तिम्रो चिठीको जवाफ


प्रिय 'तिमी',

फोटोः गुगल
तिमीले लेखेको बिध्युतीय चिठ्ठी पाएँ, मन रमायो । तिम्रो त्यही बिध्युतीय ठेगानामा चिठ्ठी फिर्ता नगरी आज यहीँबाट तिमीलाई चिठ्ठी लेख्दै छु। तिमीले पक्कै पढ्ने छौ'को विश्वाश लिएर। कहिलेकहीँ मलाई नियमितता भन्दा पर भागेर जीवन बाँचिदिन मन लाग्छ, त्यसैको परिणाम स्वरुप सार्वजनिक रुपमा यहाँ यसरी तिम्रो व्यक्तिगत चिठ्ठीको जवाफ लेख्दैछु । भौगोलिक हिसाबले तिमी म भन्दा कति टाढा छौ अथवा कहाँ छौ त्यो मलाई थाहा छैन र जान्ने रहर पनि छैन । तर, तिमी जहाँ होलाउ मेरो चिठ्ठी अवश्य पढ्लाऊँ सायद मैले लेखेको एकाध घण्टामै।

 कती जान्ने रहेँछौ तिमी, कसरी मेरा मनका भावनाहरु कसरी लेख्यौ होला? कसरी तिम्रा र मेरा कुराहरु यति धेरै मिल्यो छक्क पर्दैछु। हामी न बाल्यकालका साथी हौ, न त स्कुल,क्याम्पसका। अझ म त तिमीलाई चिन्दा पनि चिन्दिन । तिमीले पो मलाई मेरा लेखाईहरू पढेर चिन्दा रहेँछौ।  मेरा लेखाईमा आफुलाई भेट्ने कोही रहेँछ यो थाहा पाएर  म कत्ती खुशी भएँ बाबै ! मलाई लाग्थ्यो मेरो जस्तो जीवन भोगाई वा जिन्दगीलाई हेर्ने मेरो जस्तै नजर कसैको पनि छैन होला। तर, आज तिमीले त मेरै दैनिकी, मेरै जीवन चोरेर मलाई नै चिठ्ठी लेखेको देख्दा सपना र बिपनाको भेद छुट्याउन मलाई हम्मे हम्मे परेको थियो । आँफैलाई चिमोटे, यथार्थता बोध भयो, तिम्रो चिठ्ठी साँचो रहेँछ ।

अपरिचित साथी, मेरा हरेक कथाको पात्रमा या मेरा हरेक लेखाईमा तिमीले कुनै न कुनै रुपले आफ्नो उपस्थिती पाएछौ । ती पात्रहरू खुशी हुँदा तिमी खुशी भएको त दुख्दा तिमी पनि दुखेको खबर पाएँ। हेरन जीवन यस्तै छ, यहाँ न त सुखै सुख मिल्छ न दु:ख मात्रै। सुख दु:ख आधाआधी भन्या त्यै भएर होला है। तिमीले त मलाई कथाकार मेरी सखी तिमीले मेरै कथा लेखीछ्यौ भने छौ भनेर सम्बोधन गरेका रहेछौ, म कहाँ कथाकार हुँ र बाबै, आफ्नै मनका अनुभव, अनुभूति, केही कल्पना, अनी केही भोगाई र देखाईले जब मनमा उथलपुथल मच्चाउँछन् त्यती बेला तिनलाई जस्ताको त्यस्तै लेखिदिन्छु बस।  कतिलाई मन पर्छ कतिलाई बेकार लाग्छ । 

तिम्रो गुनासो रहेछ कि अचेल मैले लेख्न छोडे । तिमीले भनेको ठीकै हो । अचेल धेरै भयो म एकान्तमा हराउन छोडेको । काम र माम को पछि लाग्दै ठीक्क भएको हो कि अल्छी भएकी हुँ कुन्नी ! सायद जिन्दगीको दौडमा लागेर अनि अरू भन्दा पछाडि छोडिने डरले कल्पनामा घण्टौ हराउने मनलाई कतै थन्क्याएर म सुन्दर भोली भेट्न कुदिरहेकी छु । थाहा छैन त्यो भोली कस्तो र कुन रुपमा आऊनेछ । कहिलेकहीँ लाग्छ जिन्दगीलाई व्यवस्थित गर्ने बहानामा म झन अस्तव्यस्त भईरहेकी छु । हप्ता र महिना होईन वर्ष भईसकेछ लेख्न छोडेकी । पहिले तँछाड मछाड गरेर पोखिने शब्दहरु अब रोकिई रोकिई आऊँछन् । भन्छन् नि समय ज्यादै परिवर्तनशील छ । हो त्यही परिवर्तित समयको बहावमा बहेकी छु म । थाहा छैन। किनारा कति टाढा छ ! सायद कुनैदिन किनारा भेटेर जिन्दगी स्थिर हुनेछ या नहुन पनि सक्छ । जे होस् आज तिम्रो चिठीको जवाफ लेखेरै किन नहोस् फेरी ल्याप्पीसँग नजिक हुन खोज्दैछु । शब्दहरू सँग पुनः खेल्ने रहर लागेको छ । यसको श्रेय तिमीलाई है त ।

आजलाई यति फेरी फेरी तिमीलाई आफ्ना लेखाईहरूका माध्यमबाट भेट्ने कोशिस रहनेछ ।

                                   

     



No comments:

Post a Comment