु अनी कहिलेकहीँ भेट्नेहरु सबैले भन्ने गरेको एउटै कुरा त्यो हो कि म थोरै बोल्छु। यसर्थ,मेरा धेरै कुराहरु अव्यक्त्त रहन्छन। यहाँ बस्न थालेको यतिका वर्ष बितिसक्दा पनि म कसै सँग परिचित हुन सकेकी छैन।बिहान क्याम्पस जानु बाहेक मुस्किलले घर छेवैको पसल सम्म निस्कन्छु कहिलेकहीँ आवश्यक सामान किन्न नत्र कसैसँग आँखा जुधाउँनु,गफ गर्नु जिस्कनु, साथीसङ्गी जम्मा भएर गफ्फिनु या कतै घुम्न जानु यी सबैबाट धेरै टाढा छु। यी सबको साटो म कोठामै किताब च्यापेर घण्टौ हराउन मन पर्छ। म आफ्नै आदर्श बोकेर हिँड्ने गर्छु। हुन सक्छ अझ सम्म मेरो आदर्श काँचै छ,अनी यही काँचो आदर्शकै कारण होला मेरो कुनै लक्ष्य छैन,कुनै गन्तव्य छैन। कहिलेकहीँ आँफैलाई पनि आफु एकतमासको लाग्छ। साथीभाई,घुमघाम,फिल्म वा अरु यस्तै मनोरञ्जन छोडेर एक्लै कल्पनामा उड्नुमा,किताबमा हराउनुमा म त्यस्तो के भेट्छु कुन्नी? तर,अब यही एकतमासको जिन्दगीको अभिन्न अङ्ग भएर आएको छ यो झ्याल अचेल। कस्तो मनोरञ्जन भेट्छु कुन्नी,तर म चौपट्टै खुसी भेट्छु त्यहाँ आफुलाई सडक पढ्दै र भुल्दै गर्दा ।
यी साउनका अन्तिम दिनहरु हुन। भर्खरै पानी परेको आकाश उघ्रिएको  छ। बिहानी क्याम्पसको जागिर सकेर म भर्खर यही झ्याल छेउ हराउन आईपुगेकी छु। म बसेको घर नजिकै स-साना नानीहरुको नयाँ स्कुल खुलेको छ। आज पनि यो सडकको चहलपहल सुरु भईसकेको रहेँछ। कर्मचारी,हुर्केका स्कुले केटाकेटी र स-साना नानी स्कुल पुर्‍याउँन हिँडेका आमाहरुको हतारो देख्दा मलाई यी सबै प्रतिस्पर्धी झैँ लाग्छन। त्यतिकैमा देख्छु- अन्दाजी ३० ३२ जतिको देखिने पुरुष हतारिँदै एउटी राम्री सानी बच्ची  डोहोर्‍याउँदै त्यही दौडमा सहभागी भईरहेँको छ। सानी केटी हिँड्न मानिरहेँकी छैन,बरु ऊ पसल तर्फ औल्याईरहेँकी छ। सायद चकलेट किन्न भन्दै होली बाबालाई। तर उसको बाबा सुनिरहेँको छैन,तानेकै भरमा ऊ छोरीलाई हिँडाई रहेँको छ। उसलाई छोरी स्कुल पुर्‍याएर कार्यालय पुग्ने हतारो होला। मेरो झ्याल समुन्ने आईपुग्दा छोरी चैँ आफुले बोकिराखेको सानी चिटिक्क परेको झोला हुत्त्याउँदै बिद्रोह गर्छे। म चुपचाप हेरिरहन्छु तर अनायासै हाँसो फुत्कन्छ। असभ्य लाग्छु म आँफैलाई यसरी उनिहरुलाई नियालेर हाँसेकीमा, छोरीले फालेको झोला टिपेर संयोगबश हो या मेरो हाँसो त्यहाँ सम्म पुगेकोले हो ऊ मलाई झ्यालमा देख्छ। म पनि हेरिदिन्छु उसैलाई,लाज माने झैँ हाँसु कि नहाँसु गर्छ तर मन हर्ने उसको मुस्कान फुत्किहाल्छ। जुधेका आँखा छल्दै छोरी र झोला बोकेर ऊ त्यहाँबाट अलप हुन्छ।
छोरी सहित ऊ त्यो मोडबाट अलप भए पनि मेरो मन बाट ऊ अलप भईसकेको छैन। गहुँगोरो अनुहारको एक जोडी गहिरा आँखाले मलाई अझै नियाली रहेँ झै लाग्छ। आजको दिन एक बिशेष दिन,आजको हेराई एक बिशेष हेराई अनी आजको संयोग पनि त्यस्तै बिशेष। उसको मन हर्ने मुस्कान म कोशीस गर्दा पनि भुल्न सक्दिन। कता कता कुत्कुती लाग्छ,रमाईलो लाग्छ। कुन्नी कस्तो अनुभव हो यो ठम्याउन सक्दिन। नौलो लाग्छ ठम्याउने कोशीस गर्छु तर अँह पटक्कै सक्दिन। यो झ्याल झन प्रिय लाग्छ, नौलो र रमाईलो लाग्छ। यस भन्दा अघी मैले आफु भित्र यो विचित्र भाव र चञ्चलता कहिलै अनुभव गरेकी थीइन। किशोरावस्थामा नलागेको कुत्कुती अनी चञ्चलता अब किन ? जिन्दगी रित्तो भएर हो या भरिएर हो म सँग सम्झन र बिर्सनलाई केही पनि छैन।
त्यस दिन देखी यता उसलाई म सधैं देख्छु। अब म सँग कल्पना गर्नलाई एउटा छायाँ छ भने सोच्नलाई बिषय। एक हिसाबले म बिहान क्याम्पसबाट हतारिदै घर अब उसैका लागि आउने गर्छु। ऊ पनि हरेक दिन त्यही सानी छोरी डोहोर्‍याउँदै आउँछ र मेरो झ्याल सामुन्ने आईपुगेर केही न केही बाहानामा झ्यालमा हेर्छ। आँखा जुध्दा उही हाँसु कि नहाँसुको दोधारमा हुन्छ तर सधैं उसको मन हर्ने हाँसो फुत्किहाल्छ। सधैं झै आज पनि ऊ छोरी बोकेर मेरो झ्याल तिर हेर्छ तर म उसलाई नदेखेको बाहाना गरिदिन्छु। सायद ऊ मलाई पर्खन्छ एकैछिन र निराश भएर बाटो लाग्छ। अलीपर पुगेर फर्केर हेर्छ, यसपटक उसलाई म निराश पार्दिन। उसलाई हेर्दै थोरै हाँसिदिन्छु ऊ मुसुक्क हाँस्छ र उज्यालो अनुहार लाउँदै बाटो लाग्छ।
खाटमा पल्टन्छु र सोच्छु, यो के हो ? किन हुँदै छ? म अरु भन्दा भिन्दै छु,अरुको भन्दा मेरो आदर्श छुट्टै छ। १५ १६ को उमेरमा चन्ञ्चलताले छोएन,कहिलै कसैलाई प्रेम गरुँ जस्तो लागेन,गृहणी बन्ने रहर कहिलै जागेन। बिहे गर्ने सोख अहिले सम्म पलाईसकेको छैन। भन्छन जन्म, मृत्‍यु र विवाह आफुले चाहेँर हुने होइन,यो पहिले नै तय हुन्छ। जन्म मृत्‍यु झै विवाह पनि एक संयोग मात्रै हो त्यसैले बिहे अब पनि हुनसक्छ तर त्यो रहरलाग्दो भने अब हुँदैन। सम्झन्छु- चार,पाँच वर्ष पहिले आमाबाले बिहे गर्न ठुलै जोड गर्नु भएको थियो। तर, मैले वहाँहरुको कुरा पटक्कै सुनिन। उतीबेला वहाँहरुले भने अनुसार मैले बिहे गरेकी भए म सँग मेरो लोग्ने,घरबार,आफन्त सँगै छोराछोरी उसले डोर्‍याएको छोरी जत्री भईसक्थे होला।
भदौको आरम्भ छ। साउनेबाट बिस्थापित भएर अब झरी भदौरे भएको छ। भर्खरै म हतारिदै क्याम्पसबाट आईपुगेकी छु। अब उसको पनि छोरी डोर्‍याउदै आउने बेला भयो। म झ्यालमा पुग्छु, सधैं झै सडकमा चहलपहल सुरु भईसकेको हुन्छ तर पल्लो मोड सम्म पनि उसको उपस्थितिको संकेत भेट्दिन।  आश मर्दैन,'पक्कै आउँछ' सोच्छु र त्यहीँ बस्छु। सडक सुनसान लाग्छ उसको उपस्थिती बिना। किन किन उसलाई र उसकी छोरीलाई देख्न मन छट्पटिन्छ। ऊ मेरै लोग्ने र त्यो सानी बच्ची आफ्नै छोरी भए झैँ उनीहरुको अनुस्थितीमा आफु नितान्त एक्ली पाउँछु। खोज्न जाउँ कहाँ जाउँ नजाउँ त्यसै त्यसै अत्यास लाग्दैछ। कुनै बोझ एक्कासी छातीमा महशुस गर्छु र पनि उठेर हिँड्ने पटक्क मन छैन। उसै गरी चुपचाप बसिरहन्छु।
                                                    *******
'मुनु कहाँ छ्यौ तिमी, नानु र मलाई खाना रेडी गर त अबेला हुन लागिसक्यो।'
'पाकिसक्यो आऊ, नानुलाई ड्रेस लगाएर तयार पार्यौ त? अनी आफु पनि अफिस जान तयार हौ छोरी भन्दा सानो बनेर अहिले मलाई सताउने हैन।'
'छोरीलाई त मैले तयार पारेँ,अब मलाई तिमीले' भन्दै ऊ मलाई अँगाल्न भान्सामै आईपुग्छ।
ह्याँ, नजिस्क है यो पनि जिस्कने बेला हो? ढिलो हुन लागिसक्यो ल तुरुन्त खाना खान बस।
छोरी र उसलाई खाना ख्वाई, उसलाई अफिसको लागि रेडी गरेर गाडी सम्म पुर्‍याउन जान्छु। छोरीलाई पहिले लगेर सिटबेल्ट बाँधिदिन्छ र ऊ आफु पनि डाईभिङ्ग सिटमा बस्छ।
'मुनु,चावी...... ??      भन्दै ऊ फटाहा हाँसो हाँस्छ।
'कसलाई थाहा नभएको हो र माहाशय कि हजुर जानिबुझी चाबी छोड्नुहुन्छ भनेर, लौ लिनुहोस्।'
चाबी लिने बाहानामा ऊ मेरो हात समातेर तान्छ र सधैं झै निधारमा माया गर्छ।जानी,बुझीकनै ऊ गाडीको चावी छोड्छ जुन मैले उसको पछी पछी लिएर जानु पर्छ। गाडीले गेट बाहिर सडक समाते पछी गेट बन्द गर्छु र सन्तोषको लामो सास तान्छु। सानी छोरीलाई स्कुल पठाउँन भन्दा धेरै उसलाई अफिस जान फकाउँनु पर्छ,जुन आजलाई सकिएको थियो। दिउँस उनिहरुलाई खाजा के बनाईदिउँ सोच्दै आफ्नै वरपर फूलेका फूलहरु नियाल्छु। आफ्नो वरपर फूलेका फूल र मेरो जिन्दगीका फूलेका यी दुई फूलहरु मलाई उस्तै लाग्छन।
एउटा सानो चिटिक्क परेको घर, दाँया बाँया र अगाडि सानो तर विभिन्न रङ्गका फूलहरुले सजिएको बगैँचा। माया गर्ने लोग्ने,उस्तै प्यारी छोरी सहितको सम्पन्न जीवन म आफुलाई चारैतिरबाट पूर्ण ठान्छु र आँफैमा मुस्कुराउँछु। वरपरका फूलहरुले पनि मेरो खुशीमा साथ दिन्छन। धर्मकर्म,दानपुण्य ले सेख पछि अरुले भोग्ने स्वर्ग मैले अहिलै भोग्दैछु झैं लाग्छ। स्वर्ग पनि मेरो सानो घरको खुशी देखेर ईर्ष्या गर्दो हो यसकारण की उसको झै सुख मैले नमर्दै भोग गरेकी छु।
                                                      *******
एक्कासी बजेको पुलिसको साईरनले झसङ्ग हुन्छु या भनौँ मेरो कल्पना टुट्छ। उसको आउने बाटो हेरेर यो झ्यालमा बसेकी मैले कल्पनै कल्पनामा उसलाई आफ्नो लोग्ने र उसकी सानी छोरीलाई आफ्नै छोरी ठानेर एउटा सानो र सुन्दर घर संसारको परिकल्पनामा डुबेछु, के मेरो मनमा अहिले सम्म नपलाएको घरबार र गृहणी बन्ने रहर उसलाई र उसकी छोरीलाई देखे पछी पलाएकै हो त? आफ्नै मन सँग प्रश्न गर्छु र पुन: सडकतिरै नियाल्छु। सडकको चाल फेरिएको छ। आउने जाने हुनुपर्नेमा अहिले सबै जना त्यै पुलिसको गाडी गए तिरै दौडदै छन।' यो एक्कासी चालमा परिवर्तन किन हँ?' सोच्न भ्याउँदा नभ्याउँदै आफु पनी त्यै भिडलाई पछ्याईरहेकी  भेटेँ। भिडमा प्राय: सबै मैले सधैं सडकमा देख्ने गरेका परिचित अनुहार मात्रै देख्छु। ती मध्ये थोरैले मात्र मलाई यस टोलमा देखेका होलान र औलामा गन्न सकिने सँग मात्र मेरो दोहोरो कुरा भएको छ। पल्लो मोडमा पुगेर त्यो दौडिएको भिड रोकिन्छ। झुरुप्प भएर वरपर सबै बसेकाले के किन केही भेउ पाउँदिन। आफु सँगै उभिरहेँका पसले बालाई देख्छु। मेरो दोहोरो कुराहुने मध्ये वहाँ पहिलो व्यक्तिमा पर्नुहुन्छ।
'के भएको रे'छ बा? तपाईले केही थाहा पाउँनु भयो त?' राम्रै याद छ कि पसले बालाई यती सोध्दा मेरो बोली मुस्किलले निस्किएको थियो। कारण केही पनि थिएन र पनि मेरो मन आत्तिएको प्रष्टै थाहा पाएँ।    
'के हुनु नानी एउटा मोटरसाईकिल चलाऊने केटाले त्यै पल्लो टोलमा बस्ने हाकिम सापलाई हानिदिएछ। बिचरा! अस्पातल लैजान पनि भ्याएन'छन।' पसले बाले मलिन स्वरमा भन्नु भयो।
'ए! काँ'का रे'छन कुन्नी? आफ्ना आफन्त साथ थिए कि थिएनन होला?'
'खै नानी,तर सधैं यै बाटो हिँड्थे, साह्रै मिजासिला थिएँ। अब ती सानी केटीको बिजोग हुने भयो, आमा चैँ पनि छैन भन्थे।'
पसले बा'का कुरामा आएकी सानी केटी कतै त्यै सानी, राम्री उसकी छोरी त हैन जसलाई एकछिन अघी मेरो कल्पनामा आफ्नै छोरी ठानेकी थिएँ र त्यो मिजासिलो हाकिमा कतै उही हाँसु कि नहाँसुको दोधारमा आफ्नो मधुरो मुस्कान फुत्किएको थाहा नपाउँने उही त हैन? हे भगवान! यस्तो नहोस्। मन मनै ईश्वर पुकारेँ। मेरो मुटु यसरी उफ्रियो कि अहिलै फुत्त बाहिर निस्किन आँट्दै छ। आफ्ना दुबै हातले उफ्रिएको मुटु बाहिरैबाट थिचेँ र भिडको माझमा पसेर त्यो मान्छेलाई चियाएँ।
     मैले जे नहोस् भने दुर्भाग्यवश त्यै भएछ। त्यो मान्छे उही थियो। वरपरको सडक रातै देखेँ। सारा दुनियाँ एक्कासी अँध्यारो लाग्यो। जसोतसो आफुलाई त्यहाँबाट पाखा लाएर भिड मुक्त पारेँ र छेवैको ढिस्कोमा बसेँ। मन मस्तिष्क शुन्य थियो। भर्खरै सम्म उसको र उसकी सानी छोरीको पर्खाईमा बसिरहेँकी म अहिले यो सब....एक्कासी ती सानी छोरीको याद आयो। हतारिदैँ फेरी भिड छिचोल्न थालेँ। सानी छोरी त्यहिँ छेवैमा एकहोरी भएर अब उसलाई एक्ली पारेर गहिरो निद्रामा सुतेका बाबुलाई हेर्दै रहिछे।
सधैं झैँ आफ्नो बाबुको हात समाउँदै कहिले रिसाउँदै त कहिले खुशी हुँदै आज पनि ऊ आउँदै थीइ होली। म पनि त सधैं झैँ उनिहरु आउँने पर्खाईमा थिएँ अघी सम्म। तर नियती....चुपचाप सानी छोरीको छेउमा गएँ तर उसलाई होस् भए झै लागेन। ऊ मुर्तीवत खडा थीइ।  उसलाई उठाएर काँधमा अडेर लाएर बोकेँ। जब छोरी बोकेर त्यहाँ बाट हिँड्ने तर्खर गरेँ तब त्यहाँ जम्मा भएकाहरुले गुनगुन केही भने झैँ महशुस गरेँ तर मैले कसैका कुरा सुन्न पट्टी ध्यान लाईन,काँधमा मुर्तीवत बनेकी छोरी बोकेर चुपचाप भिड छिचोल्दै घर तर्फ लागेँ।

त्यो झरी र यो झरी


लगातार परेको पानीले दिन रुझेको छ। यो रुझेको दिनले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्दै छ। त्यो बिगत जसको स्‍मृतिमा म घण्टौ हराउन सक्छु अनी त्यै बिगत सम्झेर हाँस्न र टोलाउन सक्छु।
त्यतिखेर मैले उसलाई भर्खर भर्खरै चिनेकी थिएँ। दुई चार भेटमै हामी धेरै नै नजिक भईसकेका थियौ। सुरु सुरुमा उसको थोरै बोल्ने र लाज मान्ने बानी देख्दा हाम्रो सम्बन्ध यती नजिक हुन्छ भन्ने मेरो कल्पनामै आउँदैन थियो। तर, दिनप्रतिदिन मलाई उसको त्यहीँ बानीले नै आकर्षित गर्दै थियो। हाम्रो परिचय भएको सायद एक महिना पुगनपुग भएको हुँदो हो त्यो झरीमा हामी भिज्दा। त्यो भेटाई अनी भिजाई योजानाबद्ध पनि थिएन। आ-आफ्नै काममा निस्केका हामीले बानेश्वरमा एक अर्कालाई भेटेका थियौ। बसाई एकैतिर भएकाले सँगै जान उसले भन्यौ। 'पानी परेको छ भिजिन्छ भैगो म बस मै आउँछु' भनेर टार्न पनि खोजेकी थिएँ मैले, तर उसले फेरी यसरी पानी परेको बेलामा सँगै हिंड्ने साईत जुर्ला या नजुर्ला,जुरेको साईत किन बिगारछ्यौ भन्दा म उसको लागेकी थिएँ।
 शंखमुलको बाटो हुँदै मंगलबजार निस्किने तयारीमा थियौ हामी पानी त बिहानै देखी परेकै थियो तर बंगलामुखी देखी तलतिर लाग्दा बाटो त हाम्रो गाउँको खोलो झैँ पो देखियो। फर्कौ यो बाटो बरु घुमेर जाऔँ पनि भने उसलाई तर उसको मनमा के थियो कुन्नी त्यै बाटो जाने ढिपी छोडेन। त्यसो भए पर्ख म चै हिंडेर जान्छु भनेर उसलाई मोटरबाईक रोक्न लगाएँ र झरे। पानीमा झन्डै झन्डै पुरै डुबेको बाईक सँगै ऊ बिस्तारै अघि बढ्दै थियो। सायद खाल्डो हुँदो हो बाईकत्यही फस्यो, ऊ पनि लड्न ठीक्क पर्‍यो। छेउको पसलको सिढिँमा उभिएकी मैले उसलाई हात बढाउँदै माथि आऊ भने। ऊ माथि उत्रने हैन कि मलाई पो पानीमा खसालिदियो। छेउछाउका पसलेहरु हलल्ल एकै चोटि हाँसे। म न हाँस्न सके न ऊ सँग रिसाउन नै।
दुई तीन जना पसले दाईहरुले बाईक निकालेर अली पर्तिर राखीदिनुभयो। ऊ भने अरु सँगै हलल्ल हाँस्दै थियो,मलाई भने दिक्क लाग्दै थियो उसको हर्कतले तर पनि ऊ माथि रिस खन्याउन भने सकिरहेँकी थीइन। 'अघी त भिजुँजा भन्ने पिर थियो तिमीलाई अब चैँ यै पानीमा डुबिरहन्छौ कि बाहिर पनि निस्कने?' खितित्त हाँस्दै अझै मलाई नै पो जिस्क्याउँदै थियो ऊ। उसले समातेको हात झट्कार्दै फुत्काएर केही नबोली र कसैलाई नहेरी फटाफट पानी नभएको ठाउँ तिर पाखा लागेर बसे। ऊ भने अझै उतै ती पसलेहरु सँग हाँस्दै थियो। 'आउँनै हुँदैन थ्यो तँ खुबै ज्ञानी भएर आउनु परेको थियो नि भोग अब' भन्दै आँफै सँग मुर्मुरिदैँ बसेँ। ''मलाई गाली गरेको हो कि क्या हो? मलाई गरेको गाली मैले नै सुन्न नपाउने यो त अली अन्याय भएन र भन्या?'' भन्दै ऊ म भए तिर आयो। उसले यस्ता कुरा पनि जानेको रहेँछ। आज सम्म यो रुप चै कता लुकाएर राखेको रहेँछ म मन मनै सोच्न थाले। 'कफी खाउ पहिले अनी जाउला है घर अब यसै भिजेको उसै भिजेको के हतारो हैन र?' फेरी उसैगरी खितित्त हाँस्दै भयो। 'अँ यो हालतमा कफी' मेरो बोलीमा रुखोपन टड्कारै आयो।
'तिम्रो रिस हराउने कफी खुवाउँछु पर्ख तब तिमीलाई यो झरी जीवन भरी याद रहन्छ' भन्दै ऊ हिँड्यो। लुगा भिजेकोले बस्न त सक्ने अवस्थामा थीइन त्यसैले उसलाई पछ्याएँ,तर अली परको मन्दिरको छानो मुनी ओत लागेर बसेँ। दुबै हातमा कफी बोकेर ऊ छेउ आईपुग्यो र कफी म तर्फ बढाउँदै भन्यो 'लाउ, अनी एउटा कुरा भन त आजको दिनको यादमा आगामी दिनमा तिमी रिसाउछ्यौ कि हाँस्छ्यौ हुँ?'
कफी लिदैँ घुरेर उसलाई हेरेँ मात्रै केही जवाफ दीइन।
कफी सक्यौ तर पानी उतिकै परिरहेकै थियो। भिजिएला भन्ने डर अब बाँकी थिएन त्यसैले जाने हैन घर जाडो भईसक्यो' बाँकी रहेको रिस दबाउदै बोले। 'जाने हो जाने लौ हिँड' भन्दै ऊ अघी लाग्यो म फेरी उसलाई पछ्याउन थालेँ। मलाई मेरो कोठा सम्म पुर्‍याएर ऊ पनि घर गयो। एकाध घण्टा पछी तुरुन्तै मलाई ज्वरो आउन थाल्यो। सिरक ओडेँ र सुते भोली ठीक होला भन्ने आशामा। एकैछिनमा उसको फोन आयो। 'तिम्रो हर्कतको परिणाम भोग्दैछु सुतेर ज्वरो आ'को छ।' फोनमा उसलाई घुर्क्याउनु सम्म घुर्क्याएँ र फेरी सुते।
सायद निदाउन लागेकी थिएँ या एक्कासी बढेको ज्वरोको असार थियो ढोका ढक्ढक्याएको आवाजले झस्किएँ। 'यो नसकेको बेलामा फेरी कुनै चै मुन्ट्यो बिथोल्न सोच्दै ढोका खोले उही रहेँछ। 'फेरी किन के भो?' झरीले होला झमक्कै साँझ परिसकेको बेला उसलाई आफ्नो सामु देख्दा अचम्म लाग्नु स्वभाविकै थियो। 'किन आउँनु हुन्न र? जाउँ त उसो भए' भन्दै उल्टै मलाई पो घुर्की लाउँदै हिंड्न खोज्छ।'ल भयो आऊ' भन्दै बाटो छोडिदिन्छु। 'हिँड' भन्दै ऊ मलाई अघी लाउँछ र आफु पनि आउँछ।
म फेरी सुतिदिन्छु। 'के साँच्चै ज्वरो आयो तिमीलाई?' उसको सोधाईले झनक्क रिस उठ्छ र भन्छु 'हैन ख्याल ख्यालको ज्वरो हो। अनी कोल्टे फेरेर सुत्छु। 'के खायौ त?' ऊ फेरी सोध्छ।
'केही न केही' मन नलागी नलागी बोल्छु।
'म सुप बनाईदिउ? पानीमा भिजेको भएर एलर्जीको ज्वरो आको हो तातो सुप खाउ बिसेक हुन्छ फेरी म सेफ हुन लायक मान्छे कतो मिठो पकाउन जान्या छु तिमीलाई के थाहा र?' भन्दै ऊ किचन तिर लाग्छ।
 म चुपचाप सुतिरहन्छु।
'एई निदाएकी,उठ उठ मैले सुप बनाएको छु लाउ' ऊ झक्झक्याउन आईपुग्छ फेरी।
'खान्न,मन छैन आँफै खाउँ'रिस देखाउने कोशीस गर्दै बोल्छु।
'म त खाईहाल्छु नि,म पनि पो भिज्या छु त अनी म चै किन नखानु त' हाँस्दै बोल्छ र सुप दिन्छ।
भोक पनि लागेको थियो जाडो घटेको पनि थिएन त्यसैले उठेर सुप खाएँ। बाहिर रिस देखाउने कोशीस गर्दै थिए तर मन भने ऊ प्रती माया उमार्दै थियो।
'ल अब यो औषधी खाउँ भोली बिहान सम्ममा यो ज्वरो भागेन भने मलाई भन्नु' भन्दै तातो पानी र औषधी दियो। ल अब सुत।
'तिमीलाई घर जान पर्दैन? तिमी जाउँ राती भईसक्यो।'
'म गईहाल्छु नि, पैले तिमी त सुत।'
उसको जिद्धिको अघी मेरो सधै हार नै हुन्छ र पनि त्यो हार मलाई मिठो लाग्छ। उसको कुरा मानेर चुपचाप सुत्छु।
                                              ********
पानीको कुटाईले थाकेको रात बिदा माग्ने तर्खरमा हुँदा पुर्वतिर सुर्यले आफ्नो आगमनको संकेत दिँदै गरेको हुन्छ। हिजो साँझको ज्वरोले संकेत सम्म पनि आफुमा बाँकी नरहेको र एउटा सुन्दर बिहानिको आगमको संकेत सँगै बिउँझन्छु। हिजो दिउँस देखी साँझ सम्मको घटना खर्खर्ती सम्झन्छु। एक्कासी उसको याद आउँछ। कती बेला घर गयो, न ऊ पनि पो बिरामी पर्‍यो कि मन त्यसै त्यसै आत्तिन्छ। फोन गर्छु सोच्दै फोन खोज्न उठ्छु। आफ्नै आँखा प्रती विश्वास लाग्दैन, आँखा मिचेर पुन: हेर्छु भुँईको गलैचामा पछ्यौरा ओढेर हातको सिरानी लाएर मस्त निदाईरहेको छ ऊ। नछोपिएको उसको अनुहार नियाल्न थाल्छु, निष्कपट अनी मायालाग्दो देखिन्छ ऊ। हेरिरहन्छु तर धितै मर्दैन। ऊ बिउँझला भन्ने डरले छोप्छ, ओड्ने तानेर पछ्यौरा माथि ओढाईदिन्छु र नुहाउन बाथरुम पस्छु। नुहाई सकेर आउँदा पनि ऊ निदाई रहेँकै हुन्छ। किचन पसेर दुई कप कफी बनाउँछु र ब्रेड टोस्ट गरेर ठीक्क पार्छु र लिएर आउँदा पनि ऊ निदाई नै रहेको हुन्छ। निदाई रहेको उसलाई गहिरिएर नियाल्छु वर्षौ पहिले बिछोडिको आफन्त झैँ लाग्छ। किन किन उसमा आफनत्व मात्रै पाउँछु। हिजोको रिसको नामोनिशानै भेटिन आफ्नै मन देखेर छक्क परेँ। हिजोको उसको हर्कतमा पनि आत्मियताको पाउँन  थालेँ !
'एई उठ' सिरक बहिरै बाट घच्घच्याउँछु।
आँखा खोल्दै बोल्छ 'गूड मर्निङ!'
'गूड मर्निङ, अझै पुगेन निद्रा? हाँस्दै सोध्छु।
'पुग्यो नि अब, बिउझाएर अनी अझै निद्रा पुगेन रे' मायालु तर घुर्क्याएको बोली बोल्छ।
हाँस्छु मात्रै केही बोल्दिन। ऊ उठेर कफी पिउँन थालिसकेको हुन्छ। म उसलाई हेरिरहन्छु। यस्तो लाग्छ वर्षौ पछी मात्रै देख्दै छु उसलाई।
                                        *******
आज वर्षौ पछि यो झरीमा मैले उसले त्यो झरीमा सोधेको प्रश्नको जवाफ भेट्टाएकी छु। तर, अफसोच! यो झरीमा म एक्लै छु।ऊ परदेशी भएको धेरै भईसक्यो।  यो झरीमा मलाई भिज्न कर गर्ने ऊ म सँग छैन,छ त केवल ती दिनका याद अनी उसको त्यो मायालु व्यवहार। आज उसलाई भन्न मन लागेको छ कि ''त्यो झरीको सम्झनाले म भित्र रिस होईन खुशी ल्याउँछ, तिम्रो आफ्नोपन याद आउँछ र फेरी त्यसै गरी रुझ्न मन लाग्छ।'' उसको ठाउँमा झरी पर्दा उसले मलाई सम्झन्छ या सम्झदैन तर मैले भने त्यो झरी पछीका हरेक झरीहरु उसैको यादमा बिताउने गरेकी छु। ऊ फर्कनेछ अनी ऊ सँगै त्यो झरी फेरी फर्कनेछ भन्ने झिनो आशाका साथ यो झरी उसैको नाउँमा।