कथा - एक साँझ

                    किन किन मलाई  ऊ यन्त्रमानव झैँ लाग्छ। कहिलेकहीँ अनायासै ऊ र उसको दैनिकीको बारेमा सोच्छु। त्यस्तो पनि जिन्दगी हुने रहेँछ छक्क पर्छु। मलाई ऊ सधैं रिसाएर बसेको जस्तो लाग्छ। त्यस्तो मान्छेले अफिस गएर के काम गर्ला? स्टाफहरु कसरी सम्हाल्छ होला चकित पर्छु। उसका आफन्त पक्कै होलान, तर खै(?) आउजाउ भने उती भएको थाहा छैन। साथीभाई त पक्कै छैनन (...)नै होला। न त छर्-छिमेकी सँग कहिलै बोलेको देखेकी छु। हैन यो मान्छेको मन के बाट बनेको छ हँ? आँफै सँग प्रश्न सोध्छु तर जवाफ केही पाउँदिन।
            ऊ मेरो छिमेकी हो। हामी छिमेकी भएको पनि दुई बर्ष पुगिसक्यो। उसको घर छेवैको घरको एउटा कोठा  भाडा तिरेर मैले आफ्नो बनाएकी छु। सानो चिटिक्क परेको घर र सुहाउँदो बगैचा देखिन्छ, मेरो कोठाको झ्यालबाट  उसको। एक्लै बस्दो रहेँछ, उसको आफ्नै अफिस छ भन्ने कुरा अरु छिमेकीबाट थाहा पाएँ। अनी प्राय: कसै सँग  नबोल्ने र घुलमिल हुन नचाहने किसिमको छ भनेर मलाई एकाध पटक छिमेकीले नसुनाएका पनि हैनन।यदाकदा छुट्टी पर्दा या साँझ बिहान  उसलाई घरको छत तिर टहल्दै गरेको या बगैचामा देखेकी सम्म छु।
           आज ऊ यतिबेला सम्म घर फर्किएको छैन,यसर्थ कि उसको घर अझै अँध्यारै छ। ऊ नफर्कनुको विविध  अड्को काड्छु। अफिसमा  काम पर्‍यो कि,या कतै जाम्-साम भएर अड्कियो...। र, पनि यी सबैको बाबजुत  आईपुग्नु पर्ने बेला त भयो। खाना खाएर  पढ्न बस्छु तर ध्यान पटक्क जादैँन, एक तमासको छट्पटी हुन थाल्छ। मनमा विविध तर्कना खेल्न थाल्छन्। उसको घर पट्टिको झ्याल खुल्लै राख्छु र आएर ओछ्यानमा पल्टन्छु।निद्रा अघेरै कुन्नी कता गइसकेको हुन्छ। न आज सम्म बोलेको होस् न चिनेको हो, न कोही आफन्तै होस् व्यर्थै के को बेचैनी हो खुरुक्क ननिदाएर आँफैलाई हपार्दै सम्झाउछु तर सब व्यर्थ !
         आज अरुणलाई सर्प्राईज् दिन्छु ऊ भन्दा चाडै घर पुगेर, गम्दै अफिसबाट हाफ बिदा लिएर निस्किन्छु, बजार पसेर केही तरकारी र फलफुल सहित। उफ ! यो बैशाखको घाम, यसैले होला बगैचाका फूलहरु निन्याउरा देखिन्थे। टाईम जती पनि छ पहिले यिनलाई पानी हाल्छु अनी मात्र किचन तिर पस्छु सोच्दै बगैँचा पसेँ।अनायासै मोबाईल आयो। नचिनेको नम्बर को होला सोच्दै(?) फोन उठाएँ परिचित् झैँ लाग्ने आवाज भन्दै थियो, ''हेल्लो म्याडम्,अरुण सरलाई हामीले बि.एन्ड.बि. हस्पिटल ल्याएका छौ,हजुर तुरुन्तै आउनुहोस्,।'' एक छिन अलमलिन्छु, के गरुँ/नगरुँ भै । अरुण...... हस्पिटल...... बि.. एन्ड.. बि...... आउनुहोस्....... एक पटक गम्छु र खर्खर्ती घरबाट निस्केर हस्पिटल पुग्छु। 
              बेहोसी र रगताम्य अरुण देख्दाँ म धर्मराएँ कि क्या (?) ''म्याडम् नआत्तिनुहोस् डक्टर ले भन्नु भएको त्यस्तो आत्तिनुपर्ने केही छैन रे'' सायद फोनको स्वर त्यै थियो र ऊ अझै बोल्दै थियो,'आज म चाडैँ घर जान्छु,तिमेर्की म्याडमलाई  सर्प्राईज् दिन अफिस हेर्नु है केही परे फोन गर्नु  भनेर घर फर्किदाँ बाटोमा सरको गाडी एक्सिडेन्ट भएछ, खासै ठुलो चोट छैन अली रगत बगेर मात्रै हो बेहोश हुनुभएको.......... अब एकाध घण्टामा होश आउछ...यस्तै के के ।त्यतिकैमा  म्याडम् यी पानी लिनुहोस्, कसैले हातमा चिसो पानीको ग्लास राखिदिएँ झैँ लाग्छ तर भर पाउँदिन ग्लास भुँईमा खस्छ। 
         झस्कन्छु र उठ्छु आफुलाई आफ्नै कोठामा पाउँछु। एकैछिन अघिको सारा घटना सम्झन्छु, र मात्र मेरो तर्कना रहेँछ भन्ने बोध भए पछी बल्ल ढुक्क हुन्छु। के कल्पना गरेकी होला मैले पनि, छि! हाँसो पनि उठ्छ  र संगै दिक्क लाग्छ ,फेरी  तुरुन्तै मन डराउँछ कतै ऊ...हतारिदै झ्यालमा पुग्छु। धन्न,उसको घरमा बत्ती बलेको रहेँछ , यसको मतलब ऊ आईपुग्यो। मनमनै भगवानलाई धन्यवाद दिन्छु र सुटुक्क ऊ सँग रिसाउछु पनि किन(?) यती ढिलो गरेको भनेर। पानी पिउँछु र झ्याल बन्द गरेर  पुन:ओछ्यानमा पल्टन्छु र सोच्न थाल्छु साँच्ची उसको नाउँ चै के होला ? कतै अरुणै त होइन ?


1 comment:

  1. कती मिठो कथाहरू जसमा हराएको थाहनै हुन्न

    ReplyDelete