मलाई मेरो महत्व बुझाउँन,
रुखो मन फुकाउँन
मेरो आश र सास बनि आयौ तिमी।
न कसैसँग केही आश थियो,
न कोहीसँग केही गुनासो,
जिन्दगी चल्नु थियो…चलेकै थियो।
मेरो एक्लोपनको साथी हुन,
बिरक्तिएको मन सजाउँन,
आफू हुनुको अस्तित्व हराउँदै गएकी मलाई,
मेरै अस्तित्व बोध गराउँन अनि ममत्व बुझाउँन
मेरो बाँच्ने आँट साहस र धैर्य बनेर आयौ तिमी।
अब फरक पर्दैन मलाई
अब केही फरक पर्दैन मलाई
कोही मलाई सोधोस् नसोधोस्
कोही मलाई खोजोस् नखोजोस्
कसैले मलाई बोलाओस् नबोलाओस्।
म आफ्नै संसारमा भरिएकी छु
म साह्रै स्वार्थी भएकी छु।
मैले मेरै खुसी खोजेँ
संसारलाई छोडेर तिमीलाई रोजेँ।
तिमी छौ संसार छ अरु मलाई को पो किन चाहियो र ?
रातभरी ननिँदाए पनि अब आँखाहरू गुनासो गर्दैनन्
दिनभरी थाकेको शरिर पनि आराम खोज्दैन्
जब जब तिमी सामीप आउँछौ
स-साना हातले यी अनुहार छुन्छौ
मुस्स मुस्कुराउँछौ
र तोते बोलीले बोलाउँछौ।
हो म अब संसारका सबै
सुखहरु भुलेर तिमीमै हराईदिन सक्छु।
सधैँलाई सबैलाई बिर्सेर तिमीलाई अँगाल्न सक्छु।
आमा भएर आफूमात्रै बाँचेर भो र ?
तिमीलाई यौटा संसार दिनु छ
भोली तिमी हिँड्ने गोरेटाहरु मिहिन पार्नुछ।
जति उदास हुनुथ्यो भईसके
जति एक्लिनु थियो एक्लिएँ
तिमीसँगै नयाँ संसारको सिर्जना गर्नुछ।
तिमी र म भएर संसार जित्नु छ।