गजल


फर्कलाउ भन्ने आश छैन अब ।।
यो मनमा तिम्रो बास छैन अब ।।

अरु जस्तै भयौ,तिनै सँग मिल्यौ,
अस्त्तित्व तिम्रो खास छैन अब ।।

साँझ बिहान् दिन रात सधैं भरी,
रुँदै बिताउने मास छैन अब ।।

घुक्याई फुर्क्याई अघी पछि लाग्ने,
को-खाई को-खाई गाँस छैन अब ।।

फर्कलाउ भन्ने आश छैन अब ।।
यो मनमा तिम्रो बास छैन अब ।। 


 

नभुलेको एउटा नाता

  उफ ! अफिस निस्कने बेलामा मलाई सधै हतारो हुन्छ, काम सबै बिहानै सके पनि जब घडीले नौ बजाउँछ तब मेरो हतारो सधै उस्तै, फाईल खोज, ब्याग मिलाउ,अनि दिउँसै चोरको बिगबिगी भएको शहरमा आफुले जोरजाम गरेका सर-सामान सुरक्षित पार्ने प्रयास यती नै भ्याई नभ्याई हुन्छ । उतिनै बेला मोबाईलमा फोन आएको संकेत दिँदै राजू लामाको ''पर्खाईमा भिज्यो सिरानी ..... '' बज्न थाल्छ, एक मन सोच्छु आ' होस् को  हो,आफुलाई ढिलो हुन थालिसक्यो फोन रिसिभ गर्दिन, फेरी अर्को मन तुरुन्तै भन्छ 'कोहि कसैलाई आपतै अथवा केही जरुरी पनि त परेको पनि त हुन सक्छ चाहिएको बेलामा नउठ्ने हो भने फोन बोक्नु र नबोक्नुको के अर्थ र ? खुरुक्क फोन नउठाएर' हतारिएर फोन उठाउछु - '
'हेलो ?'
'नमस्ते आभा जी' मैले कति गारो सँग तपाईको नम्बर खोजे, म तपाईंलाई अप्रत्त्यक्ष चिन्छु तर मलाई तपाई चिन्नुहुन्न,अहिलेलाई म तपाईंको कथाको पात्र यसरी नै चिन्नुहोस् न है, म तपाईलाई आफ्नो बिगत सुनाउन चाहन्छु, तपाई त्यसको कथा लेखिदिनुहोस नामहरु नराखी, त्यसैको लागि मैले फोन गरेको''
अपरिचित स्वर एकै सासमा भनिसक्छ, म  ट्वाल्ल पर्छु कुराको मेलोमेसै नबुझेर ।
''हेलो! हेलो!! सुन्दै हुनुहुन्छ?? '' 
यो आवाजले झस्किन्छु अनि भन्छु -'हेर्नुहोस म कथाकार होइन, म बैंकमा काम गर्ने कर्मचारी हुँ सायद तपाईलाई कसैले गलत नम्बर दियो होला ..'' यति भन्दाभन्दै बिचैमा  कुरा काट्दै उसले भन्यो-
''गलत नम्बर होइन मैले सहि नम्बर नै पत्ता ला'को छु, के तपाई आभा जी होइन त ??''
'हजुर हो मेरो नाम आभा नै हो अनि नाम त जुध्न पनि सक्छ' मैले तुरुन्तै भने ।
''तपाई पोखरा बस्नु हुन्छ होइन ??''
'हो'
''अनि तपाई ईनभेस्टमेन्ट बैंकमा काम गर्नु हुन्छ होइन ??''
'हो'
''ल अब आफै भनुहोस म कसरी झुक्किए ,म सही नै छु'' हल्का हाँस्दै उसले भन्यो
म अझै अलमल्ल परे,सबै कुरा थाहा रहेछ त,अनि फेरी भने-
'तपाईले भन्नु भएको सबै ठिकै हो र पनि म कथा लेख्ने मान्छे भने होइन ।'
''होइन भने अब लेख्नुहोस न हुँदैन ??'' उसै गरि टड्कारो जवाफ उसले मलाई दियो ।
'म....मैले लेख्ने ?? '
''अँ तपाईले लेख्ने मेरो कथा, म तपाईंलाई सुनाउछु मेरो अतित अनि तपाई आफ्नै हिसाबले लेख्नुहोस ।''
'तर मलाई त लेखन तरिका नै थाहा छैन अनि म सँग फुर्सद पनि त छैन हेर्नुहोस अहिले पनि मलाई अफिस निस्किन हतार भईसक्यो।'
''म तपाईलाई आफ्ना कुराहरु भेटेरै सुनाउन चाहन्थे तर सम्भव होला झैँ लागेंन  कारण म राजधानी मै बस्छु आफ्नो परिवार सहित,तपाई उता हुनुहुन्छ, मलाई आफ्ना भोगाईहरु लेखिएको हेर्ने मन छ, अनि मैले पाएको जानकारी अनुसार तपाई पहिले लेख्नु हुन्थ्यो होइन ??''
म के  भनुँ न नभनुँ दोधार परिरहे, उ फेरी बोल्न थाल्यो-
 ''ठिकै छ  म मेल गर्ने छु तपाईलाई मेरा कथाहरु सरसर्ती लेखेर मलाई मेल आईडी दिनुहोस तपईको।''
उसको स्पस्ट कुरा गराई बाट उ मलाई बेकारमा फोन गरेर दुख दिने मान्छे हो जस्तो लागेंन हेरौ न त के रे'छ त्यस्तो कथा  म पनि, आखिर अफिस बाहेक बिहान बेलुका म फुर्सदिलो नै हुन्छु क्यारे यदी साँच्चै राम्रै  बिषयबस्तु भेटेँ भने लेख्नु मेरो सोख हो, फेरी थाल्दा केही बिग्रने पनि त होइन,पहिले पनि लेखेकी नै हूँ पछि मन मरेर त लेखन रोके.... यस्तै यस्तै सोचेर आईडी टिपाएर अफिस निस्किए ।
  दिन भरि अफिसको काम सकेर बेलुका घर फर्किए, बिहानको कुरा याद मै थियो, कतै मेल आयो कि ''त्यो मान्छे''को भनेर कफीको लागि पानि उमाल्न हिटर माथि राख्दै कम्प्युटर अन गरे,उता कफी तयार भयो यता कम्प्युटर पनि खुल्यो, होइन किन उसले मलाई नै छान्यो आफ्ना कथा सुनाउन ? मेरो ठाउँमा अरु जो कोही पनि त हुन सक्थ्यो, यस्तै सोच्दै  फेसबुक,टुईटर भन्दा पहिले इनबक्स हेर्न मन लाग्यो, मेल तिर नै लागे, नयाँ केहि मेलहरु त आएकै थिए जस मध्ये एक मेल सायद उही बिहान फोन गर्ने को थियो कि ? उसैको थियो यसर्थ कि उसले मलाई मेल पठाउछु भनेको थियो नहुन सक्छ  यसर्थ कि यो मेल उसैको हो भनेर चिन्ने आधार म सँग केहि थिएन, जे होस् मैले त्यो मेल पढ्ने फैसला आफ्नै मन सँग गरे,जब पढिसके मलाई त्यो कथा उसको नभएर उसले मेरा भोगाईहरु लेखे झैं लाग्यो, झस्किए पटक पटक.... यस्तो कसरी ?? दुरुस्तै भोगाई.......... !!  उस्तै उस्तै भोगाईहरु त मान्छेको जीवनमा दोहोरिन्छन दोहोरिन त तर उस्तै उस्तै नभई  दुरुस्तै !!!! कतै  मलाई फोन गरेर नाचिन्ने बनेर, कथा लेख्न लगाउने उही त होईन? जसलाई मैले आज सम्म भुल्न सकेकी छैन,जसको कारण मैले राजाधानी छोडेको थिएँ आँफै सँग भागेर...कि उ जस्तै अरु कोहि ?? 
 आज आफ्नै अतित फेरी ताजा बनेर सबै एका एक आँखा वरपर घुम्न थाल्यो,मैले कहिलै नभुल्ने अतित.... फेरी एक पटक आफ्नै अतित डुल्न मन लाग्यो.....
  हाम्रो भेट अचानक नै भएको थियो, न कुनै सोच न कुनै तयारी न के न के ... आफ्नो अस्त ब्यस्त दैनिकीबाट केहि बचेको समय या समय बचाएरै भए पनि ईन्ट्ऱनेट को दुनियाँमा हराउनु,देश/बिशेदका चिनेका/नचिनेका साथीहरु सँग गफ्फिनु अहिले प्राय: सबै को दैनिकीको एक हिस्सा नै हो,त्यहिँ मेरो पनि थियो, प्राय: म बेलुका नेट सफर गर्न रुचाउथे/रुचाउँछू । यसो गर्नु एक हिसाबले बाध्यता पनि थियो/हो। दिन भरिको भाग दौड अनि थकाई एकातीर पन्छाएर साथीहरु सँग गफ्फिनुको मज्जा बेग्लै लाग्छ मलाई।तिनै दिनहरू मध्यको एक दिन  मेरो रुचिको बिषय सँग सम्बन्धित भएर एक जना चिनेको साथीको स्ट्याटसमा उसले जुन कमेन्ट लेखेको थियो त्यहिँ कमेन्टले मलाई उ बाट प्रभावित बनायो.. मैले उसलाई साथी बन्न आग्रह गरे उसले पनि तुरुन्तै स्वीकार गर्र्यो, औपचारिक परिचय आदान-प्रदान गरेर आ-आफ्ना बारेमा,अनि आ-आफ्ना अनुभव एक अर्कोलाई बाढ्दै जादाँ  हामीमा  एकखाले आत्त्मियता गासिईसकेको थियो । च्याट,मेल हुँदै हाम्रो कुराकानी मोबाईल म्यासेज र फोन सम्म आईसकेको थियो। तर हाम्रो भेटघाट भएको भने थिएन ।  
''अब हामीले भेट्नु पर्छ बुझ्यौ'' एक दिन ख्याल ख्याल मै मलाई उसले भनेको थियो ।  
''हुन्छ'' मैले उस्तै सहज जवाफ फर्काएको थिए । 
त्यसरी कुरा भएको झन्डै दुई दिन पछि मोबाईलमा म्यासेज आयो,जुन उसैको थियो जहाँ लेखिएको थियो -
 ''आज हामी भेटौ है, छुट्टीको दिन पनि छ ।'' 
उ सँग को आत्मियताले  मलाई मैले नयाँ अनि कहिलै नदेखेको मान्छे भेट्न जादै छु भन्ने भानै कत्ती पनि परेंन, त्यसैले रिप्लाई लेखे -
''हुन्छ  ल समय र स्थान भन म आउने छु ।''
उसले दिएको समय र स्थान अनुसार एघार बजे द बेकरी क्याफे,बानेश्वर पुगे। उ पहिले नै मलाई कुर्दै रहेछ, फोटो देखिसकेकी हुनाले उसलाई परै बाट चिने, फोटोमा अनुहार मात्रै पहिले देखेकी थिएँ, गोरो वर्ण, ठिक्कै को कद मिलेकै लाग्यो हाउभाउ पनि। सुरुमा अलिक असहज झैँ लागे पनि केहि  बेर मै त्यो असहजता हट्यो छिट्टै हामी एक अर्का सँग नजिकियौ। त्यस दिनको भेटघाट पछी हाम्रो भेटले निरन्तरता पाउन थाल्यो, छुट्टीको दिन सधै हामी भेट्न थाल्यौ,काम,साथीभाई,कलेज देखि पारिवारिक कुराहरु सबै सेयर गर्ने गरेका थियौ, अझ भनौ सायदै केहि कुरा थिएन जुन हामीलाई थाहा नभएको होस् एक अर्काको बारेमा। दिनहरु रमाईलै बित्दै थिए, अब हामीमा कुनै दुरी बाँकी थिएन.. हप्ताम भेट्ने हामी अब दैनिक भेटिन थालेका थियौ, ए अर्कोलाई सके सम्म खुशी दिनु हाम्रो मुख्य उदेश्य हुन्थ्यो सधै ।
         एक साँझ म अफिस बाट सिधै द बेकरी क्याफे पुगेर उसलाई कुर्दै थिए, सधै समय मै आईपुग्ने उ आज आईपुगेको थिएन सोचे जाम पर्यो होला,कठामान्डौ को ट्रफिक न हो के भर र .....एकैछिनमा उ देखा पर्यो तर मैले उसको अनुहार हेर्ने  सकिन, कस्तो पिडा थियो उसको अनुहारमा, वर्षाको मेघ झैँ थिए उसका आँखा झर्न आतुर.....चुपचाप छेउमै आएर बस्दै एउटा लामो उदासीको सास फेर्यो, के भन्ने के नभन्ने मैले केहि सोच्न नपाउदै झण्डै  झण्डै  रुला झैँ गर्दै उसले भन्यो ''आभा यो के भयो??'' म झन झन असमन्जस्यमा पर्दे गए, उस्तै मलिन स्वरमा फेरी भन्यो ''सकियो आभा हाम्रो खुशी हुने दिन अब '' 'होइन तिमीलाई के भयो त्यो भन त पहिले किन एकहोरो कुरा गरेको??'
''मैले बिहे गर्नु पर्ने भयो'' रुन्चे स्वरमा उसले भन्यो ।'
'अनि के भयो त ठिलो चाडो गर्नु नै पर्छ  क्यारे, पढाई पनि त सकियो जागिर पनि थालेकै छौ अनि किन फेरी यो पिर किन यो उदासी??' मैले उसलाई सहज बनाउन खोजे ।
''मलाई अहिले नै बिहे गर्ने मन छैन, तिमि पनि त एक्लै हुन्छ्यौ फेरी ''
'हेर म एक्लै हुन्छु भन्दैमा तिमीले घर परिवार अनि आफन्तको रहर मार्नु हुन्न बुझ्यौ? अनि फेरी तिमीले बिहे गर्दैमा हाम्रो मित्रताको  अन्त्य हुने पनि त होइन, छिट्टै म पनि बिहे गर्छु, हामी केहि समयका मात्र सहयात्री हौ भन्ने त हामीलाई पहिले पनि थाहा थियो,हामीले छुट्नु  पर्छ पनि थाहा थियो अनि किन मन दुखाउछौ फेरी ?'
उसले केहि जवाफ दिएन, त्यो मौनता को रहस्य  के थियो कुन्नि मैले बुझ्ने कोशिसै गरिन...त्यो भेटघाट को झण्डै बीस/बाइस दिन पछी धुमघाम सँग उसको बिहे भयो, उसको बिहे पछी त्यो शहरमा म एक्लिएकी थिए,उसलाई त्यों बेला सम्झाए पनि मैले आफ्नै मन भने सम्झाउन सकेकी नै थिईन, उसको सामु आफु कमजोर बनेर उसलाई झन उदास पार्नु मेरो लक्ष्य थिएन। दिन दिन मलाई काठमान्डौ बिरानो लाग्न थाल्यो। बिहे पछी उ सँग भेटघाट हुने बातावरण पनि खासै मिलेन, फोन अनी अनलाईन का भेटघाट को मध्यम त मैले आँफैले बन्द गरिदिएकी थिए, सोचे उसको ब्यत्तिगत जीवनमा अब मेरो उपस्थिती हुनु राम्रो होइन,पहिले जस्तो परिबेश अब रहन्न, अन्तत: एक दिन मैले कोहि कसैलाई खबरै नगरी सुटुक्क काठमान्डौ छोडे । 
 केही दिन जता मन लाग्छ त्यतै घुमे,घुमेरै जिन्दगी नचल्ने आभाष भए पछि आफ्नो लागि काम खोज्न थाले।  आफु सँग केही अनुभव, अनी योग्यता रहेँकोले सजिलै आफु अनुकुल काम पनि भेटेँ,शहर छोडे पनि उसका याद छोडिएका थिएनन,घरीघरी आँखा रसाउँथे, कता कता बाट उछिट्टिएर मन उसकै वरपर जान्थ्यो, खै किन हो  यो एक बर्ष बित्दा पनि मैले उसलाई भुल्न सकेकी थीइन,उ अझै सधै मलाई याद आउँछ,एउटा मन थियो जुन मनमा अरु कसैको भईसकेको उ अझै थियो अनि छ, त्यसैले  कोही कसैको साथ लिनु उचित लागेको छैन, भोको बस्नु नपर्ने काम छ,बितेका दिन साथी छन,हेरौ अघी के हुन्छ...... भोली त कस्ले देखेको छ र? सुनेकी छु ''उ खुशी नै छ रे, अनी छिट्टै उसको घरमा कोही नयाँ मान्छे पनि आउँनेवाला छ रे।' 

गजल (किन ?)


अग्लिएको सम्बन्ध,फेरी भुँई झार्‍यौँ किन ?
साटेको दुई मन,अन्तै कतै सार्‍यौँ किन ?

छैन जीवन त्यहाँ,जहाँ छैनौ तिमी भने,
भन्थ्यौ पहिले तर,आज बाटो बार्‍यौँ किन ?

तिमी बाहेक अरु,राख्ने छैन मन भित्र,
कसम खान्थ्यौ सधैं,बाचा आजै हार्‍यौ किन ?

आश देखायौ साथ दिने सँगै बाँच्ने मर्ने,
साकार पार्नु पर्दा भोली भन्दै टार्‍यौ किन ?

अग्लिएको सम्बन्ध,फेरी भुँई झार्‍यौँ किन ?
साटेको दुई मन,अन्तै कतै सार्‍यौँ किन ?

उही गन्थने कुरा


जब मुटु भित्रै चोट लाग्दो रहेँछ तब कुनै उपायले पनि आसुँ नरोकिने रहेँछ, सम्भब्य चोटको परीकल्पनामा बाँच्ने साहस,धैर्यता जती नै बटुले पनि जब त्यो पिडा भोग्नु पर्छ त्यतिखेर त्यो धैर्यता अपुग हुँदो रहेँछ । दुनियाँले मलाई कातर ठान्ला कि ? या मेरो खिल्ली उडाउलान कि केहीँ कतै ध्यान जान नदिदोँ रहेँछ जब मनले साँच्चै चोट खान्छ, पसल,सडक,घर,क्याम्पस जहाँ जाउ आफ्नो उदासी आँफै सँग भए पछी अरुले केहीँ भन्लान, केही सोच्लान त ख्याल सम्म पनि नआउँने रहेँछ । जतीखेरै मन भारी,भित्रै भित्रै खोक्रिए झैँ मात्रै...मन भित्र एकनाशको छट्पट्टी,बेचैनीले साह्रै एकहोरो बनिने रहेँछ । जे हुनु थ्यो भयो भनेर मन बुझाउनु खोज्दा पनि कयौ पटक असफल भए पछी अन्तत: आँफै सँग हार पनि..... हिओ सम्म जे थियो आ-आफ्नै ठाउँमा सबै ठीकठाक थियो,आज जे छ केही कतै ठीक छैन । एकै दिनमा यती धेरै परिवर्तन बिचरा ! यो मनले  कसरी बुझोस् ? हिजो जे थ्यो आज त्यसको विपरित छ, हिजो जे थियो आज छैन अनी आज जे थियो पहिले कहिलै थिएन अनी यो आजको भोगाई  स्वत: भोली नरहँला। हिजो र आज अनी आज र भोली को भिन्नता र यसले आफुमा ल्याएको गतिशिलता आँफैमा अपत्त्यारीलो सत्य भएको छ आफ्नै लागि।
  जिन्दगी सोचे जस्तो त पटक्कै हुन्न ''आफु ताक्छु मुडो बन्चरो ताक्छ घुँडो''भने झै जिन्दगीले सधैं घुँडो घुँडो मात्रै ताक्छ। ''मनिस सामाजिक प्राणी'' भनेर स्कुल देखी नै पढ्दै आएको भए पनि अहिले आएर आँफै असामाजिक भएको देख्दा उती खेर कतै गल्ती त पढिएन झै पनि लाग्छ, नभए यती धेरै एक्लिनु त नपर्ने....सबै तिरबाट मन तानतुन पारेर बलियो बनाउन पाउँदा नपाउँदै कती बेला मन पोखिन्छ थाहै हुँदैन। दिन र रात,सुख अनी दु:ख,जन्म पछी मरण,सुरु पछी अन्त्य निश्चीत भए झै प्रेम पछी को बिछोड पनि स्वाभाविकै हो अनी दुबै बराबर पनि, र पनि यी सब त भनिने कुरा मात्रै रहेँछन कि झै लाग्छ यदाकदा ।  आफु उदास उदास भईन्छ भने अर्काको खुशीमा सामेल हुन पनि मन नलाग्ने कस्तो अचम्मको यो मन। बर्षायाममा आफ्नो पोल्टाभरी पानी बोकेर हिंडेँको मेघ जस्तै छ अचेल मन, कतै को ठोकाई पर्खेर जतिखेरै पोखिन तत्पर,अझ एकान्त त भेट्नै हुन्न।
सबै कुराको हद हुन्छ भने झै यो उदासी,छट्पटी अनी दु:खाई को पनि त्यस्तो कुनै सिमा या हद त होला नि....

गन्थन ४


''बिहेमा बेहुली त प्राय: सबै रुन्छिन नै, कारण आफ्नो जन्मघर,अनी आफन्त चटक्कै छोडेर पराई घर जादाँ त्यहाँ के कस्तो बातावरण हुने हो भन्ने चिन्ता हुनु स्वाभविकै पनि हो। तर कुनै बेहुलो मण्डपमा घरिघरी रुन्छ भने त्यहाँ पक्कै केही न केही कारण त हुन्छ नै त्यस्तो के कारण थियो होला ??'' तिम्रो बिहेको जन्ती गएर आएकी साथीले यो सुनाईरहँदा मैले आसुँ रोक्न साह्रै गाह्रो भएको थियो। त्यो दिन तिम्रो बिहे हुँदै थियो, हाम्रो सम्बन्धमा पूर्णविराम लाग्दै थियो भने तिम्रो नयाँ जीवन शुरु हुँदै थियो,एक मन म खुशी नै थिए, तिम्रो पारिवारिक जीवन सुरुवात भएकोमा भने आफु एक्लिएकीमा दुखी पनि थिए। तुलना नै गर्ने हो भने तिम्रो बिहेले म खुशी भन्दा ज्यादा दुखी थिए। म सोच्थे तिमी म बाट सजिलै छुट्टीन सक्लाउ, बिहे पछीका दिनहरुमा म तिमीलाई याद नआउ भनेर तिम्रो बिहे भन्दा निक्कै पहिले बाटै म तिमी सँग टाढिसकेकी थिए,तर छुट्टीनुको पिडा त तिमीलाई पनि छदैँथियो ।
तिम्रो बिहेमा मलाई सहभागी हुने आँटै भएन, म सहभागी नहुँने कुरा त पहिले नै तिमीलाई भनेकी थिए,यो सुन्दा तिमी मात्र भाव शुन्य भएर मलाई हेर्दै थियौ, तिमीले अरु कसैको सिउँदो भरेको हेर्ने आँट म मा छदै थिएन,त्यसैले म सहभागी भईन, तिमीले मेरो यो भाव बुझ्यौ या मलाई वरपर पाउँदा तिमीले पनि आफुलाई सम्हाल्न सक्दिन सोचेर मलाई आउँन कर गरेनौ या यो दुबै कुरा आ-आफ्नो ठाउँ मा ठिकै छन् मैले भेउ लगाएकी थीइन तर आज सम्झदाँ लाग्छ यि दुबै सत्य हुन् । म सँग छुट्नुको पिडा तिमीलाई पनि ताजै थियो,तिम्रो पनि अहिलाई बिहे गर्ने मन थिएन यो मलाई राम्रै थाहा छ र पनि नियती यस्तो आयो कि तिमीले बिहे गर्नै पर्‍यो, यो बिहे बाट तिमी खुशी छैनौ मलाई थाहा छ र पनि मैले टुलुटुलु हेर्न बाहेक केही गर्न सकिन।
   नयाँ कोहीँ अपनाउन पक्कै पनि सहज थिएन तिमीलाई,तिम्रो उदासीले मलाई नछोएको कहाँ थियो र ? तर पनि मैले तत्काल तिम्रो सामु आएर त्यो उदासी हटाउनु भन्दा तिमीलाई एक्लै आफुले आँफैलाई सम्हाल्ने समय कुर्दै टाढा बाट तिमीलाई नियाल्दै बसेँ, सयौ जन्ती,बाजागाजा,नाच रमिता भन्दा कती हो कती पर तिमी हराईरहेँका जस्ता देखिन्थ्यौ रे बिहेको दिन, सबैको माझमा भएर पनि एक्लो एक्लो देखिन्थ्यो रे, विवाहको रित पुर्‍याउन गर्नु पर्ने कयौ कृयाकलापमा तिम्रो ध्यान थिएन रे,एकाध पटक त पण्डितले तिमीलाई कोट्याएरै बोलाउँदै सबै बिधीहरु पुरा गर्नु परेको थियो रे । यो सबै सुन्दा पेखेटा हालेर अहिलै तुरुन्तै तिमी सम्म पुगेर त्यो अँगालो दिउ झै लाग्यो, जहाँ तिमी आफुलाई सबै तिर बार सुखी अनी खुशी ठान्थ्यौ, जसको खोजी तिमीलाई रात साँझ सधैं हुन्थ्यो, त्यहीँ कयौ आफ्ना पिर,बिरह अनी खुशी म सँग साट्थ्यौ अनी अन्तत:एक दिन यहीँ आफ्नो बिहेको कुरा सुनाएको थियौ.....तर आवेशमा आएर कहाँ हुन्थ्यो र मैले ?? तिमी त पुरा अधिकारिक रुपमा दुनियाँ साक्षी राखेरै अरुको भईसकेका  थियौ । तिम्रो र मेरो मनको सम्बन्ध यो दुनियाँले कती पनि बुझ्दैनन,यो समाज हाम्रो यो सम्बन्धलाई बद्नामी बाहेक केही दिदैन ।
 मैले त बरु एक्लै बाँच्ने बिकल्प रोजे तिमीले त त्यो पनि पाएनौँ, समय सँगै तिम्रो म बाट छुट्नु परेको घाऊ पुरिँदै जाओस अनी तिमीले आफ्नो म बिनाको नयाँ जीवनको सुरुवात गर्नु जहाँ टाढाटाढा सम्म पनि मेरो उपस्थितीको आवाष नहोस् तिमीलाई । टाढै बाट तिम्रो त्यो खुशी नियाल्ने छु र पनि यो मेरो मनको कुना कुना तिम्रो उपस्थिती बिना खाली खाली रहने छ जहाँ तिम्रै याद अनी हाम्रो अतितको सुमधुर भेटघाटको झ-झल्को भर्ने छु......




गजल


बारम्बार मुटु जोड्न सक्दिन म तिमीले झै !
माया गर्छु भन्दै छोड्न सक्दिन म तिमीले झै !

आज यहाँ भोली कहाँ भर हुन्न जोड्ने तोड्ने,
बाचाहरु सबै तोड्न सक्दिन म तिमीले झै !

यता माया थियो अन्तै जीवन् बाँच्ने सम्झौता छ,
यात्रा बिचै बाटो मोड्न सक्दिन म तिमीले झै !

''सुमन'' अनी 'मञ्जरी' मिलेर पो बाग खुल्छ,
पराईको बाग गोड्न सक्दिन म तिमीले झै !

बारम्बार मुटु जोड्न सक्दिन म तिमीले झै !
माया गर्छु भन्दै छोड्न सक्दिन म तिमीले झै !

गन्थन ३

    जसको माया अनी साथको आवश्यकता थियो,उसैले आफ्नो बाध्यता अनी बिभिन्न कारण देखाएर म बाट छुट्टीने बाहाना खोज्यो, यो कस्तो भाग्य मेरो? तिमी त गयौ भुल्यौ, तर खै किन मैले हाम्रो अतितको एक पाना सम्म पनि भुल्न सकिन या भुल्न चाहिन आँफै अलमल्लमा छु, तिमीले नाता तोड्यौ, तिमीले अर्को साथ रोज्यौ, हुने सम्मको पिडा पनि दियौ, तिमी भनेर मरिहत्ते गर्ने म तर तिमीले एक पटक सम्म पनि सोचेनौ कि तिमी बिनाको जीवन बाँच्न मलाई कती कठिन हुन्थ्यो ? यदी सोचेका थियौ भने त पक्कै यसरी छोड्ने थिएनौ कि झैँ लाग्छ, हुन त मान्छेको मन पलभरमै फेरिन्छ भन्छन् शायद तिम्रो मन फेरियो जुन मनमा मलाई राख्थ्यौ हिजो सम्म आज अरु कोही छ, के थाहा र भोली  अरु कोही नहोला भन्ने.... क्षणभरलाई नै सहि र पनि तिमीले मलाई माया त गर्थ्यौ,यस्तो माया जुन मायाको लागि मैले आफ्नो घरपरिवार,छिमेकी अनि आफन्त सबैलाई छोड्न सक्थे, तिमीलाई नै आफ्नो दुनियाँ मानेकी थिए,तिमि भन्दा पर मेरो कुनै अर्को संसार थिएन तर आज तिमि नै मेरो छैनौ, तिमीले मलाई छोड्नु तिम्रो बाध्यता साच्चै बाध्यता थियो या म सँग टाढिने बाहाना मात्र त्यो त तिमिलाई नै थाहा होला, तिमीले जान्छु भन्यौ मैले चुपचाप बाटो छोदिदिएँ,  तिमि गएको चुपचाप हेरे मात्रै कारण तिम्रो खुशी खोस्नु मेरो उदेश्य कहिले पनि थिएन अनि छैन पनि... हामीले मिलेर हाम्रो जीवनको जुन भावी योजना बनाएका थियौ,अनि त्यसको कल्पनामा जसरि हामी हराउथ्यौ सायद अब तिमीलाई त्यो खुशी अनि सुख म सँग जीवन जिउदा नभई अरु कसै सँग मिल्ने आवाष भयो होला र त म बाट सजिलै छुट्टीएर गयौ... छुट्टीएर त गयौ तर त्यस पछीको एक्लोपनको पिडा पनि तिमीलाई भएन यदि मलाई झैँ छटपटी हुन्थ्यो भने तिमि म सम्म आउन सक्थ्यौ तर म त तिमि सम्म जान पनि सकिन तिमीले बाटो यसरी बार्र्यौ कि न त म आउन सक्थे तिमि सम्म न तिमीले फर्किन चाह्यौ....
 तिमीले त रोजेको जीवन पायौ, खुशी होलाउ सायद यहि सम्झेर मन बाँधेकी छु मैले पनि...तिमि सँग हुँदा पनि मैले तिम्रो खुशी बाहेक अरु सोचेकी थिईन र अहिले पनि सोचेकी छैन,मेरो साथमा नभएर के भयो त जसको साथमा छौ उ सँग सुखी छौ होला.... मेरा त दिन त्यसै त्यसै बित्दैछन्, घरपरिवार माझ एक्लो हुनु, निरस निरस भएर दिन जसो तसो काट्नु, मन नहुदा नहुँदै पनि तिमीलाई सम्झेर केहि आँशु बगाउनु,दुनियाँ देखि आफैलाई लुकाउनु...यस्तै बित्दैछन मेरा दिनहरु ... खुशी फेरी फर्की आउने त आशै छैन र पनि खै किन बाँच्नु पर्दै छ थाहै छैन.... जिन्दगी देखि हार मानिसके अब त.... तिमीले झैँ अरु कसैलाई अँगाल्न सकेकी भए पनि आज तिम्रै यादमा यसरी बस्ने थिईन होला, तिमीले मलाई छोडनु तिम्रो भुल हो पक्कै थिएन होला तिमीले झै अरुलाई अँगाल्न नसक्नु मेरै दोष हो। तर तिम्रो माया कसरी म अरु सँग दाँज्न सक्छु,जहाँ तिमीलाई राखे त्यहाँ अर्को कोहीँ कसरी राखुँ अँह म सक्दिन बरु जीवन एक्लै किन नबितोस तर... अरु कोहीँ यो मनले स्विकार गर्दैन बरु यही एक्लोपन प्यारो छ मलाई..मायामा पागल भए भन्नेहरु देख्दा सुन्दा अचम्म लाग्थ्यो त्यो बेला जुन बेला तिमी हरपल मेरै सामु हुन्थ्यौ। आज त्यो पिडा आँफैले भोग्नु पर्दा ति सबै एक एक सम्झदै छु...
हुन त जीवन भरी कोहीँ कसैको साथ दिन सक्दैन र पनि तिमी सँग अती छिट्टै छुट्नु पर्ला यो शायद मेरो कल्पना भन्दा बहिरको कुरा थियो,त्यसले यो यथार्थता स्विकार गर्न गाह्रो हुँदैछ र पनि यथार्थता अब फेरिन्न, त्यसैले चुपचाप हुनु बाहेक अरु कुनै बिकल्प पनि त छौं म सँग ....
 तिमी सदा सुखी अनी खुशी रहनु,तिमिले मलाई धोका दियौ मैले चुपचाप सहेँ तर तिमीलाई कहिलै धोका नहोस्...