डायरिबाट

तिमीलाई नसम्झेको त दिन,हप्ता मात्र हैन महिनै पो हुन लागेछ । कुनै बेला थियो जब म दिन र घण्टा त टाढाको कुरो एक मिनेट पनि तिम्रो याद बिना बस्न सक्दिन थिएँ। खै किन तिमी तिर त्यती धेरै एकहोरिएकी थिएँ अहिले सम्झदाँ आँफै छक्क पर्छु। तिमी सँग जिन्दगी बिताउने रहर भनौँ या सपना त थिएन मेरो,यो सबै अर्कैलाई साँचिसकेको अवस्थामा पनि खै कुन आकर्षणले म तिमीतिरै एकहोरिएकी थिए अझै थाहा छैन। जे होस् अहिले सम्झदाँ साँच्चै रमाईलो जोक लाग्छ त्यो बेलाको आफ्नै अवस्था। कुनै नाटकको एक भाग जस्तो । तिमी कुरा गराई अनी ब्यवहार नै होला कि त्यो आकर्षण।
त्यो तिमी प्रतिको एकहोरोपना के का लागि अनी किन थियो त्यो त अझै स्पस्ट भएको छैन तर उतिबेला जब तिमीले आफुलाई मौनता भित्र लुकाउथ्यौ तब भने मेरो मन साँच्चै दुख्थ्यो। एक खाले छट्पटी र बेचैनी खुब बढेको थियो। तिम्रो स्वभाव त्यै थियो या मेरो एकहोरोपनको कारण  आफुलाई मौनताको खोल भित्र लुकाएका थियौ होला ? तिमीले वस्ता नगरेँ झै लाग्थ्यो, भित्र भित्रै मन चिढिन्थ्यो तिमी सँग तर तिमीलाई केही भने आँट हुन्नथियो । तिमीलाई म सधैंको लागि भुल्न चाहन्थे तर कसरी अलमल्लमा थिएँ।जब जब तिमीलाई भुल्छु भन्थे त्यतिखेर झन झन तिमीलाई सम्झन्थे। तिमीलाई भुल्नु असम्भव जाने देखी भने मैले तिमीलाई भुल्ने रहरलाई भुलिदिए । अब जती तिमी याद आउथ्यौ म तिम्रै यादमा हराईदिन्थे, याद आउन्जेल सम्झिदिन्थे।
आज समयले साँच्चै कोल्टो फेरेछ। जुन दिन देखी तिमीलाई दैनिक सम्झन्छु र मनमा ठाउँ दिन्छु भनेर आँफै सँग सम्झौता गरे त्यस दिन देखी तिमी याद आउथ्यौ,केही पल तिम्रै यादमा बिताईदिन्थे अनी तिमी जान्थ्यौ म आफ्नै काममा लाग्थे। आन्तत: आज यस्तो दिन आयो कि जुन दिनको खोजी मैले उतिखेर खुबै गरेकी थिएँ। अचेल तिमी मलाई त्यती याद आउँदैनौ,खै किन आउँदैनौ करण कहिलै खोजिन तर दिन दिनै तिमीलाई सम्झने समय छोटिएको आभाष पाएँ।
आज न त तिमी सँग गुनासो छ न त तिमीलाई भुल्ने रहर नै,न त मन दु:खाई नै छ कि तिमीले बेवस्था गर्यौ भनेर। आज म खुशी छु। यदाकदा तिमी सँग भेट हुँदा पहिले झै कुराकानी हुन्छ।तिमी पनि आफ्नै दुनियाँमा खुशी होलाउ है। तिमीलाई मनमा राखिदिए तिमी बस्यौ पनि त्यसैले अब याद आउन्नौ अनी मन दुखाउदैनौ पनि।थाहै नपाई याद हराएछ,बेचैनी र छट्पटी हराएछन। छ त केवल यदाकदा तिमी याद आउँदा तिमीलाई सम्झेर एक्लै सुटुक्क आउने मुस्कान अनी म ।।

No comments:

Post a Comment