तिमी

दिनदिनैको भीडभाड र भागदौडले 
फोटोः आफ्नै
खै कुन्नी कुन संसारमा हराएकी म, 
मलाई मेरो महत्व बुझाउँन, 
रुखो मन फुकाउँन 
मेरो आश र सास बनि आयौ तिमी। 

न कसैसँग केही आश थियो, 
न कोहीसँग केही गुनासो, 
जिन्दगी चल्नु थियो…चलेकै थियो। 
मेरो एक्लोपनको साथी हुन, 
बिरक्तिएको मन सजाउँन, 
आफू हुनुको अस्तित्व हराउँदै गएकी मलाई, 
मेरै अस्तित्व बोध गराउँन अनि ममत्व बुझाउँन 
मेरो बाँच्ने आँट साहस र धैर्य बनेर आयौ तिमी। 

अब फरक पर्दैन मलाई 
अब केही फरक पर्दैन मलाई 
कोही मलाई सोधोस् नसोधोस् 
कोही मलाई खोजोस् नखोजोस् 
कसैले मलाई बोलाओस् नबोलाओस्। 
म आफ्नै संसारमा भरिएकी छु 
म  साह्रै स्वार्थी भएकी छु। 
मैले मेरै खुसी खोजेँ 
संसारलाई छोडेर तिमीलाई रोजेँ। 
तिमी छौ संसार छ अरु मलाई को पो किन चाहियो र ? 

रातभरी ननिँदाए पनि अब आँखाहरू गुनासो गर्दैनन् 
दिनभरी थाकेको शरिर पनि आराम खोज्दैन् 
जब जब तिमी सामीप आउँछौ 
स-साना हातले यी अनुहार छुन्छौ 
मुस्स मुस्कुराउँछौ 
र तोते बोलीले बोलाउँछौ। 
हो म अब संसारका सबै सुखहरु भुलेर तिमीमै हराईदिन सक्छु। 
सधैँलाई सबैलाई बिर्सेर तिमीलाई अँगाल्न सक्छु। 

आमा भएर आफूमात्रै बाँचेर भो र ? 
तिमीलाई यौटा संसार दिनु छ 
भोली तिमी हिँड्ने गोरेटाहरु मिहिन पार्नुछ। 
जति उदास हुनुथ्यो भईसके 
जति एक्लिनु थियो एक्लिएँ 
तिमीसँगै नयाँ संसारको सिर्जना गर्नुछ।
तिमी र म भएर संसार जित्नु छ।

आमा

आमा, तिमी भन्दा पर मैले देखेको छैन तिमीभन्दा अरु मैले महशुस गरेको पनि छैन्। तिमी भित्रको संसार मेरो यो बाहिरी दुनियाँ पनि तिमीमै सिमीत छ।
दिनहरु लामा लामा लागेका होलान् रातले झनै तर्साएको बेला कचमचिएको निद्रा, गाडिएका आँखा उपेक्षाहरु र एक्लोपनले निलेको बेला मलाई हेर है, म तिमीसँगै थिएँ र छु। आमा, दुनियाँले तिम्रो उपस्थिति स्वीकार नगर्दा ऐनामा आफूले आफैँलाई नदेख्दा तिमीलाई तिम्रो अस्तित्व संकटले घेर्दो हो तर, मैले तिमीमा मेरो संसार देखेको छु। तिम्रो स्पर्शले र तिम्रो उपस्थितिले म ‘म’ भएको छु। तिम्रै त्यो अनुहार हो जुन मैले यो भीडमा एक मात्र चिनेको छु। तिमीलाई मेरो संसार ठानेको छु। आमा, यी दिनहरु बितेर जानेछन्, तिमी र म रातभरी निदाउँने दिनपनि आउँनेछ। तर ऐले म बेला बेलामा झस्कन्छु तर्सन्छु र रुन्छु तिमीले काखमा लिँदा सुरक्षित ठान्छु मलाई एक्लै नछोड्नु है। ऐले म तिमी र तिमी वरपर नै रहन्छु ल म सधैँ यस्तै सानो पनि रहन्न सधैँ म तिमीलाई सताउने पनि छैन।

मेरी जून

 

फुङ्ग उढेको कपाल

चाहुरिएका भोगाईहरू

फोटोमा आमा
निरस अनुहार बोकेर

टोलाईरहन्छिन
मेरी
जून अचेल

 

अस्ताएको मेरो बुढो सूर्यसँगै

मेरी जून अचेल मलिन भएकी छिन।

धमिल निरिह भाव

अघि पछि टिमटिमाउँने ताराहरू हेर्छिन्

मन बुझाउँन खोज्छिन

तर कैले सम्म ?

जिन्दगी जिउँदै जादाँ

अनेक भोग्न पर्ने, सहनु पर्ने महशुस गर्नै पर्ने

नियती बिरूध्द लड्ने हिम्मत गर्दिनन्

चुपचाप घुम्छिन् समयको चर्खामा।

 

पुनः नउदाउने सर्तमा

उनको संसारको घाम अस्ताइसकेको ,

पनि हरेक बिहान आफूलाई सम्हाल्छिन

सोच्छिन एकदिन पनि अस्ताउँनेछु छु उनी जस्तै

 

हरेक दिन रातहरू एकनास

के सोच्छिन कुन्नी

बोलाउँदा झस्किन्छिन निरस अनुहार

मेरी जून अचेल टोलाईरहन्छिन्