अपरिचित आकर्षण

कक्षा छुटेर निस्किदै गर्दा एउटी (पहिली) साथी कराउँछे:
 'यार,लखरलखर एक्लै हिँड्न तँलाई कती पनि झ्याउ लाग्दैन हँ ?'

'यसलाई किन झ्याउ लाग्थ्यो नि एक्लै हिँड्न पाए बरु हामीसँगै हुँदा चै झ्याउ लाग्छ नि हैन?' बोल्दै गरेकीलाई जवाफ फर्काए झै गर्दै  अर्की (दोस्री ) मलाई सुनाउँछे ।

'भयो चुपलाग् नक्कली हो,सधैं एउटै कुरामा कती कचकच गर्न सकेका खुरुखुरु हिँडओ अहिले बस छुट्छ अनी खान्छौ ठुलो भाग ।' अर्की (तेस्री ) न्यायधिस्नी हुन्छे ।

यी तिनवटी र म, हामी एउटा फ्ल्याटमा सँगै बस्छौ । कोही पुर्व कोही पश्चिमका भए पनि हाम्रो भेट गराएको थियो विश्वविद्यालय क्याम्पस कृतिपुरले । झन्डै समान उमेरका हामी एउटै कक्षाका सहपाठी हौँ । पहिलो वर्षको आधाआधीबाट सँगसँगै बस्न थालेका हामीले थेसिस पनि सकेर मात्र आ-आफ्नो बाटो रोज्ने निर्णय गरेका छौँ। अहिले सम्म राम्रै मिल्ती छ निहुँ खोज्ने यदाकदा मैले हो सहिदिन्छन् उनीहरु मेरो यस बानीलाई !त्यसैले यतिका समय यिनीहरु सँगै छु म । ....नत्र असरल्ल छरिएको लुगाफाटो र किताब अनी कफिका जुठा कपहरुले भरिएको कोठामा एक्लै बसिदिन्थेँ होला म निस्फिक्र। आजको यो झटारो चै आजपनि म उनिहरुसँगै घर नफर्की फेरी पाटन दरबार स्क्वायर तिर रल्लिन जाँदै छु भन्ने थाहा पाएपछी फालिएको हो ।

'ओेए, आज म पनि जान्छु नि है तँ सँगै, बरु केही बोल्दिन नि अनी तँ सँगै पनि हिँड्दिन डिस्टर्ब गर्छु झै लाग्छ भने।' उही पहिली साथी मलाई फकाउने सुरले भन्छे ।

अरु दिन झै अब उनिहरु '' जाओ न आँफै आँफै... सधैं नारिएर हिँड्नु पर्छ भन्ने छ र?' भन्ने मेरो रुखो जवाफ सुन्न सबै तम्तयार भए झै देखिन्छन तर म केही बोल्दिन। ज्याकेटको दुबै खल्तिमा हात हालेर बाटोका ससाना ढुङ्गालाई लात हान्दै  तिनलाई बल बनाएर एकहोरो हिँड्छु ।

'सुनओ न आज तिनकुने तिर बाट बस नचढौँ ल, हतार के छ र नेपालबैँक हुँदै तलको गेटबाट निस्कुँ न है ।'
म तिनकुनेतिरको बाटो छोडेर अर्को बाटो लाग्छु ।

यन्त्रचालित तिनकुनेतिर सोझिएका उनिहरुको पाईला टक्क अडिन्छ मेरो कुरा सुनेर। तीनवटी नै मुखामुख गर्छन् र मलाई हेर्छन। कुन्नी किन हो उनीहरु मेरो कुरा काट्दैनन,मेरै पछी लाग्छन ।  हुन त म उनीहरुसँग खासै दोहोरो बोल्दिन उही काम परे मात्र हो । खाना पकाउने, भाँडा धुने, कुचो लगाउने जस्ता घरयासी काममा आफु आफु पालो गर्छन् तर उनीहरु मेरो बाटो हेर्दैनन,यो सबैको सट्टामा हरेक शनिवार बजार गईदिनु पर्छ मैले उनीहरु सँग। पहिली र दोस्री भन्दा शायद तेस्री सानै देखी होस्टलमा हुर्केकी म अनी मेरो स्वाभावलाई राम्ररी र सही बुझ्छे। उसैले ती दुईटी र मेरो चित्त यथास्थानमा बुझाउँछे। सधैंको लापर्वाही म अनी मेरो स्वभावबाट दिक्क नमानी ऊ मेरा छिरल्लिएका लुगाहरु तह लाउँछे, किताबमा जमेको धुलो झार्छे। किनकिन ऊ मलाई मेरी हजुरआमा झै लाग्छ।

दरवार स्क्वायर जान्छु त भनेँ तर जाऊ कि नजाऊको दोधार भएरै मैले यो लामो बाटो रोजेकी थिएँ । केही दिन अघि यसैगरी यी साथीहरुलाई छलेर पाटनतिर रल्लिदै गर्दा भेटेको थिएँ उसलाई। परेवाहरु जम्मा पारेर मैले गहुँ/मकै  ख्वाएको उसले देखेको रहेछ । मेरो एकधुनता देखेर मलाई चिढ्याउनै होला उसले जानी जानी परेवा उडाईदिएको ।

                                                        *****

'कस्तो बेसोमतिलो मान्छे रै'छ। ' मुखबाट रुखो बोली निस्की त गो ।

''आफै जस्तो सोच्या हो?'' उस्तै रुखो बोलीमा जवाफ आयो ।

'तिम्लाई म किन आँफै जस्तो सोचुँ?'

''किनकी म तिमी जस्तै छु ।''

'म कस्ती छु ?'

''तिमी म जस्तै छ्यौ ?''

'................................काम छैन तिम्रो ?'

''नभए खोजिदिन्छ्यौ ?''

'के तालको मान्छे हौ बिनासित्तिमा किन निहुँ खोज्या होला?'

''निहुँ खोज्या होइन परिचय गर्न खोज्या अर्को आफु जस्तै मान्छे देखेर।''

'चिन्नु न जान्नु घचेडी माग्नु भन्या जस्तो।' म भुत्भुताउँछु !
मलाई मज्जैले झोँक चल्छ । भर्खरै सम्म ऊ सँग जुधिरहेका आँखाहरुलाई अन्तै फर्काउँछु ।

''अरे तिमी त साँच्चै रिसायौ जस्तो छ नि, सरी ल तिम्रो परेवा धपाईदिएकोमा, खै लेऊ म बोलाईदिन्छु फेरी तिम्रो परेवा ।'

ऊ मेरो हातको गहुँ/मकै खोसेर परेवा भए तिर हुर्‍याउन थाल्छ म उठेर हिँड्ने सुर कस्छु।

''नाम त भनेर जाउ ''

'भन्दिन के' म फन्किएर हिँड्छु ।

ऊ मलाई पछ्याउँछ ।

''तिमी पत्याउ या नपत्याउ तर मैले तिमीलाई निकै पहिले देखी नियाल्दै आएको छु, कुनै दिन तिमी उदास देखिन्छ्यौ कुनै दिन खुशी तर धेरै जसो कता कता हराए झै। धेरै दिनदेखी बोल्न खोजेको हुँ......तर हिम्मत जुटाउन यतिका दिन लाग्यो र पनि जुटाएँ।''

'..................................'

''कुन्नी किन हो तिमीप्रती आकर्षित छु। हरेक दिन आउँछु यहाँ तिमीलाई देख्न पाउने आशले तर तिमी सधैं भेटिन्नौ। दुई तीन दिनको लगातार पर्खाइ पछी जुन दिन तिमी पुन: यहाँ देखिन्छ्यौ त्यो दिन मेरो खुशीको सीमै हुन्न। राम्रा लागेका जती सबै चिज आफ्नो बनाउँ लाग्ने मानवीय स्वाभावबाट म पनि अछुतो छैन तर सम्बन्ध बन्नको लागि पर्याप्त समय आवश्यक छ यो म मान्दछु। ''

' अपरिचित व्यक्तिलाई लिएर एकहोरो यती सोच्नु ठीक होइन। तपाईं के जान्नु हुन्छ मेरो बारेमा ?'

''त्यही जान्न मन लगेर त तिमीलाई अगिनै देखी डिस्टर्ब गरेको।''

दरबार स्क्वायरको परिसरबाट लगभग बहिर निस्किन आँट्दै गरेकी मलाई देखेर ऊ फेरी भन्छ :
''सधैं झै फेरी पनि तिमीलाई कुर्नेछु अनी मेरो मन भन्छ तिमी पनि फेरी आउँनेछ्यौ। ''

                                             *****

'ओेए केटी ध्यान कता छ ? अगाडिबाट आएको यत्रो बस देखिनस्? 'पाखुरामा समातेर सडक छेउ तान्दै गरेकी तेस्री साथीको आवाजले पाटन दरवारको परिसरबाट एकै पटक म कृतिपुरको परिसरमा खस्न आईपुग्छु। अनी पो छेवैँबाट छोएर गएको बसको हावाको ज्ञान हुन्छ मलाई। उसलाई हेरेर फिस्स हाँसिदिन्छु, यो मैले आफ्नो गल्ती स्विकार्ने तरिका पनि हो। टी.यू मुल गेटमा आईपुग्न लागेकोले अब मैले घर जाने या दरवार परिसर कता जाने एउटा निर्णय गर्नै पर्थ्यो। त्यो घटना घटेको दिन देखी म दरवार परिसर गएकी थीइन। त्यो दिन देखी पछी ऊ लगातार त्यहाँ आयो कि आएन होला भन्ने खुल्दुली त बेलाबखत लागेकै हो।  छोटो र रुखो भेट भए पनि उसको प्रभाव मलाई नपरेको भने थिएन। सोचेँ जे त होला ..... आज भेटेँ भने राम्ररी कुराकानीको सुरुवात गर्नेछु।  मनले पनि सहमति जनायो र भन्यो '.. यी तीनवटी बाहेक अर्को कोही भेटिएको छ जो तँलाई बुझ्छ....तँलाई सहिदिने अर्को एक जना थपियो ।'
'तिमरु पनि जाने भए हिँडओन्त आज... भरे बेलुका सँगै घर फर्किउँला ।'
 एक्कासी मेरो कुरा सुनेर सबै अलमल्ल परे। कुनै प्रतिकृया नदेखाए पछी फेरी भने:' के ट्वाल्ल परिराख्या जाने भए हिँडओ बस आईसक्यो ...'आईरहेको पहेँलो बस देखाउँदै म झर्के, र बस रोक्न हात दिएँ ।


 

विपश्यना अनुभव ( sep.14-25 2013)

दिदी: आमा नानी कता गै'छ ? त्यसको फोनै लाग्दैन नि । 
आमा: तेरी बैनी जोगीनी बन्ने भै' कुन्नी कता शिवपुरीतिर ध्यान बस्न गा'की रे, १०/१२ दिनमा आउँछु भन्थी। 
दिदी: ए, विपश्यना होला ! 
यो मेरी आमा र दिदीबीचको त्यतिबेलाको संवाद हो जतिबेला म सारा बाहिरी दुनियाँबाट टाढिएर अन्तरमुखी बन्न शिवपुरी स्थिति विपश्यना आश्रममा पुगेकी थिएँ । ३/४ साल अघि देखी ध्यान तर्फ रुचि पलाए पनि ओशो, मनोक्रान्ति, विपश्यना या अरु कुन आफ्नो लागि उपयुक्त हुन्छ छुट्याउन सकिरहेकी थिइन । पोहोर यसैयाम विपश्यना तिर लाग्ने निर्णय गरे पनि नाम टिपाउन ढिलो भएकोले जान मिलेन । त्यसपछि जाडो सुरु भो मेरो विपश्यनाको रहर जाडोसँगै कठ्याङ्ग्रिएर बस्यो । तर, यसपाली एक जना साथीले आफु गएर आएको खबर सुनाए पछि मनमा थन्किएको रहरले पुनः मुन्टो उठायो र पोहोरै उपलब्ध गराईएको अनुशासन पुस्तिका फेरी खोजेर पढे र त्यही दिएको नगर कार्यलयको नम्बरमा फोन गरेँ । भाग्यवश, अर्को हप्ताबाट शिविर सुरु हुने खबर पाएँ, सहभागी हुने भए आएर फारम भर्नुहोस् भन्नु भयो, भोलीपल्ट नै ज्योति भवन पुगेर फारम भरेर बुझाएँ । रजिश्ट्रेशनको लागि सेप्टेम्बर १४ बिहान ११-१२:३० भित्र आईपुग्न भन्नु भयो । मन फुरुक्क पर्यो वर्षौ पछिको रहर पुरा हुने जानेर । सेप्टेम्बर १४ अर्थात भदौ २९ गते शनिवार बिहानै खाना खाएर दैनिक प्रयोगको लागि आफुलाई आवश्यक पर्ने साबुन,ब्रस,टावेल,फेर्ने लुगाहरु झोलामा हालेँ । तन्ना, तकियाको खोल,पछ्यौरा र ब्ल्याङ्केट पनि प्याक गरेँ । सामान र ब्याङ्केट गरी २ वटा झोला बोकेर बस चढ्न असहज होला भनेर बाबु(दिदीको छोरा) लाई ज्योति भवनसम्म पुर्याईदे भनेकी थिएँ । १०:३० तिर आईपुगेको बाबुले ११ नबज्दै ज्योतिभवन पुराईदियो र फर्किदा पनि फोन गर्नु लिन आउँछु भनेर फर्क्यो । ११ बज्न अझै केही बेर बाँकी भए पनि विपश्यनाको कार्यालय खुलिसकेको रहेछ । म झैँ पहिलो पटक शिविरमा सहभागीको सिधैँ रजिश्ट्रेशन नहुँने रहेछ । पहिले गुरुलाई भेटाएर मात्र प्रक्रिया सुरु हुने रहेछ । एउटी दिदीको सहयोगमा गुरु भेट्ने स्थानमा त पुगे तर फाटफुट देखिएका सबै मान्छे झण्डै ४० काटेका मात्र देख्दा 'बकिल्लाको हुलमा काग हुने भएँ' भन्ने लाग्यो । भर्खर त ११ बज्दै छ कसो नआउलान् त १/२ जना मात्रै भएपनि मेरो उमेरका भनेर मन बुझाउँदै थिएँ एउटीलाई देखिहालेँ । सायद उसलाई पनि मैलाई झैँ लाग्या हुँदो हो उनी म भए तिरै आईन, मन पनि ढुक्क भयो । उनी विविए अन्तिम सेमेस्टर पढ्दै गरेकी धुम्बाराही निवासी आरती पाण्डे । हामी एकैक्षणमा घनिष्ट भयौ,शिविर अवधिभर पनि सँगै र सकिए पछि सम्मलाई । त्यहाँ पछि आउँने कतिपयले हामीलाई साथीसाथी भएर आएको पनि भने । हामीले पनि"हो हामी भर्खरै बनेको साथीसाथी भएर आएका"भनिदियौ । सुरुमै पुगेका हामीले रजिश्ट्रेशनको प्रक्रिया सक्दा सम्म स्वदेशी र विदेशीको संख्या निकै भईसकेको थियो भने थपिने क्रम जारी थियो । 
ती सबैको रजिश्ट्रेशन सकेर मात्र ओरेन्टेसन सुरु हुने भएकोले करिब १ बजे सम्मलाई हामी फ्रि थियौ । बाहिरी दुनियाँबाट टाढा जान लागेका हामी बाहिरतिर निस्कने कुरै भएन यसर्थ आरती र म एकुन्टा कुर्सी बोकेर अफिस बाहिरको शितलमा बसी हामी झैँ अन्तरमुखी हुन जानेहरुलाई हेर्दै थाल्यौ । एकैछिनमा भेटघाट र १२ दिने बिदाईको लागि आरतीको साथी आईपुगेकोले उनी बाहिर निस्किन म भने टुईटरतिर अल्मलिएँ । एकैछिनमा पाटन क्याम्पस पढ्दाका साथी किरण आईपुग्नु भयो । क्याम्पस पछि सायद पहिलो भेट थियो हाम्रो । सञ्चो बिसञ्चोको सोधाइ पछि उहाँले कता भन्दा जुन उद्देश्यका लागि तपाई यहाँ मेरो उद्देश्य पनि त्यै हो भने । (उहाँ पनि विपयश्ना जाँदै हुनुहुन्छ भन्ने संकेत सहितको अघिल्लो दिन उहाँले पोस्ट गर्नु भएको फ़ेसबुक स्ट्याटसले मलाई उहाँसँग भेट हुने जानकारी थियो ।) अलिक आश्चर्य मान्दै पत्याउनु भयो । उहाँको गुरु भेट्ने तथा रजिश्ट्रेशनको प्रक्रिया बाँकी नै रहेकोले त्यतै लाग्नु भयो तर लाईन टन्न भएकोले बाहिरै पर्खनु भयो । क्याम्पसे दिन र अघिको पढाई तथा जागिरको कुरा गर्दै बस्यौ । करिब १ बजेतिर सबैको रजिश्ट्रेशन सकिएकोले हामीलाई ओरेन्टेसन हलमा लगियो र शिविर बस्दा पालन गर्नुपर्ने अनुशासनबारे जानकारी दिइयो । रजिश्ट्रेशन अघि गुरु भेट्दा उहाँले पनि अनुशासनको कड़ाई बारे जानकारी दिनुभएको थियो त्यो भन्दा पनि अघि फ़ारम भर्दा पनि अनुशासन बारे जानकारी दिईएको थियो यसबाट सहज अनुमान के लगाएँ भने विपश्यना शिविरमा अनुशासनको ज्यादै महत्व छ र कडाईका साथ पालन गर्नुपर्छ । करिब डेढ घण्टाको ओरेन्टेसन पछि हामीलाई हाम्रो नाम लेखिएको एकुन्टा कार्ड बाढियो र माईक्रो चढ्न भनियो । लगभग ३ बजेतिर हामीलाई माइक्रोले बुढानिलकण्ठ माथि शिवपुरी राष्ट्रिय निकुञ्जको प्रवेशद्वार छेऊको आश्रम धर्म श्रिङ्गमा पुर्यायो । आ आफ्ना झोला सहित हामीले काउन्टर पर्स ११ र मोबाईल १२ औँ दिनमा फिर्ता लिने गरी बुझायौ । त्यहाँबाटै महिला र पुरुषका लागि अलग बाटो र स्वयंसेवकको व्यवस्था भएकोले साथी किरणसँग साधनाको सफलताको कामना आदान प्रदान गरेर १२औँ दिनमा भेट्ने गरी छुट्टिएर आरती र म धर्मआमा(स्वयंसेविका आमा)को पछि लाग्यौ । ज्योति भवनमा बाँढिएको कार्डमा हाम्रो आवासको व्यवस्था गरिएको घर संकेत र हाम्रो बेड नम्बर रहेछ । त्यै हेरेर सेविका आमाले हामीलाई तन्दा ल्याएका छौ कि छैनौँ सोध्नुभयो । मैले त घरैबाट लगेकी थिएँ आरतीले भने तन्दा लिईन । त्यहाँबाट अर्का सेविका आमाले हामीलाई हाम्रो कार्ड अनुसारको बेडमा पुर्याईदिनु भयो । आरती र मेरो बेड क्रमश: २९ र ३१ भएकोले नजिकै थियो । सेविका आमाले साथीसाथी सँगै परेछौ त्यै पनि गफ नगर्नु है आर्य मौनको बेलामा भन्नु भयो । आरती र म पुराना साथी झैँ देखि सकेछौ सबैको नजरमा । मेरो कोठामा पर्नु भएका खोकनाकी ८१ वर्षिय माँ, कुलेश्वरकी दिदी र अर्की बनेपाकी दिदी पहिलै पुगिसकेका रहेछन् । उहाँहरु तिनै जना नेवारीभाषामा गफ गर्दै हुनुहुन्थ्यो, आफुले केही बुझ्या हैन त्यसैले ओछ्यान ठिक्क पारेर झोला थन्क्याएर आरती र म तल ओर्लियौ र दुवै जनाले पटक पटक पकेटमा मोबाईल खोजेको फेरी माथी बुझाएको सम्झिदैँ हाँस्दै बस्यौ । शान्त वातावरणमा नजिकै फुलेको अपरिचित (जसको नाउँ कसैले मलाई भन्न सकेनन) तर निकै बास्ना फूलको सुगन्धले साँच्चै लोभलाग्दो बनेको थियो । ठिक पाँच बजे हामीलाई गहुँको चोकर(दली) को खिर, आलुको अचारसँग खान दिइयो । दिनभरीको भोकले मीठो भा'को हो कि कहिलै खिर नखाने मैले पनि त्यो दिन गहुँको खिर खाएँ । साँझ ६ बजे पुनः ओरेन्टेसन हलमा लगियो र दिउँस कै अनुशासन र पालन विधी तथा आर्य मौनको बारेमा सुचना दिइयो र सामुहिक साधना हलको चकटीको लागी फेरी एकुन्टा कार्ड बाढियो, पुरा शिविर अवधिभर आफ्नै चकटीमा बस्नुपर्ने, सकेसम्म अरुलाई छुन नहुने र चकटीहरु कुल्चन या नाघ्न पनि नपाईने रहेछ । त्यै साँझ ८ बजेबाट (त्यो दिनलाई शून्य दिन भनिदोँ रहेछ) आर्य मौन सुरु हुने र दशौँ दिनमात्र खुल्ने जानकारी सहित डिभीडीबाट श्री सत्यनारायणजी गोयन्काको रेकर्डेड आवाजमा आनापानाको निर्देशन सुनाए पछि करिब नौ बजेतिर विश्रामको संकेत दिइयो । आर्य मौन सुरु भईसकेकोले बोल्न पाईन्न थियो यसर्थ चुपचाप गएर ओछ्यानमा पल्टेँ । भोली बिहान ४ बजे उठ्नु पर्ने कुरा सम्झेर पीर लाग्दै थियो फेरी नयाँ ठाउँ निद्रा नपर्ला कि झैँ पनि लागेको थियो तर आफ्नै तन्दा र ब्याङ्केट भएकोले घरैमा झैँ छिटै निदाएँ । 
भोलीपल्ट बिहान ४ बजे घण्टीको आवाज भन्दा पहिलै निद्रा खुल्यो, घड़ी हेरेँ साढ़े तीन भा'को रहेछ । ४ बजे उठ्नु छ सम्झेरै फेरी निद्रा लागेको हैन । चारै बजे उठ्नुपर्ने नियम चै मलाई असाध्यै गाह्रो लाग्दै थियो । चारबजेको घण्टीसँगै मेरै कोठाका दिदीहरु र माँ उठ्नु भयो । बिउँझैँ भएपनि उठ्न मन त किन हुन्थ्यो र जब कि घरमा आठ बजे मात्र उठ्ने मान्छे म । तर, नउठी सुखै थिएन एकैछिनमा स्वयंसेविकाहरु उठाउन आईपुगिहाल्थेँ त्यो भन्दा त आफै उठ्नु जाती सोचेर मन नलागी नलागी भएपनि उठेँ । निद्रा बिउझाउन मुख धोएर दाँत माझ्न थाल्दा पनि आँखा चिम्लिन खोज्दै थियो । वल्लोपल्लो कोठाका पनि प्राय: सबै उठेका थिए । नउठेकाहरुलाई सेविकाहरुले ओछ्यान झट्कारेर उठाउँदै थिए । चारै बजे करैले पनि किन नहोस् आफै उठेकीले मन मनै आफैलाई धाप मारेँ र दाँत माझ्दै ऐनामा हेरेर खिस्स हाँसे । 
४:२० मा सामूहिक साधना हलमा जम्मा हुने घण्टी लागेपछि बोल्न नपाईने भएपनि आरती र म सँगसँगै हलमा पुग्यौ । पहिले उठ्न अल्छी लागेको भएपनि साधना सुरु हुनेबेला सम्म एकखालको नयाँ जागँर पलाईकसेको थियो । घरमा ५ मिनेट एक ठाउँमा अडिएर बस्न नसक्ने म त्यसमा पनि ढाड दुख्ने समस्या आफ्नो के को पलेटी कसेर बस्न सक्नु । एकैछिनमा ढाड र घुडा दुखाई सुरु भई त हाल्यो । २० मिनेट पनि भा'को थिएन होला गोडा निदाउने काम पनि सुरु भयो, धन्न अगिल्ला साढेँ तीन दिन आफुलाई आवश्यक पर्दा गोडा साट्न पाईन्थ्यो र मात्र । आनापानाको साधनामा आउने-जाने सास नियाल्दै नाकमा उत्पन्न संवेदनालाई नियाल्न भनिने रहेछ । स्वतन्त्र डुल्न बानी लागेको मन किन बस्थ्यो र नाक कुरेर । सुरु भई त हाल्यो आकाश पाताल कुद्न । बल्ल बल्ल ६:३० मा चिया खाजा समयको घण्टी लाग्यो । अब आठ बजे सम्मलाई फुर्सद पाईन्थ्यो । चियासँगै चामलमा गाजर, सिमी, काउली मिसाएर पकाएको खाजा र राज्माको तरकारी खाएर विश्राम स्थल(ओछ्यान) फर्केर सुतेँ म त । अरु साधिकाहरु पनि केही सुतेका थिए, केही बाहिर तिरै टहल्लिदै गरे । आठ बज्न दश मिनेट बाँकी हुँदैमा फेरी घण्टी लाग्यो । घण्टीको आवाजमै उठ्नु पर्ने, खानुपर्ने, हिँड्नुपर्ने र सुत्नु पर्ने भएकाले निद्रा लखट्न पुनः पानीको साहारा लिएर हिडेँ । बोल्न पनि नपाईने,मुखामुख गरेर हाँस्न पनि नपाईने भएकोले होला सबैको अनुहार चकमन्न देखिन्थ्यो । त्यै पनि कोही केही साथी साथी भएर आएकाहरु भने यस्सो हेराहेर गरेर हाँस्न पनि भ्याउँथेँ । आठ देखि नौ बजेको सामूहिक साधना पछि हामी नयाँ साधक साधिकालाई विश्राम गृहमा गएरै ध्यान गर्न भनियो र पुरानालाई गुरुहरुले मार्गदर्शन गर्नुहुने भयो । कोठामा आएर कोही त ध्यान गर्न थाले भने म लगायतका धेरै चैँ सुत्यौ । सेविका दिदीहरु आईपुग्नु भएछ र सुतेका सबैलाई उठाउँदै ध्यान बस्न लगाउनु भयो । वहाँहरु फर्केको केही बेरमा मलाई त फेरी सुत्न पो मन लाग्यो त । अरु के गर्दै होलान् भन्ने हेर्न कै लागि बाथरुम जाने बाहनाले निस्किएँ । अलि पाको उमेरका आन्टी,बुढीआमाहरु तकियामा अडेस लागेर भएपनि आँखा चिम्लेर बस्नु भएको देखेँ । अडेस लागेर आखा चिम्लेकोले ध्यानै गर्या होला भन्ने अनुमान लगाएँ के थाहा न मजाले निदाउँनु पो भा'को थ्यो कि यसो बोलेर सोध्न पाईने भा'पो । आरती अनि अर्का दुईटी बहिनीहरु चैँ म झैँ सुत्न मन गरेका तर सुत्न नपाएका जस्ता देखिन्थेँ । फेरी फर्केर ओछ्यानमा पलेटी त कसेँ तर मन बसे पो । आँखा पनि एकछिन चिम्ल्यो हेर्ने हतार गर्छ मन त झन कहाँ हो कहाँ पत्तै छैन् । उफ्, दुई घण्टा बिताउन कम्ता गाह्रो भा'को हैन । चुपचाप बस्दा त समय पनि नहिँड्दो रहेछ । बल्ल बल्ल ११ बजे खाना खाने घण्टी लाग्यो । भोक त लागेको थिएन त्यसैले खाने भन्दा बढी ध्यानबाट अब १ बजे सम्मलाई करिब दुई घण्टा छुट्टी पाईन्थ्यो यसैको खुसी थियो । खाना खाएर १२ बजे तिर नुहाएपछि बल्ल निद्राबाट राम्ररी ब्यूझेँ झैँ भएँ । कोही न्वाईध्वाईमा विजी कोही भने शितल खोजेर पल्टेका,सबै साधिकाहरु आ आफ्नै सुरमा देखिन्थे ।
एक बजेको घन्टीसँगै पुन: साधनाहलमा सबैजना जम्मा हुनु पर्थ्यो। दिउँसको ध्यान सत्र भनिने यो बेलामा आवश्यक पर्दा(पानी खान र बाथरुम जान) पाँच मिनेट यसो बहिर निस्केर अल्मलिन सकिन्थ्यो नत्र साँझ पाँच बजे सम्म आनापानाको अभ्यास गरिरहनु पर्थ्यो। तीन बजेपछी पुराना साधकसाधिकाले चाहेमा निवास फर्केर ध्यान गर्न सक्थे भने हामी नयाँ जत्तिलाई गुरु/गुरुआमाहरुले पालैपालो भेटेर आईपरेका समस्या र हाम्रो ध्यान गराई प्रकृया बारे बताउनु भयो। गुरुमा भेट्ने आफ्नो पालो आएपछी मन कुदेको कुरा भने। उहाँले यो अती सामान्य हो तर जब कुद्यो भन्ने थाहा हुन्छ तब पुन आनापानामा मन लगाउनु भन्नु भयो। फर्केर फेरी ध्यान त बसेँ तर मनको पत्तो थिएन कुन्नी कता पुगिसकेकोथ्यो अगिनै। हाई हाई गर्दै बल्ल पाँच बजाउँदा ठुलै युद्ध जिते झै लाग्यो मलाई। अरुको नयाँ साधिकाको हाल पनि मेरै झै थियो भन्ने अनुमान सहजै लगाएँ। 
पाँच बजे पुराना साधिकालाई कागती पानी र नयाँलाई काटेका स्याउका केही टुक्रा र अलिकती मुरई(भुजिया) सँगै कालो चिया खान ब्यवस्था रहेछ। तत्काललाई त समस्या थिएन तर राती दश नबजी सुत्न नपाईइने र अब फेरी केही खान नपाईइने भएकोला निद्र चै लाग्ला कि नलाग्ला भन्ने लागेको थियो। छ बज्नु भन्दा दश मिनेट अगाडी पुन साधनाहलमा जानका लागि घन्टी लाग्यो। बल्ल एक दिन बित्न आँटेको थियो। अब भने एक घन्टा मात्र ध्यान बसे सुख पाईन्थ्यो। सात बजे सम्म ध्यान र त्यसपछी प्रवचन सुरु हुन्थ्यो। साँझको एकघन्टा दिउँसको अनुपातमा केही सहज बित्यो। प्रवचनको लागि नेपाली,नेवारी,जापनिज,चाईनिज,रसियन,अङ्रेजी भाषाका साधकसाधिकाहरुलाई छुट्टछुट्टै हलको ब्यवस्था गरिएको रहेछ। मुल भाषाको प्रवचन(हिन्दी र अङ्रेजी)बाहेक अरु भाषामा पनि अनुवाद गरिएका प्रवचनले सम्बन्धित भाषाका साधकसाधिकालाई निकै लाभ पुर्याएको अनुमान लगाएँ मैले। अन्य भाषाका साधकसाधिकाहरु सम्बन्धित हलमा गएपछी श्रीसत्यनारायण गोयन्काजीको प्रवचन डिभिडिबाट देखाईयो। हामीलाई सम्मुख राखेरै वहाँले लाईभ प्रवचन दिनु भए झै अनुभव गरेँ मैले। पछी आर्य मौन खुलेपछी सोध्दा प्राय: सबैले त्यस्तै महशुस गरेको जानकारी पाएँ। 
 आठ बजेर केही मिनेट जाँदैमा अन्य भाषामा प्रवचन सुन्न गएकाहरु फर्किसकेका थिए तर मुल हलमा हिन्दी भाषाको प्रवचन चली रहेको थियो। बल्ल साँढे आठ बजे तिर प्रवचन सकियो। त्यसपछी पुन: बाँकी रहेको समय ध्यान सहित भोलिपल्टको लागि निर्देश सुनाईयो र करिब ९;१५ तिर बिश्राम गर्ने सुचना दिईयो। साँढे नौ नै बजे निद्रा त किन लाग्थ्यो र तर पनि भोली चार बजे बिहानै उठ्नु पर्छ सम्झेर चुपचाप ओछ्यानमा पल्टे । बनेपाकी दिदी अरु कोही नबोले पनि एक्लै 'कस्तो भोक लाग्यो, कस्तो निद्र लागेको है दिदी त्याँ माथि बस्दा' भन्दै एक्लै आफु मात्र बोल्दै हुनुहुन्थ्यो। पहिलो दिन भएर होला कोई पनि बोलेनन सबै सुते। सुतेरै सम्झे बल्ल त एक दिन बित्दै छ अझै ९ दिन पुरै बिताउनु छ मैले न त फोन न फेसबुक, न टुईटर। एक मन त अत्यास पनि लाग्यो तर सोचेँ यसैगरी बिना फोन टुईटर र फेसबुक बस्न भनेरै त आकी म यहाँ त्यो पनि आफ्नै रहरले किन अत्यस मान्नु ।  साना(साने),शान्ती दिदी र घरमा भनेकै छू,अरु मलाई खोज्ने खासै को नै होला र झै लाग्यो र कोल्टे फेरेर सुते। दिनभरी केही नगरी पलेटी कसेर बस्दा झनै थकाई लाग्ने रहेछ कि क्या हो त्यसपछी मनमा कुरा खेलेको याद छैन।
हाम्रो आश्रमको घन्टी बिहान चार बजे लाग्ने भए पनि पल्लो पट्टी २० दिने साधना शिबिरको घन्टी चार बज्नु भन्दा दश मिनेट पहिले लाग्दो रहेछ। त्यसै घन्टिको आवाज सँगै ब्युझिएँ म। म झै अरु पनि उठिसकेका थिएँ। यो शिबिरमा आउनु रहर भए पनि बिहान चारै बजे उठ्नु चै मेरो रहर भित्र पर्दैनथ्यो तर नऊठी सुखै थिएन। उठेर मुख धोएर अघिल्लो दिनकै रुटिनमा साधना हलमा जाने ध्यान बस्ने, घन्टी सँगै खाजा, खाना खाने पुन: ध्यान बस्ने। एकै पटक बेलुका सात बजे पछी बल्ल प्रवचन सुन्दा भने दोस्रो दिन बित्यो भन्ने थाहा भयो। पहिलो दिन झै हामी नयाँ साधकसाधिकाले पुरानाले गुरु भेट्ने समयमा बिश्राम स्थल फर्किन पाएनौ दोस्रो दिनबाट। शायद नयाँ साधकसाधिकाले त्यो समय सुत्नै बल गरेको र ध्यानमा मन नदिएको हुन सक्छ। दोस्रो दिन हुँदै तेस्रो दिन बित्यो त्यै पनि खाली श्वासप्रश्वास प्रकृया र नाकमा उत्पन्न संबेदना मात्र नियाल्न भनिएकोले झ्याउ लाग्न थालिसकेको थियो। मन कुद्न उस्तै थियो। यी तीन दिनमा के मात्र सम्झिएन होला र? बाल्यकाल देखी अहिले सम्मका सबै साथीको नाउँ सहित् अनुहार सम्झिएन कि भबिस्यका सुन्दर सपना सजाईेन कि अरु कती के के। त्यही बेला सम्झने बितिक्कै लेख्दै गर्न दिएको भए पनि लेखी साध्य हुन्न थियो होला। मनमा विचारका तरङहरु कती छिट्छिटो जाने आउने गर्दारहेछन भनेर यसको अनुभव मात्र गर्न सकिन्छ लेख्न या भन्न सकिन्न सायद। अझै मैले कयौ घण्टा त यहाँबाट फर्केपछी  यसरी बल्ग लेख्छु उसरी लेख्छु, यो पहिले यो पछी भन्ने हिसाबले  मनैमन कयौ पल्ट ड्राफ्ट बनाउने र मेट्ने पनि गरेँ।  
भोलिको दिन महत्वपूर्ण छ त्यसैले त्यसको लागि मानसिक रुपमा तयार रहनु भनेर अघिल्लो दिन सुचना सुनाईेको थियो। चौथो दिनलाई विपश्यना दिवस भनिने रहेछ। चौथो दिन मध्यान्न सम्म आनापानाको अभ्यास पुरा गरेर विपश्यना ध्यान बिधी सिकाईने रहेछ। विपश्यना दिउँन्जेली अधिस्ठान पाली(जुन स्थानमा जुन मुद्रामा बसेको छ त्यही मुद्रामा बसिरहने)मै बसिरहनु पर्ने नियम। यतिन्जेली त बेलाबेलामा यसो आसन बदल्न पाईन्थ्यो अब त त्यो पनि नपाईने भयो। त्यै पनि नसक्नेहरुलाई बिचमा एकाध पटक छुट दे'को थियो त्यो दिन तर भोलिपल्टबाट छुट नपाईने सर्त सहित । चौथो दिन विपश्यना सिकाईयो मात्र अभ्यास भोलिपल्टबाट मात्र थालिने भएकोले अघिल्ला तीन दिन झै त्यो रात पनि प्रवचन सकेर बिश्राम गर्न पाईयो। 
विपश्यना शिबिर बसेको मान्छे बिशेषत: दोस्रो र छैठौँ दिन भाग्न खोज्छ रे भनेर पहिलाई सुनाईेको थियो। पाँचौ दिन पनि घन्टि सँगै उठ्ने,हिँड्ने,खाने र ध्यान बस्ने कृयाकलाप निरन्तरै थियो त्यसमा अब एक एक घण्टाको 'अधिस्ठान पाली'मा बसेर गर्नुपर्ने विपश्यना साधना थपिएको थियो। अन्य समयमा आसन फेर्ने सुबिधा भए पनि बिहान,दिउँस र साँझ एक एक घण्टाको अधिस्ठान पालीमा भने आसन फेर्ने त टाढाको कुरा सास पनि यती मन्द गतिमा फेर्नुपर्थ्यो कि आँफैलाई महशुस नहोस्। दिन त जसरी तसरी कट्यो तर जब सुत्न भनेर नौ बजे पछी कोठामा फर्किएँ आफ्नै गोडा सुन्निएको र दुखेको त्यही दु:खाईले आएको ज्वरो,(सँगै चिसोको एलर्जी हुने मलाई बिहान बिहान चारै बजे उठेको फलस्वरुप रुघा त पहिल्यै लागिसकेको थियो।)उफ बेकार आएछु भन्ने लाग्न थाल्यो। दिन गने अझ पाँच दिन पुरा बिताउनु थियो, भर्खर पाँच दिन बित्दै थियो। कठिनाई होला र सोचेकी थिएँ तर यसरी गोडै सुन्निएपछी भने शायद अत्यास लागेछ मलाई। जसरी पनि पाँच दिन अरु काट्नै थियो जे त होला भनेर निदाउने उपक्रम तिर लागे। घरमा १२/१ नबजी ननिदाउने म यी पाँच दिनमै १० बज्दा नबज्दै निदाउने भईसकेको थिएँ त्यो पनि रात भरी पल्लो ओछ्यानका आन्टीहरुको घुराई सहेर।  
भोलिपल्ट सधैं झै चार बजे ब्युझँदा सुन्निएका गोडाहरु बिसेक भईसकेका रहेछन। हिजोको अत्यस अब बाँकी थिएन। एक खाले नयाँ उर्जा समाहित भएको भान हुँदै थियो आँफैलाई। त्यो दिन पुरै जागँर लागाएर विपश्यनाको ध्यान अभ्यास गरे। मन बेलाबखत भाग्थ्यो नै तर सुरुवाती दिनहरुमा झै बेपत्तै सँग भाग्दैनथ्यो र भागे पनि सजिलै फर्किन राजी हुन्थ्यो । पहिले पहिले ध्यान बस्दा खुल्न हतार गर्ने आँखाहरु पनि अब चिम्लिन मै रमाए झै लाग्थ्यो भने घोडारुपी मनको लगाम पनि अब आफ्नो नियन्त्रणमा आउँदै थियो। सातौ दिनको दैनिकी सकेर सुतेकी म निदाएकी पनि होइन एकखाले तरङ या अर्धमुर्छा जस्तो अवस्थामा आँफैलाई पाउँछु। सुतेकी मैले आफ्नो शरिरमा उत्पन्न हरेक संबेदनाको महशुस टाउका देखी क्रमश: गोडा सम्म  गरेँ। त्यहाँ बसेको यतिका दिन मस्त निदाएकी म त्यो दिन अहँ पटक्कै निदाउन सकिन। भोली पल्ट खाना खाएपछीको फुर्सदको समयमा गुरुमालाई साधना हलमा जिज्ञासा समनका लागि भेट्न पाइन्थ्यो।  गएँ, र रातीको सारा कुरा भने। बिपश्यनाको अभ्यास गर्दा कसैलाई सातौ दिनमा या कसैलाई आठौ,नवौँ या दशौ दिनमा पुरा शरीरमा एक्साथ संबेदनाको महशुस हुने गर्दछ भनेर गुरुमाले भने पक्छी ढुक्क भएकी थिएँ। नवौ दिन गुरुमाले म,आरती लगायत अरु तीन जना हामी नयाँ साधिका मध्येका विध्यार्थीहरुलाई बोलाएर हामी एकदम सहि समयमा शिबिर आएको भनेर खुशी ब्यक्त गर्नु भयो र हामी के कसरी किन आयौ भनेर केही जिज्ञासा पनि राख्नुभयो !  चित्त बुझ्दो जवाफ दिन सकेकाले हामीलाई थप हौसला र अभ्यास निरन्तर गरिरहन भन्नु भयो।  
गुरुमा सँगको भेट सकेर फर्किदा हामी सबै मख्ख थियौ। हाम्रो आर्य मौन पनि तोडिएको थियो(ईलिगल्ली ) तर सेबिकाहरुले देखे बेकरमा गाली खाईने डरले त्यो दिन हामी लुकेर मात्र बोल्यौ तर ध्यान भने बोलेकोले भङ्ग भईसकेको थियो। यसरी ध्यान भङ्ग भएपछी आरती,ओजस्वी,लक्ष्मी,रविना र म सहितको भुरा टोली(यसर्थमा कि त्यहाँ हामी भन्दा साना अरु थिएनन सबै हामीलाई भुराहरु भन्नुहुन्थ्यो।)ले अर्को पल्ट शिबिरमा सहभागी हुँदा दसैं दिन आर्य मौनको पलना गर्ने निर्णय पनि गर्‍यो।
दशौँ दिनमा मैत्री दिए पछी(मैत्री ध्यान सिकाएपछी) आर्य मौन खुल्दो रहेछ। हिजो सम्म खस्याक्खुसुक अलेली बोलेको भए पनि एकै पटक सबैको सम्मुख के भनेर के बोल्ने झै सबै अलमल्ल परे। सेबिका दिदी र आमाहरुले नमस्ते भन्नु भएपछी सबैले सबैलाई नमस्ते नमस्ते भन्दै बोल्यौ। बिदेशीहरुले पनि हाम्रो सिको गर्दै सबैलाई नमस्ते गरे। दश दिन देखी सँगै खाने,हिँड्ने गरेर देखिरहने बानी परेको तर नबोलेको मान्छे सँग एक्कासी बोल्दा आत्मिय लाग्दो रहेछ तर जती नै आत्मिय लागे पनि हामीलाई कसैको नाम थाहा थिएन त्यसैले भेटे देखेको दश दिन पछी अब परिचय सुरु हुँदै थियो। धेरै दिन पछी बोली सुनेर होला आफ्नै बोली पनि चर्को र अरु पनि चिच्याई चिच्याई बोले झै लाग्दै थियो। साँच्चै गज्जबको अनुभव थियो। आर्य मौन भङ्ग भएपछी माथि काउन्टरमा राखेको पर्स लिन गएर हाम्रो भुरापाटीले चन्दा पनि लाईन लागेरै दियो र खान खान भेला भयो। अगिपछी ५।७ मिनेटमा खाएर आ आफ्नो बाटो लाग्ने बानी परेका साधिकाहरुको अवस्था यो दिन हेर्न लायक थियो। सबैको ध्यान खान भन्दा गफ गर्न पट्टी धेरै थियो। यसरी मौन खुले पनि हामीलाई अन्य(बाहिरी मान्छे र साधक पुरुष) मान्छेहरु सँग बोल्न र भेट्न भने बन्देज नै थियो तर आपसमा बोल्न पाइने र ध्यान पनि बस्नु नपर्ने भएकोले यो दिन खुब घुमघाम र रमाइलो भयो। सेबिकाआमा सँग लामो समयको साधना गर्ने शिबिर र आश्रम वरपरको एरिया(पुरुष एरिया बाहेक) घुम्यौ र गफ मै मस्त भयौ। आएको दुई दिन नपुग्दै घर जाउ भन्ने ओजस्वी र रविना पनि बोल्न र घुम्न पाईने अनी ध्यान पनि बस्नु नपर्ने भएपछी त अझै अरु दिन यस्तै गरी बस्न पाए पो भन्न थाले। जे होस् मैत्रीको दिन अविस्मरणीय रह्यो। भोलिपल्ट बिहानइ साधना सकेर शिविर समाप्ती पछी हामीलाई घर फर्काउने कार्यक्रम रहेकोले राती दश बजे भन्दा पछी पूर्ण रुपले आर्य मौन पालन गरी सुत्न भनिए तापनी सबै गफ मै मस्त थिए। एघार बजेतिर भोलिपल्ट ३;३० मा उठ्ने सल्लाह गर्दै सबै सुत्यौ। 
एघारौ दिन उठेर सबैले पहिले आआफ्नो ब्याग प्याक गर्यौ किनकी बिहानी ध्यान पछी शिबिर समापन गरेर खाजा पनि खाइसक्नुपर्ने थियो सात बजे भित्रै किनकी सात बजे माईक्रो आईपुग्ने र आउने बितिक्कै हिंड्नुपर्ने भनिएको थियो। आरती, ओजस्वी, लक्ष्मी, रविना र म हाम्रो भुराटोली घर फर्किन तयार भयो। ६:३० सम्ममा शिसिर समापनको कार्यक्रम सकेर हामीले खाजा(खिर) खायौ र सबैलाई बाइ भन्दै सेबिकाआमा र दिदिहरु सँग बिदा भएर काउन्टरमा एघार दिन अगी बुझाएको मोबाईल लियौ र एघारै दिन अघी माईक्रोले छोडेको ठाउँमा गएर माईक्रो चड्यौ। लक्ष्मीलाई दाई त्यही लिन आउने हुनुभयो यसर्थ उनलाई बाइ भनेर हाम्रो टोली माईक्रो चड्यो। महाराजगञ्ज आईपुगे पछी आरती त्यतैबाट धुम्बाराही लागिन भने ओजस्वी रबिना र म भ्रिकुटिमण्डपमा ओर्लियौ। ओजस्वी र रबिना बानेश्वर जाने रहेछन उनिहरुलाई बाइ भनेर म भने त्यही बाबुलाई कुर्न थाले। म आएकै माईक्रोमा कृतिपुर मै ईकोनोमिक्स पढ्दै गरेका एक्जना दाई पनि भेटिनु भयो वहाँको दोस्रो शिबिर रहेछ। हामी गाफ गर्दै बस्यौ,हतारोमा शिविरमा नभेटिएका साथी किरण पनि पछील्लो माईक्रोबाट त्यही ओर्लनु भयो। अनुभवहरु साटासाट गर्यौ र एकैछिन अल्मलियौ। बाबु आईपुगे पछी वहाँहरुलाई बाइ भन्दै म आफ्नो विपश्यना शिबिर पुरा गरेर घर तिर लागेँ।    
जे होस् दश दिन बहिरी दुनियाँबाट एक्लिएर आफ्नै शरीर भित्र उत्पन्न,बिलिन हुने हरेक एक एक संबेदनाको अवलोकन गर्नु साँच्चै लेखेर या भनेर वर्णन गर्न नसकिने अनुभव हो जुन आँफैले भोग्नु पर्छ। सामाजिक सञ्जाल र सेल्फफोनले जेलेको आजको हरेक मान्छेको दैनिकी भन्दा एक फरक दैनिकी। वैयक्तिक रुपले भन्नुपर्दा मैले यो शिबिरमा सहभागी भएर धेरै पाएँ भने आफ्न कयौ अवगुणहरुलाई चिन्ने र त्यसबाट छुट्कारा पाउने उपाए पनि आँफै भित्र पत्ता लगाएँ।  यो दुनियाँ परिवर्तनशील छ,यहाँका हरेक कुरा परिवर्तन हुन्छ भनेर त सबैले सहजै र सजिलै भन्छन तर अनुभव कतिले गरेका छन ? एक पटक अनुभव पनि गर्ने कि (?)कती अरुले सुनाएको सत्यको मात्र पछी लाग्ने । अर्काले सुनाएको सत्य भन्दा आफुले जानेको सत्य निकै भिन्न हुन्छ । सबैको मंगल होस् !!     

दुई टुक्रा


(एक)
बोली नै रुखो मेरो झर्केकी हुँदै हैन,
मोडिएकी मात्र हुँ फर्केकी हुँदै हैन ।
थकाई मारौँ भनी बसेकी चौतारीमा,
ब्यर्थै तिमी मख्ख पर्यौ पर्खेकी हुँदै हैन ।

(दुई)
के सुनाउँ हाल अस्तव्यस्त छु अचेल,
तिमी त सोच्लाऊ खुब मस्त छु अचेल।
के छ त्यो मनमा लुकाएकी सबै सँग,
नसोध्नु यतै हेर्नु छरपस्ट छु अचेल।

च्यातिएको डायरी (एक पानो )


झन्डै वर्षदिनपछी तिमीलाई सम्झेर यो सम्बोधन लेख्दै छु। समयले एक फेरो मार्यो। अहिले फेरी त्यस्तै झरीको याम छ जुन याममा हाम्रो सम्बन्ध गाँसिएको थियो,हुर्किएको थियो र गर्लम्म ढलेको थियो। जिन्दगीका बाटहरु अलग भएको पनि यतिका दिन भईसकेछ। समय कती सजिलै बगेर गयो तर फेरी उही याममा फर्किएर आयो र तिमीलाई सम्झन बाध्य बनायो।         
    श्लोक, मैले तिमीलाई मायाले दिएकी नाम। तिमीसँग अनुमती नलिईकनै दिएकी हुनाले तिम्रो अनुमती बेगरै यो नामले तिमीलाई सम्बोधन गरिरहँदा पनि मलाई असहज लागेको छैन। साँझ पर्दै छ,आफ्ना पेटभरी पानीका लोलाहरु बोकेका बादलहरु पहाडसँग मितेरी लगाई आफुलाई हल्का पार्ने ध्याउँन्नमा छन्। झ्याल बाहिर देखिने फाँटमा असारमा रोपिएका धानहरु हलक्कै बढेका छन।ती हावासँग उसैको लयमा मस्किँदै गरेका झै देखिन्छन। श्लोक,यी सबै कुरा यहाँ यसर्थ लेख्दैछु कि कयौँ साँझहरु हामीले यिनैलाई नियाल्दै साथमा बिताएका थियौ एक बेलामा। समयको यो अन्तरालमा थाहा छैन तिम्रो मलाई सुन्ने/बुझ्ने क्षमता बढेको छ अथवा मेरो तिमीलाई बुझाउने क्षमतामा कती ह्रास आएको छ । तैपनी तिमी अझ समझदार भयौ होला,परिपक्व भयौ होला भन्ने विश्वास गरेकी छु। हामीले सँगै रोपेको अम्बाको बिरुवा यो       एक वर्षमै अग्लिएर झ्याल सम्म आईपुगेको छ। यसपाली निकै चिचिला पनि लागेका छन्।       
       घर अगाडिको सडक पनि अचेल जवान बनेको छ आफुमा परेको खाल्डाखुल्डी टालेर। आजको यो साँझ मैले कल्पना गर्ने झै निकै लोभलाग्दो छ। सुस्त सुस्त चलेको हावा,यदाकता छिट्याउने पानीका ससाना थोपाहरु, हरियो फाँटको छाती चिरेर लमतन्न सुतेको सडक अनी त्यसै सडकमा हातमा हात जोडेर गोधुली नियाल्न हिँडेका प्रेमिल जोडीहरु र तिनै जोडी मध्येका एक हामी। बस् यही नै थियो मेरो रहर। तर अचेल मेरा सारा दिन एकान्तमै बित्छन। दिनको उज्यालो भन्दा रातको अँध्यारो नि:स्वार्थी लाग्छ। दिनले झै ईन्द्रेणी सपनाहरु रातले बाँड्दैन।         
   श्लोक, तिमीलाई याद छ कि छैन्, जुनेली रातमा खस्दै गरेको तारासँग मैले हाम्रो सम्बन्धको दीर्घता  माग्दा तिमीले मेरो भावुकतालाई हाँसोमा उडाएका थियौ। यो त एक सम्झना मात्रै। यी र यस्तै अनगिन्ती पटक मेरा भावुकताले तिम्रो झर्काई र फन्काइ सहेका छ। आफ्नै मनलाई घाईते पाउँछु अनी सोच्छु कती होलन् यो दुनियाँमा म झै भित्र भित्रै दुखेको मन बोकेर पनि बाहिर फोस्रो हाँसोको लेप लगाएर हिँड्नेहरु? जीवन गतिशील त हुन्छ तर तिमीले जुन गतिशीलता रोजेका थियौ पक्कै पनि त्यो स्वभाविक थिएन। तर मनमौजी तिमी मेरा कुर किन पो सुन्थ्यौ र नि ! अनुपाको बिहेमा तिमी भागी भागी हिँड्यौ, आफ्नो रोजाईको बाटो हिँड्न मेरो बाटो छोडेर छुट्टीएका तिमीलाई किन त्यस्तो असहज लाग्यो कुन्नी मेरो सामिप्यता? हामी केटाकेटी थिएनौ,बाझाबाझ गरेका थिएनौ। सल्लाहले आ आफ्नो गन्तव्य रोजेका न थियौ तर कुन्नी तिमीमा कस्तो परिवर्तन आयो र अपरिचित बन्न खोज्यौ। तिम्रो मनोभाव  बुझेकीले नजिकिन प्रयास पनि गर्न मन लागेन बरु छिट्टै फर्किदिएँ। तिमी त मबाट छुट्टीएर स्वतन्त्र हुन गएका थियौ तर खै तिमीलाई त झन झन समयको बन्धनमा जकडिएको देखेँ मैले।       
  पानी फेरी दर्किन थाल्यो। साँझ पनि क्रमिक रुपले रातमा रुपान्तरण हुँदै छ। आज पनि तिम्रो अनुपस्थिति यो मनमा बिझ्छ तर दु:खाई भने अब महशुस हुन्न। हरेक कुरामा भावुकता पालेकी मैले आजको साँझ तिम्रो सम्झनामा बिताईदिएँ। 
बस्, यत्ती आज !!

गजल


त्यसै त्यसै मात लाग्छ नमुस्काउ भो समिप आई,
कुन्नी के के बात लाग्छ नमुस्काउ भो समिप आई ।

आज नजिक किन हुनु छुट्नै पर्ने भोली आउला,
यादहरु खात लाग्छ नमुस्काउ भो समिप आई ।

प्रेम,विश्वाश,आत्मियता सिमीत भयो किताब मै,
धोका मात्रै हात लाग्छ नमुस्काउ समिप आई ।

कृतिमता आडम्बर यही नै चलन चल्तिमा छ,
आफ्नोपना घात लाग्छ नमुस्काउ भो समिप आई ।

त्यसै त्यसै मात लाग्छ नमुस्काउ भो समिप आई,
कुन्नी के के बात लाग्छ नमुस्काउ भो समिप आई ।

के अर्थ ?


रहरको पो माया राम्रो कहरको के अर्थ ?
अँध्यारोमा बाँच्नेलाई प्रहरको के अर्थ ?

छोड्ने ले बिर्सन्छ पीडा भोग्ने कुर्ने ले हो,
मरुभुमी भयो मुटु नहरको के अर्थ ?

उसको बचन वाणै काफी भईदिन्छ मलाई,
मरेतुल्यै भा'छु त्यसै जहरको के अर्थ ?

बन्दैन रे मेरो ऊ देउतै भाकल गरे पनि,
उसै सँग मर्ने बाँच्ने यो रहरको के अर्थ ?

रहरको पो मायाँ राम्रो कहरको के अर्थ ?
अँध्यारोमा बाँच्नेलाई प्रहरको के अर्थ ?

सम्बोधन तिमीलाई

ओ प्रिय ! 
म तिम्री बन्न नसक्ने भएँ, 
मैले सकिन बली चढाउँन आफ्ना रहरहरुको, 
माया मार्न सकिन ती बुढा आमाबाबुको, 
अनि भुल्न सकिन खेलेको माटो । 
म सक्दिन आफुलाई, 
यो आँगन उजाडेर त्यो आँगनमा फुलाउँन, 
आफु हुनुको अस्तित्व मेटाएर, 
तिमीमा एकाकार हुन । 

ए,मेरो सपनाको राजकुमार ! 
मलाई पटक्कै विश्वास छैन्, 
सिन्दूरले रङ्गीएर बन्ने सम्बन्ध, 
आगो घुमेर खाएको कसम,
पोतेमा बेरेर अल्झाईने नाता,
अनि, नारिभरी उनिने राता चुरा, 
र दुई तन एक मनको कुरामा । 

एकादेशका कथा नसुनाऊ मलाई, 
खै कहाँ छन आज... 
जोगिनी सीता, 
दुष्यन्तले भुल्दा, विरहिणी शकुन्तला, 
र सावित्री-सत्यवान । 
अहिलेका त सुदामा पनि बनिसके धनवान । 

प्रिय ! 
यी सिन्दूर, पोते र चुरा छोडेर, 
शकुन्तला र सीता त्याग्ने परम्परा तोडेर, 
आगोको साक्षता भन्दा पर पुगेर, 
के तिमी मलाई वरण गर्न सक्छौ ? 
जहाँ,मैले आफु हुर्केको माटो, 
हिँड्न सिकेको बाटो भुल्न नपरोस्, 
अनि वनेली हावा बेगर गमलामा फुल्न नपरोस् । 

सक्दैनौ रे... 
त्यसो भए बन्द गर अब, 
सपनीमा आउँन,मेरा रहरका प्वाँख बन्न, 
हरेक झरीमा याद बनि बर्सन, 
भो भो ... 
चाहिन्न मलाई,सिन्दूर र पोतेमा 
अल्झाएर दिईने तिम्रो सम्बन्ध, 
म तिमीलाई स्वतन्त्र प्रेम गर्छु, 
र, आफै पनि स्वतन्त्र बाँच्न चाहन्छु ।। 

            गजल - परदेशी प्रिय !

परदेशी प्रिय हुँदा घरदेशमा रुन्छिन प्रिया,
आधा उ उतै हुन्छ बाँकी आधा हुन्छिन प्रिया।

विगत सम्झी रमाउँछिन वर्तमानले रुवाउँछ,
उता प्रिय कस्ता छन यता सधैं दुख्छिन प्रिया।

एक्लोपनले झस्काउँछ,आफ्नै छायाँ बैरी हुन्छ,
साहरा फोटो मात्र त्यसैलाई छुन्छिन प्रिया।

चस्कन्छ छाती अनी सपनामा सधै पहिरो,
'कुशल रहे प्रिय' देउता अघी झुक्छिन प्रिया।।

परदेशी प्रिय हुँदा घरदेशमा रुन्छिन प्रिया,
आधा उ उतै हुन्छ बाँकी आधा हुन्छिन प्रिया।