चाँप र उसको प्रेम


चाँपको रुखमा पुगेर मात्रै उसले आफ्नो हरेक बिहानी थालनी गर्छ। घर सँगैको सानो बगैचामा गुलाफ,लालुपाते,र मौसम अनुसारका फूलहरु चाँपका साथी बन्न आउछन,तर नियमित भेट्ने भिन्न साथी उ हो चाँपको। खाना खानु भन्दा पहिले उ चाँपको रुखमा पानी हाल्न भुल्दैन। समय समयमा उचित मलजल  र उसको नियमित गोडमेलले चाँप पनि निक्कै सप्रेको  देखिन्छ। जसले उसको घर अनी बगैचाको पनि शोभा  बढाएको छ।

उ मेरो छिमेकी हो । मैले सुने अनुसार त्यो उसैको घर हो त्यहाँ उ आफ्ना परिवार सहित बस्छ। जुन दिन म दुलही भएर यस घरमा आएँ,त्यसैको भोलिपल्ट देखी मैले उसको चाँपको रुख सँगको प्रेम देख्दै आएकी छु। घरको छतमा घाम ताप्न निस्किदा होस् या अन्य कुनै कारण बाहिरफेर निस्किदाँ त्यो चाँपको रुख नियाल्ने गर्छु । उसको त्यस रुख प्रतिको लगाव देख्दा अनगीन्ती जिज्ञासा पलाउछन म भित्र । आफ्नो लागि नयाँ ठाउँ कसैसँग सोध्ने आँट आउँदैन।घरका कोही कसैलाई सोधुँ भने पनि भर्खर भित्रिएकी बुहारी कता कता के के चासो हो भन्लान भन्ने पिर, समय मिल्दा त्यै चाँपको रुख नियाल्दै उसको यस सँगको सम्बन्ध केलाउन थाल्छु आफ्नै लयमा।

 एक दिन म साँझ पख यसो घर नजिकै टहलिन निस्किदाँ सासुआमा पनि सँगै जाने हुनु भयो। कुराकानीको सुरुवात आँफै गर्न पर्ला भन्ने सोच्दै भनेँ-

आमा हामी पनि चाँप रोपौ न,त्यो पल्लो घरमा कस्तो राम्ररी हुर्केको रहेँछ नि।

'' ए पल्लो घरको चाँपको कुरा गरेकी?''

''हजुर हजुर । '' म अझै जिज्ञासु बन्दै मुन्टो हल्लाउछु।

हामिले त्यसरी कहाँ हुर्काउन सक्छौ र चाँप, छोराछोरीलाई भन्दा बढ्ता माया गरेको छ उसले त्यसलाई । चाँपको रुखमा पुगेर मात्रै उसले आफ्नो हरेक बिहानी थालनी गर्छ।तिमीले पनि त देखेकी छ्यौ त्यो  घर सँगैको सानो बगैचामा गुलाफ,लालुपाते,र मौसम अनुसारका फूलहरु चाँपका साथी बन्न आउछन,तर नियमित भेट्ने चाँपको अभिन्न साथी उ हो । खाना खानु भन्दा पहिले उ चाँपको रुखमा पानी हाल्न कहिल्यै भुल्दैन।त्यो चाँपको रुख उनिहरुको विवाहको दिन रोपेका हुन। बिचररी! कती राम्री थीइन, शिल स्वभाव पनि उस्तै मिजासिलो नहाँसी बोल्दिनथीइन। तर दैवलाई पनि राम्रो चिज नै चाडै चाहिने रहेँछ त्यसैले त छोराछोरी र उसलाई छाडेर उनैलाई पहिले बोलाए । छोरी ४ बर्षकी र छोरा दुई महिनाको मात्रै थियो तिनी जादाँ ।
टोलै रुवाएर गैइन बरा! हामीले आज भन्दा भोली भन्दा बिर्सदै जान थालियो तर उसले त दिन दिनै अझै सम्झदै छ। ति छोराछोरीको बिजोग हुन्थ्यो समयमै गाउँ देखी बा'आमा नआईदिएका भए। दिन रात त्यै रुख अँगालो हालेर टोलाउथ्यो पहिले पहिले त। न खानको ठेगान न सुत्नको ठेगान, स्वास्नि मरेको १० दिन नपुग्दै दोश्री भित्र्याउने यो समाजले जोईटिंग्रे भनेर गिल्ला पनि गरे तर उसलाई कसैको कुराले र हाँसोले कुनै प्रभाव पारेन। अझै बिहान बेलुका को केही समय त्यै रुख वरपर नै भौतारिन्छ।  भगवानले अन्याय नै गरेका हुन तेती राम्रो मिलेको जोडी कुबेलामा छुटाएर। अकाल मै मरिन बरा! एकैछिनको बेथाले। अस्पातल पनि लागेका थिए क्यारे तर हुने हुनामी किन टर्थ्यो र?

साझँको शान्त बातावरणमा मेरी सासु आमा निक्कै भावुक देखिनु हुन्थ्यो। मेरा भने आँखा टम्मै भरीइसकेका थिए आँशुले।सोच्दै थिए माया त त्यस्तो पो हुनु, ओहो कती त्याग अनी कत्रो तपस्या। ''हिँड जाउ घर स्याँठ चल्न थाल्यो टाउको दुख्छ ऐले''आमाको यो बोली सँगै त्यो भावुक प्रेमको संसारबाट यथार्थतामा ओर्लन मलाई कर लाग्यो। घर पुगेर त्यो प्रेमको प्रतिमुर्ती चाँप फेरी नियाले एक पटक अनी कल्पना गरेँ यै चाँप सँगै हुर्कदोँ उनिहरुको प्रेम ।


1 comment:

  1. Came here via your twitter.Love the way you write your गन्थन. Thats the best labels among others.good story and nice collection of articles
    cheers
    :)

    ReplyDelete