त्यो बाल्यकाल

हरेक साँझ काफलपाने डाँडाको झल्को आउँछ,
क्यासुरिना बिचमा सनसेट हेर्दै गर्दा, 
Photo: Google
उता डाँडामा अस्ताउने घाम 
यहाँ पानीमा अस्ताउँछ। 

बालाई जिद्दी गर्थें,
काफलपाने डाँडामा लगिदिनु
घाम त्यो डाँडाबाट कहाँ जान्छ म हेर्छु ! 
ठूली भएसी जालिस् बा’ हप्काउनुहुन्थ्यो। 

उता दिदीहरू बनथाकलभलायो,
अमला र कटुसका कथा हाल्थे,
यता म आमालाई गनगन गरिरहन्थेँ,
म पनि जानी के बन 
दिदीलाई लैजा भन्दिनुनि।
तँ हिड्न सक्दिनस् आमा टार्नुहुन्थ्यो। 

हो त्यै बेला मलाई ठूली हुन मन लाग्थ्यो,
तगारोमा हुर्केको सालरुख जस्तै ठूली
आजको भोली,
काफलपाने डाँडो र बन चाहर्न सक्नेगरी। 

गुराँसेलेकको बनभातको मजा
इस्टपोइन्टको बार्बिक्यूमा खोज्छु
झोलुङ्गेपुलको मच्चाई र थच्चाई
रोलर कस्टर अनिस्विङसँग मिल्छ र
घरै मगमगाउने गोकुलधुपको सुगन्ध 
कुनAir Freshenerमा खोजुँ
यता फूलेका अर्चिड र डेजर्टरोज खोज्छु ।
उता तगाराहरुमा फूल्ने 
करविरअसारे र बाह्रमासेको सुगन्ध। 
बाबै फूल पनि पराय लाग्ने यता ।

पहाडका खोल्चाखोल्छीमा लडिबुडी गर्दै,
ठूलोखोलमा ककराहरूमा माछा समातेर 
बित्ने बर्खा,
असारे खेतको हिलोको सुगन्ध 
पहिलो झर पानीले मगमगाउने माटाको सुगन्ध 
र खेतका कलिला मकै 
अनि बाँदर लखेटाई 
एकादेशका कथा त पक्कै हैनन्?

हरेक साँझबाले सुनाउने ताराका कथा,
पुष्पक विमान र पुराणका उपकथा
रात सकिदाँ समेत न सकिने लामा दन्त्यकथा
कहिल्यै नसकिने अनि त्यसपछि के भयो..’ को मेरोप्रश्न 
र मेराबाको धैर्य,
यौटा सिङ्गो विश्वविद्यालय मेरो बाल्यकाल। 

सल्लीपिरको सिलिलिली खेलेर,
गाईबाख्रा चराउँदा खाएको
चिचिला आँपकागती र नुन खुर्सानी सम्झँदा
अझैँ मुखमा पानी नउम्रने कहाँ हो र
घुटुक्क थुक निल्दै 
जति सम्झ्यो उति गाढा लाग्ने 
यौटा सिङ्गो विश्वविद्यालय मेरो बाल्यकाल। 

एकहोरो बग्ने यो जिन्दगी
फर्केर उही पाइतालाको डोबहरु कता खोज्नू ?
नयाँ पाइलाहरु नयैँ बनेर टेकिन्छन्
ठूलोखोलाको पानीसँगै बगेका सम्झनाहरू
बिराना भएका पखेरा र बगरहरू
खै अब कैले समेटिएलान ! 

                         सुमन मञ्जरी (30/05/019)

No comments:

Post a Comment