फोटः गुगल |
मलाई झरी मन पर्छ । मलाई
झरीमा कफी विषेश मन पर्छ । अनि झरी परेको बेला कफीका साथमा किताब पढ्न मलाई
सबैभन्दा बढी मन पर्छ । कसैले झरी कफी किताब अनि ऊ मा कुन पहिलो रोजाई कुन दोस्रो
अनि कुन तेस्रो भनी सोधे मेरो जवाफ हुनेछ सबै चारवटै मेरो पहिलो रोजाई हो । एउटा
मात्र पहिलो हुनुपर्छ भन्ने पनि हुन्छ र ? पानी पर्नु र झरी पर्नु नितान्त बेग्ला
बेग्लै अनुभव हुन् मेरो लागि । आज बिहानै देखी झरी परिरहेको छ । त्यसैले अफिसका
सारा कामहरू थाती राखेर म झरी कफीमा अल्झी रहेकी छु । मलाई अल्झाउने किताब र उनका
यादहरू बाहेक अरू के पो छ र ! यिनै त हुन् मेरा मनका तमाम प्रेमिल अनुभव र
अनुभूतिहरूका स्रोत ।
झरी सँग कफी र किताब जोडिए
जस्तै सँगै जोडिएर आउने ‘ऊ’ पछि मात्र मेरा हरेक झरीहरू पूर्ण हुन्छन् । झरीमा मलाई कफी र किताबका अलावा उसका यादहरूलाई
झरीमा रुझाएर एक पटक पुनः ताजा गराउँन मन लाग्छ र हराइदिन मन लाग्छ पाटनका ती
आवारा गल्लीहरूमा निर्धक्क र निस्फिक्र भई फेरी एकपटक उसका हातमा आफ्नो हात राखेर
।
बाहिर पानी परिरहेको छ ।
छेवैँमा भर्खरै पढेर सकेको नेपाली उपन्यास छ ‘चीरहरण’ । उपन्यास पढी सकेको कयौँ दिन
बितिसक्दा पनि त्यसको प्रभाव कम भएको छैन् । हाम्रो समाजमा आज पनि छोरीमान्छेहरूको
भोगाई कुनै न कुनै रुपमा द्रौपदी, कुन्ती, वा अम्बा अम्बालिकाहरूको भन्द फरक हुन
किन सकेको छैन ? यही कुराले दिमाग पिरोलिरहेको छ । र, सँगै छ उही महाभारतसँग
जोडिएकी मदनमणिकी ‘माधवी’ जसको जिवन कहानी पढ्दा बिगतमा म पटक पटक विचल्लित भएकी
थिएँ । झ्यालमा राखेको कफीबाट उडेको बाफ सिसामा जमेको छ । औँलाले उनको नाम
लेखिदिन्छु नाम आफै मुस्कुराउँछ मलाई हेरेर । ‘चीरहरण’बाट उम्कने प्रयासमा झरीको
साथ निकै फप्ला जस्तो छ यो मन मस्तिष्कलाई ।
गमलामा भर्खरै फुलेको रातो गुलाफ झ्यालबाट तन्केर झरी हेर्ने प्रयासमा छ ।
झ्याल खोलेर हत्केला थाप्छु चिसो पानीले छुँदाको मादकता महशुस हुन्छ । हत्केलामा
जम्मा भएका पानीका थोपाहरू गुलाफको थुँगामा हालिदिन्छु र सुस्तरी स्पर्श गर्छु ।
कति कोमल छन् यी फूलका पत्तीहरू ठीक मेरा मनमा उसका लागि उम्रने भावुकताहरू जस्तै
।
झरी परेपछि जब कफी र किताब
भेटिन्छन् उसको अनुपस्थिती खड्कन्छ । झरी जतिकै प्रिय छ ऊ मलाई अनि यो कफी र किताब
जतिकै प्रिय छ मलाई ऊ । अचेल मेरा हातमा कफीको कप रित्तिने बितिक्कै पुन भरेर थमाउने
ऊ मेरो साथ छैन् । अनि पढ्दा पढ्दैको किताब खोसेर मलाई सताउने बद्मास ऊ मभन्दा
धेरै टाढा छ । वर्षौ अघिको यस्तै झरीको दिन ऊ सँग मेरो भेट भएको थियो । तिनताका झरी कफी र किताब नै मेरो दुनिँया थियो । ऊ सँगको
दोस्रो भेट पाटनका गल्लीहरूमा भयो र संयोग कस्तो भने त्यो दिन पनि झरी नै परेको
थियो । यसरी झरीसँग कफी र किताब पछि ऊ जोडिन आईपुगेको थियो । उसलाई मेरो झरी कफी र
पुस्तक प्रेमले हैरान पार्थ्यो । पछि ऊ आफैँ मेरा प्रियहरू झरी, कफी र किताब सँगै गाँसियो
अटुट बनेर। हो, अचेल हरेक झरी उसको अनुपस्थितीले खल्लो महशुस हुन्छ कफी र किताबले
पनि नभरिने खालीपन भेट्छु आफैँ भित्र । यस्तो लाग्छ आजको झरी स्यमं पनि मलाई कफी र
किताबको साथमा मात्र देखेर उदास छ ।
अब त धैरे वर्ष भयो झरी
परेको दिनको मेरो दैनिकीमा उनको उपस्थिती नभएको पनि । त्यसैले अचेल झरीमा कफी किताब र उनको याद छ । हरेक झरीसँग यौटै कामना
गर्छु कि आगामी झरी उनको साथमा बिताउन सकुँ । पाटनका तमाम ती आवारा गल्लीहरूमा
उनका हातमा हात बाँधेर निस्फिक्र डुलौँ र ठाउँ ठाउँमा ओत लागेर सँगै कफी खाऔँ ।
कसो नफर्केलान त दिनहरू !