'अपराजिता '

बिहान,दिउँसो र साझँको चक्रमा साधारण बितिरहेका दिनहरुमा फरक एउटा  दिन यस्तो आईदियो कि केटीले जुन जुन आफ्नो स्वभावलाई स्वाभिमान ठानेकी थीई उसको लोग्ने बनेको केटाले त्यसलाई घमण्डको नाम दियो। बस्, समस्या त्यही दिन अनी त्यहीँबाट सुरु भयो। समस्याको बीऊ रोपिन मात्र गाह्रो हो रोपिए पछी त्यो रछानको मूला झैँ हालक्क हल्केर आउँछ । केटा र केटीको बीचमा पनि त्यहीँ भयो । एउटा निहुँको बीउ  उम्रिएको ठाउँमा दिनदिन मौका मिल्दा अरु ससाना बीउ नउम्रने ग्यारेन्टी पनि त हुन्न नि !

यस्तै दिनहरु बित्दै गर्दा एउटा अर्को त्यस्तो दिन पनि आयो जुन दिन केटीले संसारका सबै लोग्नेमान्छेहरुलाई तिरस्कार गरेर घिनलाग्दो रुपले हेर्न सुरु गरी र अन्तत: त्यसको बिरोध स्वरुप अर्की आफु जस्तै  केटीसँग बिहे गर्ने शंखघोष गर्दै आफुलाई स्वतन्त्र गराई बिगतको प्रेमी यानेकी वर्तमानको लोग्नेसँग कानुनी रुपमा भने सबै 'पुरुष'हरु सँग भावनात्मक रुपमा । आफ्नो निर्णयमा समाजको प्रतिकृयाको अनुमान केटीलाई पहिल्यै थियो  यसर्थ उसले आफ्ना पछाडि काट्ने कुराहरुको बेवस्ता गरिदीई र आफ्नै स्वतन्त्रता र 'घमन्ड'को नाम पाएको स्वाभिमानमा रमाई । शारीरिक र मानसिक दुबै हेरचाहको अभावमा ओईलाएको केटीको अनुहारको गुराँसमा पुन: रङ्ग चढ्न थाल्यो त्यसको केही दिनमा ऊ ढकमक्क फुली आफुले रोजेको वातवरणमा ।

क्याम्पस जीवनका अन्तिमा खुड्किलाहरु चढ्दै गर्दा केटाले केटीलाई र केटीले केटालाई भेटेका थिए। केही भेटहरु पछि केटो केटीको राम्रै प्रशंसक बनेको थियो  रुपको मात्र नभैइ साना ठुला व्यवहार र केटीको सोचाइ अनी पढाइ र काम गराईको तालमेल सबैको । दिनदिनको संगतले केटीले केटो मन पराई केटोले केटी पहिल्यै मन पराएकै थियो । आपसमा बिहे गर्ने निधो गरे र त्यसको केही दिनमा सँगै बस्न थाले प्रेमीप्रेमिकाबाट लोग्नेस्वास्नीमा रुपान्तरित भएर । केटी चाहन्थी केटो उसको जीवनमा मालिक नभई सहयात्री बनेर आओस्।  केटो सहयात्री पनि ओहोरै असल सहयात्री बनेर देखियो सुरुवाती दिनहरुमा । तर, जसै हिजो,आज र भोलीको चक्रमा दिनहरु बित्न थाले शनै: शनै: केटोमा सहयात्रीपन ओईलाउन थाल्यो भने बदलामा जरा गाड्न थाल्यो मालिकपनले ।

''कमाउने म छँदै छु तिमी केलाई दु:ख गर्छ्यौ,छोडिदेउ जागिर। फेरी तिम्रो कार्यालय पनि टाढा छ।'' बिहेको केही महिना भित्रै केटाले केटीलाई एकसाँझ भन्यो। भएको के थियो भने, क्याम्पस पढुन्जेल र बिहेको सुरुवाती दिनहरुमा राम्रैसँग दबाएको या उपयुक्त अवसर नपाएको  केटोको 'पुरुष मानसिकता'ले बिस्तारै बिस्तारै केटीलाई भुइँ मानेर जरा गाड्न सुरु गरेको थियो।  बिहान केटी केटो भन्दा चाडै उठ्थी, कालो कफी खाँदैँ हतारिदैँ दाल,भात पकाउँथी। तात्तातै दुईचार गाँस खान्थी र कार्यालयका लागि तयार हुन्थी। जब केटी ''लौ म गएँ है,खाना चिसो नहुँदै खानु र समयमै अफिस जानु'' भनेर हतारिँदै निस्किन्थी तब केटो उठेर जिउ तान्दै हाई काढ्थ्यो र नित्यकर्म सकेर चिया या कफिको सट्टा केटीले पकाएर राखिदिएको भात खाएर अल्छे पारामा कार्यालय पुग्थ्यो। बेलुका केटो केटी भन्दा पहिल्यै घरमा दाखिल हुन्थ्यो तर बिहान आफैले खाएर छोडेका जुठा भाँडा देख्दा ऊ झ्याउ मान्दै केटीलाई पर्खन्थ्यो। ईमान्दार भएर भन्दा एक कप चिया सम्म पनि आँफै बनाएर नखाई ऊ केटीको पर्खाईमा बसिदिन्थ्यो।

केटी झमक्क साँझ परेपछी आईपुग्थी र कार्यलयीय लुगा समेत फेर्ने फुर्सद नपाई जुठा भाँडा माझ्ने र चिया पकाउने काममा जुट्थी। केटालाई चिया दिन्थी र पुन: बेलुकीको दाल भातको जोहोमा लाग्थी। केटो पुराना नयाँ पत्रीका हेर्ने बाहनामा चिया खान्थ्यो र चुपचाप बसिरहन्थ्यो तर कुनै पनि दिन केटाले केटीलाई काममा सघाउन आवश्यक ठानेन ।  सुरुवाती दिनहरुमा '' तिमी चाडै आईपुगे पछि त यसो यी बिहानका जुठा भाँडा माझ्दै गर्नु नि,आखिर पहिले एक्लै बस्दा सबै काम गरेकै हौ क्यारे, मेरै बाटो किन हेर्छौ?'' केटीले थोरै गुनासो मिसाएर प्रश्न पनि गरी तर केटोले जवाफ दिनु आवश्यक ठानेन। बरु भोलिपल्टबाट केटो केटी भन्दा पछि घरमा उपस्थित हुन थाल्यो कहिले मिटिङ त कहिले पुरानो साथी भेटेको बाहनामा। केटीले उसको बाहना राम्रैसँग बुझी त्यसैले दोहोर्‍याएर केटोलाई केही भनिन तर केटीको मनमा विचारका विविध लहरहरु आउँदै जादैँ गरिरहे।

जागिर छोड्ने कुरासँग केटी पटक्कै सहमत भईन यो कुरा सजिलै अनुमान गर्न साकिन्थ्यो । बरु केटाको व्यवहारमा पुरुषअंहमका बीउहरु फुटेर पोथ्रा भईसकेको अनुभव गरी केटीले । केटी केटोको कुरा सुने नसुने झैँ चुपचाप आफुलाई काममा व्यास्त पार्न प्रयत्नरत गर्न थाली। केटीको मौनता ''ल हुन्छ,म भोली देखी जागिर जान्न'' भन्ने स्वीकार पक्कै थिएन बरु यो त एउटा मौन बिद्रोह थियो,हाँक थियो। भोलीपल्ट सधैं झैँ घाम उदायो सधैं झै केटीले तात्तातो भात खाएर कार्यालयको बाटो समाती तर पहिले झै ''लौ म गएँ है,खाना चिसो नहुँदै खानु र समयमै अफिस जानु'' भनेर केटोलाई भन्नु आवश्यक ठानिन।

अब केटो दिनहुँ केटीलाई ''जागिर छोड''  भन्न थाल्यो। मौनता भत्काएर ''तिमी छोड बरु जागिर म किन छोड्ने मै पालुँला तिमीलाई, मेरो अफिस पायक पर्ने ठाउँ सरौँला कोठा पनि टाढा लाग्छ भने ,तिमीलाई तिम्रो अफिसले दिएको सुविधा भन्दा कता हो कता धेरै सुविधा छ मेरो जागिरमा''  भनेर भन्ने मन नभएको त कहाँ हो र केटीलाई तर यति रुखो हुन केटीको प्रेमिका मन मानेन्।

 ''तिमीलाई थाहा छ मैले यो जागिर कती दु:खले पाएकी हुँँ र  दिनरातको मेहनतले आजको स्थान प्राप्त गरेकी हुँ अनी तिमीलाई यो पनि थाहा होला कि तिमीले छोडिदेऊ भन्दैमा खुरुक्क जागिर छोडेर घरमा म कुनै हालतमा बस्दिन भनेर अनी के को दिनदिनको रटान हो''  रुखो नबोले पनि केही आवेगमा आएर केटी कराई।

 ''मेरो ईज्जतको पनि ख्याल किन गर्दिनौँ,साथीभाइ खिस्याउँछन मलाई ''यसकी त बुढी पनि जागिरे'' भन्दै  उडाउँछन।  केटोले सम्झाउँने पारामा भन्यो।

''खै त मेरा साथी त न मलाई खिस्याउँछन न उडाउँछन कस्ता साथी हुन त तिम्रा को जागिर खान्छ को खाँदैन, अनी कस्ले के गर्छ के गर्दैनको चेवा गर्दै अर्काको वैयक्तिक जीवनको चासो गर्दै हिँड्ने,के तिम्रो अफिसमा कामकाज हुन्न?'' केटीको महिनौँ देखी दबेको आवेगले निस्किने बाटो खोज्छ।

''साँच्चै भन्दा मलाई पनि मन परेको छैन तिमीले जागिर खा'को, के नपुग्दो छ र? दिनभरिको कामबाट घर आयो एक कप तातो चियाको आशले तर जुठा भाँडाले स्वागत गर्छ, पहिले को कुरा बेग्लै थ्यो तर अब तिमी घर सम्हाल्न तिर ध्यान देऊ।''  अर्को कुनै बिदाको दिन केटोले फैसला सुनायो।

''पहिलेको कुरा बेग्लै थियो रे भने पछि पहिलेको मान्छे पनि बेग्लै अहिलेको बेग्लै होला होइन, यसै पनि तिमी पहिले झै छैनौँ, र अर्को जहाँसम्म घर सम्हाल्ने कुरो छ त्यो मैले अहिले पनि सम्हालेकी छु तिम्रो पनि घर हो तिमीले पनि सम्हाल्न हुन्छ, मेरै मात्र भाग किन लाउँछौ? पछिल्लो पटक कहिले घरको काममा सघाएका थियौ याद पनि छ? तिमीलाई अफिस सम्हालेर घर आउँदा चिया खुवाउँन  मैले जागिर छोड्नुपर्‍यो होइन, मैले यतिका महिना देखी घर र अफिस एकसाथ कसरी सम्हालेकी छु कहिल्यै सोच्यौ? म भन्दा दुई घण्टा चाडै आउँने मान्छे तिमी हो क्यारे कति  काम गर्ने गरेको छौ आँफैलाई थाहा होला ।''  केटी राम्रैसँग वादविवाद गर्ने सुरले मंचमा ओर्ली।

'' ए अब त्यसो भए अब मैले भाँडा माझेर,चिया टक्र्याएर महारानीको सेवा गर्नु पर्‍यो।''  केटो बुरुक्क उफ्रेर कुर्लियो।

''गरे हुन्छ,अनी चिच्याउँन मलाई पनि आउँछ बुझ्यौ,तिम्रा बा'ले तिम्री आमालाई, भिनाजुले दिदीलाई र दाइले भाउजुलाई थर्काए झैँ तिमीले पनि  मलाई थर्काउँला भन्ने सोचेको भए त्यो सोच आज अहिल्यै निकालेर फालिदिए हुन्छ। म तिम्रो आसे होइन परिआए प्रतिस्पर्धी हुँ यति बुझे हुन्छ।  '' केटीले  फैसला सुनाई।

''घमण्डी'' केटोले भुइँमा थुक्दै केटीलाई हेरेर भन्यो ।

'' सही भनिस्, आफ्नो स्वाभिमानमा बस्न चाहने र अस्तित्वको लडाइँ गर्नेलाई यो समाज यही उपनाम दिन्छ।'' केटीले पटक्कै हार मानिन।

''म तँसँग बस्दिन यदि जागिर छोड्दिनस् भने।'' केटोले विकल्प सहितको अर्को फैसला सुनायो सायद यही सोचेर कि निर्णय आफ्नो पक्षमा पर्ला।

'' तँ मलाई के छोड्छस् मै छोड्छु तँलाई।''   त्यही निर्णय सुन्न पुर्वतयारी सहित बसे झैँ केटीले आफ्नै पक्षमा फैसला सुनाई। यदिका महिना देखी मनमा थन्किएर बसेका आवेगहरु पोखिदाँ आफ्नै मन हलुङ्गो भएको महशुस भयो केटीलाई। त्यस माथि भर्खरै आफ्नो पक्षमा आँफैले सुनाएको फैसला सम्झेर मनैमनमा मुस्काई।

केटोसँगको सम्बन्ध असफल भएपछी केटीमा पुन: विपरित लिङ्गी प्रतिको मोह लेश सम्म पनि बाँकी रहेन। अन्तत: आँफैले घोषणा गरे अनुरुप अचेल केटी अर्की  उस्तै राम्री र सक्षम केटीसँग नारिएर हिँड्छे।  हिजोआज केटी पहाडी गुराँसलाई आफ्ना  गालाहरुमा रातम्य फुलाएर बसन्तपुर दरबार परिसरतिर या  भक्तपुर दरबार परिसरमा कहिले एक्लै त कहिले अर्की सहयात्रीको साथमा निस्फिक्र घुम्छे दुनियाँलाई बिर्सेंर।  अचानक एकदिन केटीले मलाई पाटन दरबार परिसरमा बोलाई र आफ्नो कथा सुनाई साथमा यो पनि सुनाइ कि ऊ आफ्नो जीवन बँचाइसँग पूर्ण सन्तुष्ट छे र अहोरै खुशी पनि छे। अझ... मैले उसको कथा लेखिदिने थाहा पाए पछि उसको खुशी दुगुना भएको थियो।

तीतो अनुभव

जो सँग पैँचो लिएकी उसैलाई । 
'ए, बैनी भ्यालेन्टाईन आउँदै छ त तिम्रो कार्यक्रम के छ नि यस्पाली?'

मेरो गाउँठाउँकी नभए पनि उनलाई म विगत तीन चार महिना देखी 'बैनी' भन्थे । साँझतिर पाटनका गल्लीहरु र कृष्ण मन्दिर परिसरतिर बिना उदेश्य कानमा ईयरफोन उनेर रल्लिन मन पराउँने मैले उसलाई त्यतै आउँने जाने क्रममा चिनेकी हुँ। आज पनि नजिकैको परिक्षा केन्द्रबाट परिक्षा सकेर सहपाठीहरुलाई त्यतै लगनखेलतिर छलेर एक्लै लस्केकी थिएँ पाटनका गल्ली चाहर्न। एक सुरमा घाम तापिरहेकी उनलाई झसङ्ग पर्ने नियत बोकेरै मैले कानैमा कराएकी थिएँ पछाडिबाट जाँदाजाँदै ।

'' आबुई, कस्तो तर्सेकी  यो दिदी पनि.... अनी  अस्तीतिर त अलिक दिन आउँदिन भन्नु हुन्थ्यो त, हजुरको परिक्षा चल्दैछ भनेको होइन?''
मेरो प्रश्न नसुने झैँ गर्दै उसले उल्टो प्रतिप्रश्न गरी र एक हिसाबले खोसे झैँ मेरो झोला तानेर खोतल्न थाली। उसलाई यती गर्ने अधिकार म आँफैले दिएकी थिएँ निकै पहिले नै । म त्यता जाँदा  परेवालाई चारो नबोकी जान्न भन्ने विश्वास शायद उसलाई थियो ।

'आज परिक्षा दिएरै आको हौ यता, सेन्टर यतै पर्या छ त मेरो, गहुँ मकै केही बोकेकी छैन, बरु किताब कपी चै होलान त्याँ'' उसलाई झोला खोतल्नुको ब्यर्थता सम्झाउँदै पर्तिर डालोमा मकै र गहुँ बेच्न बसेकी बुढी आमैलाई हात हल्लाएर आउँने ईशारा गरेँ।

''अँ बरु आज तिम्लाई चै  स्पेशल चारो ल्या'की  छु'' उसको हातबाट ब्याग खोसेँ र केहीदिन पहिले मात्र बाहिरबाट आईपुगेको चक्लेटको केही भाग थमाईदिएँ ।

''वाउ, भेनाले भ्यालेन्टाईन स्पेशल पठा'को हो कि क्या हो ?''
' ल ल भो जे स्पेशल भए पनि खानु नि खुरुक्क छुच्ची, अनी के छ नि तिम्रो चै यस्पाली भ्यालेन्टाईन स्पेशल हुँ भन्दा पनि भन्दिनौँ त झन अघि आउँने बितिक्कै सोध्या हैन कत्तिन भन्न नहुने जस्तो खुब हाम्लाई ।

 ''के भ्यालेन्टाईन मान्नु छ र दिदी यहाँ, सँगै सुत्न राजी भए ''मायालु'' नत्र ''भालु'' (शाब्दिक तुच्छताको लागि माफी) को नाम दिन्छन यी प्रेमीहरु ।'' कतै पर पहरोको कुनाबाट आएको बोली झै मधुरो तर उदास स्वर सुनियो उसको ।

''एई फुच्ची के भनेकी यस्तो''  आमैलाई चारोको पैसा र दुई वटा चकलेट दिँदै उसको अनुहारमा हेर्छु । वर्षन लागेको असारे बादल भएकी रै'छे ऊ त  ।

सधैं केही न केही भनेर म उसलाई जिस्क्याई रहन्थेँ र आज पनि कस्तो हल्का भावमा सधैं झैँ मैले जिस्क्याएकी थिएँ। तर उसले कस्तो भारी जवाफ दीएकी। फेरी कस्तो विचित्रको भाव नाँचेको उसको अनुहारमा त्यस बेला । भर्खरको रमाईलो बातावरण ब्यर्थै आँफैले धमिल्याएँ।

''हो त दिदी अनी के भन्नु त, म त हिजो आज एउटी केटी साथी सँगै पो बस्न थालकी छु त यी हेर्नु त कपाल पनि काटेँ । समाजले मलाई अप्राकृतिक भन्ला तर तिनीहरुले मानेको प्राकृतिक सम्बन्ध सह्य भएन दिदी मलाई यिनीहरु नै त हुन नि मलाई अप्राकृतिक हुन वाध्य पार्ने कि होइनन भन्नुस त । खै कहाँबाट आयो कुन्नी ममा यती धेरै असन्तुष्टी आँफै दङ्ग परेकी छु। अनी यो बदला आँफै सँग कि यो समाज सँग त्यो पनि थाहा छैन। सम्बन्धका बन्धनहरु बोझ भए पछी शायद यस्तै  नहुनु पर्ने  हुन्छ ।  ''

मैले सधैं जिस्क्याउँने यो सानी केटी भित्र यत्रो आक्रोश होला मलाई अनुमान नै थिएन। पोखिन दिएँ ऊ भित्रका आगोहरु र ....चुपचाप हेरिरहेँ । ऊ पोख्दै गई, आफुले प्रेमका नाउँमा पाएका खप्कीहरु.... परतन्त्र.... भत्कोसहरु....आफुले रोजेको अप्राकृतिक भनिएको सम्बन्ध अनी .......अरु धेरै धेरै आक्रोश यो समाजसँग यहाँका मान्छेका स्वाभावसँग र अन्त्यमा आँफैसँग.....ऊ पोखिँदै गई, म दुख्दै गएँ यही सोचेर कि  भोलीको सपना देखेर मस्त निदाउने यो उमेरमै यो केटीले यती धेरै जीवन भोगिसकिछ, थाहा छैन विधाताले के लेखेको छ कुन्नी यसको भागमा... र अन्तत: ऊ शान्त भई र मलाई हेरेर  मलाई हेरेर खिस्स हाँसी। चारो खाईरहेका परेवाहरु हुरुरुरु उडेर कतै मन्दिरको छाना तिर बसे ।

''हिँड कफी खान जाउँ''
मेरो अप्रत्यशित प्रस्ताव र  भर्खरैको आफ्नो आक्रोस सम्झेर होला ऊ मलाई हेरेर पुन: गुलाफी भई।

'' मैले के भन्ठाने होला यही सोच्दैछ्यौ  होइन? तिम्रो उमेर पार गरेरै दिदी यहाँसम्म आईपुगेकी हो। म बुझ्छु तिम्रो अवस्था अनी म तिमीलाई अरुले झै अप्राकृतिक पनि भन्दिन, मेरो लागि जस्तो तिमी हिजो उस्तै आज।''
मेरा कुराले उ बच्चा झै फुरुक्क परि र पाठो झै चन्चल पनि।

''फुच्ची ! लौ हिँड अब।''
 बसेको ठाउँबाट उठेर नजिकैको क्याफे तिर सोझिएँ उसले मलाई पछ्याई ।

कफी सकेर ऊ सँग छुट्टीएर घर फर्केँ। बाटाभरी ऊ अनी ऊ  जस्तै अरु थुप्रै 'ऊ' हरुको अवस्था सम्झे। आफुलाई नयाँ पिँढी मानेर सबै कुरामा एक पाईलो अघि सार्न खोज्ने कती 'ऊ'हरु मेरी छुच्ची फुच्ची बैनीको जिवन बाँच्दै होलान त्यो उमेरैमा। प्रेम आँफैमा खराब भन्ने हुन्न तर मान्छेहरुले खराब पारिदिन्छन् त के गर्ने। आधा जाँच सकिएको खुशी र बीचमा १२ दिन अरु जाँचको तयारी गर्न पाएको समय सम्झेर पनि मन हलुका हुन सकेन ।

परी

निख्रदो पुषको कलिलो घाम अलमल अलमल गर्दै परीको कोठाको झ्यालसम्म आईपुग्छ र पनि ऊ उठ्ने तर्खर गर्दिन। 'परी' आमाबाले मायाले राखिदिएको नाम। नाम अनुसारकै रुप पाएकी छ्यौ भन्थे उसलाई देख्ने प्राय: सबैले । बेलुका देखी ओछ्यानकै कुनै कुनो ओगटेर रात काटेको मोबाईल सिरक भित्रैबाट छामछाम्छुम्छुम गरेर फेला पार्दा कुन्नी कताबाट एक झोक्का हावा सिरक छेडेर उसलाई सुम्सुम्याउन सफल हुन्छ । ''आछ्छु''को भावमा सिरक भित्रैबाट मोबाईल चलाऊन थाल्छे परी तर, वाईफाईको सिग्नल नदेख्दा बत्ती नभएको सहज ज्ञान प्राप्त गरी मोबाईल फेरी ओछ्यानकै कुनोतिर मिल्काएर ऊ पुन: निदाउने रहर गर्छे। यता रातभरिको शितले कठ्यङ्रिएको बिहानी भने त्यै कलिलो घाममा तन्याकतुनुक आफुलाई तन्क्याउँछ र घाम तन्नेरी हुने समय कुरेर बस्छ।

काठमाडौँको एक्लो बसाईँ, जागिरको छुट्टीको दिन भएर पनि होला आज परीलाई झटपट ओछ्यान छोडिहाल्ने  मन छैन ।  मन लाग्दा खायो मन नलाग्दा सुतिदियो। के किन जस्ता प्रश्नहरुको सामना गर्नु नपर्ने भएरै उसले यो एक्लो जीवन रोजेकी हो। ऊ बाट छुट्टीएर पुन: ओछ्यानको शरणमा परेको मोबाईलले बिद्रोह गरे झैँ तुरुन्तै घुरेर फोन आएको संकेत गर्छ। 'कुन्चैले काम पाएन यो एकाब्यानै' बिहानै त्यसरी आफुलाई सम्झेकोमा झिँजो मान्दै ऊ मोबाईलको स्क्रिन पनि नहेरी सोझै कानतिर फोन टाँसेर निद्रालु बोल्छे,

'हजुर।'

''घाम टाउकामाथी आईसक्यो तै पनि यो केटी उठेकी छैन ए।''  फोनैबाट देखे झैँ गरेर आमा परीलाई ''अल्छि'' भन्दै हकार्नुहुन्छ ।

'ह्याया, अनी तपाईंलाई थाहै छ त म बेलुका अबेर ...' परीको वाक्य पुरा हुन पाउँदैन ।

''ल ल भो, छोरीमान्छे भएर यती अबेलासम्म पनि सुत्छन ? कहिलै नसुध्रने भै' यो केटी '' क्षणिक रिससँगै आमाको दिक्दारीपूर्ण स्वर सुनिन्छ। सधैं सुन्नबानी परेका आमाका शब्दहरुले उसलाई छुँदै छुँदैनन्  ।

'अनी किन एका बिहानै ?' झिँजो मानेर ऊ आमालाई सोध्छे।

'बाउआमा छन् भ्याएँ सम्म घर पुगौँ...लौ भ्याईएन रे  हाताँ फोन छ यसो फोन गरुँ,सञ्चो बिसञ्चो के छ भन्नु छैन अझै उल्टो किन पो छ ए ।''आमाको मन अनी माया पोखिन सुरु हुन्छ साथै थोरै गुनासो र असन्तुष्टीहरु पनि ।

''अस्ती मात्र फोन गरेकी होइन र मैले, अनी के नै हुन्छ र दिनदिनै फोन गरिरहनु पर्ने त्यस्तो '' ऊ आमालाई स्पष्टिकरण दिन्छे आफुलाई वहाँहरुको वास्ता नभएको होइन भन्ने एकिन दिलाउँन।

'लौ लौ मुखले ठीक्क नपार, मामाघरबाट तेरो दाजुले फोन गरेको थियो, बैनीले के विचार गरी भनेर सोध्न, के भनिदिउँ म? तँलाई कुरा पर्नै हुन्न ऊ मलाई गनगन गर्छ कस्तो बिचाँ पारेउ ए तिमेरुले मलाई । ''

' फेरी त्यै कुरा हैन, कती भन्नु पर्छ त मैले तपाईंलाई म बिहे गर्दिन भनेर सधैं एउटै कुराले दिक्क नलऊनु त मलाई... अनी भन्न सक्नुहुन्न दाईलाई मलाई नभन बैनीसँगै  कुरा  गर भनेर । किन बिचाँ पर्नु त साक्दिन म भनेर पन्छिए भै'गोन्त।' एकै सासमा यति भनेर आमाको अरु कुरै नसुनी फोन काटेर मोबाईलाई पुन ओछ्यानकै शरणमा फालिदिन्छे । वर्तमानमा अडिग रहन्छु भन्दा भन्दै पनि बिगतका पानाहरुमा उसको मन बेपत्ता भाग्छ उसलाई त्यही छोडेर ।

हिजोआज जस्तो रुखो बोली पहिले मेरो कहाँ थियो र?  यो मनपनी यस्तो बन्जर र बेरस पहिले थिएन। सबै बिस बाईसेमा हुने उमेरका रहरहरु ममा पनि थिए। मन परेको मान्छेसँग जीवन काट्ने ,भौतिकताको अभाव आईलागे आत्मियताले क्षतिपूर्ती गर्दै सपनाहरु पछ्याउने अनी आफ्नै सानो र सुखी घर संसारको रहर यो मनको कुनाकानी ननाँचेको पनि त होइन। कस्तरी यी सबको कल्पनामा हरेक रात निदाउने म सपना पनि तिनै रहर साँचो भएको देख्थेँ र प्रत्येक बिहान सन्तुष्टीको निद्राबाट उठ्थेँ।

आमाबाकी एक्ली छोरी भनेको पुर्‍याएर राख्नु भएको थियो। परारैको कुरा त हो नि यत्री ठुली छोरीलाई एक्लै काठमाडौँ पठाउनु पर्‍यो बाटाका साथी पनि भेटिएनन भनेर आमाका आँखा भिजेका । तर के गर्नु सबैको मनले आमाबाको मनले झैँ नठानिदिँदो रहेंछ त !  दोष त कसलाई दिनु उही आफ्नै मनलाई त होला नि किनकी मेरा सङ्गिनीले झै मैले आफ्ना रहरहरु उसलाई जिम्मा दिन चाहिन या सकिन। म भित्रको 'म'ले विद्रोह गर्‍यो र भन्यो 'ए तँ किन आफ्ना रहरलाग्दा रहरहरु मार्न अग्रसर भएकी हँ?'  मैले नजवाफ हुनै पर्‍यो त्यसैले त आँफैलाई सोधेँ दोहोर्‍याई दोहोर्‍याई कि आफ्ना खुशीहरुको जिम्मा अर्कोलाई लगाएर साँच्चै म सुखी हुँला या त्यो अर्को साथ बिनानै... आफ्ना रहरहरुका साथमा सुखी रहुँला?  दुईचार दिन तनावमा बिताए त्यसपछी स्पष्ट जवाफ दिएको थियो दिमागले कि 'त्यो अर्को साथ पाएर तँ सुखी हुन सक्दिनस्।'

आमाले समाज र बासँग लुकाएको आँसु देखेकी छु। त्यस्तै काकी र ठुलीआमाको पनि । अन्तरमनमा अनन्त चोटहरु सहेरै वहाँहरुले आफ्नो सारा जीवन काट्नु भयो झुठो हाँसोमा र अझै काट्दै हुनुहुन्छ। घरको तगारो नाँघ्न  नपाउनु भएका वहाँहरुको त्यो जीवन एक हिसाबले निर्विकल्प पनि थियो होला रे तर मैले त त्यो तघारो उहिल्यै  नाँघिसकेकी छु भने म फेरी किन त्यस्तै जीवन बाँच्न मञ्जुर हुँ? आमा, काकीहरुको कुरै छोडौँ मेरै साथीहरु पनि त सबै आफ्नै लोग्नेको निर्देशनमा चलेका छन्। कुन्नी कसरी रमाएका छन्  खै उनिहरु त्यो बन्धन भित्र। भो, मलाई त सहनु छैन् त्यस्तो बँचाई।  पढाई सकेकै छु,जागीर पनि पुग्दो छ। आज म खुशी छु त्यो साथ बिनानै। म सँग मेरा सपनाहरु छन, रहरहरु छन अनी सबै भन्दा ठुलो स्वतन्त्र बँचाइ छ । अहिलेलाई यत्ती काफी छ भोली त कस्ले देखेको छ र?! यसै पनि जीवनका हरेक मोडहरुमा आईपुग्दा मान्छे अघिल्लो मोड बारे त सधैं अनबिज्ञ नै त रहन्छ नि। आSSS.. जे त होला...! भविष्यप्रति  निश्चिन्त हुन खोज्दा खोज्दै ऊ पुन: असफल हुन्छे र फेरी अल्लारिन पुग्छे विगत र भविष्य बिच... कतै ।

 एउटालाई रहरले  गरेको विश्वास यती गह्रौँ भयो कि अब मैले कुनैपनी अर्को 'ऊ'लाई विश्वास गर्न सक्दिन । सबै 'ऊ'हरुको नियत किन एकै जस्तो मात्र लाग्छ,उही 'नपाउँन्जेली कस्तो पाएपछी सस्तो' भन्या जस्तो । ऊसँग जीवन काट्छु भन्नुको अर्थ मैले मेरा सपनाहरुको त्याग गर्नु या आफुलाई सम्पूर्ण मेटाएर ऊ मा समाहित हुनुपर्ने भन्ने पनि त होइन । सहयात्री पो रोजेकी थिएँ तर ऊ कस्तरी मालिक बन्न खोजेको मेरो जीवनको । छि: घिनलाग्छ मलाई यस्ता बिशेषता पाल्नेहरुसँग, जो आफ्नो भन्दा अर्काको अस्तित्व स्वीकार गर्न सक्दैनन्। सबैले मानेको र धेरैलाई आकर्षित गर्ने विपरित लिङ्गीसँगको सामिप्यताको मोह त्यसै दिन देखी भङ्ग भयो ममा  जुन दिन मैले उसको सामुन्ने आफ्नो स्वतन्त्र अस्तित्वको घोषणा गरेकी थिएँ।

बिनासित्तिमा विगततिर मन डुलेको कत्तीपनी मन पर्दैन परीलाई। तर सोच्न नचाहँदैमा सोचाईका सिलसिलाहरु बन्द हुने पनि त होइनन् नि । सोचाई र विगतको डुलाईबाट मुक्त्ती पाउने आशा लिएर परी अल्छि गर्दै उठ्छे कफिको लागि पानी तताउन थाल्छे। यस्पाली मन उडेर आमाबा भएतिर बरालिन्न पुग्छ। छोरीको बिहे गर्ने रहर दिनरात हुर्काईरहेका आमाबाको खुब नियास्रो लाग्छ उसलाई । मनै मन पिरिन्छे ऊ, यही सोचेर कि कसरी बुझाउँ वहाँहरुलाई यी सब कि अब वहाँहरुकी छोरी 'यो' 'ऊ' मात्र होइन कुनै पनि पराई अस्तित्व आफ्नो जीवनमा स्विकार्न राजी छैन भनेर। दिनरात राम्रो कुलघरानाको खोजिमा लाग्नु भएको छ वहाँहरु...कुन रुपले लिनुहोला मेरो यो निर्णयलाई? खै म आफ्ना कुराहरु बुझाउन सकुँली या नसकुँली ? तर जे त होस्  अब मैले यो कुरा वहाँहरुलाई भन्नै पर्छ अनी झेल्नै पर्छ वहाँहरुको प्रतिकृया पनि चाहे जस्तोसुकै किन नआओस्।

परी सकेसम्म चाडै  घरजाने योजना बुन्न ब्यस्त हुन्छे मनमनै । उम्लेको पानीमा कफी हालेर झ्यालको पर्दा खोल्छे, खुलेको दिनमा तन्नेरी घाम झल्मलाई रहेको हुन्छ। आफ्नै भोलीका सुनौला र स्वतन्त्र दिनको झझल्को देख्छे ऊ  ती घामका किरणहरुमा र आँफैमा हाँस्छे एक सन्तुष्ट हाँसो ।