झरी कफी किताब अनि ऊ

फोटः गुगल

          





मलाई झरी मन पर्छ । मलाई झरीमा कफी विषेश मन पर्छ । अनि झरी परेको बेला कफीका साथमा किताब पढ्न मलाई सबैभन्दा बढी मन पर्छ । कसैले झरी कफी किताब अनि ऊ मा कुन पहिलो रोजाई कुन दोस्रो अनि कुन तेस्रो भनी सोधे मेरो जवाफ हुनेछ सबै चारवटै मेरो पहिलो रोजाई हो । एउटा मात्र पहिलो हुनुपर्छ भन्ने पनि हुन्छ र ? पानी पर्नु र झरी पर्नु नितान्त बेग्ला बेग्लै अनुभव हुन् मेरो लागि । आज बिहानै देखी झरी परिरहेको छ । त्यसैले अफिसका सारा कामहरू थाती राखेर म झरी कफीमा अल्झी रहेकी छु । मलाई अल्झाउने किताब र उनका यादहरू बाहेक अरू के पो छ र ! यिनै त हुन् मेरा मनका तमाम प्रेमिल अनुभव र अनुभूतिहरूका स्रोत ।
 
झरी सँग कफी र किताब जोडिए जस्तै सँगै जोडिएर आउने ‘ऊ’ पछि मात्र मेरा हरेक झरीहरू पूर्ण हुन्छन् ।  झरीमा मलाई कफी र किताबका अलावा उसका यादहरूलाई झरीमा रुझाएर एक पटक पुनः ताजा गराउँन मन लाग्छ र हराइदिन मन लाग्छ पाटनका ती आवारा गल्लीहरूमा निर्धक्क र निस्फिक्र भई फेरी एकपटक उसका हातमा आफ्नो हात राखेर ।

बाहिर पानी परिरहेको छ । छेवैँमा भर्खरै पढेर सकेको नेपाली उपन्यास छ ‘चीरहरण’ । उपन्यास पढी सकेको कयौँ दिन बितिसक्दा पनि त्यसको प्रभाव कम भएको छैन् । हाम्रो समाजमा आज पनि छोरीमान्छेहरूको भोगाई कुनै न कुनै रुपमा द्रौपदी, कुन्ती, वा अम्बा अम्बालिकाहरूको भन्द फरक हुन किन सकेको छैन ? यही कुराले दिमाग पिरोलिरहेको छ । र, सँगै छ उही महाभारतसँग जोडिएकी मदनमणिकी ‘माधवी’ जसको जिवन कहानी पढ्दा बिगतमा म पटक पटक विचल्लित भएकी थिएँ । झ्यालमा राखेको कफीबाट उडेको बाफ सिसामा जमेको छ । औँलाले उनको नाम लेखिदिन्छु नाम आफै मुस्कुराउँछ मलाई हेरेर । ‘चीरहरण’बाट उम्कने प्रयासमा झरीको साथ निकै फप्ला जस्तो छ यो मन मस्तिष्कलाई ।  गमलामा भर्खरै फुलेको रातो गुलाफ झ्यालबाट तन्केर झरी हेर्ने प्रयासमा छ । झ्याल खोलेर हत्केला थाप्छु चिसो पानीले छुँदाको मादकता महशुस हुन्छ । हत्केलामा जम्मा भएका पानीका थोपाहरू गुलाफको थुँगामा हालिदिन्छु र सुस्तरी स्पर्श गर्छु । कति कोमल छन् यी फूलका पत्तीहरू ठीक मेरा मनमा उसका लागि उम्रने भावुकताहरू जस्तै । 

झरी परेपछि जब कफी र किताब भेटिन्छन् उसको अनुपस्थिती खड्कन्छ । झरी जतिकै प्रिय छ ऊ मलाई अनि यो कफी र किताब जतिकै प्रिय छ मलाई ऊ । अचेल मेरा हातमा कफीको कप रित्तिने बितिक्कै पुन भरेर थमाउने ऊ मेरो साथ छैन् । अनि पढ्दा पढ्दैको किताब खोसेर मलाई सताउने बद्मास ऊ मभन्दा धेरै टाढा छ । वर्षौ अघिको यस्तै झरीको दिन ऊ सँग मेरो भेट भएको थियो । तिनताका  झरी कफी र किताब नै मेरो दुनिँया थियो । ऊ सँगको दोस्रो भेट पाटनका गल्लीहरूमा भयो र संयोग कस्तो भने त्यो दिन पनि झरी नै परेको थियो । यसरी झरीसँग कफी र किताब पछि ऊ जोडिन आईपुगेको थियो । उसलाई मेरो झरी कफी र पुस्तक प्रेमले हैरान पार्थ्यो । पछि ऊ आफैँ मेरा प्रियहरू झरी, कफी र किताब सँगै गाँसियो अटुट बनेर। हो, अचेल हरेक झरी उसको अनुपस्थितीले खल्लो महशुस हुन्छ कफी र किताबले पनि नभरिने खालीपन भेट्छु आफैँ भित्र । यस्तो लाग्छ आजको झरी स्यमं पनि मलाई कफी र किताबको साथमा मात्र देखेर उदास छ ।  

अब त धैरे वर्ष भयो झरी परेको दिनको मेरो दैनिकीमा उनको उपस्थिती नभएको पनि । त्यसैले अचेल झरीमा कफी  किताब र उनको याद छ । हरेक झरीसँग यौटै कामना गर्छु कि आगामी झरी उनको साथमा बिताउन सकुँ । पाटनका तमाम ती आवारा गल्लीहरूमा उनका हातमा हात बाँधेर निस्फिक्र डुलौँ र ठाउँ ठाउँमा ओत लागेर सँगै कफी खाऔँ । कसो नफर्केलान त दिनहरू !




फिरफिरेले घुमाएको मन

फोटोः आफ्नै ;)
पोहोरै बजारमा आइसक्ने हल्ला भएपनि फिरफिरे वि.सं. २०७२ सालको नयाँ सालमा त पक्कै आउँछ भन्ने कुरो सुनिएको थियो । तर कुन्नि किन हो नयाँ सालमा फिरफिरे घुमेन । लेखक र प्रकाशकले सस्तो हल्ला मात्र फैल्याएर किताबलाई बजारमा आउनु अघि नै “हिट” बनाए भन्ने चर्चापरिचर्चा पनि सुनिँएकै हो । ‘कर्णाली ब्लुज’को ह्याँङओभर पाँच वर्षसम्म पनि उतार्न नसकेका पाठकहरूले पनि सधैँ फिरफिरे पढ्न आस मात्र देखाएको तर नपाईएको भनेर लेखकसँग गुनासो नगरेका कहाँ हुन् र ? अन्त्यमा आईपुग्दा फिरफिरे नाकाबन्दीमा परेको खबर आईपुग्यो । लेखकका दृश्य अदृश्य पाठकहरू भारत र तराईमा आन्दोलनरत दालहरूलाई सराप्दै फिरफिरे कुरिरहे । अन्ततः लामो धैर्य पछि काठमाडौँ लगायतका देशका मुख्य मुख्य शहरमा शनिबार देखि फिरफिरे घुमेरै छोड्यो । शनिबार सयौं पाठकको माझमा फिरफिरेको घुम्टो उघारिए पछि नेपाली साहित्यका पाठकको यौटा पर्खाईको अन्त्य भयो । आइतबार हुँदा कतिले फिरफिरे रातारात पढिसकेको कुरा फेसबुक, ट्वीटरमा पोख्न भ्याईसकेका थिए भने धैरेले पढ्न थालेको जानकारी दिन भ्याए ।

आइतबारै हात परेको फिरफिरे मैले पनि आइतबार साँझ देखि नै पढ्न सुरू गरे तर सोमबार बेलुका मात्रै पढेर सकेँ । फिरफिरे सकेर सुतेकी मलाई फिरफिरेका पात्रहरूले निदाउन दिँदै दिएनन् । साहित्यका कुनै बिधाका किताब पढेर त्यसको समिक्षा लेख्नु समालोचकहरूको काम हो पाठकको हैन । तर अचेल भर्खरै नेपाली साहित्यमा उत्तरआधुनिकता भन्दै पाठकको पनि आफ्नै समालोचना हुने चर्चापरिचर्चा चलेको छ । पाठकले आफुले कृति पढेपछि अनुभव गर्ने पाठकीय अनुभूतिलाई पाठकीय समालोचना भन्न सकिएला । यहाँ समालोचनाको कुरा किन उठाएकी भन्दा अचेल फेरी यसो कुनै किताबको बारेमा केही लेख्यो भने समालोचकको ‘ट्याग’ सजिलोसँग लाइदिन्छन् । यो फिरफिरेको समालोचकीय हेराई हुँदै होईन् । समालोचनाको सैद्धान्तिक कसौटीमा राखेर फिरफिरेलाई विद्वान समालोचकहरूले विभिन्न चस्माले विभिन्न दृष्टिकोणले पारख गर्नुहोला । यो लेखाइ फिरफिरे पढिसकेपछि त्यसका पात्रहरूले बिथिलेको निद्राको परिणाम र मेरो आफ्नो अनुभूतिहरू मात्रै हो । फिरफिरे पढे पछिका अनुभूतिहरूलाई शब्दमा बाँध्न खोज्नु मेरो असफल प्रयास मात्र हो । किनकी अनुभूतिलाई शब्दमा व्यक्त गर्न सकिँदैन् । यो त महशुस मात्र हुन्छ र महशुस गर्नका लागि फिरफिरे पढ्नै पर्ने हुन्छ । फिरफिरे पढिसके पछि पनि तपाइँले मैले जस्तै अनुभूति गर्नु हुन्छ यो पनि सम्भव छैन किनकी अनुभूति नितान्त वैयक्तिक हुन्छन् ।

फिरफिरे पढिसके पछि यसरी म भावुकताबाट उम्किनै नसक्ने गरी डुब्छु भन्ने सोचेकी थिईन । किताब पढ्दा, सिनेमा हेर्दा त्यसका पात्रहरूका भाव सजिलै ममा साधारणीकरण भएर सर्छन् । पात्रहरू सँगै म हाँस्छु र धर्धर्ती रोईदिन्छु । हाँस्नु र रुनु त स्वभाविक भै गए, अस्वभाविकता त्यो हो कि पढिएका वा पर्दामा हेरिएका पात्र र घटनाहरूको ह्याङओभरले सुस्त र एकहोरो बन्नु । अहिले म त्यै महशुस गर्दै छु । वसन्त(बन्ते), पवन, रमा, मास्टर(पवन\रमाको बाबु), पिच्कु माझी, कल्लुराम, जूठीआमै, जसोदा, अपरेटर बसिर, भुलकाका जस्ता पात्रहरूले मनमस्तिष्क खल्बल्याई रहेका छन् । त्यही खलबल्याई शान्त पार्न लेख्दैछु ।

बाल्यकालीन साथीहरू, उमेर बढ्दै जाँदा जस्तै मिल्ने साथीमाझ पनि देखापर्ने अलिकति ईर्ष्या, प्रतिस्पर्धा, इख र झगडा अनि ती सबै भन्दा माथी रहेको आत्मियता बन्ते र पवनका सेरोफेरोमा पाईन्छ । फिरफिरे भरी पाठकका आँखामा पर्ने एउटा मात्र भिलेन र सबै दुखान्तकको एउटै कारण जीवाराम मात्र हो । जीवारामलाई सम्झने बितिक्कै कहिँ छ त्यो मान्छेको अस्तित्व भने गालामा दुई थप्पड लाएर मुखभरी थुकिदिन्थे भन्ने रिस उम्लेर आउँछ । जीवारामलाई सहयोग गर्ने वा लहैलहैमा लाग्ने झक्कुराम, घुइयाराम, ढोङ्गी झाँक्री कोहिनूरलाई पनि कसले पो रुचाउँला र ?

जीवारामको हैकमले सधैँ शिर झुकाएर बाँच्ने सर्वजित मास्टर प्रति दया गर्ने कि हुतिहारा भन्ने भनेर म दोधारमा परेँ । जीवारामको कृपाले जागिर पाएर हेडमास्टर सम्म बनेको सर्वजितले सुनिताको मृत्यु पछि पनि छोरी रमा र पवनको रेखदेखको जिम्मा त लिएका छन् तर जिम्मेवारी राम्ररी पुरा गर्न सकेका छैनन् । यसका साथै पढेलेखेको भइकन पनि बोक्सी, मसान जस्ता कुरामा मौन सहमति जनाउँनुलाई सहज लिन सकिन्न । पवनले आफुले झुठो बोलेको र जूठीआमैलाई बँचाउन गरेको अनुरोध प्रति मास्टर प्रतिकृयाहीन बनेका छन्, भलै उनलाई कालान्तरमा पश्चाताप किन नहोस् । यसका साथै जसोदालाई लुगा चोरेको आरोप लाउँदा होस् या बन्तेलाई पवनका कुरामा लागेर सजाय दिने र पिट्ने गर्दा पनि मास्टर प्रति विरक्तको भाव जाग्छ । मास्टर निरिह छ जीवारामको अघि र त्यो भन्दा निरिह छ समयको अगाडी । जे होस उपन्यास सक्दा मास्टर प्रति ‘बिचरा’ भन्ने भाव उत्पन्न हुन्छ ।  

उपन्यासमा सबैभन्दा बढी सहानुभुति पाउँने पात्र जूठीआमै हुन् । बुढेसकालमा सुखले बाँच्ने आस देखाई भारत पसेका लोग्नेको प्रतिक्षामा बसेकी मायालु, दयालु पात्र हुन उनी । जीवाराम बाहेक सबैकी प्रीय उनलाई जीवाराम र कोहीनूरको षडयन्त्रले सारा गाउँले बोक्सीको आरोप लागाइ अमानवीय व्यवहार गरेर गाउँ निकाला गरिएको छ । पवन र बन्तेकी प्यारी जुठीआमैले जिन्दगी र भोगाई सम्बन्धी अनेक कथा कहानीहरू सुनाउँछिन् । चिया खाँदै आमैका कथा सुनेर बन्ते र पवनको बाल्यकालका केही वर्षहरू कटेका हुन्छन् । जूठीआमै माथि भएको अत्याचार पढ्दै गर्दा आँखा नभिजाउँने पाठक सायदै होलान् । त्यस्तै मरिसकेको भतिजोको चिठी पढ्ने उसैले पाल्ने सपना देख्ने बुढो अपरेटर बसिर, सौतेनी नदीलाई नै जवानी सुम्पेर एक्लै बाँचेको पिच्कुमाझी, समाजका ठालू बिरुद्ध बोल्दा कुटिएको कल्लुराम, छोरा कुरेर बसेका भुलकाका जस्ता पात्रहरूलाई समयले फिरफिरे बनाएर जसरी मन लाग्छ त्यसरी घुमाएको देख्दा नियति वा समय प्रति नै दिक्क लागेर आउँछ । उपन्यासकी सानी रमा सबैभन्दा माया लाग्दी पात्र हुन् । आमा गुमाए पनि दाजु पवनको अति स्नेह  पाएकी उनले दाजुले पनि स्मृति गुमाएपछि साँच्चै टुहुरी भएकी अनुभव गरेकी छे । आजका हरेक मान्छेले चाहेको जिन्दगी कुनै अर्को छ तर समयले सबैलाई फिरफिरे बनाएर नँचाइ रहेछ आफ्नै लय र तालमा । हावा विपरित फिरफिरे नघुमे झैँ वर्तमान समय वा जिन्दगीका यावत समस्या विपरित मान्छे चाहेर पनि जान नसक्ने यथार्थता बोक्छन् उपन्यासका यी जाती पात्रहरू । प्रेम, स्नेह, सदभाव यीनमा जतिपनि पाइन्छ तर यीनै नियतिका सिकार भएका छन् । 

उपन्यासमा पवन र वसन्तका बाल्यकाल देखि किशोरावस्था सम्मका घटनाक्रमहरू समेटिएको छ । बाल्यकालका रमाइला घटनाका साथै केही नरमाइला घटनहरू पनि आएका छन् । पवन र बन्तेको दोस्ती पटक पटक तोडिएको छ र फेरी फेरी मिल्ती भएको पनि छ । इन्सेफलाइटिसका कारण आफ्ना पूर्व स्मृतिहरू गुमाएको पवनप्रति वसन्तले देखाएको आत्मियता उल्लेख्य लाग्छ । यतिबेला ऊ एक सच्चा मित्र बन्छ। बिगतका नराम्रा स्मृतिहरू ऊ पवनलाई सम्झाउने कोशिस गर्दैन् । बरु बढाई चढाई राम्रा पक्षहरू मात्र सुनाउँछ । पवनले आफ्ना सम्पूर्ण यादहरू गुमाएपछि पाठकका मनमा छटपटी सुरु हुन्छ । अझ अचानक अम्बरपुरमा पवन हराएपछि वसन्तप्रति पर्ने दबाद र सङ्कटको अड्को काटेर पाठक छट्पटिँदै उपन्यासको अन्त्य थाहा पाउन हतारिन्छ । साथै पवन स्मृति सहित भेटिए हुन्थ्यो भन्ने कामना पनि गर्न थाल्छ । तर रमा र मास्टरले बाँसबारी छोडेपछि पाठक निराश हुन्छ ।

फिरफिरे जिन्दगीका अँध्यारा पाटाहरूलाई रोजिएर लेखिएको उपन्यास हो । जीवनका उज्याला पक्षहरू झिल्काझिल्की मात्र यसमा देखा पर्छन् । लेखकको कवितात्मक र सरल भाषा पाएर कथा खुरुखुरु अघि बढ्छ । उपन्यास पढिसक्दा मन खुसी होईन पीडित हुन्छ । तर पीडाले पनि आनन्द दिन्छ र भावहरूको उद्वेलनलाई शान्त पार्छ भन्ने बिरेचन सिद्धान्तका अनुसार कर्णाली ब्लुजले झैँ यसले पनि पाठकलाई निराश बनाउँदैन् । किताब एक बसाइमा पढ्न कठिन छ । मुल आख्यानसँग जोडिएका धेरै उपाख्याहरू यसमा छन् । जसमध्ये केही उपाख्यानहरू हटाइए पनि मुल कथा र मर्मलाई अन्तर नपार्ने देखिन्छ । वर्णनात्मक शैलीलाई सूक्ष्म किसिमले अपनाइएकाले हुन सक्छ कतिपय अवस्थामा एउटै कुरा वा आशय व्यक्त गर्न धेरै शब्दहरू खर्च गरेको भान हुन्छ ।

अन्त्यमा शैली लेखकको निजत्व हो । कर्णाली ब्लुजको लेखन शैलीलाई फिरफिरेले स्थापित गर्ने कुरामा म ढुक्कै भएँ । फिरफिरेले कर्णाली ब्लुजले देखाएको आधुनिक नेपाली आख्यानमा बुद्धिसागरीय शैली स्थापित गरिदियो ।


मिस्टिकाको सेरोफेरो

मिस्टर नगरकोटीको पहिलो उपन्यास मिस्टिकाको बारेमा केही भन्न मन लाग्यो । हत्पती म किताबका बारेमा बोल्ने मान्छे त होइन । तर, मिस्टिकालाई प्राप्त भएका (मैले सुनेका) केही कमेन्टका कारण आफ्ना कुराहरू लेख्न मन लागेर लेख्दै छु । ब्यक्तिगत हिसाबले भन्दा म मिस्टर नगरकोटीका म्याड फिक्सनको पक्काको फ्यान हुँ । फ्यान पनि ऐरेगैरे नत्थु फ्यान हैन । नगरकोटीकै शब्द सापटी लिएर भन्दा बजारमा पाइने बजाज या फिलिप्सको फ्यान भन्दा निकै गतिलो फ्यान । ;) उनका शब्द चयन, वाक्य गठन र जटिल प्रसङ्गलाई पनि सजिलै सँग व्यक्त गर्ने सक्ने खुबीको म प्रशंसक हुँ । मलाई उनको लेखन शैली अनुकरणीय लाग्छ ।

मिस्टिका पढ्नु अघि नै फेसबुक र ट्वीटरको कृपाले केही थान “झूर” भन्ने प्रतिकृया पाएकी थिएँ । किताबको मोल बढी भयो त आफैले भनेकी हुँ । तर मिस्टिकाको सिँगारपटार देख्दा मोलसँग चित्त दुखाई पनि बाँकी रहेन । फेरी हामी किताबका मोल लेखिएको जति त कहिले पो तिर्छौ र होईन ? भन्न खोजेको के भने किताब किन्दा पत्याउन नसकिने वा अनुमान नै गर्न नसकिने छुट पाईन्छ किताब पसल र अवरस हेरेर  । मिस्टिका आफ्नो रुपैले धेरैलाई भुतुक्क पार्न सक्छे । कालो पृष्ठभूमिमा टल्किएका एक जोर पहेँला आँखाहरूमा अरु थुप्रैजोर आँखाहरू तान्न सक्ने क्षमता छ । बाह्य सुन्दरता मात्रै हेर्नेले पनि खल्तीले साथ दिने हो भने मिस्टिका लान खोज्नु नौलो देखिन्न ।

मिस्टिकाका आन्तरिक कुरा । मिस्टिकामा जम्मा पाँच मुख्य शिर्षक रहेका छन् । ती पाँच मुख्य शिर्षक भित्र तेइस उप शिर्षक आएका छन् । यी सबै उप शिर्षकहरू आफैमा छुट्टै आख्यान जस्ता लाग्छन् । तर पनि आन्तरिक रुपमा वा अप्रत्यक्ष रुपमा मसिनो गरी यी आख्यानहरू एक अर्कोसँग आपसमा जेलिएका छन् । आपसमा जेलिएका घटनाहरू, जेलिएका र रहस्यमयी पात्र र तिनका रहस्यमयी कार्य, विचार अनि सोही अनुरूपको वातावरणले उपन्यस भन्ने बितिक्कै यौटै मुल कथानकमा अघि बढ्न बानी परेका पाठकलाई अल्मल्याई दिन सक्छ ।  तर यो अलमल नगरकोटीलाई पहिलो पटक पढ्दै गरेका पाठकको मात्र हुनेछ भन्ने मेरो ठम्याई । किनकी नगरकोटीका यस अघिका मोक्षान्तः काठमाडौँ फिभर, फोसिल र अक्षरगञ्जका स्वाद चाखिसकेका पाठकले भने मिस्टिकाको जटिलतालाई पनि सहजै लिन सक्लान् कि !

उपन्यासका पात्रहरू अतिमानविय स्वभावका छन् । हामीले पुराण र लोककथामा सुन्दै आए जस्तै नगरकोटीका पात्रहरू पनि आफुलाई मन लागेका ठाउँमा तुरुन्तै टुप्लुकिन आईपुग्छन त उतिखेरै अन्तर्ध्यान पनि भइहाल्छन् । यी पात्रहरू सबै हेर्दा स्वतन्त्र र मनमौजी जस्ता लाग्छन् तर यी सबै एक आपसमा जेलिएका छन् । उदाहरणका लागि उपन्यासकी शिर्ष पात्र मिस्टिका उपन्यासको २०० पेजमा मात्र देखा पर्छे तर अप्रत्यक्ष रुपमा ऊ पेज ३७ मै रहस्यमयी पात्रको रुपमा देखा परिसकेकी हुन्छे । उक्त रहस्यमयी पात्र र मिस्टिका एकै हो भनेर ठम्याउँन कठिन त छैन तर सहज पनि छैन ।

उपन्यासको कथानकको कम्रभङ्ग गर्नू/हुनु नगरकोटीय लेखनीको शैली जस्तो लाग्छ । भिन्न भिन्न शिर्षकमा रहेका कथानकलाई बेग्ला बेग्लै या अगाडी पछाडी पारेर पढे पनि त्यसले उपन्यासमा खास अन्तर पार्दैन् । जस्तैः उपन्यासको दोस्रो मूल शिर्षक “ब्लु बोइज्” संस्मणात्मक लेखाइलाई पहिले पढे पनि या अन्त्यमा पढे वा पढ्दै नपढे पनि उपन्यसको कथावस्तुलाई त्यसले खास असर गर्दैन ।

 उपन्यास भरी नगरकोटीका उड्न्ते कल्पना, डुलन्ते कल्पना र स्वप्न कल्पनाहरू भरिएको छ । जसलाई जादूमय (म्याजिकल राइटिङ) लेखाइ भन्न सकिन्छ । उपन्यासमा जीवनका अँध्यारा पाटाहरू जस्तैः मृत्यु, चिहान, हत्या, आत्महत्या, भग्नावशेष जस्ता पक्षलाई जोड दिईएको छ । यसका साथै यौन, प्रजनन, किशोर मनका यौन प्रतिको उत्सुकता र खुल्दुलीहरूलाई पनि उपन्यासले समेटेको छ ।

उपन्यासमा एउटा कथानक सुरू हुन्छ त्यो बीचैमा छुट्छ र फेरी अरु अरू कथाकनहरु सुरू हुँदै जान्छ । बीचमा कतै पुगेर फेरी पहिले छोडिएको कथानकको कम्र नितान्त बेग्लै परिवेश र पात्रसँग जोडिएर नयाँ रुपमा देखापर्छ । उपन्यासमा कुनै प्रसङ्ग एक ठाउँमा छुस्स आउँछ फेरी कयौं पाना पल्टाईसक्दा उक्त प्रसङ्गको अत्तोपत्तो देखिदैँन । पछि अन्य कथानकसँगै मिसिएर पहिलेको जिज्ञासाको अन्य हुने गरी कथानकको रहस्य खुल्छ । उदाहरणका लागि मिस्टिकाले आफूले असाध्यै मन पराएको उपन्यासको उपन्यासकारले दोस्रो उपन्यासको तयारी गर्न लागेको सुइँको पाएपछि दिनरात उसको पिछा गरेर हत्या गर्ने योजना बनाउँछे ।

उसले हत्याका विभिन्न कायदाहरूको लेखाजोखा गरेर अन्त्यमा मोटरले हानेर मार्ने निष्कर्ष निकाल्छे र लेखाको पिछा गर्छे । डिभिडी पसल, बुकस्टोर, आर्टग्यालरीमा लेखक पछ्याउँदै हिँडेकी मिस्टिकाको एउटा क्याफे बाहिर लेखकको प्रतिक्षा गर्दागर्दै जादूमयी रुपमा केही वर्ष बित्छन् । लेखक केही वर्षपछि क्याफे बाहिर देखापर्छ र मिस्टिकाको मोटरमा बसेर उनीहरु कतै अज्ञाततिर लाग्छन्  (पृष्ठ ८३) । मिस्टिकाले मार्न चाहेको प्रिय उपन्यासको उपन्यासकार आफ्नै मोटरमा आएर बसेपछि अब के गर्ली त भन्ने पाठकीय जिज्ञासालाई जिल्याउँदै उपन्यासको कथानक अर्को कतातिर मोडिन्छ । र, एकै पटक पेज नम्बर २८९ मा पुगेर अर्कै शिर्षक र उप शिर्षकमा जोडिन आईपुग्छ । जहाँ उपन्यासकार आफ्नो दोस्रो उपन्यासको पाण्डुलिपी र मिस्टिकाको साथमा चिहानघारीमा फेला पर्छ । उपन्यासकार मिस्टिका सामु दुइवटा विकल्पहरू पेश गर्छ । जस्तो की ‘कि  चिहानमाथि सेक्स या हत्या ?’ मिस्टिका कुनै निर्णयमा नपुग्दै उपन्यास फेरी अर्कै तिर भाग्छ । मिस्टिकाले उपन्यासकारले दिएको दुइ विकल्प मध्ये कुन छानी भनेर पाठक जान्न व्यकुल नै रहन्छ । तर पाठकले त्यो रहस्य अकल्पनीय रुपमा पेज ३६८ मा  खुलेको भेट्छ जब असनमा पार्सल कुरिरहेकी सिमसाराको हातमा पार्सलका रुपमा लेखकको टाउको आईपुग्छ । यस्तै रहस्यहरू बीचबीचमा खोल्दै र रहस्यको सिर्जना गर्दै मिस्टिका अघि बढेको छ । 

यसका साथै उपन्यासमा स्वैरकल्पनिक वा यथार्थमा घट्न नसक्ने घटनाहरूको श्रृखला नै पाइन्छ । जस्तैः बकाइनाको फल खाएर महिलामा रुपान्तरित भई गर्भवति भएको कारपेन्टरले छोरा ‘कार पेन्टर’लाई जन्म दिएर पुनः त्यही बनाइनाको फल खाएर पहिलेकै पुरुष स्वरुपमा आउँनु, छोरा कार पेन्टरको जन्मलाई लिएर गाउँलेहरूले चलाएका खासखुसहरू, मिस्टर नगरकोटीलाई स्वयं भविष्यको बुढो नगरकोटीले बारम्बार फोन गर्नू र अन्त्यमा भेट्नु, नगरकोटी अनुप बरालको दिमागमा प्रबेश गरी यावत छलफन गर्नु, मिस्टिका मन परेको लेखकको हत्या गर्न हिँड्नु जस्ता रमाईला, रोचक र घोचक काल्पनिकताले मिस्टिका भरिएको छ ।
मोक्षान्तः काठमाडौँ फिभर देखि नै देखा परेको नगरकोटीय भाषाशैलीले मिस्टिकामा पनि निरन्तरता पाएको छ । यसमा हिन्दी अङ्ग्रेजीका शब्दहरू मिसिएका मात्र छैनन् । हिन्दी, अङ्ग्रेजीका वाक्य, अनुच्छेद र पुरै पाना समेर रहेका छन् । नेपाली भाषाप्रेमीलाई नगरकोटीको यस किसिमको भाषा प्रयोगले निराश त पक्कै बनाउँछ । तर नगरकोटीको यही भाषाशैलीका फ्यानहरूलाई भने नयाँ खुराक दिन्छ मिस्टिकाले ।

अन्त्यमा, मिस्टिका नगरकोटीका पुराना पाठकका लागि एउटा खुड्किलो हो । नेपाली साहित्यको फ्यान्टासी फिक्सनको एउटा अर्को स्वाद/परिकार हो जसलाई आफू अनुकूल चाख्न र स्वाद दिन सकिन्छ ।  पाठकले नगरकोटी र उनको यौन, मृत्यु तथा जीवन प्रतिको हेराईलाई बुझ्न सक्छन् किनकी नगरकोटी स्वयं दुरुस्त उपन्यासमा पात्र बनेर आएका छन् । पहिलो पटक नगरकोटी पढ्ने यदि कोहि हुनुहुन्छ भने उनीहरूलाई नगरकोटीको भाषा, उडन्ते कल्पना र टुक्रे कथानक शैलीले दिक्क र झुर बनाउँछ ।  किताबमा ज्ञान या अर्ती दिने उदेश्यले एउटा वाक्य पनि आएका छैनन् । तर नगरकोटीको दृष्टीले प्रेम, ज्ञान, योग र मोक्ष जस्ता सम्बन्धी अवधारणा भने पात्रका माध्यमबाट अप्रत्यक्ष रुपमा यदाकता पोखिएको छ ।  पढिन्जेली नगरकोटीका पुराना पाठकलाई अल्छि लाग्ने सम्भावना छैन । नयाँ पाठकको जिम्मा म लिन सक्दिन । धन्यवाद ! ;)