सम्बोधन तिमीलाई

ओ प्रिय ! 
म तिम्री बन्न नसक्ने भएँ, 
मैले सकिन बली चढाउँन आफ्ना रहरहरुको, 
माया मार्न सकिन ती बुढा आमाबाबुको, 
अनि भुल्न सकिन खेलेको माटो । 
म सक्दिन आफुलाई, 
यो आँगन उजाडेर त्यो आँगनमा फुलाउँन, 
आफु हुनुको अस्तित्व मेटाएर, 
तिमीमा एकाकार हुन । 

ए,मेरो सपनाको राजकुमार ! 
मलाई पटक्कै विश्वास छैन्, 
सिन्दूरले रङ्गीएर बन्ने सम्बन्ध, 
आगो घुमेर खाएको कसम,
पोतेमा बेरेर अल्झाईने नाता,
अनि, नारिभरी उनिने राता चुरा, 
र दुई तन एक मनको कुरामा । 

एकादेशका कथा नसुनाऊ मलाई, 
खै कहाँ छन आज... 
जोगिनी सीता, 
दुष्यन्तले भुल्दा, विरहिणी शकुन्तला, 
र सावित्री-सत्यवान । 
अहिलेका त सुदामा पनि बनिसके धनवान । 

प्रिय ! 
यी सिन्दूर, पोते र चुरा छोडेर, 
शकुन्तला र सीता त्याग्ने परम्परा तोडेर, 
आगोको साक्षता भन्दा पर पुगेर, 
के तिमी मलाई वरण गर्न सक्छौ ? 
जहाँ,मैले आफु हुर्केको माटो, 
हिँड्न सिकेको बाटो भुल्न नपरोस्, 
अनि वनेली हावा बेगर गमलामा फुल्न नपरोस् । 

सक्दैनौ रे... 
त्यसो भए बन्द गर अब, 
सपनीमा आउँन,मेरा रहरका प्वाँख बन्न, 
हरेक झरीमा याद बनि बर्सन, 
भो भो ... 
चाहिन्न मलाई,सिन्दूर र पोतेमा 
अल्झाएर दिईने तिम्रो सम्बन्ध, 
म तिमीलाई स्वतन्त्र प्रेम गर्छु, 
र, आफै पनि स्वतन्त्र बाँच्न चाहन्छु ।। 

1 comment:

  1. बडो आनन्ददायक छ।

    ReplyDelete