अन्यौल

साथी,
म अज्ञात पथको एक पथिक,
मेरा बाटाहरु नै अघी सर्छन मेरो बाटो छेक्न ।
जती जती म गन्तब्यको नजिक हुन्छु,
मेरा पाईलाहरु समातिन्छन,तानिन्छन
अनी,
म फेरी त्यहीँ आईपुग्छु
जहाँ देखी मैले यात्रा थालेँ ।।

गन्तब्य पुर्‍याउन सहयोग गर्नु साटो
पछाडि बाट खुट्टा तान्छन,
अगाडि बाट तगारो हाल्छन,
मेरो प्रगती नचाहनेहरु ।
मेरो यात्रा बिथोल्नेहरु ।।

त्यसैले,
म बेहाल छु।
म निरिह छु,
विवश र एक्लो छु,
किनकी,
मैले कसैको खुट्टा तानित,
कसैको बाटोमा तगारो हालिन।।

त्यसैले त म भन्छु नि,
यो स्वार्थीहरुको संसार हो,
यहाँ बाटाहरु नै अघी सरेर बाटो छेक्छन,
छेकारो काट्छन,
घेरामा पार्छन,
लछार्छन् पछार्छन्
र अन्तत:
एक दिन मार्दछन पनि ।।

बल्झिने घाऊ दिएर गयौ,

बल्झिने घाऊ दिएर गयौ,
खुशी चै सारा लिएर गयौ ।।

दिएर कालकुट बदलामा,
अमृत प्याला पिएर गयौ ।।

तोडेर नाता यो मन सँग,
त्यो मुटु अन्तै सिएर गयौ ।।

अधमरो जूनी बाँच्दै छु म,
जिन्दगी आफ्नो जिएर गयौ ।।

बल्झिने घाऊ दिएर गयौ,
खुशी चै सारा लिएर गयौ ।।


तिम्रो के छ

तिम्रो के छ?मेरो त चलेकै छ जिन्दगी,
पिपल बोटमा ऐजेरुँ झैँ फलेकै छ जिन्दगी ।

सफलता यहाँ हैन पुग्नु छ शिखर मै,
चढुँ भन्दा उल्टो फेदमै गलेकै छ जिन्दगी ।

झुप्रो पाएँ महल छैन,किन भन्नु होला,
जहाँ पनि एक न एक दिन ढलेकै छ जिन्दगी ।

यो भयो त्यो छैन,तेरो मेरो ब्यर्थ किन?
मुठ्ठी फुकाई मसानघाटमा जलेकै छ जिन्दगी ।

तिम्रो के छ? मेरो त चलेकै छ जिन्दगी,
पिपल बोटमा ऐजेरुँ झैँ फलेकै छ जिन्दगी ।