'कालीमाटी' दिदीले एउटा सानो बसलाई ईशारा गर्नुभयो,त्यो दिन त अँध्यारोमा केही देखिन तर भोली पल्ट उज्यालोमा देख्दा त्यस्तो सानो बसलाई ट्याक्सी भनिने रहेँछ। ट्याक्सी हामीलाई बोकेर हुईकियो,सिसाभित्रै बाट दाँयाबायाँ नियालेँ। सडक छेउछाउमा मान्छेको लस्कर धेरै देखिन्थ्यो। हाम्रो गाउँको दिवाली पूजामा भन्दा पनि धेरै। ओहो! कहाँ कहाँबाट आएका होलान यतिका मान्छे,सबैले देखिसकेका रहेँछन यो काठमाडौँ,मै मात्र रहेँछु भर्खरै देख्ने। अरुले देखिसकेको पुरानो काठमाडौँ आफुले देख्न परेकोमा मलाई दिक्क लागेको थियो एक मन, देख्न पाएकी र अबका दिनमा यही बस्ने उत्साहले फुरुङ पनि। म सँगैका कती साथीले त अझै देख्न पाएका छैनन,बिचरा कतिको त गाउँतिरै बिहे भएको थियो दश कक्षाको पढाई सकिने बितिक्कै, तिनीहरुको दाजोँमा आफुलाई भाग्यमानी ठान्दै ढिलो काठमाडौँ देख्न पाएर निराश भएको मन बुझाउँदै थिएँ।अहिले थाहा भयो कि यहाँ दैनिक म जस्ता अरुले पहिलै देखीसकेको पुरानो काठमाडौँ भित्रिने थुप्रै छन आफ्ना नयाँ नयाँ सपना बोकेर। तर साँच्चै खै कुन्नी किन हो उतिबेला मलाई खुब नरमाईलो लागेको थियो। अहिले पनि एक्लै हाँस्छु त्यो दिन सम्झेर।
उज्यालो र ठुलो बाटो छोडेर ट्याक्सी कतै भित्री बाटोमा गूड्न थाल्यो र एकै छिनमा रोकियो पनि।दिदीले मै पट्टिको ढोका खोलिदिनु भयो पहिले र आफ्नो तिरको ढोका खोलेर निस्किनु भयो र ढ्याम्म ढोका लाईदिनु भयो, मैले पनि उस्तै गरेर ढोका हुत्याएर लाईदिएँ ;)। खै कुन्नी कती पो हो पैसा लिएर त्यो ट्याक्सी पनि त्यहाँबाट हिड्यो हामीलाई छोडेर र एकैछिनमा अलप भयो जसरी अघी गाउँबाट यो काठमाडौँ सम्म ल्याएको बस हराए'थ्यो। त्यहीँ छेवैको घरको एक तलो माथि मेरी दिदी दुई वर्ष पहिले देखी बस्दै आएको कोठा जहाँ एकातिर खाट, अर्को कुनामा निगालोको अग्लो र्याक भरी किताबहरु,एकापट्टी छेउमा ग्याँस चुलो। सारा घर एउटा कोठामा सिमित।कती जिन्दगी होलान है यो काठमाडौँमा मेरी दिदी झैँ सानो कोठामा आफ्नो संसार बनाउने?
.............
जिन्दगीका कयौं बर्ष बिताउन गारो भए पनि त्यसलाई बिगत भईसकेपछी फर्लाङ्फर्लाङ पल्टाउन धेरै सजिलो हुँदो रहेँछ। काठमाडौँ आईपुगेको एक हप्ता नबित्दै म भित्रको उत्साह सेलाईसकेको थियो। दिदी दिनभरी स्कुल पढाउनु हुन्थ्यो भने साँझ क्याम्पस पढ्नुहुन्थ्यो र ८ बजेतिर मात्र आईपुग्नु हुन्थ्यो। गाउँमा स्वच्छन्द उडेकी मलाई यो शहर साघुँरो लाग्न थालिसकेको थियो। गाउँघर तिर रुख,पहाड,ढुङ्गा,माटाले समेत चिन्दथें,दुख सुखमा संगै हुन्थे,तर यो शहरमा मान्छेले मान्छे समेत नचिन्दों रहेँछ। म झोक्राएको देखेर दिदीले भन्नुभयो,'नानी, यो शहर तैले सोचेको जस्तो राम्रो र सजिलो छैन, आफ्नो मन अनी शहर प्रतिको सोचाईमा फरक ल्याउनु, एक दिन मलाई जस्तै तलाई पनि यो शहर बानी पर्छ तर मन भने कहिलै पर्दैन।' के कती बुझेर हो उतीखेर खुब एकहोरो भएकी थिए तर अहिले भर्खर भर्खर बुझ्दै छु दिदीका ती भनाइका अर्थहरु।
क्याम्पस जाने आउँने गर्न थाले पछी भने केही सहज बनेको थियो मेरो अवस्था। बिहानै छेवैको क्याम्पस पढ्न जान्थेँ। एक दुई दिन त साह्रै दिक्क लाग्यो त्यहाँ पनि। एकाध दिन पछी आफु अनुकुलका साथी भेटिदै गएपछी बिस्तारै बानी पर्न थाल्यो दिदीले भन्नुभए झैँ।बिहान क्याम्पसमा बिताए पनि दिनभरी भने म एक्लै नै हुन्थे। साँझ दिदी साह्रै थाकेर फर्कनु हुन्थ्यो तर पनि कहिलै झिजो मान्नुभएन। सबै कुरा बिस्तारै सम्झाउने र बुझाउने गर्नुभयो।छिट्टै यो शहरीया चलन सिकेँ र एक महिना बित्दा नबित्दै मैले दिदीलाई साँझ तरकारीको झोला बोकेर हतारिदैँ आईपुग्नबाट छुट्टी दिलाएँ।
नचाहेरै हामी यस संसारमा आईपुग्छौँ र मन नलाग्दा नलाग्दै हामी यहाँबाट जानुपर्ने हुन्छ। मात्र कहाँ,कहिले,कसरी भन्ने मात्र अनिश्चित बाँकी त अकाट्य सत्य न हो। दिनभरी घरै बस्ने हुँदा मैले आफु बस्ने घरभेटी र वरपरका केही स-साना स्कुले केटाकेटीलाई जम्मा पारेर दिनभरीको गृहकार्य गर्नमा सहयोग गर्थे,त्यसको बदलामा मैले केही पैसा पनि पाउँथे। क्याम्पस नजिकै थियो,क्यान्टिन कहिले पनि गईन, त्यसैले मैले गर्ने खर्च भनेको त्यहीँ तरकारी किन्ने र कपी,डट्पेन किन्ने मात्र थियो। त्यतीको लागि पनि दिदीसँग पैसा माग्नु नपर्दा र वहाँलाई केही हल्का होला भनेरै मैले केटाकेटी पढाउन निरन्तरता दिईरहेँ। दिदीबहिनी रमाएरै बसेका थियौ।
भन्छन नि भगवानले नदेखेको कहीँ अनी केही छैन। मैले बाह्र कक्षा सकिसकेकी थिएँ, दिदीले पनि एम.ए सम्मको पढाई पुरा गरिसक्नु भएको थियो। दिदीले स्कुल र मैले केटाकेटी पढाउने काम अझै चलिरहेंकै थियो। दिदीले भन्नुभए झैँ मलाई काठमाडौँ बानी पर्न थालिसकेको थियो,मन भने परेको थिएन। साउनकै महिना थियो सायद त्यो,एक दिन गाउँबाट आईपुग्नु भएको दाईले घरमा आमा बिरामी पर्नु भएको र गाउँको हेल्थपोस्टको औषधीले नछोएको खबर ल्याउनु भएको रहेँछ। एक हप्ताको लागि दिदीको स्कुल पनि बिदा थियो। दिदीले आफु गएर आमालाई संगै लिएर आउने र यतै अस्पातल लैजाने कुरा गर्नुभयो। म पनि जान्छु घर, दुई,तिन दिए क्याम्पस र केटाकेटीको पढाई छुटेँ पनि छुटोस भने तर वहाँले मन्नुभएन। बर्खाको बेला तँ किन जानु म गएर तुरुन्तै आमालाई लिएर आउँछु भनेर मलाई एक्लै यो निर्दयी शहरमा छोडेर जानुभएकी मेरी दिदी फेरी कहिलै यो शहरमा फर्केर आउनुभएन। मेरी दिदीमात्र यो काठमाडौँ फेरी फर्केर नआउने अरु पनि धेरै जना हुनुभएछ। बर्खाको त्रिशुलीले खै कुन्नी कहिलेको अनी के को बादलामा मेरी दिदी लियो मैले अझै बुझ्न सकेकी छैन। उसो त मलाई उतिबेला देखी त्यो बाटो हिंड्न नपरे हुन्थ्यो झै लाग्छ र पनि कहिलेकहीँ त्यै त्रिशुलीको किनारै किनार हिड्दाँ सधैं तेर्स्याउँछु 'ए! त्रिशुली तैलें कहिलेको अनी के को बदलामा मेरी दिदी मबाट खोसिस?' तर अँह केही जवाफ आउँदैन चुपचाप रहन्छ सधैं ।
जिन्दगी जसरी पनि बाँच्नु नै पर्दो रहेँछ। परिस्थितीको सामु पहिलो पटक नराम्ररी पछ्छारिएकी मलाई अन्तत: फेरी उठ्न कर लाग्यो थप् जिम्मेवारी लिएर। आफु लथालिङ भएर अब मैले बाँच्नु थिएन। बाबा आमा र सानो भाईको जिम्मेवारी मेरो काधँमा आईपुगेको थियो।दिदी रहुँन्जेल सधैं बालख बनेकी मलाई अब पनि बालखै बनिरहने अवसर थिएन।
जिन्दगीले साँच्चै मेरो परिक्षा लिन लागे जस्तो लाग्दै थियो। सास पानी पुर्याई पुर्याई फेर्नुपर्ने र पाईलै पिच्छे पैसा खोज्ने यो शहरमा त्यती केटाकेटी पढाएको भरमा बाँच्नु त हुट्टिट्याउँले आकाश थाम्नु जस्तै थियो। बि.ए पढ्दै गरेकी मलाई जागिर पनि कस्ले दिन्थ्यो र? जहाँ जहाँ अप्लाई गरे पनि ४/५ वर्षको अनुभव खोज्दा रहेँछन! अब काम बिना पहिले नै अनुभव कहाँ बाट ल्याउन सक्थे र मैले। मेरा अप्ठ्याराहरु टाल्न मेरी आमाले प्यारो मुनेहरु बेच्दै हुनुहुन्थ्यो। जब मुने बेचिन थालियो कयौ रात सपनामा समेत मुनेहरुको निर्दोष आँखाले तर्साउन थाल्यो। बिउझेंर खुब रुन्थे पनि तर रुवाईमा समाधान त पक्कै थिएन। (धेरै भावुकता र अव्यक्त भाव अटेसमटेस थिए यतिबेला ती दिदी भित्र।)
...........
हजुर,हजुर मुनेहरु मलाई ज्यादै प्रिय लाग्छन। त्यसैले म शाकाहारी भएँ र छु। आफ्नो स्वादको लागि तिनको ज्यान लिएको मलाई मन परेन त्यसैले मैले बुझ्ने भए देखी नै म शाकाहारी छु। तर,मासु खानेहरु सँग पनि मलाई केही समस्या छैन। यस्ता कुराहरु भनेको ब्यक्तिगत कुरा हुन नि हैनन?
'हो' को भावमा उसको टाउको हल्लिन्छ।
केटाकेटी पढाउने बेला देखी नै मैले पोखरेल जी लाई चिनेकी थिएँ। सायद वहाँबाट मेरो वास्तविकता लुकेको थिएन। त्यस्तैमा एक दिन वहाँले मलाई भेट्न चाहेको खबर आफ्नो सानो छोरालाई पठाउनु,भयो। जो मैले पढाउने केटाकेटी मध्यकै एक हो। ऊ सँगै वहाँको घर पुगेँ। 'हेर नानी, तिमी अहिले कुन परिस्थितीमा छौ त्यो म बुझ्छु, तिम्री दिदी पनि हिम्मत नहार्ने केटी थीइन उसैकी बहिनी भए निस्कियौ तिमीले पनि हिम्मत हारिनौ र हार्न पनि हुँदैन। सप्ठ्यारो अप्ठ्यारो भनेको सधैं आउँछ।' एकाएकै वहाँबाट दिदीको प्रसँग सुनेर मन फेरी हुरुक्क भएर आयो तर बलैले रोके आसुँ भने। 'अब जागिरको हालत तिमीले बुझिनै सक्यौ, यहाँ आफ्नो मान्छे ओहोदामा नभई जागिर पाउनु भनेको मरुभुमिमा पानी पलाउनु जत्तिकै हो। हेला गरेको वा त्यस्तै अरु केही सोच्दिनौ भने आज म तिमीलाई एउटा सल्लाह दिन्छु,तीमीलाई जे ठीक लाग्छ स्वतन्त्र निर्णय गर्न सक्छ्यौँ।' वहाँबाट यस्ता कुरा सुन्दा यो निर्दयी शहरमा मन भएका मान्छे पनि हुँदा रहेँछन भन्ने जस्तो लागेको थियो पहिलो पटक।'मैले चिनेको एक जना बिदेशी साथी छ, ऊ सानेपा बस्छ। उसले साँझ,बिहानको भाँडा माझ्ने मान्छे खोजिदिनु भनेको छ मलाई। तिमीलाई पढ्न र बस्न पुग्ने खर्च पनि दे'ला।तिमी दिउस दिउस गएर भाँडा माझ्छेउ भने म तिमीलाई भोली नै लिएर जान्छु। अनी तिमीले यहाँका मान्छेले झै भाडाँ माझ्ने भनेर दुर्व्यवहार गर्लान भन्ने नसोच्नु। उनीहरु बिदेशी संस्कार भएका मान्छेहरु हुन। गरिखानेलाई नराम्रो सोच्दैनन। भन तिम्रो मन के छ?' आफ्नो परिस्थिती सँग म अन्जान थीइन,केही काम त मैले थाल्नु जरुरी भईसकेको थियो। त्यसैले वहाँलाई 'हुन्छ' भनिदिएँ।
भोलिपल्ट १२ बजे तिरै पोखरेल जी सँगै आफ्नो भाग्य लेख्न निस्किएँ। बुढाबुढी २ जना बस्दा रहेँछन। यु,एनका कर्मचारी रहेँछन। रमाईला र मिजासिला लाग्यो। बिहान क्याम्पस जानु पर्ने र साँझ केटाकेटी पढाउनु पर्ने भएकाले आफु दिउँस मात्र आउन सक्ने बाताए। उनीहरुले हुन्छ भने। अनी पढ्दै गरेको भन्ने थाहा पाएर बिशेष रुची पनि देखाए र केही किताबहरु पनि दिएँ। जिन्दगीले लिएका परिक्षाहरुमा अब आफु पास हुने सम्भावनाले चियाउन थालेको थियो। ती बिदेशी जोडीकैमा भाडाँ माझेर मैले बि.ए को पढाई सकेकी थिए। रहर त थियो अझै पढ्ने तर भाईलाई पढाउनु पर्ने जिम्मेवारी आएको थियो। भाईलाई ल्याएर क्याम्पस भर्ना गरिदिए। तिनै बिदेशीको सहयोगले सानेपामै अर्को एक ठाउँ र भैसेपाटीको दुईवटा घरमा मैले भाडाँ माझ्ने भएँ। थोरै थोरै बचेँको पैसा र नपुगेको आफुले हालिदिएर पछी बिस्तारै तिर्ने गरी पोखरेल जी कै सहयोगमा मैले यो स्कुटी किनें,र केही महिनामै मैले वहाँको पैसा फिर्ता गर्न सकेँ। अब कालिमाटीको कोठा, सानेपा र भैंसेपाटी यही स्कुटरमा धाउन थालेँ।परिस्थिती सहज बनेपछी पढ्ने रहर पुरा गर्न 'रातिको कक्षा लिने गरी क्याम्पस भर्ना भएँ। स्कुटरमा जाउआउँ गर्नाले खासै अप्ठ्यारो पनि परेन। भाई पनि राम्रै पढ्दै थियो। बाबाआमा खुशी हुनुहुन्थ्यो। पहिला पहिला मैले भाडाँ माझ्छु भन्दा खेरी ''बरु गाउँ फर्की'' पनि भन्नुहुन्थ्यो। तर मैले यो शहर सँग हार नखाने भने पछी त्यो पनि छोड्नु भयो।
..................
हो, अब मैले भाडाँ माझ्नु पर्ने बाध्यता छैन। म अरु थुप्रै काम गर्न सक्छु र गर्छु पनि तर जुन काम गरेर म आजको 'म' बन्न सकेँ त्यो कामलाई म कसरी अब छोड्न सक्छु र? यो त 'खोलो तरे'सी लौरो बिर्सिने' भन्ने जस्तो भईहाल्यो नि। त्यसैले त मैले सुरुमै भनेकी थिएँ कि अहिले भाडाँ माझ्नु मेरो बाध्यता होइन भनेर।
..........
छक्क लाग्यो रे हजुरलाई मेरो कुरा सुनेर? लौ,किन नि त्यस्तो?
................
ए, उसो भए त ठिकै छ। फेरी सम्झाएँ है त तपाईंलाई,मा गाउँमा जन्मिहुर्केकी गाउँले मिजास छ झुटो बोल्दिन भनेर। ठुलै अफिसमा काम गर्ने र आधुनिक जस्ती देखिए पनि मेरो वास्तविकता र मैले भोगेको बिगत मैसँग छ नि हैन? बिगतलाई बिर्सिएको अभिनय मात्र गर्न सकिने रहेँछ तर चटक्कै बिर्सन भने नसकिने रहेँछ।
अँ साँच्ची अब हजुर प्रस्ट भन्नुहोस् कि तपाईले चाहनु भएको जस्तो साथी म बन्न सक्ने रहेँछु कि छैन त? एउटा सम्पन्न र बैँकको म्यानेजर जस्तो मान्छेले भाडाँ माझ्ने केटी किन रोज्नु भयो?
......................
उसले हाँसेर खुसुसु खै कुन्नी के के भन्यो तर मैले मन मनै भने दिदी तपाईले यतिन्जेल जे जे भन्नु भयो त्यहीँ त्यहीँ कारणले यो मान्छे तपाईलाई चाहन्छ।काम पाईन भनेर या बाध्यताका नाउँमा गलत बाटो रोज्न पुगेका आजका कयौँ युवाले सिक्नुपर्छ तपाईबाट।
कफीको पैसा तिरेर ल्याप्पी झोलामा राख्दै फेरी एक पटक ती दिदीलाई आँखाभरी अनी मन भरी हेरेर क्याफेबाट निस्किएँ। बाटैभरी स्कुटरवाली दिदीप्रतीको श्रद्धाले झुकिरहेँ।
समाप्त !
राम्रो छ। लेखाइ पहिला भन्दा धेरै नै परिस्कृत भएकामा बधाइ
ReplyDeleteदाजु मख्ख पार्दिनु भएको हो मलाई ?
ReplyDeleteलेखाइराम्रो छ्। तर छोटो बनाउने धुनमा केही मिठास छुटेछ जस्तो लाग्यो
ReplyDeleteअल्छि भ'की दादा :))
ReplyDeleteRamro Lagyo malai ta keep it up
ReplyDeletethanks :))
ReplyDeleteWOW loved it good one;
ReplyDeleteयो शहर बानी पर्छ तर मन भने कहिलै पर्दैन।'
:)
ReplyDeleteलेखनमा नौलो शैलीको प्रयोग छ म्यानेजर नबोलेर नि उसले भन्न खोजेको बुझाउन सक्नुभयो |हजुरको ब्लगमा पहिलो चोटी छिर्दैछु निकै राम्रो लाग्यो |
ReplyDeleteमैले त दी को हरेक रचना हरू उदाहरणिय मान्दछु!
ReplyDeleteबीचमा एकपटक भाबुक बन्न कर लाग्यो।!