जो सँग पैँचो लिएकी उसैलाई । |
मेरो गाउँठाउँकी नभए पनि उनलाई म विगत तीन चार महिना देखी 'बैनी' भन्थे । साँझतिर पाटनका गल्लीहरु र कृष्ण मन्दिर परिसरतिर बिना उदेश्य कानमा ईयरफोन उनेर रल्लिन मन पराउँने मैले उसलाई त्यतै आउँने जाने क्रममा चिनेकी हुँ। आज पनि नजिकैको परिक्षा केन्द्रबाट परिक्षा सकेर सहपाठीहरुलाई त्यतै लगनखेलतिर छलेर एक्लै लस्केकी थिएँ पाटनका गल्ली चाहर्न। एक सुरमा घाम तापिरहेकी उनलाई झसङ्ग पर्ने नियत बोकेरै मैले कानैमा कराएकी थिएँ पछाडिबाट जाँदाजाँदै ।
'' आबुई, कस्तो तर्सेकी यो दिदी पनि.... अनी अस्तीतिर त अलिक दिन आउँदिन भन्नु हुन्थ्यो त, हजुरको परिक्षा चल्दैछ भनेको होइन?''
मेरो प्रश्न नसुने झैँ गर्दै उसले उल्टो प्रतिप्रश्न गरी र एक हिसाबले खोसे झैँ मेरो झोला तानेर खोतल्न थाली। उसलाई यती गर्ने अधिकार म आँफैले दिएकी थिएँ निकै पहिले नै । म त्यता जाँदा परेवालाई चारो नबोकी जान्न भन्ने विश्वास शायद उसलाई थियो ।
'आज परिक्षा दिएरै आको हौ यता, सेन्टर यतै पर्या छ त मेरो, गहुँ मकै केही बोकेकी छैन, बरु किताब कपी चै होलान त्याँ'' उसलाई झोला खोतल्नुको ब्यर्थता सम्झाउँदै पर्तिर डालोमा मकै र गहुँ बेच्न बसेकी बुढी आमैलाई हात हल्लाएर आउँने ईशारा गरेँ।
''अँ बरु आज तिम्लाई चै स्पेशल चारो ल्या'की छु'' उसको हातबाट ब्याग खोसेँ र केहीदिन पहिले मात्र बाहिरबाट आईपुगेको चक्लेटको केही भाग थमाईदिएँ ।
''वाउ, भेनाले भ्यालेन्टाईन स्पेशल पठा'को हो कि क्या हो ?''
' ल ल भो जे स्पेशल भए पनि खानु नि खुरुक्क छुच्ची, अनी के छ नि तिम्रो चै यस्पाली भ्यालेन्टाईन स्पेशल हुँ भन्दा पनि भन्दिनौँ त झन अघि आउँने बितिक्कै सोध्या हैन कत्तिन भन्न नहुने जस्तो खुब हाम्लाई ।
''के भ्यालेन्टाईन मान्नु छ र दिदी यहाँ, सँगै सुत्न राजी भए ''मायालु'' नत्र ''भालु'' (शाब्दिक तुच्छताको लागि माफी) को नाम दिन्छन यी प्रेमीहरु ।'' कतै पर पहरोको कुनाबाट आएको बोली झै मधुरो तर उदास स्वर सुनियो उसको ।
''एई फुच्ची के भनेकी यस्तो'' आमैलाई चारोको पैसा र दुई वटा चकलेट दिँदै उसको अनुहारमा हेर्छु । वर्षन लागेको असारे बादल भएकी रै'छे ऊ त ।
सधैं केही न केही भनेर म उसलाई जिस्क्याई रहन्थेँ र आज पनि कस्तो हल्का भावमा सधैं झैँ मैले जिस्क्याएकी थिएँ। तर उसले कस्तो भारी जवाफ दीएकी। फेरी कस्तो विचित्रको भाव नाँचेको उसको अनुहारमा त्यस बेला । भर्खरको रमाईलो बातावरण ब्यर्थै आँफैले धमिल्याएँ।
''हो त दिदी अनी के भन्नु त, म त हिजो आज एउटी केटी साथी सँगै पो बस्न थालकी छु त यी हेर्नु त कपाल पनि काटेँ । समाजले मलाई अप्राकृतिक भन्ला तर तिनीहरुले मानेको प्राकृतिक सम्बन्ध सह्य भएन दिदी मलाई यिनीहरु नै त हुन नि मलाई अप्राकृतिक हुन वाध्य पार्ने कि होइनन भन्नुस त । खै कहाँबाट आयो कुन्नी ममा यती धेरै असन्तुष्टी आँफै दङ्ग परेकी छु। अनी यो बदला आँफै सँग कि यो समाज सँग त्यो पनि थाहा छैन। सम्बन्धका बन्धनहरु बोझ भए पछी शायद यस्तै नहुनु पर्ने हुन्छ । ''
मैले सधैं जिस्क्याउँने यो सानी केटी भित्र यत्रो आक्रोश होला मलाई अनुमान नै थिएन। पोखिन दिएँ ऊ भित्रका आगोहरु र ....चुपचाप हेरिरहेँ । ऊ पोख्दै गई, आफुले प्रेमका नाउँमा पाएका खप्कीहरु.... परतन्त्र.... भत्कोसहरु....आफुले रोजेको अप्राकृतिक भनिएको सम्बन्ध अनी .......अरु धेरै धेरै आक्रोश यो समाजसँग यहाँका मान्छेका स्वाभावसँग र अन्त्यमा आँफैसँग.....ऊ पोखिँदै गई, म दुख्दै गएँ यही सोचेर कि भोलीको सपना देखेर मस्त निदाउने यो उमेरमै यो केटीले यती धेरै जीवन भोगिसकिछ, थाहा छैन विधाताले के लेखेको छ कुन्नी यसको भागमा... र अन्तत: ऊ शान्त भई र मलाई हेरेर मलाई हेरेर खिस्स हाँसी। चारो खाईरहेका परेवाहरु हुरुरुरु उडेर कतै मन्दिरको छाना तिर बसे ।
''हिँड कफी खान जाउँ''
मेरो अप्रत्यशित प्रस्ताव र भर्खरैको आफ्नो आक्रोस सम्झेर होला ऊ मलाई हेरेर पुन: गुलाफी भई।
'' मैले के भन्ठाने होला यही सोच्दैछ्यौ होइन? तिम्रो उमेर पार गरेरै दिदी यहाँसम्म आईपुगेकी हो। म बुझ्छु तिम्रो अवस्था अनी म तिमीलाई अरुले झै अप्राकृतिक पनि भन्दिन, मेरो लागि जस्तो तिमी हिजो उस्तै आज।''
मेरा कुराले उ बच्चा झै फुरुक्क परि र पाठो झै चन्चल पनि।
''फुच्ची ! लौ हिँड अब।''
बसेको ठाउँबाट उठेर नजिकैको क्याफे तिर सोझिएँ उसले मलाई पछ्याई ।
कफी सकेर ऊ सँग छुट्टीएर घर फर्केँ। बाटाभरी ऊ अनी ऊ जस्तै अरु थुप्रै 'ऊ' हरुको अवस्था सम्झे। आफुलाई नयाँ पिँढी मानेर सबै कुरामा एक पाईलो अघि सार्न खोज्ने कती 'ऊ'हरु मेरी छुच्ची फुच्ची बैनीको जिवन बाँच्दै होलान त्यो उमेरैमा। प्रेम आँफैमा खराब भन्ने हुन्न तर मान्छेहरुले खराब पारिदिन्छन् त के गर्ने। आधा जाँच सकिएको खुशी र बीचमा १२ दिन अरु जाँचको तयारी गर्न पाएको समय सम्झेर पनि मन हलुका हुन सकेन ।