म भित्रको म



सोच्थेँ म खुशी हुन्छु
दुनियाँ देख्छु,
फोटोमा बा (तस्विर आफ्नै)
तर मन मैले सोचे जति खुशी थिएन ।
हुनु पर्ने जति उत्साह थिएन ।
सायद देश छुट्ने पीर थियो
हो यो त्यै देश हो
जहाँ हुँदा सम्म म
दिनरात सपना देख्थेँ
देश छोडेर हिँड्ने,
अनि बिरलै फर्किने ।

सानी छँदा सोच्थेँ-
सधै ऊँधो बग्ने
त्यो ठूलो खोलाको पानी कहाँ जाँदो हो ?
बा' ले भन्नुहुन्थ्यो 'गंगाजीमा पुग्छ'
अनि त्यसपछी ? मेरा नसकिने प्रश्नहरु..
बा'ले जवाफ दिईरहनु हुन्थ्यो...
त्यस पछि सागर महासागरमा जान्छ ।

आकाशमा चील भन्दा माथी उड्ने
त्यो हवाईजहाज कहाँ जान्छ ?
'त्यो विदेश जान्छ, धेरै टाढा ।'
मेरा हरेक सवालको बा'सँग जवाफ थियो ।
झिँजो नमानि बा' मलाई सम्झाईरहनु हुन्थ्यो ।

त्यो ठूलो खोलाको गन्तव्य
अनि त्यो हवाईजहाजको गन्तव्य
मैले पनि पछ्याऊँन पाए !
पश्चिमको त्यो काफलपाने डाँडो
र पूर्वको जिलिङको टाकुरो भन्दा परको
अद्भुत संसार !
पहिले कहिल्यै नदेखेको
दन्त्य कथाको जस्तै होला वा भिन्नै ?

सुखद भविष्यको खोजिमा
आफनो प्रिय मान्छे सँग
आफूले रोजेको गन्तव्य पछ्याऊँदा
कहिल्यै छोडेन मलाई
देश छोड्दाको नरमाईलोपनले !
हरेक साँझको अस्ताऊँदो घामले
बाटो हेरिरहेका बुढा बाआमाको झझल्को बोक्छ ।
साँझको चिसो बातासले
लेकबाट बेसी बतासिने सिरेठो साम्झाऊँछ ।


त्यो बाल्यकाल,
ती खेतका आली र कान्लामा
मैले सोध्ने प्रश्न र मेरा बा'को जवाफ जस्तो
सरल छैन विदेश ।
मेरो मनमा उठ्ने यी अनगिन्ती सवालको
जवाफ मेरा बा' सँग ऐले पनि होला त ?
मैले सोचेको विदेश र
मैले भोगेको विदेशको फरकले
अचेल म अल्मल्लिरहेको हुन्छु आफैँ भित्र !

1 comment:

  1. सुमन जी हजुर ले आज ती दिनहरू याद दिलाई जुदिन बा माॅ माझ बिताईऐका थिए

    ReplyDelete