कथा लेख्ने धुनमा

फोटो; गुगल
देवकोटाको चर्चित निबन्ध ‘कवि हुने धुनमा’ धेरैले पढ्नु भएको होला । देवकोटालाई कवि हुने धुन चढेको थियो किनकी वहाँसँग असीमित प्रतिभा थियो । मलाई भने न प्रतिभा न लगनशिलता तार यी बिनै हिजोआज यौटा कथा लेख्ने धुन चढेको छ । हिजोआज भनेर ठ्याक्कै हिजै वा आजबाट होइन फाल्गुन महिनाबाट हो । नाथे एउटा कथा लेख्न पनि यतिका पाँच मैना त्यै पनि लेखेको भने खै ? भन्ने लाग्ला है तपाइँहरूलाई । मलाई पनि त्यस्तै लाग्थ्यो । अझ कथा भनेको जीवनको एक अंश समेटिएको एक बसाइमा पढिसकिने यथार्थको नजिक रहेर लेखिएको काल्पनिक विषयवस्तुमा आधारित लेखाइ हो भनेर विश्वविद्यालयका किताबमा पढेपछि लाग्थ्यो एक बसाइमा पढिने कथा पक्कै एक बसाइमै लेखिदोँ हो ।

अग्रज कथाकारहरू केहीलाई चिन्दछु, कथाको समालोचना गर्ने धेरै समालोचकहरू त आफ्नै सरहरू हुनुहुन्छ वहाँहरू मध्ये कसैलाई सोध्न पाएको भए पनि त हुन्थ्यो नि कि ‘सर, एक बसाइमा पढिसकिने कथा लेख्न चाहीँ कति बसाइ लाग्छ?’ भनेर । तर, जब विश्वविद्यलयमा थिएँ कथा लेख्न कति बसाइसम्म लाग्छ भन्ने खालको जिज्ञासा मनमा उठ्दै उठेन । उठेको भए त म पक्कै सोध्थे किनकी सरहरूसँग चित्त नबुझेको कुरामा विमती जनाउँने भएरै ‘छुच्ची’ का रूपमा चिनिन्थेँ रे । यहाँ ‘रे’ किन भनेकी भन्दा यो कुरा मलाई एक सहपाठीले निकै पछि मात्र सुनाएकी थिइन जुन बेला मैले शोधपत्र पनि बुझाइसकेकी थिएँ।

साँच्ची म कथा लेख्ने कुरा गर्दै थिएँ कुरा फुत्किएरै अन्तै पुगिसकेछ । कसैले के बढि पढ्छेस् भन्दा ‘कथा’ भन्छु । कथातिर यतिका रूची कहिलेबाट कसरी जाग्यो मलाई थाहै छैन। केटाकेटी बेलामा दिदी र बालाई कथा सुनाउँनु न भन्दै सताएको हिजै जस्तो लाग्छ । हुन त के हिजो भन्नु अझैपनि घर जाँदा बालाई गनगन गरिरहन्छु पुराणका विविध किस्साहरू र पात्रहरूसँग जोडिएका कथा सुनाउँनु भन्दै । अहिले पनि घर गएँ भने प्रायः बिहानीको खाना खाइसकेपछिको समयमा सुरू हुन्छ हामी बाउछोरीको कथा सुन्ने सुनाउँने सिलसिला । बिहान भरीको कामले थाक्नु भएकी र एकैछिन थकाई मार्ने उदेश्यले आराम गर्न पल्टिनुभएकी आमा बेला बेला गुनासो गर्दै भन्नुहुन्छ ‘यी बाउछोरीको के को शास्त्रार्थ हो फेरी, एकछिन सुत्न दिदैँनन् ए !’ यसरी सानै देखि सुन्दै आएको पुराणका कथा, लोककथाकै प्रभावले होला ममा कथा प्रति यतिका लगाव भएको ।

कुरो ममा चढेको कथा लेख्ने धुनका बारे नै गरौँ । फल्गुन महिनाको अन्तिम अन्तिम तिरबाट आमाले भन्नुभए झैँ ‘दोबा’टा भूत चढेको’ जसरी नै चढ्यो मलाई कथा लेख्ने भूत। पात्र खोज्थेँ दिनभरी, बिहानभरी, र साँझभरी लाएर । रातभरी त्यो पात्र सुहाउँदो कथाका टुक्राटाक्री गम्न थाल्थेँ र सायद निदाउँथेँ । सपनामा त झन कथाका टुक्रामात्रै होइन फरक फरक पात्र अनि तिनको फरकफरक कथा रिलमा झैँ घुमेको सिङ्गो फिलिम नै देख्थेँ । बिहान उठेर रातभरीको सपना सम्झने र कथा बुन्ने क्रम तर अँह, पटक्कै चित्त नबुझ्ने ती कथाहरू । अब आफैँलाई चित्त नबुझेको कथा दोस्रोलाई सुनाउँने कुरा आएन नि होइन? त्यसैले सपनामा देखेको कथा कहिल्यै विपनीमा लेखिएन। यही प्रकृयाले चैत्र महिना बितेर बैशाख लाग्यो । सोचेँ ठीकै छ नि त अब नयाँ वर्ष अनि नयाँ जोस जाँगरले नयाँ कथा लेख्नेछु तर उही सोचाइ मात्र भो । त्यतिकैमा बैशाख १२ को भूइँचालो गयो । त्यसपछि त न कथाका सपना देखियो न पात्र खोज्नै हिँडियो । बल्लबल्ल निदाउँदा पनि कतिदिन सम्म त सपनामा पनि भूइँचालो गएको र भागेको मात्र देख्थेँ ।

बैशाख १२ को भूइँचालो राजधानीमा भोगेपछि गाउँघर तिर लागियो बाँकी उतै भोगियो । भत्किएको तल्लोघर माथ्लोघर चाहर्दै हिँड्दै गर्दा सोचेँ अब भूइँचालो कै कथा लेख्छु । गाउँमा यतिका घर गोठ भत्केर सखाप भएका छन् कयौँ मान्छे मरेका छन् । एउटा घरमात्रै समातेर लेखेँ भने पनि कसो नबन्ला त एउटा कथा । तर त्यहाँको विपत्ती कथा लेख्ने खालको होइन मन चुडाँउनर खालको देखेर होला  मेरो कथा लेख्ने ईच्छा स्वाट्टै बिलायो खस्ता खस्दैको तारा आकाशैमा बिलाए जसरी नै । सोच्थेँ कथा पनि कहीँ त्यस्तो दिक्क लाग्दो, भत्केको, ढल्केको, चर्केको र फुङ्ग उढेको हुन्छ त ? भूइँचालो त गइसक्यो, त्यसले छोडेका डामहरू बिस्तारै सञ्चो पनि होलान, फेरी त्यो विपतीबारे किन सम्झुँ किन कल्पना गरूँ र किन लेखुँ ? यही कारण भूइँचालोको कथा लेख्ने च्याप्टरै हरायो ।


अब कुरा गरौँ पछिल्लो दुइ हप्ताको किनकी बीचको डेढ महिना लग्यो भूइँचालोले । यो पछिल्लो समय म भित्र लथालिङ्ग भएको कथा लेख्ने धुन पुनः मुन्टो उठाउँन खोज्दैछ । लगभग फाल्गुनको अन्तकै मानसिकतामा म पुग्न खोज्दै छु । बिहानभरी र साँझ लखरलखर हिँड्ने । यस बीचमा अनगिन्ती पात्रहरूसँग भेटिसकेँ र कथा पनि सुनिसकेँ तर खै के ले रोकिरहेको छ कुन्नी मलाई । मन भित्र भावनाहरू उकुसमुकुस गर्छन् तर उचित शब्द संयोजन गरेर शब्दमा व्यक्त गर्न सकेकी छैन् । दिमागमा बिहान र साँझ भेटेका पात्रहरू कुद्छन्, आपसमा बाझ्छन् पनि कहिकेकहीँ तर खै तिनलाई शब्दमा बान्न सकेको ? भावनाहरू मनमा टिलपिल टिलपिल छन् तर न छचल्किन्छ र पोखिने सुर नै देखाउँछ । यसो सोच्छु बाख्रा वा गाईभैँसीको फाँचोमा दूध जमेर थुनिलो भए जस्तै कतै मेरो कथा लेख्ने धुन र भावनाहरू मन भित्रभित्रै जमेर थुनिलो त भइसकेनन् ! :O

जुकरबर्गको क्याफेमा एकैछिन

तस्वीरः कथाकार अश्विनी कोइरालाको फेसबुक पेजबाट
     भुकम्पका झड्काहरूले भूइँ कामेसँगै मन पनि हल्लिरहन्छ अचेल । बैशाख १२ र २९ पछिका लगातार कम्पनहरूले दैनिकी अस्तव्यस्त पारिरहेकै बेला अश्विनी कोइरालाको कथा सङ्ग्रह ‘जुकरबर्गको क्याफे’ बजारमा आयो रे भन्ने सुनेकी थिएँ । किताब ठ्याक्कै कुन दिनबाट बजारमा पठाइएको थियो त्यो जानकारी म सँग छैन।  मैले एक हप्ता अघि मात्र भोटाहिटीको किताब पसलमा देखे पछि किनेर ल्याएँ र किनेर ल्याएको यतिका दिन पछि मात्रै पढेँ । यतिका दिन पछि पढेँ भन्ने कुरा यसकारण महत्वपूर्ण छ कि सामान्यतः मैले जुनसुकै साहित्यिक कृति किनेर ल्याए पछि सोही दिन पढ्न थालेर आधा रात सम्मै भए पनि सक्नै पर्ने बानी थियो । यो भुकम्पले मानसिकतामा पारेको प्रभाव हो या म अल्छि भएर हो यसपाली 'जुकरबर्गको क्याफे' घर आइपुगेर पनि म सँग मुखामुख मात्रै गरेर बस्न सफल भएको थियो । भुकम्पका ससाना धक्काहरू पनि अब महशुस हुन छोडिसकेको यो बेलामा कसैले राती/बिहान/दिउँसको धक्का थाहा भयो त भनेर सोध्दा पनि, ‘ए ! हो र आएको थियो भूइँचालो मैले त थाहै पाइन’ भनी जवाफ दिन थालेको निकै दिन भइसकेको छ ।

    आज बिहान ‘अब त भएन यो किताब पढ्नुपर्यो’ सोचेर उठाएँ 'जुकरबर्गको क्याफे'लाई एक हातमा र बसे अर्को हातमा आफैँले बनाएको कालो कफी साथी राखेर । ओल्टाई पल्टाई हेरेँ मुसुक्क मुस्कुरायो 'जुकरबर्गको क्याफे' मेरो माया पाएर  । किताब पल्टाएँ कथा-क्रममा कथाहरू गने २४ वटा रहेछन् ।
मूलतः प्रेमलाई विषयवस्तु बनाई लेखिएका छोटा कथाहरू जुकरबर्गको क्याफेमा रहेका छन् ।  साप्ताहिक लगायतका पत्रपत्रिकामा पहिले अश्विनी कोइरालाका लेखाइ नपढेका पाठक पनि पहिलो कथा 'ईला मिसको पत्र' पढिसक्दा नसक्दै पाठक उनको लेखाइ प्रति आकर्षित भइसक्छ । तर, कथाक्रम अगाडि बढ्दै जाँदा पछिल्लो क्रमका कथाहरू पहिलो कथाको उच्च प्रभाव टिकाइराख्न भने कठिन नै छ । कुनै कुनै कथालाई कथा भन्दा अनुभव/अनुभूति वा स्मरणात्मक लेख भन्दा राम्रा लाग्छन् तर पढ्दा बोर भने ती पनि छैनन। 'सन्नी लियोन', 'असल खराब', 'म्याक्सीवाली' जस्ता केही कथाहरू वास्तविक जीवन भन्दा बढी फ्यान्ट्यासीका निकट देखिन्छन् । 'युवकको प्रेममा' भन्ने छोटो कथा सुरुवातमा निकै हास्यात्मक तरिकाले थालिएको भए पनि यसको अन्त्य भने गम्भीर किसिमबाट भएको छ ।

हरेक व्यक्तिसँग कम्तीमा पनि एउटा (कसैसगँ दुइ/तिनवटा पनि होलान्) स्मार्टफोन रहेको आजको नेपाली समाजका युवा पुस्ता र इन्टरनेटको सहजताका कारण सामाजिक सन्जालबाटै कतिपय प्रेम सम्बन्धहरूको स्थापना भएका यावत उदाहरणहरू हाम्रा सामू आइरहेकै छन् । कथाकार अश्विनीले पनि ती विषयवस्तुलाई पक्कै छुटाएका छैनन् । सामाजिक सन्जाल हुँदै स्थापित हुने सम्बन्धहरू, पुराना सम्बन्धहरूलको नवीकरण र हालखबर सोधनीको माध्यमका रूपमा प्रयोग हुने फेसबुकको उल्लेख गरेका छन् । किताबको नाम नै फेसबुकका निर्माता मार्क जुकरबर्गको नामबाट राखेकैबाट पाठकले फेसबुकका किस्साको आशा कथा पढ्नु भन्दा पहिलै गर्न सक्छन् । युवा मनोविज्ञान, प्रेम, विवाह, यौनजस्ता विषयवस्तुलाई मूल रुपमा स्वीकार गरिएकैले पनि यस कथा सङ्ग्रहले युवा पिँढीका पाठकको अपेक्षा राख्छ । प्रेमका मामिलामा पनि अझ महिला पात्रहरूको उपस्थिती ज्यादा छ । समग्रमा भन्दा प्रेमको केन्द्रियतामा रही जटिल युवा मनिविज्ञान, प्रेम प्राप्तीको सुन्दर संसार र प्रेम त्याग(बिछोड) पछिको निस्सार मानसिकतालाई कथाले केलाउन सफल भएको छ । भूकम्पका धक्काहरूको ह्याङओभरबाट केही हदसम्म राहत दिन किताब सक्षम छ । ;)

पुनश्चः यसलाई किताब पढेपछि मेरो मनमा उठेका व्यक्तिगत भावहरू/अनुभवका रूपमा मात्र बुझ्नु जरूरी छ । :)

आफैँ हराएको बेला

फोटो: गुगल 
अचेल म आँफै सँग अपरिचित भएकी छु। ऐनामा आफुलाई नियाँल्दा ऐनाले देखाउँने  प्रतिबिम्बमा पनि म आफुलाई भेट्टाउँदिन। भन्छन् 'ऐनाले झुठ बोल्दैन' तर जब जब आफु ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्ब नियाँल्न खोज्छु सत्य सत्य म अचेल आँफैलाई देख्दै देख्दिन । कती कोसिस गर्छु हरेक दिन कि ऐनामा नियाँल्दा म सम्पूर्ण आफु देखिऔँ तर मेरा हरेक प्रयासहरु ब्यर्थ साबित हुन्छन। मैले स्वयं आफुलाई देख्नु भन्दा पहिल्यै म अरु कसैलाई देख्छु आफुले आँफैलाई नियाँल्दै गरेको ऐनामा। हो,पहिले म सम्पूर्ण 'म' नै थिएँ यसरी घण्टौँ लाएर ऐनामा आफुलाई खोज्नु पर्दैन थियो तर अब....सबै कुरा उस्तै भएर पनि म आँफैबाट आँफै हराएँ।

यसरी मैले सम्पूर्ण आफुबाट आँफैलाई हराउँनुको जिम्मेवार न त ऊ हो न म नै । त्यो सबै एक संयोग मात्र थियो तर त्यो संयोग केवल संयोग मात्र भएर आएन मेरो जिन्दगीमा। त्यो एक संयोग भनौ या घटना अथवा दुर्घटना देखि नै हो मैले आँफैलाई स्वयं हराएको आँफैबाट।

                                                         *******

कुरा अलि पहिलेको हो तर धेरै पुरानो भने होइन ।  नयाँ सालको उमङ्ग मान्छेहरुको मनबाट निख्रिसकेको थिएन । बैशाखका सुरुवाती दिनहरु मध्येको  कुनै एउटा साँझ म पाटनका मस्ताना गल्लीहरुमा बराल्लिदैँ थिएँ उदेश्य बिहीन,लक्ष्य बिहीन तर आँफैमा रमाएर मस्त। मान्छेका भीडमा सामेल हुनु तर एक्लै आफ्नै दुनियाँमा हराएर,सम्भव भए विगतका कुनै यादमा रमाएर हिँड्नुको आनन्दको अनुभव तपाईंलाई छ कि छैन कुन्नी तर मलाई नशा लागेको छ यो अनुभवको। भविष्यबाट बेखर,निस्फ्रिक्र वर्तमान अनि विगतका मीठा नमीठा याद र आफ्नै बेवकूफी प्रती हाँस्दै दरबार परिसरका परेवाहरु सँग स्वतन्त्रता साट्नुको अनुभूती मेरो जिन्दगीको एक पाटो बनिसकेको छ।

मान्छेहरुको भीडमा भएर पनि आफुलाई भीडको हिस्सा बनाउँन असफल औसत भन्दा भिन्न छुट्टै नकोरेको कपाल,रहर अनी सपनाहरु हराए जस्ता देखिने चम्किला भइकन पनि चमक हराएका  झैँ एक जोडी आँखा र खिरिलो ज्यान जम्मामा यत्ती हो मैले उसलाई देखेकी। पुराना मन्दिर,पुराना टुँडाल,पुरानै देवीदेउता, तिनैको आडमा बसेर प्रेमलापमा मस्त रैथाने किशोरकिशोरी र हातहातमा सामान बोकेका पुरानै खुद्रा पसले केही स्थायी पसलका अलावा नयाँ भन्नु उही दिनहुँ फेरिएर आईपुग्ने फिरन्ते बिदेशी र एकाध नयाँ प्रेमिल जोडी हेर्न अभ्यस्त मेरा आँखाले उसलाई नयाँ घोषित गरे।

'होला कोई नयाँ घुमन्ते,यी पाटनका गल्ली मेरो मात्रै पेवा पनि त होइनन्, जो पनि जहाँसुकैबाट बराल्लिन अाईपुग्न सक्छ नि यहाँ ! यी गल्लीहरुको सुन्दरता नै त्यस्तै छ जो कोहिले एक पटक निँयाल्छ ऊ जिन्दगीभरी भुल्न सक्दैन यी गल्लीहरुलाई। अनौठोसँग जोडिन्छ मन यी गल्लीहरुसँग अनी बस्छ एक प्रकारको चुम्बकीय आत्मियता पनि। तर अरु घुमन्तेहरु झै चञ्चल थिएन ऊ। मैले उसको गम्भीरता एक्छिन निँयाले ठिक उसको सामुन्नेको देवलमा बसेर।  कतै कसैको यादमा हराएको झै देखिने उसका आँखाले उसलाई निँयालिरहेकी मलाई देख्यो अनी मेरा एक जोडी आँखाहरुलाई पनि। ''छि: के मान्छे नदेखे झैँ एकहोर हेरेकी चिन्नु न जान्नुको मान्छेलाई, बदमास केटी !'' आफ्नै मनको हप्काई खाएर म पुन: आफ्नै धुनमा हिँडे।    म सँगै एक हुल परेवाहरु पनि उडेर आफ्नै बाटो लागे ऊ बसेको देवलको छानाबाट।

दिनहुँ कयौँ पटक जुध्छन् आँखाहरु  तर यादमा कमै मात्र भेटिन्छन, हो  आजमा केही विशेष पक्कै छ। सधैं जुध्ने चञ्चल आँखा भन्दा भिन्न उसका उदास आँखाहरुले के यो मन विचल्लित वा प्रभावित पारेकै हो त ? यही सोच्दै  झमक्क साँझ पर्दा घर पुगेकी मैले झ्यालमूनी फुलेका एक जोडी राता गुलाफसँगै  उसका एकजोडी आँखाहरु सम्झेँ, फरक कती भने  ती गुलाफहरु मसँग आँखा जुध्दाँ  गमक्क गम्के खुशीले तर उसका आँखामा मात्र उदासी थियो।

दिनहरु बितिरहेकै थियो सधैं झै तर सधैं भन्दा भिन्न मेरो मन केही दिन यता ती एकजोर उदास आँखाहरुमा अल्झेको अल्झ्यै भयो। यताउताबाट अाईलाग्ने कामले दुई तीन दिन म पाटनका गल्लीहरुमा पुग्नै सकेकी थीइन र पनि ती एक जोर उदास आँखाहरु मैले भुल्न सकेकी थीइन।  अर्को एउटा दिन  क्याम्पसबाट चाडै फुत्किएर म सोझै हानिएँ पाटनतिर नव बिवाहिता छोरी भोली पल्ट माईती फर्केझैँ  को हतारो बोकेर । सधैं झै मस्त थियो पाटन दरबार परिसर, ती मन्दिर र परेवाहरु उस्तै देखिन्थे जस्तो केही दिन अघी छोडेर गएकी थिएँ परिवर्तित त मेरै मन थियो त्यो पनि अन्जान एक जोर उदास आँखाको खोजीमा।

सधैं प्रिय लाग्ने मन्दिरहरुलाई फन्को मार्दै पहिलो पल्ट उसलाई देखेको देवल तिर सोझिएँ र पहिले कै देवलमा बसेँ। पहिलो दिन झै ऊ सामुन्ने अगाडिको देवलमा उही मुद्रामा बसेको थियो फरक यति थियो कि दोस्रो दिन सायद ऊ केही लेख्दै थियो। उसको ध्यान लेखाईबाट फुत्किएला र म सम्म आईपुग्लाको आशामा बसे तर ऊ भने सम्मोहित भएर लेखन मै ब्यस्त थियो । मनको स्वाभाव नै चन्चले किन बस्थ्यो थुपुक्क नजिकैका एक हुल परेवातिर तानियो मेरो मन पनि। 'ठिकै छ एकछिन यिनै सँग जिस्कनु पर्ला'को मनस्थितिले चारो हाल्दै परेवा जम्मा पारेर हुरुरु उडाएँ मन पनि परेवा झै स्वतन्त्र भएर फड्फडाउँदै उड्यो र यत्रतत्र मन्दिरको छानामा पुग्यो यति मात्र होइन परेवा र मन छानामा पुग्नु र उसका उदास आँखा ममा पर्नु एक साथ भयो सायद। उसका उदास आँखामा आँखा जुधाएर हाँसिदिए जानीजानी उसको लेखनी भङ्ग गर्न आफुले गरेको उपद्रो बिर्सेंर भनुँ या अन्जान बनेर ।

एकैक्षणको हेराहेर पछि उसका उदास आँखाबाट आफ्ना आँखाहरु बचाएर ऊ बसेको देवललाई दाहिने पार्दै  नजिकै मोडमा पुगे। फर्केर हेर्न मन लाग्यो हेरिदिएँ, ऊ त अघी झै एकहोर मैलाई पो हेरिरहेको रहेछ खिस्स हाँसिदिए र हात हल्लाईदिएँ ''बाइ बाइ'' को भावमा।

''बदमास केटी अझै बच्पना गा'को छैन है।'' सधैं विवाद गर्ने दुई मन मध्ये एउटा मनले बुज्रुक भएर तुरुन्त औंला उठायो।
''हो त नि के,कत्तिन....., कान्छी छोरी पो हुँँ त सधैंकी सबैकी सानी, आमा पनि त यसै भन्नु हुन्छ।'' अर्को मन तुरुन्त प्रतिवादमा ओर्ल्यो ।
''आज खुब बोल्छु भनेर आएकी होइन किन भागेकी'' मौका पाउँने बितिक्कै मस्तिष्कले प्रश्न उठायो।
''चुप लाग तिमीहरु'' मन मस्तिष्कलाई हकार्दै  घर तिर लागे  मन्दिराका परेवाहरुलाई जिम्मा लाए झैँ स्वतन्त्र मन बोकेर।  अझ गाढा भएर बस्यो मनमा उसका उदास आँखा।

उराठ लाग्दो घाम उदाउँदै र अस्ताउँदै अरु केही दिनहरु बिते। म पनि ब्यस्त हुन थाले क्याम्पस र पढाई तिरै, र पनि यदाकता ती उदास आँखाहरु खोज्थेंँ भीडहरुमा तर अँह सब ब्यर्थ!  उसलाई मैले भेट्न सक्ने सम्भवित स्थान भनेको पाटन दरबार छेउछाउ मात्रै थियो।

सायद बैशाख अन्तिमा तिरको एक साँझ हुँदो हो। नियमित जसो पाटनका गल्लीहरुमा बरालिन अभ्यस्त भएपनी मेरो आजको प्राथमिकता ती एक जोडी उदास आँखाहरु तर्फ थियो। सोझै उसलाई अघिल्ला दुई दिन देखेको देवलमा पुगे। ऊ त्यही थियो अनन्त: शुन्य आकाशमा आफ्ना उदास आँखाहरु स्वतन्त्र चर्न छोडेर निस्फ्रिक । चिनेको मान्छे भेट्न गए झै सरासर उसको सामुन्ने गएर उभिएँ कहाँबाट त्यतिका आँट आयो सम्झदाँ अचम्म लाग्छ । जब उसको सामुन्ने खडा भए तब उसका आँखा खुल्ल आकाशमा होइन म मा सिमीत भए। वर्षौ अघी छुट्टीएको कोई आत्मिय ब्यक्ती भेटिए झै, अलिकती सुखद तर ज्यादा जसो दु:खद भाव थियो त्यो आँखामा त्यसैले त मैले उसका आँखाहरुलाई 'उदास आँखा' भनेर सम्बोधन गरेकी।
न त ऊ बोल्यो न मैले नै केही भन्न सकेँ। एकछिनको मौन हेराहेर पछी उसले आफुले जतन गरी बोकेको सेतो पृष्‍ठभूमिमा हल्का निलो र गुलाफी रङ्ग पोतिएको डायरी म तिर तेर्स्यायो। अलमल्ल परे र उसका आँखामा हेरे। मेरा आँखाको प्रश्न टड्कारै उसले पढ्यो क्यारे।

''तिम्रा सबै जिज्ञासाको समाधान यसमा छ।'' आँखा झै उदास तर मधुरो बोली सुने। दोधारे हुँदै डायरी समाते । डायरी सम्बन्धित मालिकलाई बुझाए झैँ गरी मैले डायरी समातेको मिनेट पनि नबित्दै ऊ फटाफट त्यहाँबाट हिँड्यो,ऊ गएको तिर हेर्दै म उभिएको उभियै भएँ त्यही देवल भित्रको मूर्ती झैँ अचल। अँह उसले फर्किएर हेर्दै हेरेन, कतै पुग्नु पर्ने हतारोमा हिँडेको भन्दा पनि कुदेको झैँ एकहोरो गयो ऊ र मोडबाट कतै अलप भयो ।नजिकै चारो टिपिरहेका एक हुल परेवा कसैले उडाईदियो । परेवाको फड्फडाहाटले ऊ तिर एकहोरिएको मेरो मनले यथार्थता बोध गर्‍यो र तुरुन्तै डायरीतिर मोडियो।  कसैको निजी कुरा सार्वजनिक स्थलमा किन पढुँ,सोचेँ घर गएर पढ्छु।

बाटामा सधैं हतारमा देखिने अनगिन्ती गोडाहरुलाई अल्झाउँदै अल्झाउँदै आफ्नै धुनमा रल्लेर हिँड्ने मलाई  निकै हतारोले छोपेको थियो। कुनै अज्ञात दौडमा सामेल भए झैँ लाग्ने तिनै अनगिन्ती गोडाहरुकै हुलमा मिसिएर सबैलाई पछि पार्न लागे मानौँ कि म दौड जित्ने धुनमा छु । ''घन्द्रङ्ग'' गेट खोलेको आवाजले हुनुपर्छ छेवैका राता गुलाब पहरेदार झै सतर्क भए मेरो उपस्थिती स्वीकार्न र मलाई जिस्क्याउँन अनि  आफु जिस्किन । तर म सधैं भन्दा भिन्न उनिहरुसँग नअल्मल्ली सरासर कोठामा पुगेँ । सायद गुलाफहरु मसँग रिसाउँन भन्दा पनि  एक्कासी ममा आएको परिवर्तनले छक्क पर्दै मेरो मनको अवस्था पहिल्याउन थाले होलान। आखिर गुलाफहरु नै त  हुन नि मनका विभिन्न अवस्था बुझ्न सक्ने !

गर्मी नै भए पनि कफी उमालेर कफीको स्वाद सँगै डायरीका पानाहरु पल्टाउँदै जादाँ उसले भने झैँ मेरा जिज्ञासाहरु शान्त भएनन झन झन बढ्न थाले। कुनै एउटी प्रेमिका(उसैकी होलिन)ले आफ्नो प्रेमिलाई सम्बोधन गरेर लेखेका भावनाहरु थिए। सँगै बाँच्ने रहरहरु,सँगै देखेका सपनाहरु, भविष्यप्रतिको आशा अनि सँगै अनिश्चितताको भय पनि । डायरी साधारण थियो तर उसले मलाई यो किन दियो? को जवाफ खोज्न कै लागि फर्लङ्ग फर्लङ्ग डायरीका पानाहरु पल्टाउँदै गएँ। डायरीको अन्त्य भाग पट्टी अघिल्ला झै भिन्न अक्षरहरु देखा परे। अक्षरको भिन्नता हुनुको कारण तिनै पानाहरु पढ्छु ।
                                           
                                                      ******
सौमी,
तिमीले मलाई सम्बोधन गरेर लेखेको  यो डायरीमा आज म तिमीलाई सम्बोधन गर्दै छु। तिमी त गयौ फेरी नफर्कने गरी म भने यतै छुटे तर लाग्दैछ अब धेरै छुट्नु पर्दैन। सधैं त रहरले बिर्सन्थेँ त्यो तीतो यथार्थ किनकी एकैक्षणलाई भने पनि यो मनलाई शान्त राख्न सक्थेँ तिमी हुनुको झुठो अस्तित्व बोकेरै किन नहोस्। तर आज त म बिर्सन बाध्य भए। हो मैले बिर्सिए सौमी तिम्रो अस्तित्व यो दुनियाँबाट बिलाएको ,मैले यो पनि बिर्सिए कि तिमी मस्तसँग निदाएर दाउराको डोली चढेकी, हो मैले बिर्सें तिमी धुवाँ धुवाँ भएर अनन्त आकाशमा बिलाएकी, खरानी भएर पानी र माटोमा मिलेकी । हो सौमी, आज मैले सबै बिर्सें जब सधैं कुर्तासुरुवालमा आफुलाई सजाउँने तिमी जिन्समा सजिएर मेरो सामुन्ने देखा पर्यौ । हरियो कुर्तामा खुल्ने तिमी  त्यो दिन हरियो टिसर्ट र गाढा निलो जिन्समा पनि त्यतिकै खुलेकी थियौ । सधैं सपक्क पारेर बाँध्ने आफ्ना सुनौला केश त्यो दिन तिमीले हावासँगै लहराउँन छोडेकी, अहो ! कस्तो खुलेको थियो तिमीलाई । सरासरी आयौ फेरी जसरी आएकी उसै गरी फर्क्यौ पनि। मेरी सौमी मलाई देखेर पनि किन अपरिचित झै भईन भन्ने सोच्दा पो बल्ल मैले यथार्थको बोध गरेँ। सपना हो कि सोचेर वरपर नियाँले अहँ त्यो सपना थिएन । पाटन दरबार परिसरका परेवाहरु, देवल, घुमन्तेहरु  आदि आदि सबै यथार्थ थियो अनि त्यस्तै यथार्थ थियो त्यो आकृती पनि।  

सत्य हो त्यो तिमी थीइनौँ तर कोही थियो जो हुबहु आँफैलाई तिमीमा बोकेर हिँडिरहेको। भाग्य भनौँ कि दुर्भाग्य थाहा छैन तर उसमा तिमी देखें र नियास्रो मेटुन्जेली हेरेँ। हो सौमी तिमी फेरी एक पटक छपक्क छोपिएर आयौ मेरो मन भरी । फेरी अर्को मनले भन्यो यो तेरी सौमी होइन आफुलैलाई भ्रममा नराख अनी धोका न'दे आफ्नी सौमीलाई । 

भोलीपल्ट पनि तिम्रो प्रतिबिम्ब उही पहिलो दिन झैँ मेरो सामुन्ने आयो । एक मन लाग्यो तिमी मलाई झुक्याएर मलाई छल्न कतै गएकी थियौ र अहिले फर्कियौ तर त्यो अकाट्य अतित कसरी हट्थ्यो र मन मस्तिष्कबाट । चुम्बकले फलाम ताने झै म तानिएको छु तिम्रो प्रतिबिम्बमा तर जब जब सचेत भएर सोच्छु पश्चातापले जल्छु कि मैले कतै तिम्रो प्रेमप्रती अन्याय त गरिरहेको छैन? फेरी सोच्छु तिम्रो प्रतिबिम्ब बोकेर हिँड्ने उनी को हुन मलाई थाहा छैन मेरो निम्ती त उनी मेरी  सौमी यानेकी तिमी मात्रै हौ ! बाढि आएको नदी झै भएको छ मन जता जता डोर्याउँछ उतै उतै लागिदिन्छु । अचेल। कुनै कुराको ठेगान छैन। मन मस्तिष्कै लथालिङ्ग भएपछी जिन्दगी कहाँ सम्हालिदोँ रहेछ र !

अचेल जब जब तिमीलाई सम्झन्छु तब तब पाटनका गल्लीतिर बराल्लिने त्यही आकृती नियाँल्ने उत्कट ईच्छा लाग्छ। तर पानीको फोका झै भईदिन्छ यो म र पो । एक पटक वाध्य भएर स्वीकार गरिसकेको छु कि तिमी अनन्त: आकाशमा धुँवा बनिसक्यौ, त्यहाँ पुगिसक्यौ जहाँबाट फर्कन सम्भव नै छैन। अनन्त भएकी तिमीले त यो सबै देखेकी हौली नि  होइन ? फेरी किन आफ्ना प्रतिबिम्बहरु मेरा सामु पठाउँछ्यौ तिमी ? म झेल्न सक्दिन सौमी तिम्रो अभाव न त अँगाल्नै सक्छु तिम्रो प्रतिबिम्ब। हो सौमी, म पनि चाडै आउँछु तिमीलाई भेट्न। 

                                                  ****
अन्त्यमा,
सम्बोधन तिमीलाई,
मेरी सौमी आफुमा बोकेर हिँड्ने 'अपरिचिता' तिमीलाई भेटेर तिम्रो नाम सोध्ने हिम्मत ममा छैन। मेरो लागि तिमी कि त अपरिचिता हुन सक्छ्यौ कि त मेरी सौमी। यी दुई मध्ये अहिलेको समयले तिमीलाई अपरिचिता नै रहन दिनु ठीक भन्ने ठहर्यायो। जुन दिन पाटनका परेवाहरुसँग स्वतन्त्रता र खुशी साट्दै गरेकी तिमीलाई देखेँ मलाई ईर्ष्या लाग्यो तिमीसँग किनकि मैले त निकै भएछ हाँस्न बिर्सेंको पनि । परको मोडमा पुगेर हात हल्लाईरहेकी तिमीलाई देख्दा मलाई पुन: मेरी सौमीको यादले रुवायो। कती अलग तिम्रो र मेरो संसार । तिम्रो सहज् र स्वाभाविक हाँसोले पनि मलाई गिज्याए झैँ लाग्यो। मेरी सौमीलाई बोकेर हिँड्ने अपरिचिता मेरो तिमीसँग एउटै मात्र अनुरोध यो डायरी मेरी सौमीको चिनो हो जुन  आज सम्म मैले जतन गरेर राखेको थिएँ ।मेरा अनगिती आँशुहरुको साक्षी बसेको छ मेरो मन नजिक भएर यो डायरी।  किन हो किन हिजो आज मलाई यो बैयक्तिक डायरीको सुरक्षाले चिन्तित पार्न थालेको थियो। संयोग तिमी भेटियौ मेरी सौमीको प्रतिबिम्बन भएर। मेरो लागि यो भन्दा सुखद अरु के नै होला र ? आजबाट तिमीलाई यो जिम्मा लाउँदै छु। किनकी मेरी सौमीसँग म टाढिन सक्दिन। चिन्नु न जान्नुको मान्छेको यस्तो कुराले तिमीलाई रिस उठ्न सक्ला या तिमी मलाई ''बौलाहा'' भनौली मेरो कुनै गुनासो छैन। हो म आँफै आफो नियन्त्रणमा छैन यी दिनहरुमा। यो दुनियाँले त मलाई उहिल्यै देखी ''सिल्ली''को उपमा दिसकेको छ। सोच्नेछु डायरी जसको नासो थियो उसैलाई बुझाउँन सके। पाटनका परेवाहरु सँग हरेक साँझ त्यसै गरी उन्मुक्त भएर स्वतन्त्र खुशी साट्नु है तिमी जुन दिन तिमीलाई मैले पहिलो पल्ट देखेको थिएँ । ए अपराजिता, तिमीले आफुमा सधैं त्यसैगरी मेरी सौमीलाई बोकेर रमाउँनु है। 
                                                                               बिदा !

हो अचेल हरेक साँझ पाटनका गल्लीहरु चाहर्छु म। यही आशामा कि उसलाई पर क्षितिजतिर हेरेर टोलाईरहेको फेला पार्छु कि ! तर अहँ आज सम्म म सफल हुन सकेकी छैन। अचेल जब जब पाटनका गल्लीहरुबाट घर फर्कन्छु एउटै भय उत्पन्न हुन्छ मनमा । 'कतै उसले आफ्नी सौमीलाई भेट्ने बाटो पो पहिल्याई सक्यो कि?' थाहा छैन कहाँ लुकाएर राखेको छ उसले आफ्ना एकजोडी उदास आँखाहरु। म निरन्तर खोजिमा छु ती एक जोडी उदास आँखाहरुको  र रहिरहने छु  चाहे सारा जीवन असफलता किन नभोगुँ।