Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts
गजल
छोड्नै पर्ने घर देश के थियो रहर कि कहर ?
ऐँठन पार्ने सपनी किन आउँछ हरेक प्रहर। 

खै कसको लागि कुन खुसी खोज्दैछु  यहाँ,
मान्छेले मान्छेलाई मान्छे नगन्ने यो कस्तो शहर ? 

अंनिदा आँखा  भोको पेटको पनि आश  हुन्छ नि,
किन हुन्छ जिन्दगी यो कसैलाई चैन कसैलाई बगर !

बुढाबुढी बाबा आमा बाटो हेर्छन् हिउँद बर्खैँ 
कि साहारा छोराछोरी कि  पाए हुन्थ्यो जहर। 

चाडवाड पात्रोमा आउँछ घर भित्र्याउने समय खै  ?
यौटा सकिदा दुइटा बढ्ने रक्तबीज जस्ता रहर। 

गजल


त्यसै त्यसै मात लाग्छ नमुस्काउ भो समिप आई,
कुन्नी के के बात लाग्छ नमुस्काउ भो समिप आई ।

आज नजिक किन हुनु छुट्नै पर्ने भोली आउला,
यादहरु खात लाग्छ नमुस्काउ भो समिप आई ।

प्रेम,विश्वाश,आत्मियता सिमीत भयो किताब मै,
धोका मात्रै हात लाग्छ नमुस्काउ समिप आई ।

कृतिमता आडम्बर यही नै चलन चल्तिमा छ,
आफ्नोपना घात लाग्छ नमुस्काउ भो समिप आई ।

त्यसै त्यसै मात लाग्छ नमुस्काउ भो समिप आई,
कुन्नी के के बात लाग्छ नमुस्काउ भो समिप आई ।

के अर्थ ?


रहरको पो माया राम्रो कहरको के अर्थ ?
अँध्यारोमा बाँच्नेलाई प्रहरको के अर्थ ?

छोड्ने ले बिर्सन्छ पीडा भोग्ने कुर्ने ले हो,
मरुभुमी भयो मुटु नहरको के अर्थ ?

उसको बचन वाणै काफी भईदिन्छ मलाई,
मरेतुल्यै भा'छु त्यसै जहरको के अर्थ ?

बन्दैन रे मेरो ऊ देउतै भाकल गरे पनि,
उसै सँग मर्ने बाँच्ने यो रहरको के अर्थ ?

रहरको पो मायाँ राम्रो कहरको के अर्थ ?
अँध्यारोमा बाँच्नेलाई प्रहरको के अर्थ ?

            गजल - परदेशी प्रिय !

परदेशी प्रिय हुँदा घरदेशमा रुन्छिन प्रिया,
आधा उ उतै हुन्छ बाँकी आधा हुन्छिन प्रिया।

विगत सम्झी रमाउँछिन वर्तमानले रुवाउँछ,
उता प्रिय कस्ता छन यता सधैं दुख्छिन प्रिया।

एक्लोपनले झस्काउँछ,आफ्नै छायाँ बैरी हुन्छ,
साहरा फोटो मात्र त्यसैलाई छुन्छिन प्रिया।

चस्कन्छ छाती अनी सपनामा सधै पहिरो,
'कुशल रहे प्रिय' देउता अघी झुक्छिन प्रिया।।

परदेशी प्रिय हुँदा घरदेशमा रुन्छिन प्रिया,
आधा उ उतै हुन्छ बाँकी आधा हुन्छिन प्रिया।

बिन्ती छ है कट्टी अब तोडिदेऊ




बिन्ती छ है कट्टी अब तोडिदेऊ त प्रिया,
कोईली झैँ गला खोली बोलिदेऊ त प्रिया।

रिसाए झै गर्दै र घुर्‍क्याएर सुस्तरी आई
नराखी मनमा भाव खोलिदेऊ त प्रिया।

यो मनमा तिमी सधैंलाई हो राख्या मैले ,
कती माया गर्छौ सोध्न छोडिदेऊ त प्रिया।

सुक्री बिक्री चल्छ रे माया अचेल् बजारमा,
हाम्रो माया कुन कित्ताको मोलिदेऊ त प्रिया।

हुँदैन् रे हाम्रो मिलन् भन्नेहरु धेरै भेटेँ,
यसैपाली अमर नाता जोडीदेऊ त प्रिया।




फर्किएर घरदेश आउँछु भन्छ परदेशी


फर्किएर घरदेश आउँछु भन्छ परदेशी,
रातो सारी धागो चुरा ल्याउँछु भन्छ परदेशी ।

आफ्नै गाउँ ठाउँ प्यारो पराई सधैं परदेश,
फर्की अब पाखो खेती धाउँछु भन्छ परदेशी ।

पुग्यो अब एक्लै बाँच्न आउँछु तिमीलाई लिन,
तिम्रै स्वप्न हर रात पाउँछु भन्छ परदेशी ।

तिमी साथ भयौ भने सहज बन्छ बाँकी यात्रा,
छोड्यौ भने यी हात हराउँछु भन्छ परदेशी ।

घुम्टो ओढी पर्खी बस मेटिन्छ हाम्रो दूरी,
पञ्चेबाजा सँगै डोली सजाउँछु भन्छ परदेशी।

ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर


ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर।
आवश्यकता त्यसै टार्न पनि हुन्न हेर।

न त राख्नु न त फाल्नुको खोटो नोट जस्तो,
जिन्दगीलाई बेवारिसे पार्न पनि हुन्न हेर ।

फूल बन्छ जीवन काडाँ माझमै फुल्छ यो,
कोपिलामै ओईलाएर झार्न पनि हुन्न हेर ।

रहर माथि कसी सुखी हुने काईदा रै'छ,
र पनि सबै रहर मार्न पनि हुन्न हेर ।

ईच्छाहरु धेरै पाल्न पनि हुन्न हेर।
आवश्यकता त्यसै टार्न पनि हुन्न हेर।

फुले पछी झर्नै पर्थ्यो

फुले पछी झर्नै पर्थ्यो झर्दा किन मन दुख्यो ? 
सार्नै पर्थ्यो बास मनको, सर्दा किन मन दुख्यो ?? 

सहयात्री थे'नौ हामी संयोगको भेट थियो,
छुट्टीयौँ र तर्‍यौँ साँघु, तर्दा किन मन दुख्यो ??

मेरी थि'नौ कहिलै तिमी न त म नै तिम्रो हुँ,
पराईले भर्‍यो सिउँदो, भर्दा किन मन दुख्यो ?? 

अपरिचित झैँ बने बाध्यता त्याँ त्यस्तै थियो, 
नदेखे झैँ गरेँ तिम्लाई, गर्दा किन मन दुख्यो ??

फुले पछी झर्नै पर्थ्यो झर्दा किन मन दुख्यो ? 
सार्नै पर्थ्यो बास मनको, सर्दा किन मन दुख्यो ?? 

जिताउन तिमीलाई मैले सधैं हारेकी छु


दु:खहरु सधैं सधैं आफ्नो भाग पारेकी छु,
जिताउन तिमीलाई मैले सधैं हारेकी छु ।

भन्छौ किन सधैं मैले तिम्रो खुशी चाहिन,
तिम्रै हाँसो हेर्न आँफैलाई दाउ राखेकी छु।

तिमीलाई अघि सार्न तिम्रा रहर पुरा गर्ने,
आफ्ना कैयन अवसरहरु त्यसै त्यसै टारेकी छु।

छचल्किन्छन आँशुहरु सहनुको सीमा हुन्न?
तैपनी यी नखसुन भनी परेलीलाई बारेकी छु।

तिम्रै खुशी रोजिदिएँ कहिलै भने र मेरो खै ?
जती थिएँ ईच्छाहरु मैले उहिलै मारेकी छु।

ऊ त उच्च स्तरको छ


आँफु परे हुँदा खाने ऊ त उच्च स्तरको छ।
व्यर्थै माया लाएँ मैले उसको मुटु पत्थरको छ।

यो मनमा के छ भन्ने कुरै सुन्न चाहंदैन,
त्यसैले त हाम्रो दूरी धर्ती आकाश अन्तरको छ।

सुहाउँदैन भन्छ रे उसको र मेरो जोडी,
किनकी ऊ महलको मेरो घर त खरको छ।

आफ्ना पिता पुर्खाको सम्मान हुनै पर्छ,
तर उसलाई घमन्ड किन त्यै थरको छ।

आँफु परे हुँदा खाने ऊ त उच्च स्तरको छ।
व्यर्थै माया लाएँ मैले उसको मुटु पत्थरको छ।

बल्झिने घाऊ दिएर गयौ,

बल्झिने घाऊ दिएर गयौ,
खुशी चै सारा लिएर गयौ ।।

दिएर कालकुट बदलामा,
अमृत प्याला पिएर गयौ ।।

तोडेर नाता यो मन सँग,
त्यो मुटु अन्तै सिएर गयौ ।।

अधमरो जूनी बाँच्दै छु म,
जिन्दगी आफ्नो जिएर गयौ ।।

बल्झिने घाऊ दिएर गयौ,
खुशी चै सारा लिएर गयौ ।।


तिम्रो के छ

तिम्रो के छ?मेरो त चलेकै छ जिन्दगी,
पिपल बोटमा ऐजेरुँ झैँ फलेकै छ जिन्दगी ।

सफलता यहाँ हैन पुग्नु छ शिखर मै,
चढुँ भन्दा उल्टो फेदमै गलेकै छ जिन्दगी ।

झुप्रो पाएँ महल छैन,किन भन्नु होला,
जहाँ पनि एक न एक दिन ढलेकै छ जिन्दगी ।

यो भयो त्यो छैन,तेरो मेरो ब्यर्थ किन?
मुठ्ठी फुकाई मसानघाटमा जलेकै छ जिन्दगी ।

तिम्रो के छ? मेरो त चलेकै छ जिन्दगी,
पिपल बोटमा ऐजेरुँ झैँ फलेकै छ जिन्दगी ।

पराईको कुरै छोडौं


आफ्नैले चोट दिन्छन,पराईको कुरै छोडौं,
रिक्त्तता नै सब थोक,भराईको कुरै छाडौं ।

जित्दै जानु तिमी सधैं फैलियोस यश,
चुक्छु सम्म नसोच है हराईको कुरै छोडौँ ।

पहाड तेरो हिमाल मेरो चुली कस्को भाग ?
हानाहानमा भित्रीमधेस,तराईको कुरै छोडौं ।

निसास्सो पो लाग्छ सम्झदैमा अचेल त,
बढ्ने नै हो महंगी त झराईको कुरै छोडौं ।   

''तै रानी मै रानी कल्ले भर्ने पानी'' भा'छ,
सिन्को सम्म भाँचिन्न्  काम गराईको कुरै छाडौं ।। 

मसानघाटमा जल्नै पर्ने

मसानघाटमा जल्नै पर्ने,लास जिन्दगी,
बाँचुन्जेलको दुई मुठ्ठी न,सास जिन्दगी ।।

दु:ख सुख भन्नु दिन काट्ने मेलो न हुन,
नियती सँगै परिवेशको, दास जिन्दगी ।।

पाईला पाईला ठेस लाग्छ लक्ष्य दुर् हुन्छ,
रात पछी आउँला बिहान,आस जिन्दगी ।।

हिलैमा कमल फुल्छ रहस्य बुझ्नु,
यै दुनियाँ माझ रोज्नु पर्छ,खास जिन्दगी ।।

मसानघाटमा जल्नै पर्ने,लास जिन्दगी,
बाँचुन्जेलको दुई मुठ्ठी न,सास जिन्दगी ।।





गजल (हाँस्न लागे मखमली सयपत्री सँगै फुल्यो।)


फुल खेल्यो सेतो कोदो फाँट भरी धान झुल्यो,
हिलो मैलो बर्षा हट्यो आकाश र धर्ती खुल्यो ।।

परदेशी फर्किए सम्झेर आफ्नै घरदेश,
हर्षोल्लास अनी भेटघाट दु:ख पीडा भुल्यो ।।

पुजिन्छ कर्मठ,लक्ष्मी अनी भैरब बाहान,
घर घरमा खबर दिन यमदुत डुल्यो ।।

टाढिएका भाईचेली हुँदैछन् है फेरी भेट,
हाँस्न लागे मखमली सयपत्री सँगै फुल्यो ।।

गजल



तिहारले छायो र त दाजुभाई सम्झी रोएँ ।
गाउँ याद आयो र त दाजुभाई सम्झी रोएँ ।।

आँगन छेउमा फुलेको मखमलीले हाँस्दै,
कैले टिप्छ्यौ सोध्यो र त दाजुभाई सम्झी रोएँ ।।

आउँलान मेरा दाजु भन्दै कती बाटो कुरुँ,
आशा मर्दै गयो र त दाजुभाई सम्झी रोएँ ।।

उनिएन मखमली न त लर्क्यो सप्तरङी,
पीडाले  मन् खायो र त दाजुभाई सम्झी रोएँ ।।

सम्बन्ध भाईचेलीको नहुँने छुट्न कहिलै,
'देउसी'ले गायो र त दाजुभाई सम्झी रोएँ ।।

किन ?

तिम्रै घर सिसाको छ यता ढुङ्गा हान्छौ किन ?
सँगै हिँडौ भनेकै छु फेरी तर्की जान्छौ किन ?

दु:ख सुख आधा गरौँ,सँगै बाँचौ मरौँ भन्दा,
एक्लै एक्लै तर्किएर दुखै मात्रै छान्छौ किन ?

मैले मन सुम्पिदिए,विश्वाश छ भनेकै'थे,
नानाथरी बाचा गर्दै आँफै कसम् खान्छौ किन ?

देखे दुनियाँ तिमीमा अनी साथ खोजे मैले,
खाली अनी रित्तो आँफै आफुलाई मान्छौ किन?

मन मुटु मिल्यो र त एकै भयो  हाम्रो यात्रा
आपत पर्दा ''मञ्जरी''लाई अर्की ठान्छौ किन ?

तीर हुन कि आँखा सानु


तीर हुन कि आँखा सानु मुटु माझै,प्रहार भयो ।।
यो मनमा चैत लाग्दा त्यता बसन्त,बहार भयो ।।

फर्की फर्की हेर्दा हेर्दै यो मन त्यतै सार्‍यौ कहिले ?
आफ्नै मन आफ्नो भन्ने आधार् नै निराधार भयो ।।

जे जे भनुन् दुनियाँले,जती काट्छन काटुन कुरा,
सत्य मलाई तिम्रो माया हिउँदको पाहार भयो ।।

नफर्किने गरी आउ है,बस्दिन म अब एक्लै,
भेटेँ जब तिमी डुलन्ते मनको संहार भयो ।।

तीर हुन कि आँखा सानु मुटु माझै,प्रहार भयो ।।
यो मनमा चैत लाग्दा त्यता बसन्त,बहार भयो ।।


गजल (गाउँको याद आयो)

आज फेरी त्यो गाउँको याद आयो 
भुलेको एउटा नाउँको याद आयो ।। 
*
पाखा,पखेरो,खेत र आलीहरु, 
जन्मी हुर्केको ठाउँको याद आयो ।।  
*
तोते बोली र कखरा सिकाउने, 
ती बुढा भा'का बाउको याद आयो ।।  
*
गोठालो लादाँ हानेर सताउने  
लाम्काने ठुलो माउको याद आयो ।।  
*
आज फेरी त्यो गाउँको याद आयो 
भुलेको एउटा नाउँको याद आयो ।।

गजल (अपुरो भो गीत जिन्दगीको )

लेख्दा लेख्दै अपुरो भो गीत जिन्दगीको !!
देख्दा देख्दै टाढा भयो जित जिन्दगीको !! 
*
सहयात्री हुने आस् देखायौं पैले किन ?
गाँस्दा गाँस्दै किन छुट्यो प्रित जिन्दगीको !!
*
पर्खन्छौ थाहा थियो,फर्किन सकिँन मै,
मिलन् बिछोड यस्तै छ रित जिन्दगीको !!
*
पाईला मिलाई हिडौँ भन्दा कठिन् यात्रामा,
खोज्दा खोज्दै कहाँ छुट्यो मित जिन्दगीको !!
*
लेख्दा लेख्दै अपुरो भो गीत जिन्दगीको !!
देख्दा देख्दै टाढा भयो जित जिन्दगीको !!