गजल - परदेशी प्रिय !

परदेशी प्रिय हुँदा घरदेशमा रुन्छिन प्रिया,
आधा उ उतै हुन्छ बाँकी आधा हुन्छिन प्रिया।

विगत सम्झी रमाउँछिन वर्तमानले रुवाउँछ,
उता प्रिय कस्ता छन यता सधैं दुख्छिन प्रिया।

एक्लोपनले झस्काउँछ,आफ्नै छायाँ बैरी हुन्छ,
साहरा फोटो मात्र त्यसैलाई छुन्छिन प्रिया।

चस्कन्छ छाती अनी सपनामा सधै पहिरो,
'कुशल रहे प्रिय' देउता अघी झुक्छिन प्रिया।।

परदेशी प्रिय हुँदा घरदेशमा रुन्छिन प्रिया,
आधा उ उतै हुन्छ बाँकी आधा हुन्छिन प्रिया।

बगाईहरु


स्वच्छन्द भएर पहाडका खोल्चाखोल्ची
बनपाखा,गाउँ बेसी र
भिरालीहरुमा दगुर्ने म सोच्थेँ-
यो जिन्दगी कती मनमौजी छ।
किनारलाई साथ लिएर
पहराबाट छहरा बनेर
कहिले बेग हान्दै र
कहिले शान्त बन्दै
बन बनेली चाहर्नु
बस! यही दैनिकी
कती स्वतन्त्र।

फेरी एक दिन...
यी सबको अन्त्य हुन्छ,
मलाई भनिन्छ कि दूर-दराजमा
कोहीँ मेरो पर्खाईमा छ।

अब मेरो एक गन्तव्य छ,
मैले कहीँ दूर जानु छ
कसैलाई भेट्नु छ
जो मेरो प्रतिक्षामा वर्षौ होइन,
युगौँ युग देखी छ।

उसलाई भेट्नु आफ्नै अस्तित्त्व मेटाउनु हो,
ऊ भित्रै आफुलाई समाहित गर्नु हो,
खेल्दै आएको बन बनेली र गाउँ बेसी
अनी पहाडी कुनो बिगत बनाएर
स्‍मृतिको बहिखातामा थन्क्याउनु हो।
कहिले किनार बनेर साथ दिने,
कहिले घुम्ती बनेर आलिङ्गन गर्ने
सहयात्रीहरु सँग छुट्नु हो।

हो, मैले जानै पर्छ।
आफ्नो परिचित धर्म भुलेर
यी पहाडी खोल्चाखाल्ची,
गाउँ बस्ती डुल्दै,
कती बेर आफुलाई अल्मल्याउन सक्थेँ र?
त्यसैले, थाल्नेछु यात्रा
पहराबाट छहरा भैँ खस्दा
फुस्फुसाउने श्वेत बाछिटा
बिदाईका मुस्कान बोकेर  ।

सागर भेट्नु र
उसैमा समाहित हुनु,अबको लक्ष्य हो।
आफ्नो स्वच्छन्द बिगत
कहिलेकहीँ फुर्सदमा पल्टाउने एल्बम बन्ने छ।
उसमा समाहित भएर
मैले नयाँ परिचय बनाउनु छ,
जसको एउटा ईतिहास बित्यो।
र, बाँकी छ...
अज्ञात भविष्य !!!

बिन्ती छ है कट्टी अब तोडिदेऊ




बिन्ती छ है कट्टी अब तोडिदेऊ त प्रिया,
कोईली झैँ गला खोली बोलिदेऊ त प्रिया।

रिसाए झै गर्दै र घुर्‍क्याएर सुस्तरी आई
नराखी मनमा भाव खोलिदेऊ त प्रिया।

यो मनमा तिमी सधैंलाई हो राख्या मैले ,
कती माया गर्छौ सोध्न छोडिदेऊ त प्रिया।

सुक्री बिक्री चल्छ रे माया अचेल् बजारमा,
हाम्रो माया कुन कित्ताको मोलिदेऊ त प्रिया।

हुँदैन् रे हाम्रो मिलन् भन्नेहरु धेरै भेटेँ,
यसैपाली अमर नाता जोडीदेऊ त प्रिया।