हरेक साँझ काफलपाने डाँडाको झल्को आउँछ,
क्यासुरिना बिचमा सनसेट हेर्दै गर्दा,
Photo: Google |
उता डाँडामा अस्ताउने घाम
यहाँ पानीमा अस्ताउँछ।
बालाई जिद्दी गर्थें,
काफलपाने डाँडामा लगिदिनु न
घाम त्यो डाँडाबाट कहाँ जान्छ म हेर्छु !
ठूली भए’सी जालिस्, बा’ हप्काउनुहुन्थ्यो।
उता दिदीहरू बन, थाकल, भलायो,
अमला र कटुसका कथा हाल्थे,
यता म आमालाई गनगन गरिरहन्थेँ,
‘म पनि जानी के बन
दिदीलाई लै’जा भन्दिनुनि।’
तँ हिड्न सक्दिनस् आमा टार्नुहुन्थ्यो।
हो त्यै बेला मलाई ठूली हुन मन लाग्थ्यो,
तगारोमा हुर्केको सालरुख जस्तै ठूली
आजको भोली,
काफलपाने डाँडो र बन चाहर्न सक्नेगरी।
गुराँसेलेकको बनभातको मजा
इस्टपोइन्टको बार्बिक्यूमा खोज्छु !
झोलुङ्गेपुलको मच्चाई र थच्चाई
रोलर कस्टर अनिस्विङसँग मिल्छ र?
घरै मगमगाउने गोकुलधुपको सुगन्ध
कुनAir Freshenerमा खोजुँ?
यता फूलेका अर्चिड र डेजर्टरोज खोज्छु ।
उता तगाराहरुमा फूल्ने
करविर, असारे र बाह्रमासेको
सुगन्ध।
बाबै फूल पनि पराय लाग्ने यता ।
पहाडका खोल्चाखोल्छीमा लडिबुडी गर्दै,
ठूलोखोलमा ककराहरूमा माछा समातेर
बित्ने बर्खा,
असारे खेतको हिलोको सुगन्ध
पहिलो झर पानीले मगमगाउने माटाको सुगन्ध
र खेतका कलिला मकै
अनि बाँदर लखेटाई
एकादेशका कथा त पक्कै हैनन्?
हरेक साँझबा’ले सुनाउने ताराका
कथा,
पुष्पक विमान र पुराणका उपकथा
रात सकिदाँ समेत न सकिने लामा दन्त्यकथा
कहिल्यै नसकिने ‘अनि त्यसपछि के भयो..’ को मेरोप्रश्न
र मेराबा’को धैर्य,
यौटा सिङ्गो विश्वविद्यालय मेरो बाल्यकाल।
सल्लीपिरको सिलिलिली खेलेर,
गाईबाख्रा चराउँदा खाएको
चिचिला आँप, कागती र नुन खुर्सानी
सम्झँदा
अझैँ मुखमा पानी नउम्रने कहाँ हो र?
घुटुक्क थुक निल्दै
जति सम्झ्यो उति गाढा लाग्ने
यौटा सिङ्गो विश्वविद्यालय मेरो बाल्यकाल।
एकहोरो बग्ने यो जिन्दगी
फर्केर उही पाइतालाको डोबहरु कता खोज्नू ?
नयाँ पाइलाहरु नयैँ बनेर टेकिन्छन्
ठूलोखोलाको पानीसँगै बगेका सम्झनाहरू
बिराना भएका पखेरा र बगरहरू
खै अब कैले समेटिएलान !
सुमन मञ्जरी (30/05/019)