सानी हुँदा बा’ नै मेरा सबथोक थिए,
फोटोमा बा |
स्कुल सकेर घर पुग्दा बा’ले दिनुहुने
भुटेका मकै र चियामा मैले संसार देख्थेँ।
आमाबाट लुकाएर दिने रू ५ के तुलना
खै म के सँग गरूँ ?
सानै छदाँ बाले बोकेर खोला तार्नु भयो,
घाँसका मुठा बाँध्न सिकाउँनु भयो।
बनका जामुन, तिँदू, भलायो र कटुसका
स्वाद पनि चिनाउँनु भयो।
पटुकीमा पोको पारेको अम्बा र चिउरी
कहिल्यै सकिएनन् मेरा लागी।
रातोमाटो भरेर सिन्काले
बा’ले पहिलो कपुरी ‘क’ चिनाउनु भयो।
जिवनमा नैतिकता, दया र धैर्यको
महत्व सिकाउनु भयो।
बा’ले कथा भन्न र बुन्न सिकाउनु भयो
ताराहरूलाई आपसमा जोडेर
मैले चित्र बनाउँन सिकेँ।
मैले चित्र बनाउँन सिकेँ।
तिनका कथा बुन्न र भन्न सिकेँ।
मेरा हरेक अभावका अघि
बा ठिङ्ग उभिनुहुन्थ्यो
लर्खराएका पाइला अडिग बनाइदिने बा नै थिए,
उदासिएको मन र थलालिङ्ग भविष्य देखि आत्तिने म
हरेक साँझ बिहान
बा’ले दिने हिम्मत नै मेरा साथी थिए।
मैले कहिल्यै केही कुराको अभाव महशुस गरिन
किनकी मेरा बा सधैँ मेरा लागि हुनुहुन्थ्यो।
आज बालाई मेरो साथ चाहिने बेला भएको छ।
आफैँले सुनाएका कथाहरू मबाट सुन्ने मन गर्नुहुन्छ,
धर्मराएका पाइला अडिग साथी खोज्छन् ।
आँगनको छेऊमा उभिएको बुढो रुख झैँ
मेरा बा पनि मेरो बाटो हेर्नुहुन्छ।
बा’लाई साहारा दिन जानुको सट्टा
बालाई साहारा दिन
बालाई साहारा दिन
वकिङ स्टिक किन्दैछु म।
बा, म तपाइँकी असल छोरी बन्न सकेँ सकिन् कुन्नी ?
तर, म तपाइकी बुढेसकालकी साथी
बन्नै सकिन्।
तपाइको आशा, सपना पुरा गरेँ गरिन् ?
तर धर्मराएका पाइलाहरूको
साथी बन्न सक्दै सकिन।
साथी बन्न सक्दै सकिन।
त्यो वकिङ स्टिकको साथ
त्यै आँगनको बुढो रुख
अनि धमिलिदैँ गएको स्मृति,
हराउँदै गएका आशहरू
र बाटो हेरिरहने आँखाहरूको भार मैले तिर्न सकिन।
हो बा
मैले ती तपाइँका तमाम अनिंदा रातहरू बिर्साउन सकिन्।
बाटो हेरिरहने आँखाहरूको भार मैले तिर्नै सकिन।
No comments:
Post a Comment