भाग्य कि दुर्भाग्य !


म बसेको घर  मुल सडक छेवैमा छ। सडक छेवैको घरको पनि माथिल्लो तलाको सडक तिरै फर्केको कोठालाई आफ्नो सानो संसार बनाएर यहाँ बस्न थालएकी पनि अब लगभग चार वर्ष हुनलाग्यो। अचेल यो कोठाको सबैभन्दा प्रिय स्थान त्यै सडक पट्टी फर्केको झ्यालले ओगटेको छ।  त्यसो त सुरुका दिनहरुमा मलाई यो झ्याल पटक्कै मन पर्दैन थियो। तर, सडकपारि देखिने फाँटले गर्दा नै मलाई अचेल यो झ्याल मन पर्न थालेको छ। फाँट सँगै सडकको चहलपहल पनि लोभलाग्दो बन्दै गईरहेंको छ। भर्खर-भर्खर बस्ती बस्न थालेको यो फाँटको छाती चिरेर लमतन्न परेको यो कालो,धुले सडक अनी हतारिदैँ आउ-जाऊ गर्ने सबैलाई म चिन्छु। कर्मचारी,स्कुले केटाकेटी,स-साना नानी डोर्‍याउँदै हिँडेका आमाहरु,साँझ बिहान दुध बेच्ने,साग बेच्नेहरु सबै। यहाँ झ्यालबाट बाहिरको चहलपहल नियाल्नु मेरो दैनिकीको अनिवार्य अङ्ग भईसकेको छ।
यो झ्यालबाट यसरी वरपर नियाल्नुमा मेरो कुनै उद्देश्य छैन। मलाई नजिकबाट चिन्नेहरु अनी कहिलेकहीँ भेट्नेहरु सबैले भन्ने गरेको एउटै कुरा त्यो हो कि म थोरै बोल्छु। यसर्थ,मेरा धेरै कुराहरु अव्यक्त्त रहन्छन। यहाँ बस्न थालेको यतिका वर्ष बितिसक्दा पनि म कसै सँग परिचित हुन सकेकी छैन।बिहान क्याम्पस जानु बाहेक मुस्किलले घर छेवैको पसल सम्म निस्कन्छु कहिलेकहीँ आवश्यक सामान किन्न नत्र कसैसँग आँखा जुधाउँनु,गफ गर्नु जिस्कनु, साथीसङ्गी जम्मा भएर गफ्फिनु या कतै घुम्न जानु यी सबैबाट धेरै टाढा छु। यी सबको साटो म कोठामै किताब च्यापेर घण्टौ हराउन मन पर्छ। म आफ्नै आदर्श बोकेर हिँड्ने गर्छु। हुन सक्छ अझ सम्म मेरो आदर्श काँचै छ,अनी यही काँचो आदर्शकै कारण होला मेरो कुनै लक्ष्य छैन,कुनै गन्तव्य छैन। कहिलेकहीँ आँफैलाई पनि आफु एकतमासको लाग्छ। साथीभाई,घुमघाम,फिल्म वा अरु यस्तै मनोरञ्जन छोडेर एक्लै कल्पनामा उड्नुमा,किताबमा हराउनुमा म त्यस्तो के भेट्छु कुन्नी? तर,अब यही एकतमासको जिन्दगीको अभिन्न अङ्ग भएर आएको छ यो झ्याल अचेल। कस्तो मनोरञ्जन भेट्छु कुन्नी,तर म चौपट्टै खुसी भेट्छु त्यहाँ आफुलाई सडक पढ्दै र भुल्दै गर्दा ।
यी साउनका अन्तिम दिनहरु हुन। भर्खरै पानी परेको आकाश उघ्रिएको  छ। बिहानी क्याम्पसको जागिर सकेर म भर्खर यही झ्याल छेउ हराउन आईपुगेकी छु। म बसेको घर नजिकै स-साना नानीहरुको नयाँ स्कुल खुलेको छ। आज पनि यो सडकको चहलपहल सुरु भईसकेको रहेँछ। कर्मचारी,हुर्केका स्कुले केटाकेटी र स-साना नानी स्कुल पुर्‍याउँन हिँडेका आमाहरुको हतारो देख्दा मलाई यी सबै प्रतिस्पर्धी झैँ लाग्छन। त्यतिकैमा देख्छु- अन्दाजी ३० ३२ जतिको देखिने पुरुष हतारिँदै एउटी राम्री सानी बच्ची  डोहोर्‍याउँदै त्यही दौडमा सहभागी भईरहेँको छ। सानी केटी हिँड्न मानिरहेँकी छैन,बरु ऊ पसल तर्फ औल्याईरहेँकी छ। सायद चकलेट किन्न भन्दै होली बाबालाई। तर उसको बाबा सुनिरहेँको छैन,तानेकै भरमा ऊ छोरीलाई हिँडाई रहेँको छ। उसलाई छोरी स्कुल पुर्‍याएर कार्यालय पुग्ने हतारो होला। मेरो झ्याल समुन्ने आईपुग्दा छोरी चैँ आफुले बोकिराखेको सानी चिटिक्क परेको झोला हुत्त्याउँदै बिद्रोह गर्छे। म चुपचाप हेरिरहन्छु तर अनायासै हाँसो फुत्कन्छ। असभ्य लाग्छु म आँफैलाई यसरी उनिहरुलाई नियालेर हाँसेकीमा, छोरीले फालेको झोला टिपेर संयोगबश हो या मेरो हाँसो त्यहाँ सम्म पुगेकोले हो ऊ मलाई झ्यालमा देख्छ। म पनि हेरिदिन्छु उसैलाई,लाज माने झैँ हाँसु कि नहाँसु गर्छ तर मन हर्ने उसको मुस्कान फुत्किहाल्छ। जुधेका आँखा छल्दै छोरी र झोला बोकेर ऊ त्यहाँबाट अलप हुन्छ।
छोरी सहित ऊ त्यो मोडबाट अलप भए पनि मेरो मन बाट ऊ अलप भईसकेको छैन। गहुँगोरो अनुहारको एक जोडी गहिरा आँखाले मलाई अझै नियाली रहेँ झै लाग्छ। आजको दिन एक बिशेष दिन,आजको हेराई एक बिशेष हेराई अनी आजको संयोग पनि त्यस्तै बिशेष। उसको मन हर्ने मुस्कान म कोशीस गर्दा पनि भुल्न सक्दिन। कता कता कुत्कुती लाग्छ,रमाईलो लाग्छ। कुन्नी कस्तो अनुभव हो यो ठम्याउन सक्दिन। नौलो लाग्छ ठम्याउने कोशीस गर्छु तर अँह पटक्कै सक्दिन। यो झ्याल झन प्रिय लाग्छ, नौलो र रमाईलो लाग्छ। यस भन्दा अघी मैले आफु भित्र यो विचित्र भाव र चञ्चलता कहिलै अनुभव गरेकी थीइन। किशोरावस्थामा नलागेको कुत्कुती अनी चञ्चलता अब किन ? जिन्दगी रित्तो भएर हो या भरिएर हो म सँग सम्झन र बिर्सनलाई केही पनि छैन।
त्यस दिन देखी यता उसलाई म सधैं देख्छु। अब म सँग कल्पना गर्नलाई एउटा छायाँ छ भने सोच्नलाई बिषय। एक हिसाबले म बिहान क्याम्पसबाट हतारिदै घर अब उसैका लागि आउने गर्छु। ऊ पनि हरेक दिन त्यही सानी छोरी डोहोर्‍याउँदै आउँछ र मेरो झ्याल सामुन्ने आईपुगेर केही न केही बाहानामा झ्यालमा हेर्छ। आँखा जुध्दा उही हाँसु कि नहाँसुको दोधारमा हुन्छ तर सधैं उसको मन हर्ने हाँसो फुत्किहाल्छ। सधैं झै आज पनि ऊ छोरी बोकेर मेरो झ्याल तिर हेर्छ तर म उसलाई नदेखेको बाहाना गरिदिन्छु। सायद ऊ मलाई पर्खन्छ एकैछिन र निराश भएर बाटो लाग्छ। अलीपर पुगेर फर्केर हेर्छ, यसपटक उसलाई म निराश पार्दिन। उसलाई हेर्दै थोरै हाँसिदिन्छु ऊ मुसुक्क हाँस्छ र उज्यालो अनुहार लाउँदै बाटो लाग्छ।
खाटमा पल्टन्छु र सोच्छु, यो के हो ? किन हुँदै छ? म अरु भन्दा भिन्दै छु,अरुको भन्दा मेरो आदर्श छुट्टै छ। १५ १६ को उमेरमा चन्ञ्चलताले छोएन,कहिलै कसैलाई प्रेम गरुँ जस्तो लागेन,गृहणी बन्ने रहर कहिलै जागेन। बिहे गर्ने सोख अहिले सम्म पलाईसकेको छैन। भन्छन जन्म, मृत्‍यु र विवाह आफुले चाहेँर हुने होइन,यो पहिले नै तय हुन्छ। जन्म मृत्‍यु झै विवाह पनि एक संयोग मात्रै हो त्यसैले बिहे अब पनि हुनसक्छ तर त्यो रहरलाग्दो भने अब हुँदैन। सम्झन्छु- चार,पाँच वर्ष पहिले आमाबाले बिहे गर्न ठुलै जोड गर्नु भएको थियो। तर, मैले वहाँहरुको कुरा पटक्कै सुनिन। उतीबेला वहाँहरुले भने अनुसार मैले बिहे गरेकी भए म सँग मेरो लोग्ने,घरबार,आफन्त सँगै छोराछोरी उसले डोर्‍याएको छोरी जत्री भईसक्थे होला।
भदौको आरम्भ छ। साउनेबाट बिस्थापित भएर अब झरी भदौरे भएको छ। भर्खरै म हतारिदै क्याम्पसबाट आईपुगेकी छु। अब उसको पनि छोरी डोर्‍याउदै आउने बेला भयो। म झ्यालमा पुग्छु, सधैं झै सडकमा चहलपहल सुरु भईसकेको हुन्छ तर पल्लो मोड सम्म पनि उसको उपस्थितिको संकेत भेट्दिन।  आश मर्दैन,'पक्कै आउँछ' सोच्छु र त्यहीँ बस्छु। सडक सुनसान लाग्छ उसको उपस्थिती बिना। किन किन उसलाई र उसकी छोरीलाई देख्न मन छट्पटिन्छ। ऊ मेरै लोग्ने र त्यो सानी बच्ची आफ्नै छोरी भए झैँ उनीहरुको अनुस्थितीमा आफु नितान्त एक्ली पाउँछु। खोज्न जाउँ कहाँ जाउँ नजाउँ त्यसै त्यसै अत्यास लाग्दैछ। कुनै बोझ एक्कासी छातीमा महशुस गर्छु र पनि उठेर हिँड्ने पटक्क मन छैन। उसै गरी चुपचाप बसिरहन्छु।
                                                    *******
'मुनु कहाँ छ्यौ तिमी, नानु र मलाई खाना रेडी गर त अबेला हुन लागिसक्यो।'
'पाकिसक्यो आऊ, नानुलाई ड्रेस लगाएर तयार पार्यौ त? अनी आफु पनि अफिस जान तयार हौ छोरी भन्दा सानो बनेर अहिले मलाई सताउने हैन।'
'छोरीलाई त मैले तयार पारेँ,अब मलाई तिमीले' भन्दै ऊ मलाई अँगाल्न भान्सामै आईपुग्छ।
ह्याँ, नजिस्क है यो पनि जिस्कने बेला हो? ढिलो हुन लागिसक्यो ल तुरुन्त खाना खान बस।
छोरी र उसलाई खाना ख्वाई, उसलाई अफिसको लागि रेडी गरेर गाडी सम्म पुर्‍याउन जान्छु। छोरीलाई पहिले लगेर सिटबेल्ट बाँधिदिन्छ र ऊ आफु पनि डाईभिङ्ग सिटमा बस्छ।
'मुनु,चावी...... ??      भन्दै ऊ फटाहा हाँसो हाँस्छ।
'कसलाई थाहा नभएको हो र माहाशय कि हजुर जानिबुझी चाबी छोड्नुहुन्छ भनेर, लौ लिनुहोस्।'
चाबी लिने बाहानामा ऊ मेरो हात समातेर तान्छ र सधैं झै निधारमा माया गर्छ।जानी,बुझीकनै ऊ गाडीको चावी छोड्छ जुन मैले उसको पछी पछी लिएर जानु पर्छ। गाडीले गेट बाहिर सडक समाते पछी गेट बन्द गर्छु र सन्तोषको लामो सास तान्छु। सानी छोरीलाई स्कुल पठाउँन भन्दा धेरै उसलाई अफिस जान फकाउँनु पर्छ,जुन आजलाई सकिएको थियो। दिउँस उनिहरुलाई खाजा के बनाईदिउँ सोच्दै आफ्नै वरपर फूलेका फूलहरु नियाल्छु। आफ्नो वरपर फूलेका फूल र मेरो जिन्दगीका फूलेका यी दुई फूलहरु मलाई उस्तै लाग्छन।
एउटा सानो चिटिक्क परेको घर, दाँया बाँया र अगाडि सानो तर विभिन्न रङ्गका फूलहरुले सजिएको बगैँचा। माया गर्ने लोग्ने,उस्तै प्यारी छोरी सहितको सम्पन्न जीवन म आफुलाई चारैतिरबाट पूर्ण ठान्छु र आँफैमा मुस्कुराउँछु। वरपरका फूलहरुले पनि मेरो खुशीमा साथ दिन्छन। धर्मकर्म,दानपुण्य ले सेख पछि अरुले भोग्ने स्वर्ग मैले अहिलै भोग्दैछु झैं लाग्छ। स्वर्ग पनि मेरो सानो घरको खुशी देखेर ईर्ष्या गर्दो हो यसकारण की उसको झै सुख मैले नमर्दै भोग गरेकी छु।
                                                      *******
एक्कासी बजेको पुलिसको साईरनले झसङ्ग हुन्छु या भनौँ मेरो कल्पना टुट्छ। उसको आउने बाटो हेरेर यो झ्यालमा बसेकी मैले कल्पनै कल्पनामा उसलाई आफ्नो लोग्ने र उसकी सानी छोरीलाई आफ्नै छोरी ठानेर एउटा सानो र सुन्दर घर संसारको परिकल्पनामा डुबेछु, के मेरो मनमा अहिले सम्म नपलाएको घरबार र गृहणी बन्ने रहर उसलाई र उसकी छोरीलाई देखे पछी पलाएकै हो त? आफ्नै मन सँग प्रश्न गर्छु र पुन: सडकतिरै नियाल्छु। सडकको चाल फेरिएको छ। आउने जाने हुनुपर्नेमा अहिले सबै जना त्यै पुलिसको गाडी गए तिरै दौडदै छन।' यो एक्कासी चालमा परिवर्तन किन हँ?' सोच्न भ्याउँदा नभ्याउँदै आफु पनी त्यै भिडलाई पछ्याईरहेकी  भेटेँ। भिडमा प्राय: सबै मैले सधैं सडकमा देख्ने गरेका परिचित अनुहार मात्रै देख्छु। ती मध्ये थोरैले मात्र मलाई यस टोलमा देखेका होलान र औलामा गन्न सकिने सँग मात्र मेरो दोहोरो कुरा भएको छ। पल्लो मोडमा पुगेर त्यो दौडिएको भिड रोकिन्छ। झुरुप्प भएर वरपर सबै बसेकाले के किन केही भेउ पाउँदिन। आफु सँगै उभिरहेँका पसले बालाई देख्छु। मेरो दोहोरो कुराहुने मध्ये वहाँ पहिलो व्यक्तिमा पर्नुहुन्छ।
'के भएको रे'छ बा? तपाईले केही थाहा पाउँनु भयो त?' राम्रै याद छ कि पसले बालाई यती सोध्दा मेरो बोली मुस्किलले निस्किएको थियो। कारण केही पनि थिएन र पनि मेरो मन आत्तिएको प्रष्टै थाहा पाएँ।    
'के हुनु नानी एउटा मोटरसाईकिल चलाऊने केटाले त्यै पल्लो टोलमा बस्ने हाकिम सापलाई हानिदिएछ। बिचरा! अस्पातल लैजान पनि भ्याएन'छन।' पसले बाले मलिन स्वरमा भन्नु भयो।
'ए! काँ'का रे'छन कुन्नी? आफ्ना आफन्त साथ थिए कि थिएनन होला?'
'खै नानी,तर सधैं यै बाटो हिँड्थे, साह्रै मिजासिला थिएँ। अब ती सानी केटीको बिजोग हुने भयो, आमा चैँ पनि छैन भन्थे।'
पसले बा'का कुरामा आएकी सानी केटी कतै त्यै सानी, राम्री उसकी छोरी त हैन जसलाई एकछिन अघी मेरो कल्पनामा आफ्नै छोरी ठानेकी थिएँ र त्यो मिजासिलो हाकिमा कतै उही हाँसु कि नहाँसुको दोधारमा आफ्नो मधुरो मुस्कान फुत्किएको थाहा नपाउँने उही त हैन? हे भगवान! यस्तो नहोस्। मन मनै ईश्वर पुकारेँ। मेरो मुटु यसरी उफ्रियो कि अहिलै फुत्त बाहिर निस्किन आँट्दै छ। आफ्ना दुबै हातले उफ्रिएको मुटु बाहिरैबाट थिचेँ र भिडको माझमा पसेर त्यो मान्छेलाई चियाएँ।
     मैले जे नहोस् भने दुर्भाग्यवश त्यै भएछ। त्यो मान्छे उही थियो। वरपरको सडक रातै देखेँ। सारा दुनियाँ एक्कासी अँध्यारो लाग्यो। जसोतसो आफुलाई त्यहाँबाट पाखा लाएर भिड मुक्त पारेँ र छेवैको ढिस्कोमा बसेँ। मन मस्तिष्क शुन्य थियो। भर्खरै सम्म उसको र उसकी सानी छोरीको पर्खाईमा बसिरहेँकी म अहिले यो सब....एक्कासी ती सानी छोरीको याद आयो। हतारिदैँ फेरी भिड छिचोल्न थालेँ। सानी छोरी त्यहिँ छेवैमा एकहोरी भएर अब उसलाई एक्ली पारेर गहिरो निद्रामा सुतेका बाबुलाई हेर्दै रहिछे।
सधैं झैँ आफ्नो बाबुको हात समाउँदै कहिले रिसाउँदै त कहिले खुशी हुँदै आज पनि ऊ आउँदै थीइ होली। म पनि त सधैं झैँ उनिहरु आउँने पर्खाईमा थिएँ अघी सम्म। तर नियती....चुपचाप सानी छोरीको छेउमा गएँ तर उसलाई होस् भए झै लागेन। ऊ मुर्तीवत खडा थीइ।  उसलाई उठाएर काँधमा अडेर लाएर बोकेँ। जब छोरी बोकेर त्यहाँ बाट हिँड्ने तर्खर गरेँ तब त्यहाँ जम्मा भएकाहरुले गुनगुन केही भने झैँ महशुस गरेँ तर मैले कसैका कुरा सुन्न पट्टी ध्यान लाईन,काँधमा मुर्तीवत बनेकी छोरी बोकेर चुपचाप भिड छिचोल्दै घर तर्फ लागेँ।

4 comments: