गजल


त्यसै त्यसै मात लाग्छ नमुस्काउ भो समिप आई,
कुन्नी के के बात लाग्छ नमुस्काउ भो समिप आई ।

आज नजिक किन हुनु छुट्नै पर्ने भोली आउला,
यादहरु खात लाग्छ नमुस्काउ भो समिप आई ।

प्रेम,विश्वाश,आत्मियता सिमीत भयो किताब मै,
धोका मात्रै हात लाग्छ नमुस्काउ समिप आई ।

कृतिमता आडम्बर यही नै चलन चल्तिमा छ,
आफ्नोपना घात लाग्छ नमुस्काउ भो समिप आई ।

त्यसै त्यसै मात लाग्छ नमुस्काउ भो समिप आई,
कुन्नी के के बात लाग्छ नमुस्काउ भो समिप आई ।

के अर्थ ?


रहरको पो माया राम्रो कहरको के अर्थ ?
अँध्यारोमा बाँच्नेलाई प्रहरको के अर्थ ?

छोड्ने ले बिर्सन्छ पीडा भोग्ने कुर्ने ले हो,
मरुभुमी भयो मुटु नहरको के अर्थ ?

उसको बचन वाणै काफी भईदिन्छ मलाई,
मरेतुल्यै भा'छु त्यसै जहरको के अर्थ ?

बन्दैन रे मेरो ऊ देउतै भाकल गरे पनि,
उसै सँग मर्ने बाँच्ने यो रहरको के अर्थ ?

रहरको पो मायाँ राम्रो कहरको के अर्थ ?
अँध्यारोमा बाँच्नेलाई प्रहरको के अर्थ ?

सम्बोधन तिमीलाई

ओ प्रिय ! 
म तिम्री बन्न नसक्ने भएँ, 
मैले सकिन बली चढाउँन आफ्ना रहरहरुको, 
माया मार्न सकिन ती बुढा आमाबाबुको, 
अनि भुल्न सकिन खेलेको माटो । 
म सक्दिन आफुलाई, 
यो आँगन उजाडेर त्यो आँगनमा फुलाउँन, 
आफु हुनुको अस्तित्व मेटाएर, 
तिमीमा एकाकार हुन । 

ए,मेरो सपनाको राजकुमार ! 
मलाई पटक्कै विश्वास छैन्, 
सिन्दूरले रङ्गीएर बन्ने सम्बन्ध, 
आगो घुमेर खाएको कसम,
पोतेमा बेरेर अल्झाईने नाता,
अनि, नारिभरी उनिने राता चुरा, 
र दुई तन एक मनको कुरामा । 

एकादेशका कथा नसुनाऊ मलाई, 
खै कहाँ छन आज... 
जोगिनी सीता, 
दुष्यन्तले भुल्दा, विरहिणी शकुन्तला, 
र सावित्री-सत्यवान । 
अहिलेका त सुदामा पनि बनिसके धनवान । 

प्रिय ! 
यी सिन्दूर, पोते र चुरा छोडेर, 
शकुन्तला र सीता त्याग्ने परम्परा तोडेर, 
आगोको साक्षता भन्दा पर पुगेर, 
के तिमी मलाई वरण गर्न सक्छौ ? 
जहाँ,मैले आफु हुर्केको माटो, 
हिँड्न सिकेको बाटो भुल्न नपरोस्, 
अनि वनेली हावा बेगर गमलामा फुल्न नपरोस् । 

सक्दैनौ रे... 
त्यसो भए बन्द गर अब, 
सपनीमा आउँन,मेरा रहरका प्वाँख बन्न, 
हरेक झरीमा याद बनि बर्सन, 
भो भो ... 
चाहिन्न मलाई,सिन्दूर र पोतेमा 
अल्झाएर दिईने तिम्रो सम्बन्ध, 
म तिमीलाई स्वतन्त्र प्रेम गर्छु, 
र, आफै पनि स्वतन्त्र बाँच्न चाहन्छु ।।