Showing posts with label याद. Show all posts
Showing posts with label याद. Show all posts

रु पाँच

''आमालाई नभन्नु नि है'' बा'ले ईस्टकोटको देब्रे खल्तीबाट रु पाँचको नोट् दिँदै भन्नु भो । कुरा त्यस्तै ५२\५३ साल तिरको हो। म घर नजिकैको प्राथमिक बिद्यालयमा पढ्थेँ। अघी पछी दैनिक २\३ रुप्पेमै बुझ्ने मन त्यो दिन रु पाँच लेखेको रातो नोट् देख्दा पहिले त केही सोच्नै सक्या होइन तर पछी मेरा आँखा झिलिक्क बलेका पो थिए कि खुशीले । अहिलेको १००\२००  रुप्पे भन्दा पनि बढी महत्व थियो उतिबेला त्यो पाँच रुप्पेको। पाँच रुप्पे बोक्न कि त दसैं कुर्नु पर्थ्यो,कि मावल पुग्नु पर्थ्यो, कि त  घरमा वर्षौ पछी कोई नातेदार  आईपुग्नु पर्थ्यो नत्र  त ठुलै बाजी मार्नु पर्थ्यो।  बाजी त मैले मारेकै थिए तर विपक्षी बिनाको बजी सजिलै मरेको थ्यो।
'हुन्छ' को  भावमा टाउको हल्लाई  बा'को हातबाट ट्याप्प पाँच रुप्पेको नोट् समातेर म स्कुल हान्निएँ।

 नथापेको बाजी मारेको खुशीयालीमा बुरुक्क उफ्रेर स्कुल पुगेँ। बाटो उती लामो त थिएन तर अझ चाडै कटेको भान भयो अहिले सोच्दा लाग्छ सायद साथीहरुलाई रु पाँच देखाउँने हतारो पनि थियो कि। गाउँमा त्यो पनि हामी जस्ता बाहुलाले सिँगान पुछ्न नछोडेका केटाकेटीलाई पाँच रुप्पे नै मनग्ये थियो। आखिर किन्नु पनि त एक रुप्पेको चार वटा आउने डल्ले चकलेट भन्दा अरु के नै पो हुन्थ्यो र। तर पाँच रुप्पे हात लागेको दिनपनी के डल्ले चकलेट खानु र आज मो'र खाले ल्याक्टो खाम पाँचको दशवटा त आउँछ सबैलाई एकुन्ट पनि पुग्छ कक्षामा पुग्ने बितिक्कै दश जनाको सहमतीमा यो निर्णय पारीत भयो। अब समस्या थियो चकलेट किन्न को जाने ? म आँफै जाने त प्रश्नै उठ्दैनथ्यो कारण चकलेट भएको  पसल घर मेरो आफ्नै थियो। जो सुकै पनि एकै जनाले रु पाँचको चकलेट किन्न जादाँ मेरी आमा खुब केरकार गर्नु हुन्थ्यो कारण कहिलेकही कतिका  घरबाट चोरेर ल्याईने पैसा हुन्थ्यो । म बाहेक बाँकी नौ मध्ये एउटाले भन्यो  पहिले उ गएर रु दुई बराबरको चार वटा चकलेट र रु तीन फिर्ता ल्याउने अनी लगत्तै पछी अर्को गएर रु तीनको छ वटा चकलेट ल्याउने । छलफलले निर्णय त गरिसकेको थियो अब केवल पर्खाई  थियो त एक बज्ने र हाफट्यामको सिठी बज्ने।

 म बाआमाकी कान्छी छोरी अझ  बुढेसकालमा जन्मेकी । दाई काठमाडौँ तिर बस्नु हुन्थ्यो सानै देखी मैले उही दसैंमा झुलुक्क देख्थेँ २\४ दिन त्यत्ती हो। दाई मलाई दाई भन्दा बढी पाउना जस्तो लाग्थ्यो जो वर्ष दुइ वर्ष एकध पटक आइपुग्छ ।  दिदीले गाऊँको स्कुलको पढाई सकेर बजारमा अर्की दिदीको घरमा बसेर पढ्न थालेकी थीइन। घरमा बाआमा र म जम्मा तीज जना हुन्थ्यौ। आमा र बा मध्ये एक जना स्कुल सुरु भए  देखी नछुटे सम्म पसल हेर्नु हुन्थ्यो भने अर्कोले वस्तुभाउको हेरचाह। म पुलपुलिएर हुर्केकी थिएँ। आमा बालाई भनिरहनु हुन्थ्यो कि 'धेरै सड्काउने हैन नि छोरीलाई, जे जे जती भन्यो त्यै त्यै दिएर।' तर बा सुनेको नसुन्यै गर्दिनु हुन्थ्यो। बाले मलाई दैनिक पैसा दिने र त्यो पैसा कुनै न कुनै तरिका अपनाएर पुन: चकलेट किनन आफ्नै घरमा आईपुग्ने कुरा आमालाई पनि थाहा नभएको त पक्कै होइन तर तर किन हो आमाले कहिलै थाहा पाए झैँ पनि गर्नु भएन। एक बज्ने बितिक्कै नौ जना मध्येको एउटा चकलेट किन्न कुद्यो। 'कस्ले पठा'को  हाम्री नानीले त होइन नि ?' आमाले मुखै ताकेर सोध्नु भएछ । यता मैले पाठ पढाएर पठाएकी  थिएँ कि ''पसलमा आमा भए कोल्ले पठा'को भन्नु हुन्छ अरु जस्ले पाठ'को भने पनि भन तर मैले चै नभन नि फेरी मर्लास', बा भए त  सोध्नु हुन्न जा'। पाठ पठाउनु यस मानेमा जरुरी थियो कि कयौं पटक सत्य ओकलिएर पैसा मात्र दिने बादलामा चकलेट नआएको परिस्थिती हामीले भोगेका थियौ। 'होइन' भन्ने भावमा मुन्टो हल्लाएर चार वटा चकलेट र रु तीन बोकेर ऊ अाईपुगे पछी त्यही प्रकृया दोहोर्याएर रु पाँचको दशवटा ल्याक्टो चकलेटको 'टिफिन' खायो दश जनाको समुहले । 

तीज


साउन लाग्दै गर्दा तीजले आफु आउँदै गरेको संकेत दिएको थियो। आज दर खाने दिन आईपुग्यो। शहरीया परिवेशमा करिब एकाध महिना अघी देखी पाक्दै आएको दर आज बल्ल गाउँ गाउँको हरेक माईती घरमा पाक्ने तरखरमा छ। अब भने तीज संघरैमा आईपुगेको झै लाग्दै छ। माईतीको बाटो हेर्दै गाउँ गाउँमा अझै पनि कती चेली आँशु झर्दै होलान भने कती माईती घर पुग्ने हतारोमा होलान। आज त सबैले दर खान्छन अनी भोली ब्रत बस्छन तर मेरो घरमा आज पनि दर पाक्ने लक्षण देखिदैन।चेलीहरु बोलाएर माईतीले खुवाउनु पर्ने दर आँफै पकाएर एक्लै खाने जागँर छैन मलाई। गाउँ जाने मेसो मिलेन यो शहरको तीजमा मेरो मन रमाउन मानेन।
 समयको आफ्नै गती छ। पोहोर गएको तीज फेरी आयो। दसैं र तिहार आउँने क्रममा छन। चाडवाड, रमाईलो भन्नु केटाकेटी छदाँ मात्रै रे'छ। जती जती उमेर बढ्दै जान्छ ती सब एक एक गरेर हराउँदै जादाँ रहेछन। जब बिस,बाइसको भईन्छ अनी त हाँस्नै भुलिसकिदोँ रहेँछ। जिन्दगी आफ्नै समस्याले थिल्थिलिएको बेला जुनसुकै चाडपर्व आए पनि मन रमाउन नसक्ने रे'छ। र पनि रमाए झै गर्न पछी पर्न पनि नहुँने स्थितिमा पाउँछु आँफैलाई अनी आफु झै देख्छु यो दुनियाँलाई।
बाहिर पानी एकनासले परिरहेको छ। मलमासले एक महिना पछी हुत्याएर अशोजमा आएको तीज पनि अब हिले तीज होला जस्तो छ। हुन त टन्टलापुर घाममा भगवान दर्शनका नाममा घण्टौ पशुपती या अन्त कहीँ लाईन लाग्ने आमा,भाउजु र दिदिबहिनीका लागि त यस्तै झरिलो दिन काईदाको बनिदिन्छ। वर्ष दिनको दु:ख पिर भुलेर यही तीन दिन तीज भरिकोको लागि घरधन्दा र अरु कामबाट मुक्त भई नाच्न र गाउनका लागि तीज आउने गर्छ भनेर सानै देखी आमा भाउजुले भन्नुभएको सुनेरै हुर्केकी थिएँ म तर हिजो आजको भड्किलो तीज र एक महिना अघी दर खाने प्रचलनले तीजको जुन आफ्नै महत्व थियो त्यो भने पक्कै हराएको छ।
  तीज भन्ने बितिक्कै मलाई बाल्यकालमा मेरो गाउँमा देखेको/मनाएको तीजको सम्झना आउँछ। जहाँ यसरी एक महिना अघी देखी दर खाईन्न थियो,तीजलाई लुगा र गहना देखाउने माध्यम नबनाई वर्ष दिनमा एक पटक टाढाटाढाका दिदीबहिनी भेट हुने र आपसी सुख दु:ख बाढ्ने माध्यम थियो। आमाबाबा र दाजुभाईको मिलोमतोमा चेलीका लागि दुध घ्यु र भदौरे तामाका कयौ परिकार आफ्नै चुल्होमा पाक्थ्यो न कि तारे होटेल र पार्टी प्यालेसमा। ठुलो आँगनमा घुमी घुमी आमा र भाउजुले लाएको पञ्चमीको पूजा र पूजा पनि आफ्नै भाखा र लयमा गाउने तीज गीत पक्कै पनि आजका तीज गीत भन्दा राम्रा थिए छन। तीज नितान्तै महिलाका निम्ती आउँने गर्थ्यो पहिले तर अहिले त छोरा मान्छेलाई पनि छोरीकै तुलनामा तीज लागेको देख्छु। अघी भर्खरै बाटोमा भेटिएका मित्र पनि दर खान जान लागेको भन्दै थिएँ।
मेरो गाउँले अझै पनि त्यहीँ तीज जोगाएको छ जुन तीज मैले सानै देखी मानेकी छु।त्यसैले म हरेक तीजमा गाउँ जान चाहन्छु कयौ पटक मेरो रहर पुरा हुन्छ भने कयौ पटक यसपाली झै सम्झनामै म गाउँ पुग्नुपर्ने हुन्छ ।अन्तत: यो तीज म  कालो कफीको साथमा झ्यालबाट एकनास परेको पानी नियाल्दै तीज मानिदिने निर्णय गर्छु।

त्यो झरी र यो झरी


लगातार परेको पानीले दिन रुझेको छ। यो रुझेको दिनले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्दै छ। त्यो बिगत जसको स्‍मृतिमा म घण्टौ हराउन सक्छु अनी त्यै बिगत सम्झेर हाँस्न र टोलाउन सक्छु।
त्यतिखेर मैले उसलाई भर्खर भर्खरै चिनेकी थिएँ। दुई चार भेटमै हामी धेरै नै नजिक भईसकेका थियौ। सुरु सुरुमा उसको थोरै बोल्ने र लाज मान्ने बानी देख्दा हाम्रो सम्बन्ध यती नजिक हुन्छ भन्ने मेरो कल्पनामै आउँदैन थियो। तर, दिनप्रतिदिन मलाई उसको त्यहीँ बानीले नै आकर्षित गर्दै थियो। हाम्रो परिचय भएको सायद एक महिना पुगनपुग भएको हुँदो हो त्यो झरीमा हामी भिज्दा। त्यो भेटाई अनी भिजाई योजानाबद्ध पनि थिएन। आ-आफ्नै काममा निस्केका हामीले बानेश्वरमा एक अर्कालाई भेटेका थियौ। बसाई एकैतिर भएकाले सँगै जान उसले भन्यौ। 'पानी परेको छ भिजिन्छ भैगो म बस मै आउँछु' भनेर टार्न पनि खोजेकी थिएँ मैले, तर उसले फेरी यसरी पानी परेको बेलामा सँगै हिंड्ने साईत जुर्ला या नजुर्ला,जुरेको साईत किन बिगारछ्यौ भन्दा म उसको लागेकी थिएँ।
 शंखमुलको बाटो हुँदै मंगलबजार निस्किने तयारीमा थियौ हामी पानी त बिहानै देखी परेकै थियो तर बंगलामुखी देखी तलतिर लाग्दा बाटो त हाम्रो गाउँको खोलो झैँ पो देखियो। फर्कौ यो बाटो बरु घुमेर जाऔँ पनि भने उसलाई तर उसको मनमा के थियो कुन्नी त्यै बाटो जाने ढिपी छोडेन। त्यसो भए पर्ख म चै हिंडेर जान्छु भनेर उसलाई मोटरबाईक रोक्न लगाएँ र झरे। पानीमा झन्डै झन्डै पुरै डुबेको बाईक सँगै ऊ बिस्तारै अघि बढ्दै थियो। सायद खाल्डो हुँदो हो बाईकत्यही फस्यो, ऊ पनि लड्न ठीक्क पर्‍यो। छेउको पसलको सिढिँमा उभिएकी मैले उसलाई हात बढाउँदै माथि आऊ भने। ऊ माथि उत्रने हैन कि मलाई पो पानीमा खसालिदियो। छेउछाउका पसलेहरु हलल्ल एकै चोटि हाँसे। म न हाँस्न सके न ऊ सँग रिसाउन नै।
दुई तीन जना पसले दाईहरुले बाईक निकालेर अली पर्तिर राखीदिनुभयो। ऊ भने अरु सँगै हलल्ल हाँस्दै थियो,मलाई भने दिक्क लाग्दै थियो उसको हर्कतले तर पनि ऊ माथि रिस खन्याउन भने सकिरहेँकी थीइन। 'अघी त भिजुँजा भन्ने पिर थियो तिमीलाई अब चैँ यै पानीमा डुबिरहन्छौ कि बाहिर पनि निस्कने?' खितित्त हाँस्दै अझै मलाई नै पो जिस्क्याउँदै थियो ऊ। उसले समातेको हात झट्कार्दै फुत्काएर केही नबोली र कसैलाई नहेरी फटाफट पानी नभएको ठाउँ तिर पाखा लागेर बसे। ऊ भने अझै उतै ती पसलेहरु सँग हाँस्दै थियो। 'आउँनै हुँदैन थ्यो तँ खुबै ज्ञानी भएर आउनु परेको थियो नि भोग अब' भन्दै आँफै सँग मुर्मुरिदैँ बसेँ। ''मलाई गाली गरेको हो कि क्या हो? मलाई गरेको गाली मैले नै सुन्न नपाउने यो त अली अन्याय भएन र भन्या?'' भन्दै ऊ म भए तिर आयो। उसले यस्ता कुरा पनि जानेको रहेँछ। आज सम्म यो रुप चै कता लुकाएर राखेको रहेँछ म मन मनै सोच्न थाले। 'कफी खाउ पहिले अनी जाउला है घर अब यसै भिजेको उसै भिजेको के हतारो हैन र?' फेरी उसैगरी खितित्त हाँस्दै भयो। 'अँ यो हालतमा कफी' मेरो बोलीमा रुखोपन टड्कारै आयो।
'तिम्रो रिस हराउने कफी खुवाउँछु पर्ख तब तिमीलाई यो झरी जीवन भरी याद रहन्छ' भन्दै ऊ हिँड्यो। लुगा भिजेकोले बस्न त सक्ने अवस्थामा थीइन त्यसैले उसलाई पछ्याएँ,तर अली परको मन्दिरको छानो मुनी ओत लागेर बसेँ। दुबै हातमा कफी बोकेर ऊ छेउ आईपुग्यो र कफी म तर्फ बढाउँदै भन्यो 'लाउ, अनी एउटा कुरा भन त आजको दिनको यादमा आगामी दिनमा तिमी रिसाउछ्यौ कि हाँस्छ्यौ हुँ?'
कफी लिदैँ घुरेर उसलाई हेरेँ मात्रै केही जवाफ दीइन।
कफी सक्यौ तर पानी उतिकै परिरहेकै थियो। भिजिएला भन्ने डर अब बाँकी थिएन त्यसैले जाने हैन घर जाडो भईसक्यो' बाँकी रहेको रिस दबाउदै बोले। 'जाने हो जाने लौ हिँड' भन्दै ऊ अघी लाग्यो म फेरी उसलाई पछ्याउन थालेँ। मलाई मेरो कोठा सम्म पुर्‍याएर ऊ पनि घर गयो। एकाध घण्टा पछी तुरुन्तै मलाई ज्वरो आउन थाल्यो। सिरक ओडेँ र सुते भोली ठीक होला भन्ने आशामा। एकैछिनमा उसको फोन आयो। 'तिम्रो हर्कतको परिणाम भोग्दैछु सुतेर ज्वरो आ'को छ।' फोनमा उसलाई घुर्क्याउनु सम्म घुर्क्याएँ र फेरी सुते।
सायद निदाउन लागेकी थिएँ या एक्कासी बढेको ज्वरोको असार थियो ढोका ढक्ढक्याएको आवाजले झस्किएँ। 'यो नसकेको बेलामा फेरी कुनै चै मुन्ट्यो बिथोल्न सोच्दै ढोका खोले उही रहेँछ। 'फेरी किन के भो?' झरीले होला झमक्कै साँझ परिसकेको बेला उसलाई आफ्नो सामु देख्दा अचम्म लाग्नु स्वभाविकै थियो। 'किन आउँनु हुन्न र? जाउँ त उसो भए' भन्दै उल्टै मलाई पो घुर्की लाउँदै हिंड्न खोज्छ।'ल भयो आऊ' भन्दै बाटो छोडिदिन्छु। 'हिँड' भन्दै ऊ मलाई अघी लाउँछ र आफु पनि आउँछ।
म फेरी सुतिदिन्छु। 'के साँच्चै ज्वरो आयो तिमीलाई?' उसको सोधाईले झनक्क रिस उठ्छ र भन्छु 'हैन ख्याल ख्यालको ज्वरो हो। अनी कोल्टे फेरेर सुत्छु। 'के खायौ त?' ऊ फेरी सोध्छ।
'केही न केही' मन नलागी नलागी बोल्छु।
'म सुप बनाईदिउ? पानीमा भिजेको भएर एलर्जीको ज्वरो आको हो तातो सुप खाउ बिसेक हुन्छ फेरी म सेफ हुन लायक मान्छे कतो मिठो पकाउन जान्या छु तिमीलाई के थाहा र?' भन्दै ऊ किचन तिर लाग्छ।
 म चुपचाप सुतिरहन्छु।
'एई निदाएकी,उठ उठ मैले सुप बनाएको छु लाउ' ऊ झक्झक्याउन आईपुग्छ फेरी।
'खान्न,मन छैन आँफै खाउँ'रिस देखाउने कोशीस गर्दै बोल्छु।
'म त खाईहाल्छु नि,म पनि पो भिज्या छु त अनी म चै किन नखानु त' हाँस्दै बोल्छ र सुप दिन्छ।
भोक पनि लागेको थियो जाडो घटेको पनि थिएन त्यसैले उठेर सुप खाएँ। बाहिर रिस देखाउने कोशीस गर्दै थिए तर मन भने ऊ प्रती माया उमार्दै थियो।
'ल अब यो औषधी खाउँ भोली बिहान सम्ममा यो ज्वरो भागेन भने मलाई भन्नु' भन्दै तातो पानी र औषधी दियो। ल अब सुत।
'तिमीलाई घर जान पर्दैन? तिमी जाउँ राती भईसक्यो।'
'म गईहाल्छु नि, पैले तिमी त सुत।'
उसको जिद्धिको अघी मेरो सधै हार नै हुन्छ र पनि त्यो हार मलाई मिठो लाग्छ। उसको कुरा मानेर चुपचाप सुत्छु।
                                              ********
पानीको कुटाईले थाकेको रात बिदा माग्ने तर्खरमा हुँदा पुर्वतिर सुर्यले आफ्नो आगमनको संकेत दिँदै गरेको हुन्छ। हिजो साँझको ज्वरोले संकेत सम्म पनि आफुमा बाँकी नरहेको र एउटा सुन्दर बिहानिको आगमको संकेत सँगै बिउँझन्छु। हिजो दिउँस देखी साँझ सम्मको घटना खर्खर्ती सम्झन्छु। एक्कासी उसको याद आउँछ। कती बेला घर गयो, न ऊ पनि पो बिरामी पर्‍यो कि मन त्यसै त्यसै आत्तिन्छ। फोन गर्छु सोच्दै फोन खोज्न उठ्छु। आफ्नै आँखा प्रती विश्वास लाग्दैन, आँखा मिचेर पुन: हेर्छु भुँईको गलैचामा पछ्यौरा ओढेर हातको सिरानी लाएर मस्त निदाईरहेको छ ऊ। नछोपिएको उसको अनुहार नियाल्न थाल्छु, निष्कपट अनी मायालाग्दो देखिन्छ ऊ। हेरिरहन्छु तर धितै मर्दैन। ऊ बिउँझला भन्ने डरले छोप्छ, ओड्ने तानेर पछ्यौरा माथि ओढाईदिन्छु र नुहाउन बाथरुम पस्छु। नुहाई सकेर आउँदा पनि ऊ निदाई रहेँकै हुन्छ। किचन पसेर दुई कप कफी बनाउँछु र ब्रेड टोस्ट गरेर ठीक्क पार्छु र लिएर आउँदा पनि ऊ निदाई नै रहेको हुन्छ। निदाई रहेको उसलाई गहिरिएर नियाल्छु वर्षौ पहिले बिछोडिको आफन्त झैँ लाग्छ। किन किन उसमा आफनत्व मात्रै पाउँछु। हिजोको रिसको नामोनिशानै भेटिन आफ्नै मन देखेर छक्क परेँ। हिजोको उसको हर्कतमा पनि आत्मियताको पाउँन  थालेँ !
'एई उठ' सिरक बहिरै बाट घच्घच्याउँछु।
आँखा खोल्दै बोल्छ 'गूड मर्निङ!'
'गूड मर्निङ, अझै पुगेन निद्रा? हाँस्दै सोध्छु।
'पुग्यो नि अब, बिउझाएर अनी अझै निद्रा पुगेन रे' मायालु तर घुर्क्याएको बोली बोल्छ।
हाँस्छु मात्रै केही बोल्दिन। ऊ उठेर कफी पिउँन थालिसकेको हुन्छ। म उसलाई हेरिरहन्छु। यस्तो लाग्छ वर्षौ पछी मात्रै देख्दै छु उसलाई।
                                        *******
आज वर्षौ पछि यो झरीमा मैले उसले त्यो झरीमा सोधेको प्रश्नको जवाफ भेट्टाएकी छु। तर, अफसोच! यो झरीमा म एक्लै छु।ऊ परदेशी भएको धेरै भईसक्यो।  यो झरीमा मलाई भिज्न कर गर्ने ऊ म सँग छैन,छ त केवल ती दिनका याद अनी उसको त्यो मायालु व्यवहार। आज उसलाई भन्न मन लागेको छ कि ''त्यो झरीको सम्झनाले म भित्र रिस होईन खुशी ल्याउँछ, तिम्रो आफ्नोपन याद आउँछ र फेरी त्यसै गरी रुझ्न मन लाग्छ।'' उसको ठाउँमा झरी पर्दा उसले मलाई सम्झन्छ या सम्झदैन तर मैले भने त्यो झरी पछीका हरेक झरीहरु उसैको यादमा बिताउने गरेकी छु। ऊ फर्कनेछ अनी ऊ सँगै त्यो झरी फेरी फर्कनेछ भन्ने झिनो आशाका साथ यो झरी उसैको नाउँमा।

म र मेरा नौ........... जम्मा दश :) म र मेरा बाल्यकालीन साथीहरु ।

     कुरा मैले स्कुल थाले देखी आज सम्मकै हो। मेरो घर नजिकै छ जालपा देवी स्कुल,त्यहीँबाट मैले मेरो पढाई सुरु गरेकी हुँ।एक कक्षाबाट दुईमा पुग्दा हामी १० जना पास भएका थियौ। चार कक्षा सम्म हामी मात्र थियौ। चार कक्षामा भने नजिकैको अर्को गाउँ देखी पाँच जना साथी थपिएर हामी १५ जना भएका थियौ। यसपाली दसैंमा घर जादाँ नौ जना (म बाहेक) कहाँ कहाँ के के गर्दै होलान भनेर खोजी गरेँ। बाँकी पाँच अर्को पल्टलाई।
               एउटा अरेन्जबल चकलेट सम्म ढुङ्गामा फुटाएर बाँडेर खादाँको स्वाद अझै भुलेकी छैन,उनिहरुले पनि पक्कै भुलेका छैनन होला। नुन कस्ले ल्याउने अघिल्लो दिन नै सल्लाह हुन्थ्यो तर कागती र निबुवा भने सधैं मेरै भागमा पर्थ्यो। घर नजिक भएकोले हाफ्ट्याममा चोर्न सजिलो। कुडाँरको कागती र निबुवा खुबै चोरे मैले आफ्ना साथीका लागि। गाली पनि खाएँ बाआमाको, तर चोरेका  कागती र निबुवा साथीसँग बाँडेर खादाँको स्वादले गाली सजिलै भुल्थे म। अर्को दिन फेरी उही प्रकृया। यीनै बाल्यकालीन सम्झनामा समेटिने मेरा साथीहरु जो आज भेटघाट नभएको बर्षौ भए पनि उतिकै आत्मिय लाग्छन। नयाँ साथीहरु बनेका छन अनी बन्दै पनि छन तर पनि ती बाल्यकालीन यादहरु कहिलै धमिला नहुने रहेँछन। हाम्रो मिल्ती देखेरै होला बिगतकेही बर्ष देखी गाउँ फर्कने जती मेरा यी साथीहरुलाई मेरी आमाले नै घरमा बोलाउनु हुन्छ। दसैंका केही दिनहरु मध्ये एक दिन म र मेरा साथीहरुलाई दिनुभएको छ मेरी आमाले। आज म मेरा यिनै साथीहरुलाई  सम्झदै छु  ।

१.शेरबहादुर तमाङ 
''सेरे'' उसलाई हामीले बोलाउने नाउँ। उ हामी सबै भन्दा उमेरका हिसाबले अलिक ठुलो। छ कक्षाको पढाई आधा जती भए पछी उसले स्कुल छोड्यो,पढाई राम्रै थियो उस्को हामीले पढ त भनेउ तर खै किन हो उसले फेरी पढ्न मानेन  त्यस्को एक दुई महिना पछी बिहे गरेको थियो। बिहे पछी उ सँग खासै भेटघाट भएन। यसपाली दसैंमा घर जादाँ उसको घर सम्म पुगेँ । छोरा छोरी हुर्किसकेका रहेँछन। उ भने खाडी तिर रहेँछ। खेतिपाती ,घर ब्यवहार उसकी बुढीले सम्हाल्दी रहिछिन। ''कहिले कै फुन गर्च अनी खर्च पनि पठाउच,मिले माक(माघ)मा नत्र आर्को दसैंमा आउच रे''  कहिले आउँछ रे अब भनेर सोध्दा यसो भनिन र आफ्नै काममा लागिन ।
२. देबकी खनाल
नातामा उ मेरी भदैनी पर्छे। दाहिने हातको माईली र माझी औंला चुस्थी त्यसैले उसलाई हामी औली भन्थ्यौ। दाई(उसको बुवा) गाउँका जान्ने सुन्ने अन्तर्गत पर्नुहुन्छ र पनि खै किन हो आठ कक्षामा पढ्दा उसको बिहे गरिदिए। बिहे अघी त खुब रोएकी थीइ बिहे पछी भने खुशी नै देखिन्थी ! बिहे पछी पनि उ पढ्न त आउथी तर नौ कक्षाको आधा आधी भएपछी भने उ स्कुल आउँन छोडि। माईत आउँदा यदाकदा भेट हुन्थ्यो । लगत्तै उसले छोरी पाई रे भन्ने सुने । यसपाली टिका लगाउन त दुई वटी छोरी अघी लगाउँदै पो आई ।

३. नानीमैयाँ घिमिरे
पछी नाम फेरेर अप्सरा राखे पनि उसलाई हामी नानीमैयाँ नै भन्थ्यौ। उ मेरी दिदी(ठुलबाकी छोरी)की छोरी हो। मावल बसेर पढेकी थीइ। तर आठ कक्षा पछी भने उ आफ्नै घर गएर पढ्न थाली। र पनि मावल आउँदा उ सँग भेट त हुन्थ्यो नै। उ मेरो गोठाल्नी साथी पनि हो । त्यसैले उ मेरी स्कुल अनी घर देखी लिएर बन सम्मकी साथी हो। परार साल बिहे गरेकी उ यसपाली मामाघर टिका लगाउन आउँदा त छोरी बोकेर पो आई। पढाई छोड्दिएँ मैले त तेरो कहाँ पुग्यो? लौ राम्ररी पढ्नु है हाम्रो त्यस्तै भैहाल्यो त भन्दै थीइ।

४.सीता घिमिरे 
१,२,३,४,५, पछी ६,७,८, भिन्दै स्कुलमा पढेर हामी फेरी ९ र १० मा भेटिएका थियौ। SLC पछी काठमान्डौ बसाईको क्रममा पनि एकाध भेट भएको थियो। उसले सशस्त्र प्रहरीमा जागिर खाएपछी पनि पाटनढोका तिर कहिलेकहीँ भेट हुन्थ्यो। पहिले राम्रो पढ्ने उसले जागीरे भएपछी पढाई भने बिगारी छे । यस्पाली दसैंमा उसलाई भेट्न खोजे तर भेट भएन ।

५.रामबावु श्रेष्ठ 
कक्षामा सायद कोही सँग मिल्दैन थियो,त्यसैले सधैं एक्लै एक्लै हुन्थ्यो र पनि माथिल्ला कक्षाकाले हामी सँग झगडा गर्न आउँदा तिनेरु हामी सम्म  नआईपुग्दै उसले कुटेर फर्काउथ्यो। यसर्थमा उ हाम्रो कक्षाको  गार्ड नै थियो। ९ कक्षा तिर फेल भएर पढाई छोडेको थियो। एकाध बर्ष पछी मलेसिया गएको थियो, यसपालीको दसैंमा पनि उतै रहेँछ। उ सँग भेट नभएको त तीन चार सालै पो भो कि त ।

६.नारायण श्रेष्ठ 
सबैले 'काले' भन्थे सानो छदाँ। अली ठुलो भएपछी भने  उसलाई नामबाटै बोलाउथ्यौ हामी। स्कुल पछी सधैं जसो भेट नभए पनि दसैं तिहार मा गाउँ फर्कदाँ भने सधैं हाम्रो भेटघाट हुन्थ्यो। स्कुलका अन्तिम दिनहरुमा बिना बिथ्थैमा हामीलाई गाली गर्ने र अरुले गरेको गल्तीको दोष समेत हामीलाई दिने पल्लो गाउँको( हाईस्कुल जादाँ बाटोमा पर्ने गाउँ) एउटा मान्छेको बारीमा लगाएको साग,काउली लगाएतला तरकारी उखेल्दिने हाम्रो चार पाँच जनाको समुहमा उ पनि पर्छ। काठमान्डौ मै भएर पनि पोहोर दसैं देखी भेट नभएकोले यसपाली घर जादाँ  सँगै जाने फोन सल्लाह अनुरुप सँगै गाउँ गईयो। खुब रमाईलो भयो यात्रा । पढाई भने छोडेको छ फेरी पढ भने 'ल' चै भन्थ्यो खै के गर्छ अर्को दसैंमा थाहा होला ।

७.नवराज श्रेष्ठ
कहिलै नरिसाउने स्वभाव कै कारण उ सबैको प्रिय थियो/छ। उसको मादल बजाउने बिशेष कलाको कारण उ निक्कै चर्चित पनि छ। सात गाउँ चिनिएको भन्दा पनि फरक नपर्ला। मैले आफ्नो घरको कुडाँरबाट चोरेका कागती र निबुवा अनी चकलेट फोरेर भाग लगाउने जिम्मा धेरै जसो उसैले पाउथ्यो। हरेक दसैंमा घरमै हाम्रो भेट हुन्थ्यो। यसपाली दसैंमा हामी तीन जना(नरायण सहित) सँगै भएकाले फेरी एक पटक हामीले तिनै कागती,निबुवा अनी साग,काउलीको कथा सम्झियौ र हाँस्दै बाटो काट्यौ। यसले पनि पढाई छोडेछ। नर्थ फेसको झोला बनाउँने ठाउँ उसको अफिस भएकाले मलाई झोला गिफ्ट दिन्छ रे अर्को दसैंमा। ;)

८. दिपक(राजकुमार) अधिकारी
उसकी दिदी र मेरी दिदी सहपाठी भएकाले दिदिहरु सधैं जसो सँगै हुने हुँदा हामी पनि सँगै पढ्ने गर्थ्यौ। कक्षाको फस्ट सधैं उही हुन्थ्यो। निमावी को पढाई सके पछी उ काठमान्डौ पढ्न भनेर आयो। तर पनि घर गएको बेलामा उ हाम्रै घरमा आईपुग्थ्यो। अलिक भिन्दै गोरो थियो त्यसैले उसलाई मेरी दिदी अनी बाआमा गोरे भन्नु हुन्थ्यो/भन्नुहुन्छ। पढाई छोडेर धन कमाउन झण्डै दुई महिना अघी मात्र दुबई गएकोले यसपालीको दसैंमा गोरे हाम्रो घर आएन।

९. दिपक श्रेष्ठ
हामी  त्यस्तो साथी थियौ जो कक्षा एक देखी १० सम्म सँगै पढेका हौ। अरु केही पछाडि छुटे केहीले पढाई छोडे भने कतिले गाउँ। बिहान बेलुकाको कोचिङ कक्षा जादाँ,खाजा खादाँ हामी सधैं सँगै हुन्थ्यौ। हाम्रो उमेर पनि समान थियो। ''कान्छा'' उसको हामीले मायाले बोलाउने नाम हो। स्कुल पढ्दा उसलाई खुबै सताउथे केटीहरुले किनकी निकै लजालु थियो। जो जो पछी लाग्थे हाम्रो ग्रुपले तिनेरुको सातै लिन्थ्यो स्कुलको माझमा जिस्क्याएर। SLCमा स्कुल टप गरेको थियो। BBSतिर पुगेपछी भने पढाई बिगारेछ अनी गाउँ फर्केर हामीले बाल्यकालमा पढेको स्कुल(जालपा देवी जुन भर्खर निमावी भएको छ)मा एक वर्ष पढाए पछी हाल साउदीमा छ। भर्खरै ५/६ महिना मात्रै भएकाले यसपाली हामी सँगै गाउँ र हाम्रो घरमा आएन ।

१०.म(सुमन मञ्जरी)
यी सबै जसरी जसरी मेरा साथी भए उसरी नै म यिनिहरु सबैकी साथी हुँ। कक्षामा कान्छी र घरकी पनि कान्छी छोरी भएकीले सबैले मलाई कान्छी नै भन्छन। बाल्यकालमा  स्कुल सँगै पढेका ती साथीहरु अहिले मेरो क्याम्पसमा कोही छैनन सबैले लगभग पढाई छोडिसके। अहिले पनि जब दसैं आउँछ,जब गाउँ गईन्छ तब त्यै स्कुल अनी निबुवा र कागती चोर्ने कुडाँरले मलाई पुन: तिनै दिनहरुमा पुर्‍याउँछ। फेरी एक पटक खाजा बाँडेर खाने,अनी निबुवा,कागती र चकलेट फोरेर खाने मन छ।

दिन,महिना र बर्ष गर्दै आज स्कुल सकेको पनि ६ बर्ष बितिसकेछ। हिजो झै लाग्छ निबुवा र कागती चोर्दा आमाको गाली खाएको। उफ्फ चाहेँर पनि रोक्न नसकिने यो समय हामीलाई पछाडि छोडेर अघी बढेको बढ्यै पो रहेँछ।

गन्थन


त्यो उदासी किन थियो ? त्यसको कारण म नै पो थिए कि ? कती पिडा थियो त्यो भावमा, केही भन्न चाहन्थ्यौ तिमी मलाई तर के ले रोक्यो तिमीलाई ? तिमी यस्तो त थियौ त । सुख होस् या दु:ख तिमी आफ्न कुरा मलाई नसुनाई एकैक्षण बस्न सक्दैन थ्यौ त। तर आज खै त्यो चञ्चलता ? कती गम्भिर देखिएका थियौ। यस्तो लाग्यो म तिमीलाई पटक्कै चिन्दै चिन्दिन । कोइ नयाँ मान्छे भेटे झै लाग्यो आजको भेटघाट। एक मन लाग्यो तिम्रो उदासीको कारण मै हुँ। तर,अर्को मनले सम्झ्यो,धत्! उसले तलाई कहिलै गलत बुझ्न सक्छ र ? ब्यर्थै भए नभएको कुरा मनमा खेलाएर.....
तर,अहँ मन मान्दैन। तिम्रो उदासी अनुहार केही गरे भुल्न सकेकी छैन। कसैले कुनै पहाडै उठाएर तिमीलाई बोकाए झै खै कुन्नी कुन पिरले थिचिदै थियौ। यदी त्यो उदासी मेरो कारणले हो भने फेरी तिम्रो छेउ कहिलै पर्ने छैन,यो आफुँ सँगै बाचा गरेँ । किनकी म तिमीलाई दु:ख या उदासी दिन चाहन्न। मेरो कारण तिमी दु:ख यो म स्विकार्न सक्दिन। तिमीलाई आफु भन्दा टाढै राखेर माया दिनेछु। सुर्यले पनि यस धर्तिका सबैलाई माया गर्छ के माया लाग्यो भन्दैमा नजिक आयो भने यहाँको सबै जीवन नष्ट हुन्न र ? मेरो सामिप्यताले तिम्रो हाँसो,खुशी, त्यो चञ्चलता र तिमीलाई नष्ट पार्छ भने म तिमीलाई टाढैबाट नियाल्ने छु। बिन्ती तिमी उदास नहुनु है । तिम्रो वरपर तिम्रो हाँसो र खुशी चाहने धेरै छन तिनै धेरै मध्य म पनि एक हुँ। तिमी खुशी अनी सुखी रहेँको हेर्नु मेरो हिजो,आज, र भोलीको एक मात्र रहर हो।  

झरीले जोडेको सम्बन्ध


        यी दिनहरुमा लगातार झरी परिरहँदा हाम्रो  भेटघाटका सुरुवाती दिनहरु याद आउँदै छन । तीन बर्ष अघिको यही भदौरे झरीमा हाम्रो भेट भएको थियो । लगातारको झरीले दिनहरु निथ्रुक्क भिजेका थिए । थोरै बोल्ने अनी चुपचाप बस्न रुचाउने रहेछौ तिमी मलाई भने बोलिरहनु पर्ने । एकै भेटमा तिमीलाई अत्त्याएकी थिए क्यारे धेरै कुरा एकै चोटि सोधेर, प्रश्न माथि प्रश्न ;) तिमी योजनाबद्ध रुपमा मलाई भेट्न आएको भए पनि तिम्रो आगमन मेरो लागि भने अकस्मात नै थियो । अनजानैमा एकै गोरेटोको सहयात्री बनेका हामी कयौ पटक कयौ दोबाटोमा अल्झिएका छौ कि कुन बाटो सहि र कुन गलत छुट्याउनको लागि ।
भावनामा डुबुल्की मार्दा मार्दै स-साना कुरामा पनि धेरै मन दु:खाउने मैले तिम्रा कयौँ कुराहरुमा मन दु:खाएकी छु यो सत्य हो । अनी मेरो अतिशय भावुकताले तिमीले आफ्नो मन दु:खाएको पनि सत्य हो । यी दु:खाईहरु माझ पनि अनेकौ सुखद अनुभवहरु सगाँल्दै, प्रतिकुल परिस्थितिमा एक अर्कोलाई साथ दिँदै आज हामी जिन्दगीको यो मोड सम्म आईपुगेका छौ ।  आफ्ना आफन्त भए पछी तिनै बिच एउटा न एउटा शत्रु भएर निस्किनु नौलो त पक्कै होइन । हाम्रो विश्वाश को डोरी यती कसिलो बन्यो कि कसैले जती नै प्रयास गरे पनि ति हामी अनी हाम्रो सम्बन्धको बिचमा टिक्न सकेनन ।
   यो झरीले त तिम्रो त मेरो सम्बन्धलाई झन बलियो पार्छ । कती झरीमा सँगै रुझेका छौ भने कती झरीमा एक अर्कोबाट टाढिनुको पिडाबोध पनि राम्रै गरेका छौ । बितेका दिन बितिसके, आज फेरी त्यस्तै झरी परेको छ जुन दिन हामी दिन भरी रुझेका थियौ । भिज्दै कफी पिउदै र पानी सँग चल्दै जिस्केका पलहरु स्मरणमा अझै ताजा छ अनी म यसलाई सधैं ताजै राखिरहँन चाहन्छु  मन भरी अनी मुटुभरी सधैं सधैंलाई।।
यो बर्षको भदौरे झरी झर्न सुरु गरिसकेको छ । तिमी फर्कन्छौ यो झरीमा ? चाडै फर्कनु...रुझ्न मन छ मन भरी अनी मुटु भरी ।