त्यो झरी र यो झरी


लगातार परेको पानीले दिन रुझेको छ। यो रुझेको दिनले मलाई बिगतको यादमा रुझ्न बाध्य पार्दै छ। त्यो बिगत जसको स्‍मृतिमा म घण्टौ हराउन सक्छु अनी त्यै बिगत सम्झेर हाँस्न र टोलाउन सक्छु।
त्यतिखेर मैले उसलाई भर्खर भर्खरै चिनेकी थिएँ। दुई चार भेटमै हामी धेरै नै नजिक भईसकेका थियौ। सुरु सुरुमा उसको थोरै बोल्ने र लाज मान्ने बानी देख्दा हाम्रो सम्बन्ध यती नजिक हुन्छ भन्ने मेरो कल्पनामै आउँदैन थियो। तर, दिनप्रतिदिन मलाई उसको त्यहीँ बानीले नै आकर्षित गर्दै थियो। हाम्रो परिचय भएको सायद एक महिना पुगनपुग भएको हुँदो हो त्यो झरीमा हामी भिज्दा। त्यो भेटाई अनी भिजाई योजानाबद्ध पनि थिएन। आ-आफ्नै काममा निस्केका हामीले बानेश्वरमा एक अर्कालाई भेटेका थियौ। बसाई एकैतिर भएकाले सँगै जान उसले भन्यौ। 'पानी परेको छ भिजिन्छ भैगो म बस मै आउँछु' भनेर टार्न पनि खोजेकी थिएँ मैले, तर उसले फेरी यसरी पानी परेको बेलामा सँगै हिंड्ने साईत जुर्ला या नजुर्ला,जुरेको साईत किन बिगारछ्यौ भन्दा म उसको लागेकी थिएँ।
 शंखमुलको बाटो हुँदै मंगलबजार निस्किने तयारीमा थियौ हामी पानी त बिहानै देखी परेकै थियो तर बंगलामुखी देखी तलतिर लाग्दा बाटो त हाम्रो गाउँको खोलो झैँ पो देखियो। फर्कौ यो बाटो बरु घुमेर जाऔँ पनि भने उसलाई तर उसको मनमा के थियो कुन्नी त्यै बाटो जाने ढिपी छोडेन। त्यसो भए पर्ख म चै हिंडेर जान्छु भनेर उसलाई मोटरबाईक रोक्न लगाएँ र झरे। पानीमा झन्डै झन्डै पुरै डुबेको बाईक सँगै ऊ बिस्तारै अघि बढ्दै थियो। सायद खाल्डो हुँदो हो बाईकत्यही फस्यो, ऊ पनि लड्न ठीक्क पर्‍यो। छेउको पसलको सिढिँमा उभिएकी मैले उसलाई हात बढाउँदै माथि आऊ भने। ऊ माथि उत्रने हैन कि मलाई पो पानीमा खसालिदियो। छेउछाउका पसलेहरु हलल्ल एकै चोटि हाँसे। म न हाँस्न सके न ऊ सँग रिसाउन नै।
दुई तीन जना पसले दाईहरुले बाईक निकालेर अली पर्तिर राखीदिनुभयो। ऊ भने अरु सँगै हलल्ल हाँस्दै थियो,मलाई भने दिक्क लाग्दै थियो उसको हर्कतले तर पनि ऊ माथि रिस खन्याउन भने सकिरहेँकी थीइन। 'अघी त भिजुँजा भन्ने पिर थियो तिमीलाई अब चैँ यै पानीमा डुबिरहन्छौ कि बाहिर पनि निस्कने?' खितित्त हाँस्दै अझै मलाई नै पो जिस्क्याउँदै थियो ऊ। उसले समातेको हात झट्कार्दै फुत्काएर केही नबोली र कसैलाई नहेरी फटाफट पानी नभएको ठाउँ तिर पाखा लागेर बसे। ऊ भने अझै उतै ती पसलेहरु सँग हाँस्दै थियो। 'आउँनै हुँदैन थ्यो तँ खुबै ज्ञानी भएर आउनु परेको थियो नि भोग अब' भन्दै आँफै सँग मुर्मुरिदैँ बसेँ। ''मलाई गाली गरेको हो कि क्या हो? मलाई गरेको गाली मैले नै सुन्न नपाउने यो त अली अन्याय भएन र भन्या?'' भन्दै ऊ म भए तिर आयो। उसले यस्ता कुरा पनि जानेको रहेँछ। आज सम्म यो रुप चै कता लुकाएर राखेको रहेँछ म मन मनै सोच्न थाले। 'कफी खाउ पहिले अनी जाउला है घर अब यसै भिजेको उसै भिजेको के हतारो हैन र?' फेरी उसैगरी खितित्त हाँस्दै भयो। 'अँ यो हालतमा कफी' मेरो बोलीमा रुखोपन टड्कारै आयो।
'तिम्रो रिस हराउने कफी खुवाउँछु पर्ख तब तिमीलाई यो झरी जीवन भरी याद रहन्छ' भन्दै ऊ हिँड्यो। लुगा भिजेकोले बस्न त सक्ने अवस्थामा थीइन त्यसैले उसलाई पछ्याएँ,तर अली परको मन्दिरको छानो मुनी ओत लागेर बसेँ। दुबै हातमा कफी बोकेर ऊ छेउ आईपुग्यो र कफी म तर्फ बढाउँदै भन्यो 'लाउ, अनी एउटा कुरा भन त आजको दिनको यादमा आगामी दिनमा तिमी रिसाउछ्यौ कि हाँस्छ्यौ हुँ?'
कफी लिदैँ घुरेर उसलाई हेरेँ मात्रै केही जवाफ दीइन।
कफी सक्यौ तर पानी उतिकै परिरहेकै थियो। भिजिएला भन्ने डर अब बाँकी थिएन त्यसैले जाने हैन घर जाडो भईसक्यो' बाँकी रहेको रिस दबाउदै बोले। 'जाने हो जाने लौ हिँड' भन्दै ऊ अघी लाग्यो म फेरी उसलाई पछ्याउन थालेँ। मलाई मेरो कोठा सम्म पुर्‍याएर ऊ पनि घर गयो। एकाध घण्टा पछी तुरुन्तै मलाई ज्वरो आउन थाल्यो। सिरक ओडेँ र सुते भोली ठीक होला भन्ने आशामा। एकैछिनमा उसको फोन आयो। 'तिम्रो हर्कतको परिणाम भोग्दैछु सुतेर ज्वरो आ'को छ।' फोनमा उसलाई घुर्क्याउनु सम्म घुर्क्याएँ र फेरी सुते।
सायद निदाउन लागेकी थिएँ या एक्कासी बढेको ज्वरोको असार थियो ढोका ढक्ढक्याएको आवाजले झस्किएँ। 'यो नसकेको बेलामा फेरी कुनै चै मुन्ट्यो बिथोल्न सोच्दै ढोका खोले उही रहेँछ। 'फेरी किन के भो?' झरीले होला झमक्कै साँझ परिसकेको बेला उसलाई आफ्नो सामु देख्दा अचम्म लाग्नु स्वभाविकै थियो। 'किन आउँनु हुन्न र? जाउँ त उसो भए' भन्दै उल्टै मलाई पो घुर्की लाउँदै हिंड्न खोज्छ।'ल भयो आऊ' भन्दै बाटो छोडिदिन्छु। 'हिँड' भन्दै ऊ मलाई अघी लाउँछ र आफु पनि आउँछ।
म फेरी सुतिदिन्छु। 'के साँच्चै ज्वरो आयो तिमीलाई?' उसको सोधाईले झनक्क रिस उठ्छ र भन्छु 'हैन ख्याल ख्यालको ज्वरो हो। अनी कोल्टे फेरेर सुत्छु। 'के खायौ त?' ऊ फेरी सोध्छ।
'केही न केही' मन नलागी नलागी बोल्छु।
'म सुप बनाईदिउ? पानीमा भिजेको भएर एलर्जीको ज्वरो आको हो तातो सुप खाउ बिसेक हुन्छ फेरी म सेफ हुन लायक मान्छे कतो मिठो पकाउन जान्या छु तिमीलाई के थाहा र?' भन्दै ऊ किचन तिर लाग्छ।
 म चुपचाप सुतिरहन्छु।
'एई निदाएकी,उठ उठ मैले सुप बनाएको छु लाउ' ऊ झक्झक्याउन आईपुग्छ फेरी।
'खान्न,मन छैन आँफै खाउँ'रिस देखाउने कोशीस गर्दै बोल्छु।
'म त खाईहाल्छु नि,म पनि पो भिज्या छु त अनी म चै किन नखानु त' हाँस्दै बोल्छ र सुप दिन्छ।
भोक पनि लागेको थियो जाडो घटेको पनि थिएन त्यसैले उठेर सुप खाएँ। बाहिर रिस देखाउने कोशीस गर्दै थिए तर मन भने ऊ प्रती माया उमार्दै थियो।
'ल अब यो औषधी खाउँ भोली बिहान सम्ममा यो ज्वरो भागेन भने मलाई भन्नु' भन्दै तातो पानी र औषधी दियो। ल अब सुत।
'तिमीलाई घर जान पर्दैन? तिमी जाउँ राती भईसक्यो।'
'म गईहाल्छु नि, पैले तिमी त सुत।'
उसको जिद्धिको अघी मेरो सधै हार नै हुन्छ र पनि त्यो हार मलाई मिठो लाग्छ। उसको कुरा मानेर चुपचाप सुत्छु।
                                              ********
पानीको कुटाईले थाकेको रात बिदा माग्ने तर्खरमा हुँदा पुर्वतिर सुर्यले आफ्नो आगमनको संकेत दिँदै गरेको हुन्छ। हिजो साँझको ज्वरोले संकेत सम्म पनि आफुमा बाँकी नरहेको र एउटा सुन्दर बिहानिको आगमको संकेत सँगै बिउँझन्छु। हिजो दिउँस देखी साँझ सम्मको घटना खर्खर्ती सम्झन्छु। एक्कासी उसको याद आउँछ। कती बेला घर गयो, न ऊ पनि पो बिरामी पर्‍यो कि मन त्यसै त्यसै आत्तिन्छ। फोन गर्छु सोच्दै फोन खोज्न उठ्छु। आफ्नै आँखा प्रती विश्वास लाग्दैन, आँखा मिचेर पुन: हेर्छु भुँईको गलैचामा पछ्यौरा ओढेर हातको सिरानी लाएर मस्त निदाईरहेको छ ऊ। नछोपिएको उसको अनुहार नियाल्न थाल्छु, निष्कपट अनी मायालाग्दो देखिन्छ ऊ। हेरिरहन्छु तर धितै मर्दैन। ऊ बिउँझला भन्ने डरले छोप्छ, ओड्ने तानेर पछ्यौरा माथि ओढाईदिन्छु र नुहाउन बाथरुम पस्छु। नुहाई सकेर आउँदा पनि ऊ निदाई रहेँकै हुन्छ। किचन पसेर दुई कप कफी बनाउँछु र ब्रेड टोस्ट गरेर ठीक्क पार्छु र लिएर आउँदा पनि ऊ निदाई नै रहेको हुन्छ। निदाई रहेको उसलाई गहिरिएर नियाल्छु वर्षौ पहिले बिछोडिको आफन्त झैँ लाग्छ। किन किन उसमा आफनत्व मात्रै पाउँछु। हिजोको रिसको नामोनिशानै भेटिन आफ्नै मन देखेर छक्क परेँ। हिजोको उसको हर्कतमा पनि आत्मियताको पाउँन  थालेँ !
'एई उठ' सिरक बहिरै बाट घच्घच्याउँछु।
आँखा खोल्दै बोल्छ 'गूड मर्निङ!'
'गूड मर्निङ, अझै पुगेन निद्रा? हाँस्दै सोध्छु।
'पुग्यो नि अब, बिउझाएर अनी अझै निद्रा पुगेन रे' मायालु तर घुर्क्याएको बोली बोल्छ।
हाँस्छु मात्रै केही बोल्दिन। ऊ उठेर कफी पिउँन थालिसकेको हुन्छ। म उसलाई हेरिरहन्छु। यस्तो लाग्छ वर्षौ पछी मात्रै देख्दै छु उसलाई।
                                        *******
आज वर्षौ पछि यो झरीमा मैले उसले त्यो झरीमा सोधेको प्रश्नको जवाफ भेट्टाएकी छु। तर, अफसोच! यो झरीमा म एक्लै छु।ऊ परदेशी भएको धेरै भईसक्यो।  यो झरीमा मलाई भिज्न कर गर्ने ऊ म सँग छैन,छ त केवल ती दिनका याद अनी उसको त्यो मायालु व्यवहार। आज उसलाई भन्न मन लागेको छ कि ''त्यो झरीको सम्झनाले म भित्र रिस होईन खुशी ल्याउँछ, तिम्रो आफ्नोपन याद आउँछ र फेरी त्यसै गरी रुझ्न मन लाग्छ।'' उसको ठाउँमा झरी पर्दा उसले मलाई सम्झन्छ या सम्झदैन तर मैले भने त्यो झरी पछीका हरेक झरीहरु उसैको यादमा बिताउने गरेकी छु। ऊ फर्कनेछ अनी ऊ सँगै त्यो झरी फेरी फर्कनेछ भन्ने झिनो आशाका साथ यो झरी उसैको नाउँमा।

7 comments:

  1. साच्ची मैले बुझ्न नसकेको कुरो | यो ब्लगमा लेखिएका हरेक कुरा सत्य घटना जस्ता लाग्चन | साच्ची बिगतमा घटेकै कुरा त हैनन नी

    ReplyDelete
  2. लेखाईको बिज भने सत्यमै आधारित हो तर पुरापुर सत्य भने होइन बाँकी काल्पनिक फूलबुट्टा !!

    ReplyDelete
  3. 'त्यो झरीको सम्झनाले म भित्र रिस होईन खुशी ल्याउँछ, तिम्रो आफ्नोपन याद आउँछ र फेरी त्यसै गरी रुझ्न मन लाग्छ।'' उसको ठाउँमा झरी पर्दा उसले मलाई सम्झन्छ या सम्झदैन तर मैले भने त्यो झरी पछीका हरेक झरीहरु उसैको यादमा बिताउने गरेकी छु। ऊ फर्कनेछ अनी ऊ सँगै त्यो झरी फेरी फर्कनेछ भन्ने झिनो आशाका साथ यो झरी उसैको नाउँमा....saral vasa, chhoto ani mitho lago yo bastabik ho ya ek kalpana matra ....

    ReplyDelete
  4. रिप्लाई माथिको कमेन्टमा छ है :) :D

    ReplyDelete
  5. हरेक रचनाहरु कोहि न कोहिको वास्तविक जीवनसंग मेल खाने खालका छन् । सबैले सुमनजीका वास्तविकतासंग तादम्यता नराखे पनि निश्चय नै कोहिसंग मेल खाने छन् ।

    ReplyDelete
  6. सहि भन्नुभयो। धन्यवाद !

    ReplyDelete
  7. यती मिठो त्यो दोस्ती अनी contact हुन्न त दि?

    ReplyDelete