तीज


साउन लाग्दै गर्दा तीजले आफु आउँदै गरेको संकेत दिएको थियो। आज दर खाने दिन आईपुग्यो। शहरीया परिवेशमा करिब एकाध महिना अघी देखी पाक्दै आएको दर आज बल्ल गाउँ गाउँको हरेक माईती घरमा पाक्ने तरखरमा छ। अब भने तीज संघरैमा आईपुगेको झै लाग्दै छ। माईतीको बाटो हेर्दै गाउँ गाउँमा अझै पनि कती चेली आँशु झर्दै होलान भने कती माईती घर पुग्ने हतारोमा होलान। आज त सबैले दर खान्छन अनी भोली ब्रत बस्छन तर मेरो घरमा आज पनि दर पाक्ने लक्षण देखिदैन।चेलीहरु बोलाएर माईतीले खुवाउनु पर्ने दर आँफै पकाएर एक्लै खाने जागँर छैन मलाई। गाउँ जाने मेसो मिलेन यो शहरको तीजमा मेरो मन रमाउन मानेन।
 समयको आफ्नै गती छ। पोहोर गएको तीज फेरी आयो। दसैं र तिहार आउँने क्रममा छन। चाडवाड, रमाईलो भन्नु केटाकेटी छदाँ मात्रै रे'छ। जती जती उमेर बढ्दै जान्छ ती सब एक एक गरेर हराउँदै जादाँ रहेछन। जब बिस,बाइसको भईन्छ अनी त हाँस्नै भुलिसकिदोँ रहेँछ। जिन्दगी आफ्नै समस्याले थिल्थिलिएको बेला जुनसुकै चाडपर्व आए पनि मन रमाउन नसक्ने रे'छ। र पनि रमाए झै गर्न पछी पर्न पनि नहुँने स्थितिमा पाउँछु आँफैलाई अनी आफु झै देख्छु यो दुनियाँलाई।
बाहिर पानी एकनासले परिरहेको छ। मलमासले एक महिना पछी हुत्याएर अशोजमा आएको तीज पनि अब हिले तीज होला जस्तो छ। हुन त टन्टलापुर घाममा भगवान दर्शनका नाममा घण्टौ पशुपती या अन्त कहीँ लाईन लाग्ने आमा,भाउजु र दिदिबहिनीका लागि त यस्तै झरिलो दिन काईदाको बनिदिन्छ। वर्ष दिनको दु:ख पिर भुलेर यही तीन दिन तीज भरिकोको लागि घरधन्दा र अरु कामबाट मुक्त भई नाच्न र गाउनका लागि तीज आउने गर्छ भनेर सानै देखी आमा भाउजुले भन्नुभएको सुनेरै हुर्केकी थिएँ म तर हिजो आजको भड्किलो तीज र एक महिना अघी दर खाने प्रचलनले तीजको जुन आफ्नै महत्व थियो त्यो भने पक्कै हराएको छ।
  तीज भन्ने बितिक्कै मलाई बाल्यकालमा मेरो गाउँमा देखेको/मनाएको तीजको सम्झना आउँछ। जहाँ यसरी एक महिना अघी देखी दर खाईन्न थियो,तीजलाई लुगा र गहना देखाउने माध्यम नबनाई वर्ष दिनमा एक पटक टाढाटाढाका दिदीबहिनी भेट हुने र आपसी सुख दु:ख बाढ्ने माध्यम थियो। आमाबाबा र दाजुभाईको मिलोमतोमा चेलीका लागि दुध घ्यु र भदौरे तामाका कयौ परिकार आफ्नै चुल्होमा पाक्थ्यो न कि तारे होटेल र पार्टी प्यालेसमा। ठुलो आँगनमा घुमी घुमी आमा र भाउजुले लाएको पञ्चमीको पूजा र पूजा पनि आफ्नै भाखा र लयमा गाउने तीज गीत पक्कै पनि आजका तीज गीत भन्दा राम्रा थिए छन। तीज नितान्तै महिलाका निम्ती आउँने गर्थ्यो पहिले तर अहिले त छोरा मान्छेलाई पनि छोरीकै तुलनामा तीज लागेको देख्छु। अघी भर्खरै बाटोमा भेटिएका मित्र पनि दर खान जान लागेको भन्दै थिएँ।
मेरो गाउँले अझै पनि त्यहीँ तीज जोगाएको छ जुन तीज मैले सानै देखी मानेकी छु।त्यसैले म हरेक तीजमा गाउँ जान चाहन्छु कयौ पटक मेरो रहर पुरा हुन्छ भने कयौ पटक यसपाली झै सम्झनामै म गाउँ पुग्नुपर्ने हुन्छ ।अन्तत: यो तीज म  कालो कफीको साथमा झ्यालबाट एकनास परेको पानी नियाल्दै तीज मानिदिने निर्णय गर्छु।

1 comment:

  1. सायद समय फेरियो होला |तीज गीतका भाका फेरिएका छन्| मनाउने चाला फेरिएको छ | कहिलेकाहीं लाग्छ तीजको महत्व हराउँदै छ | तर अर्को मनले बिचार गर्छु सासुले बुहारी सताउने चलन धेरै कम भैसकेको छ | सिमित परिस्थितिमा बाहेक अहिले बरु बुहारीले सासु सताउने दिन आएका छन् | यस्तो अवस्थामा अहिले पनि सासुलाइ गालि गर्ने गीत सायद सान्धर्भिक हुँदैनन होला | तर एक महिना पुरै दर खाने चलन प्रति चाहीं मेरो पनि आपत्ति हो

    ReplyDelete