मिस्टिकाको सेरोफेरो

मिस्टर नगरकोटीको पहिलो उपन्यास मिस्टिकाको बारेमा केही भन्न मन लाग्यो । हत्पती म किताबका बारेमा बोल्ने मान्छे त होइन । तर, मिस्टिकालाई प्राप्त भएका (मैले सुनेका) केही कमेन्टका कारण आफ्ना कुराहरू लेख्न मन लागेर लेख्दै छु । ब्यक्तिगत हिसाबले भन्दा म मिस्टर नगरकोटीका म्याड फिक्सनको पक्काको फ्यान हुँ । फ्यान पनि ऐरेगैरे नत्थु फ्यान हैन । नगरकोटीकै शब्द सापटी लिएर भन्दा बजारमा पाइने बजाज या फिलिप्सको फ्यान भन्दा निकै गतिलो फ्यान । ;) उनका शब्द चयन, वाक्य गठन र जटिल प्रसङ्गलाई पनि सजिलै सँग व्यक्त गर्ने सक्ने खुबीको म प्रशंसक हुँ । मलाई उनको लेखन शैली अनुकरणीय लाग्छ ।

मिस्टिका पढ्नु अघि नै फेसबुक र ट्वीटरको कृपाले केही थान “झूर” भन्ने प्रतिकृया पाएकी थिएँ । किताबको मोल बढी भयो त आफैले भनेकी हुँ । तर मिस्टिकाको सिँगारपटार देख्दा मोलसँग चित्त दुखाई पनि बाँकी रहेन । फेरी हामी किताबका मोल लेखिएको जति त कहिले पो तिर्छौ र होईन ? भन्न खोजेको के भने किताब किन्दा पत्याउन नसकिने वा अनुमान नै गर्न नसकिने छुट पाईन्छ किताब पसल र अवरस हेरेर  । मिस्टिका आफ्नो रुपैले धेरैलाई भुतुक्क पार्न सक्छे । कालो पृष्ठभूमिमा टल्किएका एक जोर पहेँला आँखाहरूमा अरु थुप्रैजोर आँखाहरू तान्न सक्ने क्षमता छ । बाह्य सुन्दरता मात्रै हेर्नेले पनि खल्तीले साथ दिने हो भने मिस्टिका लान खोज्नु नौलो देखिन्न ।

मिस्टिकाका आन्तरिक कुरा । मिस्टिकामा जम्मा पाँच मुख्य शिर्षक रहेका छन् । ती पाँच मुख्य शिर्षक भित्र तेइस उप शिर्षक आएका छन् । यी सबै उप शिर्षकहरू आफैमा छुट्टै आख्यान जस्ता लाग्छन् । तर पनि आन्तरिक रुपमा वा अप्रत्यक्ष रुपमा मसिनो गरी यी आख्यानहरू एक अर्कोसँग आपसमा जेलिएका छन् । आपसमा जेलिएका घटनाहरू, जेलिएका र रहस्यमयी पात्र र तिनका रहस्यमयी कार्य, विचार अनि सोही अनुरूपको वातावरणले उपन्यस भन्ने बितिक्कै यौटै मुल कथानकमा अघि बढ्न बानी परेका पाठकलाई अल्मल्याई दिन सक्छ ।  तर यो अलमल नगरकोटीलाई पहिलो पटक पढ्दै गरेका पाठकको मात्र हुनेछ भन्ने मेरो ठम्याई । किनकी नगरकोटीका यस अघिका मोक्षान्तः काठमाडौँ फिभर, फोसिल र अक्षरगञ्जका स्वाद चाखिसकेका पाठकले भने मिस्टिकाको जटिलतालाई पनि सहजै लिन सक्लान् कि !

उपन्यासका पात्रहरू अतिमानविय स्वभावका छन् । हामीले पुराण र लोककथामा सुन्दै आए जस्तै नगरकोटीका पात्रहरू पनि आफुलाई मन लागेका ठाउँमा तुरुन्तै टुप्लुकिन आईपुग्छन त उतिखेरै अन्तर्ध्यान पनि भइहाल्छन् । यी पात्रहरू सबै हेर्दा स्वतन्त्र र मनमौजी जस्ता लाग्छन् तर यी सबै एक आपसमा जेलिएका छन् । उदाहरणका लागि उपन्यासकी शिर्ष पात्र मिस्टिका उपन्यासको २०० पेजमा मात्र देखा पर्छे तर अप्रत्यक्ष रुपमा ऊ पेज ३७ मै रहस्यमयी पात्रको रुपमा देखा परिसकेकी हुन्छे । उक्त रहस्यमयी पात्र र मिस्टिका एकै हो भनेर ठम्याउँन कठिन त छैन तर सहज पनि छैन ।

उपन्यासको कथानकको कम्रभङ्ग गर्नू/हुनु नगरकोटीय लेखनीको शैली जस्तो लाग्छ । भिन्न भिन्न शिर्षकमा रहेका कथानकलाई बेग्ला बेग्लै या अगाडी पछाडी पारेर पढे पनि त्यसले उपन्यासमा खास अन्तर पार्दैन् । जस्तैः उपन्यासको दोस्रो मूल शिर्षक “ब्लु बोइज्” संस्मणात्मक लेखाइलाई पहिले पढे पनि या अन्त्यमा पढे वा पढ्दै नपढे पनि उपन्यसको कथावस्तुलाई त्यसले खास असर गर्दैन ।

 उपन्यास भरी नगरकोटीका उड्न्ते कल्पना, डुलन्ते कल्पना र स्वप्न कल्पनाहरू भरिएको छ । जसलाई जादूमय (म्याजिकल राइटिङ) लेखाइ भन्न सकिन्छ । उपन्यासमा जीवनका अँध्यारा पाटाहरू जस्तैः मृत्यु, चिहान, हत्या, आत्महत्या, भग्नावशेष जस्ता पक्षलाई जोड दिईएको छ । यसका साथै यौन, प्रजनन, किशोर मनका यौन प्रतिको उत्सुकता र खुल्दुलीहरूलाई पनि उपन्यासले समेटेको छ ।

उपन्यासमा एउटा कथानक सुरू हुन्छ त्यो बीचैमा छुट्छ र फेरी अरु अरू कथाकनहरु सुरू हुँदै जान्छ । बीचमा कतै पुगेर फेरी पहिले छोडिएको कथानकको कम्र नितान्त बेग्लै परिवेश र पात्रसँग जोडिएर नयाँ रुपमा देखापर्छ । उपन्यासमा कुनै प्रसङ्ग एक ठाउँमा छुस्स आउँछ फेरी कयौं पाना पल्टाईसक्दा उक्त प्रसङ्गको अत्तोपत्तो देखिदैँन । पछि अन्य कथानकसँगै मिसिएर पहिलेको जिज्ञासाको अन्य हुने गरी कथानकको रहस्य खुल्छ । उदाहरणका लागि मिस्टिकाले आफूले असाध्यै मन पराएको उपन्यासको उपन्यासकारले दोस्रो उपन्यासको तयारी गर्न लागेको सुइँको पाएपछि दिनरात उसको पिछा गरेर हत्या गर्ने योजना बनाउँछे ।

उसले हत्याका विभिन्न कायदाहरूको लेखाजोखा गरेर अन्त्यमा मोटरले हानेर मार्ने निष्कर्ष निकाल्छे र लेखाको पिछा गर्छे । डिभिडी पसल, बुकस्टोर, आर्टग्यालरीमा लेखक पछ्याउँदै हिँडेकी मिस्टिकाको एउटा क्याफे बाहिर लेखकको प्रतिक्षा गर्दागर्दै जादूमयी रुपमा केही वर्ष बित्छन् । लेखक केही वर्षपछि क्याफे बाहिर देखापर्छ र मिस्टिकाको मोटरमा बसेर उनीहरु कतै अज्ञाततिर लाग्छन्  (पृष्ठ ८३) । मिस्टिकाले मार्न चाहेको प्रिय उपन्यासको उपन्यासकार आफ्नै मोटरमा आएर बसेपछि अब के गर्ली त भन्ने पाठकीय जिज्ञासालाई जिल्याउँदै उपन्यासको कथानक अर्को कतातिर मोडिन्छ । र, एकै पटक पेज नम्बर २८९ मा पुगेर अर्कै शिर्षक र उप शिर्षकमा जोडिन आईपुग्छ । जहाँ उपन्यासकार आफ्नो दोस्रो उपन्यासको पाण्डुलिपी र मिस्टिकाको साथमा चिहानघारीमा फेला पर्छ । उपन्यासकार मिस्टिका सामु दुइवटा विकल्पहरू पेश गर्छ । जस्तो की ‘कि  चिहानमाथि सेक्स या हत्या ?’ मिस्टिका कुनै निर्णयमा नपुग्दै उपन्यास फेरी अर्कै तिर भाग्छ । मिस्टिकाले उपन्यासकारले दिएको दुइ विकल्प मध्ये कुन छानी भनेर पाठक जान्न व्यकुल नै रहन्छ । तर पाठकले त्यो रहस्य अकल्पनीय रुपमा पेज ३६८ मा  खुलेको भेट्छ जब असनमा पार्सल कुरिरहेकी सिमसाराको हातमा पार्सलका रुपमा लेखकको टाउको आईपुग्छ । यस्तै रहस्यहरू बीचबीचमा खोल्दै र रहस्यको सिर्जना गर्दै मिस्टिका अघि बढेको छ । 

यसका साथै उपन्यासमा स्वैरकल्पनिक वा यथार्थमा घट्न नसक्ने घटनाहरूको श्रृखला नै पाइन्छ । जस्तैः बकाइनाको फल खाएर महिलामा रुपान्तरित भई गर्भवति भएको कारपेन्टरले छोरा ‘कार पेन्टर’लाई जन्म दिएर पुनः त्यही बनाइनाको फल खाएर पहिलेकै पुरुष स्वरुपमा आउँनु, छोरा कार पेन्टरको जन्मलाई लिएर गाउँलेहरूले चलाएका खासखुसहरू, मिस्टर नगरकोटीलाई स्वयं भविष्यको बुढो नगरकोटीले बारम्बार फोन गर्नू र अन्त्यमा भेट्नु, नगरकोटी अनुप बरालको दिमागमा प्रबेश गरी यावत छलफन गर्नु, मिस्टिका मन परेको लेखकको हत्या गर्न हिँड्नु जस्ता रमाईला, रोचक र घोचक काल्पनिकताले मिस्टिका भरिएको छ ।
मोक्षान्तः काठमाडौँ फिभर देखि नै देखा परेको नगरकोटीय भाषाशैलीले मिस्टिकामा पनि निरन्तरता पाएको छ । यसमा हिन्दी अङ्ग्रेजीका शब्दहरू मिसिएका मात्र छैनन् । हिन्दी, अङ्ग्रेजीका वाक्य, अनुच्छेद र पुरै पाना समेर रहेका छन् । नेपाली भाषाप्रेमीलाई नगरकोटीको यस किसिमको भाषा प्रयोगले निराश त पक्कै बनाउँछ । तर नगरकोटीको यही भाषाशैलीका फ्यानहरूलाई भने नयाँ खुराक दिन्छ मिस्टिकाले ।

अन्त्यमा, मिस्टिका नगरकोटीका पुराना पाठकका लागि एउटा खुड्किलो हो । नेपाली साहित्यको फ्यान्टासी फिक्सनको एउटा अर्को स्वाद/परिकार हो जसलाई आफू अनुकूल चाख्न र स्वाद दिन सकिन्छ ।  पाठकले नगरकोटी र उनको यौन, मृत्यु तथा जीवन प्रतिको हेराईलाई बुझ्न सक्छन् किनकी नगरकोटी स्वयं दुरुस्त उपन्यासमा पात्र बनेर आएका छन् । पहिलो पटक नगरकोटी पढ्ने यदि कोहि हुनुहुन्छ भने उनीहरूलाई नगरकोटीको भाषा, उडन्ते कल्पना र टुक्रे कथानक शैलीले दिक्क र झुर बनाउँछ ।  किताबमा ज्ञान या अर्ती दिने उदेश्यले एउटा वाक्य पनि आएका छैनन् । तर नगरकोटीको दृष्टीले प्रेम, ज्ञान, योग र मोक्ष जस्ता सम्बन्धी अवधारणा भने पात्रका माध्यमबाट अप्रत्यक्ष रुपमा यदाकता पोखिएको छ ।  पढिन्जेली नगरकोटीका पुराना पाठकलाई अल्छि लाग्ने सम्भावना छैन । नयाँ पाठकको जिम्मा म लिन सक्दिन । धन्यवाद ! ;)

घाटको साथीः नरोजेको एउटा पात्र

फोटोः गुगल
एउटा कथा लेख्ने हुटहुटी थियो । यो धेरै अघिको कुरो । अहिले पनि  पात्रहरू मन मस्तिष्कमा आउँछन्, कुद्छन्, घुम्छन् र अन्त्यमा मलाई नै रिङ्गाएर जान्छन् । तर अक्षरमा बाँधिन पटक्कै मान्दैनन् । बैशाख,  जेष्ठ देखि हालसम्मका अनगिन्ती भुइँचालो भोगेर थलिएको पाटनका गल्लीहरूमा कयौँ साँझ भौतारिन्थेँ । तर अहँ कोही बाँधिन आएनन् मेरो कथामा पात्र भएर । सबैलाई आफ्नै स्वतन्त्रता प्यारो थियो । दिक्क मान्थेँ आफैसँग तर भौतारिन छोड्दिन थिएँ । एक साँझ “ओई मञ्जरी ! अचेल किन घाट आउँदिनस् हँ ? तेरा किताबहरू फिर्ता दिने मानसिकतामा छु अचेल । आजभोली आईनस् र पछि किताब फिर्ता पाईनस् भने मलाई गाली गर्न पाउँदिनस् नि !” मोबाईल स्क्रिनमा उसको मेसेज देखियो ।

पाटनका गल्लीहरूमा भेटिने पात्रहरू कथामा बाँधिन नचाहेपछि मैले सुन्दरीघाटलाई प्राथमिकता दिएको केही दिन भएको थियो । ऊ सुन्दरीघाटमा भेटिएको तर मेरो कथालाई नसुहाउँदो एक पात्र । उसलाई आफ्नो कथामा बाँध्ने रहर कहिल्यै लागेन मलाई । तर ऊ भने बारम्बार सुनाईरहन्थ्यो कि - उसलाई अब पात्रको जिन्दगी बाँच्ने रहर छ, वास्तविक जिन्दगी बिरक्त लाग्दो भयो !

‘जिब्रान’ मैले उसलाई दिएको नाम । कुमार नगरकोटीका ‘म्याड फिक्सन’ दोहोर्याई दोहोर्याई पढ्नु मेरो पहिलो रोजाई । मिस्टर नगरकोटीसँग उनैका फिक्सनका माध्यमले भएको एकहोरो चिनजानको प्रभाव ममा ज्यादा थियो र अझै पनि छ कि त... ! त्यसैले मिस्टर नगरकोटीको प्रिय स्थल ‘घाट’मा भेटिएको उसलाई मैले नगरकोटी कै प्रिय पात्रको नाम जुराइदिएकी थिएँ । सुरुमा उसलाई यो नाम पटक्कै मन परेन तर जब मैले उसलाई यो नाम दिनुको कारण खुलाएँ तब मात्र उसले यो नामले बोलाउँने स्वीकृति दिएको थियो ।

“तेरो मन पर्ने लेखकको किताब म पनि पढ्छु ल्याईदे है” उसको माग बमोजिम मैले आफूसँग भएका मिस्टर नगरकोटीका ‘मोक्षान्तः काठमाडौँ फिभर’ र ‘अक्षरगञ्ज’ उसको लागि एकसाँझ त्यही घाट मै पुर्याएकी थिएँ । ‘फोसिल’ लगिदिन पाइन । त्यो किताब मेरा एक मित्र कहाँ पाहुना लाग्न गएर आईपुगेको थिएन । सोचेँ आएपछि लगिदिऊँला । ‘मोक्षान्तः काठमाडौँ फिभर’ पढिसकेको एक साँझ उसले भनेको थियो- “यार तँलाई तेरै लेखकको एउटा पात्रको नाम दिम् ?”

‘भो परेन, मलाई पात्रको जिन्दगी बाँच्ने रहर छैन तँलाई जस्तो’ मैले नाक खुम्च्याउँदै उसको प्रस्ताव नकारीदिएकी थिएँ । उसले पनि नरमाईलो मानेन । बरु हाँस्दै भन्यो ‘साँच्ची तँ आफैँ पात्र खोज्ने मान्छे पो त है ! सुना न बरु तेरो नयाँ पात्रको बारेमा, भेटिस् त ?’

‘छैन यार ।’ वाग्मती पारी आँखा अड्याउँदै जवाफ दिएकी थिएँ । 
   
पात्र खोज्ने चक्करमा आफैँ हराईस् कि के त ?”  

सायद उसले मलाई खिसिक्क हाँसेर व्यङ्ग्य गर्दैथ्यो कि... तर मैले ऊ तिर हेर्दै हेरिन । उसलाई जवाफ दिनु साटो बरु वाग्मती किनारबाट हटाएर कीर्तिपुरको फेदमा फैलिएको विश्वविद्यालयमा आँखाहरू बिसाइदिन्थेँ ।  केही महिनाघिसम्म म त्यहीँकी एक विद्यार्थी थीएँ । पढाइ सकेर सुरू हुने भिन्न भविष्यको तिब्र पर्खाइ रहन्थ्यो विद्यार्थी छदाँ । अहिले त त्यो पनि बाँकी छैन । अचेल लाग्छ विद्यार्थी हुदाँका दिनहरू ठीक थियो बरू अहिले भन्दा त ! गुमेको कुरा महत्वपूर्ण मान्ने र वर्तमानसँग गुनासो गर्ने बानी सानै देखि लागेको छ कि त हामीलाई ! कीर्तीपुरको अग्लो डाँडो र त्यसैको फेदमा फैलिएको विश्वविद्यालयबिचको सम्बन्ध मलाई कहिले आपसमा आँखा नझिम्क्याई नियाँली बस्ने प्रेमीप्रेमिका त कहिले एक अर्कोलाई बैरी मान्दै बाटो बार्ने छिमेकी जस्तो लाग्थ्यो र अझैँ पनि लाग्छ । जे होस् जिन्दगीमा अविस्मरणीय दिनहरूमा कीर्तिपुरले पनि एकाध दिन आफ्नो हिस्सामा पारेको थियो ।

ओई ! फेरी कल्पनाको पात्रसँग कतै टाढा घुम्न पुगिस् कि क्या हो हँ ?”  जिब्रान मलाई बिथोल्दिन्थ्यो । नतिजामा कीर्तिपुरलाई जहाँको त्यहीँ छोडेर म आँखा ऊ तिर घुमाइदिन्थेँ । सट्टामा ऊ ङिच्च दाँत देखाउँथ्यो । हिँड् चिया खान जाम्नजिकैको चिया पसल देखाउँदै म अघि लाग्थेँ । यो पछिल्ला दिनहरूको हाम्रो नियमित दैनिकी थियो ।

 केहीदिन भयो म त्यता पनि नगएको । अचेल कथा लेख्ने हुटहुटीले पनि बिस्तारै छोडेको छ त्यसैले होला पात्रको खोजिमा भौतारिन पनि छोडेकी छु । यी दिनहरू चुपचाप घरैमा बितिरहेका छन् । बाह्य दुनियाँसँग संम्वाद बिच्छेद भएको निकै दिन भयो । छेवैँको पसलमा दुइ तिन दिन बिराई दैनिकी चलाउँने आवश्यक खिच्रिङमिच्रिङ सामान किन्छु अत्यावश्यक शब्दहरू खर्च गरेर । पसलेले त्यति देखिनु हुन्न नि अचेल बाहिर तिर हुनुहुन्थ्यो कि ?’ भन्ने प्रश्न गर्दा खिस्स हाँसेर टारिदिन्छु । कुन्नि के बुझ्छन् उनी र थप प्रश्न गर्दैनन् । यसरी कति दिन बिताउँने हो र ? आफैँलाई सोध्छु तर जवाफ दिने मनमस्तिष्क भने सुने नसुन्यै गरेर टारिदिन्छ । 

एक मन लाग्छ आज सुन्दरीघाट पुगेर उसलाई भेटुँ । एक अर्कोसँग पुरै असम्बन्धित तर सँगै जोडिएर आउँने ताल बेतालका उसका कुराहरूले पो मेरो यो निष्क्रियता तोड्ला कि ! विचित्रको ल्याङ्फ्याङे व्यक्तित्व छ उसको । समाज, संस्कृति र हरेक व्यक्तिलाई बेवास्था गरेरै चुनौती दिन सफल । उसको त्यै विचित्रको व्यक्तित्वले नै पहिलो दिन मलाई ऊ सम्म डोर्याएको थियो । अझै पनि कहाँ भुलेकी छु र त्यो दिन ।

उसलाई भेटेको पहिलो दिन । सिमसिम पानी परिरहेको एक साँझ । पात्र खोज्ने भन्दापनि मनमा उत्पन्न भएको एकतमासको एकहोरोपनाले म सुन्दरीघाट पुगेकी थिएँ । जाँगर चल्दा  झोलुङ्गे पुलको माझमा गएर एकछिन आँखा चिम्म गरेर बस्थेँ । बाल्यकालमा आमाले हल्लाएको झोलुङ्गे याद ताजा पार्थेँ नत्र पुल तिर नलागी लस्करै उभिएका चितातिर तानिन्थे । पशुपतिमा जस्तो यता मोक्ष प्राप्ती भई दुनियाँ छोडेकाहरू धुवाँ भएको दिनहुँ देख्न त पाइन्न तर घाट आखिर घाट नै थियो । सुनसान.... वर्तिरको कल्याङमल्याङबाट मुक्त, खोला किनार हरियै थियो झार/तितेपाती अनि एकान्त उस्तै ।

सिमसिमे पानी परिरहेकै थियो । बर्खाको बेला पानी पर्नु र घाम लाग्नुको के टुङ्गो हुन्थ्यो र ! सिमेसिमे पानी टाउकोमा थाप्दै किनारै किनार उभोँ लाग्दै थिएँ । सिमसिमे पानीमा भिज्दै हिँड्नु मेरो सानै देखिको रोजाइ । आँगन, गोठ वा कुँडार तिर काममा अल्झिनु भएका मेरा बा आमा पानी छिट्याउँन थालेपछि पिँढीमा उक्लनुहुन्थ्यो भने पिँढीमा बसिरहेकी म आँगनमा फाल हान्थे । “टाउकाँ जम्रा पर्छ सिमेसिमे पानी टाउकाँ नथाप त नानी’’ आमा बा पालैपालो सम्झाउँनु हुन्थ्यो । म किन मान्थेँ र आमा आफैँ आएर नघिसारे सम्म । आखिर म बाआमाकी जिद्दी र पुलपुलिएकी कान्छी छोरी न थिएँ । जुम्रा पानीले रूझाउँदैमा पर्दैनन् भन्ने थाहा पाउन मैले आफ्ना बाल्यकालका केहि वर्षहरू खर्च गरेर ज्ञान पाइसकेकी थिएँ । त्यसमाथि अचेल म सिमसिमे पानीमा भिजेको बाआमाले थाहै पाउनुहुन्न थियो । थाहा पाउँनु भए त अचेल जुम्रा पर्छ भनेर नभने पनि रुघा लाग्छ, चिसो लाग्छ या फेरी निमोनिया हुन्छ भनेर पक्कै भन्नुहुन्थ्यो । 

लस्करै उभिएर कसैको प्रतिक्षामा गरेजस्ता देखिने चिता मध्ये माझको चितामा ऊ ध्यानमग्न थियो कुनै साधु झैँ । लहडमा ओशो तपोवन पुग्दा पाखाभरी मान्छेहरू ध्यान मुद्रामा बसेको त धेरै देखेकी थिएँ तर चितामाथी ध्यान बसेको मान्छे देखेकी थिइन । सिमसिम परेको पानीबाट बेखबर ऊ कुन्नी कुन अलौकिक दुनियाँमा पुगेको थियो । वरपर नियाँलेँ अरु मान्छेको सुइको सम्म थिएन् । निर्जन एकान्त मात्रै फैलिएको थियो परपर सम्म ।

पानी बाक्लिएर पर्न थालेपछि झोलामा भएको छाता निकाले र ओडेँ । ऊ अझैँ ध्यानमा मग्न थियो । कुन मनले डोर्याएर हो म ऊ नजिकै उसलाई छाता ओडाउन पुगेकी थिएँ । ऊ सिद्ध साधु झैँ ध्यानमा मग्न थियो मैले छाता ओडाउन सुरु गरेको थाहा पाएको थियो कि थिएन कुन्नी ?

एकाध घण्टापछि दर्के पानी थामिएर पुनः सिमसिमे पानीमा बद्लिएपछि उसले आँखा खोल्नु र मैले छाता बन्द गर्नु एउटै समय भएको थियो । एकै ठाउँमा धेरै बेर उभिएर होला मेरो गोडा फतक्क गलिसकेका थिए । निर्जन एकान्त त्यसमाथी दर्के पानी त्यै पनि आफू नभिजेको  र छेऊमा छाता बोकेर ऊभिएकी म देख्दा उसले मैले छाता ओडाएको थाहा नहुने कुरै थिएन । तर मलाई देख्दा उसको अनुहारमा कुनै भाव थिएन ।

‘छाता ओडाइदिएकीमा धन्यवाद !’ उसले म सँग बोलेको पहिलो शब्द यति थियो । पहिलो पटक नचिनेको मान्छेले ‘तिमी’ भनेर सम्बोधन गर्दै थियो । मलाई जो कसैले त्यसरी सुरू मै तिमी भनेर बोलेको पटक्कै मन पर्थेन तर उसको सम्बोधनमा कस्तो जादू थियो कुन्नी रिसाउँनुको साटो म मुस्कुराएकी थिएँ । त्यसैले अहिले मलाई ऊ तँ भन्छ त्यो पनि मलाई मन पर्छ । म पनि उसलाई तँ नै भनिदिन्छु ऊ पनि मुस्कुराउँछ ।

‘पानी परेको समेत बेपर्वाह गरेर कुन लोकमा पुगेको थियौ हँ ?’ मैले पनि उसलाई ‘तिमी’ नै सम्बोधन गरेर पुरानो साथीलाई झैँ हकारेको स्वरमा सोधेकी थिएँ ।

“घाम पानीको, उदासी र खुसीको विभेद गर्न छोडेको धेरै भयो मैले ।” उसको जवाफ दार्शनिक थियो कि जीवनका उतारचढाब प्रति निरपेक्ष मैले छुट्याउन सकेकी थिईन ।

कस्तो गोडा गलेको छ आफुलाई, कतै बसौँ भने पनि चिसो छ । मैले गुनासो ऊ सँग नै गरेकी थिएँ तर ऊ प्रति निरपेक्ष रहेर ।

“अनि चिन्नु न जान्नु को मान्छेलाई छाता ओडाएर कस्ले उभिनु भन्या थियो र ?” उसले पनि उस्तै निरपेक्ष भएर जवाफ फर्काएको थियो ।

हामी बिचको कुराकानी कोई तेस्रो व्यक्तीले सुनेको भए उसले हामीलाई आफू आफू एक्लै बोल्दै हिँडेको ठन्थ्यो होला । मूल बाटोमा आईपुगेपछि ‘चिया खान जाम् मलाई जाडो भो !’ मेरो मागको सट्टामा पुलुक्क हेर्नु बाहेक उसले केही भनेन ।

चिया खाने ठाउँका दुइवटा कुर्सीहरू आफ्नो कब्जामा पारेपछि मैले भनेँ - ‘साहु जी दुइवटा कालो चिया ’ ।
मैले चिया अर्डर गरेको सुनेपछि उसले मलाई एकटकले एक मिनेट जति हेर्यो र हेराई अन्तै मोड्यो । तर न त उसले साहुजीलाई आफु सेतो चिया खाने भनेर भन्यो न मलाई नै कसरी थाहा भयो म कालो चिया खान्छु भन्ने भनी सोध्यो ।

साहुजीले चिया दिए । हामीले एउटा एउटा कप समात्यौ... चुपचाप ।

मैले भन्दा पहिले चिया सकेर उसले साहुजीलाई चियाको पैसा दिँदै आँखा म तिर फालेर भन्यो - “उधारो राख्ने मन नभए भोली चिया ख्वाउनु” अनि फटाफट हिँड्यो । म अलमल्ल परिरहेँ । चिया पसले उसलाई र मलाई पालैपालो हेर्दै थिए । ऊ छेकिए पछि म पनि उठेर ऊ गए भन्दा ठीक उल्टो बाटो हिँडेर घर फर्केकी थिएँ ।

नाम पनि थाहा नभएका हामीले सँगै कालो चिया खाएर छुटे पछि बाटोभरी उसैको कुरा खेलाउँदै म घर पुगेकी थिएँ त्यो दिन ।

भोलीपल्ट साँझ फेरी त्यही ठाउँमा त्यसैगरी ध्यान मुद्रामा ऊ फेला पर्यो । पानी नपरेको त्यो दिन घाम भर्खरै चन्द्रागिरी पारी लुकेको थियो । सिर्सिरे बतास, गोधुलीको समय मलाई असाध्यै मन पर्ने बेला । मेरो उपस्थिती थाहा पाएर हो या उसको ध्यानको समय पुरा भएकोले हो म ऊ नजिकै उभिएको पाँच मिनेट नहुँदै उसले आँखा खोलेको थियो । सट्टामा मैले उसलाई मुस्कुराएर स्वागत गरेकी थिएँ ।

के हो जिब्रान मान्छेको ध्यान आफूमै खिच्न त तिमी माहिर रहेछौ । मैले उसलाई तिम्रो नाम के हो भन्नु पहिले नै आफूले रोजेको नाम दिएर भनेँ ।
मेरो नाम जिब्रान हैन.....।

पख पख ! मलाई तिम्रो नाम जान्नु छैन । आज देखि तिम्रो नाम जिब्रान भयो । मञ्जुर भए बोलाउँला नत्र ओई ले काम चलाउँला रोजाई तिम्रो । मैले उसलाई बीचैमा रोकिदिएँ ।

यसरी परिचय बिना नै उसले मैले नाम दिनुको कारण सोधेको थियो भने मैले बताएकी थिएँ । त्यसपछि सुरू भएको थियो जिन्दगीलाई हेर्ने हेराई, भोगाई अनि सोचाईका कुराहरू । 
दोस्रो दिन पनि उही पसलमा कालो चिया खाएपछि मैले साहुजीलाई पैसा तिर्दै र ऊ तिर हेर्दै भने – ‘तिमी त सोध्लाऊ नसोध्लाऊ तर तिमीलाई एउटा नाम आफैले दिएकीले भन्दैछु । कुनै दिन बोलाउँन मन लागेमा ‘मञ्जरी’ भन्छन् मलाई ।’ अनि फटाफट हिँडेकी थिएँ अघिल्लो दिन ऊ गए भन्दा ठीक उल्टो तिरको बाटो । फर्केर नहेरी ।

भूकम्प पछिका दिनहरूमा ऊ पहिले भन्दा झन उदास र दैनिकी प्रति अनि आफैप्रति निरपेक्ष देखिन थालेको थियो । भेट हुँदा भन्थ्यो - “ यार किन किन अचेल यहाँ मनै लाग्न छोड्यो ।  दिदीले बोलाएको बोलायै हुनुहुन्छ... उतै जान्छु कि !” मलाई एक्लै छोडेर जान्छस् भनेर भन्न मन लागेको थियो तर... मनको कुरा भन्न हतार गर्नु हुन्न है केटी भनेर दिमागले खबरदारी गर्यो र भनिन ।

अब कुन्नी कतिदिन टिक्छ ऊ यहाँ यसरी । कतिदिन पो बाँकी होला उसलाई भेट्न र उसका ताल बेतालका उट्पट्याङ कुराहरू सुन्ने दिन । हिजो आज मैले उसलाई बिर्सिराखेकी रहेछु । हुन त म आफूलाई आफै याद नरहेको बेला उसलाई कसरी पो सम्झन्थे र ! भेट नभएका यी दुइचार दिनमा कतै उसले दिदी भएतिरै जाने सुर त कसेन ? मन हतारिन्छ उसलाई भेट्न ।  ढिलो नगरी दिउँस मात्र पाहुना लागेर आईपुगेको मिस्टर नगरकोटीको “फोसिल” उसका लागि बोक्छु र निस्किन्छु ।

{यो कथा पहिलो पोस्टमा प्रकाशित छ । }

कथा लेख्ने धुनमा

फोटो; गुगल
देवकोटाको चर्चित निबन्ध ‘कवि हुने धुनमा’ धेरैले पढ्नु भएको होला । देवकोटालाई कवि हुने धुन चढेको थियो किनकी वहाँसँग असीमित प्रतिभा थियो । मलाई भने न प्रतिभा न लगनशिलता तार यी बिनै हिजोआज यौटा कथा लेख्ने धुन चढेको छ । हिजोआज भनेर ठ्याक्कै हिजै वा आजबाट होइन फाल्गुन महिनाबाट हो । नाथे एउटा कथा लेख्न पनि यतिका पाँच मैना त्यै पनि लेखेको भने खै ? भन्ने लाग्ला है तपाइँहरूलाई । मलाई पनि त्यस्तै लाग्थ्यो । अझ कथा भनेको जीवनको एक अंश समेटिएको एक बसाइमा पढिसकिने यथार्थको नजिक रहेर लेखिएको काल्पनिक विषयवस्तुमा आधारित लेखाइ हो भनेर विश्वविद्यालयका किताबमा पढेपछि लाग्थ्यो एक बसाइमा पढिने कथा पक्कै एक बसाइमै लेखिदोँ हो ।

अग्रज कथाकारहरू केहीलाई चिन्दछु, कथाको समालोचना गर्ने धेरै समालोचकहरू त आफ्नै सरहरू हुनुहुन्छ वहाँहरू मध्ये कसैलाई सोध्न पाएको भए पनि त हुन्थ्यो नि कि ‘सर, एक बसाइमा पढिसकिने कथा लेख्न चाहीँ कति बसाइ लाग्छ?’ भनेर । तर, जब विश्वविद्यलयमा थिएँ कथा लेख्न कति बसाइसम्म लाग्छ भन्ने खालको जिज्ञासा मनमा उठ्दै उठेन । उठेको भए त म पक्कै सोध्थे किनकी सरहरूसँग चित्त नबुझेको कुरामा विमती जनाउँने भएरै ‘छुच्ची’ का रूपमा चिनिन्थेँ रे । यहाँ ‘रे’ किन भनेकी भन्दा यो कुरा मलाई एक सहपाठीले निकै पछि मात्र सुनाएकी थिइन जुन बेला मैले शोधपत्र पनि बुझाइसकेकी थिएँ।

साँच्ची म कथा लेख्ने कुरा गर्दै थिएँ कुरा फुत्किएरै अन्तै पुगिसकेछ । कसैले के बढि पढ्छेस् भन्दा ‘कथा’ भन्छु । कथातिर यतिका रूची कहिलेबाट कसरी जाग्यो मलाई थाहै छैन। केटाकेटी बेलामा दिदी र बालाई कथा सुनाउँनु न भन्दै सताएको हिजै जस्तो लाग्छ । हुन त के हिजो भन्नु अझैपनि घर जाँदा बालाई गनगन गरिरहन्छु पुराणका विविध किस्साहरू र पात्रहरूसँग जोडिएका कथा सुनाउँनु भन्दै । अहिले पनि घर गएँ भने प्रायः बिहानीको खाना खाइसकेपछिको समयमा सुरू हुन्छ हामी बाउछोरीको कथा सुन्ने सुनाउँने सिलसिला । बिहान भरीको कामले थाक्नु भएकी र एकैछिन थकाई मार्ने उदेश्यले आराम गर्न पल्टिनुभएकी आमा बेला बेला गुनासो गर्दै भन्नुहुन्छ ‘यी बाउछोरीको के को शास्त्रार्थ हो फेरी, एकछिन सुत्न दिदैँनन् ए !’ यसरी सानै देखि सुन्दै आएको पुराणका कथा, लोककथाकै प्रभावले होला ममा कथा प्रति यतिका लगाव भएको ।

कुरो ममा चढेको कथा लेख्ने धुनका बारे नै गरौँ । फल्गुन महिनाको अन्तिम अन्तिम तिरबाट आमाले भन्नुभए झैँ ‘दोबा’टा भूत चढेको’ जसरी नै चढ्यो मलाई कथा लेख्ने भूत। पात्र खोज्थेँ दिनभरी, बिहानभरी, र साँझभरी लाएर । रातभरी त्यो पात्र सुहाउँदो कथाका टुक्राटाक्री गम्न थाल्थेँ र सायद निदाउँथेँ । सपनामा त झन कथाका टुक्रामात्रै होइन फरक फरक पात्र अनि तिनको फरकफरक कथा रिलमा झैँ घुमेको सिङ्गो फिलिम नै देख्थेँ । बिहान उठेर रातभरीको सपना सम्झने र कथा बुन्ने क्रम तर अँह, पटक्कै चित्त नबुझ्ने ती कथाहरू । अब आफैँलाई चित्त नबुझेको कथा दोस्रोलाई सुनाउँने कुरा आएन नि होइन? त्यसैले सपनामा देखेको कथा कहिल्यै विपनीमा लेखिएन। यही प्रकृयाले चैत्र महिना बितेर बैशाख लाग्यो । सोचेँ ठीकै छ नि त अब नयाँ वर्ष अनि नयाँ जोस जाँगरले नयाँ कथा लेख्नेछु तर उही सोचाइ मात्र भो । त्यतिकैमा बैशाख १२ को भूइँचालो गयो । त्यसपछि त न कथाका सपना देखियो न पात्र खोज्नै हिँडियो । बल्लबल्ल निदाउँदा पनि कतिदिन सम्म त सपनामा पनि भूइँचालो गएको र भागेको मात्र देख्थेँ ।

बैशाख १२ को भूइँचालो राजधानीमा भोगेपछि गाउँघर तिर लागियो बाँकी उतै भोगियो । भत्किएको तल्लोघर माथ्लोघर चाहर्दै हिँड्दै गर्दा सोचेँ अब भूइँचालो कै कथा लेख्छु । गाउँमा यतिका घर गोठ भत्केर सखाप भएका छन् कयौँ मान्छे मरेका छन् । एउटा घरमात्रै समातेर लेखेँ भने पनि कसो नबन्ला त एउटा कथा । तर त्यहाँको विपत्ती कथा लेख्ने खालको होइन मन चुडाँउनर खालको देखेर होला  मेरो कथा लेख्ने ईच्छा स्वाट्टै बिलायो खस्ता खस्दैको तारा आकाशैमा बिलाए जसरी नै । सोच्थेँ कथा पनि कहीँ त्यस्तो दिक्क लाग्दो, भत्केको, ढल्केको, चर्केको र फुङ्ग उढेको हुन्छ त ? भूइँचालो त गइसक्यो, त्यसले छोडेका डामहरू बिस्तारै सञ्चो पनि होलान, फेरी त्यो विपतीबारे किन सम्झुँ किन कल्पना गरूँ र किन लेखुँ ? यही कारण भूइँचालोको कथा लेख्ने च्याप्टरै हरायो ।


अब कुरा गरौँ पछिल्लो दुइ हप्ताको किनकी बीचको डेढ महिना लग्यो भूइँचालोले । यो पछिल्लो समय म भित्र लथालिङ्ग भएको कथा लेख्ने धुन पुनः मुन्टो उठाउँन खोज्दैछ । लगभग फाल्गुनको अन्तकै मानसिकतामा म पुग्न खोज्दै छु । बिहानभरी र साँझ लखरलखर हिँड्ने । यस बीचमा अनगिन्ती पात्रहरूसँग भेटिसकेँ र कथा पनि सुनिसकेँ तर खै के ले रोकिरहेको छ कुन्नी मलाई । मन भित्र भावनाहरू उकुसमुकुस गर्छन् तर उचित शब्द संयोजन गरेर शब्दमा व्यक्त गर्न सकेकी छैन् । दिमागमा बिहान र साँझ भेटेका पात्रहरू कुद्छन्, आपसमा बाझ्छन् पनि कहिकेकहीँ तर खै तिनलाई शब्दमा बान्न सकेको ? भावनाहरू मनमा टिलपिल टिलपिल छन् तर न छचल्किन्छ र पोखिने सुर नै देखाउँछ । यसो सोच्छु बाख्रा वा गाईभैँसीको फाँचोमा दूध जमेर थुनिलो भए जस्तै कतै मेरो कथा लेख्ने धुन र भावनाहरू मन भित्रभित्रै जमेर थुनिलो त भइसकेनन् ! :O

जुकरबर्गको क्याफेमा एकैछिन

तस्वीरः कथाकार अश्विनी कोइरालाको फेसबुक पेजबाट
     भुकम्पका झड्काहरूले भूइँ कामेसँगै मन पनि हल्लिरहन्छ अचेल । बैशाख १२ र २९ पछिका लगातार कम्पनहरूले दैनिकी अस्तव्यस्त पारिरहेकै बेला अश्विनी कोइरालाको कथा सङ्ग्रह ‘जुकरबर्गको क्याफे’ बजारमा आयो रे भन्ने सुनेकी थिएँ । किताब ठ्याक्कै कुन दिनबाट बजारमा पठाइएको थियो त्यो जानकारी म सँग छैन।  मैले एक हप्ता अघि मात्र भोटाहिटीको किताब पसलमा देखे पछि किनेर ल्याएँ र किनेर ल्याएको यतिका दिन पछि मात्रै पढेँ । यतिका दिन पछि पढेँ भन्ने कुरा यसकारण महत्वपूर्ण छ कि सामान्यतः मैले जुनसुकै साहित्यिक कृति किनेर ल्याए पछि सोही दिन पढ्न थालेर आधा रात सम्मै भए पनि सक्नै पर्ने बानी थियो । यो भुकम्पले मानसिकतामा पारेको प्रभाव हो या म अल्छि भएर हो यसपाली 'जुकरबर्गको क्याफे' घर आइपुगेर पनि म सँग मुखामुख मात्रै गरेर बस्न सफल भएको थियो । भुकम्पका ससाना धक्काहरू पनि अब महशुस हुन छोडिसकेको यो बेलामा कसैले राती/बिहान/दिउँसको धक्का थाहा भयो त भनेर सोध्दा पनि, ‘ए ! हो र आएको थियो भूइँचालो मैले त थाहै पाइन’ भनी जवाफ दिन थालेको निकै दिन भइसकेको छ ।

    आज बिहान ‘अब त भएन यो किताब पढ्नुपर्यो’ सोचेर उठाएँ 'जुकरबर्गको क्याफे'लाई एक हातमा र बसे अर्को हातमा आफैँले बनाएको कालो कफी साथी राखेर । ओल्टाई पल्टाई हेरेँ मुसुक्क मुस्कुरायो 'जुकरबर्गको क्याफे' मेरो माया पाएर  । किताब पल्टाएँ कथा-क्रममा कथाहरू गने २४ वटा रहेछन् ।
मूलतः प्रेमलाई विषयवस्तु बनाई लेखिएका छोटा कथाहरू जुकरबर्गको क्याफेमा रहेका छन् ।  साप्ताहिक लगायतका पत्रपत्रिकामा पहिले अश्विनी कोइरालाका लेखाइ नपढेका पाठक पनि पहिलो कथा 'ईला मिसको पत्र' पढिसक्दा नसक्दै पाठक उनको लेखाइ प्रति आकर्षित भइसक्छ । तर, कथाक्रम अगाडि बढ्दै जाँदा पछिल्लो क्रमका कथाहरू पहिलो कथाको उच्च प्रभाव टिकाइराख्न भने कठिन नै छ । कुनै कुनै कथालाई कथा भन्दा अनुभव/अनुभूति वा स्मरणात्मक लेख भन्दा राम्रा लाग्छन् तर पढ्दा बोर भने ती पनि छैनन। 'सन्नी लियोन', 'असल खराब', 'म्याक्सीवाली' जस्ता केही कथाहरू वास्तविक जीवन भन्दा बढी फ्यान्ट्यासीका निकट देखिन्छन् । 'युवकको प्रेममा' भन्ने छोटो कथा सुरुवातमा निकै हास्यात्मक तरिकाले थालिएको भए पनि यसको अन्त्य भने गम्भीर किसिमबाट भएको छ ।

हरेक व्यक्तिसँग कम्तीमा पनि एउटा (कसैसगँ दुइ/तिनवटा पनि होलान्) स्मार्टफोन रहेको आजको नेपाली समाजका युवा पुस्ता र इन्टरनेटको सहजताका कारण सामाजिक सन्जालबाटै कतिपय प्रेम सम्बन्धहरूको स्थापना भएका यावत उदाहरणहरू हाम्रा सामू आइरहेकै छन् । कथाकार अश्विनीले पनि ती विषयवस्तुलाई पक्कै छुटाएका छैनन् । सामाजिक सन्जाल हुँदै स्थापित हुने सम्बन्धहरू, पुराना सम्बन्धहरूलको नवीकरण र हालखबर सोधनीको माध्यमका रूपमा प्रयोग हुने फेसबुकको उल्लेख गरेका छन् । किताबको नाम नै फेसबुकका निर्माता मार्क जुकरबर्गको नामबाट राखेकैबाट पाठकले फेसबुकका किस्साको आशा कथा पढ्नु भन्दा पहिलै गर्न सक्छन् । युवा मनोविज्ञान, प्रेम, विवाह, यौनजस्ता विषयवस्तुलाई मूल रुपमा स्वीकार गरिएकैले पनि यस कथा सङ्ग्रहले युवा पिँढीका पाठकको अपेक्षा राख्छ । प्रेमका मामिलामा पनि अझ महिला पात्रहरूको उपस्थिती ज्यादा छ । समग्रमा भन्दा प्रेमको केन्द्रियतामा रही जटिल युवा मनिविज्ञान, प्रेम प्राप्तीको सुन्दर संसार र प्रेम त्याग(बिछोड) पछिको निस्सार मानसिकतालाई कथाले केलाउन सफल भएको छ । भूकम्पका धक्काहरूको ह्याङओभरबाट केही हदसम्म राहत दिन किताब सक्षम छ । ;)

पुनश्चः यसलाई किताब पढेपछि मेरो मनमा उठेका व्यक्तिगत भावहरू/अनुभवका रूपमा मात्र बुझ्नु जरूरी छ । :)