कुनै बेला थियो जब
शारदीय गोधुलीमा
जब घामले रातो रङ छोडेर
सुनौला रङ बोक्न थाल्छन्,
तब दशैँको रमझम सुरु हुन्थ्यो।
हिमाल बाट एक झोक्का चिसो बतासले
खेतबारीमा लहलहाएका
धान र कोदोको बास्ना
बोकेर गाउँमा दशैँ भित्रिन्थ्यो।
झमक्क रात परेपछि
भरीया अघि पछि लाएर
तल्लाघर ठूल’बाकाँ
आइपुग्नु हुन्थ्यो दाइहरू काठमान्डौँ देखि
दशैँ बोकेर।
सबेरै उठेर केट्केटीले बाटाका कान्ला ताछेर,
झाडी बुटा फाँडेर, डुङ्गा माटा पन्छाएर
तगारा सम्मै सिनित्त सफा पारेर
गाउँमा दशैँ बोलाइन्थ्यो।
रातोमाटे देखि खेताला लाएर
धोक्राभरी बोकेको माटोले
घरका मटान,भित्ता र आँगन
लिपेर आमाले दशैँ बोलाउनु हुन्थ्यो।
पारीपाखा पुगेर
दुध जस्तै कमेरो खनी
पोको बाँधेर बा आँगनमा उक्लनु हुन्थ्यो
र दशैँ बोलाउनु हुन्थ्यो।
रेडियोका पुराना बेटरी जम्मा पारेर
दिदीले घरका झ्याल, ढोकामा
चिटिक्क मिलाएर कालो लाउथिन्
र दशैँ बोलाउँथिन्।
शङ्ख र घण्टको मधुरतामा
शङ्ख र घण्टको मधुरतामा
ढाकिएको जमरा छेऊमा
बा’ले दिनहुँ चण्डी पाठ
गर्नुहुन्थ्यो र पो
दशैँ आउँथ्यो।
आँगनको डिल देखि तगारा साम्मै
बारीका छेऊकुनामा
लहरै, ढकमक्क फुल्न थालेका
लालुपाते, गोदावरी, सयपत्री र मखमलीको स्वागतले
गावैँ एक सुन्दर बगैँचा भान हुन्थो र
बल्ल दशैँ दशैँ लाग्थ्यो ।
रातो भित्तामा सेतो कमेरो अनि
रातो भित्तामा सेतो कमेरो अनि
निख्खर काला झ्याल ढोकामा उभिएको घरहरू
बिवाहकी बेहुली झैँ आकर्षक देखिन्थेँ
र दशैँ बोलाउँथेँ।
बाँसका लिङ्गा काट्न,
घरघर बाँबियो बटुल्न पिङ बाट्न
र पिङ हाल्न सारा गाउँ धुरिन्थे
अनि बल्ल दशैँ आउँथ्यो।
निधारभरी टिका र टाउका भरी जमरा बोकी,
कसले कति दक्षिणा पायो
मावल को को गयो ?
अनि पिङमा कति भीड छ
मेरो पालो कतिखेर आउँछ ?
यो सब
हिसाब किताब गरिन्थ्यो र पो दशैँ
साँच्चै दशैँ हुन्थ्यो।
अहिलका रित्ता घर,
सुनसान गाउँघर
न दोबाटोमा पिङ छ
न टिका लगाउन हिँड्नेको
लस्कर छ !
न केटाकेटीको कोलाहल !
बुढाबुढी बाआमा पिँढीको छेऊमा
परदेशिएका छोराछोरीको बाटो हेर्दा हेर्दै
छोराछोरी आउने दिन गन्दा गन्दै
दशैँ आएको र गएको समेत
हेक्का हुन्न कि !
अचेल त दशैँ पनि सुटुक्क आउँछ
मेरो घरमा आएको दशैँ
मेरा छिमेकीले थाहै पाउँदैनन्।
यौटै घरभित्र बास बसे पनि
कसैलाई दशैँ आउँछ
कसैलाई पत्तै हुन्न।
हो अचेल दशैँ चुपचाप आउँछ र चुपचाप जान्छ।