अब अरु केही, केही, केही... चाहिँदैन


अब कुनै आन्दोलन चाहिँदैन, बन्द चाहिँदैन,
अब कुनै जुलुस चाहिँदैन, धर्ना चाहिँदैन,
अब कुनै सर्वहारा चाहिँदैन, प्रजातन्त्रवादी चाहिँदैन,
अब कुनै निरङ्कुस चाहिँदैन, समाजवादी चाहिँदैन,
अब कुनै नेता चाहिँदैन, कार्यकर्ता चाहिँदैन,
अब कुनै परिवर्तन चाहिँदैन, क्रान्ति चाहिँदैन,
अब कुनै संविधान चाहिँदैन, कानुन चाहिँदैन,
अब कुनै राहत चाहिँदैन, सुविधा चाहिँदैन,
अब कुनै बिकास चाहिँदैन, योजना चाहिदैन,
अब कुनै संघियता चाहिँदैन, राज्य चाहिँदैन,
अब कुनै शासक चाहिँदैन, शोषक चाहिँदैन,
अब कुनै सेना चाहिँदैन, सुरक्षा चाहिँदैन,
अब कुनै शान्ति चाहिँदैन, बैठक चाहिँदैन,
अब कुनै सहमति चाहिदैन, निर्णय चाहिँदैन,
अब कुनै नयाँ नेपाल चाहिँदैन,
सबै सबै पुगिसक्यो,
अब अरु कुनै मुर्ख्याई चाहिँदैन,
अब अरु केही केही केही... चाहिँदैन,
तर,
हामीलाई आफ्नै बनिबुतामा बाँच्न देऊ !

झरी,शिरिष अनी ऊ


   बाहिर लगातार पानी दर्किरहेकै छ। लगातार परेको पानीले 'काकाकुल काठमान्डौ'ले केही राहतको अनुभव पक्कै गर्दै होला। झरी बिशेष दैनिकी मन अनुकुल पारेर बनाउने गर्छु। बेला बेलामा कालो कफी सँगै झ्यालमा उभिएर बाहिर पानी सँग जिस्कदै गरेको गुलाफ र अम्बाको फूल हेर्दै पुन: किताबमा फर्कनु हिजो देखिको एकनासे दैनिकी चलिरहेकै छ। पानी रोकिने छाँट छैन, एकनास परिरहेँकै छ। यस्तो लाग्छ यसपाली पानी काठमान्डौको धुलो र धुँवा मात्र नभई मेरो मन पनि सिनित्त पखाल्न खोज्दैछ।
    ढक... ढक... ढोकामा कोही आएको संकेत दिंदै छ। यस्तो पानीमा साथीभाई त पक्कै आएनन होला, वल्लो पल्लो कोठा बस्ने सँग उती घुलमिल छैन,म यहाँ आएको पनि एक वर्ष पुग्नै लाग्यो आज सम्म आमुने सामुन्ने पर्दा खिस्स हाँस्ने औपचारिकता मात्रै छ। तिनीहरु पक्कै होइनन, को हुन सक्छ यो साँझमा,त्यै पनि यस्तो झरीमा सोच्दै ढोका खोल्छु। पानीमा निथ्रुक्क भिजेको एक झुप्पो शिरिषसँगै ऊसलाई पाउँछु। तिमी, यस्तो पानीमा !!, ''अँ... म, यस्तो पानीमा.... किन छक्क परेकी? लाउ यो तिम्रो लागि'' रुझेको शिरिष मेरा हातमा थमाउँदै ऊ भित्र पस्छ। मलाई अझै ढोकामै देखेर ऊ फेरी बोल्छ ''अरु कोई आएका छैनन कस्को बाटो कुरेकी,मलाई तातो कफी दिन्नौ?'' आएँ, उसलाई आवाज दिंदै ढोका बन्द गरेर रुझेको शिरिष टेवलमा राख्दै हातको किताब उसैलाई थमाउँदै कफी बनाउन किचनतिर पस्छु।
       उसलाई थाहा छ,मलाई शिरिषका फूलले बिशेष आकर्षित गर्छ। त्यसमा पनि झरीमा रुझेको शिरिषले मलाई भुतुक्कै पार्छ। सायद, केही वर्ष पहिले ऊ सँगको भेटका प्रारम्भिक दिनहरुमा हामी घण्टौ निला फूलमा छहारीमा हराउँथ्यौ। ''हैन यी निला फूलमा तिमी के देख्छौ र यती मरिहत्ते गर्छ्यौ हँ? मान्छेले फूल मन पराउँनु त स्वाभविकै हो, यहाँ त एउटा फूलले अर्को फूल प्रती मरिहत्ते !! , यो अली अस्वभाविक भएन भन्या?''
     स्वाभाविक अस्वभाविक मलाई थाहा छैन,अनी म छुट्याउन तिर पनि लाग्दिन। मलाई यी फूलहरु देख्दा किन किन चौपट्ट खुशी लाग्छ,त्यसैले म यो सँगको सामिप्यता रुचाउँछु। अनि भन्छन नि खुसीको कारण खोज्न तिर नलाग्नु,बस रमाउँनु मात्र, यदि कारण खोज्न थालियो भने कारण पत्ता लगाउन्जेल खुसीले सात डाँडा काटिसक्छ। त्यसैले, हरेक कुराको कारण हुन्न बुझ्यौ? ''बुझेँ बाबा बुझेँ त्यसो भए म पनि तिम्रो कुरामा लागेर आफ्नो खुसी बटुल्नबाट बन्चित हुन्न है।'' के हो नि तिम्रो खुसी ? ऊ चुपचाप मेरो काखमा पल्टिदिन्छ, म जवाफ पाउँछु। त्यस दिन देखी शिरिष फुल्न थालेपछी ऊ एक झुप्पो शिरिष बेगर मेरो सम्मुख उपस्थित हुँदैन। शिरिषको याम सकिएपछी बल्ल उसको फेवरेट् 'रेड रोज'को उपस्थिती देखिन्थ्यो हाम्रो भेटघाटमा।
       हातमा दुई कप कफी लिएर आउँदै गर्दा ऊ किताब फालेर ती रुझेका निला फूलहरुलाई मिलाएर फूलदानीमा राख्दै गरेको देख्छु। यो झरी, रुझेको निलो फूल, तातो कफी अनि ऊ.....एकाएक बाहिर दर्केको पानीले मेरो मन सिनित्त पखालेर कञ्चन पारेको भान हुन्छ।

जिताउन तिमीलाई मैले सधैं हारेकी छु


दु:खहरु सधैं सधैं आफ्नो भाग पारेकी छु,
जिताउन तिमीलाई मैले सधैं हारेकी छु ।

भन्छौ किन सधैं मैले तिम्रो खुशी चाहिन,
तिम्रै हाँसो हेर्न आँफैलाई दाउ राखेकी छु।

तिमीलाई अघि सार्न तिम्रा रहर पुरा गर्ने,
आफ्ना कैयन अवसरहरु त्यसै त्यसै टारेकी छु।

छचल्किन्छन आँशुहरु सहनुको सीमा हुन्न?
तैपनी यी नखसुन भनी परेलीलाई बारेकी छु।

तिम्रै खुशी रोजिदिएँ कहिलै भने र मेरो खै ?
जती थिएँ ईच्छाहरु मैले उहिलै मारेकी छु।

कथा - एक साँझ

                    किन किन मलाई  ऊ यन्त्रमानव झैँ लाग्छ। कहिलेकहीँ अनायासै ऊ र उसको दैनिकीको बारेमा सोच्छु। त्यस्तो पनि जिन्दगी हुने रहेँछ छक्क पर्छु। मलाई ऊ सधैं रिसाएर बसेको जस्तो लाग्छ। त्यस्तो मान्छेले अफिस गएर के काम गर्ला? स्टाफहरु कसरी सम्हाल्छ होला चकित पर्छु। उसका आफन्त पक्कै होलान, तर खै(?) आउजाउ भने उती भएको थाहा छैन। साथीभाई त पक्कै छैनन (...)नै होला। न त छर्-छिमेकी सँग कहिलै बोलेको देखेकी छु। हैन यो मान्छेको मन के बाट बनेको छ हँ? आँफै सँग प्रश्न सोध्छु तर जवाफ केही पाउँदिन।
            ऊ मेरो छिमेकी हो। हामी छिमेकी भएको पनि दुई बर्ष पुगिसक्यो। उसको घर छेवैको घरको एउटा कोठा  भाडा तिरेर मैले आफ्नो बनाएकी छु। सानो चिटिक्क परेको घर र सुहाउँदो बगैचा देखिन्छ, मेरो कोठाको झ्यालबाट  उसको। एक्लै बस्दो रहेँछ, उसको आफ्नै अफिस छ भन्ने कुरा अरु छिमेकीबाट थाहा पाएँ। अनी प्राय: कसै सँग  नबोल्ने र घुलमिल हुन नचाहने किसिमको छ भनेर मलाई एकाध पटक छिमेकीले नसुनाएका पनि हैनन।यदाकदा छुट्टी पर्दा या साँझ बिहान  उसलाई घरको छत तिर टहल्दै गरेको या बगैचामा देखेकी सम्म छु।
           आज ऊ यतिबेला सम्म घर फर्किएको छैन,यसर्थ कि उसको घर अझै अँध्यारै छ। ऊ नफर्कनुको विविध  अड्को काड्छु। अफिसमा  काम पर्‍यो कि,या कतै जाम्-साम भएर अड्कियो...। र, पनि यी सबैको बाबजुत  आईपुग्नु पर्ने बेला त भयो। खाना खाएर  पढ्न बस्छु तर ध्यान पटक्क जादैँन, एक तमासको छट्पटी हुन थाल्छ। मनमा विविध तर्कना खेल्न थाल्छन्। उसको घर पट्टिको झ्याल खुल्लै राख्छु र आएर ओछ्यानमा पल्टन्छु।निद्रा अघेरै कुन्नी कता गइसकेको हुन्छ। न आज सम्म बोलेको होस् न चिनेको हो, न कोही आफन्तै होस् व्यर्थै के को बेचैनी हो खुरुक्क ननिदाएर आँफैलाई हपार्दै सम्झाउछु तर सब व्यर्थ !
         आज अरुणलाई सर्प्राईज् दिन्छु ऊ भन्दा चाडै घर पुगेर, गम्दै अफिसबाट हाफ बिदा लिएर निस्किन्छु, बजार पसेर केही तरकारी र फलफुल सहित। उफ ! यो बैशाखको घाम, यसैले होला बगैचाका फूलहरु निन्याउरा देखिन्थे। टाईम जती पनि छ पहिले यिनलाई पानी हाल्छु अनी मात्र किचन तिर पस्छु सोच्दै बगैँचा पसेँ।अनायासै मोबाईल आयो। नचिनेको नम्बर को होला सोच्दै(?) फोन उठाएँ परिचित् झैँ लाग्ने आवाज भन्दै थियो, ''हेल्लो म्याडम्,अरुण सरलाई हामीले बि.एन्ड.बि. हस्पिटल ल्याएका छौ,हजुर तुरुन्तै आउनुहोस्,।'' एक छिन अलमलिन्छु, के गरुँ/नगरुँ भै । अरुण...... हस्पिटल...... बि.. एन्ड.. बि...... आउनुहोस्....... एक पटक गम्छु र खर्खर्ती घरबाट निस्केर हस्पिटल पुग्छु। 
              बेहोसी र रगताम्य अरुण देख्दाँ म धर्मराएँ कि क्या (?) ''म्याडम् नआत्तिनुहोस् डक्टर ले भन्नु भएको त्यस्तो आत्तिनुपर्ने केही छैन रे'' सायद फोनको स्वर त्यै थियो र ऊ अझै बोल्दै थियो,'आज म चाडैँ घर जान्छु,तिमेर्की म्याडमलाई  सर्प्राईज् दिन अफिस हेर्नु है केही परे फोन गर्नु  भनेर घर फर्किदाँ बाटोमा सरको गाडी एक्सिडेन्ट भएछ, खासै ठुलो चोट छैन अली रगत बगेर मात्रै हो बेहोश हुनुभएको.......... अब एकाध घण्टामा होश आउछ...यस्तै के के ।त्यतिकैमा  म्याडम् यी पानी लिनुहोस्, कसैले हातमा चिसो पानीको ग्लास राखिदिएँ झैँ लाग्छ तर भर पाउँदिन ग्लास भुँईमा खस्छ। 
         झस्कन्छु र उठ्छु आफुलाई आफ्नै कोठामा पाउँछु। एकैछिन अघिको सारा घटना सम्झन्छु, र मात्र मेरो तर्कना रहेँछ भन्ने बोध भए पछी बल्ल ढुक्क हुन्छु। के कल्पना गरेकी होला मैले पनि, छि! हाँसो पनि उठ्छ  र संगै दिक्क लाग्छ ,फेरी  तुरुन्तै मन डराउँछ कतै ऊ...हतारिदै झ्यालमा पुग्छु। धन्न,उसको घरमा बत्ती बलेको रहेँछ , यसको मतलब ऊ आईपुग्यो। मनमनै भगवानलाई धन्यवाद दिन्छु र सुटुक्क ऊ सँग रिसाउछु पनि किन(?) यती ढिलो गरेको भनेर। पानी पिउँछु र झ्याल बन्द गरेर  पुन:ओछ्यानमा पल्टन्छु र सोच्न थाल्छु साँच्ची उसको नाउँ चै के होला ? कतै अरुणै त होइन ?