झरी,शिरिष अनी ऊ


   बाहिर लगातार पानी दर्किरहेकै छ। लगातार परेको पानीले 'काकाकुल काठमान्डौ'ले केही राहतको अनुभव पक्कै गर्दै होला। झरी बिशेष दैनिकी मन अनुकुल पारेर बनाउने गर्छु। बेला बेलामा कालो कफी सँगै झ्यालमा उभिएर बाहिर पानी सँग जिस्कदै गरेको गुलाफ र अम्बाको फूल हेर्दै पुन: किताबमा फर्कनु हिजो देखिको एकनासे दैनिकी चलिरहेकै छ। पानी रोकिने छाँट छैन, एकनास परिरहेँकै छ। यस्तो लाग्छ यसपाली पानी काठमान्डौको धुलो र धुँवा मात्र नभई मेरो मन पनि सिनित्त पखाल्न खोज्दैछ।
    ढक... ढक... ढोकामा कोही आएको संकेत दिंदै छ। यस्तो पानीमा साथीभाई त पक्कै आएनन होला, वल्लो पल्लो कोठा बस्ने सँग उती घुलमिल छैन,म यहाँ आएको पनि एक वर्ष पुग्नै लाग्यो आज सम्म आमुने सामुन्ने पर्दा खिस्स हाँस्ने औपचारिकता मात्रै छ। तिनीहरु पक्कै होइनन, को हुन सक्छ यो साँझमा,त्यै पनि यस्तो झरीमा सोच्दै ढोका खोल्छु। पानीमा निथ्रुक्क भिजेको एक झुप्पो शिरिषसँगै ऊसलाई पाउँछु। तिमी, यस्तो पानीमा !!, ''अँ... म, यस्तो पानीमा.... किन छक्क परेकी? लाउ यो तिम्रो लागि'' रुझेको शिरिष मेरा हातमा थमाउँदै ऊ भित्र पस्छ। मलाई अझै ढोकामै देखेर ऊ फेरी बोल्छ ''अरु कोई आएका छैनन कस्को बाटो कुरेकी,मलाई तातो कफी दिन्नौ?'' आएँ, उसलाई आवाज दिंदै ढोका बन्द गरेर रुझेको शिरिष टेवलमा राख्दै हातको किताब उसैलाई थमाउँदै कफी बनाउन किचनतिर पस्छु।
       उसलाई थाहा छ,मलाई शिरिषका फूलले बिशेष आकर्षित गर्छ। त्यसमा पनि झरीमा रुझेको शिरिषले मलाई भुतुक्कै पार्छ। सायद, केही वर्ष पहिले ऊ सँगको भेटका प्रारम्भिक दिनहरुमा हामी घण्टौ निला फूलमा छहारीमा हराउँथ्यौ। ''हैन यी निला फूलमा तिमी के देख्छौ र यती मरिहत्ते गर्छ्यौ हँ? मान्छेले फूल मन पराउँनु त स्वाभविकै हो, यहाँ त एउटा फूलले अर्को फूल प्रती मरिहत्ते !! , यो अली अस्वभाविक भएन भन्या?''
     स्वाभाविक अस्वभाविक मलाई थाहा छैन,अनी म छुट्याउन तिर पनि लाग्दिन। मलाई यी फूलहरु देख्दा किन किन चौपट्ट खुशी लाग्छ,त्यसैले म यो सँगको सामिप्यता रुचाउँछु। अनि भन्छन नि खुसीको कारण खोज्न तिर नलाग्नु,बस रमाउँनु मात्र, यदि कारण खोज्न थालियो भने कारण पत्ता लगाउन्जेल खुसीले सात डाँडा काटिसक्छ। त्यसैले, हरेक कुराको कारण हुन्न बुझ्यौ? ''बुझेँ बाबा बुझेँ त्यसो भए म पनि तिम्रो कुरामा लागेर आफ्नो खुसी बटुल्नबाट बन्चित हुन्न है।'' के हो नि तिम्रो खुसी ? ऊ चुपचाप मेरो काखमा पल्टिदिन्छ, म जवाफ पाउँछु। त्यस दिन देखी शिरिष फुल्न थालेपछी ऊ एक झुप्पो शिरिष बेगर मेरो सम्मुख उपस्थित हुँदैन। शिरिषको याम सकिएपछी बल्ल उसको फेवरेट् 'रेड रोज'को उपस्थिती देखिन्थ्यो हाम्रो भेटघाटमा।
       हातमा दुई कप कफी लिएर आउँदै गर्दा ऊ किताब फालेर ती रुझेका निला फूलहरुलाई मिलाएर फूलदानीमा राख्दै गरेको देख्छु। यो झरी, रुझेको निलो फूल, तातो कफी अनि ऊ.....एकाएक बाहिर दर्केको पानीले मेरो मन सिनित्त पखालेर कञ्चन पारेको भान हुन्छ।

No comments:

Post a Comment