फोटोः गुगल |
पाटनका गल्लीहरूमा
भेटिने पात्रहरू कथामा बाँधिन नचाहेपछि मैले सुन्दरीघाटलाई प्राथमिकता दिएको केही
दिन भएको थियो । ऊ सुन्दरीघाटमा भेटिएको तर मेरो कथालाई नसुहाउँदो एक पात्र ।
उसलाई आफ्नो कथामा बाँध्ने रहर कहिल्यै लागेन मलाई । तर ऊ भने बारम्बार
सुनाईरहन्थ्यो कि - उसलाई अब पात्रको जिन्दगी बाँच्ने रहर छ, वास्तविक जिन्दगी
बिरक्त लाग्दो भयो !
‘जिब्रान’ मैले
उसलाई दिएको नाम । कुमार नगरकोटीका ‘म्याड फिक्सन’ दोहोर्याई दोहोर्याई पढ्नु मेरो
पहिलो रोजाई । मिस्टर नगरकोटीसँग उनैका फिक्सनका माध्यमले भएको एकहोरो चिनजानको
प्रभाव ममा ज्यादा थियो र अझै पनि छ कि त... ! त्यसैले मिस्टर नगरकोटीको प्रिय स्थल
‘घाट’मा भेटिएको उसलाई मैले नगरकोटी कै प्रिय पात्रको नाम जुराइदिएकी थिएँ ।
सुरुमा उसलाई यो नाम पटक्कै मन परेन तर जब मैले उसलाई यो नाम दिनुको कारण खुलाएँ
तब मात्र उसले यो नामले बोलाउँने स्वीकृति दिएको थियो ।
“तेरो मन पर्ने लेखकको
किताब म पनि पढ्छु ल्याईदे है” उसको माग बमोजिम मैले आफूसँग भएका मिस्टर नगरकोटीका
‘मोक्षान्तः काठमाडौँ फिभर’ र ‘अक्षरगञ्ज’ उसको लागि एकसाँझ त्यही घाट मै
पुर्याएकी थिएँ । ‘फोसिल’ लगिदिन पाइन । त्यो किताब मेरा एक मित्र कहाँ पाहुना
लाग्न गएर आईपुगेको थिएन । सोचेँ आएपछि लगिदिऊँला । ‘मोक्षान्तः काठमाडौँ फिभर’
पढिसकेको एक साँझ उसले भनेको थियो- “यार तँलाई तेरै लेखकको एउटा पात्रको नाम दिम्
?”
‘भो परेन, मलाई
पात्रको जिन्दगी बाँच्ने रहर छैन तँलाई जस्तो’ मैले नाक खुम्च्याउँदै उसको
प्रस्ताव नकारीदिएकी थिएँ । उसले पनि नरमाईलो मानेन । बरु हाँस्दै भन्यो ‘साँच्ची
तँ आफैँ पात्र खोज्ने मान्छे पो त है ! सुना न बरु तेरो नयाँ पात्रको बारेमा,
भेटिस् त ?’
‘छैन यार ।’ वाग्मती
पारी आँखा अड्याउँदै जवाफ दिएकी थिएँ ।
“पात्र खोज्ने चक्करमा आफैँ हराईस् कि के त ?”
सायद उसले मलाई खिसिक्क हाँसेर व्यङ्ग्य गर्दैथ्यो कि... तर मैले ऊ तिर हेर्दै हेरिन । उसलाई जवाफ दिनु साटो बरु वाग्मती किनारबाट
हटाएर कीर्तिपुरको फेदमा फैलिएको विश्वविद्यालयमा आँखाहरू बिसाइदिन्थेँ । केही महिना अघिसम्म म त्यहीँकी एक विद्यार्थी थीएँ । पढाइ सकेर सुरू हुने भिन्न भविष्यको तिब्र पर्खाइ रहन्थ्यो विद्यार्थी छदाँ ।
अहिले त त्यो पनि बाँकी छैन । अचेल लाग्छ विद्यार्थी हुदाँका दिनहरू ठीक थियो बरू
अहिले भन्दा त ! गुमेको कुरा महत्वपूर्ण मान्ने र वर्तमानसँग
गुनासो गर्ने बानी सानै देखि लागेको छ कि त हामीलाई ! कीर्तीपुरको अग्लो डाँडो र त्यसैको फेदमा फैलिएको
विश्वविद्यालयबिचको सम्बन्ध मलाई कहिले आपसमा आँखा नझिम्क्याई नियाँली बस्ने प्रेमीप्रेमिका त कहिले एक अर्कोलाई बैरी मान्दै बाटो बार्ने
छिमेकी जस्तो लाग्थ्यो र अझैँ पनि लाग्छ । जे होस् जिन्दगीमा अविस्मरणीय दिनहरूमा
कीर्तिपुरले पनि एकाध दिन आफ्नो हिस्सामा पारेको थियो ।
“ओई ! फेरी कल्पनाको पात्रसँग कतै टाढा घुम्न पुगिस् कि क्या हो हँ ?” जिब्रान मलाई बिथोल्दिन्थ्यो । नतिजामा
कीर्तिपुरलाई जहाँको त्यहीँ छोडेर म आँखा ऊ तिर घुमाइदिन्थेँ । सट्टामा ऊ
ङिच्च दाँत देखाउँथ्यो । ‘हिँड् चिया खान
जाम्’ नजिकैको चिया पसल
देखाउँदै म अघि लाग्थेँ । यो पछिल्ला दिनहरूको हाम्रो नियमित
दैनिकी थियो ।
केहीदिन भयो म त्यता पनि नगएको । अचेल कथा लेख्ने हुटहुटीले पनि बिस्तारै छोडेको छ । त्यसैले होला पात्रको खोजिमा भौतारिन पनि छोडेकी छु । यी दिनहरू
चुपचाप घरैमा बितिरहेका छन् । बाह्य दुनियाँसँग संम्वाद बिच्छेद भएको निकै दिन भयो
। छेवैँको पसलमा दुइ तिन दिन बिराई दैनिकी चलाउँने
आवश्यक खिच्रिङमिच्रिङ सामान किन्छु
अत्यावश्यक शब्दहरू खर्च गरेर । पसलेले ‘त्यति देखिनु हुन्न नि अचेल बाहिर तिर हुनुहुन्थ्यो कि ?’ भन्ने प्रश्न
गर्दा खिस्स हाँसेर टारिदिन्छु । कुन्नि के बुझ्छन् उनी र थप प्रश्न गर्दैनन् ।
यसरी कति दिन बिताउँने हो र ? आफैँलाई सोध्छु तर जवाफ दिने मनमस्तिष्क भने सुने नसुन्यै गरेर टारिदिन्छ ।
एक मन लाग्छ आज सुन्दरीघाट पुगेर उसलाई भेटुँ । एक अर्कोसँग पुरै असम्बन्धित
तर सँगै जोडिएर आउँने ताल बेतालका उसका कुराहरूले पो मेरो यो निष्क्रियता
तोड्ला कि ! विचित्रको ल्याङ्फ्याङे व्यक्तित्व छ उसको । समाज, संस्कृति र हरेक व्यक्तिलाई बेवास्था गरेरै
चुनौती दिन सफल । उसको त्यै विचित्रको व्यक्तित्वले नै पहिलो दिन मलाई ऊ सम्म
डोर्याएको थियो । अझै पनि कहाँ भुलेकी छु र त्यो दिन ।
उसलाई भेटेको पहिलो दिन । सिमसिम पानी परिरहेको एक साँझ । पात्र खोज्ने
भन्दापनि मनमा उत्पन्न भएको एकतमासको एकहोरोपनाले म सुन्दरीघाट पुगेकी थिएँ ।
जाँगर चल्दा झोलुङ्गे पुलको माझमा गएर
एकछिन आँखा चिम्म गरेर बस्थेँ । बाल्यकालमा आमाले हल्लाएको झोलुङ्गे याद ताजा
पार्थेँ नत्र पुल तिर नलागी लस्करै उभिएका चितातिर तानिन्थे । पशुपतिमा जस्तो यता
मोक्ष प्राप्ती भई दुनियाँ छोडेकाहरू धुवाँ भएको दिनहुँ देख्न त पाइन्न तर घाट
आखिर घाट नै थियो । सुनसान.... वर्तिरको कल्याङमल्याङबाट मुक्त, खोला किनार हरियै
थियो झार/तितेपाती अनि एकान्त उस्तै ।
सिमसिमे पानी परिरहेकै थियो । बर्खाको बेला पानी पर्नु र घाम लाग्नुको के
टुङ्गो हुन्थ्यो र ! सिमेसिमे पानी टाउकोमा थाप्दै किनारै किनार उभोँ लाग्दै थिएँ
। सिमसिमे पानीमा भिज्दै हिँड्नु मेरो सानै देखिको रोजाइ । आँगन, गोठ वा कुँडार
तिर काममा अल्झिनु भएका मेरा बा आमा पानी छिट्याउँन थालेपछि पिँढीमा उक्लनुहुन्थ्यो
भने पिँढीमा बसिरहेकी म आँगनमा फाल हान्थे । “टाउकाँ जम्रा पर्छ सिमेसिमे पानी
टाउकाँ नथाप त नानी’’ आमा बा पालैपालो सम्झाउँनु हुन्थ्यो । म किन मान्थेँ र आमा
आफैँ आएर नघिसारे सम्म । आखिर म बाआमाकी जिद्दी र पुलपुलिएकी कान्छी छोरी न थिएँ ।
जुम्रा पानीले रूझाउँदैमा पर्दैनन् भन्ने थाहा पाउन मैले आफ्ना बाल्यकालका केहि
वर्षहरू खर्च गरेर ज्ञान पाइसकेकी थिएँ । त्यसमाथि अचेल म सिमसिमे पानीमा भिजेको
बाआमाले थाहै पाउनुहुन्न थियो । थाहा पाउँनु भए त अचेल जुम्रा पर्छ भनेर नभने पनि
रुघा लाग्छ, चिसो लाग्छ या फेरी निमोनिया हुन्छ भनेर पक्कै भन्नुहुन्थ्यो ।
लस्करै
उभिएर कसैको प्रतिक्षामा गरेजस्ता देखिने चिता मध्ये माझको चितामा ऊ ध्यानमग्न
थियो कुनै साधु झैँ । लहडमा ओशो तपोवन पुग्दा पाखाभरी मान्छेहरू ध्यान मुद्रामा
बसेको त धेरै देखेकी थिएँ तर चितामाथी ध्यान बसेको मान्छे देखेकी थिइन । सिमसिम
परेको पानीबाट बेखबर ऊ कुन्नी कुन अलौकिक दुनियाँमा पुगेको थियो । वरपर नियाँलेँ
अरु मान्छेको सुइको सम्म थिएन् । निर्जन एकान्त मात्रै फैलिएको थियो परपर सम्म ।
पानी बाक्लिएर पर्न थालेपछि झोलामा भएको छाता निकाले र ओडेँ । ऊ अझैँ ध्यानमा
मग्न थियो । कुन मनले डोर्याएर हो म ऊ नजिकै उसलाई छाता ओडाउन पुगेकी थिएँ । ऊ
सिद्ध साधु झैँ ध्यानमा मग्न थियो मैले छाता ओडाउन सुरु गरेको थाहा पाएको थियो कि
थिएन कुन्नी ?
एकाध घण्टापछि दर्के पानी थामिएर पुनः सिमसिमे पानीमा बद्लिएपछि उसले आँखा खोल्नु
र मैले छाता बन्द गर्नु एउटै समय भएको थियो । एकै ठाउँमा धेरै बेर उभिएर होला मेरो
गोडा फतक्क गलिसकेका थिए । निर्जन एकान्त त्यसमाथी दर्के पानी त्यै पनि आफू
नभिजेको र छेऊमा छाता बोकेर ऊभिएकी म
देख्दा उसले मैले छाता ओडाएको थाहा नहुने कुरै थिएन । तर मलाई देख्दा उसको
अनुहारमा कुनै भाव थिएन ।
‘छाता ओडाइदिएकीमा धन्यवाद !’ उसले म सँग बोलेको पहिलो शब्द यति थियो । पहिलो
पटक नचिनेको मान्छेले ‘तिमी’ भनेर सम्बोधन गर्दै थियो । मलाई जो कसैले त्यसरी सुरू
मै तिमी भनेर बोलेको पटक्कै मन पर्थेन तर उसको सम्बोधनमा कस्तो जादू थियो कुन्नी
रिसाउँनुको साटो म मुस्कुराएकी थिएँ । त्यसैले अहिले मलाई ऊ तँ भन्छ त्यो पनि मलाई
मन पर्छ । म पनि उसलाई तँ नै भनिदिन्छु ऊ पनि मुस्कुराउँछ ।
‘पानी परेको समेत बेपर्वाह गरेर कुन लोकमा पुगेको थियौ हँ ?’ मैले पनि उसलाई
‘तिमी’ नै सम्बोधन गरेर पुरानो साथीलाई झैँ हकारेको स्वरमा सोधेकी थिएँ ।
“घाम पानीको, उदासी र खुसीको विभेद गर्न छोडेको धेरै भयो मैले ।” उसको जवाफ दार्शनिक
थियो कि जीवनका उतारचढाब प्रति निरपेक्ष मैले छुट्याउन सकेकी थिईन ।
कस्तो गोडा गलेको छ आफुलाई, कतै बसौँ भने पनि चिसो छ । मैले गुनासो ऊ सँग नै गरेकी
थिएँ तर ऊ प्रति निरपेक्ष रहेर ।
“अनि चिन्नु न जान्नु को मान्छेलाई छाता ओडाएर कस्ले उभिनु भन्या थियो र ?”
उसले पनि उस्तै निरपेक्ष भएर जवाफ फर्काएको थियो ।
हामी बिचको कुराकानी कोई तेस्रो व्यक्तीले सुनेको भए उसले हामीलाई आफू आफू
एक्लै बोल्दै हिँडेको ठन्थ्यो होला । मूल बाटोमा आईपुगेपछि ‘चिया खान जाम् मलाई
जाडो भो !’ मेरो मागको सट्टामा पुलुक्क हेर्नु बाहेक उसले केही भनेन ।
चिया खाने ठाउँका दुइवटा कुर्सीहरू आफ्नो कब्जामा पारेपछि मैले भनेँ - ‘साहु
जी दुइवटा कालो चिया ’ ।
मैले चिया अर्डर गरेको सुनेपछि उसले मलाई एकटकले एक मिनेट जति हेर्यो र हेराई
अन्तै मोड्यो । तर न त उसले साहुजीलाई आफु सेतो चिया खाने भनेर भन्यो न मलाई नै
कसरी थाहा भयो म कालो चिया खान्छु भन्ने भनी सोध्यो ।
साहुजीले चिया दिए । हामीले एउटा एउटा कप समात्यौ... चुपचाप ।
मैले भन्दा पहिले चिया सकेर उसले साहुजीलाई चियाको पैसा दिँदै आँखा म तिर फालेर
भन्यो - “उधारो राख्ने मन नभए भोली चिया ख्वाउनु” अनि फटाफट हिँड्यो । म अलमल्ल
परिरहेँ । चिया पसले उसलाई र मलाई पालैपालो हेर्दै थिए । ऊ छेकिए पछि म पनि उठेर ऊ
गए भन्दा ठीक उल्टो बाटो हिँडेर घर फर्केकी थिएँ ।
नाम पनि थाहा नभएका हामीले सँगै कालो चिया खाएर छुटे पछि बाटोभरी उसैको कुरा
खेलाउँदै म घर पुगेकी थिएँ त्यो दिन ।
भोलीपल्ट साँझ फेरी त्यही ठाउँमा त्यसैगरी ध्यान मुद्रामा ऊ फेला पर्यो । पानी
नपरेको त्यो दिन घाम भर्खरै चन्द्रागिरी पारी लुकेको थियो । सिर्सिरे बतास,
गोधुलीको समय मलाई असाध्यै मन पर्ने बेला । मेरो उपस्थिती थाहा पाएर हो या उसको
ध्यानको समय पुरा भएकोले हो म ऊ नजिकै उभिएको पाँच मिनेट नहुँदै उसले आँखा खोलेको
थियो । सट्टामा मैले उसलाई मुस्कुराएर स्वागत गरेकी थिएँ ।
के हो जिब्रान मान्छेको ध्यान आफूमै खिच्न त तिमी माहिर रहेछौ । मैले उसलाई
तिम्रो नाम के हो भन्नु पहिले नै आफूले रोजेको नाम दिएर भनेँ ।
मेरो नाम जिब्रान हैन.....।
पख पख ! मलाई तिम्रो नाम जान्नु छैन । आज देखि तिम्रो नाम जिब्रान भयो ।
मञ्जुर भए बोलाउँला नत्र ‘ओई’ ले काम चलाउँला रोजाई तिम्रो । मैले उसलाई बीचैमा रोकिदिएँ
।
यसरी परिचय बिना नै उसले मैले नाम दिनुको कारण सोधेको थियो भने मैले बताएकी
थिएँ । त्यसपछि सुरू भएको थियो जिन्दगीलाई हेर्ने हेराई, भोगाई अनि सोचाईका कुराहरू
।
दोस्रो दिन पनि उही पसलमा कालो चिया खाएपछि मैले साहुजीलाई पैसा तिर्दै र ऊ तिर
हेर्दै भने – ‘तिमी त सोध्लाऊ नसोध्लाऊ तर तिमीलाई एउटा नाम आफैले दिएकीले भन्दैछु
। कुनै दिन बोलाउँन मन लागेमा ‘मञ्जरी’ भन्छन् मलाई ।’ अनि फटाफट हिँडेकी थिएँ
अघिल्लो दिन ऊ गए भन्दा ठीक उल्टो तिरको बाटो । फर्केर नहेरी ।
भूकम्प पछिका दिनहरूमा ऊ पहिले भन्दा झन उदास र दैनिकी प्रति अनि आफैप्रति निरपेक्ष
देखिन थालेको थियो । भेट हुँदा भन्थ्यो - “ यार किन किन अचेल यहाँ मनै लाग्न
छोड्यो । दिदीले बोलाएको बोलायै
हुनुहुन्छ... उतै जान्छु कि !” मलाई एक्लै छोडेर जान्छस् भनेर भन्न मन लागेको थियो
तर... मनको कुरा भन्न हतार गर्नु हुन्न है केटी भनेर दिमागले खबरदारी गर्यो र भनिन
।
अब कुन्नी कतिदिन टिक्छ ऊ यहाँ यसरी । कतिदिन पो बाँकी होला उसलाई भेट्न र
उसका ताल बेतालका उट्पट्याङ कुराहरू सुन्ने दिन । हिजो आज मैले उसलाई बिर्सिराखेकी
रहेछु । हुन त म आफूलाई आफै याद नरहेको बेला उसलाई कसरी पो सम्झन्थे र ! भेट नभएका
यी दुइचार दिनमा कतै उसले दिदी भएतिरै जाने सुर त कसेन ? मन हतारिन्छ उसलाई भेट्न
। ढिलो नगरी दिउँस मात्र पाहुना लागेर
आईपुगेको मिस्टर नगरकोटीको “फोसिल” उसका लागि बोक्छु र निस्किन्छु ।
{यो कथा पहिलो पोस्टमा प्रकाशित छ । }
मञ्जरिको हरेक लेख पढिसकेपछि, कत्तिबेर सम्म टोलाइरहेको हुन्छु। सुरूमा घाट(personally मन नपर्ने शब्द) भन्ने शब्द देख्ने बित्तिकै नरमाइलो फिलिङ्ग आएपनि, पढ्दै गएपछि आफु यसमै भुल्न पुगेछु। आज धेरै समयपछि फेरि यस्तो लेखमा भुल्ने मौका पाएँ। फेरि पनि छिट्टै नै, बर्सौ नकुरिकन अर्को लेख पढ्न पाम। शुभ कामना, एस्तै एस्तै मन छुने मिठ्ठो मिठ्ठो लेखको लागी।
ReplyDelete