आमा, याद आए हेर्नु,
तपाइँले नमस्कार गर्ने सूर्य उदाउने तिर
जहाँ हरेक बिहान सूर्यले त्यो पहाडलाई
अँगालो हाल्छ र केही क्षणलाई विश्राम गर्छ,
अबका हरेक बिहानी म त्यतै कतै देखिनेछु ।
अनि बाबा,
बिहानीपख अस्ताउने जूनले
काफलपाने डाँडाँलाई अँगाले झैँ
हरदिन हरक्षण महशुस हुन्छ
तपाइँले सुनाउनु भएका तिनै जुनताराका कथा
जसले मलाई यो अनन्त:
महासागर र मरुभूमीको देशमा भौतारिदा,
आँट,हिम्मत र जुध्ने साहस दिएका छन्।
कर्तव्य र जिम्मेवारीको बोझ बोझिलो बन्दा
आफ्ना भन्नेहरू नै एकाएक अनजान र पराय हुँदा,
कसरी ती तमाम समस्याहरूसँग जुज्थ्यौ तिमी
मेरी दिदी !
यहाँ म दिनहुँ आफैँसँग हारिरहेकी हुन्छु।
जिन्दगी यौटा ठूलो शून्य
अनि त्यै शून्यमा वारपार गर्दै बितिरहेका
पट्यारलाग्दा दिनहरू।
कसरी अनि कता कहाँ तह लगाऊ
बैशाखी आकाशमा डढेको बादल जस्तो
निस्काम यादहरू, रहरहरू, सपनाहरू
जुन,कुनैबेला अति प्रिय थिए
प्राण भन्दा पनि धेरै।
मोबाइलको अर्लाम सँगै सुरु हुने दिन
त्यहीँ मिलाएको समयमा सकिन्छ
मेरो आफ्नोपन खै त ?
म हरेक क्षण अरु कसैले डिजाइन गरेको समयमा
आफैँलाई फिट गराउन खोजिरहेछु
हरपल,हरक्षण
यौटा निरर्थक प्रयास।
घाम जून र ताराहरू मात्रै आफ्ना लाग्छन्,
तिनैलाई हेर्छु
आमा, बाबा, दिदी सम्झन्छु !
गाउँघर, बन बनेली र दौतरी
सम्झन्छु।
तिनै जुनतारासँग बात मार्छु
तिनमा उही आत्मीयता पाउँछु
र घरदेशको नियास्रो मेट्छु।